५ करोडको लागतमा तारकेश्वरमा तरकारी बजार बन्दै, देशभर ५० स्थानमा तरकारी बजार बनाउने सरकारको योजना
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा तरकारी बजार निर्माण हुनेभएको छ । कृषि मन्त्रालय मातहतको कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको तरकारी बजारको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले शिलान्यास गरेका हुन् । काठमाडौँको जनसङ्ख्या न्यून भएको समयमा निर्माण भएको कालिमाटी तरकारी बजार अहिलेपनि केन्द्रीय तरकारी बजारका रुपमा रहेकाले चाप घटाउन विकल्प स्वरुप तारकेश्वरमा तरकारी बजार बनाउन लागिएको मन्त्री खनाले बताए । उनका अनुसार काठमाडौँमा तरकारी बजारको लागि पाँच करोड विनियोजन गरिएको छ । सङ्घीयता बनेपछि पनि काठमाडौँको जनसङ्ख्या घट्नुको साटो बढ्दो क्रममा रहेकाले तरकारी बजारको विकल्प आवश्यक भएको मन्त्री खनालले बताए । बजार बनाउन धेरै ठाउँमा जग्गा खोज्दा नपाइएको समेत उनले जानकारी गराए । देशभर ५० तरकारी बजार बनाउन लागिएको जानकारी दिँदै विराटनगरमा १२ करोडको लागतमा तरकारी बजार निर्माण भैइरहेको जानकारी दिए । मन्त्रालयका सचिव डा युवकध्वज जिसीले बजार निर्माणका लागि सबै सहयोग गर्न तयार रहेको र बजेटको पनि अभाव हुन नदिने प्रतिबद्धता जनाए । काठमाडौँ प्रवेश गर्ने पाँच नाकामा तरकारी बजार निर्माण गर्ने मन्त्रालयको योजना छ । काठमाडौँको चोभारमा पनि तरकारी बजार निर्माणाधिन छ । सोह्र रोपनी १५ आना जग्गामा बन्न लागेको तरकारी बजार तीन वर्षमा निर्माण सम्पन्न गरिने जनाइएको छ । तारकेश्वर–५ का वडा सदस्य अनन्त आचार्यले तरकारी बजार निर्माण भएपछि किसानलाई तकारी खरीद बिक्रीका लागि कालिमाटी जानुपर्ने बाध्यता अन्त्य हुने छ ।
अब नेपाल मै गाडी बन्ने, १० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो । बैठकले अरुण-३ जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि ९एसएपीडीसी० लाई उक्त परियोजनाका लागि वित्तीय व्यवस्थापनको म्याद आगामी ३० जुन २०१९ सम्म थप गर्ने निर्णय गरेको छ । सो कम्पनीले परियोजना निर्माणको काम बढाइसकेको छ भने परियोजनाका लागि आवश्यक ऋण सुविधा प्राप्त गर्ने कार्य अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । उक्त बैठकले लगानी बोर्ड कार्यालयले आगामी लगानी सम्मेलनमा प्रस्तुत गरिने ६३ वटा परियोजनाको सूची स्वीकृत गरेको जनाएको छ । ती परियोजनाको विकास तथा कार्यान्वयन अवधारणा स्वीकृत गरी आगामी लगानी सम्मेलनमा प्रस्तुतिकरण गर्ने निर्णय भएको बोर्डले जनाएको छ । उक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलन नेपालमा लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताए । उनले उक्त सम्मेलनलाई अर्थपूर्ण बनार्इ यसबाट अधिकतम उपलब्धि हासिल गर्न सबै सम्बद्ध निकायहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन निर्देशन दिए । सम्मेलनबाट निजी क्षेत्रले प्रशस्त लाभ लिनसक्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परियोजनाका लागि तोकिएको जग्गा हदबन्दीको विषयमा देखिएका समस्याहरु समाधानका लागि आवश्यक पहल गर्न सम्बद्ध अधिकारीलाई निर्देशनसमेत दिए । सो अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आगामी सम्मेलनका लागि भएका तयारीबारे बैठकलाई जानकारी गराएका थिए । बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा युवराज खतिवडा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्याल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, मूख्य सचिव लोकदर्शन रेग्मीलगायतको सहभागिता थियो ।
मकवानपुरमा बर्डफ्लु देखियो, चितवनमा उच्च सतर्कता
