पुसदेखि फोरजी सेवा सञ्चालन हुने, टेलिकमले फोरजीका लागि रोलअाउट प्लान बुझायो
काठमाडौं १ कार्तिक। नेपाल टेलिकमले फोरजी सेवा विस्तारका लागि नेपाल दुरसञ्चार प्राधिकरणलाई रोल अाउट प्लान बुझाएको छ। टेलकमको योजनाअनुसार अबको दुई महिना भित्र काठमाडौं उपत्यकाका तीनजिल्ला तथा पोखरा उपमहानगरपालिका क्षेत्रमा फोरजी सेवा विस्तार गर्ने जनाएको छ। यसअघि नै नेपाल दुरसञ्चार प्राधिकरणले टेक्नोलोजी न्युट्रल गरेर फोरजी सेवा विस्तार गर्नका लागि दुरसञ्चार सेवा प्रदायकलाई सहज बनाइदिएको थियो। टेलिकमले फोरजी सञ्चानलका लागि पाँच मेगाहर्ज फ्रिक्वेन्सी छु्ट्याएको रोल अाउट प्लानमा उल्लेख रहेको छ। ‘टेलिकमले पुषदेखि फोरजी चलाउने योजना प्राधिकरणमा बुझाएको छ’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले विकासन्युजसँग भने ‘सोमवार टेलिकम प्रमुख नै अाएर रोलअाउट प्लान बुझाउनुभएको हो।’ टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा टुजी चलिरहेको फ्रिक्वेन्सीमा फोरजी चलाउन लागेको हो। उसले १८ सय मेगाहर्जमा १५ मेगाहर्ज पाएको छ। १५ मध्ये १० मेगाहर्ज टुजी र पाँच मेगाहर्ज फोरजीका लागि छुट्याएको हो। यसअघि रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण समितिले दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यसम्वन्धि नीति संसोधनसहित पास गरेपछि दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई सेवा अगाडि बढाउन बाटो खुलेको हो। चिप्स र सफ्टवेयर थप गर्दा फोरजी चल्ने टेलिकमको रोलअाउट प्लानमा हाल सञ्चालन भइरहेको १८ सय मेगाहर्जको टुजी सेवामा फोरजी सेवा अपग्रेड गर्नका लागि धेरै कुरा थप गर्नु नपर्ने जनाएको छ। उसले प्रत्येक विटिएस टावरमा एक एकवटा फोरजी चिप्स र फोरजीको सफ्टवेयर अपग्रेड गर्दामात्र पुग्ने जनाएको छ। त्यसका लागि दुईपहिनाभित्र खरिद प्रकृया सकेर सेवा सुरु गर्ने टेलिकमले जनाएको छ। के हो फोरजी फोरजी अर्थात फोर्थ जेनेरेसन नेटवर्क । फोरजी थ्रीजीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो । फोरजी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ । यो सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पर्छन्। के हो टेक्नोलोजी न्युट्रल टेक्नोलोजी न्युट्रल भनेको कुनैपनि सेवाग्राहीले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्ने प्रविधि हो । जस्तो कि तपाईले टुजी सेवा लिइरहनु भएको छ भने तपाइले त्यहि सेवा र अपरेटरमा चाहेअनुसार थ्रिजी वा फोरजी सेवा चलाउन सक्नुहुन्छ ।
अमेरिकी बजेट घाटामा वृद्धि, विश्व अर्थतन्त्रमा असर पर्ने
काठमाडौं १ कार्तिक। अमेरिकाको बजेटघाटा बढेको छ । अपेक्षाकृत न्यून राजस्व सङ्कलन, सामाजिक भत्ता र मेडिकेयर जस्ता कार्यक्रममा उच्च खर्चका कारण बजेटघाटा बढेको हो । त्यहाँको अर्थ मन्त्रालयले बताएअनुसार आर्थिक वर्ष २०१६ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले ५ खर्ब ८७ अर्ब बजेटघाटा बेहोरेको छ । घाटाको यो आकार कुल गार्हस्थ्य उत्पादनको ३ दशमलव २ प्रतिशत भएको बताइएको छ । जीडीपीको तुलनामा बजेटघाटा यति माथि पुगेको सन् २००९ यता यो नै पहिलोपटक भएको बताइएको छ । त्यतिबेला विश्वव्यापी वित्तीय सङ्कटका कारण अमेरिकाले १४ खर्ब डलरबराबरको बजेटघाटा बेहोरेको थियो । आर्थिक वर्ष २०१६ मा सरकारी आम्दानी १ प्रतिशतले मात्रै बढेर ३२ खर्ब ६७ अर्ब डलर पुगेको छ । उता, सोही अवधिमा सरकारी खर्च भने ५ प्रतिशतले बढ्दै ३८ खर्ब ५४ अर्ब डलरमा उक्लिएको थियो । विश्व अार्थतन्त्रको हव रहेको अमेरिकामा बजेट घाटा बढेपछि त्यसको असर अरु देशहरुमा पनि पर्ने निश्चित रहेको छ। एजेन्सीको सहयोगमा
