विकासन्युज

सनराइज बैंक र नारायणी नेशनल फाइनान्सबीच एकीकृत कारोबार शुरु

काठमाडौं, ३० असार । सनराइज  बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्त (एक्विजिसन) गरि असार ३० गते बिहीबारदेखि एकीकृत वित्तीय कारोवार शुरु गरेको छ । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले एक समारोहकाबीच गरेका हुन् । कार्यक्रममा नारायणी नेशनल फाइनान्सका अध्यक्ष लक्ष्मीदास मानन्धरले सो संस्था दर्ताको प्रमाणपत्र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडलाई हस्तान्तरण गरेका छन् । नारायणी नेशनल फाइनान्सका १४ वटा शाखा कार्यालयहरुमा समेत छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि एकीकृत कारोबारको शुभारम्भ गरिएको बैंकले जनाएको छ । उक्त अवसरमा गभर्नर डा. नेपालले यस एकीकरणबाट सनराइज बैंक थप सशक्त भई आफ्ना ग्राहक तथा शेयरधनीहरुलाई अझ बढी सेवा सुविधा प्रदान गर्दै एक सबल वित्तीय संस्थाको रुपमा अगाडि आउनेमा जोड दिएका छन् । साथै डा. नेपालले यो एकीकरण बाट संस्थाहरु केवल पूँजीको लागि मात्र नभएर संस्था सबल बनाउनका लागि पनि हुने बताए । कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगडले नारायणी नेशनललाई एकीकरण गरि मेची देखि महाकाली सम्म विस्तारित ६७ वटा शाखाहरुबाट ग्राहकवर्गले सेवा प्राप्त गर्न सक्ने बताएका छन् । साथै उनले सन्राइज बैंकको चुक्ता पूँजी करिब ४ अर्व रुपैयाँ पुगेको तथा नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्व रुपैयाँको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने जानकारी दिए । उनले नेपाल राष्ट्र बैंकले एक्विजिसनमा पनि मर्जर बराबरकै सुविधा प्रदान गर्नु पर्नेमा जोड दिएका छन् । त्यसैगरि फाइनान्सका अध्यक्ष मानन्धरले सनराइज बैंक जस्तो “क” वर्गको संस्थासंग समाहित भइ ठूलाठूला परियोजनामा लगानी विस्तार गर्न सक्ने बैंकको रुपमा स्थापित हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । एकीकरण पश्चात् बैंकको चुक्ता पूँजी करिव ४ अर्व रुपैयाँ, ६७ शाखा, ६९ एटिएम, सहित निक्षेप ५० अर्व, तथा कूल कर्जा ४३ अर्व रुपैयाँ पुगेको बैंकले जनाएको छ । उक्त समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्वर अफ कमर्स तथा वैंकर्स संघका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।

सडकका कारण पर्यटन व्यवसाय प्रभावित

चितवन, ३० असार । भूकम्प र नाकाबन्दीले प्रभावित यहाँको पर्यटन व्यवसाय नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने सवारी जाम र अवरोधका कारण थप प्रभावित भएको छ । भूकम्पबाट नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्मा पु¥याउन नसक्दा अहिले पनि विदेशी पर्यटक पूर्ववत् अवस्थामा आउन सकेका छैनन् । नेपाल भित्रिएका पर्यटक नारायणगढ–मुग्लिन सडकखण्डको अवरोधका कारण चितवन आउन कठिनाइ हुने गरेको छ । चितवन, काठमाडौं र पोखरापछिको पर्यटकीय गन्तव्य हो । सौराहाको होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडी सडकका कारण वैशाखयता अधिकांश गोष्ठी, सभासम्मेलनको बुकिङ रद्द हुनुका साथै यहाँ आउने पर्यटक पोखरातर्फ लागेका बताए । सरकारी, गैरसरकारी र निजी क्षेत्रले आफ्नो वार्षिक कार्यक्रम, गोष्ठी र तालिम जिल्लामा गर्दै आएका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरेका अनुसार भूकम्प अघि यस मौसममा २५ देखि ३० प्रतिशत पर्यटक सौराहा आउने गरेका थिए । “यस वर्ष १५ प्रतिशतको हाराहारीमा पर्यटक आएका छन्,” उनले भने । भूकम्पको डरले पर्यटकको सङ्ख्यामा कमी आएको घिमिरे बताए । अहिले नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नति गरिँदै छ । दिउँसो अधिकांश समय यातायात अवरुद्ध हुने गरेको छ । सामान्य वर्षात्सँगै पहिरो खस्ने गर्छ । यस्तो अवस्थामा ट्राभल एजेन्सीले पर्यटकलाई पोखरातर्फ पठाउँछन् । सौराहाको बुकिङ रद्द हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको छ । विसं २०७१ मा चितवन राष्ट्रिय निकुञ्जमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका थिए । तर यस आवमा एक लाख हाराहारीमा मात्रै पर्यटक प्रवेश गरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताएका छन्। चितवन र आसपासका क्षेत्रमा पर्यटकलाई लक्षित गरी १५० वटा होटल निर्माण भएका छन् भने हात्ती, डुङ्गा, जिप, पर्यटक बसमा ठूलो लगानी गरिएको छ । होटलमा रु २५ अर्बभन्दा बढी लगानी गरिएको छ । आधाभन्दा बढीले बैंकबाट ऋण झिकेका छन् । रासस

