विकासन्युज

सेयर कारोबार सहज गरिदिन राष्ट्र बैंकलाई नेप्सेको आग्रह

काठमाडौँ, १७ असोज । प्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ । ग्रन्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको १० महिनापछि साविकको प्रभु बैंकको मात्र सेयर कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएपछि सेयर समायोजनमा अप्ठ्यारो परेको भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको नेप्सेले जनाएको छ । नेप्सेका सहप्रवक्ता मुरहरि पराजुलीले नेप्सेको इतिहासमा दुई कम्पनी एक भइसकेको अवस्थामा एकको मात्र सेयर कारोबार नगरेको र त्यसले सेयर समायोजनमा गाह्रो हुने भएकाले त्यसलाई सम्बोधन गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेको जानकारी दिए । उनका अनुसार त्यस विषयमा नेप्सेले सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डलाई पनि जानकारी गराइएको छ । त्यसैगरी धितोपत्र बोर्डले पनि ग्रान्ड बैंकका सेयर लगानीकर्तालाई परेको असरका सम्बन्धमा प्रभु बैंकसँग जानकारी मागेको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी लिने बताए । प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजनपश्चात् बैंकको प्रतिकित्ता सेयर मूल्य ३६३ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ । बैंकको मर्जरमा जानुअघि नेप्सेमा प्रतिकित्ता ४१५ रुपैयाँमा सेयर किनबेच भएको थियो । रासस

नेपाल एसबिआइ बैंकले २८ प्रतिशत बोनस दिने, पूँजी ४ अर्ब ९६ करोड रुपैयाँ पुग्ने

काठमाडौं, १७ असोज । नेपाल एसबिआइ बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २८ प्रतिशत वोनस सेयर दिने भएको छ । साथै बैंकले कर प्रयोजनका लागि १ दशमलब ५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरको लाभांस राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल बैकको ३ अर्ब ८८ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । उक्त बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९६ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । हालसम्म बैंकले ७३ शाखा, ८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

५५ दिनसम्म उपभोग्य वस्तुको मुल्य नबढ्ने

काठमाडौं, १७ असोज । आपूर्तिमन्त्री दिपक बोहराले सरकारले बजार व्यवस्थापन, अखाद्य वस्तु विक्रि वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरुलाई कडा कारवाही गर्ने गरि नयाँ कानुन ल्याउने तयारी गरेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बोहराले बजारमा अनियमितता गर्ने र लाभको लागि अखाद्य वस्तु बेच्ने र उपभोक्ताको जीवनमा खेलबाड गर्नेहरुलाई आर्थिक दण्ड गर्ने र ५ देखि २० वर्षसम्म जेल चलान गर्नेसम्मको नयाँ कानुन ल्याउने तयारी गरेको बताएका हुन् । उक्त आयोजित कार्यक्रममा मन्त्री बोहराले भने,‘अहिलेको कानून संशोधन गर्ने बाटोमा हामी गैसकेका छौं, छिट्टै नयाँ काूनन संसदमा पेश गर्छौं ।’ त्यस्तै उनले कालबजारी ऐनलाई समेत कडा तथा धारिलो बनाउने समेत सरकारले तयारी गरेको स्पष्ट पारे । उनले महँगीविनाको दशैं बनाउने गरि सरकारले बजार अनुगमनलाई तिव्रता दिएको समेत बताए । उनले भने,‘अहिले हामीले विभिन्न दश वटा निकायमार्फत बजार अनुगमन गरिरहेका छौं, जनताले राम्रो र सहुलियतमा सामान पाउनुपर्छ ।’ आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा अहिले तीन दशवटै निकायका प्रमुख तथा निर्देशकहरुले बजार अनुगमन तथा मुल्यवृद्धि नियन्त्रणको काम गरिरहेको समेत मन्त्री बोहराले जनाए । दशैंतिहारमा चामल, दाल, चिनी, नुन, तेल लगायतका अत्यावश्यक वस्तुहरुको मुल्य वृद्धि नहुनेसमेत मन्त्रीले दाबी गरे । उनले भने,‘सरकारले कडाईका साथ यसबारेमा अभियान छेडेको छ, पर्याप्त निर्देशन दिएको छ, तपाईहरु ढुक्क हुनोस दशैंतिहारमा कुनै हालतमा पनि मुल्यवृद्धि हुँदैन्, यदि भएको थाहा पाए हामीलाई खबर गर्नुहोस् हामी तत्काल आईपुग्छौं ।’ मुल्यवृद्धि नगर्ने कुरामा खुद्रा पसलहरुले समेत सरकारलाई साथ दिएको उनको भनाई थियो । सरकारले उपभोक्ताको सहुलियतको लागि पनि काठमाडौं,ललितपुर र भक्तपुरमा सुहलियत बजार सञ्चालन गरिरहेको उनले जनाए । पछिल्लो समय सरकार बजार नियन्त्रणमा राख्न सफल भएको समेत मन्त्री बोहराले दाबी गरे । ‘अहिले बजारमा कहीँ कतैपनि अखाद्य वस्तु पाईँदैन, र म्याद नाघेको बस्तु भेटिँदैन्’, उनले थपे । उनका अनुसार पछिल्लो समय सरकारले ४ सय ५२ जनालाई कारवाही गरिसकेको छ । यद्धपी उनले कारवाही गर्नको लागि ऐन तथा कानुनहरुमा केही प्राविधिक झमेलाहरु रहेको स्पष्ट पारे । सरकारले अखाद्य वस्तु नष्ट गर्ने अभियानमा पछिल्लो समय ३ करोड मुल्य बराबरको म्याद नाघेका वस्तुहरुको नष्ट गरिसकेकोले सरकार यो अभियानबाट पछि नहट्ने उनले प्रतिबद्धता व्यक्त गरे । फरक प्रसँगमा मन्त्री बोहराले तीनवटै निकायको निर्वाचन आगामी माघ ७ गतेभित्रै भएमात्रै संविधान कार्यान्वयन हुने भएकोले सरकारले अहिले त्यतातिर ध्यान दिएको बताए । उनले स्थानीय निकायको चुनावको लागि गाउपालिकाको संख्यालाई नै कायम गरेर चुनाव हुनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए ।  

