एनसीसी बैंकको ७४ लाख कित्ता सेयर लिलामीमा, १ अर्ब ५५ कराेडकाे सेयरमा एनआरएनकाे अाँखा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको ७४ लाख कित्ता सेयर लिलामीमा राखिएको छ । यस बैंकको मुख्य प्रर्बद्धक एनबी समूहले आफ्नो स्वामित्वमा भएको अधिकांश सेयर सेयर बिक्री गर्ने निर्णय गरेको छ । उक्त समूहले ७० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता न्यूनतम २१० रुपैयाँ मूल्य तोकेर बढाबढ मूल्यमा लिलामीमा राखेको छ । एनबी समूहको बाध्यता २२ वर्षअघि एनसीसी बैंकको स्थापना हुँदा जीतबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ र उनका भाई, भतिजा तथा आफन्तको स्वामित्वमा एनसीसी बैंकको करिव ३८ प्रतिशत सेयर थियो । जीतबहादुर र लक्ष्मीबहादुर दाजुभाईको परिवार सदस्यसँग मात्र ३० प्रतिशत सेयर थियो । एक वर्षअघि चार वटा विकास बैंक एनसीसीमा मर्जभएपछि एनबी समूहको सेयर १५ प्रतिशतमा झरेको थियो । बैंकको सेयर स्वामित्व घटेपछि एनसीसी बैंकमा जीतबहादुर लक्ष्मीबहादुर दाजुभाईको केही पनि नचल्ने अवस्था सिर्जना भएको छ । उनीहरुले चारवटा विकास बैंकसँगको मर्जर प्रक्रियामा असहमति जनाउँदै नियामकहरु राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय र अदालतको समेत ढोका ढकढक्याएका थिए । व्यवसायिक क्षेत्रमा बेईमानको उपमा पाईसकेको यो समूहलाई न नियामकले साथ दियो, न अदालतले । बैंक सम्बद्ध स्रोतका अनुसार मर्जपछि एनबी समूहले बैंक विरुद्ध ६ वटा मुद्दा अदालतमा दायर गरेकोमा सबै मुद्दामा उनले हार खानु परेको छ । ‘पहिला सबै मुद्दा एनबी समूहले जित्थ्यो, अहिले सबै मुद्दा बैंकले जित्न थालेको छ’ बैंक उच्च व्यवस्थापन स्रोतले भन्यो । बैंक भित्र पनि एक्लिदै गएपछि, अदालत, नियामक निकायबाट पनि खेदिएको महशुससँगै एनबी समूह ७० लाख कित्ता सेयर बेच्ने निर्णयमा पुगेको विश्लेषण रहेको छ । ७० लाख कित्ता सेयर बिक्रीपछि सो बैंकमा करिव ४ लाख कित्ता सेयर उनीहरुको स्वामित्वमा रहने स्रोतले बतायो । यस विषयमा कुरा गर्न हामीले लक्ष्मीबहादुर श्रेष्ठलाई पटक पटक सम्पर्क गर्दा पनि कुराकानी हुन सकेन । हकप्रद सेयर र ऋणको दवाब एनसीसी बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका प्रबद्र्धकले हकप्रद सेयर लिन फागुन ११ गतेसम्मसम्म पैसा बुझाईसक्नु पर्नेछ । एनबी समूहसँग हाल करिव ७४ लाख कित्ता सेयर छ । उसले हकप्रद सेयर लिनको लागि करिब ३७ करोड रुपैयाँ बुझाउनुपर्छ । बैंकको ऋण र ब्याजले थला परेको र थप ऋणका लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाले विश्वास गर्ने अवस्थामा नरहेका जीतबहादुर लक्ष्मीबहादुरहरु ३७ करोड रुपैयाँ जुटाउन नसक्ने उनी निकट व्यक्तिहरु बताउँछन् । यस्तो सेयर किन्नको लागि भुक्तानी गरिने पैसाको कानुनी रुपमा स्रोत खुलेको हुनुपर्छ । केही बैंकहरुले जीतबहादुर र लक्ष्मीबहादुरलाई ऋण असुलीको लागि ताकेता गरिरहेको बुझिएको छ । एनआरएनको सक्रियता र राष्ट्र बैंकको भूमिका एनसीसी बैंकको ७४ लाख कित्ता सेयर लिलामीमा आएपछि नेपालको बैकिङ क्षेत्रमा लगानी गर्न इच्छा प्रकट गर्दै आएका एनआरएनहरुको सक्रियता बढेको छ । नेपाल राष्ट्र बैंकले पनि बैंकिङ क्षेत्रमा लगानी गर्न चासो राख्दै राष्ट्र बैंक धाउने ग्रुपहरुलाई एनसीसी बैंकको सेयर किन्न सुझाव