नेप्से परिसूचक दोहोरो अंकले उकालो, सबै समूहमा देखियो हरियो रङ

काठमाडौं, ३० असार । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । परिसूचक २७ दशमलब ७२ अंकले बढेर १७१८ दशमलब १५ अंकमा पुगेको छ । सो दिन १४५ कम्पनीको २५ लाख ४० हजार कित्ता सेयर करिब एक अर्ब ४६ करोड ७८ लाख रुपैयाँको किनबेच भएको छ । बिहीबार सेयर बजारमा सबै समूहमा हरियो रङ देखिएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ६३ अंकले उकालो लागेको छ । बीमा, अन्य समूह, उत्पादनमूलक लगायत विकास बैंक र बैंकिङ् समूकहको परिसूचक क्रमशः ३७, ३२, ३०, २८ र २६ अंकले बढेको छ । त्यस्तै, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः १० र ८ अंकले वृद्धि भएको छ । सो दिन ६ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । पुर्णिमा विकास बैंक, ओरिएन्टल होटल लि. र सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, जलविद्युत लगानी तथा विकास कम्पनी, माछापुच्छ्रे बैंक र नेरुडे लघुवित्तका सेयरधनीले हाराहारी १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी पोखरा फाइनान्स कम्पनी लि. प्रमोटर सेयरका लागानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी जलविद्युत् लगानी तथा विकास कम्पनीको करिब १६ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । फष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको करिब १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको करिब ५ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

नयाँ मौद्रिक नीतिः मार्जिन ल्याण्डिङमा कडाई, लघुवित्तको स्प्रेड दर ७ प्रतिशत

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले मार्जिन ल्याण्डिङलाई १० प्रतिशतले घटाएको छ । पछिल्लो समय सेयर कर्जाको मात्रा बढेपछि केन्द्रिय बैंकले मार्जिन ल्याण्डिङमा कडाई गरेको हो । राष्ट्र बैंकले १८० दिनको औसत बजार मुल्य वा बजार मुल्य जुन कम छ त्यसको ५० प्रतिशत मात्रै मार्जिन ल्याण्डिङ गर्न पाउने व्यवस्था अघि सारेको हो । यस अघि ६० प्रतिशतसम्म मार्जिन ल्याण्डिङ गर्न पाउने व्यवस्था रहेको थियो । यसले सेयर बजारमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बिहिबार सार्वजनिक गरेको मौद्रिक नीतिले नयाँ लघु वित्त कम्पनी दर्ता पनि बन्द गरेको छ । हाल १० वटा कम्पनीले लघुवित्त कम्पनीको लाइसेन्सका लागि आवेदन दिएका छन् । त्यस्तै लघुवित्त कम्पनीको स्प्रेड दर समेत तोकिएको छ । यस अघि लघुवित्त कम्पनीहरुको स्प्रेड दर निर्धारण गरिएको थिएन् । अब लघुवित्त कम्पनीहरुले ७ प्रतिशत स्प्रेड दरमा लगानी गर्नुपर्नेछ । लघुवित्त कम्पनीहरुले बैंकबाट ४ प्रतिशत ब्याजमा ऋण लिने गरेका छन् । ७ प्रतिशत स्प्रेड दर कायम रहेपछि अब करिब १३ प्रतिशत ब्याजदरमा लघुवित्त कम्पनीहरुले साना कर्जा प्रवाह गर्न सक्ने देखिन्छ । हाल लघुवित्तहरुले प्रवाह गर्ने साना कर्जाको ब्याजदर न्युनतम १८ देखि २२ प्रतिशतसम्म रहेको छ । यसैबिच राष्ट्र बैंकले सह वित्तियकरणको सिमा वृद्धि गरेको छ । एउटा वित्तिय संस्थाले ५० करोडसम्म सह वित्तियकरणमा लगानी गर्न पाउने व्यवस्थालाई बढाएर एक अर्ब पुर्याएको छ । मौद्रिक नीतिले अल्पकालिन ब्याजदर सन्तुलित बनाउने अवधारणा अघि सार्दै बचत खाताको ब्याजदर बढाउने संकेत पनि गरेको छ । हरेक नेपालीको बैंक खाता तथा समाजिक सुरक्षा भत्ता बैंक मार्फत दिने बजेटको कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । रियल स्टेट क्षेत्रमा अत्याधिक कर्जा प्रवाह रोक्न पनि बिशेष योजना ल्याउने मौद्रिक नीतिमा उल्लेख छ । त्यस्तै तेश्रो चरणको वित्तिय सुधार कार्यक्रम अघि सार्ने मौद्रिक नीतिले बताएको छ । राष्ट्र बैंकले मुद्रास्फितिलाई साढे प्रतिशतमै सिमित राख्ने बजेटको कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।

