विकासन्युज

५ अर्ब २५ करोडमा धमाधम बन्दैछन् ८५० वटा नयाँ पुल, २००० पुल सञ्चालनमा

काठमाडौं, ११ पुस । सरकारले सडक यातायातलाई सहज बनाउन यतिबेला ८५० वटा नयाँ पुलहरुको निर्माण धमाधम अघि बढाइरहेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागले हाल ५२५ अर्बको लगानीमा ती पुलहरुको निर्माण अघि बढाएको हो । चालु आर्थिक बर्षभित्रै ७५ वटा नयाँ पुल निर्माण सम्पन्न हुने अवस्थामा रहेको सडक विभाग पुल महाशाखाका प्रमुख तथा उप महानिर्देशक सरोज प्रधानले जानकारी दिए । हाल देशभर २ हजार पुल सञ्चालनमा रहेका छन् । आगामी चार बर्षभित्रै यी पुलहरुको निर्माण सम्पन्न भएपछि नेपालमा पुलहरुको संख्या करिब ३ हजार पुग्नेछ । विभागले चालु आर्थिक बर्षभित्रै थप २५० वटा पुलहरुको टेण्डर प्रक्रिया पुरा गरेर निर्माण आरम्भ गर्ने तयारी गरिरहेको छ ।‘स्थानिय र रणनीतिक महत्वका गरि थप २५० वटा पुलको टेण्डर निकालेर यहि बर्ष निर्माण थाल्ने तयारी भैरहेको छ’, सडक विभागका उप महानिर्देशक प्रधानले भने । निर्माणको चरणमा रहेको पुलहरुमध्ये १५० वटामा भने प्राबिधिक समस्या देखिएको छ । तीमध्ये पनि करिब एक दर्जन भन्दा बढि पुलमा नेपाली जनशक्ति र प्रबिधीले टुंगो लगाउनै नसक्ने समस्याह देखिएको उनले बताए ।‘झापाको मेची पुलमा निर्माण भैरहेको नेपाल–भारत मितेरी पुलमा देखिएको समस्या नेपाली प्राबिधिकले समाधान गर्न नसक्ने अवस्थामा पुगेको छ, त्यसका लागि विदेशी प्राबिधिक र प्रबिधी चाहिन्छ’, उनले भने । प्रधानका अनुुसार मेची पुलको पिलरका लागि गरिएको ड्रिल बांगिएर जमिन मुनी गएको छ, जसलाई सोझो पार्ने प्रबिधी नेपालसँग छैन् । नेपालले पछिल्लो १०/१५ बर्षदेखि मात्रै आफ्नै जनशक्ति र प्रबिधीले पुल निर्माण आरम्भ गरेकाले ठुला पुल बनाउन अझै समस्या नै रहेको पनि उनले बताए । दक्ष प्राबिधिकको अभाव, पर्याप्त बजेटको अभाव, गुाणस्तरिय निर्माण सामग्रीको अभावले पुलहरुको निर्माणमा सुस्तता देखिएको प्रधानले दावी गरे । सामान्यतया पुलको आयु निर्माण सम्पन्न भएको मितिले ५० बर्षसम्म मान्ने गरिएको छ । पुर्वपश्चिम राजमार्गको पथलैयादेखि बर्दिबास क्षेत्रसम्म पर्ने पुलहरु जिर्ण अवस्थामा पुगिसकेको प्रधानले बताए । पुलहरुको मर्मत तथा पुर्ननिर्माण झनै जटिल बिषय भएको पनि उनले बताए ।

नेप्से परिसूचक ४२ अंकले घट्दा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, ११ पुस । सोमबार नेप्से परिसूचक ४२ दशमलब ८४ अंकले घटेर १४३२ दशमलब ५७ अंकमा झरेको छ । साताको पहिलो दिन कारोबार भएको बजारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन ४८ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा जम्मा १३० कम्पनीको १५ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार बजार दोहोरो अंकले घट्दा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९७ र ९.८६ प्रतिशतले बढेको छ । सो दिन जनउत्थानको सेयर मूल्य प्रतिकित्ता १८०९ रुपैयाँ रहेको छ भने मेरो माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५३५ रुपैयाँ रहेको छ । सोमबार बजारमा चार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । नागबेली लघुवित्त विकास बैंकको ९.९८ , कर्नाली डेभलपमेन्ट बैंकको ९.९५, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ९.९२ र प्रोगेसिभ फाइनान्सको ९.५७ प्रतिशतले घटेको छ । बजारमा कारोबार भएका सबैपरिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३११ अंकले ओरालो लागेको छ भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । एभरेष्ट बैंक र बैंक अफ काठमाण्डू लुम्बिनी कम्पनीको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको २ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

