बीमा समितिको स्पष्टिकरणप्रति बीमकको आक्रोस, ‘हलो अड्काएर गोरु चुट्ने काम नहोस्’
काठमाडौ । बीमा समितिले चुक्ता पूँजी नपुर्याउने कम्पनीहरुलाई स्पष्टिकरण माग गरेसँगै बीमकहरुमा असन्तुष्टि र आक्रोश देखिएको छ । उनीहरुले पुँजी वृद्धिको लागि इमान्दारी पूर्वक प्रयास गरेको, तर एनएफआरएस लागू हुनु र बीमा समितिले ठीक समयमा वित्तीय विवरण स्वीकृत नगर्नुले पुँजी वृद्धिमा ढिलाई भएको जनाएका छन् । बीमा समितिले जीवन बीमा व्यवसाय गर्दै आएका ४ कम्पनीसँग स्पष्टिकरण माग गरेको छ । सूर्या लाईफ इन्स्योरेन्स, गुराँश लाईफ इन्स्योरेन्स, प्रार्ईम लाईफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थानसँगल स्पष्टिकरण माग गरिएको छ । त्यस्तै, निर्जीवन बीमा व्यवसाय यूनाईटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीसँग स्पष्टीकरण माग गरिएको हो । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन बीमा समितिमा ८ महिनाअघि पठाएको, तर बीमा समितिले बीमाङ्कीय मूल्याङ्कन गराउने, स्वीकृत दिने काम नगरेको कारण पुँजी वृद्धि प्रक्रिया अगाडि बढ्न नसकेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ले बताए । ‘हामीसँग नाफा छ, पुँजी कोष प्राप्त छ । बीमा समितिले वार्षिक प्रतिवेदन स्वीकृत गरेको भए हामीले बोनस सेयर दिएर पुँजी पुर्याउने थियौं’ उनले भने–‘बीमा समितिलाई सबै कुरा थाहा छ, हामीले के प्रष्टिकरण दिनुपर्छ र ?’ पूँजी वृद्धि प्रक्रियामा रहेको यस्ता कम्पनीलाई अगाडि बढाउन बीमा समितिले सहयोग गर्नुपर्ने उनले बताए । ‘बीमा समितिले समस्याको गाँठो कस्नु भन्दा फुकाउनेतर्फ प्रयास गर्नुपर्छ । हामी समितिको निर्देशनलाई अक्षरश पालना गर्दै जान्छौं’-उनले भने । यस सम्बन्धमा सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले नियामकको निर्देशन पालन गर्नुको विकल्प नभएको बताए । भदौ अन्तिमसम्ममा २ सय १५ करोड रुपैयाँ पूँजी पुर्याउने उनले बताए । ‘काम गर्दै जाँदा केही ढिला भएको छ । नियामकले तोकेको पुँजी लगानी गर्ने प्रक्रियामा धेरै काम भएको छ । यतिबेला कारवाही हुन्छ भने हामी भोग्न पनि तयार छौँ-’ उनले भने । तर, बीमा समितिबाट प्रष्टीकरण सोधिएको पत्र आफूले अहिलेसम्म नपाएको बताए । बीमा कम्पनीहरुले २०७६ असार मसान्तसम्मको समय प्राप्त गरेका थिए । यसरी अन्तिम समयसम्म पनि चुक्ता पूँजी नपुर्याउने कम्पनीलाई बीमा समितिले स्पष्टिकरण माग गरेको हो । राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि पाठकले प्रष्टीकरण सोधिएको बीमा समितिको पत्र पाएको बताए । ‘हामी कहाँ चिठ्ठी आईपुगेको छ । हामी जवाफ लेख्ने तयारी गर्दैछौँ’ उनले भने । नयाँ बीमा ऐन पास भएको १ वर्षभित्र बीमा संस्थान पनि कम्पनीमा परिणत हुने र त्यतिबेलासम्म पुँजी पनि २ अर्ब पुर्याउने उनले बताए । उनले नयाँ कम्पनीहरुले जस्तै पूँजी पुर्याएर दर्ता गरेर अघि बढ्ने बताए । अहिले सम्मको बीमा संस्थान ऐनले नै हाम्रो पूँजी ५० करोड पुग्नु पर्ने भनेको छ । स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीले भने ७ दिन भित्र बीमा समितिमा स्पष्टिकरण नदिने भएको छ । सरकारी बीमा कम्पनीहरु राष्ट्रिय बीमा कम्पनी र बीमा संस्थानले नियामक बीमा समितिको निर्देशनहरु पालनामा अवज्ञा गर्ने गरेको जानकारहरु बताउँछन् । यता, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स लगायत कम्पनीहरुले पुँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्दैछन् । एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्न अनुभव र दक्ष जनशक्तिको अभाव भएको, बीमा समितिले पनि पर्याप्त सहजीकरण गर्न नसकेको, वित्तीय विवरण स्वीकृतको लागि बीमा समितिले लामो समय लगाएको बीमा कम्पनीहरुको भनाई छ । ‘हलो हड्काएर गोरु चुट्ने काम बीमा समितिले नगरोस्’ एक बीमकले भने–‘ पुँजी वृद्धि गर्ने प्रक्रियागत कार्यमा बीमा समितिबाट भएको गतिरोधलाई बिर्सेर कम्पनीहरुलाई मात्र कारवाही गरे बीमा क्षेत्र दुर्घटनामा पर्न सक्छ ।’ नियत सफा, कार्यक्षमता कमजोर पुँजी वृद्धि गर्नुपर्छ भन्नेमा बीमा कम्पनीहरु पनि सकारात्मक देखिन्छन् । बीमा समितिको निर्देशन अवज्ञा नै गर्ने कुनै पनि कम्पनीको मनासय देखिदैन । तर, बीमकहरुको कार्यक्षमता कमजोर र नियामकबाट हुनुपर्ने सहजीकरणमा भएको कमीकमजोरीले पुँजी वृद्धि योजनामा केही कम्पनीहरु पछाडि परेको देखिन्छ । बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई २ अर्ब र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई १ अर्ब चुक्ता पूँजी पुर्याउन नियामकीय निर्देशन दिंदै आएको थियो । बीमा समितिले २०७३ साल माघ १३ गते पहिलो निर्देशन जारी गर्दै बीमा कम्पनीहरुलाई चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको पाइन्छ । पुँजी वृद्धि गर्ने प्रक्रियागत कार्यमा बीमा समितिबाट भएको गतिरोधलाई बिर्सेर कम्पनीहरुलाई मात्र कारवाही गरे बीमा क्षेत्र दुर्घटनामा पर्न सक्छ । उक्त निर्देशनले २०७५ असार मसान्त भित्र चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीलाई निर्देशित गरेको थियो । सो बेलामा पूँजी नपुर्याउने कम्पनीहरुलाई बीमा समितिले पुस महिनासम्मको लागि म्याद थप गरेको हो । यसरी म्याद थप हुँदा पनि चुक्ता पूँजी नपुग्ने कम्पनीहरुका लागि एउटा ‘ग्रेस पिरियड’ दिएको थियो । बीमा कम्पनीहरुले २०७६ असार मसान्तसम्मको समय प्राप्त गरेका थिए । यसरी अन्तिम समयसम्म पनि चुक्ता पूँजी नपुर्याउने कम्पनीलाई बीमा समितिले स्पष्टिकरण माग गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने-‘ बीमा कम्पनीहरुले पूँजी पुर्याउन एक किसिमको अभ्यास गरेका छन् भन्ने त थाहा पाएका छौँ, तर हामीले लिखित प्रमाण मागेर थप योजना बनाउन खोजेका हौँ ।’ बीमा कम्पनीहरुले दिने लिखित जवाफका आधारमा अबको योजना बनाउने उनले बताए । चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीलाई बीमा समितिले माग्यो स्पष्टिकरण
मनसुनपछिको विपद्ः १११ जनाको मृत्यु, ४० बेपत्ता
काठमाडौं । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् । अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ । त्यसैगरी, बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति भएको छ । यस्तै, पहिरोबाट रु दुई करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ । सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् । सिराहामा सात र ललितपुरमा छ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच/पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार/चार जनाले ज्यान गुमाएका हुन् । बाढीपहिरोमा परेर काठमाडौँ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन÷तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई÷दुई जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक÷एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । यसरी, बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा सात र लमजुङमा छ जना अझै बेपत्ता छन् । सिन्धुलीमा चार, इलाम र मोरङमा तीन(तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई(दुई जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा एक÷एक जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ । बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन् । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका हुन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् । प्राप्त जानकारीअनुसार मकवानपुर र लमजुङमा आठ–आठ तथा काठमाडौँ, सिराहा र रौतहटमा पाँच(पाँच जना घाइते भए । मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा एक/एक जना घाइते भएका छन् । झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा दुई–दुई जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा तीन/तीन जना घाइते भएका छन् । रासस