चितवन । छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका निमित्त प्रमुख डा पर्शुराम फुयालले यस जिल्ला हुँदै राजधानी र बाहिरी जिल्लामा कुखुरा जन्य पदार्थ धेरै आवतजावत गर्ने हुदाँ क्वारेन्टाइनमा कडाइका साथ चेकजाँच थालिएको बताए । उनले भने, “मकवानपुरमा बर्डफ्लु देखिएपछि जिल्ला छिर्ने नाकामा क्वारेन्टाइनलाई विशेष चेकजाँचका लागि निर्देशन दिइएको छ ।” अहिले जिल्लाका १५० कुखुराका नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको उनले बताए । बर्डफ्लु संक्रमण हुन सक्ने देखिएकाले व्यवसायीलाई जैविक सुरक्षामा ख्याल गर्दै काम गर्न आग्रह गरिएको उनले बताए । जिल्लामा बर्डफ्लु भित्रने सम्भावना प्रवल रहेको बताउँदै उनले चाँडै जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक राखेर सबैलाई यसको विषयमा जानकारी गराइने बताए । देशका विभिन्न जिल्लामा जाने मुख्य राजमार्ग नै चितवन हुँदै जाने भएकाले यहाँका व्यवसायी अझै सतर्क हुन आवश्यक रहेको उनले बताए । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले हरेक हप्ता दुई दिन यहाँ नमूना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाउने गरेको बताए । नियमित रुपमा नमूना सङ्कलन भई रहेको भए पनि हालसम्म ‘लो प्याथोजेनिक एच नाइन’ मात्र देखिएको जानकारी दिए । देशका विभिन्न क्षेत्रबाट लो प्याथोजेनिक शंकास्पद देखिएमा यहाँ नमूना परीक्षण गर्ने गरिन्छ । थप शंका लागेमा यहाँबाट केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ । जिल्लामा लो प्याथोजेनिक अर्थात् एच नाइनका कारण धेरै कुखुरा मरे पनि हाई प्याथोजोनिक अर्थात् एच फाइभ भने नदेखिएको उनले बताए । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले मकवानपुरमा रोग देखिएसँगै देशभरका कृषकले जैविक सुरक्षामा विशेष ध्यान दिएको बताए । सङ्घले सदस्यलाई रोग भित्रन नदिन विशेष चनाखो हुन आग्रह गरेको बताए । नेपालमा कुखुरा जन्य क्षेत्रमा रु एक खर्बभन्दा बढी लगानी भई सकेको भन्दै उनले एक मात्र आत्मनिर्भर उद्योग भएकाले स्वयं कृषक र सरकारले व्यवसाय बचाउन सहयोग गर्नुपर्ने बताए । रोग भित्रन नदिन अपनाउनुपर्ने मुख्य विधि जैविक सुरक्षा हो । यो विधि कुखुरामा कुनै प्रकारको रोगका किटाणुको प्रवेश र फैलावट रोक्नको लागि अवलम्बन गरिन्छ । पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिव बरालका अनुसार नेपालमा दैनिक ५० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । दैनिक ब्रोइलर मासु आठ लाख ५० हजार किलो उत्पादन हुने गर्दछ । बरालका अनुसार हप्तामा ब्रोइलर कुखुराको चल्ला २७ लाख र लेयर्सको चल्ला तीन लाख उत्पादन हुँदै आएको छ । देशको कुखुराजन्य पदार्थको आधा चितवनमा उत्पादन हुने गर्दछ । पोल्ट्री व्यवसायी मदन पोखरेलका अनुसार यो व्यवसायले एक लाख ८० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने कूल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान पुर्याउँदै आएको छ । अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिवसमेत रहेका पोखरेलले सबै कृषकलाई विशेष चनाखो भएर जैविक सुरक्षा विधि अपनाउन आग्रह गरिएको बताए । यसअघि बर्डफ्लु भित्रदा कृषकले ठूलो नोक्सानी बेहोरेका थिए । पहिले पहिले भारतमा बर्डफ्लु देखिदासमेत नेपालमा खपतमा कमी आएको भए पनि पकाएर खाँदा असर नपर्ने भएपछि जिल्लामा नै रोग देखिदासमेत खपतमा भने कमी नआउने गरेको पोखरेलले बताए ।
वैदेशिक रोजगारः ५४५ नेपाली जेलमा, मलेसियामा मात्रै २०५ जना
काठमाडौँ । रोजीरोटीका लागि विदेशीएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ५२६ पुरुष र १९ महिला विभिन्न देशका कारागारमा बन्दी जीवन बिताउँदै छन् । कुवेतमा ५५ पुरुष र तीन महिला, संयुक्त अरब इमिरेट्समा १७३ पुरुष र १२ महिला, मलेसियामा २०२ पुरुष र तीन महिला, ओमनमा एक पुरुष र दुई महिला, साउदी अरबको जेलमा ३१ र रियादमा २३ पुरुष, कतारमा ३५ पुरुष र बहराइनमा पाँच पुरुष कामदार कारागारमा बन्दी अवस्थामा रहेका पाइएको बोर्डले जनाएको छ । त्यसैगरी, कामका सिलसिलामा दुर्घटनामा परी २१ पुरुष र तीन महिला गरी २४ जना अचेत अवस्था (कोमा) मा विभिन्न अस्पतालमा रहेका छन् । कुवेतमा तीन पुरुष एक महिला, संयुक्त अरब इमिरेट्स र ओमनमा एक÷एक, साउदी अरबमा पाँच, कतारमा नौ तथा बहराइनमा चारजना सम्बन्धित मुलुकको अस्पतालमा अचेत अवस्थामा रहेका बोर्डले जनाएको छ । विभिन्न कारणबाट जेलमा परेका नेपाली श्रमिकको उद्धारका लागि कानूनी सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । फौजदारी कसुरको अभियोग लागेका नेपाली कामदारलाई निजको तर्फबाट कानूनी प्रतिरक्षा तथा बहस पैरवी गर्न सरकरारले आर्थिक सहायता उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । ‘वैदेशिक रोजगारमा गएका नेपाली कामदारको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशका, २०७५’ अनुसार कामदारको उद्धारका लागि बढीमा १५ लाखसम्म उपलब्ध गराइने उनले बताए ।
