विकासन्युज

साढे ४ हजार सहकारीले प्रयोग गर्छन् ‘कोपोमिस सफ्टवेयर’, रोक्यो त अनियमितता ?

काठमाडौँ । सहकारी संस्थाहरुमा हुने अनियमितता रोक्न सहकारी विभागले शुरु गरेको ‘कोपोमिस’ सफ्टवेयर प्रभावकारी भएको छ ।नियमनकारी निकाय र सहकारी संस्था दुबैको सहजताका लागि एकवर्ष अघिबाट सो सफ्टवेयरको प्रयोग शुरु गरिएको हो । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीका अनुसार अहिले देशभरका साढे ४ हजार सहकारीले यो सफ्टवेयर प्रयोग गरिरहेका छन् । देशभरका सहकारीहरु बिस्तारै प्रविधिको पहुँचमा पुगिरहेको सहकारी विभागको सो तथ्याङ्कले देखाएको छ । रजिस्ट्रार कार्कीका अनुुसार-‘कोपोमिस सफ्टवेर’ले सहकारीका प्रतिवेदन पठाउन मात्रै सहयोग गर्ने नभई यसले बेला बखतमा हुने गरेका अनियमितताको अन्त्य गर्न पनि मद्दत पुर्याउँदछ । सफ्टवेयरले पारदर्शितामा मद्दत गर्ने उनले बताए । किन आवश्यक छ त कोपोमिस ? सहकारी क्षेत्रलाई प्रविधि मैत्री बनाउन कोपोमिसको आवश्यकता सहयोगी हुन सक्छ । सो सफ्टवेयरबाट एकिकृत डाटा बेस तयार पार्ने झन्झटबाट मुक्ती पाउन सकिन्छ । नियमनकारी निकायलाई अनलाईन प्रणाली मार्फत प्रतिवेदन पेश गर्न सकिन्छ । २०७२ सालबाट सहकारीमा यो सफ्टवेर प्रयोग गर्ने भनिएपनि २०७४/७५ बाट मात्रै औपचारिक सुरुवात भएको हो । यो सफ्टवेयर प्रयोग गर्न सहकारी विभाग प्रशिक्षण केन्द्र तथा केन्द्रीय सहकारी संघले तालिम प्रदान गर्दै आएका छन् । सहकारी संस्थाका सदस्य महिला पुरुषको संख्या थाहा पाउन, बचत तथा ऋणका बारेमा समेत सफ्टवेयरबाट थाहा पाउन सकिने सहकारी विभागले जनाएको छ । कोपोमिस सफ्टवेयर प्रयोगका लागि अहिलेसम्म साढे ४ हजार संस्थाले पासवर्ड तथा यूजरनेम लिएका छन् । ७६१ वटा नियमनकारी निकायले पासवर्ड लिएका छन् । ७५३ स्थानीय तह र सातै प्रदेशमा सफ्टवेयर पुगेको छ । सहकारी संस्थाले साधारण सभाको वार्षिक विवरण तथा निर्वाचन सम्बन्धी जानकारी सफ्टवेयर प्रयोग गरेर अनलाईनमा पठाउन सक्छन् । मासिक वित्तीय विवरण तथा नयाँ सदस्यको बारेमा थाहा पाउन सफ्टवेयर सहयोगी हुन्छ । सहकारी संस्थाका सदस्य महिला पुरुषको संख्या थाहा पाउन, बचत तथा ऋणका बारेमा समेत सफ्टवेयरबाट थाहा पाउन सकिने सहकारी विभागले जनाएको छ । एउटै स्थानीय तहमा एकै प्रकृतिको बचत एक व्यक्तिले १ भन्दा बढी ठाउँमा गर्न नपाउने व्यवस्था छ । सोही अनुरुप कार्ययोजना बनाएर सहकारी विभागलाई काम गर्न सहज बनाउन आवश्यक क्रियाकलापको निरीक्षणमा सफ्टवेरको योगदान दिनेछ । पछिल्लो समय सफ्टवेरको प्रयोग बाध्यकारी भएको छ । काठमाडौ महानगरपालिकामा१९ सय संस्थाले सफ्टवेयरको प्रयोग गरेको पाईन्छ । सफ्टवेयर सञ्चालनका लागि विभागले २४ वटा तालिम सम्पन्न गरेको छ । तालिममा ५० करोड भन्दा माथिको कारोबार गर्ने २३ सहकारी संस्थाले समेत सहभागिता जनाएका छन् ।

