विकासन्युज

राजधानीमा ‘नेपाल लगानी सम्मेलन’ हुँदै, वैदेशिक लगानी भित्र्याउन सहयोग

काठमाडौं । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा बिहीबारदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने आयोजक उद्योग मन्त्रालयले जनाएको छ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका साथ यही फागुन १९ र २० गते काठमाडौँमा हुने उक्त सम्मेलनको तयारी पूरा भएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा हुने सो सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयासका बारेमा समेत जानकारी गराइने उनले बताए । सम्मेलनमा लगानीकर्ताका लागि विशेष सूचना कक्ष, लगानीकर्ताबीच आपसी बैठक, सरकार र लगानीकर्ताबीच बैठकको समेत व्यवस्था गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने सो सम्मेलनमा प्रमुख वक्ताका रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्विनको सहभागिता रहने मन्त्रालयले जनाएको छ । सम्मेलनमा विदेशी लगानीकर्ता, विज्ञ तथा स्वदेशी राजनीतिक दलका प्रमुख तथा नेता, मन्त्रीगण, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका वरिष्ठ अधिकारी, सरकारी उच्च अधिकारी, व्यावसायिक नेतृत्व, विज्ञ वक्ता तथा समूह छलफलमा सहभागी हुने कार्यक्रम छ । सहभागिताका लागि भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानाडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका झन्डै २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले प्रतिबद्धता जनाएको मन्त्री जोशीले जानकारी दिए । सम्मेलनमा सबैभन्दा बढी चीनबाट ८९ ख्याती प्राप्त कम्पनीका प्रतिनिधिको सहभागिता हुने सुनिश्चित भएको छ । भारतबाट २१, श्रीलङ्काबाट २०, मलेसियाबाट १४, जापानबाट १३, क्यानाडाबाट १२, हङ्कङबाट १०, बेलायत, दक्षिण कोरिया र भियतनामबाट आठ/आठ, रुसबाट सात र संयुक्तराज्य अमेरिकाबाट छवटा कम्पनीका प्रतिनिधिको सहभागिता हुने तय भएको उद्योग मन्त्रालयले जनाएको छ । त्यसैगरी करिब ३०० स्वदेशी लगानीकर्ता, नीतिनिर्माता तथा विज्ञ पनि सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा करिब रु एक खर्बको लगानी विभिन्न क्षेत्रमा प्रतिबद्धता हुने मन्त्रालयको अनुमान छ । सम्मेलनमा गरिएका प्रतिबद्धता र निर्णयको प्रभावकारी कार्यान्वयन गराउने उद्देश्यले नीतिगत सुधार समिति, परियोजना बैंक परिमार्जन समिति, औद्योगिक प्रवद्र्धन समिति तथा समग्र समन्वय समिति गठन गरिने मन्त्रालयले जनाएको छ । रासस

जनता बैंकले शुरु गर्यो चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड

काठमाडौं । जनता बैंकले बुधबारदेखि चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । कार्ड सम्बन्धि कारोवारलाई अझ सुरक्षित बनाउँदै कार्डबाट हुने कारोवारको जोखिम न्यूनिकरण गर्ने उद्येश्य बमोजिम चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । पारम्परिक म्याग्नेटिक स्ट्राइप प्रविधिका कार्डहरुभन्दा चिप प्रविधिका कार्डहरु बढी सुरक्षित मानिन्छन् । आफ्ना ग्राहकहरुसँग रहेका म्याग्नेटिक स्ट्राइप प्रविधिका कार्डहरुलाई क्रमशःप्रतिस्थापन गर्ने बैंकको योजना रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शान्ति र सम्मृद्धिका लागि एसिया भ्रमणमा युवा, भ्रमण फागुन २४ गतेबाट शुरु हुने

