भृकुटिमण्डपमा भोलिदेखि दोस्रो राष्ट्रिय मह मेला शुरु, करिब २० वटा स्टल राखिने
काठमाडौ । कृषि विभाग अन्तर्गतको व्यवसायिक कीट विकास निर्देशनालयको आयोजनामा आगामी असार १६ गतेदेखि राजधानीको भृकुटिमण्डपमा दोस्रो राष्ट्रिय मह मेला सञ्चालन हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्देशनालयले आगामी असार २६ गतेदेखि २९ गतेसम्म मह मेला सञ्चालन गर्ने भएको छ । ‘आर्थिक समृद्धिका लागि व्यवसायिक मौरी पालन’ भन्ने मूल नाराका साथ व्यवसायिक मौरी पालनमा लागेका कृषकहरुलाई उत्साहित गर्न तथा नेपाली महको विकास एवं प्रवद्र्धन गर्न दोस्रो मह मेला आयोजना गर्न लागिएको व्यवसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरिहर अधिकारीले बताए । पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम निर्देशक अधिकारीले नेपाली महको प्रवद्र्धन गर्नका लागि बैशाखमा नै मह मेला आयोजना गर्ने भनिए पनि राष्ट्रिय राजनीति तथा स्थानीय तहको निर्वाचनका कारण असारमा गर्न लागिएको जानकारी दिए । अधिकारीले पत्रकारहरु मार्फत सम्पूर्ण नागरिकहरुलाई मह बारे जानकारी लिन मह मेला अवलोकन गर्न आग्रह समेत समेत गरे । पत्रकार सम्मेलनमा बोल्दै मौरी व्यवसायी संघका अध्यक्ष जगदिशभक्त श्रेष्ठले सर्वसाधारणमा मौरी र महबारे चेतना कमी रहेको बताए । मौरीले टोक्दा समेत एचआईभीको संक्रमण हट्ने भन्दै अध्यक्ष श्रेष्ठले मौरी र महको धेरै महत्व रहेको बताए । ‘नेपालमा १० हजार मेट्रिकटनसम्म मह उत्पादन गर्न सक्ने क्षमता भएकाले मह उत्पादन गरेर बाहिरी मुलुकमा निर्यात गर्नुपर्ने बताए । यसैगरी मौरि विज्ञ अनि रुद्रनाथ शुक्ललाले मौरीको महको स्टाण्डर्डको र गुणस्तरबारे जानकारी दिए । मौरीको मह सबै एकै किसिमको नहुने भन्दै मौरीको महबारे सबैले बुझ्नु आवश्यक रहेको शुक्लाले बताए । कार्यक्रममा बोल्दै मौरी विज्ञ शुक्लाले जथाभावी बिक्रि वितरण गर्न राखिएको मह गुणस्तरहिन र मिसावट गरिएको हुने भन्दै त्यस्तो मह खरिद नगर्न आग्रह गरे । असार २६ गतेदेखि ४ दिनसम्म चल्ने मह मेलामा व्यवसायिक मौरीपालन, महको महत्व तथा फाइदाका बारेमा जानकारी गराईने आयोजकले जनाएको छ । त्यसबाहेक मेलामा विभिन्न क्षेत्रका कृषक एवं व्यवसायीहरुले उत्पादन गरेका महका स्वाद सेवन गर्नुका साथै सुलभ दरमा महको बिक्री वितरण हुन बताइएको छ । आयोजकका अनुसार प्रत्येक दिन बिहान १० बजेबाट साझ ५ बजेसम्म अवलोकन गर्न सकिने उक्त मेलामा करिब २० वटा स्टल रहने बताइएको छ ।
भिबोर सोसाइटीमा लुम्बिनी फाइनान्स गाभियो, लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार शुरु
काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.मा लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लि. गाभिएको छ । आइतबार उक्त फाइनान्स भिबोर सोसाइटी डेभलपमेन्टमा गाभिई लुम्बिनी विकास बैंक लि.को नामबाट एकिकृत कारोवार शुरु गरेको छ । दुई बैंक गाभिए पश्चात बनेको नयाँ विकास बैंकको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले आइतबार एक कार्यक्रम बीच गरेका हुन् । उक्त विकास बैंकको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान डिल्लीबजारमा रहेको छ । विकास बैंकको संचालक समिति हाल ६ सदस्यको रहेको छ भने समितिको अध्यक्षमा सुशिल राज पराजुली रहेका छन् । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले सम्हालेका छन् । गाभिए पश्चात बनेको बैंकको चुक्ता पुँजी २ अर्ब ८८ लाख रुपैयाँ पुगेको छ । मर्ज सम्पन्न भएलगत्तै चुक्ता पूँजीको १० प्रतिशतका दरले हकप्रद शेयर जारी गरि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको चुक्ता पूँजी पुर्याइने छ । यसैगरी गाभिए पश्चात संस्थाको कुल निक्षेप १७ अर्ब, कर्जा १५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको ४९ वटा शाखा संजाल तथा १२ वटा आफ्नै एटिएमबाट २१ जिल्लामा बैंकिङ्ग सेवा सुविधा उपलव्ध हुनेछ । दुवै संस्था एक आपसमा गाभिए पश्चात थप सवल एवँ सुदृढ संस्थाको रुपमा वित्तीय बजारमा आएको लुम्बिनी विकास बैंकले ग्राहकहरुको सुबिधाको लागि आफ्नो शाखा सन्जाल प्रयोग गरि थप सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न कटिवद्ध रहेको छ । देशभर छरिएर रहेको पूँजीलाई उत्पादनशिल क्षेत्रमा लगाई समग्र देशको आर्थिक प्रगतिको लागि योगदान पुर्याउदैं वित्तीय पहुँच नपुगेका ग्रामिण क्षेत्रमा थप शाखाहरु बिस्तार गर्ने नीति विकास बैंकको रहेको छ ।
ऋणिलाई रूवायो मौद्रिक नीतिले, निक्षेप र कर्जाको व्याज अझै बढ्ने अनुमान
काठमाडौं । ‘मौद्रिक नीति निकै निराशा जनक छ । एक वर्षमा कर्जाको व्याजदर १०० प्रतिशतले बढिसक्यो । यति ठूलो समस्यालाई समाधान गर्न मौद्रिक नीतिमा कुनै नयाँ नीति आएन’ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीति सुनेपछि सञ्चारकर्मीसँग व्यक्त गर्दै भने–‘मलाई लाग्छ आज राती धेरै उद्योगी व्यवसायीलाई निद्रा लाग्दैन ।’ ‘एक वर्षअघि ६/७ प्रतिशतमा लिएको कर्जाको व्याज अहिले १३/१४ प्रतिशत पुगेको छ । नयाँ कर्जा लिन गयो भने बैंकले १५÷१६ प्रतिशत भन्छन्’ गोल्छाले भने–‘यो अवस्थामा कसैले पनि बैंकबाट कर्जा लिएर लगानी विस्तार गर्न सक्दैनन् । निजी क्षेत्रले लगानी विस्तार गर्न नसक्दा आगामी आर्थिक वर्ष ७.२ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पनि पुरा हुन सक्दैन।’ ‘सीडी रेसियो ८५ प्रतिशत बनाउन, सीआरआर घटाउने, स्प्रेडदर घटाउन, नेपाली बैंकमा भन्दा सस्तो व्याजदरमा ऋण पाए विदेशी बैंकबाट कर्जा लिन पाउने व्यवस्था गर्न उद्योग वाणिज्य महासंघले माग गरेको थियो । हाम्रा माग र सुझाव कुनै पनि सुनुवाई भएन’ गोल्छाले भने । निक्षेप र कर्जा दुबैको व्याज बढ्ने मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । ‘तरलता संकट समाधान गर्नतर्फ मौद्रिक नीति मौन छ । सीडी रेसियो हिसाव गर्दा उत्पादनमुलक क्षेत्रमा गएको लगानीको कर्जाको ५० प्रतिशत घटाउन पाउने नीति पनि असोजदेखि समाप्त हुने भयो । अब बैंकको व्याज झन बढ्छ’ उनले भने । कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ४५ प्रतिशत हुनुपर्ने सीमाले सर्वसाधारणतर्फको निक्षेपको व्याज थप वृद्धि हुने शाहको विश्लेषण छ । वित्तीय क्षेत्रले गत ६/७ महिनादेखि भोगिरहेको तरलता संकट समाधानतर्फ मौद्रिक नीति मौन बस्नुले वित्तीय क्षेत्रमा नैराश्यता आएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । निक्षेप बढाउन फेरी पनि बैंकहरुले व्याज बढाउन वाध्य हुने उनको तर्क छ ।
सेञ्चुरी बैंकको थप शाखा रहित बैकिङ्ग सेवा सर्लाहीमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्लाहीको गैरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । बैंकले ग्राहकहरुलाई थप सेवा पुर्याउने उद्देश्यले सो स्थानमा नयाँ शाखाको सञ्चालन गरेको हो । बैंकले यसअघि भोजपुर, कैलाली, मोरंङ, खोटाङ्ग, रौतहट, कंचनपुर, बर्दिया र धनकुटा जिल्लाको विभिन्न १४ स्थानबाट शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको छ । हाल बैंकले ५३ वटा शाखा, ३४ वटा ए.टी.एम्, १५ वटा शाखारहित बैंकिङ्ग र ५ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । निकट भविष्यमा सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्सको प्राप्ती पश्चात् सेञ्चुरी बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा भई बैंकको सेवा अझ बढी विस्तार हुने बैंकले जनाएको छ ।
मौद्रिक नीतिबारे के भन्छन् बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सिइओ ?
काठमाडौं । बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले नयाँ मौद्रिक नीतिबारे मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्ना केहि माग पुरा भएको र केहि माग पुरा नभएको बताउँदै मौद्रिक नीतिलाई औषत बताएका हुन् । ज्ञानेन्द्र ढुंगाना, सिइओ-नेपाल बंगलादेश बैंक हामीले मागेका केहि कुरा मौद्रिक नीतिमा समेटिएका छन् भने केहि समेटिएका छैनन् । लगानी योग्य पुँजीको चरम अभावको अवस्था छ, त्यसको समाधानका लागि/तरलता समाधानका लागि केहि कुरा आएको छ । संघियताका कार्यन्वयनका लागि शाखा विस्तारका योजना आएको छ । मेरो पहिलो नजरमा मौद्रिक नीति सकारात्मक नै आएको छ । महेश ढकाल, सिइओ-टुरिजम डेभलपमेन्ट बैंक नयाँ मौद्रिक नीतिले ब्याजदर कम गर्ने कुरा औजार ल्याएन् । बजारमा ब्याजदर अनावश्यक रुपमा बढेर गएको छ । त्यसलाई रोक्न मौद्रिक नीतिले केहि न केहि ल्याउँछ भन्ने हामीले आसा गरेका थियौं । तर त्यस्तो कुनै प्याकेज आएन् । मौद्रिक नीतिपछि पनि ब्याजद घट्ने कुनै सम्भावना अब मैले चाँही देखेको छैन् । मौद्रिक नीतिका सकारात्मक पाटो भनेको संघियता कार्यान्वयनमा जाने योजना हो । बैंकहरुलाई ग्रामिण क्षेत्रमा पठाएर जनतामा वित्तिय पहुँच विस्तार गर्ने कुरा ठिक छ । मौद्रिक नीतिले धेरै कुरा सर्कुलरबाट ल्याउने भनेको छ । त्यसकारण अहिले नै धेरै कुरा स्पष्टसँग आएको छैन् । सरोज काजी तुलाधार, सिइओ-गुडविल फाइनान्स यो मौद्रिक नीति अघिल्लो मौद्रिक नीतिको मध्यावधी समिक्षा भन्दा खास