गभर्नर नेपालले भने-अब जमाना बदलियो, नेपाली बैंक र वित्तीय संस्थाले नयाँ प्रबिधि भित्र्याउनु पर्छ
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले विश्व सूचना प्रविधिको क्षेत्रमा निकै अघि बढिसकेको भन्दै नेपाली बैंक तथा वित्तीय संस्थाहरु र त्यसका नियामक निकायले पनि नयाँ प्रविधि भित्र्याउनु पर्ने आवश्यकता औंल्याएका छन् । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल (बीएफआईएन) ले काठमाडौंमा आयोजना गरेको एकदिने डिजिटल विश्वका लागि मानव संसाधनको रुपान्तरण विषयक कार्यशालाको उद्घाटन समारोहमा गभर्नर नेपालले यस्तो कुरा बताएका हुन् । उनले भने–बैंक तथा वित्तीय संस्थाहरुले फिनटेक टेक्नोलोजी र नियामक निकायहरुले रेगटेक र सभटेक टेक्नोलोजीको प्रयोग गर्नु पर्छ । गभर्नर नेपालले टेक्नोलोजीको प्रयोगसँग मानव संसाधनको भूमिका रुपान्तरण गर्नु पर्ने भन्दै कार्यक्रम समयसामयिक रहेको बताए । ‘हामी ब्रिक टेक्नोलोजीबाट क्लिक टेक्नोलोजीमा रुपान्तरण हुँदैछौं, बदलिँदो युगलाई सम्बोधन गर्न वित्तीय संस्था र रेगुलेटरीहरुले प्रयोग गर्ने प्रविधि पनि समयानुसार परिवर्तन गर्दै जानुपर्छ । विग डाटा एनालाइसिस्ट, कृतिम बौद्धिकता, क्लाउड कम्पिटिङ र रोबोटिक अटोमेसनलाई प्रयोग गर्दै जानुपर्छ र यसैअनुसार मानव पुँजीको रुपान्तरण गरिनु आवश्यक छ ।’ गभर्नर नेपालले भने । कार्यक्रममा आयोजक बीएफआइएनका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले सन् २०३० सम्ममा विश्वका ६० प्रतिशत जनसंख्या प्रविधि परिवर्तनका कारण एउटा कामबाट अर्को काममा रुपान्तरण हुनुपर्ने आवश्यकता रहेको अध्ययनले बताएको भन्दै यसै परिप्रेक्षमा नेपाली बैंकिङ क्षेत्रले पनि त्यस्तो प्रविधि भित्र्याउनुपर्ने परिप्रेक्षमा कार्यक्रम आयोजना गरिएको बताए । होटेल र्याडिसनमा आयोजित उक्त कार्यक्रममा नेपाल र भारतका वित्तीय संस्थाहरुमा मानव संसाधन व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव सँगालेका व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
७ प्रदेशमा १९ औद्योगिक क्षेत्र थपिंदै, १६ हजार ८ सय बिगाहामा स्थापना हुने, ५ लाखलाई रोजगारी
काठमाडौँ । मुलुकका ७ प्रदेशमा १९ वटा औद्योगिक क्षेत्र स्थापना हुने भएसँगै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले त्यसको आवश्यक तयारी गरिरहेको छ । १९ वटा औद्योगिक क्षेत्रका लागि १६ हजार ८२३ विगाहामा जमिन उपयोग हुने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी भोजराज बिडारीका अनुसार हाल नेपालमा ५ हजार ९ सय ७ रोपनीमा मात्रै औद्योगिक क्षेत्र सञ्चालन भैरहेको छ । नयाँ बन्न लागेका १९ वटा औद्योगिक क्षेत्रमा ५ वर्षको अवधिमा ठूला, मझौला र विदेशी लगानीका साना उद्योगमा ५ लाख ७४ हजार ७ सय ५० जनालाई रोजगारी दिने दाबी सरकारको तयारी छ । प्रदेश नम्बर १ मा २१ विगाहामा औद्योगिक क्षेत्र प्रदेश नम्बर १ मा झापाको दमकमा २१ सय विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । ४११ विगाह जग्गाको मूआब्जा वितरण र बाँकी जग्गाको नापजाँच कार्य भैरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । प्रदेश नम्बर २ यता, प्रदेश नम्बर २ मा ३ वटा औद्योगिक क्षेत्र स्थापना हुँदैछ । सर्लाहीको मूर्तिया, रौतहट र धनुषाको सबैलामा गरी ५ हजार ९ सय विगाहामा औद्योगिक क्षेत्र निर्माण हुनेछ । सर्लाहीको मूर्तियामा नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । उक्त क्षेत्रमा ५ हजार विगाहामा औद्योगिक क्षेत्र निर्माण हुनेछ । वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ । रौतहट जिल्लामा भने औद्योगिक क्षेत्र कहाँ हुने टुंगिएको छैन । जग्गा पहिचानको कार्य भैरहेको छ । धनुषाको सबैलामा ९ सय विगाहामा जग्गा खोजी भइरहेको छ । प्रदेश नम्बर ३ मा थपिंदै ३ वटा औद्योगिक क्षेत्र प्रदेश नम्बर ३ को मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोर र काभ्रेको पनौतीमा गरी २०१६ विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । मकवानपुरको मयुरधापमा २ सय, चितवनको शक्तिखोरमा १७४१ र काभ्रेको पनौतीमा ७५ विगाहामा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण भैरहेको छ । डिपीआर स्वीकृत र परियोजना कार्यालय स्थापना भएको छ । मकवानपुर र चितवनमा वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ भने काभ्रेमा जग्गा पहिचानको कार्य भैरहेको छ । गण्डकी प्रदेशका कुन कुन जिल्लामा बन्दैछन् औद्योगिक क्षेत्र ? गण्डकी प्रदेशमा गोरखाको च्याङ्कफाँट, तनहुँको चिन्तुटार र कास्कीको तल्लोपडिटारमा गरी १ हजार ३०७ विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । गोरखाको च्याङ्कफाँटमा ८१२ विगाहा, तनहुँको चिन्तुटारमा ३७५ विगाहामा र कास्कीको तल्लोपडिटार १२० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । गोरखाको च्याङ्कफाँटको वातावरण प्रभाव मूल्याङ्कन, तनहुँको चिन्तुटारमा वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ, भने कास्कीमा जग्गा पहिचानको कार्य हुँदैछ । प्रदेश नम्बर ५ मा औद्योगिक क्षेत्रको काम के हुँदैछ ? प्रदेश नम्बर ५ को रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता र दाङको लक्ष्मीपुरमा गरी १७०० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । रुपन्देहीको मोतीपुरमा ८१३ विगाहा, बाँकेको नौवस्ता ३३८ विगाहा र दाङको लक्ष्मीपुरमा ४५९ विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । रुपन्देहीको मोतीपुर र बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र निर्माणका लागि डिपीआर र वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भैसकेको छ । दाङको लक्ष्मीपुरमा वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि प्रस्थाव मन्त्रिपरिषद्मा पेस भएको छ । कर्णाली प्रदेशमा के हुँदैछ ? सुर्खेतको साटाखानीमा, जुम्ला र दैलेखमा १३०० विगाहा जग्गा औद्योगिक क्षेत्र निर्माण हुँदैछ । सुर्खेतको साटाखानीमा ११ सय विगाहामा र जुम्लामा जग्गा पहिचान कार्य भइरहेको छ । दैलेखमा २०० विगाहाको औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ । सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम प्रदेशमा कैलालीको लम्की, कञ्चनपुरको दैजी र कञ्चनपुरको दोधारा चाँदनीमा २ हजार ५०० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । कैलालीको लम्कीमा ११०० विगाहा, कञ्चनपुरको दैजी ९०० विगाहा र कञ्चनपुरको दोधारा चाँदनीमा ५०० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । कैलालीको लम्की र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र निर्माणका लागि डिपीआर स्वीकृत भएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा औद्यागिको वातावरण प्रभाव मूल्याङ्कनको सम्बन्धी कार्य गर्न परामर्शदाता छनौटको काम भैरहेको छ ।