मर्कन्टायल प्लाजामा मोबाइल मेला शुरु, मोबाइल खरिदमा ५० प्रतिशत सम्म छुट

काठमाडौं, ११ पुस । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा क्रिशमस र नयाँ वर्षको अबसर पार्दै मोबाइल मेला शुरु भएको छ । नयाँ वर्षको अबसर पार्दै सिटिभी मोबाइल, द वल्र्डभिजन मोबाइल, लिंक इलेक्ट्रोनिक्स मोबाइल, सिटिभी केयर र एप्पल वल्र्ड मोबाइलले संयुक्त रुपमा मोबाइल मेला आयोजना गरेका हुन् । मोबाइल मेलामा मेला अबधीभर सबै ब्राण्डका मोबाइल सस्तोमा बिक्री वितरण तथा १ घण्टामा मोबाइल मर्मत गरिने मोबाइल मेलाका संयोजक तथा एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । मेलामा एप्पल वल्र्ड मोबाइल र सिटिभी केयरले संयुक्त रुपमा १ घण्टे मोबाइल केयर सेवा पनि संचालनमा ल्याएका छन् । यसैगरि मेला अवधिभरमा जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरि अर्को मोबाइल लिन सकिने व्यवस्था गरिएको छ । १ हजार २ सय देखि १ लाख ३० हजार सम्मका नेपालमा उपलब्ध ब्राण्डका मोबाइल सेट पाइने यो मेलामा एशोसरिजमा ५० प्रतिशत सम्म छुट दिइने संयोजक ग्लाइडरले जानकारी दिए । वल्र्डभिजन मोबाइल प्रालिका प्रबन्ध निर्देशक संगम राइले क्रिशमसको दिनबाट सुरु भएको यो मेला १५ दिनसम्म रहने र अन्य बजारमा भन्दा सस्तोमा मोबाइल पाइने दाबीे गरेका छन् । यो मोबाइल मेलालाई एक दर्जन बढी मोबाइल कम्पनीहरुले साथ दिएका जानकारी गराइएको छ ।

ओभर ड्राइभ २०१७ अवार्ड्समा भिटारा ब्रेजा तीन उपाधीद्वारा सम्मानित

काठमाडौं, ११ पुस । पारिवारिक कार तथा कम्प्याक्ट एसयूभीका रुपमा अत्यधिक लोकप्रियता पाइरहेको सुजुकी भिटारा ब्रेजालाई सीएनबीसी–टीभी १८ ओभर ड्राइभ २०१७ अवार्ड्समा तीन भिन्न अवार्डद्वारा सम्मानित गरिएको छ । कार्यक्रम मार्फत भिटारा ब्रेजालाई कम्प्याकट एसयूभी अफ दि इयर, कार अफ दि इयर र भिवर्स च्वाइस कार अफ दि इयर उपाधीद्वारा सम्मानित गरिएको हो । आकर्षक स्पोर्टी डिजाइन सहितको यो कारले यात्रु तथा चालकलाई यात्राको समयमा निकै आरामदायी अनुभव प्रदान गर्छ । कारमा जडित इञ्जिन तथा गियरबक्सको उत्कृष्ट क्षमता र प्रदर्शनीका कारण उपभोक्ता माझ कार विशेष लोकप्रिय रहेको छ । ब्रेजामा कम्पनीले फोर सिलिण्डरको १ हजार २ सय ४८ सीसी क्षमता सहितको टर्बो चार्ज्ड डिजल म्याटेड फाइभ स्पिड म्यानुअल ट्रान्समिशन ईञ्जिन जडान गरिएको छ । कारमा जडित यो ईञ्जिनले ९० पीएसको अधिकतम शक्ति र २ सय एनएम अधिकतम टर्क उत्पन्न गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । कारमा प्रयोग गरिएको च्यासिसले यात्रु तथा चालकलाई गुणस्तरिय यूरोपियन सवारीको अनुभव प्रदान गर्छ । साथै, कारको नियन्त्रण प्रणाली समेत निकै सुरक्षित तथा आरामदायी छ । साथै, कम्पनीले कारमा आधुनिक स्मार्ट मार्फत नियन्त्रण गर्न मिल्न विभिन्न अत्याधुनिक फिचर्सपनि उपलब्ध गराएको छ ।

