“हजारौँ श्रमिकको जिम्मा कोषले लिन्छ, त्यसैले रोजगारदाताले मन खुम्च्याउन जरुरी छैन”- मन्त्री विष्ट
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सानो रकमको योगदानबाट रोजगारदाता सधैँ चिन्तामुक्त हुने बताए । “सानो रकम योगदान गर्दा रोजगारदाताले ठूलो जोखिम व्यहोर्नु पर्दैन”, मन्त्री विष्टले भने, “हजारौँ श्रमिकको जिम्मा कोषले लिन्छ, त्यसैले रोजगारदाताले मन खुम्च्याउन जरुरी छैन ।” यसअघि नै रोजगारदाताले आफ्ना श्रमिकको उपदान र सञ्चयकोष कट्टी गरिरहेको अवस्थामा अब थप व्ययभार थपिन्छ भनेर चिन्तित हुन नपर्ने उल्लेख गर्दै उनले भने, “रोजगारदाता भयभीत हुनुपर्ने कुनै कारण छैन ।” सामाजिक सुरक्षा योजनामा सहभागी हुन योगदानकर्ताको तर्फबाट रोजगारदाताले आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा मासिक रूपमा जम्मा गर्नुपर्ने व्यवस्था छ । त्यसमा सम्बन्धित रोजगारदताले २० प्रतिशत र योगदानकर्ता श्रमिकले ११ प्रतिशत रकम योगदान गर्नुपर्नेछ । योजनामा सहभागी भएसँगै रोजगारदाता र श्रमिकलाई नै फाइदा पुग्ने उनको भनाइ थियो । सामाजिक सुरक्षा योजनाका बारेमा जानकारी नहुँदा विभिन्न टीकाटिप्पणी भइरहेको उल्लेख गर्दै मन्त्री विष्टले श्रमिकलाई योजनाका बारेमा जानकारी गराउन ट्रेड युनियन क्रियाशील हुनुपर्ने बताएका छन् । सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सम्झौताका रूपमा कार्यक्रम कार्यान्वयनमा आएको भन्दै उनले अहिले कुनै पक्ष प्रक्रियामा सहभागी हुन्न भनेर पन्छिन नपाउने जानकारी दिए । मन्त्री विष्टले भने, “योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबैको साझा कार्यक्रमका रूपमा आएको हो, योजना कार्यान्वयनका क्रममा देखिएको जटिलता हल गर्न कार्यदल निर्माण गरिएको छ, त्यसैले कार्यान्वयनमा द्विविधा पाल्नु जरुरी छैन ।” उनले असोज मसान्तभित्र रोजगारदाता र श्रमिकलाई कोषमा सूचीकृत गराउन गम्भीर छलफल गर्नसमेत ट्रेड युनियनलाई आग्रह गरे । तोकिएको समयसीमा भित्रै सम्पूर्ण प्रतिष्ठान कोषमा सूचीकृत हुनुको कुनै विकल्प नभएको उल्लेख गर्दै उनले कोषमा सूचीकृत हुन अटेर गर्ने प्रतिष्ठानमाथि सरकार कडा ढङ्गबाट प्रस्तुत हुने बताए । योजना कार्यान्वयन हुँदैन कि भनेर शङ्का नगर्न आग्रह गर्दै उनले भने, “ढुक्क हुनुहोस्, असोज मसान्तभित्र सम्पूर्ण प्रतिष्ठान र श्रमिक कोषको दायरामा आउनेछन् ।” यसरी, तोकिएको समयभित्रै सम्पूर्ण प्रतिष्ठानलाई कोषको दायरामा ल्याउन सरकारले बहुपक्षीय छलफल थालेको छ । शुक्रबार प्याब्सनसँग छलफल गरेको श्रम मन्त्रालयले आज होटल एशोसिएसनसँग छलफल गर्दैछ । त्यस्तै केही दिनभित्र बैंक तथा वित्तीय संस्थासँग छलफलको तयारी गरिएको मन्त्रालयले जनाएको छ । “डेढ महिनाभित्र सम्पूर्ण प्रतिष्ठानलाई कोषमा सूचीकृत गराउन जरुरी छ”, मन्त्री विष्टले भने, “सबैलाई कोषको दायरामा ल्याउन अब सरकार अगाडि बढ्छ ।” उनले मुलुकका विभिन्न स्थानमा रहेका औद्योगिक क्षेत्रमा रहेका उद्योग, प्रतिष्ठान र तिनमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन समयसीमा तोकेरै लाग्ने बताए । “अब हामी बालाजु, पाटन, हेटौँडा, पोखरा, नेपालगञ्ज तथा भैरहवा औद्योगिक क्षेत्रमा टोली नै पठाएर सूचीकृत गराउँछौँ”, उनले भने, “कोषको कर्मचारीले उनीहरुलाई सूचीकृत गराउँछन्, सूचीकृत हुन नमाने स्पष्ट जवाफ मागेर सरकारले सचेत गराउने छ ।” कार्यक्रममा जेटियुसिसीका अध्यक्ष विनोद श्रेष्ठले रोजगारदाताको सूचीकरण अपेक्षाकृत नदेखिएकामा