अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा ढकालले गरे नेपालको आर्थिक सुधार र सम्भावनाको प्रस्तुति
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । स्वीट्जरल्याण्डको जिनेभामा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्मेलनमा अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरू प्रस्तुत गरे । सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्फबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै उनले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराए । सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधिहरू सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रूपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए । महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै उन नेपालमा अवसर खोज्न सहभागीहरूमा आग्रह गरे । ‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,’ उनले भने, ‘तर पनि भारत चीन लगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।’ उनले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसरहरू रहेको बताए । यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे । उनले महासंघ नेपाल र विश्वको लागि राम्रो आर्थिक भविष्य निर्माण गर्न विश्वव्यापी साझेदारहरूसँग काम गर्न तयार रहेको समेत बताए ।
सिवाकोटी प्रतिवेदन सार्वजनिक, नयाँ स्टक एक्सचेञ्ज आवश्यक (पूर्णपाठ)
काठमाडौं । नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता रहेको विषय सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गरिएको अध्ययन प्रतिवेदनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँगै नयाँ स्टकको आवश्यकता रहेको निष्कर्ष निकालेको हो । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने÷नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन–२०८१ सार्वजनिक गरिएको छ । सिवाकोटीको संयोजकत्वमा गरिएको अध्ययन प्रतिवेदनमा नेपालको पुँजी बजार तथा धितोपत्र बजारको सुरुदेखि हालसम्मको विकास क्रम, विद्यमान अवस्था, समस्या र चुनौती लगायत विषय समावेश गरिएका छन् । साथै, नेप्सेको पुनर्संरचना गर्नुपर्ने र थप एउटा स्टक एक्सचेञ्जको आवश्यकता रहेको निष्कर्ष समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उक्त स्टक एक्सचेञ्जलाई निजी क्षेत्रको लगानीमा सञ्चालन गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । शक्ति सन्तुलन तथा नियमनको आधारभूत सिद्धान्तको आधारमा नियामक निकायकै स्वामित्व भएको संस्थाले बजार संचालन गर्दा स्वार्थ बाझिन गई प्रभावकारी नियमन हुन नसक्ने भएकोले नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ । नयाँ स्टकलाई लाइसेन्स दिँदा अपनाउनु पर्ने मापदण्ड समेत उल्लेख गरि समितिले प्रतिवेदन तयार पारेको छ । धितोपत्र कारोबारको आकार वृद्धि, लगानीकर्ताको सहभागितामा बढोत्तरी, रोजगारी सृजना र सरकारको राजश्व वृद्धिमा पुर्याएको योगदान लगायतको अध्ययनबाट उत्पादनशील क्षेत्रमा मध्यमकालीन तथा दीर्घकालीन पुँजी परिचालन गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउन प्रतिस्पर्धी धितोपत्र बजारको महत्वपूर्ण भूमिका रहने समितिको निष्कर्ष छ ।
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी भ्रष्टाचार अभियोगमा निलम्बित
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ । प्रदेशसभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए । प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ । तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले)बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए । सोडारीलाई पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो ।
नेपाल टेलिकमको प्रवक्ता बने रवीन्द्र मानन्धर
काठमाडौं । नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई आधिकारिक प्रवक्ता नियुक्त गरेको जानकारी दिएको हो । यसअघि उनी टेलिकमको केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धकका रूपमा कार्यरत थिए ।
बीपी राजमार्ग पुन:निर्माणले लियो गति, अरबौंको ठेक्का बाँडफाँड हुँदै