उन्नति र सहकार्य लघुवित्त मर्जरमा जाने, पुसभित्र एकीकृत कारोबार
काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर भएको छ । यी दुई संस्थाबीच एक आपसमा मर्जरमा जानका लागि विहीबार प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्रमा उन्नति माईक्रोफाइनान्सको संचालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाह र सहकार्य लघुवित्तको सञ्चालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका हुन् । रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिको १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ । हाल उन्नतिको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्था १ करोड ४० लाख रुपैयाँ रहेको छ । अबका दिनमा उन्नतिले १ः१ अनुपात र सहकार्यले १ः३ को अनुपातमा यसअघि पारित गरेको हकप्रद सेयर जारी गर्ने छ । साथै सहकार्यको कल इन एडभान्समा रहेको रकमलाई पूँजीमा गणना गरिने भएको छ । दुई संस्थाबीच पुस हिना भित्र एकिकृत कारोबार गर्ने भएको छ । दुई संस्था मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकिकृत कारोबार हुने छ । मर्जर पश्चात दुबै वित्तीय संस्थाको लघुवित्त बैंकिङ प्रणाली, वित्तीय, मानवसंशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्घि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधियुक्त लघुवित्त वित्तीय सेवा सुविधा प्रदान गरिने भएको छ । दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई सबल पूँजी भएको उत्कृष्ठ राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्थापित हुने जनाइएको छ । दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई बन्ने वित्तीय संस्थामा ७ जना संचालक हुनेछन् । जसमा उन्नतिको अध्यक्ष नै मर्जर पश्चात अध्यक्ष हुनेछन् । साथै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पनि उन्नतिकै सिईओलाई निरन्तरता दिईने भएको छ । कम्पनीको सेयर स्वाप रेसियो डिडिएबाट तय गरिने भएको छ । सहकार्यका प्रमुख कार्यकारी अधिकृतलाई मर्जर पश्चात् बन्ने वित्तीय संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत पदमा वित्तीय संस्थाकोे कर्मचारी सेवा विनियमावली बमोजिम विगतको खाइपाइ आएको तलब भत्ता तथा सुविधा पाउने गरी समायोजन गरिनेछ । प्रथम तथा द्वितीय पक्षमा हाल कार्यरत अन्य कर्मचारीहरुको पद मर्जर पश्चात यथावत कायम राखिने छ ।
प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया
हेटौंडा । प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिश गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका १४ कलङ्की निवासी उनलाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेको हो । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका थिए । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यवस्था छ । बत्तीस वर्षअघि अभिवक्ता बनेर कानूनी क्षेत्रमा लागेका थपलिया विसं २०४८ देखि अधिवक्ताको रुपमा वकालत पेशामा क्रियाशील हुँदै दुई वर्षअघि वरिष्ठ अधिवक्ता भएका थिए । तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गरेका उनले राजनीति शास्त्रमा एमए र कानून विषयमा एलएलएम गरेका छन् । रासस
आफ्नै निवासमा पूर्वमन्त्री सिंहको निधन
लहान । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो । विसं १९८९ असोजमा जन्मिएका सिंह उच्च रक्तचापबाट पीडित थिए । उनले विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्हालेका थिए । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए । उनका दुई छोरा र छोरी छन् । जेठो छोरा डा. रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक छन् ।स्व. सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् । रासस
प्रवद्धर्कले यूनाईटेड इन्स्योरेन्समा ४० करोड लगानी गरे, पुँजी १०२ करोड पुग्दै