चिन्ता व्यक्त गर्दै सम्पूर्ण प्रतिष्ठानलाई सूचीकृत गराउन सरकारको भूमिका दरिलो हुनुपर्ने बताएका थिए । उनले जेटियुसिसीले रोजगारदतालाई कोषमा सूचीकृत गराउन अभियान थाल्ने पनि जानकारी दिए । “फेरि सबै एकजुट हुनुपर्ने बेला आएको छ”, उनले भने, “अब तेज गतिमा जानुपर्छ, मजदुरका समस्या सम्बोधन नभएसम्म लडिरहने छौँ ।” हालसम्म कोषमा चार हजार ९२ प्रतिष्ठान र ३५ हजार ५०० भन्दाबढी श्रमिक सूचीकृत भइसकेका छन् । देशभर करिब दुई लाखको सङ्ख्यामा प्रतिष्ठान क्रियाशील रहेको अनुमान छ । कोषले गत साउन १ गतेदेखि योगदान सङ्कलन गर्न थालिसकेको छ ।
जर्मनमा २१ औँ गैरसरकारी संस्थाको सम्मेलन हुँदै
काठमाडौं । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका बारेमा छलफल हुने सङ्घका अध्यक्ष रामप्रताप थापाले बताएका छन् । उक्त सम्मेलनमा नेपालका लागि जर्मनीका राजदूत रोलाल्ड सेफरले विशेष मन्तव्य दिनेछन् भने नेपालका लागि जर्मनीका महावाणिज्यदूत समेत रहेका अध्यक्ष थापा र गोटिङ्गेनका डा. वियाट्रिस क्लिरको पनि विशेष प्रस्तुति रहने सङ्घले आज जनाएको छ । सो अवसरमा नेपालमा प्राविधिक शिक्षा चुनौती र अवसर तथा गैरसरकारी संस्थाको वर्तमान अवस्थाका बारेमा पनि कार्यपत्र प्रस्तुत हुनेछ । हरेक वर्ष आयोजना हुने यस सम्मेलनमा नेपाललाई सहयोग गर्दै आएका जर्मनीका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ । रासस
श्रीकृष्ण जन्माष्टमीमा जनता बैंकले बाँड्यो ग्लुकोज पानी
काठमाडौँ । जनता बैंकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ ६ गते पाटन कृष्णमन्दिर र बुढानिलकण्ठस्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई ध्यान दिई बैंकले उपलब्ध गराएको निःशुल्क पिउने पानी तथा ग्लुकोज पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो । उक्त दिन दुबै स्थानमा गरी करिव १५ हजार भक्तजनहरुलाई शुद्धपानी र ग्लुकोज पानी उपलब्ध गराइएको बैंकले जनाएको छ । सोही अवसरमा बैंकले हरेकृष्णधाम, बुढानिलकण्ठका अध्यक्ष रुपेश्वर जोशीलाई बैंकको तर्फबाट रु. १ लाखनगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको थियो । हरेकृष्णधामले हरेक बर्ष कृष्ण जन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्क भोजन(प्रसादी) को ब्यबस्था गर्ने गरेको छ ।
नाडा अटो शोमा महिन्द्राका दुई नयाँ सहित ४ गाडी प्रदर्शनी हुने
काठमाडौं । नाडा अटो शोमा महिन्द्राले २ वटा नयाँ गाडी सहित ४ वटा गाडीहरु शोकेस गर्ने भएको छ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले यही भदौ १० गते देखि शुरु हुने नाडा अटो शोमा बहुप्रतिक्षित एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप शोकेसमा राख्ने जनाएको हो । यस पटकको अटो शोमा महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ । भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अध्याधुनीक सैग्मेन्ट फस्ट थूप्रै विशेषतासहित आएको यङ्ग एसयूभी हो । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । एक्सयूभी ३०० मा थुप्रै सेग्मेन्ट फस्ट सेफ्टी फिचर समेत दिइएको छ । यसका साथै यसको ‘सिक्स स्पिड ट्रान्समिसन’ प्रणालीले कुशलापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ । सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको छ । नयाँ एसयूभी १.२ लि टर्बो पेट्रोल इन्जिन जसमा ८१ केडब्लू (११० बीएचपी) पावर र २०० एनएम टर्क र १.५ लि टर्बो डिजल इन्जिन जसमा विद्युतीय भेरिएबल जिओमेट्री चार्टरसहित ८५.