दिन थालेको छ । कुमारी बैंकलाई एनसीसीमा मर्ज गराएर एनबी समूहको सेयर ८ प्रतिशतभन्दा कममा झार्ने राष्ट्र बैंकको पुरानो प्रयास विफल भएको थियो । यतिबेला लिलामीमा रहेको सेयर सेटल गर्न सके एनसीसी बैंकले झेल्दै आएको समस्या निदान हुने राष्ट्र बैंकको ठम्याई छ । नेपाल इन्स्याेरेन्सले ४ लाख ३३ हजार कित्ता बेच्दै एनबी समूहका जीतबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठले लिलामीको सूचना प्रकाशित गरेको भोेलि पल्ट नै नेपाल इन्स्योरेन्स कम्पनीले सोही बैंकको संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य राखेर लिलामीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वको सेयर लिलामी गर्दा एनबी समूहलाई २८ करोड रुपैयाँको धक्का लागेको छ । एनबी समूहले तोकेको मूल्य भन्दा इन्स्योरेन्स कम्पनीले तोकेको मूल्य प्रतिकित्ता ४० रुपैयाँ कम रहेको छ । इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १७० रुपैयाँ मूल्य तोकेपछि एनबी समूहले लिलामीमा राखेको सेयरले २१० रुपैयाँ पाउने सम्भावना कमजोर भएको छ । एउटै कम्पनीको एउटै प्रकृतिको सेयरमा प्रतिकित्ता ४० रुपैयाँ फरक भएकाले लगानीकर्ताले सस्तो मूल्यलाई आधार मानेर महँगो मूल्य नकार्न सक्ने देखिएको छ । लिलामीमा राखेको सेयर लिनको लागि माघ २८ गते भित्र आवेदन गर्नु पर्ने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्सले जनाएको छ । जीतबहादुर र लक्ष्मीबहादुरले लिलामीमा राखेको सेयर फागुन ३ गतेसम्म आवेदन गर्न सक्ने बिक्री प्रबन्धक सीआईबीएल क्यापिटलले जनाएको छ । स्रोतका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले सेयरको लागत, नेटवर्थ, बजार मूल्य, कम्पनीले दिने सम्भावित लाभांश र भविष्यमा हुन सक्ने सम्मावित मूल्य परिवर्तनलाई आधार मानेर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य तोकि बढाबढ मूल्यमा लिलाम गर्न सूचना प्रकाशित गरेको हो ।
कालो सूचिमा परेका प्राइम लाइफ इन्स्योरेन्सका संस्थापकले हकप्रद भर्न नपाउने
काठमाडौं । कर्जा सुचना केन्द्रको कालो सुचीमा परेका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापकहरुले हकप्रद सेयर भर्न नपाउने भएका छन् । कम्पनीले संस्थापक लगानी कर्ताहरुलाई माघ २९ गतेभित्रै आफ्नो हिस्सा बराबरको हकप्रद सेयरको रकम जम्मा गर्न भनेको छ । तर कम्पनीले कालो सूचिमा परेका संस्थापकहरुले भने हकप्रद भर्न नपाउने स्पष्ट पारेको छ । प्राइमले पहिलो पटक बैंकको कर्जा नतिरेर कालो सुचिमा परेका संस्थापक सेयरधनीलाई हकप्रद निदिने जानकारी गराएको हो । कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको छ । सर्वसाधारणमा हकप्रद निष्कासन गर्नुअघि संस्थापकले आफनो हिस्सामा पर्न आउने सेयर रकम बुझाउन भनेको छ । कालो सुचीमा भएकाले हकप्रद सेयर किन्न नपाउने अनिवार्य व्यवस्था नभएपनि कम्पनी आफुले यस विषय निर्णय गर्न सक्ने छन् । प्राइमले चुक्तापुँजी बढाउन १ बराबर १ः६० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सर्वसाधारण सेयरधनीलाई हकप्रद सेयर निष्कासनको सुचना प्रकाशित गर्नुअगावै धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा भएको व्यवस्थाअनुसार हकप्रद निष्कासन गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको गत