व्यापार घाटा २७ प्रतिशतले बढ्यो, शोधान्तर स्थिति ४९ अर्ब घाटामा
काठमाडौँ । चालू आर्थिक वर्षको सात महिनामा कूल वस्तु व्यापार घाटा २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा बढेर सात खर्ब ८० अर्ब १७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको विवरणमा व्यापार घाटा बढेको उल्लेख गरेको छ । सो अवधिमा कूल वस्तु आयात २६ प्रतिशतले बढेर आठ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ दशमलव नौ प्रतिशतले बढेको थियो । आधारमा भारतबाट भएको आयात २४ दशमलव आठ प्रतिशत, चीनबाट ३६ दशमलव छ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३ दुई प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, एमएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतका वस्तुको आयात घटेको छ । बैंकका अनुसार चालू आवको सात महीनामा कूल वस्तु निर्यात ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई ५३ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो । यस्तै भारततर्फ २१ दशमलव एक प्रतिशत र अन्य मुलुकतर्फ एक दशमलव चार प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३१ दशमलव एक प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैँचा, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात घटेको छ । निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाहेकका भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ । शोधान्तर स्थिति ४९ अर्ब घाटामा बैंकको विवरणअनुसार चालू आवको सात महिनामा शोधान्तर स्थिति ४९ अर्ब ३२ करोडले घाटामा रहेको छ । चालू खाता घाटा विस्तार भई रु एक खर्ब ६६ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब ४२ अर्ब नौ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सात महीनामा रु एक अर्ब ३८ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा एक अर्ब ४६ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु १८ अर्ब २८ करोडले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको सात महीनासम्ममा १७ करोड ९१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ४३ करोड ३० लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर सात अर्ब ४३ करोड र प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब १५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु १४ अर्ब ३४ करोड रहेको थियो । कूल विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा ११ खर्ब दुई अर्ब ५९ करोड रहेकोमा गत माघ मसान्तमा घटेर १० खर्ब ७८ अर्ब ३६ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु १० अर्ब आठ करोड रहेकोमा गत माघ मसान्तमा नौ अर्ब ४९ करोड रहेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा नौ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा गत माघ मसान्तमा नौ खर्ब ३७ अर्ब ३५ करोड रहेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब तीन अर्ब १९ करोड रहेकोमा गत माघ मसान्तमा एक खर्ब ४१ अर्ब पुगेको छ । गत माघ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । रासस
विप्रेषण आप्रवाह २८ % ले बढ्यो, नेपाली युवाले ७ महिनामा पठाए ५ खर्ब
