विकासन्युज

परिचित पर्यटकीय स्थल बन्दै शङ्खरापुर, होमस्टे संचालनको तयारी

काठमाडौं । श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा सञ्चालित प्याराग्लाइडिङ र स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढ्न थालेको छ । काठमाडौँको रत्नपार्कबाट १८ किलोमिटरको दूरीमा रहेको साँखुसम्म मोटरबाटोको स्तरोन्नति भएमा अन्तर्राष्ट्रिय पर्यटक बढाउन सहज हुने देखिएको छ । शङ्खरापुर होटेल एशोसिएशनका अध्यक्ष सुमन थापाका अनुसार हालसम्म सो क्षेत्रमा होटल व्यवसायका लागि रु एक अर्ब ६५ करोडको लगानी भइसकेको छ । यहाँका ३८ होटलमा गरी पाँच सय कोठाको क्षमता छ । चाँडै केही पाँच तारे होटल बन्ने तयारीमा छ । स्थानीय घरवास (होमस्टे) सञ्चालनका लागि पनि तयारी भइरहेको छ । शालिनदी, साँखु, मणिचूड, बज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता धार्मिक क्षेत्रका कारण यहाँ वर्षेनी धार्मिक पर्यटक वृद्धि हुँदैछन् । ती क्षेत्रलाई थप विकास गर्दै प्राकृतिक पहाडी वन जङ्गल, मणिचुड, झुले देउराली, जहरसिंह पौवा र थाना भञ्ज्याङलाई पर्यटकीय र धार्मिक क्षेत्रका रूपमा विकसित गर्न शङ्खरापुर नगरपालिकाले बजेट विनियोजन गरेपछि थप पर्यटकीय विकास हुने सम्भावना देखिएको छ । विसं २०६८ को जनगणनानुसार २५ हजार ३३८ जनसङ्ख्या रहेको र ६० दशमलव २१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको तीन हजार तीन सय वर्ष अगाडि बनेको शङ्ख आकारको यो शहर मौलिक पाँच ढोकाका कारणले पनि परिचित छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लासँग जोडिएको शङ्खरापुर नगरपालिकाको वनभोजस्थल जहरसिंह पौवामा नगरपालिकाले हिमाल र सूर्योदय अवलोकनका लागि हालै बनाएकोस्तम्भका कारण पनि यहाँ चहलपहल बढेको छ । थाना भञ्ज्याङ्गमा केबुलकार सञ्चालनको पनि पहल भएको छ । नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले विनाशकारी भूकम्पमा थिलथिलो भएका सम्पदा र भवनको पुनःनिर्माण गर्दै पर्यटनलाई पहिलो प्राथमिकता दिएर नगरवासीलाई समृद्धिका लागि लागेका छन् । ०७२ सालको भूकम्पमा यस नगरपालिकामा १०८ को मृत्यु भएको थियो भने छ हजार घर ध्वस्त भएका उक्त ठाँउमा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिने अनुदानमा नगरपालिकाका तर्फबाट थप रु एक लाख दिने नीति लिइएको जानकारी दिएका छन् । नगरपालिकाले चीनको ल्हासा नगरपालिका र अन्तर्राष्ट्रिय बौद्ध पर्यटन केन्द्रको सहयोगमा चाँपाबोट र चिहानडाँडामा स्रङचङगम्पो र भृकुटीको पार्क बनाउन पनि बजेट विनियोजन गरेको छ । नगर क्षेत्रभित्रको धार्मिक, सांस्कृतिक, पर्यावरणीय पर्यटनको सम्भाव्यता उजागर गर्न नगरस्तरीय एकीकृत पर्यटकीय गुरुयोजना तयार गरिने प्रमुख श्रेष्ठको भनाई रहेको छ । देउरालीस्थित शङ्खरापुर प्याराग्लाइडिङ प्रालिका सञ्चालक कुशल थापाले नियमित सञ्चालनका हिसाबले प्रदेश नं– ३ कै पहिलो प्याराग्लाइडिङ आफूले सञ्चालन गरेको र गतवर्ष तीन सय पर्यटकले मनोरञ्जन लिएको बताएका छन् । रासस