भदौ २७ गते सम्पन्न सातौ, आठौ, नवौ र दशौं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ पुगेको छ । बीमा समितिले चालु आर्थिक वर्षभित्र जीवन बीमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्तापँुजी पुर्याउन निर्देशन दिएको छ । कम्पनी स्थापना गर्दा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइ कालोसुचिमा परेका व्यक्ति तथा संस्थाले संस्थापक सेयर खरिद गर्न नपाउने व्यवस्था छ । तर पछि हकप्रद सेयर खरिदको विषयमा यस्तो व्यवस्था नभएको बीमा समितिका नियमन विभाग प्रमुख शाम्भराज लामिछानेले बताए ।
नाडाले भन्यो-कालोबजारी र ठगी गरेका छैनौं
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसनले कालोबजारी तथा ठगी नगरेको स्पष्ट पारेको छ । एसोसियसनले विज्ञप्ति प्रकाशित गरेर आर्थिक ऐन अनुसार बिक्रि मूल्य प्रत्येक चार।चार महिनामा प्रकाशित गर्दै आएको बताउँदै भनेको छ–एसोसियसनका कुनै पनि सदस्यले मुनाफाकै कारण कालोबजारी र ठगी गरेका छैनन् भन्ने कुरामा विश्वस्त हुन सरोकारवाला सबैमा जानकारी गराउँदछौं । प्रशासनले २०३२ सालमा बनेको कालाबजार तथा केहि समाजिक अपराध ऐनका आधारमा छानविन गरिएको भन्दै एसोसियसनले आपक्ति समेत जनाएको छ । एसोसियसनका सदस्यहरुको आय व्यय विवरण हेर्ने ठुला करदाता कार्यालयको अधिकार क्षेत्र रहेको र सो कार्यालयमा पेश गरिएको विवरणमा व्यवसायीले काला बजारी नगरेको पनि बताएको छ । अन्त शुल्क, भन्सार, मूल्य अभिवृद्धि कर, लागत खर्च, बैंकको ब्याजदर, प्रशासनिक खर्च, बजारीकरण खर्च लगायतका आधारमा आफुहरुले सवारी साधनको बिक्रि मूल्य तय गरेको समेत एसोसियसनले स्पष्ट पारेको छ ।
जनता बैंकको संस्थापक सेयर लिलामी हुदै
काठमाडौं । जनता बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका केही संस्थापकले सेयर बिक्रीका लागि आवेदन दिएपछि बैंकले बिक्रीको प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक सेयर खरिदका लागि प्रस्ताव गर्न भनेको छ । बैंकले बिक्री गर्न लागेको सेयरको मूल्य र संख्या खुलाएको छैन् । यस्तो सेयर १० लाख कित्ता भन्दा बढी भएको बैंकले जनाएको छ ।संस्थापक सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिन बैंकले भनेको छ । यसअघि प्रतिकित्ता १२५ रुपैयाँमा संस्थापक सेयर किनबेच भएको थियो । हाल जनताको सेयर मूल्य घटेर प्रतिकित्ता १८३ रुपैयाँमा कारोबार भएको छ ।
युनाइटेड मोदी हाइड्रोपावरको नाफा ५ करोड ४९ लाख
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले नाफा बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ५ करोड ४९ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीले बिजुली बिक्रीबाट १६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १४ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेका थियो । युनाइटेडको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसा छ । कम्पनीले गत आवमा गरेको नाफाबाट सेयरधनीलाई ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश दिन थालेको छ । कम्पनीले १० मेगावाटको तल्लोमोदी आयोजना सञ्चालन गरिरहेको छ । यस्तै साढे १० मेगावाटको मोदी आयोजना पनि बनाउदै छ ।
नेपाल टेलिकमको पैसामा विवाद हुँदा नविल सीईओमा लफडा ! जोशी किन गए, शाह किन आए ?
