विकासन्युज

हिमालय आँखा अस्पतालले गर्यो बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया

पाखरा । नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई मुख्य सेवा क्षेत्र बनाएको अस्पतालबाट दैनिक ५०० बिरामीले आँखाको उपचार सेवा लिँदै आएका छन् । अघिल्लो वर्ष मात्रै एक लाख ४६ हजार बिरामीले आँखा उपचार सेवा लिएको र तीमध्ये आठ हजार २०० जनाको शल्यक्रिया गरिएको अस्पतालका प्रमुख निर्देशक डा. इन्द्रमान महर्जनले जानकारी दिएका छन् । स्थापनाकालदेखि नै अस्पतालको सेवाको गुणस्तरीयतालाई प्राथमिकतामा राखिएको बताउँदै उनले आगामी दिनमा अझै सुव्यवस्थित गर्दै लगिने बताए । अस्पतालको स्थापनामा आइकेयर फाउन्डेशन, नेदरल्याण्डले सहयोग गरेको हो । आइकेयर फाउन्डेशन, नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत ब्जोर्न स्तेन्र्वेसका अनुसार तत्कालीन समयमा भ्रमणमा आएको नेदरल्याण्डको टोलीले आफ्नो घुमाइका क्रममा नेपालमा आँखाको समस्या भएको कुरालाई मनन गर्यो । नेपालबाट फर्किसके पछि यहाँ आँखाको उपचारमा केही गर्नुपर्छ भन्ने भावना विकसित भएसँगै हिमाली क्षेत्रबाट उक्त संस्थाले आफ्नो सेवा सुरु गरेको थियो । नेपाल नेत्र ज्योति सङ्घसँग आबद्ध भई फाउन्डेशनले आँखा सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई लक्षित गरी हिमालय आँखा अस्पतालले सेवा प्रवाह गरिराखेको नेपाल नेत्र ज्योति सङ्घ कास्कीका संस्थापक अध्यक्ष डा. नन्द श्रेष्ठले बताएका छन् । उनका अनुसार २०४६ साल फागुन ७ गते शिलान्यास गरिएको उक्त अस्पतालको भवन २०४९ फागुन १६ गते तत्कालीन राजा वीरेन्द्र शाहले उद्घाटन गरेका हुन् । त्यस यता निरन्तर रुपमा सेवा प्रवाह गरिरहेको अस्पतालबाट ठूलो सङ्ख्यामा सर्वसाधारणले नयाँ ज्योति प्राप्त गरेका छन् । आई केयर फाउन्डेशन, नेदरल्याण्डको सहयोगमा ७० रोपनी क्षेत्रफलमा निर्मित अस्पतालका २६ वटा भवन छन् । फाउन्डेशनले अस्पताल स्थापनापछि पाँच वर्ष पूर्ण रुपमा आफ्नै व्यवस्थापनमा अस्पताल सञ्चालन गरिदिएको थियो भने त्यस पछिका १० वर्ष सञ्चालनमा आंशिक सहयोग गरेको थियो । पछिल्ला ११ वर्ष भने अस्पतालको आफ्नै व्यवस्थापनमा सञ्चालन भइरहेको छ । अस्पतालले विशेषज्ञको अभावलाई पूरा गर्न पोखरा विश्वविद्यालयअन्तर्गत दृष्टि विशेषज्ञको स्नातक तह (ब्याचलर अफ साइन्स इन अप्टोमेट्रिस्ट) र स्नातकोत्तर तह (माष्टर अफ साइन्स इन अप्टोमेट्रिस्ट)को अध्यापन गराउँदै आएको छ । अस्पतालले वर्षेनी स्नातक तहका लागि १७ जना र स्नातकोत्तर तहका लागि पाँच जना विद्यार्थीलाई अध्यापन गराउँदै आएको नेत्र ज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिएका छन् । विभिन्न तहमा मानव संशाधनका तालीम दिँदै आएको अस्पतालमा प्रमाणपत्र तहको नेत्र सहायक विषयको अध्यापनसमेत हुँदै आएको छ । अस्पतालमा हाल आठ जना डाक्टर सहित ९६ जना जनशक्तिमार्फत सेवा प्रवाह भइरहेको जनाइएको छ । यसैबीच विगत ३५ वर्षदेखि नेपाल नेत्र ज्योति सङ्घसँग आबद्ध रहँदै आएको आई केयर फाउन्डेशनले ३५ औँ वार्षिक दिवस पोखरामा विभिन्न कार्यक्रमका साथ मनाउन लागेको छ । फाउन्डेशनका नेपालका आयोजना निर्देशक अनिल गोर्खालीका अनुसार वार्षिक दिवसका अवसरमा आँखा उपचार सेवामा महत्वपूर्ण योगदान पुर्याएका चिकित्सकलाई सम्मान गर्ने लगायतका कार्यक्रम छन् । रासस