माछापुच्छ्रे बैंकको साधारणसभा पुस २० गते, सञ्चालकको बैठक भत्ता निर्धारण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको आगामी वार्षिक साधारणसभा पुस २० गते बस्ने भएकाे छ । उक्त सभाले १० प्रतिशत(कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेपछि कम्पनीले चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने बताएको छ । हाल बैंकको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस ६ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज गर्ने छ । साथै, सभाले संस्थापक समूहका सेयरधनीको तर्फबात सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने छ । सञ्चालक समितिमा सवैसाधारण समूहका सेयरधनीहरुको तर्फबाट कम्तिमा एक जना महिला सञ्चालक रहने व्यवस्था कायम गर्ने प्रस्तावलाई उक्त सभाले पारित गर्ने छ । त्यस्तै, सभाले सञ्चालक समितिको अध्यक्ष र सदस्यको बैठक भत्ता क्रमशः १५ हजार र १२ हजार रुपैयाँ कायम गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ ।

हिमालयन बैंक र चिरायू अस्पताल बीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता

काठमाडौं । हिमालयन बैंक र चिरायू अस्पताल बसुन्धारा, काठमाडौं बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायू अस्पतालका तर्फबाट संचालक चण्डेश्वरा नन्दराज वैद्यले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने सेवामा १५ % सम्म छुट दिने भएको छ ।

कृषि विकास बैंकका सिर्इअाे सिटौलाको कार्यकालमा निष्कृय कर्जा २ प्रतिशतमा झर्याे

काठमाडाैं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको चार वर्षको कार्यकाल सफलता पूर्वक सम्पन्न भएको बैकले जनाएकाे छ ।  २०७१ साल मंसिर २८ गते उक्त पदमा नियुक्ति भएका सिटौलालाई मंसिर २७ गते विदाई गरिएको छ  । कृषि विकास बैंकका उच्च व्यवस्थापनका रुपमा रहनु भएका उप–महा प्रबन्धकहरु पूर्णप्रसाद आचार्य, अरुणकुमार ढुंगाना, प्रताप सुवेदी, चुडामणी तिमिल्सेना, विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा बैंककमे केन्द्रिय कार्यालय रामशाहपथमा विदाई कार्यक्रममा आयोजना गरि विदाई गरेका थिए । उक्त विदाई कार्यक्रममा बैंकको तर्फबाट उप–महाप्रबन्धक पूर्णप्रसाद आचार्य र प्रताप सुवेदीले बैंकमा सिटौलाको नेतृत्व ७४/७५ सम्म आईपुग्दा क्रमशः निष्कृय कर्जाको मात्रा करिव ६ प्रतिशतबाट २ प्रतिशतमा आएको, कर्जा लगानी ६५ अर्वबाट बृद्धि भई १ खर्व १ अर्व पुगेको, ६६ अर्वको निक्षेपलाई बढाएर करिब १ खर्व ५ अर्व पुराएको, लामो समयदेखि फछर्यौट हुन नसकेको करिव ४ अर्ब ७५ करोड बराबरको कर दायित्व हिसाव फछ्र्यौट भएको ,लामो समय देखि फछर्योट हुन नसकेको हिसाव भिडान कार्य पूर्णरुपमा सम्पन्न भएको बताएका छन् । शाखा कार्यालय विस्तार गरी कार्यालय संख्या २६५ पुराइएको, अधिकांश शाखा कार्यालयमा सिबिएस जडान , एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, एस.एम.एस ,मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट लगायतका सुविधा उपलव्ध, नियमक निकायहरुबाट विशेष महत्व दिएको जानकारी दिँदै आगामी दिनमा पनि बैंकको समग्र उन्नतिका लागि राय,सल्लाह सुझाव निरन्तर रुपमा बैंकलाई उपलव्ध गराउन बैंकका तर्फबाट आचार्यले अनुरोध गरेका छन् ।  

