अशोक लेलैण्डद्वारा भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको अनावरण
काठमाडौं, २ कात्तिक । हिन्दुजा ग्रुप अन्तर्गतको फ्ल्याग्शिप ब्राण्ड, अशोक लेलैण्डले भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको आफ्नो चेन्नाई अवस्थित कर्पाेरेट अफिसमा अनावरण गरेको छ । पूर्णतया इण्डियामा डिजाइन तथा इन्जिनियरिङ्ग गरिएको उक्त बस भारतीय रोड तथा लोडको अनुसार जिरो एमिशन भेहिकलको रुपमा अनावरण गरिएको हो । भारतको तामिल नाडुका चिफ सेक्रेटरी अम्बुज शर्मा आइ.ए.एसका अनुसार – “भारतको पहिलो तथा भारतमै निर्मित पूर्णरुपमा विद्युतीय बसलाई सर्वसाधारणको यातायातका लागि प्रयोगमा ल्याउन पाएको एउटा निकै ठूलो उपलब्धी हो र अशोक लेलैण्डले यो कामयाबी हासिल गरेकोमा हामी एकदमै खुशी छौं । यस गाडीले सरकारको ८ लाख करोडको फ्यूल आयात घटाउने लक्ष्यलाई सहायता गर्ने र स्वच्छ भविष्यको लक्ष्य प्राप्तिमा सहयोग गर्नेछ ।” उक्त बसलाई सन् २०२० सम्म इलेक्ट्रिक/हाइब्रिड भेहिकलको संख्या २०५ ले बढाउने लक्ष्य लिएको नेशनल इलेक्ट्रिक मोबिलिटी प्लान अनुरुप बजारमा ल्याइएको हो । जिरो टेलपाइप एमिशन तथा न्यून ध्वनि प्रदुषण बाहेक उक्त बसले संचालन खर्च पनि न्यून बनाउने छ । अशोक लेलैण्डका म्यानेजिङ्ग डाइरेक्टर विनोद दशारीका अनुसार – “यस बसले ग्राहकहरुलाई करीब ४–५ वर्ष भित्रमा पे—ब्याक प्रदान गर्नेछ । यो सर्किट बसको सिरिजको अनावरणले अशोक लेलैण्डको भारतको टेक्नोलोजिकल इन्नोभेसन प्रयोग गरी सान्दर्भिक तथा वर्गमै उत्कृष्ट समाधानहरु भारत लगायत विश्वलाई नै पस्कने प्रतिबद्धता अझै प्रमाणित गरेको छ ।” अशोक लेलैण्डले हाल १२ टन बसको वर्गमा ६०५ बजार ओगट्न सफल छ ।
राष्ट्रिय वाणिज्य बैंकको बोर्ड छ तर सुविधा छैन
म्याग्दी, २ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकद्वारा पश्चिम क्षेत्रको दरवाङ बजारमा सञ्चालित शाखारहित बैंकिङ सेवा प्रभावकारी बन्न सकेको छैन । उक्त ठाउँमा बैंकको बोर्ड राखिएको छ, तर सुविधा भने शून्य छ । द्वन्द्वकालमा विस्थापित बनेको दरवाङ शाखा पुनःस्थापना गर्नुअघि वाणिज्य बैंकले शाखारहित बैकिङ् सुविधा उपलब्ध गराउन स्थानीय ओम पुनलाई आधिकारिक जिम्मेवारी दिएको थियो । तर, पुनले शाखाको ‘उद्घाटन’ नभएको भन्दै काम नगरेपछि सो क्षेत्रका सेवाग्राही मारमा परेका छन् । उद्योग वाणिज्य सङ्घ दरवाङ इकाइका अध्यक्ष मोतीराज उपाध्याय गौतमले शाखारहित बैकिङ सुविधामा धेरै सेवा पाइने भए पनि दरवाङबाट त्यो पाउन नसकेको बताए । उक्त शाखा पुनःस्थापना गर्न दरवाङ क्षेत्रका उद्योगी व्यवसायीले जिल्लास्थित सरोकारवाला निकायलाई निरन्तर माग गर्दै आएका छन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको दरवाङका व्यवसायीले शाखा पुनःस्थापनाका लागि वार्षिक आठ करोडदेखि १० करोड रुपैयाँसम्म निक्षेप सङ्कलन गर्ने प्रतिबद्धता जनाएका थिए । वाणिज्य बैंक म्याग्दी शाखाका प्रबन्धक धुव्रराज पनेरुले आफू आउनु पूर्व नै दरवाङमा पुनलाई जिम्मेवारी दिइएको बताए। रासस