दशैंलाई २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए

मुस्ताङ, १७ असोज । हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दशैंलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् । जिविसले यहाँबाट बाहिरिने एउटा भेडाच्याङ्ग्राका लागि ६५ रुपैयाँका दरले व्यवसायीबाट कर असुली गरेको छ । म्याग्दी र मुस्ताङको सिमाना घासामा रहेको उक्त कर सङ्कलन केन्द्रका अनुसार, घटस्थापनाको दिनसम्म २० हजार ९७२ वटा भेडाच्याङ्ग्रा मुस्ताङबाट बाहिरिएका हुन् । बेनी–जोमसोम सडकखण्ड हुँदै व्यवसायीले देशका विभिन्न जिल्लामा भेडाच्याङ्ग्रा आपूर्ति गरिरहेका छन् । जिविसका खरिदार एवम् कर सङ्कलन केन्द्रका प्रमुख राजेन्द्र सामन्तले असोज ८ गतेबाट भेडाच्याङ्ग्रा निकासी सुरु भएको बताए । “अब जिल्लाबाट लगभग यति नै भेडाच्याङ्ग्रा बाहिरिन्छ, तिहारको पूर्वसन्ध्यामा थोरै सङ्ख्यामा जाने गर्दछ”, उनले भने – “घटस्थापनाको दिनमात्रै पाँच हजार २०० भेडाच्याङ्ग्रा बाहिरिए ।” जिविसले भेडाच्याङ्ग्राबाट १३ लाख ६५ हजार रुपैयाँ कर सङ्कलन गरेको जनाएको छ । यहाँबाट आएका भेडाच्याङ्ग्रा कम्तीमा २५ हजार रुपैयाँमा बजारमा किनबेच भइरहेको छ । यसवर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर गाविसका भेडापालक कृषकको गोठमै व्यापारी पुगेर दसैँलाई खरिद गरी ल्याएका हुन् । पछिल्ला तीनवर्षयता दसैँमा बजारमा हुने मासुको मागलाई जिल्लामै उत्पादित भेडाच्याङ्ग्राले पूर्ति गरिरहेको छ । “यसवर्ष डोल्पाबाट केही भेडाच्याङ्ग्रा भित्रिएको देखिएको छ” – पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा नन्दलाल बर्माले भने । रासस

