विकासन्युज

अर्थको आदेशमा सेयर निष्काशन नियमावली संशोधन, जलविद्युतको सेयर बिक्री नभए सरकारको नाममा जाने

काठमाडौं । सरकारले ल्याउन लागेको “जनाताको जलविद्युत कार्यक्रम” अनुसार आम सर्वसाधारण जनताको लागि ब्यवस्था गरिएको ४९ प्रतिशत स्वःपूँजी संकलनको लागि गरिने शेयर निष्काशन तथा बाँडफाँडलाई व्यवस्थित गर्ने सम्बन्धमा बिशेष कानूनी व्यवस्था गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यसका लागि आवश्यक नियम तथा कानूनी व्यवस्थाका लागि अर्थ मन्त्रालयले बोर्डलाई निर्देशन दिएपछि बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा दोस्रो संशोधन गरेको हो । नेपाल सरकारको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व भएको जलविद्युत कम्पनीले आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन वा आयोजनाको कुल लागत अनुमान र निर्माण अवधि खुलाई तयार गरिएको आधिकारिक विवरण तयार भई संस्थापकहरुले लिन कबूल गरेको शेयर रकमको कम्तिमा दश प्रतिशत चुक्ता भैसकेको र आयोजना निर्माणका लागि फाइनान्सियल क्लोजर भैसकेको वा सोको लागि आशयपत्र प्राप्त भएको अवस्थामा सरकारबाट स्वीकृत कार्यक्रम बमोजिम सर्वसाधारणबाट पूँजी संकलन गरी जलविद्युत अयोजना निर्माण गर्न शेयर तथा डिबेञ्चर निष्काशन गर्न सक्ने व्यवस्था गरिएको छ । धितोपत्र बोर्डका अनुसार उक्त कार्यक्रम अन्तर्गतका जलविद्युत कम्पनीले शेयरको सार्वजनिक निष्काशन गर्दा त्यस्तो शेयर खरिद गर्न चाहने आवेदकले आवेदन साथ शेयरको चुक्ता मूल्यको दश प्रतिशत रकम दाखिल गर्नुपर्ने गरी आवेदन माग गर्न सक्नेछ । आवेदन गर्ने आवेदकलाई शेयर बाँडफाँट हुने भएमा कम्पनीको दश प्रतिशत चुक्ता भएको शेयर प्रदान गरिने र उक्त शेयरधनीलाई कम्पनीले नेपाल सरकारले निर्धारित गरेको बार्षिक प्रतिफल प्रदान गर्न सक्नेछ भने यस्तो प्रतिफल शेयरको चुक्ता हुन बाँकी रकममा मिलान गर्न सकिने व्यवस्था समेत गरिएको धितोपत्र बोर्डले जनाएको छ । संस्थापकहरुले लिन कबूल गरेको शेयरको शतप्रतिशत रकम भुक्तानी भई आयोजनाको निर्माणको न्यूनतम पचास प्रतिशत भौतिक प्रगति भएपछि कम्पनीले शेयरधनीसँग चुक्ता हुन बाँकी रकम माग गर्न सक्ने र रकम प्राप्त भएपछि निष्काशित शेयरको चुक्ता रकम शतप्रतिशत गरी सम्बन्धित शेयर धनीलाई शेयर जारी गरिने व्यवस्था गरिएको छ । शेयरको रकम शतप्रतिशत चुक्ता भए पश्चात त्यस्तो शेयर धितोपत्रको दोश्रो बजारमा कारोबार हुन सक्ने छ । शेयरको चुक्ता हुन बाँकी सम्पूर्ण रकम प्राप्त नभएमा कम्पनीले त्यसरी चुक्ता हुन बाँकी रकम बराबरको शेयर अन्य इच्छुक खरिदकर्तालाई एक महिनाको समय अवधि दिई सार्वजनिक सूचना जारी गरी बिक्री गर्न सक्ने तर सो सम्पूर्ण शेयर बिक्री हुन नसकेमा बिक्री हुन बाँकी रहेको शेयर संस्थापक शेयरधनी वा सरकारको नाममा रहने गरी आवश्यक व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक परिष्ट नाथ पौड्यालले जानकारी दिए ।

