विकासन्युज

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको साधारणसभा चैत ४ मा, ६५ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा चैत ४ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । संस्थाले चुक्तापुँजीको ५० प्रतिशत अर्थात १० करोड रुपैया बराबरको बोनस सेयर र १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । यस्तै संस्थाको चुक्तापुँजी बढाउने प्रस्ताव पनि पारित हुने छ ।

साना किसान बैंक १७ करोड नाफामा

काठमाडौँ । साना किसान विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा १७ करोड १६ लाख नाफा गरेको र सो नाफा चालु आर्थिक वर्षको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तमा यस बैंकको कूल सम्पत्ति १७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । रासस

अब सहकारी संस्थाले पनि कम्पनी खोल्न पाउने, एेन संशाेधन हुदै

काठमाडौं । सरकारले सहकारी संस्थालाई पनि कम्पनी खोल्न दिने भएको छ । कम्पनी खोल्न दिनका लागि सरकारले सहकारी ऐनलाई संशोधन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी संस्थालाई कम्पनी खोलेर उत्पादन विदेश निकासी गर्न दिने बताएका छन् । सहकारी ऐनलाई संशोधन गरेर वस्तु उत्पादनका लागि कम्पनी खोल्न र निकासीका लागि वातावरण बनाउने जानकारी दिएका हुन् । साना किसान विकास बैंकको १७ औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सहकारीलाई पनि उत्पादनमा लगाएर विदेशमा वस्तु निकासी गर्नका लागि वातावरण बनाउने स्पष्ट पारेका हुन् । अघिल्लो व्यवस्थापिका संसदले पारित गरेको ऐनले सहकारीलाई कम्पनी खोल्न दिनका लागि वन्देज लगाएको छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गर्न सामुदायीक उत्पादन आवश्यक भएको बताउदै उनले यसका लागि सहकारी संस्थाले कम्पनी खोल्न पाउनुपर्ने बताएका हुन् । “उत्पादनलाई निर्यातसंग जोड्नु पर्छ र निर्यातका लागि कम्पनी खोल्नुपर्छ” उनले भने “यसका लागि सहकारी ऐन संशोधन हुनुपर्छ । ऐन संशोधनको प्रक्रिया छिट्टै सुरु हुनेछ ।” आफु पनि साना किसानको छोरा भएकाले समस्या निजिकबाट बुझेको बताउदै वर्तमान सरकारले किसानको हितमा काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले पहिला उत्पादनमा आत्मनिर्भर बनाइ निकासी गर्ने जानकारी दिए । हाल सहकारी संस्थाले वचत तथा ऋण, दुग्ध, तरकारीलगायतका व्यापार गर्दै आएका छन् ।

भारतको ट्रक बंगलादेश जान पाउछ भने नेपालको किन पाउदैन ?

