विकासन्युज

मेलम्चीको भविष्यबारे मेलम्ची बोर्ड र सिएमसीका प्रतिनिधिहरुबीच सिंगापुरमा वार्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरु बीच वार्ता भईरहेको छ । वार्ता सिंगापुरमा जारी छ । सिएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा छलफल भईरहेको छ । मेलम्चीको काम छिटो भन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने नभए विकल्पका रुपमा अन्य कदम चाल्ने विषयमा खानेपानी मन्त्रालयले गृहकार्य गरिहेको छ । आयोजना समाप्त नहुँदै काम छाडेर भागेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गत माघ ६ गते पत्राचार गरेको थियो । भोलिसम्म थप छलफल गर्न सिएमसीसँग वार्ता भईरहेको छ । निकास निकाल्न सिएमसीसँग सिंगापुरमा पहिलो चरणको वार्ता भईरहेको हो । यसअघि औपचारिक र अनौपचारिक रुपले सिएमसीका प्रतिनिधिहरुसँग छलफल भईरहेको थियो । दिल्लीस्थित नेपाली र ईटालीका राजदूत बीच यस विषयमा छलफल समेत भएको थियो ।  यसअघि सीएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिई आयोजनास्थल छाडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको थियो । त्यसैगरी आर्थिक रूपमा टाट पल्टेको भन्दै खारेजीका लागि इटाली सरकारलाई सीएमसीले निवेदन दिएको विषयमा स्पष्ट पार्न पनि उल्लेख गरिएको थियो । ठेकेदार कम्पनी सिएमसीसँग कुनै सहमति नभए सरकारले कानुनी व्यवधान नआउने गरी औपचारिक रुपमा ठेक्का सम्झौता तोड्ने छ ।

पश्चिम नेपालमा प्रभु लाइफ इन्स्योरेन्सका नयाँ तीन शाखा एकैसाथ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका नयाँ तीन शाखा कार्यालयहरु एकैसाथ उद्घाटन भएका छन् । नेपालगञ्ज, घोराही र बुटवलमा प्रभु लाइफ इन्स्योरेन्सको शाखा विस्तार भएका छन् । उक्त तीनवटै शाखा कार्यालयहरुको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरे गरेका हुन् । अध्यक्ष घिमिरेले शाखा विस्तारको क्रममा रहेको र जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालमा शाखा विस्तार गर्ने क्रममा बताएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाई र श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख हरिशरण चौलागाईकोे उपस्थिति रहेको थियो । समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले जीवन बीमालाई गाँउसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका थिए । दुई अर्ब चुक्तापूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६०करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।

७ अंकले घट्यो नेप्से, २३ करोडको कारोबार हुँदा अपर तामाकोशीको सबैभन्दा बढी

काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ७.३८ अंकले घटेको छ । आज ०.६४ प्रतिशतले परिसूचक घट्दा ११३९.७२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६७ कम्पनीका ७ लाख ४६ हजार ९ सय ४६ कित्ता शेयर कारोबार भएको छ । समग्र नेप्सेमा आज २३ करोड ५६ लाख ३६ हजार ८ सय ५९ रुपैयाँको कारोबार छ । नेप्से परिसूचक दिन आज सबै समूह राताम्मे भएका छन् । बैंकिङ समूह ५.८४, ट्रेडिङ समूह ०.१७, होटल होटल समूह १३.९, विकास बैंक समूह २.३८, जलश्रोत समूह १५.५, वित्त समूह ४.१९, निर्जीवन बीमा समूह २७.५४, उत्पादनमूलक समूह २५.४८, अन्य समूह ३.४८, लघुवित्त समूह १०.८३ र जीवन बीमा समूह ४६.९५ अंकले घटेको छ । बजार घटेको दिन आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.९७ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी ग्लोबल आइएमई सम्मुन्नत स्कीमका लगानीकर्ताले सबैभन्दा बढी ४.८१ प्रतिशतले गुमाएका छन् । आज अपर तामाकोशी हाइड्रो पावरको सबैभन्दा बढी १ करोड ६२ लाख ४० हजार २ सय ८६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दोश्रोमा नेपाल बैंक लिमिटेडको १ करोड ४५ लाख ८८ हजार ७६ रुपैयाँ र तेश्रोमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ करोड १५ लाख १६ हजार २ सय ७७ रुपैयाँको शेयर कारोबार भएको छ ।

