विकासन्युज

बेल्वासेलाई डा.हरिहर देव पन्त स्मृति सम्मान पत्रकारिता पुरस्कार

काठमाडौं । जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित नेपालमा सर्वप्रथम औपचारिक रुपमा विना धितो लघुवित्त सुरुवात गर्ने लघुवित्तका प्रथम प्रवद्र्धक डा.हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको डा.हरिहरदेव पन्त फाउण्डेसनले डा.पन्तको चौथो स्मृति दिवसको अवसर पारेर पत्रकार विष्णु वेलवासेलाई हरिहरदेव पन्त स्मृति सम्मान पत्रकारिता पुरस्कार स्वरुप नगद रु.५० हजार सहित सम्मान पत्र प्रदान गर्ने भएको छ । लघुवित्तका प्रथम प्रवद्र्धक पन्तको स्मृतिमा फाउण्डेसनले हरेक वार्षिक पुण्य स्मृति दिवसको अवसरमा एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको हो । पत्रकार बेल्वासे विगत दुई दशकदेखि पत्रकारित क्षेत्रमा क्रियाशिल छन् । आर्थिक अभियान दैनिक, कारोबार दैनिक, नागरिक दैनिक लगायत करिव आधा दर्जन पत्रपत्रिकामा काम गरिसकेका उनी हाल नेपाल न्यूजमा सहसम्पादकको रुपमा क्रियाशिल छन् । डा.पन्त नेपालमा लघुवित्तका पिताको रुपमा परिचित छन् । ग्रामीण क्षेत्रमा विपन्न गरिव परिवारहरुमा लघुवित्त कार्यक्रममार्फत आर्थिक, सामाजिक तथा मानसिक विकास गराउने काममा उनले अत्यन्त महत्वपूर्ण योगदान पुर्याएका थिए । गत वर्ष फाउण्डेसनले उक्त पुरस्कार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष गोकर्णराज अवस्थीलाइ प्रदान गरेको थियो ।

मार्जिन कारोबारको अर्को गाँठो फुक्यो, छुट्टै डिम्याट खोल्न नियमावली स्वीकृत

काठमाडौं । मार्जिन कारोबारमा देखा परेको अर्को कानुनी जटिलता अन्त्य भएकोे छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र केन्द्रिय सेवा नियमावली २०६८ मा संसोधन गरी त्यस्तो जटिलता अन्त्य गरेको हो । यो सँगै मार्जिन कारोवारका लागि छुट्टै हितग्राही खाता (डिम्याट) खोलेर अघि बढ्न सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई बाटो खुलेको छ । अब सिडिएससीले मार्जिन कारोबारको लागि छुट्टै हितग्राही खाता खोल्ने व्यवस्था गर्नुपर्ने छ । सो खाताको आधारमा धितोपत्र दलाल (ब्रोकर) हरुले आफ्ना ग्राहकहरुसँग मार्जिन कारोबार गर्न पाउँने छन् । नियमावली स्विकृत भएसँगै मार्जिन कारोबार प्रकृया अघि बढ्ने र यसले पूँजी बजारको दायरा बृद्धी हुने तथा कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने विश्वास बोर्डले व्यक्त गरेको छ । मार्जिन कारोवार संचालनका लागि लगानीकर्ताहरुले निरन्तर दवाव दिँदै आएपनि धितोपत्र बोर्ड, नेप्से, नेपाल राष्ट्र बैक, सिडिएससी जस्ता संस्थाहरुबीच समन्वय नहुँदा यो प्रकृया वर्षौ देखि अड्किएको थियो । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिफारिसमा नेपाल राष्ट्र बैकले केही ब्रोकरहरुलाई मार्जिन कारोबार गर्न स्विकृती दिइ सकेको छ ।

नव नियुक्त महावाणिज्यदूतले भने– साना उद्योगीका उत्पादनको अन्तराष्ट्रिय मार्केटिङमा सघाउँछौं