अध्यक्ष, सार्क चेम्बर अफ कमर्श एन्ड इण्डस्ट्रिज मैले सुनेको छु ‘सार्क इज डेड’ । तर म त्यो विचारसंग सहमत छैन । किनभने मैले सार्कलाई धेरै नजिकबाट हेरेको छु । जब भारत र पाकिस्तानबीच तनाव बढ्यो र युद्ध हुने अवस्था पुगेको थियो, त्यसबेला हाम्रो महत्वपूर्ण वैठक भारतको अमृतसरमा गरेका थियौं । त्यहाँबाट सम्पूर्ण टिमलाई मैले हिडाएर पाकिस्तानको लाहोरसम्म पुर्याएको थिए । जब दुई मुलुकबीच युद्ध हुने अवस्थामा पुगेको थियो, त्यसबेला भारतबाट पाकिस्तानमा तरकारी फलफुल निर्धक्कसाथ आयात निर्यात भइरहेको थियो र पाकिस्तानबाट क्लिङकर बोकेका ट्रकहरु लोड भएर भारततिर आएको देखिन्थे । यसले के देखायो भने राजनीतिमा जे रोक लागेता पनि नाकामा आयात/निर्यात व्यापार भने भइरहेको थियो । हामीले सकरात्मक सोच्नु पर्छ भन्ने मेरो भनाइ हो । अरुलाई भन्न सजिलो छ । किनभने हाम्रो मुलुकमा विदेशी लगानी कति आयो त ? के सार्कको कारणले लगानी नआएको हो ? कि हाम्रो आन्तरिक नीतिहरु मिलेको छैन  ? नेपाललाई ब्रान्डिङ गर्न सकेका छैनौ, त्यो कमजोरी हाम्रो हो । भारत र पाकिस्तान जति राजनैतिक रुपमा अलग भएता पनि पाकिस्तानमा भारतीय प्रविधिको प्रयोग गरेर अहिले ठूला ७ वटा स्टील उद्योग स्थापना भएका छन् । स्टील उद्योगका लागि मेसिन र प्रविधिहरु भारतबाट ल्याइएको हो । म भारत गएका बेला त्यहाँको मन्त्रीसंग कुरा गरे । नेपालको प्रधानमन्त्री ज्यूलाई पनि त्यही आग्रह गरेको छु । परराष्ट्र र वाणिज्य मन्त्रालयमा पनि त्यही कुरा गरेको छु । हाम्रा धेरै मुद्धा छन् । नेपालका लागि सार्कबाट माग गर्नु पर्ने । त्यतिका धेरै भएता पनि प्रमुख एउटै एजेन्डा बीबीआईएनको कन्सेप्ट हो जो सार्क अन्तर्गतको छ । सार्कले क्षेत्रिय कोअपरेसन गर्न पाउछ भन्ने हामीले सम्झौता गरिसकेका छौं । त्यो सम्झौताले बीबीआईएनमा भुटानले केही अब्जेशन ल्याए पनि भारत, बंगलादेश र नेपालबीच विस्तृत सम्झौता भएको छ । भारतको गाडीहरु बंगलादेशमा जान सक्छन् । तर नेपाली ट्रकहरु किन बंगलादेश जान सकिरहेको छैन । यो एक मात्रै एजेन्डा हामीले उठाउनुपर्छ । हामी स्वतन्त्र हुन चाहन्छौं भने यो एजेन्डालाई अगाडी बढाउन पर्छ । भारतले यो कुरालाई अगाडी बढाउछौं भनेको छ । तर यो कुरा नेपालले जोडका साथ अघि बढाउन पर्यो । मोटर भेहिकल सम्झौत भयो भने ट्रान्समिसन सजिलैसंग जानेमा हामीले विश्वास लिएका छौं । सार्कको परिवारमा बसेर त्यसको फाइदा नेपालीले पाउनु पर्यो अब । अहिले बंगलादेशले भुटानबाट धेरै तरकारी र फलफुल आयात गर्न थालेको छ । तर नेपालबाट त्यहाँ के गइरहेको छ त ? त्यसले गर्दा यो मुद्धा हामीले उठाउनुपर्छ । अहिलेको सन्दर्भमा सार्कको अध्यक्ष नेपाल हो । सार्क चेम्बरको नेतृत्व पनि हामीले नै गरिराखेका छौं । त्यसले गर्दा पनि नेपालको सन्दर्भमा यो धेरै महत्वपूर्ण कुरा हो । कमसेकम नेपाललाई केही हुन सक्ने यो मुद्धालाई व्यापक छलफल गर्न सकियो भने नेपालको लागि ठूलो कुरा हुनेछ । मेरो फोकस सम्मेलनमा मोटर भेहिकल सम्झौता कार्यन्वन हो । चैत पहिलो साता सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजले आयोजना गर्न लागेको छैठौं ‘विजनेश लिडर्स कनक्लेभ’ सम्बन्धी आयोजना गरिएको पत्रकार सम्मेलनमा गरिएको अध्यक्ष वैद्यको सम्बोधनको सारः–  

कलैयामा यामाहाको नयाँ शोरुम, थ्रि एसको सुविधा

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बारा जिल्लाको कलैया उपमहानगरपालिकामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले मोटर्समार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । कम्पनीले यस क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरेको हो । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथि तथा कलैया उममहानगरपलिकाका मेयर राजेश राय यादवले गरेका थिए । श्री मोटर्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् । ‘विश्वमै परिचित र विश्वसनीय मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महसुस गरेका छौं,’ श्री मोटर्सका अध्यक्ष सोनालालप्रसाद केशरीले भने, ‘यो क्षेत्रमा यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै छ । अब यामाहाका मोटरसाइकल किन्न अन्त धाइरहनु पर्दैन । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।’ यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।

भूकम्पपीडितलाई बैंकले अनुदान रकम दिएन

काठमाडौं । भूकम्पबाट घरको क्षति बेहोरेका नुवाकोटका पीडितलाई अझै रकम पाएका छैनन् ।विदुर नगरपालिका–३ देवीघाटमा रहेको लुम्बिनी विकास बैंकले रकम अभावको कारण देखाउँदै लाभग्राहीको खातामा एक महिना अघि जम्मा भएको रकम नदिएको हो । सो बैंकले रकम वितरणको जिम्मा पाएको जिलिङ, खङभञ्याङ, गोस्र्याङ र विदुरनगरपालिका– ७ का प्रभावितले आवास निर्माणको प्रक्रिया पूरा गरी दोस्रो र तेस्रो किस्ताको रकम खातामा आएको एक महिना हुँदा पनि बैंकले रकम रोकेर दुःख दिएको लाभग्राहीले गुनासो गरेका छन् । बैंकले पछि आउनुभन्दै पटक÷पटक फर्काउने गरेको पीडितले गुनासो गरेका छन् । प्रभावितले आवास निर्माण अनुदानको दोस्रो किस्ताको रकम आएको एक महिना भइसकेको र बैंकले रकम दिने तालिका सार्वजनिक गरी तोकिएको मितिमा आउँदा रकम अभावको कारण देखाउँदै फर्काएर पीडितलाई दुःख दिएको तार्केश्वर गाउँपालिका–४ वडासचिव चन्द्रनिधि घिमिरेले बताए । “बैंकसँगको समन्वयमा लाभग्राहीलाई रकम लिन पठाउँदा बैंकले रकम दिन नमानेपछि पीडत अहिले वडाकार्यालयप्रति आक्रोशित बनेका छन्,” उनले भने,– “बैंकले अन्य सेवाग्राहीलाई नगद दिँदै आए पनि भूकम्पपीडितलाई भने दिएको छैन ।” तीन पटकसम्म पुग्दा पनि रकम नदिएको बेलकोटगढी नगरपालिका–९ बाखखोरका सूर्यबहादुर तामाङले बताए । “वडा कार्यालयले खातामा रकम आइसकेको भनेपछि निकाल्न जाँदा रकम छैन भनेर फिर्ता पठायो,” उनले भने, “लाभग्राहीले बैंक घेरेपछि काठमाडौँको चेक दिएर पठायो, अब निकाल्न जाँदा खर्च पनि बढी, निकालेको पैसा कसरी बचाएर ल्याउने भन्ने चिन्ता छ ।” लुम्बिनी विकास बैंक देवीघाट शाखाका प्रबन्धक अनिल ढकालले यहाँका बैंकमा रकम अभाव भएकाले उपलब्ध गराउन नसकेको बताए । रकम अभावको अवस्था सुधार हुँदै आएकाले चैतमा उपलब्ध गराउन सकिने ढकाल बताउछन् । सरकारले समयसीमा निर्धारण गरी प्रभावितलाई तोकिएको समयभित्रै घर बनाउन दबाब दिँदै आए पनि अनुदानको रकम समयमै नपाउँदा पुनःनिर्माण कार्यलाई तीव्रता दिन कठिनाइ भएको भूकम्पपीडितले बताएका छन् ।-रासस

