विकासन्युज

माछापुच्छ्रे बैंक र जनता बैंकबीच मर्ज तोडिनुको कारण र अबको बाटो

काठमाडौं, २९ चैत । माछापुच्छ्रे बैंक र जनता बैंकबीच मर्जर प्रक्रिया तोडिएको छ । स्वाप रेसियो नमिलेपछि मर्ज तोडिएको दुबै बैंकका अधिकारीहरुले बताएका छन् । माछापुच्छ्रे बैंकले आईतबार नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड,स्टक एक्चेन्ज र जनता बैंकलाई पत्र पठाउँदै मर्जर प्रक्रिया तोडिएको जानकारी दिएको छ । मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति समेत पाएका यी दुई बैंकबीच किन एकाएक मर्ज कसरी तोडियो ? यसमा को को जिम्मेवार छन् ? अब दुई बैंक कसरी अगाडि बढ्छन् ? धेरैको चासोको विषय बनेको छ । दुई बैंकबीच मर्ज सम्वन्धि प्रारम्भिक सम्झौता असोज ३ गते भएको थियो । त्यतिबेला माछापुच्छ्रेको प्रतिकित्ता १२१ र जनता बैंकको ८२ रुपैयाँ स्वाप रेसियो तय भएको थियो । पछि माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने र त्यसपछिको अवस्था मर्ज रेसियो १०९ र ८२ कायम गर्नेमा सहमति भएको थियो । जनता बैंक सम्वन्ध स्रोतका अनुसार डिडिए रिपोर्टका आधारमा फागुन दुई गते दुई बैंकका संयुक्त मर्जर कमिटिमा स्वाप रेसियो माछापुच्छ्रे बैंकको प्रतिकित्ता १०९ र जनता बैंकको प्रतिकित्ता ८२ रुपैयाँमा कायम गर्ने सहमति भएको थियो । उक्त सहमतिका विषयबारे दुबै बैंकले प्रमोटर सेयरधनीको भेला गराएर छलफल गरेका थिए । भेलामा जनता बैंकका सेयरधनीले १०९ र ८२ रुपैयाँ स्वाप रेसियोमा सहमति जनाएका थिए । तर माछापुच्छ्रे बैंकले आयोजना गरेको आफ्ना सेयरधनीको भेलामा सहमति भईसकेको स्वाप रेसियोको विरोध भयो । स्रोतका अनुसार माछापुच्छ्रे बैंकसँग अचल सम्पत्ति धेरै भएको, लाजिम्पाटमा २६ आनामा बनेको ७ तले आफ्नै भवन, पोखरामा ५ रोपनी जग्गासहित आफ्नै भवन, बागलुङ, जोमसम, भैरहवा लगायत क्षेत्रमा रहेका जग्गाको बजार मूल्य उच्चदरले वृद्धि भएको जनाउँदै त्यसको उचित मूल्याङकन हुनुपर्नेमा जोड दिए । १६ वर्ष पुरानो संस्थाको ब्राण्ड इमेज र भ्यालु राम्रो भएको, नेटवर्क, ग्राहक तथा व्यापार जस्तो आधारभूत पक्ष राम्रो भएकोे, ६ महिनामा ४० करोड रुपैयाँभन्दा बढी नाफा भएकाले स्वाप रेसियो आफ्नो बैंकमो धेरै हुनुपर्न प्रमोटर सेयरधनीहरुको धारणा थियो । Bikashnews.com उता राष्ट्र बैंकले स्वाप रेसियो तय गर्दा बढी मूल्य राख्नेले प्रतिकित्ता १०० र घटी हुनेको सयभन्दा तलको उपयुक्त मूल्य राख्ने मौखिक रुपमा सुझाव दिएको माछापुच्छ्रे बैंक सम्वद्ध स्रोतले बतायो । राष्ट्र बैंकको सुझावलाई आधार मान्दै माछापुच्छ्रे बैंकले आफ्नो सेयर मूल्य प्रतिकित्ता १०० राख्ने र जनता बैंकको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ कामय गरी मर्जमा जाने नयाँ प्रस्ताव गर्यो । तर स्वाप रेसियो १०० र ४५ बनाउने माछापुच्छ्रे बैंकको पत्रमा असहमति जनाउँदै जनता बैंकले फागनु २ मा भएको सहमतिका आधारमा मात्र मर्ज गर्न सकिने भन्दै चैत २६ गते माछापुच्छ्रे बैंकलाई पत्र लेख्यो । जवाफमा माछापुच्छ्रे बैंकले चैत २८ गते जनता बैंकलाई पत्र काट्दै १०९ र ८२ रुपैयाँ स्वाप रेसियोमा मर्ज गर्न नसकिने जनाउदै मर्जबाट आफू वाहिरीने निर्णय गरेको पत्र पठायो । अबको बाटो २८ गते नै बसेको माछापुच्छ्रे बैंकको सञ्चालक समितिले आफैले पुँजी थपेर ८ अर्ब रुपैयाँ पुर्याउने उदेश्यसहित तत्काल १६ प्रतिशत बोनस सेयर र त्यसपछिको पुँजीको आधारमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयमा पुगेको छ । साथै साधारणसभामा उपयुक्त वित्तीय संस्थासँग मर्ज गर्ने प्र्रस्ताव पनि साधारणसभामा लैजादै छ । माछापुच्छ्रे« बैंकको हाल चुक्ता पुँजी ३ अर्ब ३० करोड रुपैयाँ छ । बैंकले ५३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको छ । बोनस सेयर वितरणपछि २ बराबर १ को अनुपात (५० प्रतिशत) १ अर्ब ९१ करोड ८४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बोनस र हकप्रद सेयर जारी गर्दा बैंकको चुक्ता पुँजी ५ अर्ब ७५ करोड ५२ लाख रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफा र आगामी आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ८ अर्ब नजिक पुग्न सकिने, केही विकास बैंक र फाइनान्स कम्पनीलाई मर्जमा ल्याएर नपुग पँुजी जुटाउन सकिने उसको योजना छ । दुई अर्ब ६ करोड रुपैयाँ मात्र सेयर पुँजी भएको जनता बैंकका लागि भने अर्को बैंकसँग मर्जमा जार्नु दवाव फेरी पनि रहिरहने छ ।