पर्यटन आगमन बढ्दो क्रममा, अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि

चितवन, ११ पुस । विनाशकारी भूकम्प र नाकाबन्दीले असर पुर्याएको यहाँको पर्यटन व्यवसाय बल्ल उकालो लाग्न थालेको छ । भूकम्प र नाकाबन्दी पछि यहाँ पर्यटन आगमन २० वर्ष अगाडिको अवस्थामा पुगेको थियो । पर्यटकको अभावमा निराश बनेका पर्यटन व्यवसायीमा फेरि आशा जगाएको छ । बन्द गर्नुपर्र्ने अवस्थामा पुगेका होटल व्यवसायीले केही महिनायतादेखि पर्यटक वृद्धी हुँदै गएकाले राहत महसुस गरेका छन् । सौरहास्थित क्षेत्रीय होटल सङ्घ अध्यक्ष सुमन घिमिरेले सन् २०१७ मा भूकम्प अघिको अवस्थामा पर्यटन व्यवसाय पुग्ने विश्वास व्यक्त गरेका छन् । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनको सङ्ख्यामा निकै वृद्धि भएको उनले बताए । गत आर्थिक वर्षमा ८७ हजार पर्यटक चितवन राष्ट्रिय निकुञ्ज भित्रिएकामा यस आर्थिक वर्षको पाँच महिनामा ५१ हजार पर्यटक पुगेका छन् । भूकम्प र नाकाबन्दीका कारण फाट्टफुट्ट मात्र पर्यटक देखापर्ने यहाँ अहिले स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले पर्यटक आगमन निकै घटेकामा अहिले क्रमश बढ्दो रहेको बताएका छन् । निकुञ्जमा हाल स्वदेशी, एसिया, अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशबाट पर्यटक आएको व्यवसायीले बताएका छन् । सन २०१७ का लागि होटल बुकिङ्ग आशा लाग्दो रहेको सौराहाको होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले बताए । आउँदो वर्षका लागि आठ हजार पर्यटकले होटल बुकिङ गरेको उनको भनाइ छ । विदेशी पर्यटकले अन्य ठूला होटल पनि बुक गरिरहेका छन् । पर्यटकलाई लक्षित गरी जिल्लामा करिब दुई सयको हाराहारिमा होटल सञ्चालनमा छन् । यो व्यवसायमा मात्र १० अर्ब भन्दा बढी लगानी छ । जिल्लामा आउने अधिकांश पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती र जिप सफारीबाट दुर्लभ वन्यजन्तु बाघ, गौँडालगायतका जनावार हेर्न रुचाउने गर्दछन् । रासस

ओम ज्योती सेभिङ र शिव शंकर सहकारीबीच मर्ज सम्पन्न, एकिकृत कारोबार शुरु

काठमाडौं, ११ पुस । काठमाडौंको जोरपाटीस्थित ओम ज्योती सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र शिव शंकर सहकारीबीच मर्ज प्रक्रिया सम्पन्न भएको छ । दुई संस्था एकआपसमा मर्ज भई एकीकृत कारोबार शुरु गरेका छन् । ज्योति सेभिङको सम्पन्न १० औं वार्षिक साधारणसभाले दुई सहकारी एकआपसमा मर्ज हुने प्रस्तावलाई पारित गरेको हो । सो अवसरमा अध्यक्ष उमेश श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सहकारीमा हाल ३२२ जना सेयर सदस्य रहेका छन् । साथै संस्थाले नयाँ सञ्चालक समितिको चयन पनि गरेको छ । सुदीप सुवेदीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा वालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रिता अधिकारी र सचिवमा हरिकृष्ण थपलिया रहेका छन् । सदस्यहरुमा सान्नारायण महर्जन, ओमराज थापा, अनिता भण्डारी, कृष्णप्रसाद सिग्देल र श्याम वस्ताकोटी रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा उद्धव पौडेल रहेका छन् भने सदस्यहरुमा मञ्जु सापकोटा र राजकुमार हुँमागाई रहेका कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगको विधेयकमा हकअधिकार खोज्दै- आदिवासी जनजाति