अर्थमा फरक देखिएन् । यद्यपी यसले केहि वर्तमान मुद्धाको सम्बोधन भने गरेको छ । मार्जिन ल्याण्डिंगमा ४० प्रतिशत कायम भएको छ । यसले सेयर बजारमा नकारात्मक सन्देश गएको भएपनि यो यसले सेयर कर्जाको लिमिट भने बढाउँछ । बैंकको पुँजी २ अर्ब हुँदा सेयरमा २ अर्बसम्म कर्जा दिन पाउँथे । अहिले पनि बैंकको पुँजी २ अर्ब मात्रै थियो भने ८० करोड मात्रै कर्जा लगानी गर्न पाउँथे । तर बैंकहरुको पुँजी ८ अर्ब पुगेको छ । त्यसरकारले अब बैंकले ३ अर्ब २० करोड सेयरमा कर्जा दिन पाउँछन् । जुन पहिलेको भन्दा अझै धेरै हुन आउँछ । अर्काे कुरा काठमाडौं उपत्यका भित्र रियल स्टेट लोन घटाइएको छ । उपत्यका भित्र नभएर जमिनको मुल्य उपत्यका बाहिर बढेको हो, त्यसकारण उपत्यका भित्र रियल स्टेट लोन घटाउने कुरा त्यति उचित लागेन् । अर्काे कुरा तरलता समाधानका लागि केहि प्रयास भएका छन् । जस्तो पुन कर्जाको कोषको आकार बढेकाले पनि तरलता व्यवस्थापन केहि सहज होला । राष्ट्रिय स्तरका फाइनान्स कम्पनीलाई बासेल ३ मा लैजाने भनेको छ । हामी भर्खरै बासेल २ मा गएका छौं । अहिले नै बासेल ३ मा जाने कुरा त्यति ठिक भएन । फाइनान्स कम्पनीलाई बासेल ३ मा जान एक साल समय थपिदनुपर्छ ।
आइतबारको सेयर बजारमा उतारचढाव, एकैदिन एक अर्ब १२ करोडको सेयर कारोबार
काठमाडौं । नयाँ मौद्रिक नीति सार्वजनिक भएको आइतबारको सेयर बजारमा उतारचढाव आएको छ । दिनभर उतारचढाव भएको बजारमा कारोबार बन्द हुँदा नेप्से सामान्य अंकले उकालो लागेको छ । आइतबार मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघिको बजार निरन्तर उकालो लागिरहेको थियो । त्यसपछि मौद्रिक नीति सार्वजनिक भएपछि १६०५ अंकमा रहेको परिसूचक एक्कासी घटेर १५६२ अंकमा झरेको थियो । त्यस्तै, कारोबार बन्द हुँदा भने नेप्से २ दशमलब ०४ अंकले बढेर १५८४ अंकमा पुगेको छ । सामान्य अंकले बढेको सेयर बजारमा एक अर्ब १२ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबार(बिहीबार)को तुलनामा ३९ करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बिहीबार बजारमा ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१७८ रुपैयाँ रहेको छ । आइतबार दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशत र सेन्ट्रल फाइनान्स कम्पनीको ९.८८ प्रतिशतले सेयर मूल्य बढेको छ । समग्रमा, आर्थिक वर्ष २०७४/७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ ।
सेयर कर्जाप्रति उदार र स्पष्ट मौद्रिक नीति, सेयर कर्जा २७५ प्रतिशत बढाउन मिल्ने सुविधा
काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ । सेयर कर्जाबारे वर्षौदेखिको अन्यौलतालाई नयाँ मौद्रिक नीतिले हटाएको छ । कुन बैंकले कति सेयर लगानी गर्न पाउने र कुन कम्पनीको सेयर धितोमा कतिसम्म कर्जा लगानी गर्न पाउने भन्ने विषयमा मौद्रिक नीतिले स्पष्ट पारेको छ । नयाँ मौद्रिक नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले सेयर पुँजी (प्राथमिक पुँजी)को ४० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भएका