एसबीआई बैंकले १५ प्रतिशत लाभांश दिने, बोनस सेयरपछि चुक्ता पुँजी ८ अर्ब ४४ करोड

काठमाडौं । नेपाल एसबिआई बैंकले १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकले १०.७९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताब गरेको छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा केही कम हो । गत वर्ष बैंकले १६.२३ प्रतिशत लाभांश दिएको थियो । बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि शेयरधनीले पाउने छन् । गत बर्ष बैकले एक अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । पहिलो त्रैमासको वित्तीय विवरण अनुसार हाल बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी आठ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । बैंकको जगेडा कोषमा पाँच अर्ब २६ करोड रुपैयाँ छ ।

कम्पनी दर्ता ऐन संशोधन गरेर ठूला प्राइभेट यातायात कम्पनी जन्माउने सरकारको तयारी

काठमाडौं । सरकारले यातायात समितिलाई कम्पनीमा रुपान्तरण हुने समय थप गरेको छ । कम्पनी दर्ता ऐन २०६३ को दफा ९ लाई संशोधन गर्ने भन्दै सरकारले व्यवसायीलाई म्याद थप गरेको हो । ऐनको दफा ९, सेयरधनिहरुको संख्या अन्तर्गत प्राइभेट कम्पनीहरुको संख्या ५० जना भन्दा बढी हुन नहुने उल्लेख गरिएको छ । यस ऐनले समितिमा रहेका सबै सदस्यहरुलाई एकै कम्पनीमा आबद्ध हुन रोक लगाएको छ । यो दफालाई संशोधन गरी संख्या बढाउने सरकारले तयारी गरेको हो । देशभर २९२ भन्दा बढी यातायात व्यवसायीहरु रहेका छन् । यी समितिहरु ठूलो कम्पनीको रुपमा दर्ता हुन चाहेको व्यवसायीहरु बताउँछन् । सेयरधनीको समस्या भन्दा पनि सम्पति रुपान्तरण मुख्य समस्या रहेको व्यवसायीहरुले निष्कर्ष निकालेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले सबै समिती कम्पनी मोडेलमा जादाँ स्वमित्वमा रहेको सम्पती सिधैं कम्पनीको नाममा जानुपर्ने माग राखेका छन् । समितिको सम्पति कम्पनीको नाममा स्थानान्तरण भए आफुहरु कम्पनी मोडेलमा जान तयार रहेको महासंघका महासचिव सरोज सिटौलाले बताए । उनका अनुसार सम्पति रुपान्तरणको व्यवस्था मिलाउन प्रधानमन्त्री, यातायात मन्त्री, गृहमन्त्री लगायतलाई ज्ञापनपत्र बुझाइएको छ । संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका संघ समितीहरुको चल अचल सम्पत्ति ,दायित्व ,कर्मचारी तथा सवारीसाधन रुपान्तरण सहितको प्राली मा रुपान्तरण गर्न महासंघले औपचारिक निर्णय गरिसकेको छ । ऐनको दफा १४ मा संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्नेछ भनी उल्लेख गरिएको छ ।

पोखरा फाइनान्सको निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । शनिवार हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोगमा गोरखा, पालु·टारस्थित श्री भवानी मा.वि. को प्रा·णमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको थियो । उक्त शिविरमा करिव २४० व्यक्तिहरुले आँखाको जाँच गराउनुको साथै विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिएका छन् ।

मिलेनियम ट्रेक पदयात्रा पर्यटनको सम्भावना, प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डकाे चासो