८ केडब्लू (११५ बीएचपी) पावर र ३०० एनएम टर्क गरी दुईवटा इन्जिन अफ्सनमा उपलब्ध रहने छ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ । त्यस्तै महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । यो गाडि सार्क माछाबाट प्रेरित भएर बनाइएको एक आधुनिक मल्टि पर्पोज भेहिकल (एमपीभी) हो । होटल, ट्राभल एजेन्सी र फेमिली कारको रुपमा समेत प्रयोग हुन सकिने यो एमपीभी आधुनिक फिचरहरुले सुसज्जित रहेको कम्पनीले जनाएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड फिचरको रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू रहेको छ । मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम रहेकोले पछाडि बस्ने यात्रुहरुलाई पनि एसिको हावा सजिलै पुग्नेछ । यो एमपीभीको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम रहेको छ । गाडीमा थ्री–स्पोक स्टेयरिङ्ग ह्वील रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोर्निक र क्रूज कन्ट्रोलको सुविधा रहेको छ । महिन्द्रा मराजोमा नयाँ १.५ लिटरको ४ सिलिन्डर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्येको सबैभन्दा सफल पिकअप हो महिन्द्रा स्कर्पियो । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप एकदमै उपयोगी हुन्छ । किनकी पिकअपमा यात्रृका लागि आरामदायी सिटका साथै सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । महिन्द्राको स्कर्पियो पिकअपमा सबै चक्कामा बराबर पावर डिष्ट्रिव्युट भएर गुड्ने भएकाले केही सामानसहित धेरै अफरोड यात्रा गर्नेहरु माझ लोकप्रिय भएको छ । स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको छ । नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन् । स्कर्पियो पिकअप फूलअप्सन गाडी हो । डबल क्याबमा उपलब्ध पिकअप तीन मोडल एस–६ टूह्वील ड्राइभ, एस–६ फोरह्वील ड्राइभ र एस–१० छ । एस–१० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोललगायत विशेषता रहेको छ । टियूभी ३०० नेपाली बजारमा परिचीत एसयूभी हो । यो एसयूभीमा ७ सिटिङ्ग क्यापासीटी भएको एक बोल्ड एसयूभी हो । रियर ह्वील ड्राइभ भएकोले यो एसयूभी नेपालका उकालो आरोलोका साथै कच्ची बाटाहरुमा एकदमै राम्रो प्रफर्मेन्स रहेको छ । चालीस लाखमै खरिद गर्न सकिने यो एसयूभीमा अगाडि दुबै साइडमा एयसब्याग, लेदर सिट, रुफ रेल, अलोय ह्वील र आकर्षक इन्टेरियर रहेको छ ।
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैनः सञ्चार मन्त्री बाँस्कोटा
अर्घाखाँची । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन् । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताएका हुन् । उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । उनले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताए । उनले देश समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गर्दै देशलाई अगाडि बढाउने कि यथास्थितिमा राख्ने भन्ने सबै हात कर्मचारीसँग भएको जानकारी दिएका छन् । कर्मचारीका हकहितमा सरकारले काम गरिरहेकाले सरकारको समृद्धिको यात्रालाई सफल बनाउने मुख्य काम कर्मचारीको भएको उल्लेख गरे । देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको भन्दै उनले पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताए। ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दिशामा सरकार अगाडि बढेको उनको भनाइ थियो । उनले जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहेको उल्लेख गर्दै गरिबी र समाजमा व्याप्त कूरीतिको अन्त्य गर्न सरकार लागिरहेको जानकारी दिएका छन् । रासस
