विकासन्युज

इन्नोभेटिभ र अरनिको प्राप्तिको लागि सेञ्चुरीलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं, १३ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तीपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्ने छ । प्राप्ती, हकप्रद तथा मुनाफा आर्जनबाट सेञ्चुरी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने लक्ष्य लिएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को असोज मसान्तसम्म कुल निक्षेप ३१ अर्ब ६८ करोड रुपैयाँ र कर्जा रकम २७ अर्ब ६० करोड रुपैयाँ परिचालन गरेको छ । सो अवधिमा बैंकले १२ करोड ३१ लाख रुपैयाँ सञ्चालन मुनाफा र ७ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहक वर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैशाख ७ गतेदेखि अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला, ३०० वटा स्टल रहने

काठमाडौं, १३ पुस । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल १३औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि आयोजना गर्ने भएको छ । उक्त मेला आगामी २०७४ साल बैशाख ७ देखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । महासंघले साना उद्योगहरूलाई प्रविधिको खाँचो हुन नदिन र प्रविधि विकास गर्नेहरूलाई प्रोत्साहन गर्न सकिने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको बताएको छ । मेलामा प्रद्धर्शन गर्न लायकका सबै खोज, अनुसन्धान तथा आविष्कारहरूलाई प्रद्धर्शित गराउने यस पटकको मेलाको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएका छन् । साथै, छिमेकी मुलुक चीन, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरूमा विकास गरिएका प्रविधिहरूलाई पनि मेलामा सहभागि गराइने र यसबाट नेपालका अनुसन्धानकर्ताहरूलाई थप ज्ञान र सीप प्राप्त हुने महासंघको अपेक्षा रहेको छ । यसका लागि नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, रिकास्ट र विश्वविद्यालयहरूसँग सहकार्य गरिने महासंघले जनाएको छ  । महासंघका अध्यक्ष श्याम गिरीका अनुसार मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिने र मुलुकको औद्योगिकरणले वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरिनेछ । उद्यमी र उद्यमी, अन्वेषणकर्ता र उद्यमीबीच अन्तरक्रिया एवं छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका थप आकर्षण हुनेछन् । महासंघका अनुसार उक्त प्रदर्शनीमा ३०० वटा स्टल रहने छन् । साथै, मेलामा एक लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।

विमानस्थलमा वाइडबडी जहाज पार्किङ स्थलको अभाव, १० बर्षमा १३ जहाज थप्ने हिमालयको घोषणा