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको प्रवद्धर्कले हकप्रद सेयर लिन ४० करोड रुपैयाँ जम्मा गरेका छन् । कम्पनीले निष्काशन गर्न लागेको १ बराबर २ दशलव ४ को अनुपातमा हकप्रद सेयर लिनको लागि प्रवद्धर्कहरुले विहीबारसम्ममा लगानी गरिसकेको कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए । कम्पनीमा एक प्रतिशत भन्दा बढी प्रवद्धर्क सेयर लिने सेयरधनी सबैले हकप्रदको सेयर लिएको उनले जानकारी दिए । कम्पनीले ७२ करोड ५७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । उक्त कम्पनीलाई बोर्डले १ बराबर २ दशमलव ४ को अनुपातमा अर्थात २४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति दिएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि हकप्रद सेयर निष्काशन गर्दैछ । साउन १४ गते कम्पनीको बुक क्लोज हुने भएकोले १३ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउछन् । विहीबार कम्पनीकाे सेयर प्रति कित्ता ८५० रूपैयाँमा काराेबार भएकाे छ । हाल कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड हुने भट्टराईले जानकारी दिए । ‘कम्पनीको बीमा समितिले तोकेअनुसार पुग्दैछ । अब कम्पनी बलियो हुँदैछ’ कामु प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने–‘हामी अर्को बीमा कम्पनी प्राप्ति गर्ने योजना पनि बनाईरहेका छौं ।’
उच्च अदालत पाटन परिसरमा एनआईसी एशियाले एटीएम सेवा सञ्चालन गर्ने
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ । उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले देशभर २९२ शाखा कार्यालयहरु, ३१५ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।
आइतबारदेखि राजधानीमा व्यवस्थापन तथा आईटी शिक्षा शैक्षिक मेला हुने
काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा पाचौं व्यवस्थापन तथा आई टी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउण्डेशनले साउन १२ र १३ मा काठमाडौंको बुद्घनगरस्थित हिरा पार्टी प्यालेसमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३१ शैक्षिक संस्थाहरुको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । झण्डै ५० वटा स्टलहरु रहने सो दुई दिने शैक्षिक मेलामा करिब चार हजार विद्यार्थीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमै व्यवस्थापन तथा आई.टि.तर्फ उच्च शिक्षामा गुणस्तरिय शिक्षा तथा कम खर्चमा अन्तर्राष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा संस्थाको विगतका शैक्षिक मेलाले प्रमाणित गरेको पाठशाला एजुकेसन फाउण्डेशनका अध्यक्ष सञ्जय मण्डलले बताए । यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परिक्षा सकेर वसेका सात हजार विद्यार्थीको सहभागिता रहनेमा विश्वस्त रहेको उनले बताए । यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयवाट क्रमशः पोखरा विश्वविद्यालयका पाँच शैक्षिक संस्था, छ वटा त्रिभुवन विश्वविद्यालय, तीन वटा पूर्वाञ्चल विश्वविद्यालय, दुई वटा काठमाडौं विश्वविद्यालय, एक मध्यपश्चिम विश्वविद्यालय गरी पाँच वटा नेपाली विश्वविद्यालयका कलेजहरु, दुई वटा सिए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयका कोर्ष पढाउने संस्थाहरु जसमा युके, मलेसिया, अमेरिकी विश्वविद्यालयवाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालिका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिए । शैक्षिक मेलाको आयोजकमा पाठशाला एजुकेशन फाउण्डेशन, इन एसोसिएसन विथ किङ्स कलेज, पावर वाई नामी कलेज छन् । पत्रकार सम्मेलनमा पाटन कलेजका पवन भट्टराई, नामी कलेजका रविन थापामगर, पाठशाला एजुकेशनका अध्यक्ष सञ्जय मण्डललगायतले नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा कम खर्चमा अन्तराष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने विगतका मेलाहरुले पनि प्रमाणित गरिसकेको बताए ।