फागुन २३ गतेदेखि भृकुटीमण्डवमा १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरू हुँदै

काठमाडौं । फागुन २३ गतेदेखि काठमाडौंको भृकुटीमण्डवमा १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव शुरू हुने भएको छ । “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नाराका साथ फागुन २३ गतेदेखि २७ गतेसम्मन उक्त मेला सञ्चालन हुने आयोजकले जानकारी गराएका छन् । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छन्र । प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण गरिएको छ । साथै मानिसहरुको आकर्षण दिन प्रतिदिन अर्गानिक उत्पादनमा बढ्दै गएको र अर्गानिक उत्पादन उपभोग गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भइरहेको छ भने नेपाल सरकारले पनि अर्गानिक उत्पादनलाई प्रोत्साहन गरिरहेको अवस्थालाई मध्यनजर गर्दै तेश्रो प्राङ्गारिक कृषि मेला – २०७५ पनि सोही मेलामार्फत गरिन लागेको हो । मोलमार्फत नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्य लिइएको छ । उत्पादक र उपभोक्ताबीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दे उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने प्राङ्गारिक कृषि मेलाको उद्देश्य रहेको आयोजकले जानकारी दिएका छन ।  

रुपन्देहीको बाउन्नकोटीमा ७५ करोड खर्चेर पार्क बनाइदै, एउटा पार्क बनाउन ५० वर्ष ?

बुटवल । नन्द–भाउजु ताल, सिंसार क्षेत्र, ऐतिहासिक बाउन्नकोटी मन्दिर, सुन्दर शान्त र हरियाली वातावरण रहेको बाउन्नकोटी सामुदायिक बन क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तयारी भएको छ । अनुमानित ७५ करोड रुपैयाँ खर्चेर ५० बर्षे गुरुयोजना निर्माण नयाँ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको हो । महालक्ष्मी ईन्जिनियरिङ कन्सल्टेन्सी समन्वयमा ईन्जिनियर जीवन कुमार वन सहित सुदिप ढकाल र निशा वनले तयार गरेको नक्सांकन माथि आईतबार भएको छलफल तथा सुझाव संकलन (अन्र्तक्रिया) कार्यक्रमले गुरुयोजना मार्फत पर्यटकीय विकास गर्ने लक्ष्य बोकेको हो । ईन्जिनियर जीवन कुमार वनसहितको टोलीले तयार गरेको भिजुअल अनुसार बनको हालको संरचना तथा अवस्थालाई यथास्थितीमा प्राकृतिक स्वरुपमा राख्दै डुङ्गा सयर, ताल र सिमसार क्षेत्रको सौन्दर्यकरण, बाल उद्यानको थप व्यवस्थित विकास, पिकनीङ स्पर्टमा आधुनिक ढाँचा, भ्यू टावर निर्माण, कलात्मक आकर्षण गेट निर्माण, साईकलिङ तथा पद मार्ग निर्माण, फुटवल खेल मैदान र कर्भडहलको निर्माण, साँस्कृतिक कार्यक्रमको लागि आवश्यक भौतिक संरचना, बास्केट बल र टेवल टेनिस र्पोट निर्माण, योगा तथा सेमिनार हलको निर्माण, व्यवस्थित आधुनिक शैलीको गौशाला, पार्किङ स्थल निर्माण, रिङरोड निर्माण, छेउछाउका बस्तीहरुलाई ग्रिन भिलेजको रुपमा परिणत गरी होमेस्टे सञ्चालन लगायतका अवधारणाहरु रहेका छन् । भिजुअलको दृश्य अवलोकन पश्चात नक्सांकनमा केही अत्यावश्कीय छुटेका कुराहरुलाई समावेश गरेर गुरुयोजना निर्माण गर्नु पर्ने बन समीतिका पधादिकारी तथा सदस्यहरुले सुझाएका छन् । उनीहरुले शौचालय, विश्राम स्थल, मन्दिरको संरक्षण तथा प्रवद्र्धन, पार्किङको आवश्यकता र स्थिती, प्रवेश क्षेत्रको जानकारी, प्राकृतिक संरचनामो डुङ्गा सयरको अवस्थालाई विस्तृत रुपमा खुलाएर ताल तथा सिमसार क्षेत्रमा धार्मिक आस्थाका मठ–मन्दिर, गुम्वा, चर्च तथा मस्जिदको सम्भावना र आवश्यकतालाई पनि खुलाएर गुरुयोजनामा समावेश गर्नु पर्ने औल्याएका छन् । बनका अध्यक्ष भोला प्रसाद यादवका अनुसार एक सय ५४ हेक्टर क्षेत्रफलमा फैलिएको बनमा हाल तीन सय ८० जना सदस्यहरु रहेका छन् भने साविक चिल्हिया, मधवलिया, टिकुलीगढ, पडषरी गाविसका चार हजार भन्दा बढी स्थानीयहरुले लाभ लिएका छन् । यस क्षेत्रकै एक मात्र पाँच तारे होटल टाईगर प्यालेस रिर्सोट बनको पर्यटकीय विकासको लागि बाह्य पर्यटनको आधार स्तम्भ पनि हो ।

एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा चैत ११ गते, के के छन् विशेष प्रस्ताव ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको तेह्रौँ वार्षिक साधारणसभा चैत ११ गते बस्दै छ । सो प्रयोजनको लागि डेभलपमेन्ट बैंकले आगामी फागुन २७ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट कर सहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावलाई सभामा लैजाँदै छ । हाल एक्सेलको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ रहेको छ । ५५ प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ नाघ्ने छ । त्यसैगरी, बैंकको अधिकृत पुँजी एक अर्बबाट बढाएर एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ ।

नवनियुक्त राजदुतहरुलाई नेपाल उद्योग वाणिज्य महासंघको बधाई तथा शुभकामना

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न मुलुकहरुमा आफ्नो जिम्मेवारी वहन गर्न जान लागेका नवनियुक्त राजदुतहरुलाई  बधाइ तथा शुभकामना दिएकाे छ । महासंघले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त राजदुतहरुलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएकाे हाे । वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सम्बोधन गर्दै ‘समृद्द नेपाल, सुखी नेपाली’को नारा पूरा गर्नको लागि देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न सरकार लागि परेको अवस्थामा विभिन्न मूलकका नेपाली राजदूतहरुले ती देशहरुसँग कुटनीतिक सम्बन्ध मजबुत बनाउनुपर्ने बताइन् । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्दप्रसाद ढकालले राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पूरा गर्नलाई नेपालको व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा विशेष पहल गर्न जाेड दिएका छन् । साथै, उनले उद्योग वाणिज्य महासंघ र राजदूतहरु महत्वपूर्ण साझेदार भएको कुरा समेत उल्लेख गरे । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले भने ‘नेपाल उद्योग वाणिज्य महासंघले विश्वब्यापी रुपमा नेपालमा बन्दै गएको लगानीमैत्री वातावरणको प्रचार गर्नुपर्ने छ ।’ संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन जोड दिएका छन् । त्यसैगरी, मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु व्यापारी मात्र नभइ उत्पादनकर्ता समेत भएको कुरामा जोड दिए । संयुक्त अरब इमिरेटस्काे लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदूत मणी भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी र कुवेतका लागि नेपाली राजदूत दुर्गा शर्मा लगायतले आफूहरु आफ्नो कार्यकालभरि समृद्द नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउन लाग्ने बताए ।

काठमाडौंकाे न्यूरोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ : मन्त्री यादव