काठमाडौं । गत असोज दोस्रो साता आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको पुन:निर्माणले गति लिन थालेको छ । सरकारले विभिन्न खण्डमा ठेक्का प्रक्रिया तीव्र बनाएसँगै निर्माण कार्य अघि बढ्ने संकेत देखिएको हो। चार खण्डमा विभाजन गरिएको बीपी राजमार्ग पुन:निर्माणको दोस्रो खण्डको ठेक्का समेत लगाइएको छ । सिन्धुलीतर्फ पर्ने बर्खेखोला-नेपालथोकसम्मको ४ किलोमिटर सडक पुन:निर्माणको ठेक्का खरीढुंगा-रघिसिङ-रक्षितिज जेभीले प्राप्त गरेको सडक डिभिजन कार्यालय, भक्तपुरले जनाएको छ । डिभिजन कार्यालयका अनुसार यो खण्डको ठेक्का पाउन ११ निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये सबैभन्दा कम लागतमा प्रस्ताव गर्ने खरिढुंगा-रघिसिङ-रक्षितिज जेभीलाई ठेक्का दिइएको हो । कुल लागत १ अर्ब रुपैयाँ अनुमान गरिए पनि उक्त जेभीले ६१ करोड १४ लाख रुपैयाँमा निर्माण गर्न सहमति जनाएको छ । यसअघि गत साता मात्र काभ्रे खण्डको चारसयबेंसीदेखि डालबेंसीसम्मको ८।५ किलोमिटर सडक पुनर्निर्माणको ठेक्का पनि लगाइएको थियो । सो खण्डको पुन:निर्माण कार्य थानी-एवान-रकमलजीत जेभीले पाएको हो, जसको ठेक्का मूल्य १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कम्पनी चयन प्रक्रिया सम्पन्न भएसँगै अब चाँडै सम्झौता गरी निर्माण कार्य सुरु गरिने डिभिजन कार्यालयले जनाएको छ ।
महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकांक्षालाई गम्भीर ढङ्गबाट हेरिएको बताएका छन् । मंगलबार औषधि व्यवस्था विभागमा औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदन बुझ्दै उनले नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकांक्षा र राज्यको दायित्वलाई पनि गम्भीर रूपले हेरिएको बताए । उनले गुणस्तरीय औषधि प्राप्त हुने परिस्थिति बनाउनको लागि निर्माण गर्न लागिपरेको बताए । उनले महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यतालाई अन्त्य गर्नेतर्फ ध्यान दिइएको दाबी गरे । औषधिको मूल्यको बारेमा उपभोक्ता सुसूचित हुने अवस्था निर्माण गर्न खोजिरहेको बताए । उनले औषधिको मूल्य निर्धारण गर्ने सन्दर्भलगायतका क्षेत्रलाई व्यवस्थित गर्न समितिको प्रतिवेदन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित समितिका संयोजक तथा अर्थविद् डा. पोषराज पाण्डेले नेपालमा प्रयोग हुने औषधिहरूको विशेषता, प्रकृति र महत्वको आधारमा सुझाव प्रस्तुत गरिएको बताए । नेपालमा औषधिको घरेलु उत्पादनको अवस्थालाई समेत प्रस्तुत गरिएको उनको भनाइ थियो ।
पिउने पानी पिउन अयोग्य भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता खारेज
काठमाडौं । काठमाडौं महानगरपालिकाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता भङ्ग गरेको छ । महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सी. एन. इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ । पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’ सोमबार विभागले आपूर्तिकर्तालाई पत्र पठाएको हो । पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरेर सेवा लिन थालिएको थियो ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५-संस्करण ४ सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५-संस्करण ४ सम्पन्न भएको छ । जेठ २१ गते बुधबार देखि जेठ २४ गते शनिबार (चार दिन) सम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंकले जित्न सफल भएको छ भने नबिल बैंकले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, मर्चेन्ट बैंंकहरु तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए । साथै उक्त प्रतिोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत जेठ २६ गते सोमबार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई डेपुटी गर्भनर बम बहादुर मिश्र तथा बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा विजेता ट्रफी हस्तान्तरण गरेका हुन् । उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंकका अमृत चौलागाई, उत्कृष्ट विकेट-किपर नबिल बैंकका विजय पारा लिम्बु, उत्कृष्ट बलर एन.एम.बी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल भएका छन् ।