विकासन्युज

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर रुपन्देहीकाे रामनगरमा, आजैदेखि बैंकिङ्ग प्रणालीमा जाने

काठमाडौं । प्रभु बैंकले रुपन्देहीको रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले उद्घाटन गरेका हुन् । कार्यक्रममा थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराएका छन् । कार्यालयमा आउने सेवाग्राहीहरुलाई कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको उनले बताए । आजदेखि सञ्चालनमा आएको बैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गर्ने छ । साथै, श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी वैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सजिलो हुने बैंकको विश्वास छ ।

भाटभटेनीको १६औँ स्टोर राजधानीको सातदोबाटोमा, १८ अर्बको कारोबार गर्ने लक्ष्य

काठमाडौं । राजधानी स्थित सातदोबाटोमा भाटभटेनी सुपर मार्केटले आफ्नो १६औँ स्टोर बिस्तार गरेको छ । शुक्रबार बिहान भाटभेटेनीका सञ्चालक मिन गुरुङ्ले एक कार्यक्रमबीच उक्त शाखाको शुभारम्भ गरेका हुन् । ४५ हजार स्क्वायर फिटमा निमार्ण भएको यस स्टोरमा १ सय ७५ जनाले रोजगारी पाउने व्यवस्था गरिएको सञ्चालक गुरुङ्ले बताए । साथै, उनले आधुनिक समाजमा बजार विस्तारको महत्व महुसुश गर्दै सोही ठाउँ रोजाईमा परेको बताएका छन् । नयाँ विस्तारित स्टोर सहित १६ वटै भाटभटेनीमा गरेर जम्मा ६ हजार ५ सय जनाले रोजगारी पाउने छन् । यस भन्दा अघि नेपालमा १५ वटा भाटभटेनी रहेका थिए । सोही संख्यामा रहेका भाटभटेनीबाट आर्थिक बर्ष २०७४।७५ मा १५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको पाईन्छ । यस्तै, चालु आर्थिक वर्षमा भाटभटेनीको कारोबार १८ अर्ब रुपैयाँ पुग्ने सञ्चालकले बताएका छन् । नेपालमा गुरुङ्ले व्यवसायको सुरुवात गरेको ३५ वर्ष पुरा भइसकेको छ । गुरुङ्का अनुसार अब हरेक नेपालीले व्यसायीक जीवनको महत्व बुझ्न आवश्यक छ, आफूले कार्य गरेको क्षेत्रमा आर्थिक हिसाबमा अगाडी बढ्नु आजको आवश्यकता पनि हो । संसार धेरै माथि पुगीसकेको छ तर हामीसँगपनि सम्भावनाहरु प्रशस्तै रहेका छन् र त्यसमा काम गरौँ भन्नेमा गुरुङ्ले प्रकाश पारे ।

१२ अर्ब पुग्यो निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी, १ खर्ब ३ अर्ब लगानी

काठमाडौ । निर्जीवन बीमा व्यवसाय गर्दै बीमा कम्पनी(बीमक)को चुक्तापूँजी चैत्र मसान्तसम्म १२ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ रहेको छ । बीमा समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले १ खर्ब ३ अर्ब १ करोड २२ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । यस्तै, नगद तथा बैंक मौज्दातमा ४ अर्ब ६० करोड ६४ लाख रुपैयाँ रहेको छ । कति उठ्यो बीमा शुल्क ? चैत्र महिनाको अन्त्यसम्मको तथ्याङ्लाई हेर्दा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब ६२ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अग्नि बीमातर्फ ६ अर्ब १९ करोड २ लाख रुपैयाँ आर्जन भएको छ । मोटर बीमातर्फबाट ११ अर्ब ७० करोड १७ लाख रुपैयाँ आर्जन हुदा सामूद्रिक बीमा तर्फबाट १ अर्ब ४९ करोड २८ लाख रुपैयाँ आर्जन देखिन्छ । त्यसैगरी हवाई बीमामार्फत ८० करोड ९२ लाख रुपैयाँ आर्जन भएको छ भने इन्जिनियरिङ बीमा मार्फत २ अर्ब ५ करोड ८२ लाख रुपैयाँ आर्जन भएको छ । यस्तै, निर्जीवन बीमा अन्र्तगत विविध शीर्षकमा भने ३ अर्ब ३३ करोड ८ लाख रुपैयाँ आर्जन भएको छ । कृषि तथा बाली बीमामा १ अर्ब ४ करोड १६ लाख रुपैयाँ आर्जन भएको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । चैत्र मसान्तसम्ममा १ सय ६५ प्रकारका बीमा लेख प्रचलनमा आएका छन् । चैत्र मसान्तसम्म १६ लाख १४ हजार ६ सय ५८ वटा बीमा लेख कायम रहेको देखिन्छ । चैत्र मसान्तसम्म मात्र थप भएका बीमा लेखको संख्या भने २ लाख १८ हजार २ सय ९९ छ । ३ हजार ७ सय अभिकर्ता चैत्र महिनामा ५९ अभिकर्ता थपिएका छन् । कुल अभिकर्ताको संख्या अब ३ हजार ७ सय १४ पुगेको छ । बीमा बजार विस्तार हुँदै गएपनि सक्रिय अभिकर्ताको संख्या कम नै रहेको पाईन्छ । नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरुको संख्या ३९ वटा रहेको छ । सो मध्ये निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको संख्या २० वटा छ ।