बेलायती उर्जा उत्पादक कम्पनी बीपीको खूद नाफा करिब १० अर्ब डलर

काठमाडौं । खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी बीपीको सन् २०१८ को खूद वार्षिक नाफा ९ अर्ब ४० करोड डलर भएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष सन् २०१७ को तुलनामा कम्पनीको नाफा झण्डै तीन गुणाले वृद्धि भएको हो । सन् २०१७ मा कर कटाएर कम्पनीको खूद नाफा ३ अर्ब ४० करोड रहेको थियो । बीपीको आम्दानी वृद्धि हुनुमा तेलको मूल्य बढ्नु र विदेशी विनिमय दरमा सुधार हुनु रहेको पनि कम्पनीले जनाएको छ । रासस/एएफपी

इक्रा रेटिङमा नेपाल इन्भेष्टमेन्ट बैंकले पायो ‘इक्रा एनपीआईआर ए प्लस’

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए प्लस’ प्राप्त गरेको छ । बैंकको व्यवसायिक आधार, पुँजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सा लगायत अन्य सम्बन्धित सुचांकहरुको स्तरको आधारमा उक्त क्रेडिट रेटिङ्ग प्रदान गरिएको हो । उक्त क्रेडिट रेटिङ प्राप्त संस्थाको कर्जा जोखिम औषत रहने छ । यसका साथै, बैंकले “८ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर-२०७८” को रेटिङ् इक्रा नेपालबाट “इक्राएनपी एलए प्लस” प्राप्त गरेको छ ।

गभर्नरलाई अर्थमन्त्रीको निर्देशनः स्प्रेड दर र आधार ब्याजदर नियमनमा कडाई गर्नु

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुको स्प्रेड दर र आधार ब्याजदरको गणनामा कडाई गर्न निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा बसेको उच्चस्तरिय वित्तिय क्षेत्री समन्वय समितिको बैठकमा मन्त्री डा. खतिवडाले बैंकहरुको कर्जा र निक्षेप ब्याजदरको अन्तर(स्प्रेड दर) र आधार ब्याजदर गणनामा कडाई गर्न निर्देशन दिएका हुन् । ‘केन्द्रिय बैंकले तोकेको स्प्रेड दर र आधार ब्याजदरको विद्यमान व्यवस्थाको कडाईका साथ कार्यान्वयन र आवश्यक परिमार्जनका लागि मन्त्रीज्युबाट निर्देशन भएको छ’, अर्थमन्त्रालयका सल्लाहकार डा. रामशरण खरेलले विकासन्युजसँग भने । उनले बैंकहरुको ब्याजदर बढी भएको भन्दै आन्दोलनरत व्यवसायीहरुको माग प्रति पनि बिशेष चासो राखेका थिए । मन्त्री खतिवडाले बैंकहरुको आधार ब्याजदर गणना बिधिमा समेत समय सापेक्षा परिमार्जन गर्न निर्देशन दिएका हुन् । साथै, बैंक तथा वित्तिय संस्थाहरुले डलर र तथा भारतीय मुद्रामा ऋण ल्याउन पाउने वर्तमान व्यवस्थालाई थप सहज बनाउन पनि उनले निर्देशन दिए । ‘आर्थिक वृद्धिदर बढाउन आन्तारिक पुँजीले मात्रै नपुग्ने भएकाले विदेशी पुँजी पनि आवश्यक पर्छ । त्यसका लागि बैंकहरुलाई विदेशी मुद्रामा ऋण ल्याउन गरिएको व्यवस्था कार्यान्वयनमा थप सहजता ल्याउन पनि निर्देशन भएको छ ।’, डा. खरेलले भने । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले बाणिज्य बैंकहरुका लागि निक्षेप र कर्जाको ब्याजदर अन्तर(स्प्रेड)लाई २०७६ असार मसान्तसम्म ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही समिक्षाबाट बाणिज्य बैंकहरुलाई आफ्नो आधार पुँजीको ५० प्रतिशतसम्म डलर र भारतीय मुद्रामा ऋण ल्याउन पाउने व्यवस्था गरिएको छ । यी दुवै व्यवस्थाहरुको कार्यान्वयन र थप परिमार्जन गरि सहजता बढाउन मन्त्रीले निर्देशन दिएका हुन् । अर्थमन्त्रीको अध्यक्षतामा रहने समितिको बैठकमा योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल धितो पत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की र बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागईँ सदस्य रहन्छन् । बैठकमा गभर्नर डा नेपाल, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, बैंकर्स एसोसियसनका प्रतिनिधी सहभागी थिए ।

