एनएलजी इन्स्योरेन्सले जेठ १४ गते बोलायो विशेष साधारणसभा, यस्तो छ एजेन्डा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी जेठ १४ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको बैठकले उक्त प्रयोजनको लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न १० बराबर ६ अनुपात अर्थात ६० प्रतिशत हकप्रद सेयर जारी गर्न उक्त दिन विशेष साधारणसभा बोलाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि एक अर्ब रुपैयाँ नाघ्ने छ ।
माथिल्लो त्रिशूली थ्री एको परीक्षण प्रशारण शुरु
काठमाडौँ । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आइतबारदेखि हुँदैछ । नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी दिएको छ । कूल २२० केभी क्षमताको सो प्रसारण लाइनको परीक्षण हुने भएकाले प्रसारण लाइनको टावर वरपरको दाँयाबायाँ १५-१५ मिटर क्षेत्रभित्रको स्थानमा जान वा प्रवेश नगर्नसमेत प्राधिकरणले ध्यानाकर्षण गराएको छ । तोकिएको स्थानमा प्रवेश नगर्न नगराउन तथा कुनै विद्युतीय दुर्घटनाको जोखिममा नपर्नसमेत प्राधिकरणले आग्रह गरेको छ । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यही वैशाख १७ गते विद्युत् उत्पादन नगर्ने गरी विद्युतीय उपकरणसहित अन्य संरचनाकोसमेत परीक्षण गरिएको थियो । ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी, पहिरो तथा अन्य प्राकृतिक विपद्मा परेको सो आयोजनालाई पछिल्लो समय प्राधिकरणले विशेष चासो दिएर निर्माण सम्पन्न गरेको हो । प्राधिकरणका अनुसार पहिलो चरणमा आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गरिनेछ । यस्तै दोस्रो युनिट भने आगामी असारदेखि सञ्चालनमा ल्याउने तयारीमा छ । रासस
१५ औं पञ्च वर्षीय योजना मन्त्रिपरिषदमा, यस्ता छन् नयाँ लक्ष्य
काठमाडौं । १५ औं पञ्च वर्षीय योजना मन्त्रिपरिषदमा पुगेको छ । राष्ट्रिय योजना आयोगको बैठकले बैशाख १५ गते पास गरेको योजना मन्त्रिपरिषदमा पेश भएको हो । मन्त्रिपरिषदले पास गरेपछि सो योजना आगामी आर्थिक बर्ष २०७६/७७ देखि कार्यान्वयनमा आउनेछ । वृहत छलफलपछि तयार पारिएको १५ औं पञ्च बर्षिय योजनामा प्रधानमन्त्रीले केहि सुधार गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन अनुसार आंशिक परिमार्जनसहित आयोगले योजनालाई मन्त्रिपरिषदमा पठाएको हो । ‘१५ औं पञ्च बर्षिय योजना प्रधानमन्त्रीको निर्देशनका आशयलाई समेटेर मन्त्रिपरिषद बैठकमा पठाएका छौं’, योजना आयोग उच्च श्रोतले भन्यो । मन्त्रिपरिषदमा पठाईएको योजनामा चालु आर्थिक बर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । यस अघि तथ्यांक विभागले तयार पारेको अध्ययन प्रतिवेदनले ६.८१ प्रतिशत वृद्धि कायम हुने तथ्य उजागर गरेको थियो । पञ्च बर्षिय योजनाको अन्तिम वर्ष अर्थात आव २०८०/८१ मा भने ९.६ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने पछिल्लो आंकलन छ । यस अघि सो आर्थिक वर्षमा १०.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने दावी गरिएको थियो । तथ्यांक विभागले चालु आर्थिक वर्षमा प्रति व्यक्ति आम्दानी १०३४ डलर हुने प्रक्षेपण गरेको थियो तर आयोगले मन्त्रिपरिषदमा पुगेको योजनामा १०४७ डलर पुग्ने भनिएको छ । त्यस्तै, २०८०/८१ मा प्रति व्यक्ति आम्दानी १५९५ डलर पुर्याउने लेखिएको छ । यस अघि १६०० डलर पुर्याइने भनिएको थियो । चालु आर्थिक वर्ष समाप्त हुँदा गरिबीको रेखा मुनी रहेका नागरिकको संख्या १८.७ प्रतिशत कायम हुने र पञ्च बर्षिय योजनाको समाप्त हुँदा १० प्रतिशतमा झार्ने योजनामा उल्लेख छ । यद्यपी आयोगले यस अघि योजना अवधि सकिँदा गरिबीको रेखामुनी रहेकाहरुका संख्या १३ प्रतिशत बनाउने भनेको थियो । प्रधानमन्त्री ओलीको निर्देशनपछि त्यस्तो लक्ष्य ३ प्रतिशतले घटाईएको हो । हाल ५८ प्रतिशत रहेको साक्षरता दरलाई पाँच बर्षपछि ९० प्रतिशत पुर्याइनेछ । काम गर्ने उमेर समुहका प्राबिधिक र व्यवसायीक क्षेत्रमा तालिम प्राप्त जनसंख्याको हिस्सालाई २५ प्रतिशतबाट बढाएर ५५ प्रतिशत पुर्याउने भनिएको छ । ११.४ प्रतिशतको बेरोजगारीलाई ६ प्रतिशतमा झार्ने, रोजगारीमा औपचारिक क्षेत्रको योगदानलाई ३६.