विकासन्युज

बेइजिङमा परिसंघका अध्यक्ष मोरले भने-‘नेपाल लगानीका लागि उपयुक्त मुलुक’

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल र चीन बीच केही वर्षयता विकास हुँदै गएको आपसी सम्बन्धले दुबै देशका निजी क्षेत्र बीच समझदारी भई लगानी र औद्योगिक विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा चीनको बेइजिङ्गमा बैशाख १५ गते आयोजित‘नेपाल चीन आर्थिक तथा व्यापार मञ्च’मा परिसंघको अध्यक्षको तर्फबाट उनले उक्त विचार व्यक्त गरेका हुन् । उक्त मञ्चमा बोल्दै परिसंघका अध्यक्ष मोरले दक्षिण एशियाका मुलुक मध्ये नेपाल लगानीको लागि राम्रो अवसर भएको मुलुक रहेको बताएका थिए । हालै नेपाल सरकारले लगानी सुरक्षाको लागि उद्योग–व्यवसायसँग सम्बन्धित कानुन, नीतिका साथै यस क्षेत्रमा प्रक्रियागत एवं संरचनात्मक सुधार गरेकोले कुनैपनि लगानीकर्ताले नेपालमा निश्चिन्त भइ लगानी गर्न सक्ने वातावरण बनेको विश्वास दिलाउँदै उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गरेका थिए । उनले नेपालमा हालै सम्पन्न‘नेपाल लगानी सम्मेलन २०१९’ मा चिनियाँ लगानीकर्ताको सहभागिता त्यसभन्दा अघि चीनमा आयोजित पूर्व लगानी सम्मेलन, नेपाल–चीन आर्थिक तथा व्यापारिक मञ्चमा व्यक्त विचारबाट समेत चीनको निजी क्षेत्रले नेपाल लगानीको लागि भरपर्दो र विश्वासिलो देशको रुपमा लिएको आफ्नो अनुभव रहेको बताएका थिए । उनले भने ‘नेपालमा कार्यरत बहुराष्ट्रिय कम्पनीहरु, लगानीका सफल उदाहरणहरु हुन जसले राम्रो नाफा आर्जन गरेका छन् ।’ साथै उनले नेपाली उत्पादनलाई बजारको समस्या नरहेको, नेपाल भारत वाणिज्य सन्धि, नेपाल चीन वाणिज्य सन्धि र नेपाली वस्तुहरुको निकासीमा अमेरिका र युरोपका बजारमा प्राप्त हुने भन्सार सहुलियत महत्वपूर्ण फाइदा रहेको जनाए । नेपाली उत्पादनको निकासीमा समस्या नरहेको भन्दै चीनबाट सुरु भएको बीआरआइ जस्ता ठूला परियोजनाबाट नेपाली उद्योग व्यवसाय प्रवद्र्धन गर्ने क्षेत्रमा राम्रो फइदा हुने विश्वास व्यक्त गरे । उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी बढाउन समेत आग्रह गरेका थिए । अध्यक्ष मोरले नेपाल उद्योग परिसंघ र चीनको सीसीपीआईटी बीचको आपसी समझदारी र सहकार्यले दुई देश बीचको लगानी र व्यवसाय प्रवद्र्धनमा थप सहयोग पुग्ने विचार व्यक्त गरेका थिए ।

ग्लोबल आइएमई बैंकको १३७ औं शाखा सिन्धुलीको माडी बजारमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ३ को सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३७ पुगेको छ । सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तरिकाले सबै प्रकारका बैंकिङ्ग सेवाहरु प्रदान बैंकले जनाएको छ । बैंकले १३७ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, १०वटा एक्सटेन्सन काउण्टर तथा १३१शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

‘भाटभटेनी रेमिट’बाट पठाइएको रेमिट्यान्स जनता बैंकबाट भुक्तानी पाइने

काठमाडौँ । जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोवार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरेका छन् । भाटभटेनी मनि ट्रान्स्फर प्रालि भाटभटेनी समूहद्वारा संचालित कम्पनि हो । सम्झौता बमोजिम ‘भाटभटेनी रेमिट’ मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशैभरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ ।