अर्गानिक ईन्डियाको उत्पादन तुल्सीग्रिन टि नेपाली बजारमा

काठमाडौं । अर्गानिक ईन्डियाल आयोजना गरी अर्गानिक तुल्सी चिया नेपालमा भित्रिएकाे छ । चियाका पारखीहरुलाई लक्षित गरी कम्पनीले तुल्सीग्रिन टि का पामिग्रानेट, लिमनजिन्जर, क्लासिक, अर्ल ग्रे र जस्मिन गरी ५ विभिन्न स्वादमा नेपालमा ल्याएको हो । हाल भारतमा मात्र उत्पादन भईरहेको चिया नेपाली माटो, वातवारण र चिया उत्पादनको लागि सुहाउँदो जमिन पाएमा नेपालमा पनियसको उत्पादन गर्ने योजना रहेको अर्गानिक ईन्डियाका अन्तर्राष्ट्रिय व्यापारका जनरल म्यानेजर गुरप्रित सिंहले बताए । सिंहले नेपालमा अर्गानिक चियाबाट बजार शुरु गरेको र विस्तारै आफ्ना अन्य उत्पादनहरु पनि नेपाली बजारमा ल्याउने योजना रहेको जानकारी दिए । अर्गानिक चिया हाल भाटभटेनी तथा अन्य मार्टहरुमा मात्र पाइनेछ भने विस्तारै यसको बजार विस्तार गरी अन्य स्टोरहरुमा पनि उपलब्ध गराउने कम्पनीका काठमाडौंका लागि प्रबन्ध निर्देशक बल्ल भराज सिग्देलले जानकारी दिए ।

भ्यालेनटाइन डेको अवसरमा सिटी सेन्टरमा सामान किन्ने ग्राहकलाई विशेष छुट, कहिलेदेखि कहिलेसम्म ?

काठमाडौं । काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले प्रणय दिवस भ्यालेनटाइन डे २०१९ लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ । युवावर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फ्रेवरीमा १५ रूपैयाँ पुरस्कार राशीको डान्स कम्पिटिसन गरिने सिटी सेन्टरले जनाएको छ । त्यसैगरी, सिटी सेन्टरमा १ फ्रेवरीदेखि १४ फ्रेवरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्र मार्फत छनोट भएका एक जनालाई पोखराको प्रिमियम होटलमा २ रात ३ दिनको प्याकेजको व्यवस्था हुनेछ । सिटी सेन्टर भित्र यस अवधिमा किनमेल गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था रहेको जानकारी व्यवस्थापन पक्षले दिएको छ । कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्क गेमहरुको साथै लाइभ म्युजिकल कार्यक्रम आयोजन गरेको व्यहोरा विज्ञप्तीमा उल्लेख छ ।

भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा लाउँदा साढे ३२ करोड घोटला, यस्तो थियो कनेक्सन

काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३२ करोड ५२ लाख भ्रष्ट्राचार भएको छ । समाज कल्याण परिषद र अन्य व्यक्तिको मिलेमतोमा भ्रष्ट्राचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टी गरेको छ । आयोगले भ्रष्ट्राचारमा संलग्न रहेको भन्दै १४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरको छ । मुद्दा दायर हुनेहरुमा बद्री प्रसाद न्यौपाने, कुञ्ज बिहारी प्रसाद चौधरी, रबिन्द्र कुमार, मोशनराज शर्मा, मदन कुमार लाल कर्ण, हरी न्यौपाने, टेक बहादुर गुरुङ, रविन्द्र गुरुङ, रत्न गाहामगर, मदन प्रसाद रिमाल, बल बहादर स्वार, प्रेम सिहँ धामी र जगदेव चौधरी रहेका छन् । आयोगले गरेको अध्ययनमा जग्गाको हालसम्म तिरिरहेको रकमलाई वृद्धि गरी मासिक ५ लाख ५५ हजार तथा समयावधिलाई बढाई १५ वर्षको लागी फनपार्क मेला संचालन गर्न ठेक्कामा दिने निर्णय गरेको देखिएको छ । उनीहरुले सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा ४ अनुसार नेपाल सरकारले कुनै रकम वा कुनै अन्य कामको ठेक्का बन्दोबस्त गर्न परेमा टेण्डर आमन्त्रित गरी वा बढावढ वा घटाघट गराई ठेक्कामा दिनु पर्नेमा बोलपत्र आव्हान नै नगरी ठेक्का लगाएका थिए ।

नेप्से सामान्य अंकले बढ्दा सामुदायिकका लगानीकर्ताकले कमाए ९ प्रतिशत बढी, अपरको सबैभन्दा बढी कारोबार

काठमाडौं । यस साताको शुरुदेखि निरन्तर घटेको बजार आज तेश्रो दिन भने सामान्य अंकले बढेको छ । दिनभर उतारचढाव भएको बजारमा नेप्से परिसूचक २.८३ अंकले बढेर ११४७.१० अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले सोमबारको तुलनामा मंगलबार ९.८८ प्रतिशत कमाएका छन् । बजारमा कुल १६३ कम्पनीको २३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोको २ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४३ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले घटेको हो । सोमबार अपरको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ रहेको थियो ।