काठमाडौं । संयुक्त युवा संगठनले शान्ति र सम्मृद्धिका लागि युवाहरुलाई एसिया भ्रमणमा लैजाने भएको छ । पर्यटन प्रबद्र्धनसमेत गरिने यो भ्रमणमा १३ जना युवा सहभागी हुने छन् । ती युवाले मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेशिया र कम्बोडियाको भ्रमण गर्नेछन् । युवा टोलीको नेतृत्व संगठनका अध्यक्ष दिबाकरबाबु भट्टराईले गर्ने भएका छन् । नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), स्कलर प्लानेट, बोन ट्राभल्स एन्ड टुर्स, युथ युनेस्को क्लब, पाथीभरा देवी ट्राभल्स एण्ड कार्गो, खुशी कन्सल्टेन्सी र ग्यास्ट्रो पबले यो भ्रमणलाई सहयोग गरेका छन् । भ्रमणमा जानेहरुमा संगठनका अध्यक्ष दिबाकरबाबु भट्टराई, बिनोद कुमार सिंह, गणेश मल्ल ठकुरी, सचिन अधिकारी, बिनोद पुन, अल्जिना राउत, रिता श्रेष्ठ, शुकबहादुर दमाई, ललित नेपाली, सपना सिमल, दिनेशकुमार लो, सम्झना परियार, अस्मिता लामिछाने, उमेशकुमार श्रेष्ठ छन् । यही फागुन २४ गतेबाट शुरु हुने यो १४ दिने यो भ्रमण मलेसियाबाट शुरु भएर चैत ८ गते थाइल्यान्डमा पुगेर सकिने संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए । भ्रमणका क्रममा युवाहरुलाई सम्बन्धित देशका विश्वविद्यालयका पदाधिकारी, त्यहाँका युवा तथा गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायत छलफल र विचार आदानप्रदानको व्यवस्था मिलाइएको छ । संगठनले यसअघि पनि पर्यटन प्रबद्र्धनका लागि ७ देशको भ्रमण गराइसकेको महासचिव महेश पाण्डेले बताए ।

सिटिजन्स बैंकद्वारा बर्दियाको विद्यालयलाई कप्युटर सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको गुलरियामा श्री जानकी प्राथमिक विद्यालयलाई १ थान कप्युटर वितरण गरेको छ । बैंकले नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक सहयोग स्वरुप १ थान कप्युटर वितरण वितरण गरेको हो । बुधबार गुलरियामा आयोजित एक समारोहकाबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त विद्यालयका अध्यक्ष रामचन्द्र यादव र प्रधानध्यापक मुन्नालाल यादवलाई हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पुर्याउदै आएको बताएका छन् । साथै, भविष्यमा पनि बैंकले यस्तै सहयोग पुर्याउने जानकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले दिएका छन् ।

पशुपति पेन्ट्सद्वारा महापर्वको रङ्गोत्सव योजनाको विजेता घोषणा

काठमाडौं । पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा आयोजना गरेको ‘पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव’ योजनाको विजेताको घोषणा गरेको छ । कम्पनीले बबरमहल स्थित एक कार्यक्रमको आयोजना गरी विजेताको छनोट गरिएको हो । विजेता छनोटका लागि आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक महेश कुमार मुरारकाद्वारा योजनाका सम्पूर्ण विजेतालाई सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै बधाई दिएका थिए । भाद्र १५ देखि मंसिरको अन्तिम सम्म आयोजित उक्त योजनामा सान्त्वना पुरस्कारका रुपमा १६ जनालाई १० तोला चाँदी । छैथौँ पुरस्कारका रुपमा ८ जनालाई ५ ग्राम सुन, पाँचौ पुरस्कारका रुपमा ८ जनालाई स्मार्टफोन, चौथौँ पुरस्कारका रुपमा चार जनालाई २ सय २० लिटरको फ्रिज र तेस्रो पुरस्कारका रुपमा चार जनालाई वासिङ मेसिनको ब्यवस्था गरिएको थियो । त्यसैगरी दोस्रो पुरस्कार विजेताले ४२ ईञ्चको स्मार्ट टेलिभिजन हातपार्ने जानकारी कार्यक्रम मार्फत दिइयो । उपहार योजनाको बम्पर उपहारका रुपमा  ३ सय ५० सीसीको रोयल एन्फिल्ड मोटरसाइकल १ जनालाई प्रदान गरिने बताइएको छ ।

