विकासन्युज

एसईईको ग्रेड वृद्धि परीक्षा सर्यो, अब कहिले ?(तालिका सहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले साउन २६ र २७ का लागि तोकेको एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी हुन पाउने जनाइएको छ । संसोधित परीक्षा तालिका हेर्नुहोस्ः  

वोमी लघुवित्तको हकप्रद साउन ९ गतेदेखि खुल्ने, १ सेयर बराबर नयाँ १ सेयर पाइने

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । प्रति सेयर रु.१०० अंकित दरको १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार साउन ९ गते उक्त हकप्रद सेयर निष्काशन हुने र भदौ ११ गतेसम्म भर्न सकिने छ । उक्त कम्पनीको विद्यमान रु १० करोड १० लाख ८८ हजार चुक्ता पूँजीमा १ सेयर बराबर नयाँ एक (१ः१) सेयरको अनुपातमा १० लाख १० हजार ८ सय ७० कित्ता सेयर असार २७ गतेभन्दा अघिसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई कायम साविक सेयरधनीहरुका लागि निष्काशन गर्न लागिएको हो ।

कोटेश्वरको तीनमुखे सुरुङबाट जाइका आउट, सरकारले आफैं बनाउने

काठमाडौं । कोटेश्वरमा निर्माण हुने तीनमुखे सुरुङबाट जापान सहयोग नियोग(जाइका) आउट भएको छ । ढिलो काम गर्ने कार्यशैलीका कारण सरकारले जाइकालाई विस्थापित गरी आफैं अध्ययन र निर्माण गर्ने सोँच बनाएको हो । ‘जाइकाको काम गर्ने शैली ढिलो छ, हामीलाई ढिलाई गर्ने सुविधा छैन्’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर सहासेठले भने । उनले सडक विभाग मार्फत अध्ययन अघि बढेको र सोही प्रतिवेदन अनुसार कोटेश्वरमा अण्डरपास निर्माण हुने बताए । ‘कोटेश्वरमा ३ मुखे सुरुङ आफैं बनाउने हो, कलंलकीमा तल मात्रै गाडी गुड्छन्, यहाँ भने सुरुङ मार्ग जसरी तल–माथी दुबै ठाउँमा गाडी गुडाउन मिल्छ’, मन्त्री महासेठले भने । जडिबुटीबाट आरम्भ हुने सुरुङ मार्ग तीनकुनेमा टुंगिनेछ । तीनकुनेबाट एउटा मुख एयरपोर्टतर्फ फर्केको हुनेछ भने अर्काे शान्तिनगरतर्फ खुल्नेछ । यो सुरुङको माथी पनि गाडी गुड्नेछ । जाइकाले अध्ययन मै ढिलाई गरेपछि सरकारले आफैं अध्ययन अघि बढाएको हो । सरकारले आगामी आर्थिक वर्षमा यो सुरुङ मार्गको अध्ययन सम्पन्न गरेर निर्माण कार्य अघि बढाउने बजेट वक्तव्यमै उल्लेख गरेको छ । सरकारले त्यसबाहेक नयाँ बानेश्वरमा अण्डर पास निर्माण गर्ने योजना समेत अघि सारेको छ । त्यस्तै, त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभर बनाउने समेत भनेको छ । यो फ्लाई ओभरको भने जापान सहयोग नियोग(जाइका)ले अध्ययन गरिसकेको छ । सरकारले आगामी आर्थिक वर्षमा देशभरका बिभिन्न स्थानमा सुरुङ मार्गहरुको अध्ययनका लागि ६९ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । सो बजेटले टोखा-छहरे-गुर्जे भञ्ज्याङ, खुर्काेट-चियाबारी, विपिनगर-खुटिया-दिपायल, थानकोट-चित्लाङ र लामाबगर-उत्तरी सिमा सडक खण्डमा सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन हुनेछ । सरकारले नागढुंगा-नौबिसे सुरुङ मार्ग र सिद्धबाबाको सुरुङमार्ग निर्माण कार्य आगामी आर्थिक वर्षदेखि नै आरम्भ गर्न लागेको छ ।