काठमाडौं, ११ पुस । आदिवासी जनजातिका अगुवाले सरकारले प्रस्तुत गरेको आदिवासी जनजाति आयोगसम्बन्धी विधेयक व्यापक रुपमा परिमार्जन नगर्ने हो भने आफ्नो समुदायको हकअधिकारको संरक्षण सम्बद्र्धन तथा सशक्तीकरण हुन नसक्ने जिकिर गरेका छन् । व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिले आदिवासी जनजातिका आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राय सुझाव लिन आयोजना गरेको कार्यशालामा सहभागी वक्ताहरुले उक्त दलिल गरेका हुन् । सो अवसरमा आदिवासी जनजाति समुदायका अगुवा एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा चैत्यन्य सुब्बाले विधेयकमा आयोगको काम, कर्तव्य र अधिकारबारे स्पष्ट रुपमा उल्लेख नभएको, अध्यक्ष र सदस्यको योग्यता, पद रिक्त हुने अवस्था किटान नगरिएको, अरु संवैधानिक आयोगको तुलनामा नाम मात्रको आयोग भएको टिप्पणी प्रस्तुत गरेका छन्। नागरिक, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, सेवा र अवसरजन्य हकअधिकारको स्पष्ट रुपमा उल्लेख हुनु पर्नेमा त्यो नभएको जनाउँदै उहाँले विधेयकमा सहभागिता, समावेशीकरण, प्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, आवास, तथा सेवामा न्यायपूर्ण पहुँच, शोषणबाट मुक्ति, आर्थिक स्वाधीनता, संरक्षणलगायत सबै प्रकारका अवसरमा पहुँच, सांस्कृतिक हित, भाषिक समानताको विषयलाई समेट्न नसकेको धारणा राखे । आदिवासी जनजातिले अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको सामूहिक अधिकारको प्रत्याभूति र नागरिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक हकको स्पष्ट व्यवस्था, सामाजिक न्याय, समानता, स्वतन्त्रता र प्रतिष्ठाको प्रत्याभूति, भू–स्वामित्वको रक्षा, भूमिबाट विस्थापनमा नियन्त्रण र भू–विस्थापितलाई क्षतिपूर्ति र पुनःस्थापनजस्ता आफ्ना मूल सरोकारका विषयलाई समावेश नगरी विधेयक अघि बढाइएमा त्यसको कुनै औचित्य नहुने सो अवसरमा सहभागी वक्ताले चेतावनी दिएका छन् । अधिवक्ता कुन्साङ लामाले आयोगको क्षेत्राधिकार विधेयकमा व्यापक बनाउन आवश्यक रहेको बताउँदै आदिवासी जनजातिको हकहित गोलमटोल रुपमा उल्लेख गरेर हकलाई छायाँमा पार्न खोजिएको आरोप लगाए । आदिवासी जनजाति समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण गरी तत्सम्बन्धमा खण्डीकृत तथ्याङ्क तयार गर्ने, आदिवासी जनजाति हितमा गर्नु पर्ने नीतिगत, कानुनी र संस्थागत सुधारका विषय पहिचान गरी नेपाल सरकारलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार आयोगलाई हुनुपर्ने उनको भनाइ थियो । यसअघि उक्त कार्यशालाको उद्घाटन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले विधेयकमा भएका कमी कमजोरीलाई हटाएर परिस्कृत तुल्याउन सहभागीले दिने सुझाव फलदायी हुने विश्वास व्यक्त गरेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेवुले विधेयकलाई दीर्घजीवी तुल्याउन ठोस सुझावको अपेक्षा गरिएको बताए । आयोजक सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशील श्रेष्ठले संविधानले परिकल्पना गरेको सामाजिक न्याय र समानुपातिक तथा समावेशीका मुद्दा सम्बोधन हुनेखाले सुझाव आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। नेपालको संविधानको धारा २६१ मा संवैधानिक आयोगका रुपमा आदिवासी जनजाति आयोग रहने व्यवस्था गरिएको छ । आदिवासी जनजाति समुदायको समग्र स्थितिको अध्ययन गरी तत्सम्बन्धमा गर्नुपर्ने नीतिगत, कानुनी र संस्थागत सुधारका विषयमा नेपाल सरकारसमक्ष सिफारिस गर्नेलगायतका काम, कर्तव्य र अधिकार उक्त आयोगलाई हुनेछ । रासस

नेपाल बैंकका प्रबन्धक उमेशचन्द्र घिमिरेको लडेर मृत्यु

झापा, ११ पुस । नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ । गएराति बाथरुममा चिप्लिएर उनी लडेका थिए । बाथरुममा लडेर अचेत भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पु¥याइए पनि उनको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिएका छन् । एकचालिस वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आएका थिए । काठमाडौं स्थायी घर भएका उनी बनेपाबाट सरुवा भएपछि बिर्तामोड शाखामा कार्यरत थिए। रासस