अनलाइन पेमेन्टमा छैन आकर्षण, कम्पनी रजिष्ट्रारमा ३ करोड राजश्व उठ्दा अनलाइनबाट ७६ लाख

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा सेवाग्राहीको सुविधाका लागि अनलाइन कारोबार शुरु भएको ५ महिना भएको छ । तर, अनलाइन कारोबारमा सेवाग्राहीको आकर्षण देखिएको छैन । यो अवधिमा कम्पनी रजिष्ट्रार कार्यालयले ७६ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । मंसिर कम्पनी रजिष्ट्रार कार्यालयले अनलाइन पेमेन्ट कारोबार शुरु गरेको थियो । ५ महिनाको अवधिमा कार्यालयमा ३ करोड ५ लाख १५ हजार ७२८ रुपैयाँ राजश्व संकलन भएकोमा ७६ लाख ८० हजार मात्रै अनलाइनमार्फत संकलन भएको हो । २०७५ मंसिरदेखी २०७६ जेठ २ गतेसम्म कम्पनी रजिष्ट्रार कार्यालयमा १८ हजार ७०२ वटा कम्पनीले राजश्व बुझाएकोमा अनलाइनमार्फत ४५० वटा कम्पनीले मात्रै भुक्तानी गरेका छन् । दुई वर्षदेखि कम्पनी दर्ताका लागि अनलाइन मार्फत आवेदन गर्ने व्यवस्था गर्दै आएको कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइनमार्फत ५ महिना अघि मात्र भुक्तानी सेवा समेत शुरु गरेको थिथो । सेवाग्राहीहरुले कार्यालयमा तिनुपर्ने सबै प्रकारका शुल्क तथा जरिवाना अनलाइन पेमेन्टमार्फत् तिर्ने व्यवस्था मिलाएको हो । कम्पनी रजिष्ट्रार कार्यालयका लेखा अधिकृत अजय बर्तौलाले कानून व्यवसायीहरु मार्फत आएका कामहरुमा उनीहरुले अनलाइनमार्फत भुक्तानी नगरेका कारणले पनि भुक्तानीमा कमि देखिएको बताए । उनले कम्पनीका सञ्चालक आउँदा मात्रै अनलाइनमार्फत भुक्तानी हुने र सबैले अनलाइन मार्फत भुक्तानी गर्न सकिन्छ भनेर नबुझेको कारणले पनि कमि आएको बताए । कम्पनीका सञ्चालक थौरै मात्र आउने र सबैलाई अनलाइनमार्फत भुक्तानी गर्न सकिन्छ भनेर पनि थाहा नभएको उनले बताए । सरकारले डिजिटल नेपाल निर्माणको कार्य अघि बढाइरहँदा कम्पनी रजिष्ट्रार कार्यालयमा अनलाइनमार्फत भुक्तानी गर्नेहरुको संख्या भने निकै कमि देखिएको छ ।

