विकासन्युज

नेपाल बङ्गलादेश बैंकले शुक्रबारदेखि दुई अर्बको ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले जेठ १० गते (शुक्रबार)देखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । सो मध्ये ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ भने बाँकी १२ लाख कित्ता(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले जेठ १० गतेदेखि छिटोमा जेठ १४ गतेसम्म र ढिलोमा असार ८ गतेसम्म खरिद गर्न सक्ने छन् । केयर रेटिङ नेपालले उक्त ऋणपत्रलाई न्युन कर्जा जोखिम जनाउने “इक्रा एनपी ए एलबीबी प्लस” रेटिङ्ग प्रदान गरेको छ । बैंकले १० वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याज पाइने छ । साथै, यस ऋणपत्र नेप्सेमा सूचीकृत हुनुका साथै विभिन्न बैंक तथा वित्ती संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी रहेको छ । त्यस्तै, अधिकृत पुँजी १० अर्ब र जारी पुँजी ८ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

प्रधानमन्त्रीले भने-‘सामुदायिक विद्यालयसँग प्रतिष्पर्धा गर्न निजीलाई हम्मेहम्मे’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि सरकार लागिपरेको बताएका छन् । हिसान र कान्तिपुरले संयुक्त रुपमा आयोजना गरेको एड्युफेयरको विहीबार राजधानीमा उदद्घाटन गर्दैै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘केही समयपछि सामुदायिक विद्यालयको गुणस्तर यति माथि पुग्नेछ कि निजी विद्यालयलाई प्रतिष्पर्धा गर्न हम्मेहम्मे पर्नेछ ।’ तर, यसो भन्दैमा निजी क्षेत्रलाई सरकारले घाँटी निमोठ्ने काम गर्दैन–उनले भने । कार्यक्रममा बोल्दै ओलीले निजी क्षेत्रले विकासको अगुवाई गरेको र शिक्षा तथा स्वास्थ्य क्षेत्रको उन्नतीको लागि निजी र सार्वजनिक क्षेत्र संगसंगै हिड्नुपर्ने बताए । निजी क्षेत्रलाई प्रोत्साहन नमिल्दा विद्यार्थीहरु बाध्य भएर अध्ययनको लागि बाहिर जानु परेको पनि प्रधामन्त्री ओलीले उल्लेख गरे । नेपालमा गुणस्तरीय शिक्षा भन्ने मूल नाराको साथ विभिन्न विद्यालय तथा कलेजको सहभागितामा काठमाडौंको भृकुटी मण्डपमा कार्यक्रम आयोजना गरिएको हो । एड्युफेयरमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिईभिटि)को सम्बन्धनमा संचालित १ सय ५० बढी शैक्षिक संस्थाहरुको सहभागिता रहेको आयोजकले बताएका छन् । एड्युफेयरमा ४ दिनसम्म सञ्चालन हुनेछ । विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षासंग सरोकार राख्नेहरु गरी २ लाख भन्दा बढीले मेला अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।  

चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक,जेठ २४ गतेदेखि देशभर प्रदर्शन हुने 

काठमाडौं । चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन मिति नजिकिदै जादा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र यही जेठ २४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ । माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालि को संयुक्त प्रस्तुति रहेको चलचित्र ‘रेस’मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका छ । चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पनि सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ । किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको यो चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको छ । चलचित्रका मुख्य निर्माता हस्त लिबांग हुन भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा सहनिर्मातामा पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् । यतिवेला चलचित्रका मुख्य निर्माता हस्त लिबांग र किशोर सुब्बा पूर्वाञ्चलका विभिन्न स्थानहरुमा चलचित्र प्रमोशनका लागि पुगेका छन् । सुब्बाले यसअघि चलचित्र खुर्पा, खुकुरी, मिसन नेपाल लगायतका चलचित्र निर्देशन गरीसकेका छन् ।

गरिमा विकास बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।

एभरेष्ट इन्स्योरेन्सका ग्राहकलाई ह्याम्स हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोज सिंह भण्डारीले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट कुनैपनि किसिमको बीमा लेख लिएका वीमितले काठमाडौँ धुम्बराही स्थीत ह्याम्स हस्पिटलमा उपचार गराउँदा १०% सम्म छुट पाउने छन् ।

आईएमई जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको हालै बसेको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्रामा बोनस दिने प्रस्ताव गरेको हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब नाघ्ने छ । इन्स्योरेन्सको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी २१औँ साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस सेयर पाउने छन् । साथै, उक्त बोनसमा लाग्ने कर भने सेयरधनी आफैले व्यहोर्नु पर्ने छ ।

सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकाहरुलाई सहयोग

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ‘हाम्रो बाल संरक्षण धरोहर, नेपाल’, संस्थालाई सहयोग गरेको छ । २६ जना अनाथ बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्य पदार्थ सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएको बैंकले जनाएको छ

परिसूचक र कारोबार दुबै घट्दा अपरको १५ करोडको सेयर किनबेच, दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि

काठमाडौं । बिहीबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको छ । परिसूचक ५.०८ अंकले घटेर १३१४.५५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३९ प्रतिशत घटी हो । त्यस्तै, कूल १७० कम्पनीको ९३ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँले घटी हो । बुधबारको बजारमा ९६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा बढी सेयर कारोबार भएको छ । हाइड्रोको एकैदिन १५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिष्टीलरीको ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सामान्य अंकले घटेको बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था र मल्टि प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.९५ र ९.६३ प्रतिशत कमाएका छन् । उता दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी गुमाएका छन् । बिहीबार हिमालय उर्जा विकास कम्पनी र हिमालयन पावर पार्टनरको लगानीकर्ताले क्रमशः ९.७२ र ९.७० प्रतिशत गुमाएका हुन् । बजारमा सबैभन्दा बढी होटल समूह ३५.८३ अंकले बढेको छ भने हाइड्रोपावर समूह ६४.७८ अंकले घटेको छ ।