देवघाटको महेश सन्यास आश्रमलाई कृषि विकास बैंकको सहयोग

काठमाडौं । देवघाटको महेश सन्यास आश्रमलाई कृषि विकास बैंकको सहयोग गरेको छ । कृषि विकास बैंकका क्षेत्रिय निर्देशक बाबुकाजी थापाले आश्रमलाई कम्प्युटर, प्रिन्टर, डिजिटल नोटिस बोर्ड लगायतका सामग्री महेश सन्यास आश्रमका अध्यक्ष रमणानन्द गिरिलाई हस्तान्तरण गरेका थिए । बैंकले गरेको सहयोगबाट आश्रममा अध्ययनरत विद्यार्थीहरु लाभान्वित हुने बताउंदै यस्तो प्रकारको सहयोग भविष्यमा पनि जारी रहने जनाए । तनहूँको धार्मिक स्थल देवघाटमा महेश सन्यास आश्रमको रजत जयन्तीको अवसरमा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधाम विराट ज्ञानमहायज्ञको एक भव्य समारोहकाबीच उद्घाटन भएको थियो । संचारविद पुरुषोत्तम सापकोटाले संचालन गरेको उद्घाटन सत्रकोे सभापतित्व महेश सन्यास आश्रमका अध्यक्ष रमणानन्द गिरिले गरेका थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री  थममाया थापा मगरले देवघाट जस्तो पवित्र स्थललाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सरकार लागि परेको बताए ।

अण्डा उत्पादन किसान आन्दोलित, प्रतिक्रेट ३०० रुपैयाँ मूल्य पाउनु पर्ने माग

चितवन । लेयर्स कुखुरापालक कृषकले लागतअनुसारको मूल्य नपाएपछि नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले नारायणगढमासँगै रहेको दाना वितरक सङ्घको कार्यालयमा पनि ताला लगाएका छन् । सङ्घले किसानको हितमा काम गर्न नसकेको आरोप लगाउँदै पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घ र पूर्वी चितवन अण्डा उत्पादक किसान आन्दोलित भई मङ्गलबार तालाबन्दी गरेका हुन् । विचौलियाका कारण अण्डाको मूल्य पाउन नसकेपछि आन्दोलित हुनु परेको पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । नेपाल अण्डा उत्पादक सङ्घले समस्या समाधानका लागि विक्रेता र किसानलाई बोलाएको भए पनि विक्रेता नआएपछि किसानले तालाबन्दी गरेका हुन् । हाल बजारमा दानाको मूल्य बढेर प्रतिकिलो ५३ पुगेको भन्दै सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले ठूलो अण्डा प्रतिक्रेट २३० मा मात्र बिकेको बताए । अहिलेको लागत मूल्यअनुसार कृषकले प्रतिक्रेट ३०० पाउनुपर्ने उनको भनाइ छ । हाल बजार मूल्यअनुसार किसानले एउटा अण्डाको हाराहारी आठ रुपैयाँ पाएका छन् । सोही अण्डा उपभोक्ताले खरीद गर्दा १५ तिर्नुपर्ने बाध्यता छ । दानाको मूल्य बढेपछि दैनिक कृषकले नोक्सानी बेहोर्दै आएका छन् । चल्लाको मूल्यमा समेत अस्वभाविक वृद्धि भएपछि ब्रोइलर कुखुरापालक कृषकले गत महीनामात्र चल्ला उठाउन रोकेर आन्दोलन गरेका थिए । हाल नेपालमा दैनिक ३५ लाख वटा अण्डा उत्पादन हुँदै आएको छ । दुई हजारभन्दा बढी कृषक लेयर्स कुखुरापालनमा आबद्ध रहेका छन् । सङ्घका केन्द्रीय सचिव मदन पोख्रेलका अनुसार लेयर्स कुखुरापालनबाट मात्र एक लाख ७० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अण्डा उत्पादनका क्षेत्रमा मात्र देशभरमा ५० अर्ब हाराहारी लगानी भएको पोख्रेलको भनाइ छ । रासस

कैलाश विकास बैंक र सिरहाली सेवा समाजको सहकार्यमा दुई दिने स्वास्थ्य शिबिर  

काठमाडौं । कैलाश विकास बैंक र सिरहाली सेवा समाज नेपाल काठमडौंको सहकार्यमा सिरहामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका १२ स्थित विष्णुचरण श्रेष्ठ मा विमा र सिरहा नगरपालिका वडा नं. १ हाटबजार, दुर्गा मन्दिरको प्राङ्गणमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । २७ जना स्वास्थकर्मी सहितको टोली संलग्न उक्त स्वास्थ्य शिबिरमा करिब ३००० जना सर्वसाधारणले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएको बताइएको छ । सो अबसरमा बिरामीहरुलाई आवश्यक   औषधि पनि निःशुल्क बितरण गरिएको थियो । बैकले आगामि दिनहरुमा अन्य सामाजिक सेवाका कार्यहरु पनि गर्दै जाने कैलाश विकास बैकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

उदयपुर सिमेन्ट उद्योगमा के भयो ? ३ सातामा ३ करोड घाटा !