सुनकाे मूल्य एक्कासी ५ सयले घट्यो, प्रतितोला ६० हजार २ सयमा कारोबार

काठमाडौं । शुक्रबार सुनकाे मूल्य प्रतितोला  ५ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ६० हजार २ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ । त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँ कारोबार भएको थियो भने शुक्रबार ५ सय रुपैयाँ घटेर ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी १० रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा विक्रि वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

उच्च रक्तचापका बिरामीले औषधी नियमित नखाए प्यारालाईसिस हुने सम्भावना बढी : डा. अनिल भट्टराई

वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराई व्यस्त र तनावपूर्ण जिन्दगीको कारण मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचापको कारण मात्र संसारभरमा वर्सेनि ७५ लाख भन्दा बढी मानिसको मृत्‍यु हुने गरेको छ । यो संख्या मानिस मृत्यु हुने कूल संख्याको १२ प्रतिशत हो । बढ्दो उमेरलाई यसको मुख्य कारणको रुपमा मानिन्छ । युवा अवस्थामा पनि यो समस्या देखिएता पनि ६०–६९ बर्षको उमेर समूहलाई यसले बढी सताउने गरेको छ । हृदयघातको हुनुको कारणहरु मध्ये उच्च रक्तचाप पनि एक हो भनिन्छ, तर यी दुई बिच के–कस्तो सम्बन्ध छ भन्ने बिषयमा थोरै मानिसलाई मात्र अवगत छ । शुक्रबार विश्व उच्च रक्तचाप दिवस हो, यसै सन्दर्भमा  उच्च रक्तचाप र हृदयघात कसरी सम्बन्धित छन्, प्रेसरको औषधी खानु ठीक छ कि छैन ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईसँग विकासन्यूजका लागि डोमी शेर्पाले  गर्नु भएको कुराकानी: उच्च रक्तचाप र हृदयघातको कस्तो सम्बन्ध छ ? उच्च रक्तचाप भएको मानिसलाई हृदयघात (हार्ट अट्याक) हुन्छ भन्ने ग्यारेन्टी छैन तर उच्च रक्तचाप हुने मानिसको रगतमा बढी चिल्लो (कोलेस्ट्रोल) र मधुमेह (सुगर) हुनेगर्छ । सुगर र कोलस्ट्रोल भएका मानिसलाई अन्य मानिसभन्दा हृदयघात हुने सम्भावना बढी हुन्छ । त्यस्तै यो अवस्थालाई निम्ताउने रोगको जोखिमका  कारण पनि एउटै हुन्छ । उच्च रक्तचाप र हृदयघात दुवै वंशानुगत रोग पनि हुन् । मोटोपना, रगतमा चिल्लोको मात्रा बढी (कोलेस्ट्रोल), धुम्रपान, मधुमेह, मध्यपानको अत्याधिक सेवन, चिल्लो(बोसो भएको) र तारेको(भुटेको) खाना ब्ढी खानु यी दुवै रोग लाग्ने कारणहरु हुन् । साथै हृदयघात भएको मानिसको ईतिहास हेर्ने हो भने प्रायःमा उच्च रक्तचाप देखिन्छ, जसकारण उच्च रक्तचाप हुने मानिसलाई हृदयघात हुने सम्भावना बढी हुन्छ भन्न सकिन्छ । यिनै विविध कारण रक्तचाप र हृदयघात एकअर्कासँग सम्बन्धित छन् । हृदयघातका विभिन्न औषधीहरु छन्, जुन बिशेषज्ञ डाक्टरलाई देखाएर मात्र खानु पर्छ । हामीले घरमै बसेर पनि उपचार गर्न सक्छौं । हृदयघात हुँदा रक्तचापको अवस्था के हुन्छ ? हृदयघात हुने बित्तिकै मानिसको रक्तचाप घटेर जान्छ किनभने हृदयघात भनेको मुटुको मांसपेशीको कुनैपनि भागमा रक्तसंचार अवरोध भएर एकहद सम्म मरे तुल्य हुनु हो । यो अवस्थामा मुटुको रगत फाल्ने शक्ति कम भएर जान्छ । जसकारण हृदयघात भएको तत्कालीन अवस्थामा ब्लड प्रेसर घटेर जान्छ । रक्तचापको सबैभन्दा माथिल्लो लेभल र तल्लो लेभल कुन हो ? सबैभन्दा त पहिला सामान्य ब्लड प्रेसर कति हो भन्ने