विकासन्युज

ओम डेभलपमेन्ट बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत बिधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका प्रतिनिधिहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराइएको बताएको छ । बैंकले चितवन भरतपुरको नयाँ किरण मा.वि.मा अध्ययरत विद्यार्थीहरुलाई सहायक महाप्रबन्धक दुर्गा राम पुरी र भरतपुर तथा टाँडी शाखाका शाखा प्रबन्धकहरुद्धारा बचत तथा ऋण लगानीसँग सम्बन्धित विविध विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । त्यसैगरी पोखरा महानगरपालिका वडा नं २६ मा अवस्थित लक्ष्मी मा.वि मा मुख्य शाखाका प्रबन्धक सुदिप पौडेल र सोही महानगरपालिकाको वडा नं २८ मा अवस्थित जनज्योति मा.वि.मा अध्ययनरत विद्यार्थीहरुलाई बैंकका मुख्य प्रबन्धक माधव अधिकारीले वित्तीय क्षेत्रका बारेमा जानकारी गराइएको बैकका प्रमुख कार्यकारी विश्वमोहन अधिकारीले बताए ।

जनता बैंकका ग्राहकलाई मेडिसिटि अस्पतालमा विशेष छुट

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार जनता बैंकका कर्मचारी र जनता बैंकको डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले भैंसेपाटी स्थित मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँग जीवन्त सहकार्य गरेर अघि बढ्ने बताएका छन् । नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज भएको ‘नेपाल उद्यमशीलता सम्मेलन-२०१९’ लाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानी मैत्री कानून बनाएको जानकारी गराए । प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै उद्यमशीलतालाई प्रोत्साहन गर्न के गर्नुपर्छ त्यसका लागि सरकार तयार रहेको बताए । सरकारले मुलुक समृद्धिका लागि मजबुत आधार तयार गरेको उल्लेख गर्दै उनले भने, “आर्थिक विकासका लागि स्पष्ट लक्ष्यका साथ हामी अघि बढेका छौँ, हाम्रो गन्तव्य भनेको समृद्ध नेपाल नै हो, विकास गरिछाड्ने सङ्कल्पमा हामी छौँ ।” नेपालको संविधानले सबै नागरिकलाई अवसर, सुरक्षा, सम्मान र अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले एक वर्षमा संविधानअनुसारका धेरै नयाँ कानून निर्माण गरेको बताए । “नेपाल अब दुई ढुङ्गाबीचको तरुल होइन, दुई ठूला बजारबीचको अवसर बोकेको सम्पन्न राष्ट्र हो”, प्रधानमन्त्री ओलीले भने, “हामी देश र समाजलाई आधुनिक बनाउन चाहन्छौँ । सरकार सुशासन र आर्थिक विकासको महाअभियानमा जुटेको बताउँदै उनले आधुनिक र विकसित नेपाल बनाउनमा आफ्नो चिन्तन रहेको उल्लेख गरे । प्रधानमन्त्रीको सम्बोधनपछि आयोजित समूहगत छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्यमशीलताको विकासका लागि केही विषयमा सरकारले विशेष निर्णय गर्नु आवश्यक रहेको बताउँदै नयाँ उद्यमीलाई प्रोत्साहन गर्न सेवा र सहुलियतको व्यवस्था हुनुपर्ने सुझाव दिए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलले उद्यमशीलताको विकासका लागि समाजको हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनु आवश्यक रहेकामा जोड दिँदै आर्थिक समृद्धिका लागि ठूलो लगानीको आवश्यकता रहेको बताए । सङ्घीय सांसद एवं नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले उद्योग व्यवसाय शुरु गर्दा आवश्यकपर्ने सरकारी दर्ता प्रक्रिया प्रोत्साहनभन्दा नियन्त्रणमुखी रहेको उल्लेख गर्दै यसलाई परिवर्तन गर्नुपर्ने खाँचो औँल्याए । सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले उद्यमशीलतालाई उत्प्रेरणा दिने कुरामा सरकारी संरचना परम्परावादी रहेको बताउँदै स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल मेडिसिटी अस्पतालका प्रबन्ध निर्देशक डा उपेन्द्र महतो, परिसङ्घका उपाध्यक्ष अनुज अग्रवाल, विशाल समूह प्रालिका अध्यक्ष डा राजेन्द्र केसीले आर्थिक समृद्घिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै उद्यमीलाई अवसर प्रदान गर्न सरकारले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । सम्मेलनमा मुलुकभरका उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो । रासस