गाईघाट । केही समयदेखि नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पुनः घाटामा जान थालेको छ । डेढ वर्षदेखि विद्युतभार कटौतीको अन्त्य भएपछि नाफामा गएको उदयपुरको जलजलेमा अवस्थित सो उद्योग अहिले फेरि विद्युतभार कटौती शुरु भएसँगै सिमेन्ट उत्पादनमा कमी भई घाटामा गएको हो । पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म विद्युतभार कटौती हुन थालेपछि सिमेन्ट उद्योगले झण्डै तीन करोडभन्दा बढी घाटा व्यहोर्नुपरेको सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए । एक महिनाअघिसम्म दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको सिमेन्ट उद्योगले अहिले विद्युतभार कटौती हुन थालेपछि दैनिक ६५० मेट्रिक टनसम्म मात्र उत्पादन भएका कारण पुनःसिमेन्ट उद्योग घाटामा जान थालेको निमित्त महाप्रबन्धक साहले बताए । सिरहा लहान गाईघाटको विद्युत् लाइनको उद्योग क्षेत्रमा दैनिक विद्युत्भार कटौती हुन थालेको र सम्बन्धित निकायलाई पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि यसको समाधान नभएपछि उद्योगमा सिमेन्ट उत्पादनमा कमी आई पुनः घाटामा जान थालेको उद्योग प्रशासनले बताएको छ । एक दिनमा पाँचपटकसम्म पटकपटक विद्युत्भार कटौती हुँदा सात लाखदेखि १० लाखभन्दा बढी घाटा हुने गरेको पनि उद्योग प्रशासनले बताएको छ । उद्योग स्थापनाकालदेखि घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले डेढ वर्षदेखियता आएर ५० करोडभन्दा बढीको नाफा गर्न थालेका बेला विद्युत्भार कटौतीका कारण उद्योग पुनःघाटामा जान थालेको उद्योग प्रशासन बताउँछन् ।

फाल्नु पर्दैन भैंसीको छाला र हड्डीः बनाउन सकिन्छ आकर्षक सामाग्री, यस्तो छ व्यापार