जान्न जरुरी छ । प्रेसर दुई किसिमका हुन्छन्, एक माथिको प्रेसर र दोस्रो तलको प्रेसर । ११०-१३० सम्मलाई माथिल्लो प्रेसरको सामान्य अवस्था मानिन्छ । यसमा प्रेसर १३० भन्दा माथि हुनु उच्च रक्तचापको अवस्था हो र ११० भन्दा कम हुनु निम्न रक्तचाप(लो ब्लड प्रेसर) को अवस्था हो । त्यस्तै, तलको प्रेसर ६०-८० को अवस्थालाई सामान्य मानिन्छ। यसअघि ९० लाई सामान्य मानिन्थ्यो । यसमा प्रेसर ८० भन्दा माथि हुनु उच्च रक्तचापको अवस्था हो र ६० भन्दा कम हुनु निम्न रक्तचाप (लो ब्लड प्रेसर)को अवस्था हो। उच्च रक्तचाप घटाउने तरिका के के हुन् ? ब्लड प्रेसरका विभिन्न औषधीहरु छन्, जुन बिशेषज्ञ डाक्टरलाई देखाएर मात्र खानु पर्छ । हामीले घरमै बसेर पनि उपचार गर्न सक्छौं । उच्च रक्तचाप भएको अवस्थामा नुनको मात्रा कम खाने किनभने नुनले शरीरमा पानीलाई राखिरहन्छ । जसकारण शरीरमा रगतको मात्रा बढ्न प्रेसर बढेर जान्छ । यी जोखिमका कारणलाई घटाउन खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्न आलु, चिनी, सेतो भात कम खाने गर्नुपर्‍यो । हामीले उच्च रक्तचापलाई व्यवस्थित गर्न खानपानमा व्यवस्थापन, नियमित व्यायाम, शरीरको चाल सामान्य राख्ने, धुम्रपान मध्यपान छोड्ने, तनावयुक्त जीवनबाट सक्दो टाढा बस्नु पर्छ । अहिलेको अवस्थामा हरेक पेशामा प्रतिस्पर्धा छ, जसकारण मानिसहरु हरसमय तनाबमा रहन्छन् । यदी हामी अरुसँग प्रतिस्पर्धा गर्नु भन्दा पनि आँफैमा प्रतिस्पर्धा गर्ने हो भने धेरै हदसम्म तनावबाट टाढा बस्न सक्छौं । यसरी हामीले धेरै हदसम्म ब्लड प्रेसरलाई सामान्य अवस्थामा राख्न सक्छौँ र भविश्यमा हुने हृदयघातबाट पनि आफुलाई बचाउन सक्छौं । घरेलु उपचार भनेको प्रेसर थप नबढोस् भनेर हो । यसले हुन सक्ने जोखिमलाई नियन्त्रण गर्ने हो, तर प्रेसर आँफैमा बढीसकेको छ भने त्यो आफैमा भने औषधी नखाई घट्न सक्दैन । ब्लड प्रेसरको औषधी खानु कत्तिको उचित हुन्छ ? घरेलु उपचार भनेको प्रेसर थप नबढोस् भनेर हो । यसले हुन सक्ने जोखिमलाई नियन्त्रण गर्ने हो, तर प्रेसर आँफैमा बढीसकेको छ भने त्यो आफैमा भने औषधी नखाई घट्न सक्दैन । त्यसले गर्दा उच्च रक्तचाप भएको बिरामीले विशेषज्ञ डाक्टरलाई देखाई औषधी नै खानु पर्ने हुन्छ । किनभने औषधी सेवन नगरेको अवस्थामा शरीरमा लामो समयसम्म प्रेसर रहन्छ जसले भविश्यमा मृगौला फेल हुने, आँखाको ज्योति कम हुँदै जाने, मस्तिस्कघात भएर प्यारालाईसिस हुने, सुगर र कोलेस्ट्रोल नियन्त्रण नहुँदा हार्ट अट्याक हुने संभावना रहन्छ । त्यसैले भबिश्यमा हुने ठूलो जोखिमबाट बच्न पनि प्रेसरको औषधी नियमित खानु जरुरी छ। त्यसको साथै समय समयमा चेकअप गराईराख्नु पर्छ । के हामी घरमै बसेर प्रेसर जाँच्न सक्छौं ? पक्कैपनि हामी घरमै बसेर प्रेसर जाँच्न सक्छौ, किनभने अहिले प्रेसरका डिजिटल मेसिनहरु बजारमा उपलब्ध छन् । आँफैले आफ्नो प्रेसर जाँच्न गाह्रो भएतापनि यदी घरमा कोही मेडिकल क्षेत्रका सदस्य हुनुहुन्छ भने उहाँबाट पनि तपाईँले आफ्नो प्रेसर जाँच्न सक्नुहुन्छ । एउटा प्रेसरको बिरामीले कति समयको अन्तरालमा आफ्नो प्रेसर चेक गराउनु पर्छ ? लामो समयसम्म प्रेसर भएका बिरामीलेहरुले हप्तामा दुईपटक सम्म आफ्नो प्रेसर जाँच्नु राम्रो हुन्छ, त्यस्तै सामान्य मानिसले महिनामा एक पटक आफ्नो प्रेसर जाँच्दा राम्रो हुन्छ ।

४९ पैठारीकर्ताले भन्सार महशुल तिरेनन्, भन्सार जाँचपास कार्यालयले कारोबार रोक्का गर्ने

काठमाडौँ । भन्सार जाँचपास परीक्षण कार्यालय तीनकुने सुविधानगर काठमाडौँले भन्सार महशुल, अन्तःशुल्क र मूल्य अभिबृद्धि कर बक्यौता नतिर्ने ४९ वटा फर्मलाई कारवाही गर्ने भएको छ । बक्यौता रकम तिर्न ती ४९ आयातकर्ताहरुलाई फोन र पत्राचारबाट जानकारी गराएपनि रकम दाखिला नगरेको कार्यालयले जनाएको छ । कार्यालयले अबको १५ दिनमा आफूले रकम दाखिला गरेको भए सोको प्रमाण, कुनै न्यायिक निकायमा विचाराधिन भए सो को जानकारी र दाखिला गर्न बाँकी भए बैंक राजश्व खातामा दाखिला गरी सक्क बैंक भौचर पेश गर्न भनेको छ । बक्यौता रकम असुलीमा सम्बद्ध भन्सार एजेन्ट, कार्यालयहरुले पनि सहयोग गर्न अनुरोध गरिएको छ । साथै पैठारीकर्ताहरुले बक्यौता रकम समयमा दाखिला गर्न बेवास्ता गरेमा भन्सार ऐन २०६४ र भन्सार जाँचपास परीक्षण कार्यविधि २०७५ बमोजिम सम्पत्ति एवम् कारोबार रोक्का राखि बक्यौता असुल गरिने कार्यालयले सूचना प्रकाशित गरी उल्लेख गरेको छ ।    