काठमाडौं । नेपाल टेलिकमको पैसाका कारण नबिल बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले बैंकबाट हात धुनु परेको तथ्य उजागर भएको छ । एनसेलले नबिल बैंकमा राखेको निक्षेप फिर्ता लिने निश्चित भएपछि सीडी रेसियो मिलाउन बैंकका प्रमुख कार्यकारी अधिकृतले सशीन जोशीले नेपाल टेलिकमले गरेको निक्षेप टेण्डरमा उच्च व्याजदर विड गरेका थिए । १३ प्रतिशतभन्दा माथि गएर करिव ३ अर्ब रुपैयाँ निक्षेप टेलिकमसँग लिएपछि बैंक सञ्चालक समितिले प्रमुख कार्यकरी अधिकृत जोशीसँग असन्तुष्टि जनाएको थियो । सञ्चालक समितिसँग समन्वय नगरी महंगो ब्याजदरमा निक्षेप लिएको भन्दै अध्यक्ष शम्भु पौडेलले केरकार गरेपछि सशीन जोशीले राजीनामा दिएको स्रोतले बतायो । जोशीले फागुन ५ गतेदेखि लागु हुने गरि मंसिर दोस्रो साता राजीनामा दिएका थिए । अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच ठाकठूकले निम्त्याएको राजीनामा बैंक सञ्चालक समितिले मंसिर १९ गते स्वीकृत गरेको थियो । जोशीको राजीनामा स्वीकृतसँगै बैंक थप समस्यामा परेको थियो । खासगरी निक्षेप संकलनमा बैंकले धेरै मिहेनत गर्नु पर्ने अवस्था थियो । राजीनामा स्वीकृत भईसकेको सीईओले त्यसमा जोड नदिएपछि बैंकको निक्षेप घट्न थालेको थियो । गत असोजमा १२३ अर्ब रुपैयाँ निक्षेप भएको नविलमा पुस मसान्तमा १२१ अर्ब रुपैयाँ निक्षेप भएको छ । सोही अवधिमा एनआईसी एशिया बैंकले करिव २० अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेको छ । चर्को दवावपछि अनिल शाहलाई डेपुटी सीईओ नविललाई निक्षेपको अभाव खड्किँदै गएको थियो । बैंक सञ्चालकका नजरमा निक्षेप बढाउन सक्ने एक मात्र सिईओ अनिल शाह मात्रै देखिए । सञ्चालक समितिले अनिललाई सेञ्चुरी बैंकबाट नबिल ल्याउने निर्णय गरे । तर केन्द्रिय बैंकले कुलिङ पिरियडको मापदण्ड ल्याएर अनिललाई नबिल जानबाट रोक लगायो । त्यसपछि नविलले आफूलाई झन् असुरक्षित महसुस गर्यो । माग १५ गतेसम्म २७ वटा वाणिज्य बैंकहरु वित्तीय विवरण सार्वजनिक भयो । पुस मसान्तको रिपार्टमा नविल बैंकले आफ्नो पोजिशन गुमाउने स्थिति देखियो । खुद नाफामा नविल भन्दा इन्भेष्टमेन्ट बैंक ७३ लाख रुपैयाँ पछाडि देखियो । निक्षेप नविलको भन्दा ८ अर्ब बढी इन्भेष्टमेन्ट बैंकको देखियो । अहिलेकै वृद्धिदर कायम भएमा चैत मसान्तसम्ममा निक्षेप र कर्जा दुबैमा एनआईसी एशिया बैंक अगाडि आउने भयो । त्यसले नविल बैंक सञ्चालक समितिलाई झनै तनावमा पुर्यायो । अनिल शाहलाई ६ महिना कुर्दा असार मसान्तसम्ममा नबिल बैंकले यसअघि अगुवाई गरेका सूचकाङ्क मध्ये धेरैमा अरु बैंकले अगुवाई गर्नेस्थिति देखियो । उता अनिल शाह पनि आफ्नो नविलमा पुन सीईओ बन्ने आफ्नो प्रयासलाई अर्जुन दृष्टि लगाएका थिए । विनोद चौधरी देखि गभर्नरसम्मका व्यक्तिसँग लविङ गर्दै उनी डेपुटी सीईओ स्वीकार गर्न तयार भएको थिए । नविलमा अनिल प्रभाव यसअघि अनिल शाहले नै नबिललाई स्ट्याण्डर्ड चाटर्ड बैंक भन्दा अगाडी पुर्याएर निजी क्षेत्रका बैंकमा अब्बल बैंकको उपमा उभ्याएका थिए । अनिलकै नेतृत्वमा नबिलले नाफा, सेयर मूल्य, व्यवसाय लगायतका सूचांकमा अन्य बैंकलाई उछिनेको थियो । कुलिङ पिरियड लाग्ने र नयाँ सिइओ ल्याउन नसक्दा असार मसान्तको वित्तीय विवरणमा नबिललाई नेपाल इन्भेष्टमेन्ट बैंकले धेरै सुचांकमा जित्ने खतरा मडारिरहँदा सञ्चालकहरुले विकल्प निकाले । र अनिल शाहलाई डेपुटी सिईओका रुपमा नियुक्ती दिलाए । कुलिङ पिरियडको बन्देज हटे लगत्तै नबिलले शाहलाई नै सिईओ नियुक्त गर्नेछ ।