६ अर्बको वास्केट फण्ड खोल्ने नागरिक लगानी कोषको प्रस्ताव, रेमिट्यान्स भित्र्याउने र विदेशी सेयरमा लगानी गर्ने अधिकार माग

काठमाडौं, २८ चैत । नागरिक लगानी कोषले ६ अर्ब रुपैयाँको बास्केट फण्ड खोल्ने प्रस्ताव अर्थमन्त्रालयसँग गरेको छ । आगामी आर्थिक वर्षको लागि बजेट तर्जुमाको तयारीको क्रममा आईतबार अर्थमन्त्रालयमा भएको बैठकमा कोषले ६ अर्बको बास्केट फण्ड बनाउन, सो फाण्डलाई विदेशी धितोपत्रमा समेत लगानी गर्न सक्ने गरि अधिकार दिन र कोषले सञ्चालन गर्दै आएको अवकाश कोष योजनाको रकम दोब्बर बनाउन अर्थमन्त्रालयमा प्रस्ताव गरेको छ । २०७२ साल बैशाख १२ मा गएको विनासकारी भूकम्पले सेयर बजारमा ठूलो असर गर्ने देखिएपछि तत्कालिन सरकारले बास्केट फण्ड स्थापना गर्ने प्रस्ताव अगाडि ल्याएको थियो । सरकारले बास्केट फण्ड सञ्चालन गर्न नागरिक लगानी कोषलाई अगाडि सारे पनि अहिलेसम्म ठोस रुपमा काम हुन सकेको छैन । बास्केट फण्ड सञ्चालन गर्ने व्यवस्था बजेटमा नै भयो भने काम अगाडि बढाउन सजिलो हुन्छ भनेर अर्थ मन्त्रालयसँगको छलफलमा उक्त प्रस्ताव लगिएको कोषका प्रबक्ता सुशील कुमार अर्यालले बताए । बास्केट फण्डमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थानले १/१ अर्ब लगानी गर्ने, अन्य तथा संस्थाबाट २ अर्ब रुपैयाँ जुटाउने गरि प्रस्ताव गरिएको छ । त्यस्तै, कोषले विदेशमा रहेका नेपालीले कमाएको रकम सोझै नागरिक लगानी कोषले भित्र्याउन सक्ने र उनीहरुको रकम पुँजी बजारमा लगानी गर्न पाउने अधिकार माग गरेको छ । कोषलाई रेमिट्यान्स भित्र्याउन दिने र उक्त रकम सरकारका दीर्घकालिन ऋणपत्रमा तथा धितोपत्रमा लगानी गर्न सक्ने अधिकार दिएमा रेमिट्यान्सलाई लगानीमा रुपान्तरण गर्न सकिने र लगानी बढाउने पुँजी परिचालन गर्न सजिलो हुने भएकाले यस्तो प्रस्ताव गरिएको उनले बताए । त्यस्तै, कोषले हाल सञ्चालन गर्दै आएको अबकाश कोष रकम दोब्बर बनाउन सरकारसँग सहमति मागेको छ । हाल वार्षिक ३ लाख र ५ लाख बचतकर्तालाई आयकरमा निश्चित छुट दिदै आएकोमा त्यसलाई डब्बल बनाई ६ लाख र १० लाख बनाउन प्रस्ताव गरिएको उनले जनाकारी दिए ।