तलब बढाउ अभियानमा कर्मचारी नेता, भन्छन्ः यसपाली पक्का बढ्छ

काठमाडौं । बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगिरहेका बेला कर्मचारी संगठनका नेताहरु पनि तबल बढाउ अभियानमा लागेका छन् । प्रधानमन्त्री केपी ओलीलाई भेटेर तलब वृद्धि गर्नुपर्ने आधारहरु पेश गर्नु अघि आधिकारीक ट्रेड युनियनले बिहिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले कार्यपत्र प्रस्तुत गरे । उनले तलब बढाउनुपर्नाको लामो कारण पेश गरेका थिए । समृद्ध नेपाल, सुखि नेपालीको नारालाई मुर्त बनाउन कर्मचारी प्रशासनको मनोबल उच्च बनाउनुपर्ने र त्यसको पहिले सर्त तलब तथा सेवा सुबिधा वृद्धि नै भएको उनको तर्क थियो । उनले गत ३ आर्थिक वर्षको मूल्यवृद्धि र राजश्व संकलनका आधारमा तलब बढाउनुपर्ने बताएका थिए । ‘नेपाल राष्ट्र बैंकले तयार पारेको गत ३ आर्थिक वर्षको मूल्य वृद्धि सम्बन्धी प्रतिवेदनका आधारमा तलब भत्ता बढाउनुपर्ने आधार तयार पारेका छौं, त्यसैलाई लिएर अब लबिङ गर्छाै’, आधिकारीक ट्रेड युनियनका केन्द्रिय सदस्य लेखनाथ पोखरेलले विकासन्युजसँग भने । बिहिबारको छलफलमा अर्थ मन्त्रालयबाट प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुमन दाहाल सहभागी भएका थिए । झापाको दाहाल अर्थमन्त्रीले रुचाईएका पात्रमा पर्छन् ।  आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले प्रधानमन्त्री केपी ओलीलाई कर्मचारीको तलब बढाउन कन्भिन्स गर्ने प्रयास गरेको बताए । ‘हामीले यसपाली तलब बढाउनुपर्छ भनेका छौं, समृद्धिको अभियानका असली इञ्जिन कर्मचारी नै हुन, उनीहरुको वृद्धिविकासमा ध्यान दिनुपर्छ भन्दै आएका छौं’, ढकालले विकासन्युजसँग भने । पछिल्लो ३ बर्षदेखि कर्मचारीको तलब वृद्धि गरिएको छैन् । हाल कर्मचारीले तलब बाहेक मासिक २ हजार रुपैंयाँ महंगी भत्ता पाईरहेका छन् । जुन चालु आर्थिक वर्षको बजेटमा एक हजार रुपैंयाँ थपिएको हो । आगामी आर्थिक वर्षको बजेटमा भने २ हजार महंगी भत्तालाई नै तलबमा रुपान्तरण गरिने सम्भावना रहेको कोइरालाले बताए । ‘यसपाली तबल त पक्का बढ्छ, महंगी भत्तालाई तलबमा रुपान्तरण गर्ने चलन छ, केहि थपिदिए हुन्थ्यो भन्ने हाम्रो माग हो’, कोइरालाले भने । तलब वृद्धिका लागि मुख्य सचिवको नेतृत्वमा गठन हुने संयन्त्र भने अझै खडा भएको छैन । यस्तो छ तलब पुनरावलोकन गर्ने संयन्त्र निजामति ऐनको दफा २७ मा लेखिएको छ- तलब भत्ताः (१) निजामती कर्मचारीले आफ्नो पदमा बहाली गरेको दिनदेखि तलब भत्ता पाउनेछ । (१क) निजामती कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नको लागि देहायबमोजिमको एक तलब भत्ता पुनरावलोकन समिति रहनेछ – (क) नेपाल सरकारको मुख्य सचिव – अध्यक्ष (ख) सचिव, अर्थ मन्त्रालय – सदस्य (ग) सचिव, सामान्य प्रशासन मन्त्रालय – सदस्य (१ख) तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक वर्ष उपभोक्ता मूल्य सूचीको आधारमा महँगी भत्ता निर्धारण गरी नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ । सो समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्य सूचीको आधारमा प्रदान गरिएको महँगी भत्तासमेतलाई आधार बनाई तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नेछ । सो समितिले अन्य कार्य्विधि आफैंले तय गर्न सक्नेछ । (१ग) उपदफा (१क) बमोजिमको समितिले आवश्यकताअनुसार उपसमितिको गठन गर्न र सम्बन्धित क्षेत्रका विशेषज्ञ वा सरोकारवालाहरूलाई समितिमा आमन्त्रण गरी सुझाव लिन सक्नेछ । (१घ) उपदफा (१क) बमोजिमको समितिको सचिवालयको काम सामान्य प्रशासन मन्त्रालयले गर्नेछ । (२) नेपाल सरकारले उपदफा (१क) बमोजिमको समितिको सिफारिसको आधारमा प्रत्येक वर्ष वृद्धि हुने उपभोक्ता मूल्य सूचीको पचहत्तर प्रतिशतसम्म रकम प्रत्येक वर्ष भत्ताको रूपमा निजामती कर्मचारीलाई प्रदान गर्न सक्नेछ । त्यसरी प्रदान गरिएको भत्ता रकम सुरु तलब स्केलको पच्चीस प्रतिशत वा सोभन्दा बढी हुन गएको वर्षमा पच्चीस प्रतिशत रकम तलबमानमा समायोजन गरी बाँकी रकम भत्ताको रूपमा प्रदान गर्न सक्नेछ ।