तिनाउ विकास बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं । सोमबार तिनाउ विकास बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । विकास बैंकको सो दिन कूल ६ लाख ८ हजार ३२१ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो ।

माग पूरा भएपछि पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत

काठमाडौं । पुनर्निर्माण कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् । नेपाल इञ्जिनियर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिइ काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिए । काममा नगइ व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारवाही गर्ने भएको छ । प्राविधिकहरुका माग सम्बोधन भैसकेको अवस्थामा सम्पूर्ण प्राविधिक साथीहरु प्रतिबद्ध भइ काममा लाग्नेछन् । यदि आगामी दिनमा काममा नगई व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटियो भने त्यस्ता प्राविधिकहरुलाई राष्ट्रिय पुर्निर्माण प्राविधिकरणले विभागीय कार्वाही गर्न सक्नेछ– निर्णयमा उल्लेख गरिएको छ । नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव छविराज पोख्रेलले इन्जिनियरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरुलाई छुट नभएको बताए । प्राविधिक अविनाश अमरले मागहरु पूरा भएकोमा सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र नेपाल इन्जिनियर्स एशोसियसनका पदाधिकारीहरुलाई धन्यवाद दिए । प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोमबारको बजारमा तीव्र उतारचढाव, निर्जीवन बीमा समूह १०२ अंकले ओरालो

काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार शुरु भएको केहिबेरमै घटेर १२९९.११ अंकमा झरेको बजार १२ बजे उकालो लागेर १३१८ अंकमा पुगेको थियो । त्यसपछि पुन सामान्य अंकले घटेको बजार करिब सवा दुई बजेपछि सामान्य अंकले उकालो लागेर १३१४ अंकमा पुगेको थियो । अन्ततः सोमबारको बजार ४.२१ अंकले घटेर १३१० अंकमा अडेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशतले घटी हो । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट देखिएको छ । आइतबार एक अर्ब ६७ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४८ करोड रुपैयाँ घटी हो । सो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३१६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार त्रिपल डिजिटले उकालो लागेको निर्जीवन बीमा समूह सोमबार त्रिपल डिजिटले नै ओरालो लागेको छ । सोमबारको उक्त समूहको सूचक १०२ अंकले घटेको छ । तर बीमा समूहको सूचक भने १३० अंकले उकालो लागेको छ ।

टिभीएस ३१० सिसिको अपाचे आरआर बाइकको टेस्ट राइड, मूल्य ७.७९ लाख

काठमाडौं । नेपालका लागि टिभीएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले अपाचे आरआर ३१० सिसिको सोमबार अपाचेको टेस्ट राइड आयोजना गरेको छ ।कम्पनीले आरआरको मूल्य ७ लाख ७९ हजार ९ सय तोकेको छ । बाइकमा ६ स्पीड गियरबक्सयुक्त छ । टेस्ट राइड कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले टिभिएसले आफ्नो उत्पादनको ३६ वर्ष अनुभव पछि यो रेसिङ मेसिन उत्पादन भएको बताए । उनले ग्राहकको माग अनुसार आरआर बाइक नेपालमा भित्रिएको पनि बताए । सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवा प्रदान गर्ने तथा जस्तोसुकै समस्याको समाधानमा संवेदनशील ढङ्गका साथ अघि बढी रहेको उनले बताए । टिभिएस सर्भिस सेन्टर ५/५ किलोमिटरमा राखिने पनि बताए । SONY DSC

कैलालीको अत्तरीयामा आशा लघुवित्तद्वारा सीपमूलक तालिम संचालन

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले बैशाख १४, १५ र १६ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय अत्तरीया कैलालीमा आबद्ध सदस्यहरु मध्ये ७० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने सर्फ, स्याम्पु तथा अचार बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख गणेशप्रसाद भट्टले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा सर्फ, स्याम्पु तथा अचार बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ५०६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।