एसवीआई बैंकले मर्चेन्ट बैंकर्सको लाईसेन्स पायो बीमा, रेमिट र माइक्रोक्रेडिट खोल्ने योजना

काठमाडौं, २८ चैत । नेपाल एसवीआई बैंकले मर्चेन्टर बैंक खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । राष्ट्र बैंकबाट स्वीकृत पाएपछि एसवीआई बैंकले सहायक कम्पनी ‘नेपाल एसवीआई मर्चेन्ट बैंकर्स’ दर्ता प्रक्रिया अगाडि बढाएको छ । २०७३ असार मसान्तअघि नै कम्पनी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भईरहेको बैंकका कम्पनी सचिव रमेश घिमिरेले जानकारी दिए । यस कम्पनीको सेयर पुँजी १० करोड रुपैयाँ हुनेछ । सबै पुँजी नेपाल एसवीआई बैंकले मात्र लिने छ । ‘बैंकको सहायक कम्पनी भएकोले बैंकले पनि सेयर लिन्छ, बैंकका प्रवद्र्धक सेयरधनीलाई सहायक कम्पनीको पनि सेयरधनी बनाउने काम हामी गर्दैनौ । धितोपत्र बोर्डले अनिवार्य गरेको अवस्थामा सर्वसाधारणलाई सेयर निश्काशन गर्न सकिन्छ’ उनले भने । कम्पनीले पहिलो चरणमा मर्चेन्ट बैकिङ सर्भिस, सेयर रजिष्ट्रार, म्यूचलफण्ड, डिपी, पोर्टफोलियो म्यानेजमेन्ट लगायतको काम तत्काल थाल्ने छ । दोस्रो चरणमा वित्तीय परामर्श सेवा, लगानी जोखिम मूल्याङकन लगायत सेवा दिने उनले बताए । त्यस्तै बैंकले जीवन बीमा कम्पनी, रेमिट्यान्स कम्पनी र माईक्रो क्रेडिट कम्पनी खोल्ने तयारी गरिरहेको छ । गत माग २४ गते सम्पन्न कम्पनीको २२ औं साधारण सभाले सहायक कम्पनी खोली सेवा विस्तार र विविधिकरणमा जाने गरि गरेका निर्णयहरुको आधारमा सहायक कम्पनीहरु खोल्ने प्रक्रिया अगाडि बढेको कम्पनी सचिव घिमिरेले बताए । तर बीमा समितिका अध्यक्षमा डा फत्तबहादुर केसी रहेसम्म कुनै पनि संस्थाले बीमा कम्पनी खोल्न स्वीकृति पाउने सम्भावना छैन । नयाँ लगानीलाई प्रवेश दिने, रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने, बीमा क्षेत्रमा सिर्जनात्मक काम गर्ने, सेवा विस्तार गर्ने योजनप्रति अध्यक्ष केसीले शुरु देखि नै नकारात्मक सोच राख्दै आएका छन् । उनको कार्यकालमा विगत सात वर्षयता यस्ता कुनै पनि काम भएका छैनन् ।

