विकासन्युज

३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रीबी आयोजनाको शिलान्यास, प्राधिकरण र टेलिकमको मुख्य लगानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको शिलान्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आइतबार नुवाकोटको किस्पाङ गाउँपालिका–५मा आयोजनाको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएता पनि प्रधानमन्त्रीको कार्यक्रम विशेष कारणले स्थगित भएपछि मन्त्री पुनले शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री पुनले केन्द्रीय राजधानीबाट नजिकै भएकाले विद्युतको लोड व्यवस्थापनका लागि आयोजना महत्वपूर्ण रहेको उल्लेख गर्दै नर्माण तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली ३बी निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत् आपूर्तिमा ठूलो योगदान पुग्ने बताए । इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्ने छ । घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामाग्रीको परिचालन गरी मुख्य सुरुङ (३८००मिटर), विद्युत गृह, सर्ज ट्यांक लगायतका संरचनाको काम सुरु गर्ने अवस्थामा रहेको जानकारी दिए । ३ वर्ष निर्माण अवधि रहेको आयोजनाको काम २९ फागुन २०७७भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको उनले बताए । नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि एको क्यास्केड आयोजना हो । क्यास्केड भएकाले माथिल्लो त्रिशूली थ्री बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन । आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको आयोजनामा ३० प्रतिशत इक्विटी(२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । आयोजनामा नबिल बैकको अगुवाईमा गठन भएको सह-वित्तीयकरणमार्फत ऋण लगानी हुने छ । प्रवद्र्धक कम्पनी र बैकहरुबीच ४ भदौ २०७५ मा ऋण सम्झौता भइसकेको छ । आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ । विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने कम्पनीका प्रबन्ध-सञ्चालक मोहन गौतमले बताए । आयोजनाको विद्युत आयोजनाको विद्युत गृहबाट करिव ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रीबी हब सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने छ ।

४७० जना बिरामीहरुमा इन्फ्लूएंजा भेटियो

काठमाडौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट प्राप्त तथ्यांक अनुसार घाँटीको र्‍याल नमुना परिक्षण गरिएकोमा ४७० जना बिरामीहरुमा इन्फ्लूएंजा भएको प्रमाणित भएको छ। २०७५ मंसिर महिना देखी माघ २९ सम्म १०३९ जना बिरामीहरुको घाँटीको -यालको नमुना परिक्षण गरिएको थियो। ती मध्ये ४०९ जनामा ईन्फ्लुन्जा ए एच वान एन वान ( pdm 09), १५ जनामा इन्फ्लूएंजा ए एच ३ र ४६ जनामा इन्फ्लूएंजा बि भएको भेट्टाईएको छ। गत पौष महिना देखी माघ २३ सम्ममा काठमाडौँका अस्पतालहरुमा इन्फ़्लुएन्जा रोग प्रमाणित ६ जना व्यक्तिको जटिलता भई मृत्यु भएको थियो। संकलन गरिएको ६ जना मृतकको नमुनाको परिक्षण गर्दा सबैमा इन्फ्लूएंजा नेगेटिभ पाइएको थियो। हाल इन्फ्लूएंजा रोगको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, ललितपुरमा निशुल्क रुपमा भईरहेको छ। इन्फ्लूएंजाका बिरामीहरुको उपचारका लागि आवश्यक पर्ने एन्टी भाईरल औषधि Tamiflu (Oseltamivir) दैनिक रुपमा महाशाखाले विभिन्न सरकारी तथा निजी अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको छ। ।

स्पर्स लघुवित्तले सम्पन्न गर्यो चालु आर्थिक वर्षकाे अर्धबार्षिक समिक्षा गोष्ठी

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरुको लागि आर्थिक वर्ष २०७५/०७६ को अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । शनिबार बन्दीपुरमा आयोजित एक दिने समिक्षा गोष्ठीको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सजल खड्काले संस्थाको चालु आवको अर्धबार्षिक प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा चुनौती, अवसरहरु, वित्तीय संस्थाको यस आ.ब.को लक्ष्य तथा यसको प्राप्तीका रणनीति आदिका बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए । वित्तीय संस्थाका विभागीय प्रमुखहरुले सहजिकरण गरेको उक्त गोष्ठीमा शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या तथा चुनौति, रणनीतिहरुको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगति प्राप्ती गर्ने प्रतिवद्धता जनाएका थिए । वित्तीय संस्थाले सदस्य विस्तार, ऋणी सदस्य, लगानीमा रहि रहेको कर्जा, बचत र नाफामा उत्कृष्ट हुने शाखा कार्यालयहरु तथा शाखा प्रवन्धक हरुलाई पुरस्कृत समेत गरेको थियो । वित्तीय संस्था जनशक्ति व्यवस्थापन विभाग प्रमुख पवन बरालले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा विभागीय प्रमुखहरु र विभिन्न २० वटा शाखाका शाखा प्रवन्धकहरुको सहभागीता रहेको थियो ।

प्रभु बैंक डडेलधुराको नवदुर्गामा, आजैबाट कारोबार शुरु

काठमाडौं । प्रभु बैंक लिमिटेडले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४मा आइतबारदेखि बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा आएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले एक समारोहकाबीच बैंकको नवदुर्गा शाखा कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बैंकको यस नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताएका छन् । आजदेखि सञ्चालनमा आएको बैंकको नवदुर्गा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।

६५ प्रतिशत हकप्रद पछि नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७१.५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५३७.५४ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको आइतबारको सेयर बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । आइतबार प्रतिकित्ता ३७१ रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य बढेर ३९५ रुपैयाँसम्म कारोबार भएको छ ।

नेपालगञ्जकाे ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पायाे पाँचतारेको मान्यता, अब लाइभ क्यासिनो शुरू गर्ने