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्घन गर्ने उनीहरुले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरुका लागि नियुक्त गरेका नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुसँगको स्वागत तथा भेटघाटमा उनीहरुले आफुहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने बताएका हुन् । नेपालको प्रतिनिधित्व गर्दै नेपाल सरकारले चीनको बेइजिङ तथा ग्वाङगझाउका लागि नियुक्त महावाणिज्यदूत छविन्द्र पराजुलीले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा रहेका साना उद्योगहरुको योगदानलाई बिर्सन नहुने बताएका छन् । आफुहरु लघु, घरेलु तथा साना उद्योगीहरुकै प्रतिनिधि भएर कार्य क्षेत्रमा खटिने भन्दै उनले यस्ता उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । भारतका लागि नवनियुक्त पर्यटनदूत निता पोखरेलले झण्डै ७० प्रतिशत निर्यातको हिस्सा ओगट्ने घरेलु उद्योगहरुको उत्पादनलाई विश्व बजारमा प्रचार प्रसार गर्ने आफुहरुको प्रमुख जिम्मेवारी रहेको बताएकी हुन् । महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुलाई स्वागत गर्दै ती दुई देशमा नेपालको निर्यात व्यापार बृद्धि गर्न, त्यहाँका बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन र नेपालमा रहेका घरेलु तथा साना उद्योगलाई आवश्यक उन्नत प्रविधि भित्र्याउन विशेष पहल हुने अपेक्षा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा उनले जोड दिएका छन् । यस्ता उत्पादनहरुको अन्तराष्ट्रिय बजारीकरणका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने महावाणिज्यदूत र पर्यटनदूतहरुले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा गरेको बताए ।

नेपाल रेडक्रस सोसाइटीद्वारा आज स्थापना दिवस मनाइँदै

काठमाडौं । मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया” (लभ) भन्ने मूल सन्देशका साथ विविध गतिविधिको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५७ औं स्थापना दिवस भाद्र १९ गते मनाउदैछ । यस अवसरमा देशभरीका ७ वटै प्रदेश, ७७ वटै जिल्ला शाखा र १५०० भन्दा वढी उपशाखा र जुनियर युवा सर्कलहरुले विविध कार्यक्रमको आयोजना गरिरहेका छन । केन्द्रीय मूल कार्यक्रमको रुपमा भोली विहान शुभेच्छा, सम्मान, पुस्कार तथा प्रतिभा प्रदर्शनका साथै रक्तदान कार्यक्रमको आयोजना गरिदैछ । यस अवसरमा फोटो प्रतियोगिता, फूटवल, चेसलगायतका खेलकुद प्रतियोगिता, सरसफाई कार्यक्रम सम्पन्न भैसकेका छन् । २०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पुर्याउँदै आएका छन् । यस वर्षको मूल विषय “माया” अर्थात् (लभ) रहेको छ । यसले रेडक्रसका स्वयंसेवक एवं कर्मचारीहरुको सेवा भाव, त्याग र समर्पण संकेत गर्दछ । स्मरण रहोस् संसारमा प्रेममय भावनाको विकास गराउने उद्देश्यले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसि) स्थापनाको १०० वर्ष पुगेको अवसर पनि यसै वर्ष परेको छ । सो सन्दर्भमा विश्वभर रेडक्रसका १ करोड १७ लाख स्वयंसेवकहरुले गरेको मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउन यस दिवसमा नेपाल रेडक्रस सोसाइटीले पनि ऐक्यवद्धता जनाउँदछ । मानवीय सेवमा नेपाल रेडक्रस सोसाइटी देशको अग्रणी संस्था हो । विपद्का बेला तत्काल उद्धार तथा राहत, रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत नेरेसो समुदायको संकटासन्नता कम गर्न देशका सवैजसो समुदायमा पुगिरहेको छ । विपद् तथा संकटजन्य अवस्थाहरु पश्चात् गरिने पुनर्लाभलाई सुदृद्ध गर्न, अझ बढी सुरक्षित, उत्थानशील र स्वस्थ समुदायको प्रबद्र्धन गर्न, सामाजिक सामावेशीकरण तथा अहिंसा एवं शान्तिको संस्कारको प्रवद्र्धन गर्न र संकटासन्नताको न्यूनीकरण गर्न सबै पक्षको सद्भाव, सहयोग, समन्वय र सहकार्यको लागि हामी आव्हान गर्दछौँ । कानुनी आधार सुदृढीकरण गर्दै संस्थाका सवै निकायहरुमा जनशक्ति, बन्दोबस्ती र व्यववस्थापकीय क्षमता अभिबृद्धि गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, रेडक्रसको दृश्यात्मकता र छविलाई सवै तहमा अभिबृद्धि गर्ने, आन्तरिक स्रोत परिचालनलाई वढावा दिई संस्थागत दीगोपना सुनिश्चिित गर्ने र बदलिँदो परिस्थितिमा मानवीय चुनौती कम गर्न सरकार, साझेदार निकाय, विश्व रेडक्रस अभियान र सञ्चारजगतसंगको सहकार्य बढाउँदै अझ जिम्मेवार भई समुदाय संगसँगै कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।

