विकासन्युज

कामनाका ६४ शाखाबाट प्रिमियर इन्स्योरेन्सका सेवा पाइने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच विहीबार बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रविण वस्नेत र प्रिमियर ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरेका थिए । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

थानकोटमा खुल्यो कृषि विकास बैंकको शाखा

काठमाडौँ । चन्द्रागिरी नगरपालिका-५ थानकोट कोल्हवीमा कृषि विकास बैंक लि.को शाखा कार्यालयको फागुन ३ गते उद्घाटन भएको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, बैंक संचालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवाल, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक समारोहका बीच कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा उपमेयर लिसा नकर्मी, कृषि विकास बैंक लि.का ब्राण्डएम्वेस्डर दिपाश्री निरौलाको उपस्थिति रहेको थियो ।

इजरायलमा राजदुत शाक्यलाई रेड कर्पाेटः राष्ट्रपति र प्रधानमन्त्रीलाई भ्रमणको निम्तो

काठमाडौँ । इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अञ्जान शाक्ले नेपालका सात वटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राखेकी छिन् । इजरायलको जेरोसेलमा इजरायली राष्ट्रपति रिउनभेन रिभलीन समक्ष बिहीबार ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा राजदूत शाक्यले यस्तो प्रस्ताव गरेकी हुन् । इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्ने र त्यस मार्फत कृषि, सूचना प्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने राजदूत शाक्यले प्रस्ताव राखिन् । राजदुत शाक्यले ‘गार्ड अफ अनर’ सहितको सो कार्यक्रममा इजरायलका राष्ट्रपतिसँग आधा घण्टा भन्दा बढी ‘वान टु वान’वार्ता गरेकी थिइन । ‘इजरायली लगानी कर्ता नेपालमा लगानी गर्न इच्छुक हुनुहुन्छ,’ राजदूत शाक्यले भनिन्, ‘राष्ट्रपतिज्युको भेटमा पनि यो विषयमा कुराकानी भयो । राष्ट्रपतिले त्यसलाई सकारात्मक रुपमा लिनुभयो । २०१९मार्च महिनामा नेपालमा लगानी सम्मेलन हुँदै छ । मैले इजरायली लगानीकर्तालाई नेपालमा लगानी गर्न राष्ट्रपति समक्ष लगानीको प्रस्ताव गरेकी छु ।’ शाक्यले आधा दर्जन भन्दा बढी लगानीकर्ताले लगानीका लागि प्रतिवद्धता जनाएको पनि बताइन् । त्यसैगरी भेटमा राष्ट्रपति रिभलीनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई इजरायलको भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति रिभलीनको प्रस्तावलाई सकारात्मक रुपमा लिदैँ राजदूत शाक्यले पनि इजरायलका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिईन । उनले अप्रिल ९ मा निर्वाचन सकिएपछि आउने नयाँ सरकारले यो प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । राजदूत शाक्यले हिबु्र भाषामै सम्वोधन गरेपछि राष्ट्रपतिले खुलेर कुरा कानी गरेका थिए । राजदूत शाक्य माघ २५ गते शुक्रबार इजरायल गएकी थिइन् । व्यवस्थापन विषयमा विद्या वारिधी गरेकी राजदूत शाक्यले पद्म कन्या कलेजमा २०५२ सालदेखि करीब एक दशक प्राध्यापन गरेकी थिइन् ।  अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष तथा नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेर काम गरेको अनुभव शाक्यसँग रहेको छ ।