बागमती सफाई महाअभियानलाई टेलिकमको सहयोग
काठमाडौं। बागमती सफाई महाअभियानलाई नेपाल टेलिकमले आवश्यक सामाग्रीहरु प्रदान गरेर सहयोग गरेको छ । टेलिकमको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत आज (शनिबार) उक्त सहयोग गरेको हो । टेलिकम पनि २४७ औँ हप्ताको बागमती सफाई महाअभियानमा सहभागि भएको जनाइएको छ । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बागमती सफाई कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेकी थिइन् । अभियानमा नियमित संलग्न हुने अभियन्ताहरुका लागि उनले १ सय जोर ट्रयाक सुट, ३ सय जोर गमबुट, ३ सय जोर ठूलो पञ्जा, ५० वटा फलामे सुइरो, ५० वटा थुन्से, मास्क लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको जनइएको छ । टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीले बागमतीका साथै नेपालका अन्य नदीहरु पनि सफा गर्नुपर्ने आवश्यकतामा जोड दिदै यस्ता कार्यमा कम्पनीले अझै पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । टेलिकमका अनुसार शनिबार कम्पनीमा कार्यरत कर्मचारीहरु बागमती कोरिडोर हुँदै शंखमुल निकट सफाई स्थल बागमती पुगेर महाअभियानमा सहभागिता भएका थिए । त्यस्तै वार्षिकोत्सवकै अवसरमा कर्मचारीहरुबीच कम्पनीले विभिन्न खेल खेलाएको र विजयी खेलाडीहरुलाई एक कार्यक्रम आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको कम्पनीको सहप्रवत्ता शोभन अधिकारीले जनाएको छ ।
ठहिटीमा अन्तर्राष्ट्रिय स्तरको क्लासिक रक क्याफे, रक कन्सर्ट लाईटिङ र मोडलिङले सुसज्जित
काठमाडौं। राजधानीको पर्यटकीय नगरीको रुपमा रहेको ठमेल स्थित ठहिटी चोकमा अन्तर्राष्ट्रिय स्तरको क्लासिक रक कफी क्याफे एण्ड बार सञ्चालनमा आएको छ । ग्राहकहरुलाई मनोरञ्जनात्मक वातावरणमा फरक स्वाद पस्कने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो । शुक्रबार राधानीमा आयोजित पत्रकार सम्मेलनमा क्याफेको सञ्चालक पान्देन रोटाले क्याफे सम्बन्धि जानकारी दिएका थिए । उनले क्याफे अमेरिकन फाइन्चाइसको अनुमति र मापदण्ड अनुसार तयार परिएको नेपालको पहिलो कफी क्याफे एण्ड बार भएको बताए । उनका अनुसार क्याफेमा लोकप्रिय मानिएको फाइन्चाइसको कफी लगायतका विभिन्न कन्टिनेन्टल फुड, कक्टेल, मक्टेलका साथै नेपाली लोकप्रिय परिकार ममः लगायत उपलब्ध हुनेछ । ‘विदेशी पर्यटक र स्वदेशी खाना पारखी दुवैलाई लक्षित गरी क्याफे सञ्चालनमा ल्याएका छौं,’ उनले भने ‘क्याफेको मुख्य आकर्षणका रुपमा अमेरिकी प्रविधिमा उत्पादित कफी र स्मोकिन जोज पिजा रहेको छ ।’ क्याफेमा प्रवेश गरेसँगै ग्राहकरुले अमेरिकाको क्याफेको अनुभव बटुल्ने उनको विश्वास छ । उनका अनुसार आफु पहिल्यैदेखि युरोपियन रक म्युजिकप्रति आकर्षित भएकोले उक्त क्याफे समेत रक कन्सर्ट लाईटिङ र मोडलिङले सुसज्जित गरिएको छ । अमेरिकामा अध्ययन गरेपश्चात कार्पेट उद्यम सञ्चालन गरिरहेका उनले क्याफेलाई क्रमिक रुपमा राजधानीका अन्य क्षेत्रमा समेत विस्तार गर्ने लक्ष्य राखेका छन् । उद्घाटनको अवसरमा विभिन्न परिकारमा ग्राहरुलाई १० प्रतिशत छुट दिइएको उनको भनाइ छ । उक्त छुट करिब ३ महिनासम्म कायम रहनेछ । सञ्चालित क्याफेको क्षमता ९० जनाको छ । अमेरिकाबाट विभिन्न मुलुकमा विस्तार भएको उक्त क्लासिक रक कफी क्याफे एण्ड बार हाल भारत, पाकिस्तान, दुवइ, कतार र नाइजेरिया लगायतका मुलुकमा सञ्चालनमा छ ।