आँधिखोलाको ३ लाख ७५ हजार कित्ता आइपीओ आजदेखि, २५ गतेसम्म भर्न सकिने

काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) असार २२ गतेदेखि खुलेको छ । स्याङजा भीरकोट बयरघारी केन्द्रीय कार्यालय भई कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्ला कार्यक्षेत्र भएको आँधिखोलाको ४ लाख कित्ता सेयर खुलेको हो । जसमध्ये ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई, ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि २००० कित्तासम्म आवेदन दिन सकिने छ । असार २२ गतेदेखि खुल्ने सेयर छिटोमा असार २५ गते र ढिलोमा साउन २० गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

उपत्यकामा गुड्ने ५२ प्रतिशत सवारी प्रदुषण जाँचमा फेल, डिजेल गाडीमा बढी समस्या

काठमाडौँ । उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रदूषण फेल भएका गाडी चलाउने चालकमाथिको कारवाही न्यून आर्थिक दण्डमा मात्रै सीमित छ । उसले एक हजार तिरेर मर्मतसम्भार गरी ठीक बनाएपछि हरियो स्टिकर पाउने व्यवस्था छ । हरियो स्टिकर पाएका कारण प्रदूषण फेल भएका गाडी पनि उपत्यकामा निर्वाधरुपमा सञ्चालन भइरहेको छ तर नियन्त्रणको प्रभावकारी उपाए भने अपनाउन नसकिएको तीतो यथार्थ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो तीन महीना उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियान सञ्चालन गर्दा आधाभन्दा बढी गाडी प्रदूषण फेल भएको भेटिएको छ । अभियानमा तीन हजार ५६ वटा गाडीको प्रदूषण जाँच भएकामा एक हजार ७१० गाडी प्रदूषण फेल भएको भेटियो । यसको अर्थ ५२ प्रतिशतभन्दा बढी दूषित धुवाँ फ्याँक्ने गाडी उपत्यकामा चल्ने गरेका छन् । “डिजल र पेट्रोलबाट चल्ने गाडी बराबर जस्तो नै प्रदूषण फेल भएको पाइयो, त्यसैले आगामी दिनमा अझै प्रदूषण जाँचलाई कडाइ गर्नेछौँ,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले भने । ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षण कार्यालयको संयुक्त प्रयासमा यहाँका विभिन्न क्षेत्रमा प्रदूषण अनुगमन तथा जाँच गरिँदै आइएको छ । सवारी परीक्षण कार्यालय काठमाडौँका अनुसार पेट्रोल गाडी करीब ३० प्रतिशत र डिजेलका गाडी ४० प्रतिशतको हाराहारीमा प्रदूषण फेल भएको पाइएको छ । कार्यालयका प्रमुख रामचन्द्र पौडेलले यसरी प्रदूषण फेल भएका गाडीलाई एक हजार रुपैयाँ जरिवाना गराउने गरिएको र प्रदूषण मापनअनुसार ठीक बनाएपछि गाडीलाई हरियो स्टिकर दिने गरिएको बताए । उनका अनुसार पेट्रोलबाट सञ्चालित गाडीले फ्याँक्ने धुवाँमा तीन प्रतिशतभन्दा बढी कार्बन मोनोअक्साइट हुनु हुँदैन । हाइड्रोकार्बन एक हजार पिपिएमभन्दा बढी हुनुहुँदैन । डिजेलबाट चल्ने गाडीले फ्याँक्ने धुवाँमा स्मोक डेनसिटी ६५ प्रतिशतभन्दा बढी हुनु हुँदैन । उपत्यकामा यस्ता गाडी प्रयोग गर्ने क्रम भने बढ्दो क्रममा रहेको छ । गाडीलाई राम्ररी मर्मत गरेर चलाउने हो भने सबै दृष्टिकोणले सुरक्षित हुने भए पनि चालकले यसमा बेवास्ता गर्दा गाडीलेसमेत वायु प्रदूषणलाई थप टेवा पुर्याइरहेको छ । मुलुकको राजधानी काठमाडौँ धुलो धुवाँबाट आक्रान्त छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्य हुने वर्षौैंदेखिको समस्या हो । धुलो र हिलो रोक्न धेरै प्रयास नभएका होइनन् । काठमाडौँ महानगरपालिकाले ब्रुमर ल्याएर सडक सफा गर्ने अभियानसमेत चलायो । सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक जामको समस्या उस्तै छ । त्यसमाथि प्रदूषण फेल भएका गाडी निर्वाधरुपमा सञ्चालन हुनुले थप समस्या निम्ति रहेकोतर्फ भने ध्यान कम छ । ट्राफिक प्रहरीले काठमाडौँमा तीन महीने अभियानअन्तर्गत करिडोर तथा अण्डरपास व्यवस्थापन, सवारी प्रदूषण नियन्त्रण, सडक रेखाङ्कन, फुटपाथ व्यवस्थापन, दुईपाङ्ग्रे सवारीलाई घुम्ती शिक्षा तथा बस रोक्ने, ओराल्ने तथा उकाल्ने स्थानको नियमन गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । यही अभियानका क्रममा भएको जाँचमा यतिधेरै सवारी प्रदूषण फेल भएको पाइएपछि यसलाई थप कडाइका साथ लैजाने योजना बनाइएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताए ।

