कोशी, बागमती र गण्डकीमा वर्षा हुँदै, दिउँसो पनि पानी पर्ने
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र तराई भेगमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । हिमाली क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह पनि गरेको छ ।
यात्रुलाई दुःख दिने ४८ जना दलाल पक्राउ
काठमाडौं । काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले गोङ्गबुस्थित नयाँ बसपार्कबाट पाँच, कलङ्कीबाट २४ र बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।
सुदूरपश्चिम सरकारले गर्यो स्थानीय सेवा नियमावली स्वीकृत
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली स्वीकृति गर्ने निर्णय गरेको हो । यसअघि सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ संसद्बाट पास गरि २०८२ असार १५ गते प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूचीमा हेरफेर गर्ने सम्बन्धमा, स्वकीय सचिवालयका कर्मचारीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा, अस्थायी प्रहरी चौकी हिमाली गाउँपालिका, बाजुराको भवन निर्माण सम्बन्धी कार्यक्रमलाई सशर्त अनुदानको रूपमा हिमाली गाउँपालिकालाई हस्तान्तरण गर्ने सम्बन्धमा र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची(२ मा हेरफेर गर्ने सम्बन्धमा निर्णय गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेश सवारी साधन खरिद तथा प्रयोग सम्बन्धी निर्देशिका, २०८२ स्वीकृत गर्ने सम्बन्धमा, स्थानीय तहमा वित्तीय हस्तान्तरण गर्ने सम्बन्धमा, सुदूरपश्चिम जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधी, २०८२ स्वीकृत गर्ने सम्बन्धमा बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले डोटी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा भरत बोहरा र अछाम अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा लीलाराज केसीलाई र खेलकुद परिषद् सदस्यमा कञ्चनपुरका लीला बोहरा, कञ्चनपुरकै काशीराम बोहरा र बैतडीका पूर्ण बहादुर टेरलाइ नियुक्त गरेको छ ।
सुरेन्द्र पाण्डे भन्छन्- एमाले निजी क्लबजस्तो बन्यो
काठमाडौं । रामबहादुर थापा (बादल) लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएलगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र आन्तरिक असन्तुष्टि देखिएको छ । पार्टीका नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत नेतृत्व शैलीमाथि टिप्पणी गरेका छन् । पाण्डेले संसदीय दलको नेता चयन प्रक्रियालाई लिएर पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाएका छन् । ‘सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने अवस्था सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद हो,’ उनले लेखेका छन् । उनले नेतृत्वप्रति लक्षित गर्दै ‘म नै पार्टी र पार्टी नै म’ भन्ने सोच हावी हुँदा संगठनभित्र सुधारको ढोका बन्द भएको टिप्पणी गरेका छन् । हालको राजनीतिक अवस्था-९ सिटमा सीमित भएको परिणामबाट पनि पार्टी नेतृत्वले पाठ नसिकेको उनको संकेत छ । पाण्डेले पुरानो ढर्रा, गुटगत राजनीति र संकुचित सोचले अब पार्टी अघि बढ्न नसक्ने स्पष्ट पारेका छन् । ‘एमालेलाई कसैको निजी क्लब होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन आवश्यक छ,’ उनले भनेका छन् ।
एसइई परीक्षा बिहीबारदेखि: ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै, एक महिनामै नतिजा प्रकाशन गरिने
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलि १९ गते बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ सुरु गर्नेगरी एसइई परीक्षाको तयारी पूरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । उनले भने, ‘परीक्षाको सबै तयारी पूरा गरेका छौं, हिजो मात्रै सबै जिल्ला परीक्षा समन्वय समितिका प्रमुखहरूसँग जुम बैठक सम्पन्न गर्यौँ, सबै जिल्लामा सहज र शान्तिपूर्ण रूपमा परीक्षा हुनेमा ढुक्क छौँ, विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आह्वान गर्दर्छौँ ।’ चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने उनले जानकारी दिए । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् भने परीक्षा दिने छन् । परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य सात जना परीक्षार्थी रहेका छन् । उनका अनुसार परीक्षामा सात प्रदेशमध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेस प्रदेशबाट ९० हजार २४३ जना, बागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदूरपश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षा नियन्त्रक अधिकारीका अनुसार भोलि परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछन् । बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन मिल्ने जानकारी दिँदै परीक्षा नियन्त्रक अधिकारीले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए । परीक्षाका लागि सातै प्रदेशमा फरक प्रश्न पत्र छपाइ गरी प्रश्नपत्र सबै जिल्लामा पुगेको जानकारी दिँदै उनले परीक्षामा सोधिने प्रश्न छ वटै अनिवार्य विषयका प्रदेशअनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्द गरी पुनःप्रश्नपत्र छपाइ गर्न सकिने व्यवस्था गरिएको बताए । प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन् । यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ । परीक्षा नियन्त्रक अधिकारीका अनुसार बालसुधार गृहका परीक्षार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको छ । विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका हकमा अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकालाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिनुभएपछि बोर्डले एक महिनामै नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा नतिजा सार्वजनिक गर्न नसकिने जानकारी गराउँदै एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको उनले जानकारी दिए । यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो । परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरूमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने र यसवर्ष एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी गरिएको जानकारी दिए । यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धाङ्कपत्र शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तोकिएको समयमा तथ्याङ्कपत्रहरू परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था गरिएको छ ।
बिचौलियामाथि कडाइ: मालपोत र नापी कार्यालयमा अब परिचयपत्र अनिवार्य गर्दै सरकार
काठमाडौं । भूमि व्यवस्थापन प्रणालीलाई पारदर्शी र सुरक्षित बनाउन सरकार कडाइका साथ अघि बढेको छ । प्रतिभा रावल नेतृत्वको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ । बुधवार सचिवस्तरीय निर्णयमार्फत जारी निर्देशनअनुसार अब ती कार्यालयहरूमा प्रवेश गर्न चाहने सेवाग्राहीले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्नेछ । मन्त्रालयले यससम्बन्धी पत्र सम्बन्धित विभागहरूलाई पठाइसकेको छ । मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न बहानामा बिचौलियाहरू कार्यालयभित्र प्रवेश गरी संवेदनशील कागजात र स्रेस्तामा पहुँच जमाउने गुनासो बढ्दै गएको थियो। यसले कागजातको सुरक्षा र सेवा प्रवाह दुवैमा गम्भीर प्रश्न उठाएको थियो । निर्देशनमा स्पष्ट रूपमा भनिएको छ- यदि अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्न असफल भए कार्यालय प्रमुख स्वयं जिम्मेवार हुनेछन् । साथै, कार्यालयभित्र हुने अनावश्यक भीडभाड व्यवस्थापन र गोपनीयता कायम गर्न पनि यो कदम महत्वपूर्ण मानिएको छ । सरकारको यो निर्णयसँगै अब सेवाग्राहीहरूले बिचौलियाको सहारा लिनु नपर्ने, आफ्नो निवेदन र आवश्यक कागजात प्रस्तुत गरेर सीधै सेवा लिन सक्ने अपेक्षा गरिएको छ ।
ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउने १६ जनालाई गर्यो कारबाही
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १६ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले आज ११ वटा यात्रुवाहक सवारी साधन, एक वटा ट्र्याक्टर, दुई वटा निजी कार तथा दुई वटा स्कुटरका चालकलाई कारबाही गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । पछिल्लो समय ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही गर्दै आएको छ । मापसे गरी सवारी साधन चलाउनु नियम विपरित तथा दण्डनीय कार्य हो । सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
प्रधानसेनापति सिग्देल भन्छन्- राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरिएको सिसं ११ उच्चस्तरीय राष्ट्रिय सुरक्षातालिमको समापनका अवसरमा प्रधानसेनापति सिग्देलले सो धारणा राखेका हुन् । राष्ट्रिय सुरक्षा कुनै एक निकायको मात्र जिम्मेवारीको विषय नभएर सबैको साझा चासोको विषय भएको बताउँदै उनले भूराजनीतिलाई प्रविधिसँगै पनि जोडेर हेर्नुपर्ने खाँचो औंल्याए । सो अवसरमा प्रधानसेनापति सिग्देलले दुई सातासम्म सञ्चालन भएको तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए भने रक्षा सचिव केदारनाथ शर्माले मायाको चिनो प्रदान गरेका थिए । कलेजका निमित्त शिक्षाध्यक्ष सहायक रथी दिलविक्रम सुब्बाले तालिमको महत्त्व र उपादयिताका बारेमा प्रकाश पारेका थिए । तालिममा नेपाल सरकारका प्रथम तथा दितीय श्रेणीका अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकृत, सञ्चारकर्मीलगायत गरी ३० जनाको सहभागिता रहेको थियो । तालिमकै दौरानमा ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय सेमिनारको आयोजना गरिनुको साथै सम्पन्न सहभागीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गराइएको थियो ।