‘भारत र चीनसँगको त्रिपक्षीय अनौपचारिक भेट दुर्लभ संयोग’-प्रधानमन्त्री दाहाल
काठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रिक्स–बिमस्टेक विस्तारित सम्मेलन’ का क्रममा आफू र भारतका प्रधानमन्त्री तथा चिनियाँ राष्ट्रपतिबीचको अनौपचारिक भेटवार्ता नेपालका लागि दुर्लभ सुखद संयोग भएको बताएका छन् । भारतको गोवामा सम्पन्न सम्मेलनबाट स्वदेश फर्केपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले चिनियाँ राष्ट्रपति सि जिन पिङसँगको औपचारिक भेटवार्तापछि बास बसेको होटेल जानुपूर्व प्राविधिक कारणले प्रतीक्षा कक्षमा रहँदा चिनियाँ राष्ट्रपति सि आइपुगेकाेर त्यहाँ केहीबेर उहाँसँग अनौपचारिक, खुला र ‘वान् टु वान’ कुराकानी चलिरहँदा भारतीय प्रधानमन्त्री मोदी पनि आइपुगेकाे उनले बताए । प्रधानमन्त्री दाहालले भने, “त्यहाँ हाम्रो बसाइ पनि राष्ट्रपति सि उत्तर, भारतीय प्रधानमन्त्री दक्षिण र म बीचमा थियौ, मैले भूगोलका हिसाबले पनि नेपाल दुई ठूला मुलुकका बीचमा रहेको सानो मुलुक रहेको प्रसङ्ग निकाल्दै त्रिदेशीय साझेदारीबारे कुरा राख्ने मौका पाएँ । उहाँहरुले त्यसलाई महत्वपूर्ण र सकारात्मक रुपमा लिनुभयो ।” आफूले नेपालका बुद्ध, जानकी र पशुपतिजस्ता विषयले तीन देशलाई लामो समयदेखि र आधुनिक समयमा विज्ञान तथा प्रविधिले जोडेको उल्लेख गर्दै छिमेकी मुलुकसँगको आर्थिक विकासबाट नेपालले लाभ लिन चाहेको समेत बताउँदा उनीले सकारात्मक रुपमा लिएको प्रधानमन्त्रीले जानकारी दिए । “त्यस अवसरमा हाम्रा छिमेकी मित्र राष्ट्रका उच्च राजनीतिक नेतृत्वसँग त्रिदेशीय हितका पक्षमा मिलेर काम गर्ने सम्बन्धमा आफ्ना विचार राख्ने मौका पाएँ, उहाँहरुले पनि यसलाई सकारात्मक रुपमा लिनु सुखद पक्ष हो र यसलाई हामीले त्यही अर्थमा बुझ्नुपर्छ । यो कुनै पूर्वनिर्धारित कार्यक्रम भने थिएन तर त्यसबारे उत्पन्न विभिन्न टीकाटिप्पणीबाट म आश्चर्यमा परेको छु”– प्रधानमन्त्रीले बताए ।
बुम रेमिट्यान्सको एजेन्टमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक नियुक्त
काठमाडौं, १ कात्तिक । बुम रेमिट्यान्स प्रा.लीले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउण्टर मार्फत भुक्तानी गर्नेछ । भिबोर बैंकले नेपालका सबै शाखाहरुले बुम रेमिट सफ्ट्वेयर मार्फत आन्तरिक विप्रेषण पठाउनुका साथै भुक्तानी पनि गर्न सक्ने छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १८०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । उक्त सम्झौतापत्रमा भिवोर बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । अब चाडै नै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
एभरेष्ट बैंकद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
काठमाडौं, १ कात्तिक । बाइसौं वार्षिकोत्सवको अवसर पारेर एभरेष्ट बैंकले कार्तिक १ गते आफ्नो मुख्य कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त कार्यक्रममा लगभग २५० व्यक्तिले ग्रयाण्ड अस्पतालका चिकित्सक टोलिबाट परामर्शरउपचार पाएका छन् । शिविरमा ई.एन.टि., दन्त चिकित्सा, ग्यास्त्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडिक लगायतका सेवाहरू उपलव्ध थिए । शिविरको उद्देश्य विभिन्न स्वास्थ्य समस्याहरुको प्रारम्भिक निदान कसरि गर्ने भन्ने बारे थियो, जसमा चिकित्सक टोलिले ती समस्यासंग सम्बन्धित सतर्कता र समाधानका उपाय बताएका थिए ।