लाइफ अटोमोबाइलद्धारा ‘पुन्टो प्युअर’ कार नारायणघाटमा सञ्चालनमा

नारायणघाट, १७ असोज । नेपालका लागि फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले ‘पुन्टो प्युअर’लाई नारायणघाटमा सार्वजनिक गरेको छ । ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याचब्याक अब स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुने छ । कम्पनीको अनुसार पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्रि–लेभल ह्याचब्याक हो । बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका कारण यो कारलाई काठमाडौंमा रुचाइएको छ । उक्त कारमा चार वटा सिलिन्डर भएको १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको छ । यसले ६ हजार आरपीएममा ६८ पीएस उर्जा र २५०० आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्छ । पुन्टो प्युअर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार पाँच वटा ढोका भएको यो युरोपेली ह्याचब्याकमा अवार्ड–प्राप्त इन्जिन जडान गरिएको छ जसले कम इन्धन खपतमा शक्तिशाली उर्जा पैदा गर्छ । पुन्टो प्युअरमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन छ । ४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालिन कारले १५ दशमलब ७ केएमपीएल माइलेज दिन्छ । पुन्टो प्युअरको इन्टेरियर यसको अघिल्लो संस्करण पुन्टो इभोबाट प्रभावित छ । कम्पनीका अनुसार यसमा पाँच जना मानिस सजिलैसँग यात्रा गर्न सक्नेछन् । कारको बुट स्पेस २८० लिटर छ । पुन्टोको आकार ‘क्लास लिडिङ’ हो । ठूलो आकारका कारण यो कारले सडकमा आफ्नो बलियो उपस्थिति देखाउनेछ । पुन्टो प्युअरमा १४ इन्चको स्टिल ह्विल र कालो रंगको आउटर रियर भ्यु मिरर (ओआरभीएम) जडान गरिएको छ । पुन्टो प्युअरमा ‘फलो मि हेडल्याम्प’ छ जसले इन्जिन बन्द भइसकेपछि पनि केही समयका लागि हेडल्याम्पलाई बालिराख्नेछ । सिटको हेडरेस्टलाई एड्जस्ट गर्न सकिन्छ, पछाडिको सिटमा हेड रिस्टे«न्टसमेत राखिएको छ जसले यात्रालाई आनन्ददायी बनाउँछ । यसको ग्राउन्ड क्लेरेन्स १९५ मिलिमिटर रहेको छ जुन यो क्लासकै सबैभन्दा बढी हो । यसमा फायर प्रिभेन्सन सिस्टम पनि जडान गरिएको छ जसले दुर्घटनाको समयमा इन्धन आपुर्तिलाई काटिदिने कम्पनीको विश्वास छ । उक्त कार चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष राजन गौतमले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

नेप्से परिसूचक दोहोरो अंकले उकालो, चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, १७ असोज । सोमबार नेप्से परिसूचक साँढे १६ अंकले उकालो लागेको छ । परिसूचक १६ दशमलब ६२ अंकले उकालो लागेर १७८० दशमलब ४० अंकमा पुगेको छ । सो दिन १३६ कम्पनीको ८ लाख ९६ हजार कित्ता सेयर ७९ करोड रुपैयाँमा किनबेच भएको छ । सो दिन बजारमा ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । प्रभु बैंक, बैंक अफ काठमाण्डौं लुम्बिनी, ज्योति विकास बैंक र कुमारी बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका हुन् । सबैभन्दा बढी नमस्ते वित्तिय संस्थाले करिब ७ प्रतिशत गुमाएका छन् । सोमबार अन्य समूहको परिसूचक बाहेक बाकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३५ अंकले उकालो लागेको छ । त्यस्तै होटल, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः २७, १७ र १० अंकले बढेका छन् । अन्य समूहको परिसूचक भने १.७४ अंकले ओरालो लागेको छ ।