छन् । यस आधारमा सेयर कर्जा २७५ प्रतिशतसम्मले हुन सक्ने बैंकर्सहरुले बताएका छन् । बैंकहरुको चुक्ता पुँजी ८ अर्ब भईसकेको अवस्थामा ४० प्रतिशत रकम सेयर कर्जामा प्रवाह गर्न पाउने व्यवस्था पुँजी बजारको लागि निकै उदार भएको गभर्नर डा चिरञ्जीवि नेपालले बताए । ‘२ अर्बको बैंक हुँदा यहि नीति अनुसार ८० करोड रुपैयाँ मात्र सेयर कर्जा प्रवाह हुन सक्थ्यो । ८ अर्बको पुँजी भएको बैंकले ३२० करोड रुपैयाँ सेयर कर्जामा लगानी गर्न पाउँछ’ विकासन्युजसँग कुरा गर्दै गभर्नर नेपालले भने । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि हुँदै जाँदा सेयर बजारमा प्रवाह हुने कर्जा पनि विस्तार हुँदै जाने उनले बताए । नयाँ नीतिका आधारमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २० अर्ब रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जामा लगानी गर्न सक्ने बैंकर्स अनलराज भट्टराईले बताए । ‘हाल बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जामा करिव ३२ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन् । अब १२० अर्ब रुपैयाँसम्म लगानी गर्न सक्ने बाटो खुला भएको छ ।’ त्यस्तै एउटै कम्पनीको सेयर धितोमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको १० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । चुक्ता पुँजी ८ अर्ब भएको कुनै एक बैंकले नेप्सेमा सूचिकृत कुनै पनि एक कम्पनीको सेयर धितोमा ८० करोड रुपैयाँसम्म कर्जा लगानी गर्न पाउने भएको छन् । ‘पहिला सेयरमा बढी कर्जा प्रवाह भयो मात्र भनिन्थ्यो । तर स्पष्ट मापदण्ड थिएन । अहिले स्पष्ट मापदण्ड आयो’ भट्टराईले भने । मौद्रिक नीतिले सेयर कर्जा प्रवाहको लागि प्रशस्त ठाउँ खुला गरिए पनि बैंकहरु लगानी गर्ने अवस्थामा नभएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बताए । ‘मौद्रिक नीतिले कर्जा प्रवाह गर्न तरलता उपलब्ध गराएको छैन, उत्पादनमुलक क्षेत्रमा अनिवार्य लगानीको सीमा वृद्धि गरिएको छ । यस अवस्थामा सेयर कर्जामा बैंकहरुले लगानी गर्न सक्दैनन्’ शाहले भने ।
दुर्गमका स्थानीय तहमा जाने बैंकलाई एक बर्ष-एक करोड सित्तैमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामिण क्षेत्रमा जाने बैंकका शाखाहरुलाई एक बर्षसम्म एक करोड रुपैंयाँ बिना ब्याज उपलब्ध गराउने भएको छ । केन्द्रिय बैंकले नयाँ मौद्रिक नीति मार्फत दुर्गमका स्थानीय तहमा जाने बैंकलाई एक बर्षसम्म ब्याज बिनै एक करोड रुपैंयाँ उपलब्ध गराउने भएको हो । बैंकको शाखा विस्तार नभएका स्थानीय तहमा केन्द्रिय बैंकले अनिवार्य रुपमा शाखा विस्तार गर्न निर्देशन दिने पनि जनाएको छ । त्यस्तै, ग्रामिण क्षेत्रमा शाखा खोलेर २ हजार ५ सय जनाको नयाँ खाता खोल्ने बैंकको शाखालाई पनि एक बर्षसम्म ब्याज नलिई एक करोड रुपैंयाँ उपलब्ध गराउने नीति लिएको हो । यसले सबै नेपालीको बैंक खाता खोल्ने अभियान र वित्तिय पहुँचमा सहयोग पुग्ने अपेक्षा केन्द्रिय बैंकले गरेको छ ।