सिविआईएल क्यापिटलको स्वतन्त्र संचालकमा दुई जना नियुक्त
काठमाडौं, १ कात्तिक । सिविआईएल क्यापिटल लिमिटेडको स्वतन्त्र संचालकमा दुई जना नियुक्त भएका छन् । सोमबार संस्थाको संचालक समितिको बैठकले कमल विक्रम सिंह र भोला प्रसाद पाण्डेलाई आगामी २ वर्षको लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्ति गरेको हो । सिविआईएल सिटिजन्स बैंकको सहायक कम्पनी हो । यो कम्पनीमा श्री नागरीक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । उक्त कम्पनीले नेपाल धितो पत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने अनुमति पाएको छ । संस्थाको रजिष्ट्रर कार्यालय काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा रहेको छ । संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका १४ अञ्चल स्थित सम्पूर्ण शाखा कार्यलयहरुबाट प्रदान गरी त्यहाँ अवस्थित इच्छुक लगानी कर्ताहरुलाई संस्थाको व्यावसायिक तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्ने लक्ष्य संस्थाले लिएको छ ।
दसैंमा मात्रै यान्त्रिक पुलले कमायो साढे १० लाख रुपैयाँ
पर्वत, १ कात्तिक । मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यसबर्षको दसैँमा १० लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैँको प्रतिपदादेखि पूर्णिमासम्म आठ लाख ४१ हजार रुपैयाँको कारोबार गरेको हो । कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारीअनुसार दसैँको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कारोबार उत्साहजनक रुपमा भएको हो । यसपटक दसैँमा यान्त्रिक पुलबाट १३ हजार २७६ जनाले वारपार गरेका छन् । गत वर्ष यान्त्रिक पुलबाट प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म यात्रा गर्ने यात्रुबाट १० लाख ८३ हजार रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष पनि उत्साहजनक रुपमा आम्दानी गर्न सफल भएको यान्त्रिक पुल लिमिटेडका कार्यालय प्रमुख चिरञ्जीवी रेग्मीले जानकारी दिए। पर्वत सदरमुकाम कुश्मा बजारबाट बागलुङ जिल्लाको बलेवा पुग्नका लागि पैदल मार्गबाट झन्डै एक घन्टा लाग्ने गर्छ । यान्त्रिक पुलको सञ्चालनसँगै एक घन्टाको यात्रा करिब सात मिनेटमा छोटिृएको छ । केबलकार मोडेलमा निर्माण गरिएको उक्त पुलबाट यात्रा गर्नका लागि एकतर्फी भाडा रु एक सय तोकिएको छ भने बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाका लागि रु ७५ तोकिएको छ । सो पुल गाउँघर र पहाडी क्षेत्रमा यात्रु ओसारप्रसार गर्न तथा कृषि उपज र अन्य सामग्री ढुवानीका लागि सबैभन्दा उपयुक्त माध्यम बन्न सक्ने देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए। “गाउँमा कच्ची सडक खन्नुभन्दा यस्तै यान्त्रिक पुल र केवलकार निर्माण गर्ने हो भने धेरै सहज हुन सक्छ”, उनले भने – “हाम्रोजस्तो पहाडी भूभागका लागि यो नै अति उत्तम विकल्प हो, सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्छ ।” पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यान्त्रिक पुल निर्माण भएको हो । रासस
अन्तराष्ट्रिय गरिबी निवारण दिवसः पेटभरी खान नपाउनेको संख्या ९० करोड बढी