काठमाडौं, १३ पुस । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वाइड बडी जहाज पार्किङ गर्ने ठाउँको अभाव भएको छ । हाल विमानस्थलमा ९ वटा जहाज पार्किङ गर्न सक्ने पुर्वाधार छ तर त्यसमा पनि ४ नम्बरको पार्किङमा समस्या उत्पन्न भएको छ । नेपाल वायुसेवा निगमले चालु आर्थिक बर्षभित्रै एक र त्यसको केहि समयपछि नै अर्काे एक गरि २ वटा वाइडबडी जहाज ल्याउने भनेको छ । त्यस्तै, हिमालय एयरलाइन्सले पनि सन २०१७ को जनवरी/फेब्रुअरीमा एक र मार्च/अप्रिलमा अर्काे एक वाइड बडि थप्ने जानकारी नागरिक उड्डयन प्राकिरणलाई दिईसकेको छ । बुधबार आयोजीत पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भने-‘हाम्रो एयरपोर्टको स्पेश सानो छ, ९ वटा बे(पार्किङ) छ । आवश्यक पर्दा पछाडी २ वटा पार्क गर्न सक्छौं । तर तत्काल ४ वटा ठुला जहाज थपिने भएकाले त्यसको व्यवस्थापन भने चुनौती पुर्ण छ ।’ उनका अनुसार पुर्व तिरको २ नम्बर पार्किङ १४ देखि १८ महिनामा तयार हुन्छ । समस्यामा रहेको ४ नम्बर पार्किङ पनि आगामी फागुन देखि सञ्चालन गर्नेगरि तयारी भैरहेको छ । ९ वटा पार्किङ स्थल थप्ने योजनासहित अघि बढेको निर्माण प्रक्रियाबाट स्पेनी कम्पनीसँगको ठेक्का भर्खर रद्ध गरिएको छ । उसले सन २०१६ मार्चसम्ममा काम सक्ने सर्तसहित निर्माणको जिम्मा लिएको थियो । महानिर्देशक गौतमका अनुसार हिमालय एयरलाइन्सले आगामी ५ बर्षभित्र १० वाइडबडी जहाज ल्याउने भनेर जानकारी दिएको छ । त्यस्तै आगामी १० बर्षमा उसले थप १३ वटा जहाज ल्याउने जानकारी प्राधिकरणलाई गराईसकेको छ । ती जहाजहरु आउनु अघि नै भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याइसक्नुपर्ने उनले बताए । सन २०१८ जुलाईमा भैरहवा र सन २०२० जुलाइमा पोखरा विमानस्थल निर्माण सम्पन्न् गर्ने लक्ष्यसहित काम अघि बढेको उनले जानकारी दिए । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९ वटा जहाज पार्किङ गर्न सक्ने क्षमता छ । सो विमानस्थलबाट २७ कम्पनीका जहाजले दैनिक ७० वटा अन्तराष्ट्रिय उडान भरिरहेका प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

घरजग्गा व्यवसायी सुधीर बस्नेत जेल चलान

काठमाडौं, १३ पुस । वित्तीय संस्था र सर्वसाधारणको करोडौँ रकम हिनामिना गरेको आरोपमा घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् । धापासीस्थित आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीले गएराति पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिएका छन् । प्रहरी आएको चाल पाएपछि बस्नेत भाग्न लाग्दा उनको हातमा सामान्य चोट लागेको छ । अदालतको फैैसला कार्यान्वयनको क्रममा उनलाई पक्राउ गरिएको खनालले जानकारी दिए। बस्नेतमाथि काठमाडौं जिल्ला अदालतबाट छ महिना कैद, भक्तपुर अदालतबाट दुई वर्ष कैद र करिब १२ लाख रुपैैयाँ जरिवाना सुनाईएको छ । बस्नेतमाथि बैंक तथा वित्तीय संस्था, र सर्वसाधारणबाट अर्बौँ बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।