सर्वाधिक खोजीको सूचीमा रहेका नसिम खान पक्राउ,  सात जनाकाे हत्या गरेकाे किटानी उजुरी 

काठमाडौँ  । शृङ्खलाबद्ध हत्या आरोपमा सर्वाधिक खोजीको सूचीमा रहेका कपिलवस्तुका नसिम खान मुसलमानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपरा घर भई अधिकांश समय भारतमा बस्दै आएका खान काठमाडौँमा आएको मौका छोपी प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी सिनामङ्गलस्थित एउटा वैदेशिक रोजगार कम्पनीबाट निस्किएर सडकमा हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन् । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार खान सात जनाको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । मुसलमान माथि २०७४ फागुन ३ गते कपिलवस्तुका मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरेको आरोप छ । उक्त घटना व्यक्तिगत दुष्मनीमा घटाइएको प्रहरीले जनाएको छ । सोही घटनामा सिआइबीको टोलीले एक वर्षदेखि उनको खोजी गरिरहेको थियो । विसं २०६३ देखि अहिलेसम्म मुसलमानमाथि सात व्यक्तिको हत्या तथा अन्य अपहरण र डकैती मुद्दा दर्ता भएको छ । सिआइबीले थप अनुसन्धानका लागि उनलाई आजै कपिलवस्तु पठाएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर राणाका अनुसार मुसलमानविरुद्ध सात जनाको हत्या आरोपमा प्रहरीमा जाहेरी परेको छ । विसं २०६३ जेठ १९ मा कपिलवस्तुका धर्मराज बराईको छोराको धारिलो हतियार प्रहार गरी हत्या गरेको तथा २०६४ फागुन ६ गते मोतीपुरका प्रेम परियार र सोही वर्ष चैत ९ गते हथिहवाका शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको मुसलमानमाथि आरोप लागेको छ । यस्तै २०६५ भदौ ३० गते अकला कोहारको हत्या, सोही वर्ष कात्तिक ९ गते राममिलनप्रसाद गुप्ताको गोली हानी हत्या, २०६७ वैशाख १३ गते पकडीका राजेन्द्रप्रसाद तिवारीको हत्या तथा २०७४ फागुन ३ गते मोहम्मद अहेमानको अपरहणपछि हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक राणाले  जानकारी दिए । रासस