काठमाडौंं । नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ । वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो । विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको हाटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले जानकारी दिए । सरकारले काठमाडौं बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछि अहिलेकै पूर्वाधारमा होटलले पाँचतारेका लागि आवेदन दिएको थियो । नेपालकै पहिलो हरित (ग्रिन) होटल दाबी गरिएको सो होटलले प्रयोगमा ल्याएको सम्पूर्ण प्रविधि पूर्ण वातावरणमैत्री छ । सोल्टी वेस्टेण्ड प्रिमियर कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गर्ने र कम ऊर्जा खपत गर्ने नेपालकै पहिलो होटल मानिएको छ । खड्काका अनुसार बिएमएक (बिल्डिङ म्यानेजमेन्ट सिस्टम), जिरो कार्बनफुटप्रिन्ट, वातावरण अनुकूलनका लागि रेडियन्ट टेक्नोलोजीको प्रयोग, होटलबाट निस्कने फोहरलाई प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा ट्वाइलेटको फलस, बगैँचा र चिलर प्लान्टलाई कुलिङ गर्नका लागि प्रयोग गरिनुका साथै ठोस वस्तुलाई प्राङ्गारिक मलका रुपमा प्रयोग गर्नु होटलको विशेषता हो । काठमाडौँको होटेल सोल्टी क्राउन प्लाजा लिमिटेडकै भगिनी संस्थाका रुपमा नेपालगञ्जमा सोल्टी वेस्टेण्ड सञ्चालनमा आएको छ । पाँचतारे होटलको मान्यता पाएपछि सोल्टी वेस्टेण्डमा अब लाइभ क्यासिनो सञ्चालनमा आउनेछ । अहिले मिनी क्यासिनो चलाइरहेको होटलमा काठमाडौँको सोल्टीमा क्यासिनो चलाइरहेको महाजनले नै चलाउने बताइएको छ । नेपालमा लाइभ क्यासिनो चलाउनका लागि पाँचतारेस्तरको होटल तथा रिसोर्ट हुनुपर्छ । योसँगै नेपालमा सञ्चालनमा रहेका पाँचतारे होटलको सङ्ख्या सात पुगेको छ । एभरेष्ट होटल र फूलबारी रिसोर्ट अहिले बन्द छन् । त्यस्तै भैरहवाको पवन प्यालेस, काठमाडौंको अलफ्ट पाँचतारेका रुपमा सञ्चालन हुने तयारीमा छन् । रासस

बर्दिबासमा सुविधा सम्पन्न कवर्ड हल बन्दै, एक करोड ५० लाखको लागत

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकामा सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ । बर्दिवास ब्याडमिण्टन सङ्घले एक करोड ५० लाख रुपैयाँको लागतमा कबर्ड हल निर्माण थालेको हो । बर्दिवास–१ भब्सीमा आइतबार वसन्तपञ्चमीका अवसरमा नगर प्रमुख विदुरकुमार कार्कीले सुविधासम्पन्न कवर्ड हल निर्माण कार्यको शिलान्यास गरे । मुख्यतः ब्याडमिण्टन खेलका लागि निर्माण थालिएको कबर्ड हलमा सर्वसाधारणको उपयोगका लागि ‘सोनावाथ’ र ‘स्ट्रिमवाथ’ सहितको सुविधा रहने निर्माण समितिले जनाएको छ । यहाँस्थित गौतम रियलस्टेटले उपलब्ध गराएको तीन कठ्ठा जग्गामा कबर्ड हल निर्माण थालिएको हो । सङ्घसँग मौजूद रहेको रकमबाट निर्माण काम थालिएसँगै प्रशस्त सहयोगी पाइएका निर्माण समितिका अध्यक्ष विष्णु खड्काले जानकारी दिए। प्रदेशभित्रका प्रतियोगिता आयोजना गर्न नयाँ बन्ने कबर्ड हल उपयोगी हुने जनाइएको छ । निर्माण कार्य छ महिनामा सम्पन्न हुने समितिका अध्यक्ष खड्काले बताए । रासस

पर्वतको ६ स्थानीय तह दमकल विहीन

पर्वत। गर्मी मौसममा हावाहुरी, आगलागी र डढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको अभाव रहेको छ । जिल्लाका ६ स्थानीय तह दमकलविहीन छन् । कुश्मा नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल उपलब्ध हुन सकेको छैन । फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशीला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा दमकल छैनन् । आगामी वर्ष बजेट विनियोजन गरेर खरीद गर्ने तयारी रहेको फलेवासका प्रवक्ता टीकाराम गौडेलले जानकारी दिए। ग्रामीण क्षेत्रमा पनि शहरीकरण र व्यापारिक केन्द्र बढ्दै गएका बेला दमकलको ठूलो आवश्यकता रहेको उनले बताए। बजेट विनियोजन गरेर स्थानीय तहले खरीद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोकिने जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले जानकारी दिए। जिल्लामा मोटरबाटोको सहजता भएसँगै दमकलको आवश्यकता महसुस भइरहेकोे उनको भनाइ छ । आवश्यकता भए पनि स्रोत साधनको अभावमा दमकल खरीद गर्न नसकिएको जलजलाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । अन्य स्थानीय तहमा आगलागी हुँदा कुश्माको दमकल गुहार्नुपर्ने अवस्था रहेको छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको कुश्माका नगर प्रमुख रामचन्द्र जोशीले बताए। सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति र दमकलको व्यवस्था गर्दा आइपर्ने घटनामा उद्धार र राहतका लागि सहज हुने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए। जिल्ला विपत् व्यवस्थापन समितिले अहिले रहेको एकमात्र दमकललाई सबै स्थानीय तहले आपसी समन्वयमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै प्रत्येक स्थानीय तहमा रु ३० लाख बराबरको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय समेत गरिएको छ ।