जतिको मोबाइल रिचार्ज त्यति नै क्यास ब्याक दिने रिचार्जर एप्स सार्वजनिक

काठमाडौं, १७ असोज । दशैं तिहारको अवसर पारी ग्लोबल की टेक्नोलोजी प्रालिले मोबाइल रिचार्ज गर्दा रिचार्ज बराबर नै क्यास ब्याक दिने नयाँ मोबाइल एप्स रिचार्जर नेपाली बजारमा सार्बजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको एप्सका प्रयोगकर्ताले एनटिसी अथवा एनसेल मोबाइल रिचार्ज गर्दा सोही रकम बराबरको क्यास ब्याक प्राप्त गर्नेछन् । यसरी जम्मा भएको क्यास ब्याक रकम अनलाइन सपिङ गर्दा, फिल्म हेर्दा, रेष्टुरेन्टमा खाँदा, फ्लाइट बुक गर्दा तथा एप्सले उपलब्ध गराउने अन्य सेवाहरुमा खर्च गर्न सकिने छ । यो एप्स एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट र आइओएस प्रयोगकर्ताले एपस्टोरबाट रिचार्जर टाइप गरि निःशुल्क डाउनलोड गर्न सक्नेछन । यो एप्स १०० भन्दा बढी आधिकारिक फेसबुक र इन्स्टाग्राम सपिङ पेजहरुको छुट्टै सपिङ हब हो । एन्ड्रोइड फोन प्रयोगकर्ताहरुले जुनसुकै स्रोतबाट मोबाइल रिचार्ज गरेपनि बिना इन्टरनेट क्यास ब्याक प्राप्त गर्न सकिने यो एप्स स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्षित गरि ल्याइएको ग्लोबल की टेक्नोलोजी प्रालिका प्रेशिडेन्ट अलाइभ ग्लाइडरले जानकारी दिए । उनले एप्स मार्फत अनलाइनमा खरिद गरिएको सामानको डेलिभरी घरमै गर्ने ब्यबस्था मिलाइएको समेत बताए । यो एप्समार्फत अनलाइन मोबाइल रिचार्ज, अफलाइन डाटाप्याक खरिद, सुनचाँदीको मुल्य, बिनिमयदर, सेयर बजार तथा बजारमा आएका नयाँ नयाँ फेसन ब्राण्डहरुको बारेमा जानकारी पाइने सुबिधा रहेको कम्पनीका प्रबन्ध निर्देशक टिकाराम बुढाथोकीले जानकारी दिए । सोसियल सपिङको अवधारणामा यो एप्स सार्वजनिक गरेको ग्लोबल कि टेक्नोलोजी प्रालिका बजार प्रबन्धक कृष्ण रोक्काले बताए ।

ऊर्जा मन्त्रालयमा गुनासो सुनुवाइ संयन्त्र स्थापना, गुनासो सुनुवाइ नभए कारबाही गरिने