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली युवाले चालू आर्थिक वर्षको सात महिनामा पाँच खर्ब १५ अर्ब ५५ करोड विप्रेषण नेपाल पठाएका छन् । विप्रेषण आप्रवाहमा २८ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २७.३ प्रतिशतले वृद्धि भई पाँच खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३९ दशमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या चार दशमलव नौ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा चार दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या एक दशमलव छ प्रतिशतले घटेको थियो ।
बिदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक संशोधन, के हटाइयो, के थपियो(संसोधनका बुँदासहित)
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि परेका विभिन्न संशोधन माथि दफावार छलफल सहित पारित गरेको छ । उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले ११ वटा विधेयकको दफा र ३ वटा विधेयकको अनुसूचि संशोधन गरेको छ । २०७५ को दफा ८ का उपदफा १ को उद्योगले भन्ने शव्द प्रचलित कानूनको अधिनमा रही भन्ने शव्दहरु थप गरेको छ । विधेयकको दफा १२ मा रहेको सरकार वा भन्ने शव्दहरु हटाउने, विधेयकको दफा १४ को उपदफा १ मा रहेको वाणिज्य भन्ने शव्द पछि बैंक वा पूर्वाधार विकास भन्ने वाक्यांश थप गर्ने र उपदफा २ मा रहेको वाणिज्य भन्ने शव्द हटाउने निर्णय गरेको छ । विधेयकको दफा १५ को उपदफा २ मा रहेको पन्ध्र भन्ने शव्दको सट्टामा सात भन्ने शव्द राख्ने, उपदफा ३ हटाई त्यस पछि उपदफा क्रम मिलाउने, विधेयकको दफा १७ को सट्टामा देहायको दफा १७ राख्ने, यसमा ६ अर्बसम्मको विदेशी लगानी स्वीकृत विभागले गर्ने र ६ अर्ब भन्दा माथि विदेशी लगानी स्वीकृत लगानी बोर्ड ऐन, २०६८ अन्र्तगत लगानी बोडले गर्ने निर्णय गरेको छ । विधेकको दफा १८ को उपदफा ३ गर्न सक्नेछ भन्ने शव्दहरुको सट्टा गर्नेछ भन्ने शव्द राख्ने, विधेयकको दफा १९ को उपदफा ३ मा रहेको गर्नु पर्नेछ भन्ने शव्दको सट्टमा नगरेसम्म उपदफा १ बमोजिम अभिलेख राखिने छैन भन्ने शव्दहरु थप गरिने भएको छ । विधेयकको दफा २० को उपदफा २ को खण्ड घ मा रहेको प्रतिवन्धात्मक वाक्यांशको सट्ट देहायको प्रतिवन्धात्मक वाक्यांश राख्ने । तर ट्रेडमार्कमा ५ प्रतिशत भन्दा बढी हुने छैन भन्ने बुँदा थप गर्ने निर्णय भएको छ ।
मकवानपुरमा एकीकृत बस्ती बन्दै, १६० वटा घर बनाउने प्रदेश सरकारको तयारी
हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माण प्राथामिकतामा राखेको बताएका छन् । एकीकृत वस्ती निर्माणका लागि सरकारले प्रकृया अगाडि बढाईसकेको समेत जानकारी दिए । शुक्रबार ३ नम्बर प्रदेशको प्रदेश मामिला समितिद्वारा आयोजित कार्यक्रम कार्यान्वयन र प्रगति विषयक अन्तरकृया कार्यक्रममा समितिका सदस्यहरुको प्रश्नको जवाफ दिंदै उनले एकीकृत वस्ती प्राथामिकतामा राखेपनि जग्गा प्राप्ती सबैभन्दा ठूलो समस्या रहेको बताए । सार्वजनिक जग्गा कुनै न कुनै हिसाबले वनसँग जोडिएकोले जग्गा प्राप्तीमा समस्या भएको उनको भनाई थियो । ‘वनसंग जोडिएको जग्गा पाउन निकै सकस छ । त्यसले यो काम सोचेअनुरुप अगाडी बढेको छैन ।’ उनले मकवानपुरमा १ सय ६० वटा घर बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो । यसैगरी दोलखा, रामेछाप र सिन्धुलीमा पनि एकीकृत वस्तीको प्रकृया अगाडि बढेको जानकारी दिनुभयो । अर्को प्रसंगमा सार्वजनिक खरिद ऐन ‘लेन्दी’ भएको बताए । उनले भने-‘हाम्रो सार्वजनिक खरिद ऐनले एउटा टेण्डर खोल्न अहिले दिन गन्नु भयो भने ९ महिना लाग्छ । कानूनले तोकेको सार्वजनिक खरिद ऐनको एउटा चरण पार गर्दा कुनैलाई २ महिना कुनैलाई ३ महिनासम्म लाग्ने उनको भनाई थियो । सार्वजनिक खरिद ऐन संशोधनको लागि संघीय सरकार पनि सकारात्मक रहेको उनले जानकारी दिए । छिटोभन्दा छिटो यसको समाधान हुनेमा मुख्यमन्त्री पौडेलले विश्वास व्यक्त गरे । कर्मचारीका अभाव अव पुर्ति हुन थालेको जानकारी दिदैं अव कामको परिणाम देखिन थालेको जानकारी पनि दिए । विभिन्न विकास निर्माणका कामहरुको टेण्डर प्रकृया भईसकेको पनि उनले जानकारी दिए । कुनै न कुनै हिसाबले प्रदेश सरकारको १३ वटै जिल्लामा काम भईरहेको जानकारी दिए ।