खेर गइरहेको झारपातबाट वायो ब्रिकेट र कोइला उत्पादन

सिन्धुपाल्चोक, १३ पुस । वन जङ्गलमा खेर गइरहेको झारपातलाई प्रयोग गरी वायो ऊर्जा उत्पादन गरिएको छ । जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिङ्गर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट वायो ब्रिकेट र कोइला उत्पादन गरिएको हो । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालअन्तर्गत जैविक ऊर्जा परियोजनाको सहयोग तथा हिमालयन नेचुरल प्रालिको सक्रियतामा वायोब्रिकेट र चारकोल कोइला उत्पादन गरिएको हो । यस्तै अत्तरपुरकै जमुना शाक्य पनि बिहान घरको धन्दा सकेर ब्रिकेट बनाउन आउँदा दैनिक पाँच/सात रुपैयाँ सय आम्दानी गर्छन्। उक्त गाविसमा मात्र ब्रिकेट उत्पादन कम्पनीमा २०० भन्दा बढी मानिसले रोजगारी पाएका छन् । सुरुमा खाल्डो खनेर पातपतिङ्गर पोलेर कोइला र ब्रिकेट बनाउने गरेपनि हेल्भेटास र हिमालय नेचुरल प्रालिको सहयोगपछि आधुनिक प्रविधिमार्फत बनाउन थालिएको प्यूखर्क वायोब्रिकेट उद्योगका अध्यक्ष यामबहादुर श्रेष्ठ बताउछन् । उनी भन्छन्, “सुरुका दिनमा गुणस्तरीय सामान बनाउन गाह्रो हुन्थ्यो, अहिले गुणस्तरीय सामान उत्पादन गर्न सक्षम भएका छौँ ।” उक्त उद्योगहरुमा पाँँच इञ्च गोलाई, १.३० इञ्च उचाइ र ५ इञ्च गोलाइ र तीन इञ्च उचाइका दुईथरि ब्रिकेट उत्पादन हुने गरेको छ । हेल्भेटासकी वायो ऊर्जा परियोजना अनुगमन अधिकृत उषा पाण्डेय समुदायलाई स्वावलम्वनतिर लैजान र विदेशबाट दैनिक रुपमा भित्रने गरेको ऊर्जालाई कम गर्ने काममा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ हेल्भेटासले यस्तो कार्यक्रममा सहयोग गरेको बताउछन् । उनी भन्छन्, “ग्रामीण क्षेत्रमा रहेका बेरोजगार युवालाई गाँउमै रोजगार दिन यस्तो कार्यक्रमले सहयोग पुग्नेछ ।” सिन्धुपाल्चोकका जिल्ला वन अधिकृत शिव सापकोटा वनमा खेर गइरहेको झाडीलाई सदुपयोग गरी बायोब्रिकेट उत्पादन गरी उर्जा अभावलाई सहयोग गरेको बताउछन् । उनी भन्छन्, “ वनको वार्षिक कार्यक्रममा झाडी व्यवस्थापन पनि रहेको हुँदा वायो ऊर्जाले झाडी व्यवस्थापनमा सहयोग पुगेको छ ।” सरकारले यस्तो काममा सहयोग गरे नाकाबन्दीजस्ता आपत्कालीन समयमा थोरै भएपनि राहत पुग्ने थियो । रासस

सेयर बजारमा छायो हरियाली, ५ अंकले बढ्यो नेप्से, सबै समूह उक्लिए

काठमाडौं, १३ पुस । बुधबार सेयर बजारमा हरियाली छाएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तत ५ दशमलब ६२ अंकले बढेर १४१३ अंकमा अडिएको छ । बजार खुलेको केही बेरमै उकालो लागेर १४२२ अंकमा पुगेको नेप्से परिसूचक पछि ओरालो लागेर १४०५ अंकमा झरेको थियो । त्यसपछि करोबार बन्द हुँदा भने बजारलाई केही टेवा पुगेको देखिन्छ । नेप्से परिसूचकसँगै बजारमा कारोबार भएका सबै समूहको परिसूचकहरु पनि हरिया भएका छन् । ७ समूहको कारोबार भएको बजारमा सबैभन्दा बढी होटल समूहको परिसूचक ३९ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बीमा र विकास बैंक समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले बढेका छन् । नेप्से परिसूचकमा केही सुधार आएता पनि कारोबारमा भने अझै सुधार आउन सकेको छैन । मंगलबार जम्मा ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२८ कम्पनीको १३ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेको इन्स्योरेन्सको सबैभन्दा बढी ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंकको २ करोड रुपैयाँ र सिद्धार्थ बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले बढेको छ । सोही दिन ललितपुर फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ६.४८ प्रतिशत गुमाएका छन् ।

मेलम्चीको सुरुङमार्ग निर्माण कार्य ‘ब्रेक थ्रु’ हुँदै, आगामी भदौभित्र सम्पन्न हुने