काठमाडौं । मिलेनियम ट्रेक व्यवस्थापन समितिले तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्गका गाउँमा घरबास कार्यक्रम सञ्चालनलाई जोड दिएको छ । पुतलीबजार नगरपालिका–२ स्थित भैंसे गौंडामा सामुदायिक होम स्टेको अवधारणासहित आफूहरू सक्रिय बनेको मिलेनियम भैंसे गौंडा सामुदायिक होम स्टेका अध्यक्ष बालकुमार गुरुङले बताएका छन् । मिलेनियम ट्रेक पदयात्रा पर्यटनको महत्वपूर्ण सम्भावनायुक्त स्थान भएका कारण यसको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डले पनि चासो देखाएको छ । जनशक्तिको अभाव भइरहेका अवस्थामा व्यक्ति व्यक्तिले घरमा घरबास सञ्चालन गर्न सक्ने अवस्था नभएको र सामूहिक प्रयासबाट पर्यटकले पनि राम्रो सेवासुविधा पाउनाका साथै यसलाई दिगो र प्रभावकारी राख्न सकिने देखिएर होम स्टेको अवधारणा अघि बढाइएको जनाएका छन् । त्यस्तै पदयात्रा मार्गकै वालिङ नगरपालिका–३ स्थित सिङ्गारकोट, बूढाकोट र राम्चे, वडा नं ४ स्थित गहते मनकामना, सुन्तला बारीमा, भिरकोट नगरपालिका–५ स्थित केघामा पनि सामुदायिक घरबास सञ्चालन भएको छ । मध्य पहाडी क्षेत्रको पहिलो पदयात्रा मार्गका रुपमा रहेको मिलेनियम ट्रेकअन्तर्गत तनहुँ र स्याङ्जा जिल्लाका साबिक २३ वटा गाउँ विकास समिति पर्दछन् । सामुदायिक घरबासको लक्ष्यका साथ लगभग १५ जना पर्यटकलाई एकै भवनमा राख्न सक्ने गरी भैंसे गौंडामा रु ५५ लाखको लागतमा छ कोठे भवन निर्माण गरिसकिएको छ । उत्पादनसँग घरबासलाई जोड्ने लक्ष्यका साथ सामुदायिक कृषिका माध्यमबाट अनुत्पादक बन्दै गएका बाँझा जग्गालाई उत्पादनयोग्य बनाउन राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह गठन गरी मेकाडामिया नटको खेती थालिसकिएको छ । समूहका अध्यक्ष समेत रहनु भएका गुरुङका अनुसार २५ घरपरिवार सदस्यका रुपमा रहेको समूहबाट लगभग ५ सय मेकाडामियाका बिरुवा लगाएको छ । आगामी दिनमा पर्यटकलाई प्राङ्गारिक उत्पादन खुवाउन अन्य कृषिका विकल्प पनि खोजिने बताएका छन् । ट्रेकअन्तर्गतकै पुतलीबजार नगरपालिका–९ स्थित पोखरीछापमा पनि समुदायमा आधारित घरबास सञ्चालनमा आइसकेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका स्थानीय समाजसेवी नवीनप्रकाश गुरुङले जानकारी दिएका छन् । समुदायकै सक्रियतामा पोखरीछापका प्राचीन संस्कृति घाटु, झोरा जस्ता नाचको संरक्षण एवम् विकासको प्रयास थालिएको छ । पदयात्रा गर्दै पोखरीछाप आइपुगेका पर्यटकले कोल्माकोटबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लम्जुङ, गणेश हिमाल सहितका हिमाली दृश्यका साथै पोखरा आसपासका काहुँकोट, हुडिकोट, कोट दरबार, बरपाण्डेथुम, ढोर दरबारलगायत पहाडी स्थानका रमणीय दृश्य एकसाथ अवलोकन गर्न सकिने गुरुङको भनाई रहेको छ । मिलेनियम ट्रेकअन्तर्गत तनहुँको शुक्लागण्डकी वडा नं १० स्थित रजस्थल, वडा नं १२ स्थित घरेडी, स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा नं ११ स्थित राइपुर, वडा नं १२ का चन्द्रकोट र डाँडागाउँमा सामुदायिक घरबास कार्यक्रम सञ्चालन भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताएका छन्र । रासस