५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने योजना छ । हाल ६ हजार ९ सय ७९ किलोमिटर रहेको राष्ट्रिय लोकमार्गलाई विस्तार गरेर १५ हजार किलोमिटर बनाइनेछ । आगामी पाँच बर्षभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण सम्पन्न गरिनेछ भने ४२ किलोमिटर रेल मार्ग निर्माण सम्पन्न हुनेछ । पाँच बर्षमा ९५ प्रतिशत नागरिकले ३० मिनेटको पैदल यात्रापछि यातायातमा पहुँच पाउनेछन् । हाल ७८.९ प्रतिशत नागरिकले माात्रै ३० मिनेटको यात्रापछि यातायातमा पहुँच पाएका छन् । पाँच बर्षभित्र ९९ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच विस्तार गरिने लक्ष्य छ भने ९९ प्रतिशत नागरिकमा विद्युतको पहुँच विस्तार गरिनेछ । इन्टरनेटमा पुहँच पाउने नागरिकको संख्या ५५.४ प्रतिशतबाट बढाएर ७५ प्रतिशत बनाउने, ७५ प्रतिशत नागरिकले ३० मिनेटको यात्रापछि स्वास्थ्य संस्थामा पहुँच पाउने व्यवस्था मिलाउने लक्ष्य छ ।
राष्ट्र बैंकले १ अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्ने, आवेदन दिन बैंकलाई आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक अर्ब ३० करोड ५५ लाख बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिकरुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको हो । बैंकले रु एक अर्ब चार करोड ४४ लाख बराबरको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्ने छ । यस्तै ‘ख’ वर्गका बैंकका रु १९ करोड ५८ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु छ करोड ५३ लाख मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको हो । बैंकले त्यस्तो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने शर्त राखेको छ । यस्तै, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, सञ्चालन मुनाफा कमाएको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत एवं कार्यकारी सञ्चालक कारवाही परेको हुन नहुने र कारवाहीमा परेको भए फुकुवा भएको छ महिना पूरा भएको हुनुपर्ने शर्त राखिएको छ । सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर बिक्री गरेको हुनुपर्ने व्यवस्थासमेत उक्त परिमाणको निक्षेपका लागि आवश्यक पर्ने बैंकले जनाएको छ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी यही वैशाख २३ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । रासस
काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण, सोमबारबाट चार्ज गरिने
फिदिम । पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०.०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानी लगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो । ४२.८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज गरिने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । इलामको गोदकदेखि फिदिमको थापाटारसम्मको यस खण्डमा १२६ टावर छन् । कोरिडोरको तेस्रो खण्ड फिदिम-अमरपुरमा भने टावर गाढ्ने काम पूरा हुन लागेको छ । “एउटा टावर गाढ्न बाँकी छ”, आयोजना प्रमुख द्विवेदीले भने । आर्थिक वर्ष २०६२÷६३ बाट शुरु भएको आयोजनाको निर्माणकार्य भने २०६६/६७ मा शुरु भएको थियो । पाँचथरको फिदिम र इलामको सिद्धिथुम्का क्षेत्रमा मुआब्जा वितरणमा विवाद हुँदा वर्षौँसम्म आयोजनाको निर्माणकार्य अवरुद्ध भएको आयोजना प्रमुख द्विवेदीको भनाइ छ । यस्तै टावरका लागि आवश्यक पर्ने १.५३ हेक्टर वन क्षेत्रका रुख कटानीका गर्न समयमै माथिल्ला निकायबाट आदेश नआउँदा आयोजनाको निर्माणकार्य एक दशकसम्म पुगेको हो । सो कोरिडोरअन्तर्गत चार सवस्टेशन निर्माण गरिएका छन्, झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिम र पाँचथरकै अमरपुरमा । रु २५ करोड लागतले दमक सवस्टेशन शुरुमै निर्माण सम्पन्न भएको थियो । बाँकी तीन सवस्टेशन निर्माणको लागत रु ५५ करोड थियो । तीन वटै सवस्टेशन दुई वर्षअघि निर्माण सम्पन्न भइसकेका छन् । सबै सवस्टेशन चार्ज भई सञ्चालनका लागि तयार रहेको द्विवेदीले बताए । रासस
सगरमाथाको फोहोर उठाउन कोकाकोलाको साझेदारी