काठमाडौ । भैंसीले मानिसलाई दूध दिन्छ, त्यो दूधको सेवनबाट मानिस स्वस्थ हुन मद्दत गर्छ । भैसीलाई दूध मात्र होइन मासुका रुपमा पनि उपभोग गरिन्छ । मःम भन्ने बित्तिकै भैंसीको मासुबाट बनाइएको परिकार बुझिन्छ । तर भैंसीको मासु उपभोगमा ल्याएपछि पाल्ने गरिएको छाला र हड्डीबाट विभिन्न आकर्षक सामाग्री बनाएर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको छ । अरु पशुपन्छीका हाड, छालालाई पनि उपयोगमा ल्याउन सकिन्छ, तर आज भैंसीको छाला र हड्डीको उपयोग सम्बन्धी चर्चा गरेका छौँ । भंैसीको मासु खाद्य उपयोगको लागि प्रयोग हुन्छ, त्यसबाट निस्कने हड्डीलेपनि बलिया सामाग्री निमार्णमा सहयोग पुर्याउँछ । छाला खेर जाने वस्तु भएपनि यस्को प्रयोग गरेर महङ्गा आवश्यकीय सामाग्री बनाउन सकिने ठमेल अर्थपिस ह्याण्डी क्राफ्टका सञ्चालक सुवास आचार्यले बताए । नेपालमा संकलन र प्रशोधन गरिने छाला अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्षम रहेपनि प्रविधिका कारण केही पछि परेको आचार्यले बताए । ठमेलमा रहेको चेन्नाइल ह्याण्डी क्राफ्टका प्रोप्राइटर शिवप्रसाद दाहाल भन्छन्–‘भैसीका छालाबाट बन्ने सामाग्री सस्तो, महङ्गो दुवैथरीका मूल्यमा पाईन्छ । हाम्रै देशमा निर्माण हुने सामाग्री भएकाले यस्ता चिजको उपयोग गर्न सकेमा स्वरोजगार बन्न सकिने उनले बताए । यो व्यवसाय गरेको करिब ९ बर्ष भएको उनले बताए । के के बन्छ भैंसीको छालाबाट ? भैंसीको छाला प्रयोग गरेर विभिन्न हस्तकलाका सामाग्रीहरु बनाउन सकिन्छ । नेपालमा नै पर्स, व्याग, टोपी, पेटी, जुत्ता, ल्यापटप बोक्ने झोला लगायतका सामाग्री भैंसीको छाला प्रयोग गरेर बनाइदै आएको छ । पर्सको सामान्यतया ४ सय रुपैयाँ पर्ने भएपनि ल्यापटप ब्यागको १० हजार रुपैयाँ भन्दा माथि समेत पर्ने गरेको छ । छालाबाट बनेको टोपीको मूल्य १३ सय र पेटीको साढे ५ सय रुपैयाँ पर्ने गरेको व्यवसायी बताउँछन् । कसरी तयार हुन्छ त छाला ? भैसीको छाला सामान्यतया काठमाडौँ बाहिरबाट ल्याउने उपत्यकामा भित्रने गर्छ । छालालाई ताछ्न तथा सुकाउन गर्न केही झण्झट हुने र नराम्रो गन्ध आउने भएकाले बस्ती कम भएको ठाउँमा छाला तयार गरिन्छ । यसरी तयार भएको छाला धादिङ, नुवाकोट, सिन्धुपाल्चोकबाट उपत्यका भित्रिने गर्छ । कच्चा छालालाई उपयोग योग्य बनाउन सबैभन्दा पहिला चुना पानीमा डुबाएर १५ दिनसम्म राख्नुपर्छ । यसरी १५ दिनसम्म राखीसकेपछि भित्र बाहिरको छाला ताछ्नु पर्छ । यसरी छाला ताछि सकेपछि धगेरो नामक घाँसमा मिसाएर त्यसलाई सुख्खा बनाउनु पर्छ । यति कार्य गरेपछि छाला साह्रै कडा बन्छ । सोही कडा भएको छालालाई नरम बनाउन तोरीको तेलले माड्नु पर्छ । त्यसपछि मात्र छाला कच्चा अवस्थाबाट सामाग्री बनाउन योग्य बन्छ । यो प्रक्रिया पूरा हुनलाई करीब ४५ दिनसम्मको समय लाग्ने गर्छ । २ बर्ष अघिसम्म छाला ताछ्ने काम मान्छेले नै गर्दै आएका थिए । अहिले छाला ताछ्न मेसिनको प्रयोग गर्ने थालेकाले एकैदिनामा सयौँ भैसीको छाला ताछ्न सकिन्छ । विगतका दिनमा मेसिनबिना छाला ताछ्दा एक जनाले दिनमा दुईबटा छाला मात्र ताछ्न भ्याउथे । एउटा भैंसीको तयारी छाला ७ सय रुपैयाँका दरमा काठमाडौं भित्रिन्छन् । हड्डीबाट बन्छन् यी सामाग्री भैंसीको हड्डीबाटपनि माला लगायतका सामाग्री बन्ने गरेका छन् । हड्डीबाट ब्रासलेट, माला, नेकलेस, किरिङ् बनाउँदा बलियो हुने गर्छ । एउटा किरिङ्को मुल्य २० रुपैयाँदेखी ५ सयसम्म पर्ने गर्छ । यस्तै, मालाको भने ३ सयदेखी ६ सय रुपैयाँसम्म पर्ने गरेको छ । हातमा लगाउने ब्रासलेट भने ८० रुपैयाँदेखी ५ सयसम्म पर्ने गरेको पाईन्छ । ठमेलमा खुकुरी पसल सञ्चालन गर्दै आएका भोज थापा भन्छन्–‘नेपाल पशुपालन गर्ने देश हो, यस्तो देशमा रहेको हामीले आफ्नै पशुबाट निर्माण हुने सामाग्रीमा जोड दिन सकेमा व्यापारिक विकास चाँडै हुने निश्चित छ । थापाले खेर जाने सामाग्रीलाई प्रयोग गरेर सजावटका सामाग्री बनाउने भएकाले यस्को आफ्नै किसिमको महत्व हुने बताए । हड्डीको बिड भएको एउटा खुकुरीको मूल्य नेपाली बजारमा ३ हजार रुपैयाँ पर्छ । सोही खुकुरीमा काठको बिड लगाउँदा त्यसको मूल्य २२ सय रुपैयाँ मात्र पर्छ । साथै, हड्डीबाट निर्माण भएको खुकुरीको बिड काठबाट निर्मित बिड भन्दा निकै बलियो हुन्छ । भैसीको छालाबाट बनाएको खुकुरीको दापको मूल्य ५ हजार रुपैयाँ परेपनि अन्य दाप ३ सय रुपैयाँ नै पाईन्छ । भैंसीको सिङपनि आउँछ प्रयोगमा भैंसीको सिङ समेत प्रयोगमा आउने गरेको छ । एउटा सिङको मूल्य नै १५ सय पर्ने गरेको छ । भैंसीको सिङको बिड राखेको खुकुरीको मूल्य ५ हजारसम्म पर्ने गरेको व्यवसायीले ठमेलका व्यवसायी भोज थापाले बताए ।