अवरुद्ध भएका ३८ लघुजलविद्युत् आयोजनाको मर्मत कार्य सुरु

गोरखा, ३० असार । जिल्लाको बारपाक केन्द्रबिन्दु भई गत वर्ष गएको भूकम्पका कारण अवरुद्ध भएका ३८ लघुजलविद्युत् आयोजनाको मर्मत कार्य सुरु गरिएको छ । सोह्र किलोवाट क्षमताको सिम्जुङको पात्लेखोला, बारपाक–२ को पाँच किलोवाट क्षमताको राङ्रुङ बल्झेखोला, सौरपानीको ११ किलोवाट क्षमताको पेल्कुखोला र बारपाकस्थित १३० किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत् आयोजना मर्मत भई सञ्चालनमा आएको छ । यस्तै गुम्दास्थित २५ किलोवाट क्षमताको मग्लुङखोजा, स्वाँराको ७० किलोवाटको स्तुलखोला, ३५ किलोवाट क्षमताको माथिल्लो हुन्डी, खरिबोटको २५ किलोवाट क्षमताको लिलीखोला, १६ किलोवाट क्षमताको लापुको नौलीखोला दोस्रो लघुजलविद्युत् आयोजना धमाधम मर्मत सुरु गरिएको जिविसअन्तर्गत वैकल्पिक ऊर्जा शाखाका अधिकृत कुलराज चालिसेले जानकारी दिए । केही आयोजना भूकम्पपछि झरेको पहिरोले पुरिएपछि मर्मत गर्न बाँकी नै छ । नौ किलोवाट क्षमताको सिम्जुङको अधेरीखोला, निजी क्षेत्रको लगानीमा सुरु भएको झ्याल्लाभूमि, घ्याच्चोकस्थित शुभखोलालगायत आयोजना मर्मतमा प्राक्टिकल एक्सन नामक संस्थाले सघाउने भएको छ । उहियाको लुंगेतखोला, लापुको नौलीखोला पहिलो, सिङ्लाखोलाजस्ता आयोजना मर्मतमा बजेटको अभाव देखिएको छ । स्थानीय उपभोक्ताले आर्थिक सहयोग सङ्कलन गरेर आयोजना मर्मत गर्न सक्ने अवस्था छैन । उहियाका छिरिङ गुरुङका अनुसार ती आयोजना मर्मत गर्न रकम अभाव भएकाले मर्मतमा सरकारले सहयोग गर्नुपर्ने स्थानीवासीको माग छ । विद्युत् अवरुद्ध भएपछि टेलिफोनका टावर सञ्चालन गर्न सकिएको छैन भने कुटानीपिसानीको समस्या भएको छ । जिल्लाका १७ हजार ३४९ घरधुरीले लघुजलविद्युत् आयोजनाबाट उत्पादिन विद्युत् प्रयोग गर्दै आएका बताइएको छ । रासस

