आन्दोलनरत पक्ष पनि अध्ययन समितिमा सहभागी, समस्या समाधानबारे राष्ट्र बैंकमा छलफल हुँदै
काठमाडौं । पुँजीबजार सुधारका विभिन्न बुँदे माग राख्दै गत आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज अगाडि अनशन बस्दै आएको लगानीकर्ताको समूह तथा यसअघि वार्ता टोलीमा समावेश नभएकाे लगानीकर्ता संघका प्रतिनिधिलाई समेत मुद्रा बजार र पुँजी बजारको समस्या समाधानका लागि गठित समितिमा समेटिएको छ । अर्थ मन्त्रालयले आन्दोलनरत समूहलाई वार्तामा बोलाएपछि अर्थ मन्त्रालय पुगेका ६ जना प्रतिनिधिहरुमध्ये ३ जनालाई टोलीमा समावेश गरिएको हाे । आन्दोलनरत पक्षबाट अर्थ मन्त्रालयको वार्ता टोलीसँग वार्ता गर्न उत्तम अर्याल, ताराप्रसाद फुल्लेल, नगेन्द्र वास्तोला, तिलक कोइराला, शुष्मा ढुङ्गाना र दीपेन्द्र अग्रवाल सिंहदरबार गएका थिए । उनीहरुमध्ये उत्तम अर्याल, तिलक कोइराला र नगेन्द्र बास्तोलालाई अध्ययन समितिमा सहभागी गराइएको हो । राष्ट्र बैंकमा आजै छलफल, शनिबारसम्म प्रतिवेदन तयार तीनजना नयाँ सदस्य थप भइसकेपछि आजै नेपाल राष्ट्र बैंकमा समितिले अर्को छलफल गर्ने भएको छ । अर्थ मन्त्रालयले दिएको एक साताको समयभित्रै प्रतिवेदन पेश गर्न आज साँझ र भोलि दिनभर छलफल गर्ने र आइतबार दिउँसोसम्म मन्त्रालयलाई प्रतिवेदन बुझाउने अध्ययनमा सहभागी एक सदस्यले जानकारी दिए । ‘हामी माग उठाउँछाै भनेपछि लफडा’ सरकारी वार्ता टोलीमा यसअघि नै सहभागी भइसकेका लगानीकर्ता संघका प्रतिनिधिमाथि आन्दोलनरत पक्षमाथि आक्रमणमा उत्रिएको आरोप लागेको छ । ‘तपाईँहरुले उठाएका मागहरुका सम्बन्धमा हामीले छलफल गरेका छौं, अर्थमन्त्रीकाे राजीनामा बाहेकका अन्य सबै मागहरु पूरा हुन्छन् भन्दा उहाँहरुले लेखेर दिनुस् भन्नुभयाे, हामीहरुले लेखेर दिन सक्दैनाैं हामीमाथि विश्वास गर्नुस् भन्दा टोलीका सदस्य दीपेन्द्र अग्रवालले ममाथि अभद्र व्यवहार गर्नुभयाे, अन्य सदस्यहरुले नरोकेको भए त्यहाँ जे पनि हुन सक्थ्यो’ – पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन् । तर शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले भने मन्त्रालयमा त्यस्तो केही नभएको दाबी गरे । हामीले हाम्रो पनि प्रतिनिधित्व हुनुपर्छ भनेपछि वार्ता टोलीमा रहेका छ जनामध्ये ३ जनालाई समितिको सदस्यको रुपमा समावेश गरेर छलफल गर्ने सहमति भएको हो, त्यहाँ शेयर लगानीकर्ता संघका तर्फबाट उत्तम अर्याल, पुँजीबजार संघका तर्फबाट नगेन्द्र बास्ताेला र दबाब समूहका तर्फबाट तिलक काेइराला सहभागी हुनुभएकाे हाे, त्यसभन्दा बढी केही भएको छैन ।’- फुल्लेलले भने । अान्दाेलनरत पक्षका दुर्इ माग स्थगित अान्दाेलनरत पक्षाले उठाउँदै अाएकाे दुर्इ मागहरु नउठाउने सहमति भएकाे छ । अान्दाेलनरत पक्षकाे १ नम्बर बुँदामा रहेकाे अर्थमन्त्रीकाे राजीनामाकाे माग र १२ नम्बरमा रहेकाे बीमा कम्पनीकाे लाइसेन्समा भएकाे अनियमितताकाे छानविन गर्ने माग स्थगित भएकाे छ । वार्ता टाेलीमा सहभागीहरुले उक्त सम्बन्धमा छलफलमा कुनै एजेन्डा नउठाउने सहमति गरेका छन् ।
कामना विकास बैंक अब न्युरोडमा पनि, शाखा सङ्ख्या ६१ पुग्यो
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको खिचापोखरी स्थित न्युरोडमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । यो सहित बैंकको शाखा सङ्ख्या ६१ पुगेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताएका छन् ।