कुमारी बैंकद्वारा १० प्रतिशत बोनस सेयर दिने घोषणा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आब २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात ८६ करोड ८५ लाख ५७ हजार रुपैयाँ बराबर बोनस दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि बोनस सेयर बितरण गरिने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।

लुम्बिनी विकास बैंकको अध्यक्षमा दशरथ रिसाल चयन

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको अध्यक्षमा दशरथ रिसाल चयन भएका छन् । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले रिसाललाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जनाएका छन् ।

रसायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो

लहान । सिरहामा वर्षेनी रसायनिक मलको माग बढ्दै गएको छ । माग अनुसारको आपूर्ति घट्दै गएपछि किसान समस्यामा परेको छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रसायनिक मलको बिक्री वितरण बढेको हो । एकातिर सिरहामा रसायनिक मलको माग बढ्दै गएको छ भने अर्कोतिर जिल्लामा रसायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लहानमा वर्षेनी मलको आपूर्ति घट्दै गएकाले किसान समस्या परेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा आठ हजार ५४९ बोरा डिएपी मल आपूर्ति भएकोमा गत आव २०७५/०७६ मा दुई हजार ४०० बोरा मात्र डिएपी मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानका निमित्त प्रमुख नारायणबहादुर खडकाले जानकारी दिएका छन् । यसैगरी, आर्थिक वर्ष २०७४/०७५ मा २६ हजार ७८८ बोरा युरिया मल आपूर्ति भएकोमा आव २०७५/०७६ मा २३ हजार ७७ बोरा मात्र युरिया मल आपूर्ति भएको निमित्त प्रमुख खडकाले बताएका छन् । अघिल्लो आव २०७४/०७५ भन्दा २०७५/०७६ मा डिएपी छ हजार १४९ बोरा र युरिया तीन हजार ७०१ बोरा कम मल आपूर्ति हुँदा जिल्लामा रसायनिक मलको हाहाकार भएको निमित्त प्रमुख खडकाको भनाइ छ । त्यस्तै, आव २०७३/०७४ मा ९५ हजार ३२० बोरा डिएपी मल र ९८ हजार ७०५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ । सिरहामा साउन महिनामा मात्र ३० हजार बोरा डिएपी मल चाहिएकोमा कृषि सामग्री कम्पनी लिमिटेडबाट डिएपी मल एक बोरा पनि आएन भने युरिया मल आएको जति सबै बिक्री भइसकेकाले गोदाम रित्तिएको छ । डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकोले समस्यामा परेको निमित्त प्रमुख खड्काको भनाइ छ । यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मल पुर्याउन नसकिरहेको उल्लेख गर्दै उनले अझै किसान मलका लागि आउने गरिए पनि मलको अभाव भएको भन्दै फर्काउँदै आएको बताएका छन् । डिएपी र युरिया मलको आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले आव २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा झण्डै आधा मूल्य बराबरको रसायनिक मल मात्र बिक्री गरेको छ । आव २०७४/०७५ मा रु चार करोड १५ लाख ५१ हजार ९७६ को मलखाद्य बिक्री गरेको कृषि सामग्री कम्पनी लहानले आव २०७५/०७६ मा रु दुई करोड ३६ लाख ९५ हजार ३४६ को मात्र रसायनिक मल बिक्री गरेको निमित्त प्रमुख खडकाले जानकारी दिएका छन् । निमित्त कार्यालय प्रमुख खड्काका अनुसार आव २०७५/०७६ मा रु एक एक करोड ७० लाख ३० हजार ८२६ को युरिया, रु ५२ लाख ५१ हजार २०० को डिएपी, रु १४ लाख १३ हजार ३२० को पोटास बिक्री गरेको छ । सिरहामा यस वर्ष कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ९० प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र राजविराज सप्तरीले जनाएको छ । अधिकांश खेतीयोग्य जग्गामा धान रोपाइँ भए पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेका छन् । सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्ट्र ट्रेडिङले गाउँ गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्री वितरण गर्दै आएको छ । किसानले धानखेती गर्ने बेला डीएपी मल अभाव भएको हो । सरकारले अनुदानमा प्रदान गर्ने मल आएको छैन भने कृषि सामग्री कम्पनी लिमिटेडले समेत मल ल्याउन सकेको छैन । धानमा मल हाल्ने बेला हुँदासमेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा व्यवसायीबाट मल खरिद गर्नुपरेको बताएका छन् । “धानमा मल राख्ने बेला भयो, डीएपी बजारमा पाइँदैन”, लहानका किसान राजकिसोर यादवले भने, “मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।” उनले गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न नसकेको बताए । किसान मल पाइने आसमा दैनिकजसो कृषि सामग्री केन्द्र धाउने गर्छन् । गोलबजारका किसान बृजकिसोर मिश्र किसानलाई अनुदानको डीएपी मल पाउनै गाह्रो भएको बताउँछन् । “धान रोप्ने बेला कहिल्यै मल पाइँदैन, मल नपाएपछि उत्पादन घट्दै गएको छ”, उनले भने । जिल्लामा डीएपी रासायनिक मलको चरम अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । “हामीसँग डीएपी मल छैन”, निमित्त प्रमुख खड्काले भने, “गोदामा भएको मल किसानलाई बाँडेका छौं ।” रासस