कृषि विकास बैंकको साधारणसभा चैत १५ गते, २१ प्रतिशत लाभांश पारित गर्दै

काठमाडौं । कृषि विकास बैंकले आफ्नो १२औँ वार्षिक साधारणसभा आगामी चैत १५ गते डाकेको छ । उक्त सभामा बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदै छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र १५.०५३ प्रतिशत नगद लाभांश गरी उक्त मात्रामा शेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै, बैठकले अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांशलाई सभालो पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । हाल बैंकको चुक्ता पुँजी कुल १३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकमा सरकारको ५ अर्ब ४३ करोड रुपैंया बराबरको ६ प्रतिशत लाभांशको अभिमोच्य अग्राधिकार शेयर छ । त्यसको ३२ करोड ५८ लाख रुपैंया लाभांश प्राप्त हुन्छ भने भने बाँकी ८ अर्ब ५० करोड साधारण शेयरमध्ये ७८.२२ प्रतिशत अर्थात् ६ अर्ब ६५ करोड बराबरको शेयर को १५.०५३ प्रतिशतका दरले करिब १ अर्ब रुपैंया लाभांश प्राप्त हुन्छ । यसरी कुल १२ अर्ब ८ करोड रुपैंया बराबरका शेयरले ६ प्रतिशतको दरले नगद लाभांश लैजाँदा सरकारले करिब १ अर्ब ३२ करोड ५० लाख रुपैंया भन्दा लाख रुपैंया नगद लाभांश पाउनेछ । उक्त सभा चैत १५ गते शुक्रबार कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्दै छ ।

गल्छी र बट्टारमा नेपाल इन्स्योरेन्सको शाखा विस्तार

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले धादिङ र नुवाकोटमा शाखा विस्तार गरेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै धाडिङको गल्छी शाखा र नुवाकोटको बट्टार शाखाबाट बीमा सेवा शुभारम्भ गरेको कम्पनीले जनाएको छ ।

राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले नेपालका ९ वटा विद्यालयलाई दियाे १ लाख रूपैयाँ

काठमाडाैं । परोपकारी परियोजना अन्तर्गत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले नेपालका ९ वटा विद्यालयालाई १ लाख रूपैयाँका दरले सहयोग गरेकाे छ । संघले नेपालका न्युन आय भएका परिवारका जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने योजना अनुसार विद्यालयहरुमा एक अक्षय कोष खडा गर्नको लागि उक्त सहयोग गरेकाे हाे । शुक्रबार सचिवालयमा आयोजना गरिएको एक कार्यक्रमबीच गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले सो रकम हस्तान्तरण गरेका हुन् । उनले गैरआवासीय नेपाली संघले विभिन्न एनसिसिहरुको सहयोगमा नेपालको विविध क्षेत्रहरुमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको बताए । यसरी उनले भविष्यमा संघले नेपाल र विदेशमा रहेका विद्यालयबीच समन्वय गराउनको लागि मितेरी विद्यालय अवधारणा ल्याउने योजना रहेको बताए । सहयोग गरिएका विद्यालयहरुमा श्री दुर्गा मावि-ताप्लेजुङ, राष्ट्रिय प्राथमिक विद्यालय-सप्तरी, बच्छला मावि-नुवाकोट, मंडली मावि-धादिंग, जनज्योति मावि-लम्जुङ, प्रभात प्राथमिक विद्यालय-कास्की, श्री रारा आवासीय विद्यालय-बाँके, थिगेल्नी देवी आधारभूत विद्यालय-कालिकोट र चन्द्र नाथ प्राथमिक विद्यालय बाजुरा रहेका छन् । कार्यक्रम गैरआवासीय संघका अध्यक्ष भवन भट्ट लगायत ओसेनिया क्षेत्रका क्षेत्रीय उपसंयोजक लोक नाथ पौडेल, अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्नु हुने आइसिसि सदस्य उषाकिरण बारीया, अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान युवा संयोजक विजय पोखरेल, एनसिसि रसीयाका अध्यक्ष रामेश्वर गौंतम, एनसिसि अष्ट्रलियाका पूर्व अध्यक्ष महेन्द्र ओलि, एनसिसि रसीयाका पूर्व उपाध्यक्ष सन्तोष केसी, एनसिसि जर्मनीका महासचिव टंक लम्साल, विद्यालका प्रतिनिधिहरु लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।

जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेनः पूर्वप्रम भट्टराई

पोखरा । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताए । सरकारले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्नुपर्ने भए पनि केवल सामान्य क्रमिक विकासका क्रममा अघि बढेको बताउँदै उनले देशको अर्थतन्त्र पनि मजबुत बन्न नसकेको उल्लेख गरे । गरीबी, बेरोजगारीको समस्या बढ्दै गएको चर्चा गर्दै डा भट्टराईले औषत प्रतिव्यक्ति आय रु १० हजार डलर पुर्याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अङ्कमा बढ्नुपर्ने आवश्यकता औँल्याए । निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको उल्लेख गर्दै उनले लगानीको वातावरण तयार गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । समृद्धिका लागि सडक पूर्वाधार विकास आवश्यक रहेको औँल्याउँदै उहाँले तराई हुलाकीमार्ग, मध्यपहाडी हुलाकीमार्गका साथै उत्तरदक्षिण जोड्ने गरी कोशी, कालीगण्डकी, कर्णाली करिडोरलगायतको निर्माणकार्यलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए । नयाँ शक्ति पार्टीले असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा जारी राखेको बताउँदै उनले यात्राका क्रममा मध्यपहाडी राजमार्गको निर्माणकार्यको अवलोकन, आसपासको जनजीवनको अध्ययन, समस्याको पहिचान र राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा सर्वसाधारणसँग संवाद गरिएको बताए । उनका अनुसार यात्रा फागुन १५ गते बैतडीको झुलाघाँट पुगी गठलापानीमा समापन गरिनेछ । रासस

नेपालीले विदेशबाट ल्याएका सामान एयरपोर्टमा जफत सम्बन्धि एनआरएनएकाे ध्यानाकर्षण

काठमाडाैं। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा जफत गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रवक्ता भूषण घिमिरेले बिहिवार एक विज्ञप्तिजारी गर्दै लाखौं नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामान तथा उपहारहरु जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा पनि ठेस पुगेको जनाएका छन् । विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा जफत गरिरहेको पछिल्लो घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छन् । लाखौं नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामान तथा उपहारहरु जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा पनि ठेस पुगेको छ । रेमिट्यान्स मार्फत मुलुक कै अर्थतन्त्रमा योगदान दिइरहेका श्रमजीवी नेपालीहरुले घरयासी प्रयोगका लागि ल्याउने सामान समेत जफत गरेर आर्थिक र मानसिक यातनाको अनुभव गरिरहनु पर्ने अवस्थाले नेपालको सरकार, विमानस्थलका सम्बन्धित निकाय र त्यहाँ कार्यरत कर्मचारीहरु प्रति समेत नकारात्मक भावना उत्पन्न गरेको एनआरएनएले महशुस गरेकाे छ । झिटीगुन्टा सम्बन्धमा बनेको नियमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समय सापेक्ष बनाउनु पर्ने तथा नयां नियम लागु गर्नु भन्दा कम्तिमा ६ महिना अगावै सार्वजनिक रुपमा सूचना दिई कष्टमुक्त बनाउन प्रयास गर्नुपर्ने देखिन्छ । जानअनजान तोकिएको हदसम्मका व्यक्तिगत प्रयोजन एवं परिवारका लागि ल्याइएका सामाग्री बिना झन्झट बिमानस्थलबाट पास गराउने व्यवस्था गर्न र कथमकदाचित तोकिएको भन्दा बढी सामान ल्याएको पाएमा जफत गर्नुको सट्टा सहज रुपमा भन्सार तिरेर छुटाउन पाउने गरी व्यवस्था मिलाउन एनआरएनएले आग्रह गरेका छन् । तोकिएको नियम कानून आवासीय तथा गैरआवासीय हामी सबैले पालना गर्नुपर्छ भन्नेमा दुइमत छैन तर अहिलेसम्म कार्यान्वयनमा नरहेको नियम एकैचोटी कडाइका साथ लागू गर्दा प्रवासबाट स्वदेश फर्कने नेपालीहरुले पूर्व सूचना नपाएका कारण नै दुखकष्ट र क्षति ब्यहोर्नु परेको यथार्थता बुझिदिएर तत्काल सोही अनुसार कार्यगरिदिन सरकार र सम्बन्धित निकाय समक्ष गैरआवासीय नेपाली संघले बिज्ञप्तिमार्फत अनुरोध गरेकाे छ ।