मधुमेह रोगी बढ्दो क्रममा, विशेष कार्ययोजना ल्याउन सरकारसँग माग
काठमाडौँ । पछिल्ला दिनमा मधुमेह (डायबिटिज) रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । मानिसको दैनिकीमा आएको परिवर्तसँगै उक्त रोग बढ्दै गएको चिकित्सकले औँल्याएका छन् । विशेषगरी शहरी क्षेत्रमा मदिरापान, धुम्रपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । शरीरको मोटोपनका कारण मुटु रोग तथा मधुमेहको जोखिम उच्च रहेको हुन्छ । डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसिएशन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्वारा संयुक्तरुपमा मधुमेह रोगसम्बन्धी आयोजित ‘मधुमेह रोग’ छलफलमा चिकित्सकले मधुमेह रोग नियन्त्रणका लागि सरकारले विशेष कार्ययोजना ल्याउन मागसमेत गरेको छ । मधुमेह रोग विज्ञ डा ज्योति भट्टराईले शहरी बासिन्दामा मधुमेह रोग बढ्दो क्रममा रहेको, मधुमेह नियन्त्रणका लागि नियमित औषधि प्रयोग गर्नेको सङ्ख्या समेत वृद्धि भइराखेको बताउँदै मधुमेह रोगका बारेमा जनचेना कार्यक्रममा जोड दिएका छन् । एशोसिएशनका अध्यक्ष डा दीना श्रेष्ठले मधुमेह रोग नियन्त्रण गर्न विभिन्न किसिमका औषधि उपलब्ध रहेको जानकारी दिँदै चिकित्सकको उचित सल्लाहनुसार मात्र प्रयोग गर्न सुझाव दिएका छन् । रोग नै नलाग्न दिन मानिसले उचित आहारविहारमा ध्यान दिन र दैनिक व्यायाम गर्नुपर्नेमा जोड दिएक छन् । डा श्रेष्ठले अधिक चिल्लोपना भएका खाना नखाने र नियमित व्यायाम गरेर नियमित चिकित्सकसँग परामर्श गरेमा यो रोग नै लाग्न नदिने सजिलो उपाय रहेको जानकारी दिएका छन् । अर्का मधुमेह रोग विज्ञ डा अमित शाक्यले चिल्लोपना भएका खाना कम खाने, नियमिति अभ्यास गर्ने, धुम्रपान तथा मदिरापान सेवन नगर्नाले मधुमेह रोगको जोखिम कम हुने बताएका छन् । पछिल्लो समय मधुमेह रोग नियन्त्रणका लागि एम्पाग्लिफ्लोजिन अति प्रभावकारी देखिएको जानकारी दिएका छन् । रासस
सम्पत्ति बीमा निर्देशिका परिमार्जित, एकीकृत सम्पत्ति बीमामा ६५ प्रतिशत शुल्क घट्ने
काठमाण्डौ । बीमा समितिले सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरेको छ । आज पत्रकार सम्मेलन गरी बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले परिमार्जित निर्देशिकाको बारेमा स्पष्ट पारेका छन् । सो अवसरमा उनले भने– परिमार्जित सम्पत्ति बीमा निर्देशिका अनुसार एकीकृत सम्पत्ति बीमामा ६५ प्रतिशत शुल्क घट्ने छ । निर्जीवन बीमा कम्पनीसँग सल्लाह गरेर मध्यम वर्गलाई लक्षित गर्दै निर्देशिक परिमार्जन गरेको हो–उनले पत्रकार सम्मेलनमा बताए । जमिनमा आधारित सम्पत्तिको लागि अग्नी बीमाको हालसम्म प्रचलनमा रहेको अग्नी बीमा सम्बन्धी सामान्य नियमहरु २०५८ असान्दर्भिक भैसकेको र वर्तमान बीमा बजारमा भएका थुप्रै बीमित र बीमक मैत्री नयाँ सिद्धान्त, अभ्यास र प्रचलनहरु अद्यावधिक हुन नसकेकाले निर्देशिका परिमार्जन गर्नु परेको पत्रकार सम्मेलनमा बताइयो । सम्पत्ति बीमालेख अन्तरगत सामान्य बीमालेख, मूल्याङ्कित सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख, घोषणा सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख र पुनस्र्थापना सम्पत्ति बीमालेख रहेका छन् । परिमार्जित बीमा निर्देशिकामा सबै प्रकारका बीमायोग्य जोखिमहरु एउटै प्याकेजमा अनिवार्य गरिएको र हुलदंगा तथा आतङ्कवा जोखिम समूह बाहेक अन्य कुनैपनि जोखि हटाउन नपाइने उल्लेख छ । घरबीमा अन्तरगत १ करोड भन्दा कम मूल्यको घरको बीमा प्रति हजार ४० पैसा(हुल दंगा तथा आतंकवाद जोखिम बाहेक) मा बीमा गर्न सकिने परिमार्जित निर्देशिकामा उल्लेख छ ।