टानको नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन हुँदै, थापा र सुवेदी भिड्ने

काठमाडौँ । पदयात्रा व्यवसायीहरुको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को नयाँ नेतृत्वको लागि शुक्रबार निर्वाचन हुँदैछ । टानको आगामी अध्यक्षका लागि आसाही ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक अञ्जन थापा(कुमार) र युनिक एडभेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक खुमबहादुर सुवेदी छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । थापा प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्ष प्रकाशचन्द्र देबकोटा, द्वितीय उपाध्यक्ष तेञ्जिङ शेर्पा, महासचिव सरिता लामा, सचिव दामोदर ढकाल, कोषाध्यक्ष टेक खकुराल र सह-कोषाध्यक्षमा प्रदीप पाण्डे छन् । यसैगरी सदस्यहरुमा रघु पौडेल, निमा डिकी शेर्पा, मिङ्मा शेर्पा, प्रेमबहादुर लामा, सुनिल सिलवाल र कृष्ण गोपाल श्रेष्ठ रहेका छन् । यता, सुवेदी प्यानलबाट बरिष्ठ उपाध्यक्ष नविन त्रिताल, प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, द्वितीय उपाध्यक्ष भरत सापकोटा, महासचिव कर्मा शेर्पा, सचिवमा प्रदीप घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ छन् । सदस्यहरुमा केशवप्रसाद दाहाल, खोमराज अधिकारी, कान्छा शेर्पा, सिम्बिर घले र सोनाम ग्याल्जेन शेर्पा छन् । गुणस्तरीय साहसिक तथा पर्वतीय पर्यटन व्यवसाय विकासका लागि राजनीतिक हस्तक्षेपमुक्त व्यवयायिक टान भन्ने नारा सहित थापा समूह चुनावी मैदानमा उत्रिएको छ । यता, ३१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको थापा समूहले पदयात्रा व्यवसायीको लागि गर्व गर्न लायक टान बनाउने उद्घोष गरेको छ ।

महिला सञ्चालक विवादले एनसीसी बैंक सञ्चालक समितिको निर्वाचन राेकियाे, काल सबै बैंकमा सर्दै