मिर्मिरे लघुवित्तले २४ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद जारी गर्ने, पुँजी १९ कराेड नाघ्ने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाले चुक्ता पुँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँको सो मात्राको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, संस्थाले २४ प्रतिशत बोनस पछि कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी १२ करोड ८७ लाख रुपैयाँ पुग्ने छ । त्यसमा ५० प्रतिशत हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी १९ करोड रुपैयाँ नाघ्ने छ । संचालक समितिको उक्त प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आठौँ वार्षिक साधारणसभा आगामी पुस २१ गते बस्दै छ । सो प्रयोजनको लागि संस्थाले आगामी पुस १० गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । साथै, सभाले संस्थाको वर्तमान अधिकृत पुँजी २० करोड बाट बढाएर ३० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्दै छ ।
गोर्खा इको प्यालनबाट ५२०० वर्ग फिटको क्षेत्रफलमा राष्ट्रिय आविष्कार केन्द्र निर्माण
कीर्तिपुर । गोर्खा इको प्यानलको प्रयोगबाट राष्ट्रिय आविष्कार केन्द्रको भवन निर्माण सम्पन्न भएकाे छ । डा. महावीर पुन अध्यक्षतामा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरभित्र उक्त केन्द्रको निर्माण सम्पन्न गरिएको हो । पाँंच हजार दुई सय वर्ग फिटको ठूलो क्षेत्रफलमा निर्माण गरिएको उक्त केन्द्रमा काम पनि शुरु भइसकेको छ । डा. महावीर पुन नेपालको प्रथम म्याग्नासेस पुरस्कार पाउन सफल नेपाली हुन् । उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी आविष्कारका कामहरु गर्दै आएका छन् । केन्द्रका लागि भबन निर्माण सम्पन्न भएपछि आगामी दिनमा आविष्कारको काम गर्न सजिलो भएको डा. पुनले बताए । साथै, उनले भवन बनाउनका लागि निर्माण सामाग्री सहयोग गरेकोमा इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल गोर्खा इको प्यानललाई धन्यवाद दिएका छन् ।
सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा बैंकको १४ अाैँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दिउँसो १ बजे देखि ४ बजे सम्म आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालसँगै बैंकका अन्य कर्मचारीको उपस्थित रहेको थियो । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता उक्त कार्यक्रम सम्पन्न भएको छ । हाल सानिमा बैँकको ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा एटिएम रहेको छ ।
नक्सा पास भएका पाँच राष्ट्रिय सम्पदाकाे पुन निर्माण अझै अन्याेल
काठमाडौँ । भूकम्पले क्षतिग्रस्त पाँच सम्पदा स्थल पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । साढे तीन वर्ष वितिसक्दा समेत खिचापोखरीको रणमुक्तेश्वर, टुँडिखेलको महाङ्काल मन्दिर, भक्तपुरको जङ्गम मठ, थापाथली कालमोचन घाटको जँग–हिरण्य–हेम–नारायण मन्दिरसँगैको सत्तल र वसन्तपुरको कुमारी घर पुनःनिर्माण कहिले हुने निश्चित भएको भएको छैन । उक्त सम्पदा स्थलको प्रारम्भिक अध्ययनका लागि पुरातत्व विभागको स्वीकृतिमा गुठी संस्थानलाई जिम्मेवारी दिइएको थियो । रु १२ लाख खर्च गरेर परामर्शदाता नियुक्त गरी नक्सा समेत बनाइसकेको उपप्रशासक दीपकबहादुर पाण्डेले बताएका छन् । पुनःनिर्माणका लागि स्वीकृति नआउँदा ती सम्पदा अलपत्र बनेका छन् । रणमुक्तेश्वर पुनःनिर्माणका लागि रु १४ करोड ६२ लाख २४ हजार, महाङ्काल मन्दिरका लागि रु २८ लाख ३० हजार, जङ्गम मठका लागि रु १३ करोड ९२ लाख, जँग–हिरण्य–हेम–नारायण सत्तलका लागि रु १३ करोड र कुमारी घरका लागि रु सात करोड ६८ लाख लाग्ने अनुमान गरिएको थियो । संस्थानले बनाएको नक्सा विभागले पास गरेपनि पुनःनिर्माण र नियमित दुबै बजेटमा समावेश नगरेको उपप्रशासक पाण्डेको भनाई रहेको छ । भक्तपुरको जङ्गम मठ भारत सरकारको अनुदानमा बन्ने सम्पदाको सूचीमा रहेको जानकारी दिँदै महाङ्काल (शनिदेव) मन्दिर र सङ्कटा मन्दिर गुठियारले नै बनाउन प्रस्ताव गरेका छन् । महाङ्काल मन्दिर अघि मूल सडकबाट तीन वटा भर्याङ राख्ने स्थानीयवासीको मागलाई स्वीकृति दिन नसकिने विभागले जनाएको छ । रणमुक्तेश्वर र जँग–हिरण्य–हेम–नारायण सत्तल आगामी आर्थिक वर्षमा पुनःनिर्माण गर्ने गरी कार्यक्रम बनाउन लागिएको बताउँदै संस्थानले परामर्शदाता नियुक्त गरेर गरेको कामको भुक्तानी विभागसँग माग नगरेको प्रवक्ता कुँवरले जानकारी दिएका छन् । रासस
