विकासन्युज

बाफिया संसोधन बिधेयकः सिइओको कार्यकाल र सञ्चालकको योग्यता/कार्यकाल नतोक्न दबाव

काठमाडौं, ३१ भदौ । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०६३(बाफिया)को संसोधनका क्रममा बैंकका सिइओको कार्यकाल तथा सञ्चालकको कार्यकाल र शैक्षिक योग्यता नतोक्न पुनः दबाव सुरु भएको छ । अघिल्लो पटक यस्तै दबाबका कारण व्यवस्थापिका संसदको अर्थ समितिले सिइओ तथा सञ्चालकको कार्यकालबारे लचिलो प्रस्ताव पारित गर्दै संसदमा पठाएको थियो । तर त्यसको व्यापक आलोचना भएपछि तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले बाफिया संसोधन बिधेयक समितिमै फिर्ता पठाएका थिए । शुक्रबार अर्थ समितिमा आयोजीत छलफलमा बैंकर्स एसोसियसन, डेभलपमेन्ट बैंकर्स एसोसियसन तथा बिभिन्न बैंकका सञ्चालकहरुले कार्यकालको सिमा तोक्न नहुने अडान दोहोर्याएका हुन् । छलफलमा बैंकर्स एसोसियसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल, डेभलपमेन्ट बैंकर्स एसोसियनका अध्यक्ष तथा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने सहित बिभिन्न बैंकका सिइओ तथा सञ्चालकहरुको सहभागीता रहेको थियो । उनीहरुले सिइओको योग्यता तोक्नु पर्ने तर कार्यकाल तोक्न नहुने धारणा पुनः दोहोर्याएका थिए । त्यस्तै, सञ्चालकका लागि कार्यकाल र योग्यता दुबै आवश्यक नरहने तर्क पेश गरेका थिए । नेपाल चेम्बर अफ कमर्शका महासचिव तथा एनएमबी बैंकका सञ्चालक कमलेश कुमार अग्रवालले बैंक सञ्चालकको कार्यकाल तथा योग्यता तोक्नु आवश्यक नरहेको धारणा राखे । त्यस्तै, कुश कुमार मल्लीले पनि सञ्चालकको योग्यता र कार्यकाल तोक्नु अनुचित हुने दावी गरेका थिए । बैठकमा नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिबराज श्रेष्ठ नेतृत्वको टोली उपस्थित थियो । शुक्रबार राष्ट्र बैंकका अधिकारीहरुले सांसद, बैंकका सिइओ र सञ्चालकहरुको विचार सुन्ने कार्यसूचिमा मात्रै राखिएको थियो । अर्थ समितिका सभापति प्रकाश ज्वालाले मुलुकको अर्थतन्त्रलाई नेतृत्व गर्ने बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन संसोधन चुनौती पुर्ण रहेको भन्दै सुझबुझपुर्ण ढंगले बिधेयक अघि बढाउने बताए । उनले पुनः विज्ञसहितको छलफल आवश्यक रहेको समेत बताउँदै अर्काे बैठकले ठोस निष्कर्ष निकाल्ने प्रतिवद्धता पनि सुनाए । बैठक लगत्तै भएको अनौपचारिक छलफलमा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रोमोटर्स सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने समय सिमा १० वर्ष वा ७ बर्ष भन्ने विवादको औचित्य के हो ? भन्दै प्रश्न गरेका थिए । उनले १० वर्ष किन ठिक र ७ वर्ष किन बेठिक भनि प्रश्न गरेका थिए । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिबराज श्रेष्ठले प्रमोटर्स सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने समय सिमाले पुँजी बजारलाई प्रभावित पार्ने स्पष्टीकरण पाण्डेलाई दिएका थिए । समितिको बैठक सकिएको केहिबेरमा पुगेका गभर्नर डा.चिरञ्जीवी नेपाललाई डेपुटी गभर्नर शिवराज श्रेष्ठले समितिमा उठेका सवालबारे ब्रिफिङ समेत गरेका थिए । पुर्व अर्थमन्त्री पाण्डेले साधारण सेयधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेहरुले कम्पनीको महत्वपुर्ण निर्णयम अनावश्यक हस्तक्षेप गरिरहेको आरोप समेत लगाएका थिए ।  

विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल दुई स्थान झर्यो, १५९ राष्ट्रहरुमा १०८ औं स्थानमा

काठमाडौँ, ३० भदौ । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १५९ राष्ट्रहरुमध्ये १०८ आै स्थानमा रहेको छ । गत वर्ष यस प्रतिवेदनमा नेपाल १५७ राष्ट्रहरु मध्ये १०६ औं स्थानमा रहेको थियो । क्यानाडाको फ्रेजÞर इन्स्टिच्युटसँग सहप्रकाशन गरी समृद्ध्रि फाउण्डेशनले प्रकाशन गरेको वार्षिक आर्थिक स्वतन्त्रता प्रतिवेदनले नेपालमा आर्थिक स्वातन्त्रता खुम्चिएको बताएको छ । विगतका विभिन्न अध्ययनहरुले देखाए अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ । उदाहरणका लागि, आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१४ मा औसत प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन ४१,२२८ अमेरिकी डलर रहेको थियो भने आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको चाँहि ५,४७१ अमेरिकी डलर थियो । त्यसबाहेक, आर्थिक रुपले स्वन्तन्त्र राष्ट्रहरुमा सबै भन्दा गरिब १० प्रतिशतको औसत आम्दानी (अमेरिकी डलर ११,२८३) पनि आर्थिक रुपले अस्वतन्त्र राष्ट्रहरुको समग्र औसत आम्दानी भन्दा अधिक छ । नेपालको प्रदर्शनी नेपाल यस वर्षको प्रतिवेदनमा ६.५४ (१ देखि १० सम्मको क्रममा, अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता) अंकका साथ् १५९ राष्ट्रहरु मध्ये १०८ आंै स्थानमा रहेको छ । यस अंकका साथ गत वर्षको तुलनामा नेपाल २ स्थान तल झरेका हो । गत वर्ष ६.५६ अंक ल्याएर १५७ राष्ट्रहरु मध्ये नेपाल १०६ औ स्थानमा रहेको थियो। गत वर्षको तुलनामा सरकारको आकार परिसूचक ८.७२ बाट अंकमा झरेको, ७.८९, न्याय व्यवस्था तथा सम्पति माथिको अधिकारको सुरक्षाको परिसूचक ४.३३ अंकबाट बढेर ४.७९ पुगेको, स्वस्थ मुद्रा माथिको पहुँच परिसूचक ६.४२ बाट ६.४३ भएको, अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता परिसूचक ६.४७ बाट बढेर ६.७२ भएको, कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्था परिसूचक गत वर्षको अंक ६.८५ रहेकोमा यस वर्ष ६.८७ भएको समृद्धिले जनाएको छ । अन्तर्राष्ट्रिय प्रदर्शनी प्रतिवेदनका अनुसार विश्वभरमा सबैभन्दा उच्चदरको आर्थिक स्वन्तन्त्रता कायम गरेका दश उत्कृष्ट राष्ट्रमा १० अंकमा ९.०३ ल्याउदै हंगकंग पहिलोमा सूचिकृत भएको छ । त्यसपछि क्रमश सिंगापोर (८.७१), न्यु जिल्यान्ड (८.३५), स्विजÞरर्लैड (८.२५), क्यानडा (७.९८), जर्जिया (७.९८), आयरल्याण्ड (७.९८), मरिसियस (७.९८), युनाईटेड अरब एमीरेटस (७.९८), अष्ट्रेलिया (७.९३) र संयुक्त अधिराज्य (७.९८) लगातार अब्बल स्थानमा रहे । अन्य केहि उल्लेख्य राष्ट्रहरुमा जर्मनी (७.५५), जापान (७.४२), फ्रान्स (७.३०), रसिया (६.६६), भारत (६.५०), चीन (६.४५) र ब्राजिल (६.२७) रहेका छन् । त्यसै गरी, इरान, अल्जेरिया, च्याड, अंगोला, सेन्ट्रल अफ्रिकि रिपब्लिक, अर्र्जे्न्टिना, रिपब्लिक अफ कंगो, लिब्या र भेनेजुएला लगातार अन्तिम १० स्थानमा रही सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशका रुपमा अगाडी आएका छन् । केहि निरङ्कुश शासन भएका राष्ट्रहरु जस्तै उत्तरी कोरिया र क्युबाहरुको आंकडा नभएको हुदा मापन भएको छैन ।

नचायो नारायणी किनारमा एनसेल मेलाले, पोखरा, बुटवल, धरान र बिर्तामोडमा पनि नचाउँदै

काठमाडौं, ३०, भदौ । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन बिहीबार नारायणी किनारमा एनसेल मेलाको आयोजना गरेको छ । बिहान ११ बजे शुरु भएको उक्त मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण मेलामा आगन्तुकहरुले विविध कार्यक्रम, गतिविधि र कन्सर्टको भरपुर आनन्द लिएका थिए । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका रहेका थिए । मनोरञ्जनका साथ साथै मेलाका आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर लिन सकेका थिए भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्नहरुको भीड लागेको थियो । मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई, एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्ले आ—आफ्नो प्रस्तुती गरेका थिए । डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई नचाएका थिए । मेलाको विषेश आकर्षण रहेको कन्सर्टमा, गायक सुगम पोख्रेलले आफ्नो उत्कृष्ट गीतहरु जस्तै झिल्के, प्रेम गीत लगायतका गीतहरुले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । शिव परियारले क्या दामी भो, संगी डुब्दै छु गाउँदा दर्शकहरु उनीसँगै गाउँदै नाचेका थिए । मिलन अमात्यको गाला रातै, स्लोली स्लोली अनि लाउरेको नेपहपको बाटो, साथी हो र एक्स व्याण्डको लुक्न देउ, चियाबारीमा जस्ता प्रस्तुतीहरुले दर्शकहरुलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेको थियो भने कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीमा दर्शकहरु मन्त्रमुग्घ भएका थिए । मेलामा आउने जुन सुकै उमेर समुहका दर्शकलाई उक्त मेलामा मनोरञ्जनका कार्यक्रमहरु समावेश गरिएका थिए । बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी पनि मेलामा समावेश गरिएका थिए । त्यसैगरी गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु रहेका थिए र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाएका थिए । दर्शकहरुले मेलामा विविध रोचक गतिविधीहरु बाहेक नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरुमा विभिन्न परिकारहरुको मज्जा लिएका थिए । नारायणघाट पश्चात एनसेल मेला अब असोज १ गते पोखरामा आयोजना हुनेछ । यो मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ । “एनसेल मेला मार्फत खुसीयाली साट्न तथा नजिकिदै गरेको चाडपर्वको अवसरमा आदरणीय ग्राहकहरु माझ पुगेर शुभकामना आदानप्रदान गर्न पाउदा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यही शिलशिलामा हामी मनोरन्जनले भरिपूर्ण यो मेला लिएर पोखरा, बुटवल, धरान र बिर्तामोड पुग्दै छौ । ”

मलेसिया जाने कामदारको प्रवेशाज्ञाको लागि राहदानी पठाउन रोक

काठमाडौं, ३० भदौ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य नरोकिएसम्म सो देशमा जाने कामदारको प्रवेशाज्ञाका लागि राहदानी पठाउन रोक लगाएको छ । वान स्टेप सेन्टर (ओएससी) नामक संस्था खडा गरी कामदारको राहदानी लिएर प्रवेशाज्ञा प्रक्रिया अगाडि बढाएरबापत आजबाट थप रु दुई हजार ८०० अतिरिक्त शुल्क कामदारबाट उठाउन थालिएकाले त्यो नरोकिएसम्म कामदारको राहदानी सो संस्थामा नपठाउन व्यवसायीलाई आग्रह गरिएको सङ्घका महासचिव रोहन गुरुङले जानकारी दिए । यसअघि मलेसियाको प्रवेशाज्ञाका लागि रु ७०० मात्रै तिर्नुपर्नेमा दुई वर्षअघि भिएलएन नेपाल नामक कम्पनीले प्रवेशाज्ञाका लागि राहदानी र कागजपत्र सङ्कलन गर्ने भन्दै रु तीन हजार २०० थप लिएर नेपालीबाट रु तीन हजार ९०० असुलिरहेको थियो । सो रकममा समेत वृद्धि गरी आजबाट ओएससीको नाममा कामदारबाट थप रु दुई हजार ८०० उठाउन थालिएकाले सो संस्थामा कामदारको राहदानी नपठाउने निर्णय गरिएको सङ्घका महासचिव गुरुङले बताए। महासचिव गुरुङले बायोमेट्रिक, माइग्राम, भिएलएन, ओएससीलगायतका नाममा कामदारमाथि वार्षिक करिब रु एक अर्ब ३९ करोड थप आर्थिक व्ययभार पारिएको जनाउँदै तत्काल ती संस्था बन्द गर्नुपर्ने सङ्घको माग रहेको बताए । छ महिनाका लागि परीक्षणको रुपमा लागू गरिएको बायोमेट्रिक प्रणाली अवधि सकिएको आठ महिना नाघिसक्दा समेत अवैधानिक तरिकाले ३९ वटा संस्थामार्फत कामदारको स्वास्थ्य परीक्षण कार्य जारी राखेको र वार्षिक करिब रु ४५ करोड ठगी गरिरहेको सङ्घले जनाएको छ । भिएलएन नेपाल अवैध ढङ्गले सञ्चालन भइरहेको जनाउँदै व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्यसलाई खारेज गर्न श्रम तथा रोजगार मन्त्रालयलाई एक वर्षअघि नै निर्देशन दिए पनि हालसम्म कार्यान्वयन गरिएको छैन । मलेसियाको प्रवेशाज्ञा शुल्क रु ७०० मात्रै भए पनि बिचौलियाको चलखेलका कारण प्रवेशाज्ञा बापतमात्रै ६ हजार ७०० कामदारले बुझाउनु परिरहेको छ । त्यस्तै बायोमेटिक प्रणाली लागू भएपछि स्वास्थ्य परीक्षणका लागि थप रु दुई हजार ५०० र माइग्रामको नाममा थप रु तीन हजार २०० कामदारले अतिरिक्त रकम तिर्नु परिरहेको छ । रासस

फिफा बरियातामा नेपाल २ स्थान उक्लियो

काठमाडौं, ३० भदौ । विश्व फुटबल महासंघ(फिफा)को बरियातामा नेपालले दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा उक्लिएको छ । फिफाले हरेक महिना सार्वजनिक गर्ने बरियाताक्रममा नेपालले दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा पुग्न सफल भएको हो । दक्षिण एशियामा भने नेपाल चौथो स्थानमा कायमै छ । सार्क मुलुकहरुमा भारत १४८ औं बरियातासहित शीर्ष छ । चार स्थान सुधार गर्दै अफगानिस्तान दोश्रो स्थानमा पुगेको छ । फिफाका तत्कालिन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको आरोपमा फिर्फाले बर्खास्त गरेपछि नेपालको फुटबलमा सुधार हुँदै आएको छ । अझ कप्तान सागर थापा लगायतलाई म्याच फिक्सिङको आरोपमा पक्राउ गरिएपछि नेपाली फुटबलमा नयाँ युग आरम्भ भएको आँकलन गर्न थालिएको छ ।

भूकम्पपीडितलाई भारतीय कम्युनिस्ट पार्टीबाट रु आठ करोड बढी सहयोग

नयाँ दिल्ली, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालका भूकम्पपीडितलाई राहत दिनका लागि भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले रु आठ करोड ४५ लाख रकम सहयोग गरेको छ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालसँग आज भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेपाली जनताको पीडामा भाकपा९मा०का तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति प्रधानमन्त्रीले आभार प्रकट गर्नुभएको थियो । भेटका अवसरमा प्रधानमन्त्री दाहाल र महासचिव यचुरीबीच दुई देश र दुई पार्टीको सम्बन्धका बारेमा समेत कुराकानी भएको थियो । यस्तै प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रिय काँग्रेसका महासचिव डिपी त्रिपाठीबीच पनि आजै भेटवार्ता भएको छ । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन भएपछि सरकारले सुरु गरेका काम कारबाही एवम् आपसी हित र चासोका बारेमा समेत कुराकानी भएको थियो । रासस

दशैँ तिहारको अवसरमा त्रिवेणी कम्पनीले ल्यायो नयाँ दुई योजना

नेपालको प्रसिद्ध कम्पनी त्रिवेणी व्यापार कम्पनीले आगामी दशैँ तिहारको उपलक्ष्यमा आफ्नो लोकप्रिय ब्राण्ड यसुदाको लागि “यसुदा दशैँ तिहार उपहारै उपहार” नामक योजना बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत यसुदा रेफ्रिजेरेटरको खरिदमा यसुदा आइरन पाइने छ । यसै गरी यसुदा एलइडी टिभीको खरिदमा इमर्जेन्सी लाइट पक्का पाइने छ । साथै यसुदा वासिङ् मेसिनको खरिदमा यसुदा राइस कुकर र यसुदा डिप फ्रिजको खरिदमा हन्डी कन्टेनर पाइने छ । त्यस्तै, त्रिवेणी व्यापार कम्पनीले दशैँ तिहारको उपलक्ष्यमा “सानसुई किनौँ उपहार पाऊँ धमाधम” नामक योजना पनि ल्याएको छ । जापानीज ब्राण्ड सानसुई रेफ्रिजेरेटरको खरिदमा यसुदा आइरन पाइने छ । यसै गरी सानसुई एलइडी टिभीको खरिदमा इमरजेन्सी लाइट पक्का पाइने छ । साथै सानसुई वासिङ मेसिनको को खरिदमा यसुदा राइस कुकर र सानसुई डिप फ्रिजको खरिदमा पाइने छ । उक्त दुई योजना देशभर लागु हुने त्रिवेणी व्यापार कम्पनीले जनाएको छ ।

नेपाल बासु सेवा निगमको ट्रेड युनियनमा एमाले पहिलो

काठमाडौं, ३० भदौ । नेपाल बायु सेवा निगममा भएको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी युनियन पहिलो भएको छ । भदौ २६ गते भएको आधिकारी ट्रेड युनियनको निर्वाचनमा एमाले निकट नेपाल वायु सेवा निगम कर्मचारी युनियनले ३४१ मत ल्याएर पहिलो बनेको हो । नेपाली काँग्रेस निकट नेपाल बायुसेवा निगम कर्मचारी संघले २४१ मत ल्याएर दोश्रो स्थान प्राप्त गरेको हो । त्यस्तै, नेपाली काँग्रेस निकट नेपाल बायुसेवा निगम य कर्मचारी संगठनले १०८ मत ल्याएर तेश्रो भएको हो । निर्वाचनमा ७०१ मत खसेको थियो ।