सात प्रदेशले ल्याए २ खर्ब ५९ अर्बको बजेट, पूर्वाधार निर्माण प्राथमिकतामा
काठमाडौं । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि कुल दुई खर्ब ५९ अर्ब ५९ करोड ८६ लाखको बजेट ल्याएको छ । देश संघीयतामा गएपछि प्रदेश सरकारले ल्याएको यो दोस्रो बजेट हो । आज असार १ गते सातै प्रदेशले प्रस्तुत गरेको बजेटमा पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, लगायतका कार्यक्रमले प्राथमिकता पाएका छन् । आइतबार प्रस्तुत गरिएको प्रदेश सरकारको बजेटमा सबैभन्दा धेरै बजेट प्रदेश ३ को रहेको छ भने सबैभन्दा थोरै बजेट सुदूरपश्चिम प्रदेशको रहेको छ । प्रदेश ३ ले कुल ४७ अर्ब ६० करोड ८७ लाखको बजेट प्रस्तुत भएको छ भने सुदूरपश्चिम प्रदेश २८ अर्ब १६ करोड २० लाख बजेट प्रस्तुत गरेको छ । प्रदेश ३ को प्राथमिकतामा सुरुङमार्गदेखि स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आज आइतबार कुल ४७ अर्ब ६० करोड ८७ लाखको बजेट प्रस्तुत गरेको छन् । बजेटको सुरङमार्ग, १३ जिल्लालाई जोड्ने बाहिरी चक्रपथ, विश्व विद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण प्राथमिकतामा परेका छन् । बजेटले ‘प्रदेश तीनको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’ भन्ने अभियानलाई आगामी आर्थिक वर्षमा अघि बढाउने भएको छ । ‘निरक्षरता मुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन’ मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, एक विद्यालय एक नर्स, एक स्थानीय तहः एक विशेष उत्पादन, प्रदेश भ्रमण दशक, एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम जस्ता कार्यक्रम बजेटको प्राथमिकतामा रहेका छन् । कर्णाली प्रदेश ३४ अर्ब ३५ करोड ३४ लाख कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार ३४ अर्ब ३५ करोड, ३४ लाखको बजेट प्रस्तुत गरेका छन् । प्रदेशसभा बैठकमा ज्वालाले आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट पेश गरेका हुन् । चालू खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ । बजेटको स्रोतमध्ये आन्तरिक राजस्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य कर्णाली प्रदेशले लिएको छ । प्रदेश १ को बजेट ४२ अर्ब २० करोड ४ लाख प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् । प्रदेश ५ को ३६ अर्ब ४१ करोड ३८ लाख, बजेटको प्राथमिकतामा शिक्षा, स्वास्थ्यदेखि पूर्वाधारसम्म प्रदेश ५ ले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा बैठकमा ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयांको बजेट प्रस्तुत गरेका हुन् । बजेटले कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको छ । प्रदेश सरकारले करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ आउनेछ । सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख बराबरका योजना पाउने गरी बजेट बनाइएको छ । सुदूरपश्चिम प्रदेश २८ अर्ब १६ करोड २० लाख सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर वोहरा आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् । प्रदेश २ को ३८ अर्ब ७२ करोड ५६ लाख बजेट, बेटी बचाऊ देखि नमुना अस्पताल अभियानसम्म प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेको छ । बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले ३८ अर्ब ७२ करोड ५६ लाख बजेट प्रस्तुत गरेका हुन् । प्रदेश २ ले सबैभन्दा बढी २९ करोड रुपैयाँ रकम ‘बेटी बचाऊ बेटी पढाऔं’ अभियानका लागि विनियोजन गरेको छ । सँगै प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाका लागि ४९ करोड बजेट छुट्याएको छ। सँगै मुख्यमन्त्री कृषि उत्थानका लागि २० करोड रकम विनियोजन भएको छ । सरकारले