विकासन्युज

उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता, विश्वभरि नेपाली उत्पादनको बजार विस्तार गर्ने

काठमाडौं । जापानलगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच सम्झौता भएको छ । जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन थापाबीच नेपाली उत्पादनलाई प्रवद्र्धन र प्रचारप्रसारमा विशेष भूमिका निर्वाह गर्न लिखित सम्झौता भएको उद्योग मन्त्रालयले जनाएको छ । सम्झौतापछि मन्त्री जोशीले प्रवासमा रहेका नेपालीले विदेशी सामग्रीको तुलनामा नेपाली सामग्री प्रयोगमा ल्याउन सकेमा नेपाली उद्योगको विकास तथा रोजगारीको अवसर बढ्ने बताउनुभएको उनका प्रेस सल्लाहकार प्रदीप चापागार्इंले जानकारी दिए । सम्झौतापछि एनआरएनएले विश्वभरि नेपाली उत्पादनको बजार विस्तार र उपयोगमा ल्याउन पहल गर्ने जनाएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, जापानका लागि नेपाली कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनएका उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिकका संयोजक किरणविक्रम थापासमेतको सहभागिता थियो । त्यस्तै उद्योगमन्त्री जोशी र जापानको सत्तारूढ दल लिभर डेमोक्रेटिक पार्टीका महासचिव निकाई तोसिहिरोबीच टोकियोमा भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच नेपालको औद्योगिक विकासमा जापानी सहयोग परिचालनका बारेमा छलफल भएको थियो ।

हिमालय एयरलाइन्सको याङगुन उडान शुरु, हप्ताको दुई दिन उडान भर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले म्यानमारको याङगुनमा नियमित उडान शुरु गरेको छ । म्यानमारमा बस्ने ३ लाख नेपालीलाई लक्षित गर्दै हिमालय एयरलाइन्सले याङगुन उडान सुरु गरेको हो । हिमालय एयरलाइन्सले आफ्नो चौथो गन्तव्यका रुपमा याङगुन उडान थालेको हो । जहाजले बिहान १०ः५५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान भरेर २ः१५ मिनेटमा याङगुन विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौं– याङगुन उडानले दुई देशको व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोेग पुग्ने अपेक्षा गरिएको छ । हिमालयले हप्ताको दुई दिन सोमबार र शुक्रबार उडान भर्नेछ । म्यानमारका राजदूतावासका राजदूत ल्वीन आँ, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र हिमालय एअरलाईन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ पनि म्यानमारको प्रथम उडानका यात्रुहरुसँगै सहभागी भएका थिए । विजय श्रेष्ठले भने ‘एसियाली क्षेत्रमा नेपालको बढ्दो हवाई सम्पर्कले नेपाली पर्यटन उद्योगमा टेवा पुर्याउने अभियानमा कोसेढुङ्गा थपिने अपेक्षा गरेका छौं’ उपाध्याक्ष श्रेष्ठले भने । काठमाडौं-याङगुन-काठमाडौंको शुरुवाती भाडादर सरकारी कर बाहेक २९ हजार ६ सय कायम गरिएको छ । म्यानमारका लागि युनिक एसिया ट्राभल एण्ड टुर्सलाई सेल्स एजेण्ट नियुक्त गरेको छ । नेपाली र चिनियाँ लगानी कर्ताको संयुक्त लगानीमा सञ्चालनमा रहेको कम्पनीले जेठ १८ २०७३ देखि दोहा, कतार र अक्टोबर १ देखि कोलम्बो उडान थालेको थियो । कम्पनीले चाडैँ दमाम, हङकङ, दिल्ली, अहमदावाद र चेन्नाई र दोश्रो चरणमा दुवई, बैंकक, वेइजीङ्ग, ल्हासा र चेंदगुलाई प्रत्यक्ष उडान भर्ने योजना बनाएको छ ।

हाम्रो विकास बैंकको २०० प्रतिशत हकप्रद आउँदै, धितोपत्र बोर्डमा आवेदन

काठमाडौं । हाम्रो विकाश बैंकले २०० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले सेयरधनीलाई १ बराबर २ अनुपातमा हकप्रद दिन फागुन ११ गते बोर्डमा निवदन छ । बैंकले ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार ३३८ कित्ता शेयर निष्कासन गर्न लागेको हो । बैंकले सेयर निष्कासनको काम एनआईबीएल क्यापिटल मार्केटलाई दिएको छ ।

पृथ्वीजस्ता नयाँ सात ग्रह भेटिए, ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान

लन्डन । अमेरिकी अन्तरिक्ष एजेन्सी ९नासा०का खगोलशास्त्रीले एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीजत्रै आकारका सात नयाँ ग्रह पत्ता लगाएका छन् । पृथ्वीबाट ४० प्रकाशबर्षको दुरीमा रहेका भनिएका ती ग्रह भेटिनुलाई ‘पृथ्वीबाहिर जीवनको अस्तित्व रहेको पत्ता लगाउने दिशामा महत्वपूर्ण खोज’ मानिएको छ । तीमध्ये तीनवटामा पानीको सतहसमेत पाइएकाले मानव बस्न योग्य हुनसक्ने आँकलन गरिएको छ । अनुसन्धान रिपोर्टले ‘मिल्की वे’ तारापुञ्जको ‘ट्रयापिस्ट वान’ नाम गरेको तारालाई परिक्रमा गरिरहेका ती ग्रह अमेरिकी अन्तरिक्ष निकाय नासाले दूरदर्शक यन्त्र टेलिस्कोप र पृथ्वीबाट गरिएका अवलोकन र विधिबाट पत्ता लगाएको उल्लेख छ । नागरिक दैनिकबाट । नासाका वैज्ञानिकले पत्ता लगाएका नयाँ ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान वैज्ञानिकले पृथ्वीकै जत्रो आकार भएका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरेको विभिन्न अवलोकन विधिबाट ती ग्रह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहले ‘ट्रयापिस्ट वान’ नाम गरेको सानो तारालाई परिक्रमा गरिरहेका छन्। जीवनको अस्तित्व रहेको अनुमान स् खगोलशास्त्रीले पहिलोपटक एउटा सूक्ष्म तारालाई परिक्रमा गर्ने धेरै ग्रहको समूह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहमध्ये तीनवटा बस्न योग्य क्षेत्रमा छन्, जहाँ पानीको सतह देखिएकाले जीवनको अस्तित्व रहेको अनुमान गरिएको छ । पृथ्वीबाट ती ग्रहसम्म पुग्न लाखौँ वर्ष लाग्ने वैज्ञानिकले बताएका छन् । पत्ता लागेका ग्रह पृथ्वीबाट ३९ प्रकाशवर्षको दूरीमा रहेका छन् । थप अनुसन्धानका लागि महत्वपूर्ण, पछिल्लो खोजले वायुमण्डलबाट निकै टाढा रहेको विश्वबारे थप अनुसन्धान गर्न बाटो खोलिदिएको वैज्ञानिकको विश्वास छ । त्यस्तै, वैज्ञानिकले ती ग्रहमा अक्सिजन, मिथेनलगायत ग्यास भए–नभएको विषयमा थप अध्ययन सुरु गरिसकेको बताएका छन् । ट्रयापिस्ट वान सानो र मधुरो भएकाले टेलिस्कोपबाट ती ग्रहको थप अध्ययन गर्न सहज हुने वैज्ञानिकको विश्वास छ । निकै नजिक स् पत्ता लगाइएका सातवटै नयाँ ग्रहहरू एक–अर्काबीच नजिक रहेको अनुसन्धान समूहका प्रमुख लेखक माइकल गिलोनले बताए । ‘सातैवटा ग्रहको तापक्रम मध्यम छ, त्यहाँ पानीको सतह भएको र जीवनको अस्तित्व रहेको हुन सक्छ,’ उनले भने । नयाँ ग्रहहरूमा पानी तथा जीवनको अस्तित्व नभए पनि अध्ययनका लागि भने रोचक हुने उनले बताए । ट्रयापिस्ट वान भने निकै सानो रहेको उनको भनाइ छ । अहिलेसम्म तीन हजार चार सय ४९ वटा ग्रह पत्ता लागेको नासाले जनाएको छ । महत्वपूर्ण फड्को स् नयाँ खोज महत्वपूर्ण भएको म्यासाचुसेस्ट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक सारा सिगरले बताइन् । ‘नयाँ अनुसन्धानसँगै हामीले पृथ्वीबाहिर बस्नयोग्य क्षेत्र र त्यहाँ जीवनको अस्तित्व खोज्ने दिशामा एउटा नयाँ फड्को मारेका छौँ,’ उनले भनिन् । एकैपटक धेरै ग्रह पत्ता लागेकाले अनुसन्धानका सम्भावना पनि धेरै भएको उनले बताइन् । गिलोनको समूहले सन् २०१५ देखि नै ट्रयापिस्ट वानप्रति रुचि राखेको थियो । नयाँ पत्रिका दैनिकबाट ।