जगदम्बा स्टील्सद्धारा इटहरी र विराटनगरमा टेक्निकल मिट सम्पन्न

काठमाडौं । शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टील्सले पुनः इटहरी र विराटनगरमा टेक्निकल मिटको आयोजना गरि सम्पन्न गरेको छ । संस्थाले हालै उक्त स्थानमा एफई ५००डीमा आधारित राइनो फलामे छड सम्बन्धि आफ्नो टेक्निकल मिटको सम्पन्न गरेको हो । एफई ५००डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथा फोस्फरसको मापदण्ड अनुसार अधिकतम ०.०७५ प्रतिशतमात्र सम्मिश्रण गरिएको संस्थाले जनाएको छ । यसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुन्छ । यसमा उपलब्ध उच्च लचकता र शक्तिका कारण यो छड भूकम्पियजोखिम तथा सम्भावनायुक्त नेपालका लागि उपयुक्त रहेको छ । यसले भुकम्पीय जोखिमयुक्त स्थानमा भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण गरी जोखिमबाट जोगाउँछ । इटहरीको टेक्निकलमा नेपाल इन्जिनियर्स एशोसिएसनका इं मोहन कार्की र विराटनगरमा टेक्निकल मिटमा इं उमा शंकर शाहको आतिथ्यतामा सम्पन्न भएको हो । राइनो ५००डी फलामे छड ८ एमएम देखि ३२ एमएम आकारमा नेपालभर छरिएका कम्पनीकाविक्रि केन्द्र मार्फत उपलब्ध छन् । उपभोक्ताको आवश्यकता, माग तथा योजनाका अनुसार कम्पनीले ३६ एमएमतथा ४० एमएमआकारमा समेत यसलाई उपलब्ध गराउने गरेको छ । कम्पनीले हरेक छडलाई १२ मिटरको निर्धारित लम्बाइमा उपलब्ध गराउने गरेको छ । यसले निर्माण सामग्री खेर जानबाट जोगाउनुका साथै मापदण्ड समेत पुर्ण गर्न सघाव मिल्छ । उपभोक्ताले कम्पनीको देशभर रहेका विक्रि केन्द्र मार्फत राइनो ५००डी फलामे छड ८ एमएमदेखि ४० एमएम आकारमा खरिद गर्न सक्छन् ।  

बोक्सीको आरोपमा कुटपिटमा परेकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । युवतीमाथि बिहीबार कुटपिट गरिएको थियो । गाउँमा धामीझाँक्रीको काम गर्दै आएका स्थानीयवासी रामबहादुर चौधरीले युवतीलाई बोक्सी लागेको भन्दै उपचारका क्रममा कुटपिट गरेका थिए । रामबहादुरसहित उनको झारफुकको काममा सघाउने सोही ठाउँकी कृष्णमति चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । आज उनीहरु विरुद्ध मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए । भोले बाबाका नामले समेत चिनिने रामबहादुर गाउँमा लामो समयदेखि धामीझाँक्री (बैद्य)को काम गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी सहायक निरीक्षक दिनेश विष्टले त्यस दिन गाउँमा अचानक छ/सातजना युवतीमा बेहोस् हुने समस्या देखिएकोमा तीमध्ये दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा पु¥याउनु परेको बताए । रामबहादुरले बेहोस् भएकीमध्ये राधा चौधरीलाई झारफूक गरी निको पार्ने भन्दै झारफूकका क्रममा बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको पीडित युवतीले बताएकी छन् । राधाको अवस्था खतारमुक्त रहेको छ ।-रासस