प्रत्येक जिल्लामा नमुना अस्पताल निर्माणका लागि ३० करोड रकम छुट्याएको छ । प्रदेश सरकारले सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि तीन करोड रकम विनियोजन गरेको छ । गण्डकी प्रदेशमा ३२ अर्ब १३ करोड ४७ लाख बजेट, सांसदलाई पनि बजेट गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । गण्डकी प्रदेशले निर्वाचन क्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचन सांसदलाई २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ । यस्तो छ सात प्रदेशको बजेट: प्रदेश १ ४२ अर्ब २० करोड ४ लाख प्रदेश २ ३८ अर्ब ७२ करोड ५६ लाख प्रदेश ३ ४७ अर्ब ६० करोड ८७ लाख गण्डकी प्रदेश ३२ अर्ब १३ करोड ४७ लाख प्रदेश ५ ३६ अर्ब ४१ करोड ३८ लाख कर्णाली प्रदेश ३४ अर्ब ३५ करोड ३४ लाख सुदूरपश्चिम प्रदेश २८ अर्ब १६ करोड २० लाख
राष्ट्रिय बीमा संस्थानले गर्यो अन्तरक्रिया
काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले गत शनिबार राजधानीको बानेश्वर स्थित अल्फा बीटा कम्प्लेक्समा‘जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्र्तक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रममा जीवन बीमा अभिकर्तासँग छलफल तथा अन्र्तक्रिया भएको थियो । त्यस्तै, संस्थानमा निरन्तर कार्यरत उत्कृष्ट अभिकर्ताले छलफलमा सहभागी भएका थिए । छलफलका क्रममा अभिकर्ताका समस्या तथा समाधानका उपायबारे आपसी वार्तालाप समेत भयो । समूहगत रुपमा चलेको उक्त कार्यक्रममा विभिन्न विषयमा चर्चा परिचर्चाहरु भएको पाईन्छ । जीवन बीमा गर्ने अभिकर्ताको सेवा, शर्त र सुविधा सम्बन्धी छलफल भएको थियो । यस्तै, नयाँ जीवन बीमा योजनाहरुको पहिचान, विद्यमान नीति–नियम , कार्यविधि र निर्देशिकाहरुमा अध्यावधिक गर्नुपर्ने विषयमा छलफल केन्द्रीत थियो । साथै, संस्थानलाई संस्थागत रुपमा थप व्यवस्थीत बनाउन आवश्यक पर्ने सुधारका विषयमा सुझावहरु संकलन गरिएको थियो । कार्यक्रममा राष्ट्रीय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठक, नायव महाप्रबन्धक महेश रिमाल लगायत व्यवस्थापक, अभिकर्तासंघका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । करीब ८० जनाको सहभागिता रहेको थियो ।
मेलम्चीका ७ सय कामदारले साढे ८ करोड पाउने, ठेकेदारको डेढ अर्ब अनिश्चित
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका कामदारहरुलाई साढे ८ करोड रुपैंयाँ भुक्तानी दिने भएको छ । मेलम्ची खानेपानी विकास आयोजनाले इटालियन कम्पनी सिएमसीको काम गरेर भुक्तानी नपाएका कामदारहरुलाई पैसा उपलब्ध गराउन लागेका हो । ‘करिब ७ सय कामदारको साढे ८ करोड रुपैंयाँ बाँकी रहेछ, त्यो पैसा दिएर काम गर्ने बाटो खोल्ने तयारीमा छौं’, खानेपानी मन्त्रालय उच्च श्रोतले भन्यो । श्रोतका अनुसार स्वदेशी ठेकेदार तथा भेण्डरहरुको डेढ अर्ब रुपैयाँबारे भने अहिले नै कुनै निर्णय गर्ने अवस्था छैन् । ‘कामदारको पैसा दिने तयारी अघि बढेको छ, तर ठेकेदारहरुको पैसाका सवालमा अहिले नै केहि गर्ने अवस्था छैन्’, ति अधिकारीले भने । ठेकेदार र कामदारहरुले आफ्नो रकम भुक्तानी नपाए काम गर्न नदिने बताउँदै आएका छन् । कामदारहरुको रकम भुक्तानी गरेर सम्भावित अवरोधलाई पत्थर पार्ने योजनामा सरकार लागेको देखिन्छ । ‘ठेकेदारले काम रोक्ने चेतावनी दिईरहेका छन्, तिनले मजदुरलाई नै अघि सारेर अवरोध गर्ने हुन, हामी मजदुरको पैसा भुक्तानी गरेर पुनः त्यहि काममा लगाउने योजनामा छौं’, मन्त्रालयका ती अधिकारीले भने । सिएमसी भागेपछि एडिबी र इप्टिसाले करिब १० वटा प्याकेज बनाएर काम अघि बढाउन सरकारलाई सुझाव दिएका थिए । मेलम्चीको बाँकी काम छोटो बाटोबाट सम्पन्न गर्न संसदको विकास तथा प्रविधि समितिले माघ १४ गते निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार जेठ ६ गते बसेको मन्त्रिपरिषद बैठकले छोटो बाटोबाट काम अघि बढाउन निर्णय गरेको थियो । मेलम्चीमा अब हेड वक्र्स, भेन्टिलेशन, सुरुङ फिनिसिङ, गेट निर्माण लगायतका गरि कुल २ अर्ब ५० करोड रुपैंयाँ बराबरको काम बाँकी रहेको प्रतिवेदन एडिबी र इप्टिसाले तयार पारेका छन् । यी दुबै निकायले केहि काम सिधै दिन सकिने, केहि काम सपिङ गर्नुपर्ने र केहिलाई सार्वजनिक सूचना प्रकाशित गरेर ठेक्का लगाउनु पर्ने प्रतिवेदन तयार पारेर बुझाएका थिए । एडीबीले मार्च ७ तारिखका दिन अर्थमन्त्रालयमा आफ्नो अध्ययन प्रतिवेदन बुझाएको थियो भने इप्टिसाले मार्च २१ तारिखका दिन मेलम्ची खानेपानी विकास समितिलाई आयोजनाको बाँकी काम सम्पन्न गर्ने सम्बन्धी विस्तृत योजना बुझाएको थियो । मेलम्चीको सुरुङ र हेड वक्र्सको निर्माण जिम्मेवारी लिएको इटालियन कम्पनी सिएमसीले डिसेम्बर १४ तारिखका दिन ठेक्का तोडेको थियो । सोही दिनदेखि मेलम्चीको काम रोकिएको हो । मेलम्चीमा स्थानीय ठेकेदारहरुको डेढ अर्ब रुपैंयाँ भुक्तानी सबै भन्दा पेचिलो बिषय बन्दै आएको छ । सिएमसीसँग लिन बाँकी डेढ अर्ब नपाए मेलम्चीको बाँकी काम अघि बढ्न नदिने स्थानीय ठेकेदार तथा सप्लायरहरुले बताउँदै आएका छन् ।
टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्माण गरिएको विद्यालय हस्तान्तरण
काठमाडौँ । टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ (सिप्रदीयन सहायता संस्था) को सहयोगमा पुनर्निर्माण गरिएको सिन्धुपाल्चोक जिल्लास्थित कूपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एउटा विशेष समारोहका माझ पुनर्निर्माण गरिएको उक्त विद्यालयको उद्घाटन गरे । ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को एक हिस्सास्वरूप टाटा ट्रस्टले सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको गरिएको छ । भूकम्पप्रतिरोधी आधुनिक संरचना र अपांगमैत्री सुविधाहरू भएको सो विद्यालयको पुनर्निर्माण गरिएको छ । सिन्धुपालचोकमा पुनर्निर्माण गरिएका अन्य ६ वटा विद्यालयहरूमध्ये श्री कूपकन्या माध्यमिक विद्यालय सबैभन्दा ठूलो हो । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ती विद्यालयहरूको कक्षाकोठा, विज्ञान प्रयोगशाला र अन्य संरचनामा ठूलो क्षति पुगेको थियो । हस्तातन्तरण समारोहमा सर दोराब्जी टाटा ट्रस्टका ट्रस्टी भि.आर. मेहता, सिप्रदीयन सहायता संस्थाका अध्यक्ष सिद्धार्थ शमशेर जबरा, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, अग्निप्रसाद सापकोटा तथा अरुण नेपालको उपस्थिति थियो । त्यसैगरी टाटा ट्रस्ट्सका प्रमुख वित्त अधिकारी आशिष देश पाण्डे, क्षेत्रीय प्रमुख अमृता पतवर्धनका साथै संघीय सांसद् र स्थानीय सरकारी अधिकारीहरूको पनि उपस्थिति थियो ।
जगदम्बा मोटर्सको आयोजनामा बीमा तालिम सम्पन्न
काठमाडौँ । नेपालका लागि टिभिएस टु व्हीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि देशभर प्रत्येक घरमा टिभिएस बाईक तथा स्कूटरलाई स्थान दिलाउन एक घर एक टिभिएस भन्ने अभियान अन्तर्गत नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सहकार्यमा बीमा तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता जगदम्बामोटर्स प्रालिका भाईस प्रेसिडेन्ट दीपककुमार अग्रवालले गरेका थिए । त्यसैगरी प्रमुख अतिथिको रुपमा नाटुका अध्यक्ष जीवन अधिकारीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा टिभिएसको तर्फबाट नाटु जीवन बीमा कोषको लागि रु. ५१,००० आर्थिक सहायता प्रदान गरिने घोषणा पनि गरिएको थियो भने नाटु मार्फत बिक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट रु. २०० उक्त कोषको लागि छुट्याइने जानकारी पनि गराइएको थियो । काठमाण्डौंमा आयोजित प्रशिक्षण शिविर कार्यक्रमको औचित्यको बारेमा दीपककुमार अग्रवालले प्रकाश पारेका थिए । जगदम्बा मोटर्स प्रालिले तालिम तथा बीमा कार्यक्रम ६७ स्थानहरुमा सञ्चालन गरी ३००० मेकानिकलाई तालिम दिने प्रतिबद्धता जनाएको छ ।