माछापुच्छे बैंकको १३ नयाँ शाखाको औपचारिक उद्घाटन

काठमाडौं । माछापुच्छे बैंकले प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ नयाँ शाखा कार्यालयहरुको शुरुवात गरेको छ । उक्त कार्यालयहरुको  उपमहानरपालिका तथा महानगरपालिकाका स्थानीय जनप्रतनिधि एवं माछापुच्छे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले प्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा र लालबन्दी त्यस्तै धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार तथा सप्तरी जिल्लाको कन्चनरुपमा जम्मा ९ वटा शाखा कार्यालयहरुको सुरुवात गरेको हो । यसैगरी, प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी र सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट तथा ताप्लेजुङ्ग जिल्लाको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखाहरुको औपचारिक सुरुवात गरेका छन् । माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ । यसरी, बैकले प्रदेशमा आफ्ना नयाँ शाखासहित १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवामार्फत २५७ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

एनआईसी एशिया बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने

काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । भदौ ११ गते बसेको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको सेयर पुँजी ९ अर्ब ७६ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बोनस सेयर घोषणा भएको दिन बैंकको सेयर मूल्य भने प्रतिकित्ता ५ रुपैयाँ घटेको छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४४२ रुपैयाँमा कारोबार भईरहेको छ ।

“मिस टिन अफ द ईयर २०१९” को उपाधि जित्न सफल प्रतिभा राई

काठमाडौं । रिबन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको “मिस टिन अफ द ईयर २०१९ सिजन ४” को उपाधि सोलुखुम्बुको प्रतिभा राइले जित्न सफल भएकी छिन । काठमाडौंको रसियन कल्चरमा सम्पन्न फाईनल प्रतियोगितामा प्रतिभा राईले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित मोबाईल र विभिन्न उपहार जित्न सफल भएकी थिइन् । उनले मिस ट्यालेन्ट र युट्युब मस्ट भिउर्सको उपाधि समेत जित्न सफल भएकी थिइन् । त्यसैगरी प्रतियोगितामा फस्ट रनर्स अप, मस्ट पपुलर तथा बेस्ट फोटोजेनिक नेहा धिताल, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाईस सृबिना राइले जितेका थिए । “मिस टिन अफ द ईयर २०१९ सिजन ४” प्रतियोगितामा बेस्ट र्याम्पवाल्क र बेस्ट स्किन साम्रगी पोख्रेल, बेस्ट स्माईल प्राश्ना राई, बेस्ट हेयर नेहा खातुन र बेस्ट डान्स सलिना राइले प्राप्त गरे । रिबन इन्टरटेन्मेन्ट प्रा.ली द्धारा आयोजित यो प्रतियोगिताको निर्णायकमा सञ्चारकर्मी कलाकार तथा म्युजिक भिडियो निर्देशक सूर्य चन्द, मिसेस नेपाल टुरिजम २०१९ को बिजेता छिरीङ डोल्मा शेर्पा, अटो नेपालका एमडी भुसन श्रेष्ठ, टेलिभिजन प्रस्तोता बिकाश थपलिया तथा गायक डा. आभास लाभ थिए । यसरी, टिनएजर्स युवतीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाको डाईरेक्टर निशु कान्त झाले बताए । प्रतियोगितालार्इ कोरियोग्राफी तथा कार्यक्रम संचालन अश्विनी झाले गरेका थिए ।

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

भोजपुर । भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ । सो स्थानको पिखुला खोलामा प्रदेश सरकारको रु छ करोड ५३ लाखको लागतमा करिब एक हप्ता अगाडि पुल निर्माण शुरु गरिएको थियो । अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस