एड्भेन्चर स्पोर्ट्स एक्स्पोमा ७ वटा निजी पर्यटन व्यवसायीहरु सहित नेपालको प्रभावकारी सहभागिता
काठमाडौं । पाटा नेपाल च्याप्टर,नेपाल पर्यटन बोर्ड तथा नेपाल बायुसेवा निगमको संयोजनमा ७ वटा निजी पर्यटन व्यवसायीहरु सहित नेपालले जनवरी २७ देखि २९ सम्म भारतको नयाँ दिल्लीमा आयोजित एड्भेन्चर स्पोर्ट्स एक्स्पो एशियामा प्रभावकारी सहभागिता जनाएको छ । संसारभरी रहेका एड्भेन्चर तथा इको टुरिजम क्षेत्रमा संग्लग्न सबै सरोकारवालाहरुलार्इ एउटै छातामुनी भेलागरी दिगो साहसिक पर्यटनको अवधारणालार्इ प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजित एक्स्पोमा नेपालबाट हिमालयन होलिडेज ट्रेक्किङ्ग, इन्सेन्टिभ होलिडेज, एड्भेन्चर आउटडोर ट्रेक्स एंड एक्स्पेडिसन्, हाइग्राउन्ड एड्भेन्चर नेपाल, हिमालयन कैलाश ट्राभल एंड टुर्स, एवेरेस्ट सम्मिट लजेज र नेपाल सेन्चुरी ट्रेक्स ७ वटा निजी पर्यटन कम्पनीहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा पाटा नेपालका अध्यक्ष्य सुनिल शाक्यले नेपाल, “द अल्टिमेट एड्भेन्चर डेस्टिनेशनस” शिर्षकमा प्रस्तुति दिएका थिए । उनले नेपाली साहसिक खेल तथा साहसिक पर्यटनका आकर्षण तथा सम्भावनाहरुलार्इ चित्रण गर्दै एड्भेन्चर प्रेमीहरुका लागि नेपाल उत्कृष्ट गन्तब्य भएको बताउँदै सबैलाई नेपाल घुम्न आमन्त्रण गरेका छन् र दिगो एड्भेन्चर टुरिजम विकासका लागि क्षेत्रीय तथा अन्तर्रस्ट्रिय रुपमा सबै सरोकारवालाहरु मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । दिगो साहसिक पर्यटन बिकासमा योगदान पुर्याउने हस्तीहरुलार्इ सम्मान तथा अवार्ड प्रदान कार्यक्रममा दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड), सुनिल साक्य (पाटा नेपाल च्याप्टर), बिभुति चन्द ठाकुर (हिमालयन होलिडेज) तथा मेघ आले (नेपाल रिभर कन्जरभेसन ट्रस्ट)लार्इ अवार्ड प्रदान गरिएको थियो ।
५० जिल्लामा रेडक्रसको परियोजनागत स्वास्थ्य गतिविधि सञ्चालन, ४ लाख ६५ हजार लाभान्वित
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५० जिल्लामा नियमित तथा परियोजनागत स्वास्थ्य गतिविधिहरु सञ्चालन भएका छन् । उक्त गतिविधिबाट गएको एकबर्षमा ४ लाख ६५ हजार ८ सय ९४ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । मंगलबार चितवनमा सम्पन्न भएको नेरेसोमार्फत् सञ्चालन भएका विपद् व्यवस्थापन र स्वास्थ्य सेवा गतिविधिहरुको २ दिने वार्षिक समीक्षा बैठकको क्रममा यो जानकारी दिइएको हो । समीक्षाको क्रममा नेरेसोबाट विभिन्न विपद् व्यवस्थापनको क्षेत्रमा सञ्चालित गतिविधिको बारेमा निर्देशक धर्मराज पाण्डेयले समग्र प्रस्तुती गर्दै देशका ३३ जिल्लाका ४४ वटा गाँउपालिका र ५१ वटा नगरपालिकामा विपद पूर्वतयारीका परियोजनाहरु सञ्चालन भइरहेको जानकारी दिएका छन् । त्यस्तै, एम्बुलेन्स, रक्तसञ्चार, आँखा सेवा तथा आपत्कालीन स्वास्थ्य सेवा देशका अधिकाँश क्षेत्रमा स्वास्थ्य गतिविधिहरु रेडक्रसले सञ्चालन भइरहेको स्वास्थ्य विभागका निर्देशक मोना अर्यालले बताए । समीक्षा र योजनाको सिलसिलामा बिपद् तथा स्वास्थ्यक्षेत्रमा सञ्चालित विभिन्न परियोजनाहरुको छुट्टाछुट्टै सेसन र छलफल तथा ग्यालरी वाक मार्फत् जानकारी गराइ समुहगत छलफल गरिएको थियो । नेरेसोका अध्यक्ष सञ्जीव थापाले नेपालको प्रायजसो सवै खालका विपद् तथा स्वास्थ्य समस्यामा तत्काल सेवाको लागि रेडक्रसका स्वयँसेवकहरु अग्रपंतिमा रहीआएको बताए । उनले भने “विपद् व्यवस्थापनमा नेपाल सरकार लगायत सवै सरोकारवाला सँग सँगसँगै छ । अहिले मुलुकभर विशेष तालिमप्राप्त १४ हजार सातसय स्वयँसेवकहरु अग्रपँक्तिमा रही प्रथम रेस्पोन्डरको रुपमा कार्य गरिरहेका छन् र यसमा अझ क्षमता वढाइने छ ।” समीक्षा कार्यक्रममा सरकारी निकाय, यूएन, विभिन्न देशका रेडक्रसका प्रतिनिधिहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति-आइसीआरसी, रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ, नेरेसोको केन्द्रीय नेतृत्व, विभिन्न जिल्लाहरुका रेडक्रस शाखाहरुका प्रतिनिधि तथा कर्मचारीहरु गरी १४० जनाको सहभागिता रहेको थियो । नेरेसो स्वास्थ्य सम्बन्धी केन्द्रीय समितिका सभापति उत्तम जोशीले नेरेसोका महामन्त्री देवरत्न धाख्वाले जीवन रक्षा र स्वास्थ्य सुरक्षाको अवधारणाबाट नेरेसोका गतिविधिहरु सञ्चालन भइरहेको जानकारी दिएका छन् । नेपाल सरकारको तर्फबाट गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन केन्द्रका डा. दयाराम श्रेष्ठले विपद व्यवस्थापन र स्वास्थ्य सेवा एक अर्काका परिपुरक हुन् र नेपाल सरकारले अघिल्लो महिना विपद व्यवस्थापनको लागि नयाँ ऐन ल्याएको र सो ऐनले रेडक्रस, मानवीय सँस्था लगायत निजी क्षेत्रको सहभागिता अपेक्षा गरेको बताएका छन् । उत्कृष्ट स्वयंसेवकलाई सम्मान प्राथमिक उपचारलाई घरदैलोमा पुर्याउन सन् २०१७ मा सक्रिय रहेका स्वयंसेवक मध्ये चितवनका नीता ढकालले उत्कृष्ट प्राथमिक उपचार स्वयंसेवक पुरस्कार प्राप्त गरेका छन् । सन् २०१८ को लागि प्राथमिकताः बिपद् जोखिम न्यूनीकरण र स्वास्थ्य सेवामा समुदायको क्षमता अभिबृद्धि हुने गतिविधिमा नै आगामी दिनको लागि पहिलो प्राथमिकता रहने बताइएको छ । बढ्दो शहरीकरण, बसाईँसराई र तापमान बृद्धिले ल्याएका र ल्याउन सक्ने विपद् र संकटलाई गतिविधिमार्फत् सम्बोधन गर्दै जाने, सरकार लगायत अन्य एजेन्सीहरुसँगको सहकार्य बढाउने, नगद सहयोगको क्षमता अभिबृद्धि गर्ने, समुदायमा अग्रपंतिमा काम गर्ने दक्ष जनशक्तिलाई क्षमतावान बनाउने र लाभान्वित वर्गको मर्यादा, पहुँच, सहभागिता र सुरक्षा अभिबृद्धि गर्ने आगामी वर्षको प्राथमिकतामा राखिएको छ । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीले सामुदायिक एकिकृत स्वास्थ्य कार्यक्रम, आपत्कालीन तथा सामान्य अवस्थामा स्वास्थ्य पूर्वाधार विकास तथा नेरेसोको स्वास्थ्य सेवा सञ्चालनमा क्षमता अभिबृद्धितर्फ सन् २०१८ का स्वास्थ्य क्षेत्रका गतिविधि लक्षित हुने बताएको छ । साथै, सडक शुरक्षा, स्वास्थ्य चेतना जस्ता विषय आगामी दिनमा रेडक्रसका मूल गतिविधिकै रुपमा अगाडि बढाइने सहमति गरिएको छ ।
बीमा समितिको कर्मचारी विनियमावली अर्थ मन्त्रालयमा, कति बढ्ला तलब ?
काठमाडौं । नियामक बीमा समितिका कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली अर्थमन्त्रालय पुगेको छ । समितिले कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली २०६८ संसोधनको प्रस्ताव अर्थमा पठाएको हो । ‘कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली अर्थमन्त्रालय पुगेको छ, नयाँ सरकार आएसँगै स्वीकृत भएर कार्यान्वयनमा आउँछ’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले विकासन्युजसँग भने । बीमा समितिका कर्मचारीहरुको सेवा सुबिधा तथा कार्य क्षमता अभिवृद्धिका लागि महत्वपुर्ण योगदान पुग्ने गरी तयार पारिएको संसोधित विनियमावलीले कर्मचारीको मनोबल बढाउने अध्यक्ष चापागाइँले बताए । ‘तलब मान त लोकसेवाको गाइडलाइन अनुसार नै छ, तर पनि संसोधित विनियमावलीले कर्मचारीको मनोबल र कार्य क्षमता बढाउन सहयोग गर्छ’, अध्यक्ष चापागार्इँले भने । पछिल्लो समय बीमा समितिमा कर्मचारीको आकर्षण घट्न थालेको आरोप लागिरहेको छ । एक बर्षको अन्तरालमा करिब आधा दर्जन उच्च तहका कर्मचारीले बीमा समितिका जागिर छाडेर निजी कम्पनी रोजेका छन् । कात्तिक महिनामा उप निर्देशकको जागिर छाडेर राजकुमार अर्यालले सनलाईफ इन्स्योरेन्स कम्पनीको सिइओ रोजे । त्यस्तै, साउनमा चाटर्ड एकाउण्टेन्ट सन्तोष प्रसाईँ पनि नेपाल लाइफको डेपुटी सिइओ बन्न गए । अर्का चाटर्ड एकाउण्टेन्ट लक्ष्मण ज्ञवालीले पनि बीमा समितिको जागिर छाडेर प्राइम लाइफमा चिफ अपरेशन अफिसर रोजे । जेठमा कानुन अधिकृत बिनोद भट्टले पनि नेपाल लाइफको कानुन अधिकृत पदलाई रोजेर बीमा समिति छाडेका थिए । अधिकृत स्तरका केहि कर्मचारीले समितिको जागिर छाडेर निजी कम्पनी जाने तयारी गरेको चर्चा समितिमा चलिरहेको छ । समितिले भर्खरै आव्हान गरेको नयाँ कर्मचारी भर्ना प्रक्रियामा पनि उत्साहजनक आवेदन नपरेको बताइन्छ । हाल करिब ४० वटा भन्दा बढि संस्थाहरुको नियमन गर्न समितिमा ६५ जना कर्मचारी छन् । ती संस्थाहरुको १३ सयका हाराहारीमा शाखा सञ्जाल रहेको छ । कर्मचारी सेवा शर्त विनियमावलीले तलब भत्ताका साथै उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण गर्ने आशमा समितिका कर्मचारी छन् ।
लगानीकर्तालाई प्रतिफल दिन नेसनल हाइड्रोपावरले २७ मेगावाटका दुई आयोजना बनाउदै
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले २७ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । लगानीकर्ताको सुरक्षा र प्रतिफल दिनका लागि १४.५ मेगावाटको इर्खुवाखोला र १२.३ मेगावाटको माद्मेखोला जलविद्युत आयोजना बनाउन लागेको हो । नयाँ आयोजना बनाएर लगानीकर्तालाई प्रतिफल दिनका लागि काम सुरु भएको नेसनलका अध्यक्ष कुमार पाण्डेले बताए । हाल सञ्चालनमा रहेको नेसनलबाट लगानीकर्ताले प्रतिफल पाउने संभावना नभएका कारण नयाँ आयोजना निर्माण गर्न लागेको पाण्डेको भनाई छ । इर्खुवाको बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसंग मस्र्यौदा विद्युत खदिबिक्री सम्झौता (पीपीए) भएको उनले जानकारी दिए । औपचारिक रुपमा पीपीएमा हस्ताक्षर भएपछि आयोजनाको काम सुरु हुने उनले जानकारी दिए । आयोजना निर्माण गर्नका लागि लोअर इर्खुवा हाइड्रोपावर कम्पनी गठन भइसकेको छ । आयोजना भोजपुर जिल्लामा पर्छ । आयोजनामा नेसनलको ६७ प्रतिशत र बाँकी अन्य लगानीकर्ताको स्वामित्व हुने उनले बताए । आयोजनामा लगानी जुटाउन विभिन्न बैंकसंग छलफल भइरहेको उनले सुनाए । पीपीए भएपछि आयोजनाका लागि लगानी जुट्ने उनको भनाई छ । आयोजना आर्थिक रुपमा आकर्षक देखिएको अध्ययनले देखाएको छ । यस्तै कम्पनीले कास्कीमा ररहेको माथिल्लो माद्मेखोला आयोजनाको संभाव्यता अध्ययन गर्न विद्युत विकास विभागबाट अनुमतिपत्र (लाइसेन्स) पाएको छ । नेसनलले आयोजनाको अध्ययन सुरु गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा नेसनल ९७ लाख २१ हजार रुपैयाँ नोक्सानमा गएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा कम्पनीले ९५ लाख २९ हजार रुपैयाँ खुदनाफा गरेको थियो । १० वर्ष अघिदेखिको कर दाइत्व भुक्तानी गरेका कारण नेसनल नोक्सानमा गएको हो । सरकारलाई गत वर्षसम्मको ४ करोड ५ लाख ८२ हजार रुपैयाँ कर बुझाएपछि घाटामा गएको उनले जानकारी दिए । अब कर दाइत्व नरहेको उनको भनाई छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ३९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको संचित नोक्सान ४३ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ ।
पुरानो कर दायित्व ४ करोड तिर्दा नेसनल हाइड्रोपावर नोक्सानमा
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड नोक्सानमा गएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नेसनल ९७ लाख २१ हजार रुपैयाँ नोक्सानमा गएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा कम्पनीले ९५ लाख २९ हजार रुपैयाँ खुदनाफा गरेको थियो । १० वर्ष अघिदेखिको कर दाइत्व भुक्तानी गरेका कारण नेसनल नोक्सानमा गएको अध्यक्ष कुमार पाण्डेले बताए । सरकारलाई गत वर्षसम्मको ४ करोड ५ लाख ८२ हजार रुपैयाँ कर बुझाएपछि घाटामा गएको उनले जानकारी दिए । अब कर दाइत्व नरहेको उनको भनाई छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ३९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको संचित नोक्सान ४३ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ ।
सुरु भयो राजधानीमा साफा सम्मेलन, देश–विदेशका ४ सय लेखा व्यवसायीको सहभागिता
काठमाडौँ। दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) सम्मेलन राजधानीमा सुरु भएको छ । सदस्य संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मेलन आयोजना गरेको हो । सम्मेलनको औपचारिक उद्घाटन बुधबार हुने भएतापनि मंगलबारबाट साफाको विविधि कार्यक्रमहरु सुरु भएको छ । सम्मेलन बिहीबारसम्म चल्नेछ । आयोजकका अनुसार सम्मेलनमा लेखा तथा वित्तीय जोखिम व्यवस्थापन, पारदर्शीता र व्यवस्थापन सम्बन्धि छलफल हुनेछ । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति गरिनेछ । साथै साफा अवार्ड वितरण लगायत कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ । सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ ख्यातिप्राप्त लेखा व्यवसायीले कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । ४ सयभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखा व्यवसायीको सहभागिता रहनेछ । सम्मेलनको पहिलो दिन मंगलबार (क्वीज एण्ड एलोक्युसन कन्टेस्ट) आयोजना गरिएको थियो । सो प्रतियोगितामा नेपाल प्रथम भएको बताइएको छ । आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले मुलुकमा वित्तीय सुशासन र आर्थिक पारदर्शीता कायम गर्न, दक्ष जनशक्ति उत्पादन गर्न सम्मेलन उपयोगी हुने बताएका छन् । साफाका अध्यक्ष डा. सुवोध कर्णले सम्मेलनले सार्क क्षेत्रको लेखा व्यवसायलाई थप व्यवसायिकिकरण गर्न र एक अर्काको सीप र ज्ञान आदान–प्रदान गर्न सहयोग पुग्ने बताएका छन् । अहिले साफाका विभिन्न सातवटा समितिको बैठक चलिरहेको छ आयोजकको भनाइ छ । आयोजकका अनुसार चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा हाल ८ हजार ४ सय सदस्य रहेका छन् । करिब ७ हजार चार्टर्ड एकाउन्टेन्ट्सका विद्यार्थी अध्ययनरत छन् । साफामा नेपालसहित दक्षिण एशियाली मुलुकका ३ लाख ७५ हजार लेखा व्यवसायी आबद्ध रहेका छन् ।
ज्योति विकास बैंकको नयाँ शाखा दमकमा, थप १० वटा शाखा संचालनमा ल्याउने