काठमाडौँ । कोकाकोलाले नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एसपीसिसिसँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठूलो अभियानको सुरुवात गरेको छ । “क्लिनआवर प्राइड“ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यस्को स्वच्छतालाई बचाईराख्ने लक्ष्य लिएको छ । पर्यटन विभागका सामान्य निर्देशक डन्डुराज घिमिरेले भने, ’हामीले सगरमाथा सरसफाई अभियान सुरु गर्न खोजिरहेकै बेलामा कोकाकोला जस्तो कम्पनीबाट यस अभियानमा सामेल हुने उत्साहले हाम्रो लागि विषेश महत्व राख्दछ ।’ बोटलर्स नेपाल लिमिटेडका कार्यकारी निर्देशक प्रदीप पाण्डेले–‘हामी यस अभियानको एक हिस्सा बन्न पाएकोमा गर्वानूभूती र आभारी छौँ । साथै, हाम्रा साझेदारहरूसँग मिलेर नेपालको दिर्घकालीन बिकासका लागि वातावरणको निर्माणमा सधैं लागि पर्नेछौँ’ भने । यस अभियानको सहयोगी साझेदारहरुमा बोटलर्स नेपाल लिमिटेड, संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयस पर्यटन विभाग, वनजंगल तथा वातावरण मन्त्रालय, वातावरण विभाग, प्रदेश नं १ को उद्योग, पर्यटन, वनजंगलतथावातावरण मन्त्रालयस नेपाली सेना, खुम्बु पासाङ ल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुन्ज, बफर जोन व्यवस्थापन समिति, नेपाल पर्वतारोहण संघ, नेपालपर्यटन बोर्ड, सगरमाथा प्रदुषण नियन्त्रण संस्था, डब्लु. डब्लु. एफ् नेपाल, नेपाल भ्रमण बर्ष २०२०, नबिल बैंक, एनएमबी बैंक, प्रभु बैंक, तारा एयर र सोनमगियर छन् ।
४१ प्रतिशत नाफा बढ्दा मुक्तिनाथले कमायो ६० करोड, निक्षेप ७० प्रतिशतले बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो नाफामा ४१ प्रतिशत वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा कमाएको ४२ करोड ७५ लाख नाफालाई यो आर्थिक वर्षको सोही अवधिमा ६० करोड २० लाख पुर्याउँदा नाफाको आकार ४०.८८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष २४ अर्ब ५४ करोड निक्षेप र २१ अर्ब ९९ करोड कर्जा प्रवाहको अवस्थालाई क्रमशः ७०.०३ प्रतिशत र ६५.७६ प्रतिशतले वृद्धि गर्दै बैंकले निक्षेप ४१ अर्ब ८० करोड र कर्जा ३६ अर्ब ४५ करोड पुर्याएको छ । बैंकको कस्ट अफ फण्ड ८.७४ प्रतिशत, बेसरेट ११.२९ प्रतिशत, आरओई १९.५० प्रतिशत, र ब्याजको स्प्रेडदर ४.९९ प्रतिशत छ ।
कस्तो बिडम्बना ! चालक र सहयोगीमा आफ्नै नाम राखेर तलब बुझ्छन् राष्ट्रिय सभाका अध्यक्ष
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । ‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ । पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ ।’ प्राप्त प्रमाणअनुसार तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन् । चारजनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ हुन्छ । संसद् सचिवालयले गत पुसदेखि सांसद तथा पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीको तलब सम्बन्धितकै खातामा जम्मा गर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार संघीय संसद्का सभामुख र अध्यक्षको स्वकीय सचिवालयमा सात कर्मचारीको सुविधा हुन्छ । अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला, स्वकीय सचिवद्वय मनबहादुर क्षेत्री र कृष्णमणि बराल तथा कम्प्युटर अधिकृत उदय तिमिल्सिनाको व्यक्तिगत बैंक खाता नम्बर सचिवालयलाई प्राप्त छ । तर, दुई हलुका सवारीचालक र दुई कार्यालय सहयोगीको नाममा भने ‘गणेशप्रसाद तिमिल्सिना’ नै उल्लेख छ । संसद् सचिवालयस्थित सवारीसाधन व्यवस्थापन शाखा प्रमुख कान्छा दुलाल भने अध्यक्षले सचिवालयको चालक प्रयोग नगरेको बताउँछन् । अध्यक्षको निजी चालक लापसाङ तामाङ भएको उनको दाबी छ । ‘अध्यक्षको गाडी चलाउन सचिवालयको चालक छुट्याएको छैन,’ दुलालले भने । तर, बुधबार उनले दाबी गर्दै गर्दा शाखामा आइपुगेका सचिवालयका चालक सलामसिंह लामाले दुलालको दाबीलाई झुट पुष्टि गरिदिए । दुलालले कहाँ गएर आउनुभयो भनेर सोधेको प्रश्नमा सलामसिंहले जवाफ फर्काए, ‘राष्ट्रपतिको विदेश सवारी थियो, अध्यक्षज्यूलाई एयरपोर्ट पुर्याएर आएँ ।’ नियमअनुसार सचिवालयकै सवारी प्रयोग गरे निजी सवारीचालक शीर्षकमा रकम बुझ्नै मिल्दैन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।