एक देशको प्रयोगशालामा गरेको परीक्षणलाई अर्को देशमा मान्यता दिने सहमतिको स्वागत
काठमाडौँ । नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन् । हालै काठमाडौंमा सम्पन्न नेपालभारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरण बीच एक अर्कोको देशको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमा मान्यता पाउने सहमति गरेका हुन् । भारतीय सरकारको फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटी अफ इन्डियाको हालैको निर्णय अनुसार नेपालको नेशनल फुड एण्ड फिड ल्याब्रोटरी काठमाडौंले भारत सरकारको फुड सेफ्टि एण्ड स्टाण्डर्ड रेगुलेसन २०११ अनुसार परीक्षण गरी मान्यता दिने सम्बन्धी व्यवस्था नेपालबाट भारततर्फ निकासी भईरहेको वस्तुहरु मध्ये करिब २४ वस्तुहरु खाद्य पदार्थ तथा फलफूल तथा तरकारीले भारतीय बजारमा सहज सरल र सुविधायुक्त प्रवेश पाउने कदमको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । यसबाट गैर भन्सार अवरोध लगायत प्रकृयागत झण्झट कम हुन गई व्यापार घाटा कम गर्न पनि योगदान पुर्याउने आशा एवम् विश्वास छ-चेम्बरले विज्ञप्तीमा उल्लेख गरेको छ । सो निर्णय अनुसार नेपालबाट भारतमा निकासी वस्तुमा नेपाली गुणस्तर परीक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्याण्डि, इन्स्त्याण्ड नुडल्स, विस्कुट, बालबच्चालाई खुवाउने दुध, स्कीम्डहोलमिल्क पाउडर, कण्ड्यान्सड् मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथामासुजन्यपदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफि, मह, ताजाफलफूल र तरकारी छन् । जारी गरिएको परिपत्रमा नेपालको ‘नेशनल फुड एण्ड फिड ल्याब्रोटरिज’ काठमाडौंले एनएबिएलले तोकेको मापदण्ड अनुसार एक्रिडिटिसन एकवर्ष भित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टि स्टाण्डर्ड रेगुलेशन २०११ अन्तर्गत रहनु पर्ने कुरा समेत उल्लेख गरेको छ । प्रत्येक भन्सार बिन्दुमा आधुनिक क्वारेन्टाइन चेक पोष्ट र खाद्य परीक्षण प्रयोशशालामा स्थानपनामा समेत जोड दिई सो सुद्धढ, व्यवस्थित र सरल हुने आशा एवम् विश्वास लिएको चेम्बरले जनाएको छ ।
ओलीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य
काठमाडौं । उपचारको सिलसिलामा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका छन् । गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा. दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिएका हुन् । रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आज र अझ केही दिन निरन्तर रहने छ । उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ । प्रधानमन्त्री ओली मिर्गौला सम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिङ्गापुर प्रस्थान गरेका थिए । यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए । केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि उनको मिर्गौलाको क्षमता अभिवृद्धिका लागि पुनः सिङ्गापुर गएका हुन् । प्रधानमन्त्रीको साथमा उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायतका सदस्यहरु रहेका छन् । रासस
समुदायको अगुवाइमा उपभोक्तालाई विद्युतीय चुलो