सनराइज बैंक लिमिटेडको थप २ शाखारहित बैंकिङ सेवा बिस्तार
काठमाण्डौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ २ वटा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । बैंकले ३४ औँ शाखारहित बैंकिङ्ग सेवा तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ९ गजौडे र ३५ औँ शाखारहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.६, जलजले बजारमा सुरुवात गरेको छ । व्यास नगरपालिका वडां नं. ९ का अध्यक्ष सुरेश थापा र नायव महाप्रबन्धक अपछकुमार यादवले जेठ ३० मा एक समारोहका बीच गजौडेमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । साथै जेठ ३२ गते ३५ औँ शाखारहित बैंकिङ्ग सेवा त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्र भगत र बैंकका प्रदेश नं. १ को प्रमुख विवेक निरौलाले संयुक्त रुपमा उद्घाटन गरी पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
चीनको छेङ्दु महानगरद्धारा काठमाडौं महानगरलाई २ ब्रुमर हस्तान्तरण
काठमाडौं । काठमाडौं महानगरपालिकालाई छिमेकी राष्ट्र चीनको छेङ्दु महानगरले २ वटा ब्रुमर हस्तान्तरण गरेको छ । राष्ट्रिय सभागृहमा भएको ब्रुमर हस्तान्तरण तथा सांस्कृतिक कार्यक्रममा छेङ्दु महानगर प्रमुख न्यू चिङ वाओले ब्रुमरको साँच्चो काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई हस्तान्तरण गरेका हुन् । २ करोड २७ लाख ३ सय ७२ रुपैयाँ मूल्य रहेको उक्त ब्रुमरसँगै चिनीयाँ टोली शनिबार काठमाडौं आईपुगेका थिए । कार्याक्रममा स्वागत मन्तव्य राख्दै काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्कीले प्राचिन कालदेखि दुई देशको सम्बन्ध उजागर गर्दै आगामी दिनमा पनि छेङ्दु महानगरसँग निरन्तर रुपमा सहकार्य हुनेमा विश्वस्त रहेको बताईन । त्यस्तै चीनको छेङ्दु महानगरका प्रमुख न्यु चिङ वाओले विकासको गतिमा अगाडी बढ्दै गरेको नेपाललाई साथ एवं सहयोग गर्न तत्पर रहेको भन्दै काठमाडौं महानगरलाई ब्रमुर हस्तान्तर गर्न पाउदाँ खुसी रहेको बताए । कार्यक्रममा बाेल्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले छेङ्दु टोलीलाई धन्यवात दिँदै आगामी दिनमा दुई सहरबीच पर्यटन, सामाजिक तथा सांस्कृति विषयलाई अगाडी बढाउने जानकारी दिए । कार्यक्रममा नेपालका लागि चिनीयाँ दुतावासका प्रतिनिधिकाे तथा काठमाडाैं महानगरपालिकाका कर्मचारीकाे उपस्थित रहेकाे थियाे । यस्ता छन् व्रुमरका विशेषता ८.६ मिटर लम्बाई, ३.५ मिटर चौडाई रहेको सो ब्रुमरमा २ वटा इञ्जिन रहेका महानगर मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलले बताए । उनका भने ‘१५५ किलोवाट इञ्जिनको क्षमता छ भने ब्रुमर चलाउने इञ्जिन ११८ किलोवाट रहेको छ । डिजेलले चल्ने सो ब्रुमरको तौल १५.८ मेट्रिक टन रहेको छ । ’ हरेक ब्रुमरले ६ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता रहेको सो ब्रुमर ९८ किलोमिटर प्रतिघण्टा गतिले सडकको क्षमता हेरेर प्रतिघण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्ने मेकानिकल शाखाका प्रमुख डंगोले बताए ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्वागत मन्तव्य राख्दै कम्पनीको मूलभूत उपलव्धीहरुको वारेमा प्रकाश पारेका थिए । कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईंले कार्यक्रमको अध्यक्षता गर्दै आब २०७४/७५ मा करीब १.५ प्रतिशत अरव कूल मूनाफा गर्न सफल भएको वित्तीय विवरण स्वीकृतिका लागि बार्षिक साधारण सभामा पेश गरेका थिए ।