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले काठमाडौंकाे न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्ने बताएका छन् । खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटौँ अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का आयोजित कार्यक्रममा न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको भन्दै “समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको जानकारी दिएका छन् । न्यूरोडलाई नमूना व्यापारिक केन्द्र निर्माणका लागि उद्योगी व्यवसायीहरु एकजुट हुनुपर्ने उनको भनाइ छ । मन्त्री यादवले सरकारले जनतासँग गरेको वाचा अनुसार काम गर्न नसकेको बताउँदै आगामी दिनमा काम गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोड ऐतिहासिक व्यापारिकस्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताए । महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रुपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको प्रमुख शाक्यले भने ।  नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकको व्यापार घाटा कम गर्न सरकारले आयातलाई कम गरी निर्यातलाई बढावा दिने वातावरण निर्माणमा लाग्नुपर्ने जानकारी दिए । “दैनिक व्यापार घाटा रु ३ अर्ब ७६ करोड भएकाले यसलाई घटाउन सरकार लागेको उपाध्यक्ष मल्लले बताए । आन्तरिक राजश्व कार्यालय न्यूरोडका प्रमुख डा रामप्रसाद मैनालीले न्यूरोड क्षेत्रमा रहेको फुटपाथको व्यापारलाई पनि करको दायरामा ल्याउनुपर्ने जानकारी दिए । खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डङ्गोलले धरहरा पुनःनिर्माण र पार्किङले खिचापोखरी क्षेत्रको उद्योग–व्यवसाय समस्यामा परेको बताए । सङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले भन्सार क्षेत्रमा देखिएको न्यून बिजकीकरणको अन्त्यका लागि सरकारलाई पहल गर्न आग्रह गरे । रासस

सिभिल बैंकको नगद लाभांश घोषणा

काठमाडौं । सिभिल बैंक लिमिटेडले सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको सेयर बितरण गर्ने घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २६ करोड ९३ लाख रुपैयाँ रहेको छ । बैंकको संचालक समितिको बैठकले सेयरधनीलाई ४.०५ प्रतिशत अर्थात २९ करोड ४० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

कृषि विकास बैंकले निक्षेपमा १०.७५ प्रतिशत व्याज दिने, कर्जाकाे व्याज पनि घटायाे

यसअघि बैंकले प्रकाशित गरेकाे निक्षेपकाे व्याजदर काठमाडौं । निक्षेपकर्ताहरुकाे हितका लागि भन्दै कृषि विकास बैंकले व्याजदरमा वृद्धि गरेको छ । बैंकले साविकको व्याजदरमा १.५ प्रतिशत थप हुने गरी बृद्धि गरेको जनाएकाे छ । यसअघि बैंकले ८.२५ देखि ९.२५ प्रतिशतसम्म व्याज दिएकाे थियाे । पुरानाे दरमा १.५ प्रतिशत व्याजदर वृद्धिसँगै बैंकले निक्षेपकर्तालाई १०.७५ प्रतिशत व्याज दिने भएकाे छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंककाे दवावमा नेपाल बैंकर्स संघले निक्षेपकर्तालाई दिने व्याज एकलदर सीमामा राख्ने निर्णय गरेकाे थियाे । तर कृषि विकास बैंकले बैंकर्स संघले ताेकेकाे सीमा भन्दा बढी व्याज प्रस्ताव गरेकाे हाे । यस बैंककाे प्रमाेटर नेपाल सरकार हाे । त्यस्तै,  बैंकले कर्जामा पनि एक प्रतिशत व्याज घटाएकाे छ । माघ २८ गते बसेकाे बैंक सञ्चालक समितिकाे बैठकले  फागुन १ गतेदेखि लागु हुने गरी कर्जाको व्याजदर १ प्रतिशत घटाएकाे बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएकाे छ । बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जन गुनासोलाई सम्बोधन हुने गरी बैंकले उक्त निर्णय गरिएकाे बैंकले जनाएकाे छ । कृषि विकास बैंकले ग्राहकको चाहना र सन्तुष्टिलाई मुल नारा बनाई आफ्ना सेवाहरु बजारमा प्रवाह गर्दै आएको छन् ।