सनराइज बैंकको नयाँ एटिएम बिर्तामोडको नँया बसपार्कमा

विर्तामोड । सनराइज बैंक लिमिटेडले विर्तामाडको नँया बसपार्क स्थित एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका छन् । हाल सनराइज बैंकले ६८ वटा शाखा, ७४ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ् सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्गको कार्य गर्नका लागि बैकंको सहायक कम्पनी एन.सि.एम.मर्चेन्ट बैकिङ्ग लि. रहेको छ ।

नेप्से १७ अंकले वृद्धि, ३२ करोडको सेयर कारोबार, फाइनान्स बाहेक सबै समूह उकालो

काठमाडौं । लगातार ओरालो लागेको बजारमा बुधबार भने केही सुधार आएको छ । बुधबार नेप्से परिसूचक १७ दशमलब ५१ अंकले बढेर १३१६ अंकमा पुगेको छ । करिब एक साता पछि सेयर बजारमा हरियाली छाएको छ । बजारमा ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबारको सेयर कारोबार करिब २२ करोड रुपैयाँले घटि हो । बुधबार १३५ कम्पनीको ६ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन कुमारी बैंक र नेपाल बंगलादेश बैंकको क्रमशः ३ करोड ९४ लाख र ३ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार फाइनान्स समूहको परिसूचक बाहेक करोबार भएका बाँकी सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २१४ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, होटल, विकास बैंक र बैंकिङ् समूहको परिसूचक ३०, २६, १५ र १३ अंकले उकालो लागेका छन् ।

साउनदेखि १० लाख भन्दा बढी नगद कारोबार गर्न नपाइने

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि १० लाख भन्दा बढि नगद कारोबारमा रोक लगाउने भएको छ । अर्थ सचिव शान्तराज सुवेदीले १० लाख भन्दा बढी नगद कारोबार गर्न नपाइने निर्णय मन्त्रिपरिषदले गरिसकेको र आगामी आर्थिक वर्षदेखि लागू हुने जानकारी दिए । ‘नगद कारोबारमा १० लाखको सीमा सम्बन्धि निर्णय मन्त्रिपरिषदले गरिसकेको छ, केहि दिनभित्रै राजपत्रमा सूचना प्रकाशित हुनेछ’, अर्थसचिव सुवेदीले विकासन्युजसँग भने । सम्पति सुद्धिकरण निवारण ऐन २०६४ ले निश्चित थ्रेसहोल्ड भन्दा माथिको नगद कारोबारमा रोक लगाउन सकिने व्यवस्था गरेको छ । सो ऐनमा सरकारले राष्ट्र बैंकको परामर्शमा तोकिएको मूल्य वा सो भन्दा बढीको सेवा तथा बस्तु खरिद एंव बिक्रीका कारोबारहरु वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत मात्र गर्नुपर्ने व्यवस्था गर्न सकिने उल्लेख गरेको छ । सरकारले ऐन आएको ९ बर्षपछि त्यसको कार्यान्वयन गर्न लागेको हो । साउन १ गतेपछि १० लाख भन्दा बढीको कारोबार बैंकिङ च्यानलबाट मात्रै गर्नुपर्नेछ । हाल ३० लाख भन्दा बढीको कारोबार बैंकिङ च्यानलबाट मात्रै गर्नुपर्ने व्यवस्था रहेको छ । १० लाख भन्दा बढीको कारोबारमा भने स्राेत खुलाउनु पर्ने व्यवस्था रहेको छ । ‘अहिले ३० लाख बढि रकमको कारोबारमा बैंकिङ च्यानल अनिवार्य गरेका छौं, अब १० लाख तोकियो भने त्यसले सम्पति सुद्धिकरणमा सघाउ पुर्याउँछ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने । उनले नगद कारोबारमा सिमा तोकिएको निर्णय सम्बन्धी सर्कुलर भने अझै राष्ट्र बैंकले नपाएको बताए । ४० प्रतिशत जनताको मात्रै वित्तीय  पहुँच पुगेको केन्द्रीय बैंकको तथ्यांक छ । वित्तीय पहुँच नपुगेकाे क्षेत्रमा नगदकाे काराेबार गर्नुकाे विकल्प हुँदैन ।