काठमाडौं, १ कात्तिक । विश्व बैंकले दैनिक एक दशमलब ९० अमेरिकी डलर आम्दानी गर्न नसक्नेहरुलाई निरपेक्ष गरिबको सूचिमा राख्दै आएको छ । सो भन्दा कम आम्दानी गर्नेहरुलाई दैनिक भेटभरी खान नपाउनेहरुको रुपमा गणना गरिन्छ । बैंकले सन २०१२ मा तयार पारेको योजनामा सन २०१५ को समाप्तिसम्ममा संसारमा निरपेक्ष गरिबहरुको संख्या ७० करोड भन्दा कम गराउने लक्ष्य थियो । तर अझैपनि संसारमा ९० करोड भन्दा बढि जनसंख्या निरपेक्ष गरिबीको रेखमुनी रहेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । जबकी विश्व बैंकले सन २०१२ मै तयार पारेको प्रतिवेदनले भने संसारमा ८९ करोड ६७ लाख मानिस निरपेक्ष गरिबको संख्या थियो । जुन कुल जनसंख्याको १२ दशमलब ८ प्रतिशत हुन आउँछ । विश्व बैंकले सन २०३० सम्ममा संसारबाट गरिबहरुको संख्या ३ प्रतिशतमा झार्ने योजना बनाएको छ । जबकी हाल यस्तो संख्या ९ दशमलब ६ प्रतिशत रहेको छ । विश्व बैंकले सन २०१५ को तथ्यांकमा आधारित रहेर तयार पारेको प्रतिवेदन अनुसार हाल संसारमा कुल जनसंख्याको ९ दशमलब ६ प्रतिशत मानिस मात्रै निरपेक्ष गरिबीको रेखामुनी रहेका छन् । यो संख्या सन २०१२ को भन्दा २ करोडले कम हो । सबै भन्दा गरिबी अफ्रिकी महादेशमा रहेको छ । त्यहाँ कुल जनसंख्याको ४२ प्रतिशतसम्म मानिस निरपेक्ष गरिबीको रेखामुनी रहेका छन् । के हो गरिबी निवारण दिवस ? १९९२ डिसेम्बर २२ तारिखका दिन संयुक्त राष्ट्रसंघको महासभाले अक्टोबर १७ तारिखलाई अन्तराष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउने निर्णय गरेको हो । युद्ध, गरिबी र भोखमरीका विरुद्ध यो दिवसको सुभारम्भ गरिएको हो । अमेरिकामै साढे १३ प्रतिशत जनता गरिब १४ प्रतिशत अमेरिकी जनता गरिबीको रेखामुनी रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी जनगणना रिपोर्टका अनुसार ४ करोड ३० लाख अमेरिकी जनता गरिबीको रेखामुनी रहेका छन् । यो संख्या भनेको अमेरिकी जनसंख्याको १४ प्रतिशत हो । सन २०१४ मा पछल्लो १६ वर्षमा सबै भन्दा बढि गरिबी बढेको पनि सो रिपोर्टले उजागर गरेको छ । सन २०१४ मा भन्दा १ दशमलब २ प्रतिशतले बढी १३ दशमलब ५ प्रतिशत अमेरिकीहरु गरिबीको रेखामुनी पुगेका हुन् । विश्वको सबै भन्दा ठुला अर्थतन्त्रका रुपमा रहेको अमेरिकामा ४ करोड ३० लाख जनता गरिबीको रेखामुनी पुग्नु गम्भिर संकटको संकेत भएको बताईन्छ । कति नेपाली छन् गरिब ? केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या ६१ लाख ४७ हजार ८ सय ७५ छ । यो कुल जनसंख्याको २३ दशमलब ८ प्रतिशत हो । राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ । संख्याका आधारमा सबैभन्दा धेरै गरिब रौतहटमा छन् । रौतहटमा दुई लाख २७ हजार गरिब रहेको तथ्यांक छ । यसमध्ये विषम परिस्थितिमा ५६ हजार आठ सय ६० र गहन समस्यामा २० हजार एक सय ८९ गरिब छन् । संख्याका आधारमा सबैभन्दा कम गरिब मनाङमा छन् । ६ हजार पाँच सय ३८ जनसंख्या रहेको मनाङमा दुई हजार एक सय ५० जना गरिब छन् । विषम गरिबको संख्या ६ सय ४६ र गहन गरिबको संख्या दुई सय ४९ छ । त्यस्तै, जनसंख्याको अनुपातका आधारमा सबैभन्दा धेरै गरिब बाजुरामा छन् । बाजुरामा गरिबको संख्या ८५ हजार आठ सय ६७ छ । यो कुल जनसंख्याको ६४ दशमलब शुन्य ४ प्रतिशत हो । कुल जनसंख्या एक लाख ३४ हजार नौ सय १२ छ । सो जिल्लामा २६ हजार नौ सय एक गरिब विषम परिस्थितिमा र ११ हजार ८९ गरिब गहन समस्यामा रहेको तथ्यांक छ ।