सरकारले औषधि व्यवसायलाई घृणित बनाएको आरोप

काठमाडौं, ३० असार । नेपाल औषधि व्यवसायी संघले सरकारले औषधि व्यवसायलाई घृणित बनाएको आरोप लगाएको छ । वाणिज्य विभाग, आपूर्ति व्यवस्थापन विभाग लगायत अन्य सरकारी निकायहरुले अनुगमनका नाममा संकटमा गुज्रिरहेका व्यवसायीलाई थप निरुत्साहित बनाएको संघको भनाइ छ । अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले अनुगमनका नाममा स्वास्थ्य जस्तो सम्बेदनशील व्यवसायमा रहेका व्यवसायीहरु, व्यवसायीहरुको इज्जत तथा प्रतिष्ठामा समेत आँच पुग्ने गरी र व्यवसायीहरुलाई आतंकित बनाउने, पेसा र व्यवसायलाई नै समाजमा घृणित बनाउने गरी भैरहेको अनुगमन कार्यलाई नस्विकार्ने दाबी गरेका छन् । संघले औषधि व्यवसायमा तत्काल अनुगमनको आतंक बन्द गर्न अपिल गरेको छ ।

भोजपुरका ४२ मध्ये आठवटा जलाधार क्षेत्र जोखिममा

भोजपुर, ३० असार। भोजपुरका आठवटा जलाधार क्षेत्र जोखिममा रहेका छन् । जिल्ला भू–संरक्षण कार्यालयका अनुसार जिल्लाका विभिन्न भेगमा रहेका ४२ मध्ये आठ जलाधार क्षेत्र प्राकृतिक जोखिममा रहेको हो । भूसंरक्षण कार्यालयका अनुसार जिल्लाको हिंखुवा खोला, टक्सार खोला, चिर्खुवा खोला, जरायोटार खोला, यांगुवा खोला, अखुवा खोला, खोङ खोला र खेसाङ खोला मुख्य जोखिममा रहेका जलाधार क्षेत्र हुन् । जलाधार क्षेत्रमा वर्षात्मा तीन सेमीदेखि १५ सेन्टिमिटरसम्म माटो बग्ने गरेको जिल्ला भूसंरक्षण अधिकृत सञ्जयकुमार मिश्रले बताए । हरेक वर्ष वर्षात्मा उर्बर भूमि बगेर जाने गरेका कारण बर्सेनि उत्पादनमा पनि कमी आइरहेको उनको भनाइ छ । गएको वर्ष आएको भूकम्पसँगै लगातार आइरहेको परकम्पका कारण चिरा परेको जमिनमा पानी पर्दा झनै जोखिम बढेको हो । भूकम्पले चिरा परेको जमिनमा पानी पस्दा भूक्षय जानेक्रम बढेको भूसंरक्षण अधिकृत मिश्रको थपे । यसैगरी, ४२ वटा जलाधार क्षेत्रमध्ये लाउरे खोला अति कम जोखिम र लसुने खोला दोस्रो अतिकम जोखिम रहेका जलाधार क्षेत्र हुन् । रासस

बैंक अफ काठमाण्डू लुम्बिनीको सीईओमा अजय श्रेष्ठ नियुक्त

काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जभएर आजदेखि एकिकृत कारोबार शुरु गरेको बैंक अफ काठमाण्डू लुम्बनीको प्रमुख कार्यकारी अधिकृत पदमा अजय श्रेष्ठलाई नियुक्त गरेको छ । मर्जपछि बनेको सञ्चालक समितिको असार २९ गते बसेको  बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । श्रेष्ठले विगत ८ वर्षदेखि बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए । ‘श्रेष्ठको कार्यशैली र प्रर्फमेन्स दुबै राम्रो थियो । नयाँ बोर्डले आगामी चार वर्षको लागि उनलाई नियुक्त गर्ने निर्णय गरेको छ’ बैंकका एक सञ्चालकले विकासन्युजसँग भने । शालीन, सरल र मिहेनती बैंकर्सको रुपमा उनलाई धेरैले चिन्ने गरेका छन्। तत्कालीन ग्रिण्डलेज बैङ्कमा सहायकस्तरको कर्मचारीबाट सेवा शुरू गरेका उनले बैकिङ क्षेत्रमा तीन दशक काम गरिसकेका छन् । श्रेष्ठले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । २० वर्ष पुरानो बैंक अफ काठमाण्डू र १८ वर्ष पुरानो लुम्बिनी बैंक मर्जपछि आजबाट एकिकृत कारोबार शुरु गरेको छ । एकिकृत कारोबारको उद्घाटन राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवि नेपालले गरेका छन् ।