पनामा पेपर्समा १३ जना नेपाली र १० कम्पनीको नाम सार्वजनिक, चर्चित अनुहार कम, नयाँ अनुहार बढी

काठमाडौं, २५ चैत । विश्व हल्लाउने गरी सार्वजनिक भएको पनामा पेपर्स रिपोर्टमा नेपालमा दर्ता भएका १० कम्पनीको नाम र १३ जना सञ्चालकको नाम उल्लेख गरिएको छ । विश्वका शक्तिशाली व्यक्तिहरुले आफै, आफन्त वा साथीहरुको नाममा कम्पनी खोली कर छल्दै व्यवसाय गर्नेहरु चोरबाटो प्रयोग गर्ने अन्तराष्ट्रिय सञ्जाललमा नेपालका १० कम्पनी र १३ जना नेपालीको नाम उल्लेख छ । त्यसमा चर्चित अनुहार कम छन् भने नयाँ अनुहार बढी देखिएका छन् । नेपाली सञ्चार माध्यममा आए झै अजय सुमाग्री र उनका कम्पनी, एनसेल र यसमा लगानी गर्ने कम्पनी, विशाल ग्रुप वा राजेन्द्र खेतान पछिल्लो समयमा विवादमा परेका कम्पनी वा व्यक्तिहरु उक्त सूचिमा परेको छैन । पनामा पेपर्समा उल्लेख भएअनुसार कर छलि गर्ने उदेश्यले ट्याक्स हेभन क्षेत्रमा कम्पनी दर्ता गरी कारोबार गर्दै आउनेमा शशिकान्त अग्रवाल, विजेन्द्र जोशी, विजेश कुमार तोदी अग्रवाल, विमलकाजी ताम्राकार, विन श्रेष्ठ, विश्व बरसिंर थापा, विश्वधर तुलाधर, मच श्यामसुन्दर कर्माचार्य, हरिश कुमार तोदी, प्रोफेसर सत्येन्द्र कुमार तोदी, राजेन्द्र कुमार काब्रा, रेनुका प्रधान, रेखा काब्रा रहेका छन् । आईसीआईजेका अनुसार चर्चित व्यवसायी शशिकान्त अग्रवालले पुँजी पलायत गरी कर चल्ने काम गरेका छन् । उनले मल्टी लिङ ट्रेड लिमिटेडको नाममा विदेशमा यास्तो काम गरेका छन् । यो कम्पनी २६ अगष्ट २००३ मा दर्ता भएको हो । कम्पनीको कार्यलय शिवकुञ्ज, बत्तिसपुतलि, काठमाडौं रहेको छ । अग्रवालले सोही स्थानबाट नेपाली कम्पनीहरु पनि सञ्चालन गर्दै आएका छन् । बिजेन्द्र जोशी अर्को चर्चित नाम हो । उनी बैंकर्स सशीन जोशीमा भाई हुन् । बिजेन्द्र वल्ड डिष्ट्रीव्यूशन नेपाल प्रालिका सञ्चालक तथा सेयर होल्डर हुन् । यसको कार्यालय सिद्धिभवन, कान्तिपथ काठमाडौंमा रहेको छ । यो कम्पनी सन् २००२ देखि चालु छ । वल्ड डिष्ट्रीव्यूशन नेपाल प्रा.