काठमाडौं । लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत आपूर्ति हुन थालेपछि उपभोक्ताहरु विद्युतीय चुलोतर्फ (इन्डक्सन) आर्षित हुन थालेका छन् । पछिल्लो समयमा ग्रामिण र सहरी क्षेत्रमा खाना पकाउन विद्युतीय चुलोको प्रयोग बढिरहेको छ । अन्य इन्धनभन्दा सस्तो, भान्सा सफा र आधुनिक देखिने, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलने लगायतका कारणले विद्युतीय चुलोप्रति उपभोक्ताको आकर्षण बढेको हो । काभ्रेको तेमाल गाउँपालिकाका बासिन्दा पनि विद्युतीय चुलोप्रति आकर्षित भएका छन् । तिमाल सामुदायिक ग्रामिण विद्युतीकरण सहकारी संस्थाले आफ्ना ग्राहकलाई विद्युतीय चुलोको प्रयोग गराउन अभियान नै सुरु गरेको छ । समुदायकै अग्रसरतामा विद्युतीय चुलो प्रयोग अभियानकै रुपमा पहिलोपल्ट सुरु भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार तेमाल गाउँपालिकाको नारायणस्थानमा आयोजित कार्यक्रममा उपभोक्ताहरुलाई इन्डक्सन चुलो वितरण गरी अभियानको सुरुवात गरेका हुन् । सहकारी संस्थाले पहिलो चरणमा पाँच हजार ४ सय घरधुरीलाई ६ हजार सात सय रुपैयाँमा इन्डक्सन चुलो, कुकर, कराई र पानी तताउने ताप्के उपलब्ध गराएको छ । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्ताले आफ्नो भान्सामा विद्युतीय चुलोको प्रयोग गर्न थाल्नु मुलुकको समृद्धितर्फको यात्रमा महत्वपूर्ण फड्को भएको बताए । ‘तीन वर्षअघिसम्म कहालिलाग्दो लोडसेडिङ भोगेका हामी विद्युतीय चुलोको प्रयोगको उच्चारणसमेत गर्न सक्दैनथ्यौ, त्यतिवेला बढी विद्युत खपत गर्ने उपकरण प्रयोग नगरौं भनिन्थ्यो, अहिले अवस्था फेरिएको छ, विद्युत खपत बढाउनुहोस् भन्नु पर्ने अवस्था आएको छ’,उनले भने । ‘अब खाना बिजुलीकै प्रयोग गरी पकाउँछौं, विजुलीले नै पानी तताउँछौं, गाडी पनि विजुलीबाटै चल्ने चड्छौं,यसबाट मुलुक पेट्रोलियम पदार्थको आयात कम गरी ऊर्जामा आत्मनिर्भरतर्फ अगाडि बढ्ने छ ।’ विगतमा लोडसेडिङ अन्त्य गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै घिसिङले अब मुलुकभित्र उत्पादित विद्युतको खपत गर्नु ठूलो चुनौती रहेको बताए । ‘उपभोक्तालाई पर्याप्त, नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति गर्न नै प्राधिकरणले प्रसारण र वितरण लाइनको सदुढीकण गर्ने लगायतका काम मुलुकभर नै अभियानकै रुपमा चलाइरहेको छ’,उनले थपे । सरकारले ‘घर घरमा विद्युतीय चुल्हो’ प्रयोगको कार्यक्रम अन्तर्गत हरेक घरमा विद्युतीय चुल्हो जडान गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । यसबाट ग्यास आयातलाई क्रमशः प्रतिस्थापन गर्दै व्यापार घाटालाई न्यून गर्ने सरकारको योजना छ । सामुदायिक विद्युत उपभोक्ता महासंघले गरेको अध्ययनले ग्रामिण खाना पकाउन ग्याँसको सट्टामा विद्युत् प्रयोग गरेमा झण्डै आधासस्तो पर्ने देखाएको छ । ग्रामीण भेगमा खाना पकाउँदा दिनमा एक÷दुई युनिट विद्युत् खपत हुने देखाएको छ । जसको मुल्य करिब १४ रुपैयाँ मात्रै हुन्छ । कार्यक्रममा तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले आफ्नो क्षेत्रमा विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्न चुलो खरिदमा अनुदान दिने व्यवस्था गरिने बताए । कुलमान सम्मानित कार्यक्रममा तिमाल सामुदायिक ग्रामिण विद्युतीकरण सहकारी संस्थाले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले दोसल्ला ओडाएर सम्मान गरेको थियो । लोडसेडिङ अन्त्य गरी उच्यालो नेपाल बनाउन र प्राधिकरणको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै घिसिङलाई सम्मान गरिएको संस्थाका अध्यक्ष सार्कीमान तामाङले बताए ।