काठमाडौं । ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा कार्यालय दमकमा उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य तथा विशेष अतिथि दमकका अध्यक्ष टेकबहादुर थापाले मंगलबार एक कार्यक्रमका बीच उक्त शाखाकाे उद्घाटन गरेका छन् । यस बैंकको निकट भविष्यमा नै १०वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । बैंकले आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १३ अर्ब ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्ब ४३ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।
राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर नजान एमालेको निर्देशन
काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठकले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरु तथा पार्टीको तर्फबाट निर्वाचित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बैठकले निर्वाचन मण्डलका सदस्यहरु, पार्टीका तर्फबाट निर्वाचित सदस्यहरु, प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका अध्यक्ष, र उपाध्यक्षहरू राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको हो । बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदातालाई अनिवार्य रुपमा मतदानसम्बन्धी तालीम दिन जरुरी भएको ठान्दै प्रदेश संगठन कमिटीका संयोजकबाट केन्द्रीय निर्वाचन विभागसँंग समन्वय गरी प्रशिक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । त्यसका लागि माघ २१ गते राति १२ बजेदेखि मौन अवधि शुरु हुनुअगावै प्रशिक्षणको व्यवस्था गरिने भएको छ । राष्ट्रियसभाका लागि तय भएका एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवारहरूलाई विजयी बनाउन पारस्परिक सल्लाहका आधारमा दुवै पार्टीको तर्फबाट संयुक्त रुपमा प्रचारप्रसार, मतदाता शिक्षा, व्यवस्थापनलगायतका कार्य गर्नेसमेत बैठकले निर्णय गरेको छ । कामचलाउ सरकारका निर्णयको निन्दा एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान कामचलाउ सरकारका संविधान, कानून, लोकतान्त्रिक मूल्य मान्यता र नैतिकता विपरीतका कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । एमालेलगायतका ताजा जनादेश प्राप्त राजनीतिक दलहरू, सञ्चार जगत् र आमनागरिकको आलोचना र विरोधलाई बेवास्ता गर्दै कामचलाउ सरकारले गरेका राष्ट्रिय ढुकुटी दुरुपयोग, मनपरी नियुक्ति, सरुवा तथा बढुवाजस्ता स्वेच्छाचारी निर्णयको बैठकले भत्र्सना गरेको छ । प्रदेशसभा सदस्यका भूमिकाबारे छलफल गरिने स्थायी कमिटी बैठकले सातै प्रदेशका प्रदेश प्रमुखबाट सम्बन्धित प्रदेशसभाहरूको पहिलो बैठक आह्वान भइसकेको हुँदा प्रदेशसभाको प्रथम बैठकअगावै प्रदेशसभा संसदीय दलको बैठक आयोजना गर्ने र प्रदेशसभामा दल तथा दलका सदस्यहरूका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने तय गरेको छ । बैठकले संसदीय दल नेताको निर्वाचन सम्पन्न भएको प्रदेशमा दल नेताको अध्यक्षतामा र दल नेताको निर्वाचन सम्पन्न हुन बाँकी रहेका प्रदेशमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने तय गरेको छ । पार्टीले प्रदेशसभा संसदीय दलको नेता चयन हुन बाँकी रहेका प्रदेशहरूमा यही माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भएलगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने र दल नेताको चयन गर्ने भएको छ । ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालित प्रदेशसभा संसदीय दलको बैठकले दल नेताको चयनसम्बन्धी विधि र प्रक्रिया तय गर्ने छ । दल नेताको निर्वाचनका लागि दलको बैठकबाट तीन सदस्यीय निर्वाचन कमिटी गठन गर्नेछ । प्रदेशसभा संसदीय दलको नेताका लागि एकभन्दा बढीको उम्मेदवारी परेमा गोप्य मतदानद्वारा निर्णय गरिनेछ । दलका नेता वा सभामुखको निर्वाचनलगायत निर्वाचनको सिलसिलामा कुनै पनि प्रकारका अनुचित र अस्वस्थ गतिविधि नगर्ने÷हुन नदिने निर्णय पनि बैठकले निर्णय गरेको छ । रासस