तेस्रो नेपाल मेडिकल एक्स्पो सुरु [फोटोफिचर]
काठमाडौं। आजदेखि तेस्रो नेपाल मेडिकल एक्स्पो काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोको उड्घाटन स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले गरेका थिए। एसडी प्रोमो मिडिया प्रालि र केमिकल तथा मेडिकल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा मेला भएको हो। मेडिकल क्षेत्रको आधुनिक विकास हुँदै गर्दा नयाँ नयाँ ल्याब उपकरणहरु पनि भित्रिँदै गएका छन्। यस्ता उपकरणको बारेमा विस्तृत जानकारी गराउन तथा बिक्री गर्ने उद्देश्यले मेला चलिरहेको छ। तीन दिन चल्ने एक्सपोमा सर्जिकल र मेडिकल उपकरणका २०० भन्दा बढी स्टल राखिएका छन् भने नेपाल, भारत, पाकिस्तान, इजरायल, चीन आदि देशको सहभागिता रहेको छ।
आधुनिक कृषि बजार निर्माण गर्न ५० रोपनी बढीको जग्गा माग, साढे एक अर्ब लगानी गर्ने
काठमाडौं । गैर आवासीय नेपाली संघले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । संघका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई भेट गरी सो आग्रह गरेको हो । सङ्घले काठमाडौँमा कृषिजन्य पदार्थको प्रशोधन केन्द्र र काठमाडौं बाहिर सङ्कलन केन्द्र निर्माण गर्ने तयारी गरेको छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनी भन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि भाडामा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो । संघका कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङले एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने गरी सात जनाको विज्ञ समूहले आर्थिक प्रतिवेदन तयार गरिरहेको जानकारी दिए । कृषि उपज सङ्कलनका लागि प्रदेश नं १ सरकारसँग छलफल गर्ने उनले जानकारी दिए । नाफामूलक भन्दा पनि सामाजिक उत्तरदायित्वका लागि गर्न लागिएको उक्त कामले किसानलाई ठूलो राहत मिल्ने र तरकारी, फलफूल र मासुजन्य पदार्थको आयात न्यून गर्दै आत्मनिर्भरताका लागि सहयोग पुग्ने सङ्घका उपाध्यक्ष आचार्यको भनाइ छ । सङ्घले निर्माण गर्ने उक्त बजार सरकारको स्वामित्वमा रहने छ । जवाफमा मन्त्री खनालले प्रस्ताव उपयुक्त रहेको भन्दै प्रधानमन्त्रीसँग पनि आफूले छलफल गर्ने बताए । सङ्घलाई सहज हुने गरी कार्यविधि निर्माण गरिने मन्त्री खनालको भनाइ थियो । काठमाडौंंमा जग्गा अभाव रहेको भन्दै सहकारी र केही कम्पनीले पनि तरकारीको आधुनिक बजारका लागि जग्गा खोजिरहेको खनालले बताए । कृषि मन्त्रालयले पनि काठमाडौं उपत्यका प्रवेश गर्ने पाँच नाकामा कृषि बजार निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमा किसानलाई समेत निश्चित प्रतिशतमा अनुदान दिइनेछ । काठमाडौंमा उपयुक्त जग्गा प्राप्त भएमा कालिमाटीको फलफूल तथा तरकारी बजारलाई त्यहाँबाट विस्थापित गर्ने तयारीमा सरकार रहेको छ । काठमाडौंको मलपोखरीमा खानेपानी मन्त्रालयको स्वामित्वमा रहेको ६ सय रोपनीको जग्गा उपयुक्त भएको भन्दै मन्त्रालयसँग छलफल चलिरहेको खनालले उल्लेख गरे । त्यसमध्ये २०० रोपनी जग्गा उपलब्ध भएमा तत्कालका लागि कालिमाटीको बजारलाई मलपोखरीमा सार्न सकिने मन्त्री खनालको भनाइ छ । रासस