लिसँगै हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेडको नाम जोडिएर आएको छ । वल्ड डिस्ट्रीव्यूशन नेपालमा विजेन्द्रका पाटनरसिप गर्दे आएका विमलकाजी ताम्राकार वल्ड डिस्ट्रीव्यूशन नेपाल र हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेडमा सञ्चालक र सेयरधनी रहेका छन् । वल्ड डिस्ट्रीव्यूशन नेपाल ९ मे २००२ देखि र हिमालयन इन्भेष्टमेन्ट ग्रुप २२ डिसेम्बर २००३ देखि सञ्चालमा आएको छ । यसको कार्यालय पनि सिद्धिभवन, कान्तिपथ काठमाडौं रहेको छ । हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेडमा विश्ववरसिंह थापा पनि संलग्न छन् । उनी कम्पनीको सेयरधनी र सञ्चालक दुबै हुन् । त्यस्तै, विश्वधर तुलाधर वल्ड डिस्ट्रव्यूशन नेपाल प्रा.लि र हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेड दुबैमा संलग्न छन् । आईसीआईजेका अनुसार विजेश कुमार तोदी अग्रवाल पनि कर छलिमा संलग्न छन् । उनी मोरङ जिल्ला विराटनगर नगरपालिका वडा नम्बर ९ का बासिन्दा हुन् । उनी वुडस्टक यूनिभर्सल लिमिटेडका डारेक्टर छन् । यो कम्पनी ३ अगष्ट २००७ देखि सञ्चालनमा रहेको छ । यस कम्पनीमा हरिस कुमार तोदी पनि सञ्चालक रहेका छन् । डा श्याम बहादुर कर्माचार्यले सुर्गी इलेक्ट्र मेडिकल लिमिटेडको नाममा विदेशमा पुँजी लगेका छन् । उनी सो कम्पनीका सेयरधनी र सञ्चालक हुनु । यो कम्पनी ७ मे २००८ देखि सञ्चालनमा रहेको छ । यो कम्पनी ललितपुर उपमहानगर पालिका वडा नब्वर २ मा देखिन्छ । बेनु श्रेष्ठ बेलउड अक्रस लिमिटेडको नामबाट कर छलि गर्दै विदेशमा पुँजी लगेकीछिन् । उनी सो कम्पनीका सञ्चालक र सेयर होल्डर हुन् । यो कम्पनी २१ अक्टोबर २००५ देखि सञ्चालमा रहेको छ । यसको कार्यालय थैबु, वडा नम्बर ७ ललितपुर रहेको छ । त्यस्तै प्रोफेशर सत्येन्द्र कुमार गुप्ताले वन्का इन्टरनेशल इन्कर्पोरेशनको नामक कम्पनी मार्फत पुँजी विदेश लगेका छन् । १ अप्रिल २००४ देखि यो कम्पनी सञ्चालमा छ् । राजेन्द्र कुमार काब्रा र रेखा काब्राले फ्रगान्स टाउन लिमिटेड नाममा पुँजी विदेश लैजादै चोरबाटोबाट लगानी गरेको पाईएको छ । यो कम्पनी ६ अप्रिल २००९ देखि सञ्चालमा आएको छ । शुक्रपथ, काठमाडौंमा यसको कार्यालय रहेको छ । रेनुका प्रधानले चुनदेवी–४, काठमाडौं ठेगानामा रेष्ट पार्क आईएनसी दर्ता गरी २३ मार्च २००७ देखि कारोबार गर्दै आएकी छिन् । यो कम्पनीले पनि कर छलि गर्न पुँजी विदेश लग्दै आएको आईसीआईजेको पनामा पेपर्स रिपोर्टमा उल्लेख गरेको छ ।

एक महिनादेखि दोलखाको सिंगटीमा के गर्दैछ पुननिर्माण प्राधिकरण ?