अजोडको प्रथम वार्षिकोत्सवः सिइओ खत्रीसहित ५९ जनाले गरे रक्तदान

काठमाडौ । अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कुमारबहादुर खत्रीले रक्तदान गरेर उक्त कार्यक्रमको सुरुवात गरेका हुन् । राजधानीको सुन्धारास्थित कम्पनीको प्रधान कार्यालयमा भएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् । अजोड इन्स्योरेन्स कम्पनीको १७ वटा बीमा काउन्टर रहेको छ । यस्तै, एउटा ग्राहक सेवा केन्द्रबाट बीमा सेवा प्रवाह गरिरहेको कम्पनीले ३३ वटा बैंक तथा वित्तीय संस्थामा आफ्नो संस्थागत अभिकर्ता आवद्ध रहेको जनाएको छ । कम्पनीका सिईओ खत्रीले विकासन्युजसँग भने–‘हाम्रो कम्पनीको एक बर्षमा ४० करोड रुपैयाँ बीमा शुल्क प्रिमियम संकलन भएको छ ।’ खत्रीले हालसम्म आफूहरु आवश्यक पूर्वाधार निमार्णमा जुट्दै आएकाले आगामी दिनमा भने बीमा सेवा प्रवाहमा लाग्ने बताए । उनले डिजिटल रुपमा सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए । यस्ता छन् अजोडका प्रडक्टहरु कम्पनीले विभिन्न शीर्षकमा बीमितलाई बीमा सेवा प्रदान गर्दै आएको छ । हाल प्रपटी इन्स्योरेन्स, मोटर भेइकल इन्स्योरेन्स, म्यारिन–ट्रान्जिट काग्रो इन्स्योरेन्स, मिस्सिलीनिअस इन्स्योरेन्स, इन्जिनियरिङ् इन्स्योरेन्स, एभियसन इन्स्योरेन्स, एग्रीकल्चर इन्स्योरेन्स, माइक्रो इन्स्योरेन्स शीर्षकका बीमितलाई बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

भूकम्प पीडितले बनाएका घरको बीमा भएन, पुनर्निर्माण प्राधिकरण भन्छ-‘प्रक्रियामा छौँ’

काठमाडौँ । भूकम्पबाट क्षति भएको घर पुनर्निर्माण गरेकाहरुको घर अझैसम्म बीमा हुन सकेको छैन । ८ लाख घरधुरीलाई प्रतिघर ५ सय रुपैयाँको दरले जोखिम बहन गर्ने भनिएको बीमा व्यवस्था काजगमै सीमित भएको हो । राष्ट्रिय बीमा कम्पनी श्रोतका अनुसार बिमितले पाउनु पर्ने अर्बौँ रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध नगराएको हो । बीमा गराउने निर्णय नै हतारमा गरिएकाले यो अवस्थाको सिर्जना भएको हो–कम्पनीका एक उच्च अधिकारीले भने । यस सम्बन्धमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले भने–‘हामीले कार्र्यविधि त तयार गरेका हौँ, तर सो प्रक्रियामै रोकिएको छ ।’ उनले दिएको जानकारी अनुसार सोही बीमाको विषयलाई लिएर विभिन्न समयमा छलफल हुने गरेको बताए । साथै, कार्यविधि नै पारित भइनसकेकाले नतिजा नदेखिएको बताए । ५ वर्षको एकमुष्ट रकम राष्ट्रिय पुनर्निमाण प्राधिकरणले बीमा कम्पनीलाई दिने निर्णय भएको छ । सो निर्णय अनुसार नै समिति समेत गठन भएको थियो । उक्त समितिमा पुर्निर्माण प्राधिकरणका सिईओदेखी राष्ट्रिय बीमा कम्पनीको एकजना कर्मचारी समेत आवद्ध छन् । पुनर्निमाण गरिने घरलाई पहिलो बर्षको पैसा पुनर्निमाण प्राधिकरणले उपलब्ध गराउने भनिएको थियो । यता, पुनर्निर्माणको विषयमा प्राधिकरणले आफ्नो तर्फबाट काम गरिरहेको जानकारी दिएको छ । कामले पूर्णता नपाएकाले मात्रै सो विषयमा केही अन्यौलता सिर्जना भएको हो । आगामी दिनमा बीमाका मुद्दा समाधान हुँदै जाँदा यस्ता समस्या कम हँदै जाने पुनर्निमााण प्राधिकरण बताउँछ । २०७२ सालको भूकम्पले गोरखा, धादिङ्, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौ, ललितपुर, दोलखा लगायतका जिल्लामा धनजनको ठूलो क्षति भएको थियो ।