पञ्चकन्याले ल्यायो थप दुई प्रकारका एस एस ट्याङ्क
काठमाडौं, २ कात्तिक । पञ्चकन्याले नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३१६ ग्रेडको ट्याङ्क बजारमा ल्याएको छ । कम्पनीका अनुसार ३१६ ग्रेडका ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको छ, जसले पानी छिटो तात्न पाउदैन । लक गर्न मिल्ने बिर्को भएकोले कुनै किसिमको कीरा, फोहर आदि पस्न सक्दैन । साथै स्ट्याण्ड सहित हुनाले ट्याङ्क रहेको स्थान समेत सरसफाई गर्न सजिलो हुन्छ र राख्ने स्थान समेत कम भए पुग्छ । ३१६ ग्रेडका ट्याङ्कहरु फार्माच्यूटिकल ल्याब, हस्पिटल, ब्रुअरी, डिष्टिलरी, डेरी, औद्योगिक प्रतिष्ठान, फुड एण्ड बेभरेज जस्ता उद्योग तथा घरायसी प्रयोजनकालागी अति उपयोगी हुने देखिन्छ । हाल यी ट्याङ्कीहरु १०००, १५००, २०००, ३०००, ४००० र ५००० लिटर क्षमतामा उपलब्ध छन् । साथै पञ्चकन्याले ३०४ ग्रेडका ट्याङ्कहरु होरिजेन्टल डिजाइनमा समेत उत्पादन सुरु गरेको छ । यी दुवै ट्याङ्कमा राम्रो रिसेल भ्यालु र कुनै म्यानुफ्याक्चरिङ्ग डिफेक्ट भएमा तुरुन्त साट्न सकिने कम्पनीले जनाएको छ ।
अख्तियारद्धारा एक महिनामा १० मुद्दा, एक करोड बिगो दावी
काठमाडौं, २ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा ११ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले असोज महिनाभित्र १० वटा घट्नामा ११ जनालाई प्रतिवादी बनाई बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । सो वापत एक करोड ४ लाख रुपैंयाँ बिगो दावी गरिएको छ । आयोगले सो अवधीमा २ जनालाई घुससहित रंगे हात पक्राउ गरेको थियो भने ५ जनालाई नक्कली शैक्षिक प्रमाण पत्र तथा २ जनालाई पदको दुरुपयोग गरि सम्पति कमाएको आरोपमा मुद्धा हालेको हो । शिक्षा, स्वास्थ्य, उपभोक्ता समिति, विश्व विद्यालय र नगरपालिका तथा गाबिसका कर्मचारी विरुद्ध मुद्धा हालिएको हो ।
आयोगका एक सदस्यबाट इलाकालाई मापदण्ड बनाउने निर्णय अस्वीकार
काठमाडौं, २ कात्तिक । गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगका सदस्य सुनिलरञ्जन सिंहले इलाकालाई समेत प्रमुख आधार बनाउन सरकारले दिएको मापदण्ड अस्वीकार गरेका छन् । आयोगद्वारा पूर्व प्रस्तावित ५६५ स्थानीय तहको सङ्ख्या तोकिएकामा त्यसमा तराई– मधेस र थरुहट पक्षको असन्तुष्टिलाई समर्थन गर्दै अधिवक्ता समेत रहेका सिंहले मन्त्रिपरिषद्कोे निर्णयबमोजिम इलाका समेतलाई प्रमुख आधार मानी संशोधित मापदण्ड बनाइनु उचित नभएको उल्लेख गरेका छन् । उनले मंगलबार आयोगका अध्यक्षलाई बुझाएको असहमतिपत्रमा भनिएको छ, “इलाकालाई आधार मानी गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमानाको निर्धारण गर्ने कार्य गरिएमा त्यसमा मेरो कुनै पनि साथ, सहकार्य र सहमति नरहने व्यहोरा लिखित रुपमै दर्ता गराउँदछु ।” निकट भविष्यमा हुन लागेको स्थानीय तहको चुनावलाई ध्यान दिई पहिलो चरणमा गाउँपालिका, नगरपालिकाको सङ्ख्या तथा सिमाना निर्धारण गरी दोस्रो चरणमा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण गरिनुपर्ने उनको माग छ । आयोगको अवधि २०७३ फागुन मसान्तसम्म छ । रासस