जीवन विज्ञान प्रतिष्ठानलाई मुक्तिनाथ विकास बैंकद्धारा सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले जीवन विज्ञान प्रतिष्ठानकाे नयाँ ध्यान कक्ष निर्माणका लागि रु १ लाख सहयोग गरेकाे छ । उक्त रकम चेक मार्फत जीवन विज्ञान प्रतिष्ठानका विवेक गुरागाईलाई प्रदान गरिएकाे छ । जीवन विज्ञान प्रतिष्ठान मनुष्यमा अन्तरर्निहित प्रतिभा, सिर्जना, सुख, शान्ति र समृद्धिको मूलमन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैै आएको छ ।
महानगरलाई स्मार्ट सिटी बनाउन २० सुझाव, कस्ले जित्ला १७ लाख पुरस्कार ?
काठमाडौं । पहिलो पटक सुरु गरिएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा”का लागि अहिलेसम्म २० सुझाव परेको छ । महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समय अवधि निर्धारण गरी गत मङ्सिर २६ गतेदेखि सुरु गरेका प्रतिस्पर्धामा हालसम्ममा २० सुझाव प्राप्त भएको जनाइएको छ । काठमाडौँको समस्या पहिचान गरी निराकण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा, २०७५” सुरु गरेको हो । प्रतिस्पर्धाका लागि समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी चार विषय समेटिएका छन् । विषयमा रही महानगरलाई थप समृद्ध बनाउन जो कोही व्यक्ति वा संस्थाले आफ्नो क्षमता देखाउन सक्नेछन् । कामपाले प्रतिस्पर्धाका लागि इमेल ठेगाना मा लगअन गरी फाराम भर्न सकिने जनाएको छ । पहिलो चरणको फारामको ३२ दिनको समय दिइएको छ । कामपा सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतका अनुसार छनोट गरिएका सबै विषयमा सुझाव आउने क्रम जारी छ । प्रतिस्पर्धालाई विभिन्न छ चरणमा विभाजन गरी सम्पन्न गर्ने आयोजकको तयारी छ । सबै चरण समापन गर्न करिब छ महीनाको समय निर्धारण गरिएको पनि कामपाले जनाएको छ । नवीन सोचसहित विषयको आधारमा उत्कृष्ट ठहरिएका व्यक्ति वा संस्थालाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ । प्रतिस्पर्धामा भाग लिन नेपाली नागरिकले विश्वको जुनसुकै स्थानमा रहेर पनि यसको फाराम भर्न सक्नेछ । सङ्कलन भएका सुझावहरूबाट काठमाडौँको समस्या समाधान गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । रासस
नेपाल लाइफको उप कार्यकारी अधिकृतमा सन्तोष प्रसाईँ चयन
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको उप प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई चयन भएका छन् । यही पुस ६ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उनलाई उप प्रमुख कार्यकारी अधिकृतमा चयन गर्ने निर्णय गरेको हो । पुस ८ गतेदेखि लागू हुने गरी प्रसाईँलाई उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको कम्पनीका वित्त, लेखा तथा मानव संसाधन विभाग प्रमुख रोशन दवाडीले जानकारी दिए ।
जुनसुकै लगानीको विद्युत किन्न भारत तयार
काठमाडौं । भारतले नेपालमा उत्पादन हुने सबैखाले लगानीको विद्युत किन्ने भएको छ । भारतले क्रसबोर्डर विद्युत् व्यापार आयात निर्यात निर्देशिका परिमार्जन गरी विद्युत किन्ने भएको हो । भारतले अब जुनसुकै लगानीमा उत्पादन भएको विद्युत खरिदको बाटो खुलेको छ । भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली मात्रै किन्ने गरी निर्देशिका ल्याएको थियो ।