नेपाली नयाँ वर्षको अवसरमा जापानमा बैशाखी मेला हुँदै, मेला चैत २६ गतेदेखि शुरु

काठमाडौ । नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिख (अर्थात् चैत २६ र २७) गते जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओका जापानमा सातौं बैशाखी मेला हुने भएको छ । फुकुओका नेपाल सोसाइटी, पर्यटन पत्रकार संघ (जाट–नेपाल) नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी दिएको हो । फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप, एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा उक्त मेला आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो । सन् २०११ देखि हुँदै आएको बैशाखी मेलाबारे जानकारी दिंदै बैशाखी मेला कार्य समिति फुकुओका जापानका संयोजक रामकृष्ण श्रेष्ठले नेपालको पर्यटनको प्रबद्र्धनमा योगदान पुर्याउने र जापानमा रहेका नेपालीहरुलाई एकै ठाउँमा जम्मा गाई भाईचारा अभिवृद्धि गराउने उदेश्यले मेला आयोजना हुँदै आएको जानकारी दिए । जापानको चौथो ठूलो सहरमा आयोजना हुने मेलाले नेपाल र नेपालीका साथै यहाँको संस्कृति, भगवान् गौत्तम बुद्धको जन्मस्थल लगायतलाई चिनाएर नेपालको पर्यटनका साथै अर्थतन्त्रमा योगदान पुर्याउने विश्वास लिएको श्रेष्ठले बताए । त्यस्तै फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष मोतीप्रसाद श्रेष्ठले मेलामा करिब चालिस स्टलमार्फत नेपाली कला संस्कृति झल्कने गरी सोहि किसिमका स्टल राखिने र नेपाली खाना लगायत नेपाली साँस्कृतिक कार्यक्रम र नेपाली पञ्चेबाजासहित फुकुओका नगर परिक्रमा गरिने जानकारी दिए । कार्यक्रममा १० हजार नेपालीहरुको सहभागीता रहने अनुमान गरिएको छ । त्यसभन्दा दोब्बर संख्यामा जापानीजहरुको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो । कार्यक्रममा सहभागी जापानीज नागरिकहरु कोताकु योसीनागा, योसीनागा शानले नेपाल प्रकृतिकरुपमा सुन्दर ,शान्त र यहाँको वातावरण उचित लागेको भन्दै नेपालसँग पर्यटकीय, आर्थिक, सामाजिक विकासमा आफुहरुले सहकार्य गर्न चाहेको र जापान पुगेर नेपालको प्रचार प्रसारमा सहयोग पुर्याउने किसिमको अभियान संचालन गर्ने बताएका थिए । कार्यक्रममा पर्यटन पत्रकार संघ (जाट-नेपाल)का अध्यक्ष देवीप्रसाद पन्तले नेपालको पर्यटन प्रबद्र्धनका भूमिका खेल्न आयोजकलाई आग्रह गरेका थिए ।

अपी पावरले १२५ मेगावाट नयाँ जलविद्युत् आयोजना अघि बढाउँदै, लगानी अभावमा रोकियो आयोजना