काठमाडौं, २५ चैत । राष्ट्रिय पुननिर्माण प्राधिकरणले फागुन ३० गते दोलखाको सिंगटीबाट नीजि आवास पुननिर्माणको काम सुरु गरेका थियो तर अझै पनि प्राधिकरण सिंगटीबाट बाहिर निस्कन सकेको छैन् । प्राधिकरणले सिंगटीलाई पाइलट प्रोजेक्टका रुपमा लिएको थियो । सिंगटी श्रोत केन्द्र अन्तर्गत पर्ने लामिडाडा र लाकुकका ६४१ भूकम्प पीडितसँग अनुदान सम्झौता गरेको छ । लामो प्रक्रिया र अंशबण्डा लगायतका समस्या देखिएपछि प्राधिकरणले पाईलट प्रोजेक्ट कस्तो भयो ? के के कमजोरी देखिए ? र कसरी अघि बढ्नु पर्ने रहेछ ? अनि किन ढिला भयो सिंगटी छिचोल्न ? प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया भन्छन्–‘सिंगटी पाइलट प्रोजेक्ट थियो, त्यहाँबाट पाठ सिकेर अघि बढ्ने योजना हो, सोही अनुसार चैत २८ गतेबाट आठ जिल्लाका आठ गाबिसमा अनुदान सम्झौता सुरु हुन्छ ।’ चार लाख ९८ हजार ५ सय ९७ घर भत्किएका थिए भने दुई लाख ५६ हजार ६ सय ९७ घर आंशिक रुपमा क्षति पुगेको थियो । हाल तीमध्ये पाँच लाख घरको सर्वेक्षण कार्य सम्पन्न भैसकेको छ । चैत २८ गतेबाट अनुदान सम्झौता भएका पीडितले बैशाखको पहिलो हप्ता भित्रै पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ पाउनेछन् । दोलखाको सिंगटीबाट सुरु गरिएको निजी आवास पुननिर्माण अभियानमा अंश बण्डाको लफडाले सताएको छ । एउटै परिवार छुट्टिएर धेरै बनेको तर अंश बण्डा गरेर कानुनी आधार कायम नगरेकाले पनि समस्या उत्पन्न गराएको छ । अर्कातिर स्थानिय निकायको अभावमा समन्वयको चरम अभाव छ । स्थानिय राजनीतिक नेतृत्वले खासै सहयोग गरिरहेको छैन् । थपलिया भन्छन–‘यो एकै पटक सम्पन्न हुने काम होइन, काम गर्दै सिक्दै जाने हो, हामी काम गरिरहेका छौं, दोलखामै हरायौं भन्ने आरोपमा तर्क छैन ।’ भूकम्प पीडितको डिजिटल तथ्यांक संकलनका लागि एक हजार ६ सय इञ्जिनियर १० १४ वटा जिल्लामा खटिएका छन् । हालसम्म ७५ प्रतिशत तथ्यांक संकलन भैसकेको पनि उनले जानकारी दिए । पहिलो किस्ता वापतको रकमले घर निर्माणको प्रक्रिया आरम्भ गरेपछि मात्रै दोश्रो किस्ताको ८० हजार प्राप्त हुनेछ । पहिलो किस्ताको रकम लिएपछि प्राधिकरणका बिशेषज्ञहरुले भवन निर्माणको अवलोकन गर्नेछन् । त्यसका लागि बिशेषज्ञ टोली समेत खटिईसकेको प्रवक्ता थपलियाले बताए ।

वैदेशिक रोजगारीमा जीवन बीमा १०० प्रतिशतले वृद्धि, कामदारको मृत्यु भएमा कम्तीमा साढे १७ लाख

काठमाडौँ, २४ चैत । वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमाको बिमाङ्क शतप्रतिशत नै वृद्धि भई रु १० लाख पुग्ने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकले यसअघि बिमाङ्क रु पाँच लाख रहेकामा त्यसलाई वृद्धि गरी रु १० लाख पु¥याउने निर्णय गरेको हो । बीमाङ्क रकम शतप्रतिशत वृद्धि भए पनि प्रिमियममा ६५ प्रतिशतमात्रै वृद्धि गर्ने निर्णय बैठकले गरेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । यस व्यवस्थालाई वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउन बीमा समितिसँग अनुरोध गरिएको बोर्डले जनाएको छ ।बोर्डले वैदेशिक रोजगारीमा बीमा गराउन बीमा अभिकर्ता आवश्यकता नपर्ने भएकाले बिमा अभिकर्ता रकम नदिने व्यवस्था गर्न बिमा नियमावली २०४९ को अनुसूची ११ संशोधनको प्रक्रिया अगाडि बढाउन बिमा समितिलाई अनुरोध गरेको छ । बैठकले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले करार अवधिभन्दा कम्तीमा छ महिना थप समय रहने गरी बीमा गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । कामदारको मृत्यु भएमा कम्तीमा साढे १७ लाख नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा बीमाबापत साढे १४ लाख रुपैयाँ, प्रवद्र्धन बोर्डले कल्याणकारी कोषबाट दिने तीन लाख गरी परिवारले कम्तीमा रु साढे १७ लाख रकम पाउने भएका हुन् । नयाँ व्यवस्थाले रोजगारीको सिलसिलामा विदेशमा कामदारको मृत्यु भएमा उसमा आश्रित परिवारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

काठमाडौं महानगरपालिकामा अख्तियारको छापा

काठमाडौं, २४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा छापा मारेको छ । केहि व्यवसायीक भवनलाई पुरानो मिति(ब्याक डेट) लेखेर निर्माण सम्पन्न गरेको प्रमाण पत्र जारीको बिषयबारे अनुसन्धान गर्न भन्दै आयोगले आइतबार छापा मारेको हो । कसरी मारियो महानगरपालिकामा छापा ? आइतबार करिब ४ बजे आयोगका चार जना कर्मचारी बागदरबारमा रहेको महानगरपालिकाको शहरी विकास विभागमा प्रवेश गरे । उनीहरुले विश्वज्योति मल, प्रभु बैंकको केन्द्रिय कार्यालय र अन्य केहि व्यवसायीक भवनलाई दिईएको निर्माण सम्पन्न प्रमाण पत्रको फाइल मागे । विभागका कर्मचारीले ‘फाइल छैन’ भन्ने जवाफ दिए । आयोगका अधिकारीहरुले फाइल नभेटिएको व्यहोराको पत्र लेख्न निर्देशन दिएर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको कार्य कक्ष रहेको भवन तिर लाग्यो । प्रमुख कार्यकारी अधिकृत तामाङको कार्यकक्षमा आयोगका अधिकृतहरुसँगै महानगरपालिकाका बरिष्ठ अधिकृत हरि कुँवर, शाखा अधिकृत सुमन अधिकारी र प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्की पनि संँगै भित्र पसे । उनीहरुबिच करिब २० मिनेट छलफल भयो । प्रमुख कार्यकारी अधिकृत तामाङसहितको महानगरपालिकाको उच्च नेतृत्वसँग छलफल गरेपछि आयोगको टोली पुनः बागदरबार फर्कियो र शहरी विकास विभागमा प्रवेश गर्यो । विभागका सबै कागजात सोही भवनमा रहेको नगरप्रहरी बस्ने १०० नम्बरको कोठामा सबै फाइल राखेर ताला लगाएर साँचो बोकेर आयोगका टोली फर्कियो । ‘आयोगले कस्तो छापा मारेको हो ? सबै कागजात कार्यालयमै चाबी लगाएर पनि अनुसन्धान हुन्छ कहीँ, आयोगले सुनपानी छर्कने प्रयास गरे जस्तो देखिन्छ ।’ आयोगका एक कर्मचारीले भने ।

४.९९% ब्याजदरमा महिन्द्राको केयुभी कार, ६ दिनमै बिक्यो एक सय वटा

काठमाडौं, २४ चैत ।भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राले नेपाल  भित्र्याएको पछिल्लो कार केभी १०० को बिक्री बढेको छ । त्यसको महत्वपुर्ण कारणका रुपमा कम्पनीले ल्याएको न्युन ब्याजदरको सुबिधा हो । महिन्द्रा मोटर्सको नेपाली आधिकारिक बिक्रेता अग्नी इन्कर्पाेरेटिडले ४ दशमलब ९९ प्रतिशत ब्याजदरमा डाउन पेपेन्टको व्यवस्था गरेपछि सो कारको बिक्रि बढेको हो । स्ट्याण्डर्ड चाटर्ड बैंकसँगको सहकार्यमा ल्याईएको योजनाले कारको बजार हिस्सा बढाउन निकै मदत गरेको कम्पनीले नै स्विकार गरेको छ । कम्पनीले न्युनतम पाँच लाख तिरेपछि सो ब्याजदरमा कार उपलब्ध गराउँछ । सो किस्ताको अवधीमा ६ बर्ष कायम गरिएको छ । ४.९९ प्रतिशतको ब्याजदर हालसम्मकै न्युनतम ब्याजदर भएको पनि कम्पनीले दावी गरेको छ । बढ्यो लोकप्रियता गत बिहिबारबाट बिक्रि खुल्ला गरिएको कार छ दिनमै एक वटा बिक्रि भैसकेको छ ।‘दैनिक १० वटा बिक्रि हुने अपेक्षा थियो तर छ दिनमै एक सय वटा बेचियो’ अग्नी इनकर्पाेरेटिडका एसिसटेन्ट मार्केटिङ अफिसर डार्बिन पोख्रेलले भने । के के छन बिशेषता ? केयुभी गाडिमा उत्कृष्ट डिजाइन, स्टाइलिस र आरामदायी इन्टेरीयर डिजाइनमा उपलब्ध छन् । यो गाडी विभिन्न पाँच रङमा उपलब्ध छन् । पर्ल ह्वाइट, एक्युमरिन, डाजलिङ सिल्भर, फ्लाम्वोयान्ट रेड, फेयरी अरेन्ज कलरमा उपलब्ध छन् । गाडीमा दुई बर्षको वारेन्टी सुबिधा समेत छ । गाडीमा यात्रा गर्ने यात्रुका लागि डुयल एयरव्याग रहित यो सेग्मेन्टमा पहिलो डुअल रियर फोग ल्याप्मस्को सुविधा राखिएको छ । एसयुभी गाडिको सेग्मेन्टमा पहिलोपटक ६ जान बस्न सक्ने गरी फ्लेक्सी ६ सिटर अप्सनको सुविधा रहेको छ । महिन्द्रा एण्ड महिन्द्राले यो गाडीको डिजाइनका लागि पाँचसय करोड रुपैयाँ भारु खर्च गरेको थियो । यो कारको डिजाइन एलजी इन्जिनियरिङले गरेको हो । उक्त गाडी १.२ डिजेल तथा पेट्रोल इन्जिनमा उपलब्ध छ । पाँच स्पीड म्यानुअल गियर रहेको यो गाडी अधिकतम ६१ किलोवाट तथा ५५ सय आरपिएम पावर क्षमताको रहेको छ । ट्युवलेस टायर रहने यो गाडी ११ सय ९८ सिसि क्षमताको रहेको छ । डिजेल र पेट्रोल दुबैमा उपलब्ध यो कार डिजेल इञ्जिन र पेट्रोल दुबैमा उपलब्ध छन् । डिजेल इञ्जिन कारको मुल्य न्युनतम ३१ लख ४५ हजारदेखि ३६ लाख ४५ हजारसम्म पर्छ । त्यस्तै पेट्रोल इञ्जिन कारको मुल्य न्युनतम २४ लाख ९५ हजारदेखि ३१ लख ९५ हजारसम्म पर्छ ।