काठमाडौं, १७ असोज । तपाईको घर तथा आसपासमा विद्युत्भार कटौतीको समय भन्दा बढी समय विद्युत् कटौती भएको छ, नो लाइट शाखामा फोन गर्दा फोन उठ्दैन वा उठाएर पनि कर्मचारीले काम नगरेमा अब चिन्ता होइन उजुरी गर्नोस् । अब सरकारले उपभोक्ताका यस्तै गुनासोलाई सम्बोधन गर्न उच्चस्तरीय संयन्त्र बनाएको छ । नो लाइट शाखामा काम गर्ने कर्मचारीको व्यवहार रुखो भएको, उनीहरुले उपभोक्ताको गुनासो सम्बोधन नगरेको, ट्रान्सफर्मर जलेको लामो समय भइसक्दा समेत मर्मत सम्भारमा ध्यान नदिएको जस्ता गुनासा बढेपछि सरकारले त्यसखालको संयन्त्र मार्फत उपभोक्ताको गुनासो सुनुवाइ गर्ने र गुनासोलाई सम्बोधन नगर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन लागेको हो । ऊर्जा मन्त्रालयले गुनासो सुनुवाइ सम्बन्धी नयाँ व्यवस्था गरी आम उपभोक्तालाई जानकारी गराएको छ । विद्युत् आपूर्ति व्यवस्थालाई सरल सहज र भरपर्दो बनाउन सम्बन्धित निकायबाट भए÷गरेका कार्यमा ढिलासुस्ती एवम अनियमितता र चुहावट भएको अवस्थामा सूचना प्राप्त गर्न ऊर्जा मन्त्रीको प्रत्यक्ष मातहतमा रहने गरी गुनासो व्यवस्थापन युनिट स्थापना गरिएको हो । तथ्यपरक र जायज सूचनामा तत्काल सम्बोधन गर्न ऊर्जा मन्त्री आफैँले आवश्यक कदम चाल्ने मन्त्रालयले जनाएको छ । सूचना उपलब्ध गराउने व्यक्ति तथा समूहको विवरण गोप्य राखिने समेत मन्त्रालयको भनाइ छ । ऊर्जा मन्त्री जनार्दन शर्माले ट्रान्स्फर्मर जलेर, पोल ढलेर वा तार चुडेर आपूर्ति बन्द भएको लामो समयसम्म विद्युत् आपूर्ति सुचारु नभएमा, मिटर जडानको लागि निवेदन दिएको सात दिनभित्र मिटर जडान नभएमा वा लोड स्वीकृत गर्दा अनावश्यक रकम माग गरेमा तत्काल सूचना दिन आग्रह गरेका छन् । विद्युत् भार कटौतीको तालिका भन्दा फरक समयमा विद्युत्भार कटौती गरेमा वा तोकिएको समयभन्दा बढी÷घटी कटौती गरेमा, कर्मचारी र ग्राहकको मिलोमतोमा विद्युत् चुहावट भएको पाइएमा वा ग्राहकले गैरकानुनी रुपमा विद्युत् बाल्ने काम भएको पाइमा, आयोजनाका कर्मचारी वा ठेकेदारको लापार्बाहीले निर्माणस्थलमा ढिलासुस्ती काम भएमा वा अपारदर्शी हिसाबले गुणस्तहीन कार्य भएमा समेत उजुरी गर्न सकिनेछ । पछिल्लो दिनमा जलविद्युत् आयोजनामा निर्माण व्यवसायी, परामर्शदाता तथा आयोजनाको स्वामित्वकर्ताकै कारण पनि आयोजनामा ढिलाइ भइरहेको छ । कमिसन तथा अन्य फाइदाका लागि पनि आयोजनाको समय र लागत बढाउने प्रवृत्ति मौलाएपछि त्यसखालको व्यवस्था गरिएको मन्त्री शर्माको भनाइ छ । त्यस्तै कुनै पनि किसिमको आर्थिक अनियमितता एवम् चलखेल भएको सूचना प्राप्त भएमा, ग्राहकले नो लाइट सेवामा फोन गर्दा फोन नउठाएमा वा सूचना दिँदा पनि विद्युत् सेवा तत्काल सुचारु नगरेमा, बक्यौता रकम लामो समयसम्म नतिरी विद्युत् सेवा लिई रहेको पाइएमा पनि उजुरी दिन सकिनेछ । उजुरीका लागि इमेल, एसएमएस, टेलिफोन जुनसुकै माध्यम पनि प्रयोग गर्न सकिनेछ । ऊर्जा मन्त्रालयकाअनुसार उपभोक्ताले कार्यालय समयमा मन्त्रालयको फोन नं ०१ ४२११६०६, मोबाइल नं ९८६१६६३६६मा फोन गर्न सक्नेछन् भने एसएमएसका लागि पनि ९८६१६६३६६ नम्बर उपलब्ध गराइएको छ । एसएमएस इमेल चौबिसैघन्टा गर्न सकिने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ व्यवस्थाले प्राधिकरणप्रति उपभोक्ताको विश्वास बढ्ने र प्राधिकरण पनि जवाफदेही हुने विश्वास व्यक्त गर्नुभयो । उपभोक्ताको गुनासो सुनुवाइ नभएको र प्राधिकरणका कर्मचारी गैर जिम्मेवार भएको भन्दै हेलो सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक/पटक प्राधिकरणलाई ध्यानाकर्षण गराउँदै आएको थियो । सरोकारवाला निकायको निर्देशन कार्यान्वयन गर्न पनि नयाँ व्यवस्थाले सहज तुल्याएको मन्त्रालयको भनाइ छ । रासस