आइएमई जनरल र सर्लाहीको हरिपुर नगरापालिकाबीच निर्जीवन बीमा सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाहीको हरिपुर नगारपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । इन्स्योरेन्सले हरिपुर नगरपालिकाकोसम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालीकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात हरपुर नगरापालिकाको सम्पूर्ण बीमा लगायत नगरवासीले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने छन् । सोही अवसरमा नगर प्रमुख जमिरुद्धिन मन्सुरले आफूले आफना नगरावासीको भैतिक सम्पत्ती, व्यक्तिगत दुर्घटना लगायत पशु, पन्छी, बालीनालीको बीमा पश्चात नगरवासीको सम्पत्तीको कुनै क्षेति भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न गर्न सक्नेछन् ।

‘मास प्रिन्टर’ खरिद गर्दै यातायात व्यवस्था विभाग, एकैदिन ८ हजार लाइसेन्स छापिने

काठमाडौँ । चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरिद प्रक्रिया अघि बढाएको छ । एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण यन्त्र) खरीदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आवभित्र ‘मास प्रिन्टर’ खरीद गरेर सञ्चालनमा आउने विभागका उपनिर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । विभागले चालक अनुमतिपत्र छपाइकै लागि १० लाख कार्ड मगाइएको उनले जानकारी दिए । “यो कार्ड र मास प्रिन्टर दुवै आएपछि सेवाग्राहीले छिट्टै र सजिलै चालक अनुमतिपत्र पाउनुहुनेछ”, उनले भने, “परीक्षा पास भएपछि महिनौँसम्म कुर्नुपर्ने छैन ।” ‘मास प्रिन्टर’ को खरीद मूल्य झण्डै रु पाँच करोड पर्ने उपाध्यायले जानकारी दिनुभयो । संविधानले यातायात व्यवस्थाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको छ । अहिले नै प्रदेश सरकारले ‘प्रिन्टर’ खरीद गरेर चालक अनुमतिपत्र छाप्ने अवस्था नरहेकाले विभागले नै छपाइ गर्ने उनले बताए । उनले भने, “प्रदेश सरकारले आफैँले प्रिन्टर किनेर अनुमतिपत्र छाप्न अझै केही वर्ष लाग्न सक्छ, त्यतिबेलासम्म विभागले नै छपाइ गर्छ ।” देशभरका यातायात व्यवस्था कार्यालयबाट नयाँ चालक अनुमतिपत्र र नवीकरण गरेर झण्डै चार लाख सेवाग्राहीको चालक अनुमतिपत्र छाप्न बाँकी छ । अहिले सञ्चालनमा रहेको मुद्रण यन्त्रको क्षमता दैनिक तीन हजार रहेको विभागले बताएको छ । रासस

खेलाडीलाई पुरस्कारस्वरुप डेढ करोड प्रदान गर्ने मन्त्री परिषद्को निर्णय

काठमाडौँ । सरकारले क्रिकेट, साग, फुटबल एवं वल्र्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए । “सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७५ स्वीकृत गर्ने भएको छ”, मन्त्री बाँस्कोटाले भने । लागुऔषध प्रयोगकर्ताका लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ र सेफगाड्स एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५ सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । सरकारले नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच सम्पन्न ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्ने, बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने र अध्यागमन नियमावली, २०५१ को अनुसूची ११ संशोधन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नागरिकता (मायादेवी थापा क्षेत्री) सदर÷बदर सम्बन्धमा पुनःनिर्णय गर्न काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुमति दिएको छ । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा सुवास सिटौलालाई नियुक्ति गर्नुका साथै नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई प्राधिकरणकै कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको छ । सरकारले पाँच जना सहायकरथीलाई उपरथीमा पदोन्नति गरी पदस्थापन गर्ने तथा पाँच जना उपरथीलाई सरुवा गर्ने निर्णय पनि गरेको छ । रासस

