वार्षिक ५० हजार विद्यार्थी बिदेशतिर, अध्ययनकै नाममा हजारौ युवशक्ति पलायन
काठमाडौं । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका छन्। अध्ययनका लागि भिषा आवेदन गर्दा आर्थिक वर्ष २०७३/ ७४ मा मात्र डेढ अर्ब रुपैयाँ बिदेशिएको छ। गत वर्ष ३२ हजार ४८९ नेपाली बिद्यार्थीले बैदेशिक अध्ययनका लागि आवेदन दिएकोमा यस वर्ष त्यस भन्दा १८ हजार १७० बढी बिद्यार्थीले आवेदन दिएका छन् । शिक्षा मन्त्रालयबाट नो अब्जेसन लेटर लिने ५० हजार ६५९ बिद्यार्थीमध्ये २४ हजार २३३ बिद्यार्थीले अष्ट्रेलियाका लागि आवेदन दिएका छन् । अष्ट्रेलियाको भिषा आवेदनका लागि करिव ४५ हजार नेपाली रुपैयाँ पर्छ । नेपाली बिद्यार्थीको बिदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । यसबारे अनौपचारिक बिश्लेषणमात्र हुने गरेको छ । नयाँ पत्रिका दैनिकबाट ।
४१ अर्ब रकम फ्रिज, भूकम्पपीडितको बास टहरा र पालमै
काठमाडौं । दुई वर्षअघिको विनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा विनाछानो बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज गराएको छ । प्राधिकरणले खर्चको अख्तियारी पाए पनि प्राधिकरण र सरकारी अक्षमताले खर्च हुन नसकेको हो । प्राधिकरणले पुनर्निर्माणका लागि खर्च गर्ने अख्तियारी पाएको कुल बजेट ७६ अर्ब रुपैयाँमध्ये असार मसान्तसम्म जम्मा ४९ अर्ब रुपैयाँ मात्र खर्च गर्न सकेको छ । भूकम्पमा परी घर गुमाएकाले पुनर्वासमा जम्मा ३५ अर्ब रुपैयाँ पाए पनि ४१ अर्ब रुपैयाँ खर्च हुन नसकेको प्राधिकरणले मंगलबार संसद्को विकास समितिमा पेस गरेको तथ्यांकमा उल्लेख छ । ‘७६ अर्ब रुपैयाँ खर्च गर्ने अख्तियारी रहे पनि हामीले ४९ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्न सकेनौं,’ प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बैठकपछि भने, ‘खर्च भएकोमध्ये करिब ३५ अर्ब रुपैयाँ भूकम्पपीडितको पुनर्वासका लागि खर्च भएको छ ।’ खर्च कम हुनुका कारणमा निर्माण व्यवसायीको ढिलासुस्ती तथा निर्माण सामग्रीको आपूर्तिमा असहजता, जनशक्ति आपूर्ति प्रक्रिया ढिलो र सर्भे, डिजाइन तथा ठेक्का प्रक्रियामा समय लागेको प्राधिकरणका प्रवक्ता भुसालले समिति बैठकमा उल्लेख गरे। ‘निजी निवासको हकमा अपेक्षित गतिमा बाँकी किस्ताको भुक्तानी जान सकेको छैन, कतिपयमा बजेटको स्रोत नमिल्दो छ भने आर्थिक वर्षको सुरुमा स्रोत फुकुवामै लामो समय लागेको थियो,’ उनले भने, ‘कतिपय निकायको बजेट तालुक मन्त्रालयमै महिनौं रोकिए ।’ प्राधिकरणका अनुसार हालसम्म निजी आवास अनुदान वितरणसम्बन्धी दुई लाख ८० हजार २९ वटा गुनासा दर्ता भएका छन् । हालसम्म लाभग्राहीको संख्या सात लाख ४९ हजार सात सय ९६ छ जसमा ६ लाख २८ हजार आठ सय २२ सँग अनुदान सम्झौता भएको छ भने पाँच लाख ९४ हजार एक सय ५० ले पहिलो किस्ता पाएका छन् । दोस्रो किस्ताका लागि निवेदन दिनेको संख्या ७७ हजार आठ सय ३१ छ भने प्रमाणीकरण ६५ हजार तीन सय १५ को मात्र भएको छ । सरकारले ५१ हजार पाँच सय ८९ लाई दोस्रो र २ हजार ५ सय ९० लाई मात्र तेस्रो किस्ता दिएको छ । प्राधिकरणको तथ्यांकअनुसार दुई वर्ष ३ महिनामा ४४ हजार ९ सय २६ घर मात्र निर्माण कार्य सम्पन्न भएका छन् । अन्नपूर्ण पोस्टबाट ।
रेलको डब्बा किन्न ३ अर्ब माग, दुई इन्जिन र १८ वटा डिम्बा खरिदको तयारी गर्दै रेल विभाग
काठमाडौं । सरकारले महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालन गर्न ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । यसका लागि रेलवे विभागले सरकारसँग तीन अर्ब रुपैयाँ माग गरेको छ । रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकास उपाध्याका अनुसार पहिलो चरणमा यात्रुबाहक र मालबाहक रेलका दुईदुई इन्जिन र १८ वटा डिम्बा खरिद गर्न तीन अर्ब रुपैयाँ आवश्यक पर्ने छ । हामीले अनुमानित लागत तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष बजेट माग गरेका छौ, उनले भने । रेल खरिद गरेरसेवा सुरु गर्ने योजना विभागले सुरु गरेको छ । विभागले गरेको तयारी अनुसार सरकारी सहयोग भए नेपालमा रेल कुद्ने पनि उल्लेख छ । कान्तिपुर दैनिकबाट ।
एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे
काठमाडौं । महालेखा नियन्त्रणको कार्यालयले विदेशस्थित नेपाली नियोगको राजस्व आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक वर्ष नबित्दै बिग्रेको छ। सफ्टवेयरले काम गर्न छोडेपछि महालेखाले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा हस्तलिखित राजस्व ब्यवस्थित गर्न विदेशस्थित नेपाली नियोगलाई निर्देशन दिएको छ। महालेखाका कर्मचारीहरू २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए। कर्मचारीको विदेश भ्रमण र स्फ्टवेयर विकासमा लाखौ रकम खर्चेर ल्याइएको सफ्टवेयर ८ महिनामै बिग्रिएपछि नेपाली नियोगलाई राजश्वसम्बन्धी हिसाब राख्न अहिले अफ्ठेरो परेको छ। केही नियोगहरूले अनलाइन इन्ट्री गरिसकेकोले बिल सुरक्षित नराख्दा पुनः हिसाब देखाउन कठिन हुने परराष्ट्र स्रोतले बतायो। नागरिक दैनिकबाट ।
खुला आकास नीतिमा जाने भरतको प्रस्ताव नेपालद्वारा अस्वीकार, संकुचित सोचमै अड्कियो नेपाली उड्डयन क्षेत्र
काठमाडौं । दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो । यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो । भारतले राखेको प्रस्ताव सकारात्मक भए पनि अहिले यो नेपालले धान्न नसक्ने भएकोले पनि अस्वीकार गरका हौ, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने । भारतसँग उडान गर्न खुला आकास नीतिजस्तै साताको ६० हजार सीट क्षमता उपलब्ध भएको तर्क उनले दिए । कारोबार दैनिकबाट ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’ सञ्चालन गर्न सकिने
काठमाडौ । काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले आज ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी गराए । कम्पनीका अध्यक्ष पाण्डेले तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’ सञ्चालन गर्न सकिने बताए । त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भूबाट बौद्धसम्म पनि ‘स्काई रेल’ सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्छ । ‘मेट्रो रेल’को तुलनामा ‘स्काई रेल’ सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने छ । प्रतिवेदनअनुसार कामपामा सञ्चालन गरिने रेलमा तीन वटा डिब्बा मात्र राख्न सकिने भए पनि सामान्यतया एउटा रेलमा आठ वटासम्म डिब्बा राख्न सकिन्छ । रेलको एउटा डिब्बामा २०० यात्रु अट्न सक्छन् । चिनियाँ कम्पनी विवाइडीसँगको सहकार्यमा गरिएको सम्भाव्यता अध्ययनमा लागतसहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुनेछ । कामपा र साइमिक्सबीच ‘स्काई रेल’ सञ्चालन सम्भाव्यता अध्ययनका लगि गत माघ २६ गते सम्झौता भएको थियो ।
अपाचे आरटिआरले देखायो १५० ग्राहकलाई मुभि
काठमाडाैं । अपाचे आर टि आरले २ सय ४ भि सिरिजका १५० ग्राहकलाई हलिउड स्पाइडर म्यान होम कमिङ मुभि देखाएको छ । जगदम्बा मोटर्सले आफ्नो १५० ग्राहकहरुको लागि मनोरञ्जन कार्यक्रमको रुपमा टि भि एस का पधादिकारीको साथमा यहि असार २९ गते लबिम मल स्थित क्यु एफ एक्स सिनेमाजमा उक्त सिनेमा देखाएको हो । कम्पनीले ग्राहकहरुको निरन्तर साथको कदर स्वरुप यस कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा फोटो सेसन तथा अन्तवार्ता मार्फत धेरै राम्रो प्रतिकृयाहरु संकलन गरिएको कम्पनीले जनाएकोे छ । जगदम्बा मोटर्सले ग्राहकको साथ र सन्तुष्टीका लागि यस्ता कार्यक्रम प्रत्येक महिना गर्दै जाने जानकारी दिएको छ ।
सनराइज बैंकको १ करोड ५६ लाख कित्ता हकप्रद सेयर बाँडफाँड, पूँजी ७ अर्ब नाघ्यो
काठमाडौं । सनराइज बैंकले १ करोड ५६ लाख ४६ हजार २९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकले असार १९ गते सम्म जारी गरेको हकप्रद सेयरमा आवेदन परेको सो मात्राको सेयर ७१,६१३ जना सेयरधनीहरुलाई बाँडफाँड गरेको हो । बैंकले सेयरधनीहरुका लागि दश शेयर बराबर तीन सेयर (१०: ३) को अनुपातमा प्रति सेयर मूल्य १०० रुपैयाँ अंकित दरको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद साधारण सेयर निष्काशन गरिएको थियो । हकप्रद सेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड रुपैयाँ पुगेको छ । साथै गत आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस सेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी न्यूनतम ८ अर्ब पुर्याउने लक्ष लिईएकोमा सो बमोजिम चुक्ता पूँजी कायम रहने बैंकले जनाएको छ ।