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले १ सय २५ मेगावाटको नयाँ जलविद्युत् आयोजना अघि बढाउने तयारी गरिरहेको छ । कम्पनीले दार्चुलाको अपर चमेलिया ४० मेगावाटको लागि अध्ययन गरिरहेको छ । त्रिशुलीको गल्छीबाट ७५ मेगावाट विद्युत् उत्पादन गर्ने परियोजना कम्पनीले अघि बढाएको छ । त्यस्तै कम्पनीले कावेली ‘बी’ वान २५ मेगावाटको काम भइरहेको छ । युवाखोला पाँचथर, अपर नौगाड, इंगुवा ताप्लेजुङ परियोजनामा काम अघि बढाइरहेको छ । उक्त परियोजनाहरूमध्ये इंगुवा र अपर नौगाडा १०/१० मेगावाटका परियोजना हुन् अपर नौगाड दार्चुला ८ मेगावाटको परियोजना हो । कम्पनीले तत्कालै परियोजना अघि बढाउन र निर्माणाधिन परियोजनाको कार्य सम्पादन रोक्न चाहेको छैन । तर, लगानी अभावका कारण नयाँ परियोजना सुरु गर्न सकिरहेको छैन । सम्झौताको तयारीमा रहेको परियोजना पनि ‘क्रेडिट क्रन्च’ का कारण रोकिएको छ भने पुराना परियोजनका लागि समेत केही समय पर्खन बैंकहरूले भनिरहेका छन् । ऋणको ब्याज भने बढाइ सकेका छन् । समय कर्जा नपाउँदा निर्माधिन आयोजनाहरू लागत बढ्ने र निर्धारित समयमा नसकिने भएको छ । नयाँ आयोजना शुरु हुन सक्ने अवस्था नभएको अपी पावर कम्पनी लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । ‘ब्याजदर बढ्दा नाफा घट्यो । ऋण नदिँदा नयाँ परियोजना अघि बढाउन सकिएन’, उनले भने, ‘त्रिशूली गल्छी ७५ मेगावाट, दार्चुलाको अपर चमेलिया ४० मेगाको परियोजना रकम अभावले सुरु गर्न सकिएको छैन ।’ ताप्लेजुङको इगुवा १०, काबेली बी वान २५, पाँचथरको युवा खोला १०, अपर नौगाड ८ मेगावाटका आयोजनामा समेत असर परेको उनले बताए । न्यौपानेले केही परियोजनाको लागि लक्ष्मी बैंकसँग सम्झौता गर्ने तयारी गरिरहेको छ । तर, बैकले सम्झौताका लागि अन्य बैंकसँग नै सम्झौता गर्न सकेको छैन । उनी त प्रतिनिधिपात्र मात्रै हुन् देश सञ्चालित साना ठूला आयोजना लगानी अभावका कारण आयोजना अघि बढाउन सकिरहेका छैनन् । उद्योगी व्यवसायीहरुलाई समयमा परियोजना निर्माण कार्य सम्पन्न गर्न नसक्दा परियोजना लागत बढ्ने बढ्ने तथा नाफा कम हुने हुने पिरलोमा परिरहेका छन् । यी त प्रतिनिधि उदाहरणमात्र हुन् । बैंकले ऋण नदिँदा र ब्याजदर बढाउँदा समग्रमा देशको विकास पछि परेको छ । हालको समस्या समाधान गर्न सरकारी रकम जुन खर्च हुन नसकेर थन्किरहेको छ त्यसलार्य उद्योगीहरूले उपयोग गर्न पाउने माग राखिरहेका छन् ।

फास्ट ट्रयाक समृद्धिः सैंबु, खोकना, बुंमति र डुकुछापका जनतालाई २ अर्ब ८० करोड

काठमाडौं । काठमाडौं र तराई जोड्ने सबै महत्वपूर्ण मार्गका रुपमा हेरिएको फास्ट ट्रयाकले मुलुकको आर्थिक विकासमा ठुलो योगदान दिने बताइँदै आएको छ । तर यो फास्ट ट्रयाकले ललितपुरको सैंबु, खोकना, बुंमति र डुकुछापका जनताको जीवनस्तर पनि माथी उठाउने देखिन्छ । फास्ट ट्रयाकको राइट अफ वेमा पर्ने जमिन र घरहरुको मुआब्जा वापत सरकारले सो क्षेत्रका बासिन्दालाई २ अर्ब ८० करोड रुपैंयाँ उपलब्ध गराउँदैछ । सो खण्डमा फास्ट ट्रयाकको ६ दशमलब ४ किलोमिटर सडक पर्छ । यस अघि नै सोही क्षेत्रका स्थानियलाई ८० करोड मुआब्जा वितरण गरिसकिएको फास्ट ट्रयाक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यले बताए । आयोजनाले ७० किलोमिटर क्षेत्रमा पर्ने काठमाडौं र मकवानपुरका स्थानियलाई एक अर्ब ५० करोड रुपैंयाँ मुआब्जा वितरण गरिसकेको छ । फास्ट ट्रयाकको मुआब्जाका लागि ४ अर्ब ७० करोड रुपैंयाँ लाग्नेछ । हालसम्म ९३ प्रतिशत जमिनको मुआब्जा बाढि सकिएको छ । सरकारले चालु आर्थिक बर्षमा यो आयोजनाका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । यो आयोजना निर्माणमा ढिलाई हुँदा बर्षेनी १४ अर्ब रुपैंयाँ बराबरको नोक्सानी हुने आयोजना प्रमुख शाक्यले बताए । आयोजनाको लागत बर्षेनी १० अर्ब वृद्धि भैरहेको छ भने ढुवानी भाडाका कारण नेपालले ४ अर्ब भन्दा बढि नोक्सानी व्यहोरिहेको छ । नेपाली सेनाले ९४ करोड ४४ लाख ५४ हजार खर्चेर ११० किलोमिटर सडकको ट्रयाक खोलेको थियो । सन २०१५ सालमा एसियाली विकास बैंकले ९६ अर्ब लागत अनुमान गरेको आयोजनाको डिपिआर रिपोर्टमा ११२ अर्ब लागत हुने बताइएको छ ।

पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा

काठमाडौं । सरकारले पूर्वराष्ट्रपतिलाई घरभाडाबापत मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित व्यवस्थापिका–संसद्मा विधेयक दर्ता गरेको छ। पूर्वपदाधिकारीको सेवा, सुविधा बढाउने विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक घरभाडा २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको हो। यस्तै, पूर्वउपराष्ट्रपतिलाई ७५ हजार रुपैयाँ उपलब्ध गराउने विधेयकमा उल्लेख छ। संसद्मा दुईपटक आएको यस विधेयकको व्यापक विरोध भएपछि गृह मन्त्रालयमा फर्काइएको थियो। सरकारले पूर्वपदाधिकारीको सेवा सुविधा ह्वात्तै बढाउने विधेयक ल्याए पनि निर्वाचनका लागि अति आवश्यक विधेयक भने ल्याएको छैन। संविधान कार्यान्वयनका लागि प्रतिनिधिसभा निर्वाचन विधेयक, निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी विधेयक, राष्ट्रियसभा निर्वाचन विधेयक र प्रदेशसभा निर्वाचन विधेयक संसद्मा अझै ल्याइएको छैन। पूर्वपदाधिकारीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद् अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभा वा व्यवस्थापिका–संसद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संविधानसभाका अध्यक्ष छन्। नेपाल सरकारले प्रत्येक महिना विधेयकमा पूर्वराष्ट्रपतिलाई ५० हजार रुपैयाँ र पूर्वउपराष्ट्रपतिलाई ४० हजार रुपैयाँ मासिक वृत्ति उपलब्ध गराउने उल्लेख छ। पूर्वराष्ट्रपतिलाई मासिक २ लाख रुपैयाँ र अन्य पूर्वपदाधिकारीलाई मासिक ७५ हजार रुपैयाँ घरभाडाबापत उपलब्ध गराउने भए पनि काठमाडौंमा घर भएमा भने त्यसको ५० प्रतिशत मात्र उपलब्ध गराइने व्यवस्था गरिएको छ। काठमाडौं उपत्यकामा घर हुने पूर्वपदाधिकारीलाई माथि उल्लेख गरिएको रकमको आधा रकम मात्रै उपलब्ध गराइने व्यवस्था गरिएको छ। पूर्वपदाधिकारीलाई एउटा सरकारी सवारी साधन उपलब्ध गराउने व्यवस्था गरिएको छ। सर्वोच्च अदालतले ‘पूर्वपदाधिकारीलाई दिइने सुविधा कानुन बनाएर मात्र दिनू’ भन्ने आदेश दिएपछि सरकारले यस्तो विधेयक ल्याएको हो। सवारीसाधनका लागि पूर्वराष्ट्रपतिलाई मन्त्रीसरह र अन्य पूर्वपदाधिकारीलाई राज्यमन्त्रीसरह इन्धन उपलब्ध गराउने व्यवस्था गरिएको छ। पूर्वराष्ट्रपतिले उपसचिवस्तरको एकजना सवारीचालक, एकजना र कार्यालय सहयोगी एकजनासमेत गरी तीनजना कर्मचारी पाउने व्यवस्था गरिएको छ। पूर्वराष्ट्रपतिबाहेक अन्य पूर्वपदाधिकारीले शाखा अधिकृत एकजना र सवारीचालक एकजना राख्न पाउनेछन्। पूर्वपदाधिकारीलाई सरकारी कोषबाट पारिश्रमिक पाउने गरी निर्वाचित, मनोनीत वा नियुक्त भई सार्वजनिक पदमा बहाल रहेसम्म, महाअभियोगको प्रस्ताव पारित भई पदबाट मुक्त भएमा, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिए सुविधा प्राप्त नहुने व्यवस्था गरिएको छ। नेपाल सरकारले पूर्वपदाधिकारीको सुरक्षा खतराको मूल्यांकन गरी आवश्यक सुरक्षा उपलब्ध गराउने व्यवस्था पनि विधेयकमा गरिएको छ। राजधानी दैनिकबाट ।