जनताको जलविद्युत् आयोजना कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने-पहिलो शेयर म किन्छु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गरे । कार्यक्रम शुरु भएको ३५ दिनभित्र सबै नेपालीले शेयर खरिद गर्न सक्ने भएकाले आगामी चैत ७ गते नै आफूले पहिलो शेयर लिने प्रधानमन्त्रीको भनाइ थियो । उहाँले के कति परिमाणको शेयर खरीद गर्ने विषयमा जानकारी नदिनु भएपनि पहिलो शेयर किनेर सबै नेपालीलाई यस अभियानमा सहभागी हुन आग्रह गर्ने स्पष्ट पारे । उनले नेपाली जनताको सानोतिनो र निष्क्रिय रहेको पैसाको सदुपयोग गरेर जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्ने र सुखी नेपाली, समृद्ध नेपालको सङ्कल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धिका लागि सबैको साथ र सहयोग जरुरी रहेको स्पष्ट पार्दै भने–, “केही मानिसलाई अचम्म लागेको र असम्भव ठानिएका विषयलाई समेत हामी क्रमशः अगाडि बढाउँदै लैजान्छौँ ।” प्रधानमन्त्रीले नेपालको समृद्धि र विकासका लागि आन्तरिक स्रोतको परिचालन र व्यवस्थापन नै महत्वपूर्ण भएको उल्लेख गर्दै अपुग भएको पैसा मात्रै विदेशी संस्थाबाट भित्र्याइने बताए । प्रधानमन्त्रीले धेरै मुनाफा हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्दै ससाना र निष्क्रिय बसेका पैसालाई गतिशील क्षेत्रमा परिचालन गर्न वर्तमान सरकार क्रियाशील रहेको उल्लेख गरे । नेपाल दक्षिण एशियामा पहिलो पटक विद्युत् उत्पादन गर्ने देश भए पनि विगतका नीति र कार्यक्रमका कारण उल्लेख्य प्रगति हुन नसकेको बताउँदै प्रधानमन्त्रीले वर्तमान सरकारले आधार तयार पारेको र अबको एकाध वर्षभित्रै देशले काँचुली फेर्ने विश्वास व्यक्त गरे । हरेक दिन सरकार एक कदम अगाडि बढेको जानकारी दिँदै उहाँले बुधबार कोही पनि नेपाली बेरोजगार बस्नु नपर्ने कार्यक्रमको शुरुआत भएको, आज मात्रै नेपालमा पानीजहाज कार्यालय खुलेको र जनताको लगानीमा जलविद्युत् आयोजनाको समेत शुरुआत गरिएको स्पष्ट पारे । वर्तमान सरकारले विकासका लागि कानूनी, प्राविधिक र संरचनागत आधार तयार पारेको जानकारी दिँदै प्रधानमन्त्रीले गरीब नेपालको परिचयलाई बदलेर सबै चिज भएको सम्पन्न नेपालीमा रुपान्तरण गर्ने महाअभियान शुरु भएको बताए । कूल जनसङ्ख्याको ४० प्रतिशत युवा र ६० प्रतिशत बढी सक्रिय जनशक्ति भएको नेपालले एकाध वर्षमा ठूलो प्रगति हासिल गर्नेछ भन्दै प्रधानमन्त्रीले देश बनाउने महाभियानमा सबैको साथ र सहयोगसमेत जरुरी रहेकामा जोड दिए । उहाँले फरक एक प्रसङ्गमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई सफल बनाउन पार्टीको सबै तह सक्रिय भएर लागेको समेत जानकारी दिए । उनले भने, “हाम्रो पार्टीका हामी अध्यक्षद्वय (म र पुष्पकमल दाहाल ‘प्रचण्ड’) भवितव्यले बाटामा भेट भएका यात्री नभएकाले मिलेर देश बनाउने महाअभियानमा लागेका छौँ । हामी सुविचारित तवरले अगाडि बढेका छौँ ।” उनले कुरा मात्रै बोकेर जीविका चलाउनेहरुको दिन सकिएको छ भन्दै काम र परिणाममा लाग्नसमेत आग्रह गरे । कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय सङ्कल्प पूरा गर्ने लक्ष्यका साथ सबै नेपालीलाई धनी बनाउने योजना अगाडि सारिएको बताए । उनले वर्तमान सरकारको सङ्कल्पका रुपमा रहेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अवधारणा सामाजिक न्यायसहितको हुने भएकाले त्यसमा यस कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याउने स्पष्ट पारे । यस्तै, ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले सबै नेपाली नागरिकलाई शेयरधनी बनाउने लक्ष्यका साथ महाभियान शुरु भएको जानकारी दिँदै नेपालको विकासका लागि ऊर्जा क्षेत्रको विकास र त्यसमा जनसहभागिता नै महत्वपूर्ण विषय रहेको बताए ।

मेगा बैंकका ग्राहकहरुलाई ब्लुक्रस अस्पतालमा २० प्रतिशत छुट

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले काठमाडौँको थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । मेगा बैंक नेपालको सिइओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका कार्यकारी ब्यवस्थापन समिति सदस्य रजत श्रेष्ठबीच मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता अनुसार मेगा बैंकका ग्राहकहरुले ब्लु क्रस अस्पतालमा इसीजी, इको, कोलोनोस्कपी, प्याथोलोजी, अल्ट्रासाउण्ड र सिटी स्क्यान परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, आइसीयू, क्याबिन र वार्डमा ७ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, मेगा बैंकका ग्राहकलाई कुनै शल्यक्रिया गर्न परेमा अस्पतालले शल्यक्रिया शुल्क, बेड र मेडिकल शुल्कमा १० प्रतिशतसम्म छुट दिने भएको छ । दाँत परीक्षणमा २० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । ग्राहकहरुको स्वास्थ्यलाई मध्यनगर राख्दै मेगा बैंकले यसअघि मेगा बैंकले काठमाडौँको नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालसँग सम्झौता गरी विशेष छुटको व्यवस्था गरिसकेको छ ।