क्लियरिङ बैंक तत्काल नथपिने, प्रक्रिया पुर्याएर काम गर्दा ढिलो भयोः गुप्ता
काठमाडौं, २ कात्तिक । नेपाल धितोपत्र बोर्डको निरन्तरको ताकेताका बावजुद तत्काल थप क्लियरिङ बैंक नथपिने भएको छ । बोर्डले गत बैशाख १ गतेदेखि नै न्युनतम ३ वटा क्लियरिङ बैंक सञ्चालन गर्न निर्देशन दिएको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सफ्ट वेयर र अन्य प्राबिधिक पक्षलाई देखाएर हालसम्म क्लियरिङ बैंक थपेको छैन् । सिडिएसले अझै केहि महिना नयाँ क्लियरिङ बैंक थप्न नसकिने बताएको छ । ‘सफ्ट वेयरको काम सकिनै लागेको छ, त्यसपछि क्लियरिङ बैंकका लागि टेण्डर प्रक्रिया सुरु हुन्छ, त्यो प्रक्रिया पुरा भएर क्लियरिङ बैंकले काम थाल्न अझै केहि समय लाग्छ’, सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजसँग भने । उनका अनुसार हालसम्म थप क्लियरिङ बैंक सञ्चालनका लागि सफ्ट वेयर विकासकै काम भैरहेको छ । त्यसपछि टेण्डर आव्हान गरिनेछ र मुल्यांकनका लागि पनि केहि समय लाग्नेछ । सार्वजनिक खरिद ऐनलाई टेकेर क्लियरिङ बैंकका लागि टेण्डर र मुल्यांकनको काम गर्नुपर्ने भएकाले ढिला हुने गुप्ताले बताए । ‘सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार क्लियरिङ बैंक थप्ने काम अघि बढ्छ, टेण्डरका लागि समय छुट्याउनु पर्छ, मुल्यांकनका पनि छुट्टै आधार र समय सिमा छ, त्यसकारण अझै केहि समय लाग्छ’, गुुप्ताले भने । नेपाल धितोपत्र बोर्डले बैशाख १ गतेदेखि क्लियरिङ बैंकको संख्या कम्तिमा ३ वटा बनाउन नेप्से र सिडिएसलाई निर्देशन दिएको थियो । माघ १३ गते बोर्डले निर्देशन दिएको भएपनि सिडिएसले चैतको अन्तिम साता थप क्लियरिङ बैंक आवश्यक नरहेको जवाफ बोर्डमा पठाएको थियो । तर धितोपत्र बोर्डले सिडिएसको जवाफ प्रति तिब्र असन्तुष्ठि जनाउँदै तत्काल कार्यान्वयन गर्न पुनः निर्देशन दिएको थियो । बोर्डले निर्देशन दिएको नौं महिना र कार्यान्वयन गर्न तोकेको समय सिमा नाघेको पाँच महिनापछि पनि नयाँ क्लियरिङ बैंक थपिएका छैनन् । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । एउटा मात्रै क्लियरिङ बैंक हुँदा चेक राफसाफमा ढिलाई भएर लगानी कर्ताले सास्ती भोग्दै आएका थिए ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक चाँडै संसद्मा पेस गरिने
काठमाडौं, २ कात्तिक । बैंकिङ क्षेत्रको सुधारका लागि ल्याउन लागिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक चाँडै संसद्मा पेस गरिने भएको छ । व्यवस्थापिका–संसद् अर्थसमितिको मंगलबारको बैठकले उक्त विधेयकलाई व्यवस्थापिका–संसद्को बैठकमा चाँडो पेस गर्ने गरी समितिबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो । समितिका सभापति प्रकाश ज्वालाले समितिको आगामी बैठकमा विधेयकमाथि दफाबार छलफल गरेर अन्तिम रुप दिने र त्यसका लागि अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर एवम् पूर्व अर्थमन्त्रीसँग अनौपचारिक छलफल गरेर निष्कर्षमा पुग्ने बताए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैठकमा लामो छलफल भई धेरै समस्याको समाधान भइसकेको अवस्थामा चाँडो विधेयकलाई अगाडि बढाउन समितिलाई आग्रह गरे । वर्षौंसम्म विधेयकलाई रोक्न नहुने उनको भनाइ थियो । “सबै विषय ऐनमा नै हुनुपर्छ भन्ने भन्दा पनि नियम तथा निर्देशनबाट समेत नियमनका काम गर्न सकिन्छ त्यसतर्फ ध्यान दिँदै जनताको अपेक्षालाई सम्बोधन गर्नुपर्छ,” उनले भने । त्यसैगरी बैठकमा सहभागी पूर्व अर्थमन्त्री एवम् सांसद डा रामशरण महतले कानुनले सबै व्यवस्थापन गर्न खोज्नेभन्दा पनि त्यसका लागि अन्य उपाय अवलम्बन गरी चाँडो विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । बैठकमा सांसदहरु शक्ति बस्नेत, इच्छाराज तमाङ, उदयशमशेर राणा, विमल केडिया, जगदिशनरसिंह केसी, सुवोध पोखरेल, दीपक कुइँकेल र शेरबहादुर तामाङले आ–आफ्नो धारणा राखेका थिए । यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्था निजीभन्दा पनि जनताको निक्षेप सङ्कलित सार्वजनिक संस्था भएकाले बैंकको सुरक्षाका लागि नियमन निकायलाई सबल बनाउनुपर्नेमा जोड दिए । अर्थसचिव डा शान्तराज सुवेदीले बैंक तथा वित्तीय संस्था जनताको विश्वासमा चल्ने भएकाले त्यसलाई कायम राख्नका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ऐन तयार गरिनुपर्ने बताए । त्यसैगरी राजस्व सचिव राजन खनालले बैंक डुब्दा जनताको लगानी जोखिममा पर्ने र बैंक तथा वित्तीय संस्थाबाट जनताको रकम नोक्सानी भएमा सरकारले व्यहोर्नुपर्ने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए। रासस
सामसंङ एसयूएचडी टिभी प्रि–बुक गर्ने पहिलो ग्राहकलाई हस्तान्तरण
काठमाडौं, २ कात्तिक । सामसंङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सका आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले क्वान्टम डट टेक्नोलोजीयुक्त एसयूएचडी टिभी प्रि–बुक गर्ने पहिलो ग्राहक नैकापका विक्रम प्रसाद साहलाई एसयूएचडी टिभी हस्तान्तरण गरेको छ । सामसंग प्लाजाकी निर्देशक सिमा गोल्छाले दरवारमार्गमा आयोजित एक विशेष कार्यक्रममा पहिलो प्रि बुक गर्ने बिक्रम प्रसाद साहलाई एसयूएचडी टिभी हस्तान्तरण गरेकी हुन् । साहले ५५ इन्चको एसयूएचडी टिभी यहि २०७३ असार २८ गतेदेखि २०७३ भदौ ३० गते बिचको अवधिमा बुकिंङ गरेका थिए । उनले उक्त टिभीका साथै ८८ हजार ९०० रुपैयाँ बराबरको सामसंग ग्यालेक्सी एस सेभेन तथा सामसंग गियर भिआर उपहार स्वरुप प्राप्त गरेका छन् । दशैं र तिहारको अवसर पारेर २०७३ भदौ ३० गतेदेखि २०७३ कात्तिक ३० गतेसम्म विशेष मूल्यमा क्यासब्याक सहित उपलब्ध गराइएको कम्पनीलले जनाएको छ । कम्पनीका अनुसार मोडल नम्बर UA55KS9000 को ५५ इन्चको एसयूएचडी टिभीको मूल्य ३ लाख ७० हजार रुपैयाँ तथा मोडल नम्बर UA65KS9000 को ६५ इन्चको एसयूएचडी टिभीको मूल्य ५ लाख ७० हजार रुपैयाँ पर्ने छ ।