काठमाडौं, १३ पुस । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङमार्ग (टनेल) निर्माण कार्य बुधबार ‘ब्रेक थ्रु’ हुँदैछ । यस क्रममा सुन्दरीजलदेखि सिन्धुसम्मको करिब साढे नौ किमीमध्ये खन्ने काम सम्पन्न हुने भएको छ । कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी छ । यो नेपालको पहिलो सुरुङ मार्गसमेत हो । साथै, सिन्धुदेखि ग्यालथोक र ग्यालथोकदेखि अम्बास्थानसम्म पनि निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । अहिले मेलम्चीको पानी उपत्यकावासीमा घर घरमा पुर्याउन धमाधम सडक खन्दै पाइप बिछ्याउने काम द्रुतरुपमा भइराखेको छ । यस कामका लागि नै दिनरात एक हजारभन्दा बढी मजदुर र सयभन्दा बढी प्राविधिक परिचालन समेत भइराखेको छ । मन्त्रालयका सचिव उपाध्यायले भने “मन्त्रालयको सबै ध्यान आगामी दसैँमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउन केन्द्रित छ, यसैमा सबै ध्यान लगाएका छौँ ।” यही क्रममा राज्यमन्त्री दीपक खड्का र सचिव भीमप्रसाद उपाध्यायले रात र दिन दुवै समयमा पाइप बिछ्याउने कामको स्थलगत अनुगमन दैनिक रुपमा गरिरहेका छन्। यस क्रममा उनीहरुले मङ्गलबार राति मीनभवन, बत्तीसपुतली, सिनामङ्गल, चाबहिल, गौशाला क्षेत्रको अनुगमन गरेका थिए। “रातको समयमा खन्ने र पाइप राख्ने काम अत्यन्त कठिन हुँदाहुँदै पनि द्रुतरुपमा काम भइराखेको छ । यही गतिमा काम जारी रहेमा २०७४ भदौभित्र सम्पन्न हुन्छ” सचिव उपाध्यायले भने । राष्ट्रिय गौरवका पहिलो प्राथमिकता प्राप्त मेलम्ची खानेपानी आयोजनाको काम निर्धारित समयभित्र पूरा गर्न मन्त्रालय चिन्तित रहेको उनले बताए। राज्यमन्त्री खड्का र सचिव उपाध्यायले बुधबार बिहान मेलम्ची खानेपानी आयोेजनाअन्तर्गत गुह्येश्वरीमा निर्माणाधीन ढल प्रशोधन केन्द्रको अनुगमन समेत गरेका छन्। रासस

अनलाइनमार्फत सेयर कारोबार गर्न पाउनुपर्ने माग, आइतबारसम्म पूरा नगरे आन्दोलन गर्ने

काठमाडौं, १३ पुस । सेयर लगानीकर्ता सङ्घले अनलाइनमार्फत सेयर कारोबार गर्न पाउनुपर्ने माग गर्दै नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएको छ । सङ्घका सदस्यले सेयर बजारसँग सम्बन्धित नियमक निकायले अनलाइनमार्फत सेयर कारोबार गर्नुपर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै बुधबार दुई घन्टा धर्ना दिएका हुन् । यस्तै सङ्घले बैंकलाई यथाशीघ्र ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकरलाई यथाशीघ्र शाखा विस्तार गर्न दिनुपर्ने, बोनस, हकप्रद, मर्जर र सूचीकृत नीति नियम स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने, गैरआवसीय नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने लगायतका माग राखेका छन् । सङ्घका अध्यक्ष उत्तम अर्यालले पूँजी बजारलाई आधुनिकतातर्र्फ लान नसक्नु दुःखद् कुरा भएको बताउँदै आफूहरुले राखेका माग आइतबारसम्म पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले नेपाल स्टक एक्सचेन्ज पुँजी बजारको बाधक नभई यसको विकास र विस्तारमा लागेको बताए । उनले भने, “नियम बनाउने निकाय नियम नबनाउने र तुरुन्त यस्तो काम गर भन्दा समस्या उत्पन्न भएको हो ।” उनले वाणिज्य बैंकलाई ब्रोकर अनुमतिपत्र दिने कुरामा स्टक एक्सचेन्ज बाधक नभएको पनि स्पष्ट पारेका छन् ।