काठमाडौं । सञ्चालकको निर्वाचनका सम्बन्धमा एनसीसी बैंकमा कुमारी बैंकको जस्तै नियति दोहोरिएको छ । महिला सञ्चालक नियुक्तिको सम्बन्धमा अन्याेलता देखिएपछि एनसीसी बैंकको आगामी सोमबार बोलाइएको साधारणसभामा सञ्चालकको निर्वाचनको नहुने भएकाे छ । बिहीबार बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकको निर्देशनका कारण सञ्चालकहरुको निर्वाचन स्थगित गर्नुपरेको जनाएको छ । नेपाल राष्ट्र बैंकले एनसीसी बैंकलाई पत्र लेख्दै ‘सञ्चालक समितिमा महिला सञ्चालकको सम्बन्धमा कुन समूहबाट महिला सञ्चालकको प्रतिनिधित्व हुने भन्ने विषयमा प्रष्ट खुलाइ नियमावलीमा व्यवस्था गरी उक्त नियमावलीलाई साधारणसभाबाट पारित गरेपछि मात्रै नियमानुसार निर्वाचन गर्ने व्यवस्था गर्नु’ भन्ने निर्देशन दिएपछि  सञ्चालककाे निर्वाचन राेकिएकाे हाे । एनसीसी बैंकमा महिला सञ्चालक बनाउने भन्नेमा समस्या नभएकाे तर महिला सञ्चालक संस्थापक समूहबाट बनाउने वा सर्बसाधारण समूहबाट बनाउने भन्नेमा विवाद भएकाे स्राेतले बतायाे ।  नियमावली संशाेधन गर्दा महिला सञ्चालक पब्लिक समूहबाट बनाउने तयारी बैंकले गरेकाे छ । कम्पनी ऐन २०६३ मा महिला सेयरधनी भएको पब्लिक कम्पनीमा कम्तीमा एकजना महिला सञ्चालक हुनैपर्ने व्यवस्था छ । यसै व्यवस्थाको हवाला दिँदै कुमारी बैंककी एक सेयरधनीले महिला प्रतिनिधित्वको सुनिश्चितता नहुँदासम्म निर्वाचन रोक्न माग गर्दै अदालतबाट स्टेअर्डर ल्याएकी थिइन् । फलस्वरुप कुमारीले जेठ ३१ गते निर्वाचनकै लागि दोस्रोपटक साधारणसभा गर्नुपरेको थियो । राष्ट्र बैंक निर्देशन अनुसार आगामी २३ गते हुने साधारणसभामा निर्वाचनको सट्टा नियमावली संशोधनको एजेन्डा प्रस्तुत हुने एनसीसी बैंकले जनाएकाे छ । सो एजेन्डा पारित भएपछि पुनः सञ्चालकहरुको निर्वाचनकै लागि विशेष साधारणसभा बाेलाउने बैंककाे तयारी छ । सबै बैंकमा पल्क्यो ‘काल’ कुमारी बैंकबाट सुरु भएको यो समस्या हरेक बैंकमा देखिने भएको छ । सञ्चालकहरुको कार्यकाल सकिएर आगामी साधारणसभाबाट नयाँ सञ्चालक निर्वाचित हुनुपर्ने अवस्थामा रहेका त्यस्ता बैंकहरुको हकमा समेत राष्ट्र बैंकको यो निर्देशनको प्रभाव देखिने पक्का भएको छ । यसका लागि उनीहरुले कि त वार्षिक साधारणसभामा प्रस्ताव ल्याएर निर्वाचनका लागि विशेष साधारणसभा बोलाउनुपर्नेछ वा सुरुमा नियमावली संशोधन गर्न विशेष साधारणसभा बोलाएर मात्रै वार्षिक साधारणसभा बोलाउनुपर्नेछ । तर, यो वर्ष सञ्चालकको निर्वाचन गर्नुपर्ने अवस्था नभएका बैंकहरुका हकमा भने यो समस्या आउने छैन । बैंकमात्रै नभएर अन्य क्षेत्रका पब्लिक कम्पनीहरुमा समेत यो प्रावधानले असर गर्ने अवस्था देखिएको छ । सराेकारवालाले कानुनमा भएकाे महिला सञ्चालक सम्बन्धि कानुन नै अव्यवहारिक भएकाे बताउँदै आएका छन् ।

कृषकलाई पशुपालनतर्फ प्रोत्साहनः केन्द्रद्वारा फार्मलाई दुई करोड बढी अनुदान

दमौली । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा रु दुई करोड ४० लाख अनुदान दिन लागेको हो । प्रत्येक स्थानीय तहमा कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायको कम्तीमा एक नमूना फार्म स्थापना गर्ने उद्देश्यसहित कृषकलाई अनुदान वितरण गरिने केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिएका छन् । उक्त रकम पशुपक्षी तथा मत्स्य मोडल फार्म कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिने र प्रस्ताव हेरेर कृषकलाई फार्म स्थापनाका लागि रकम प्रदान गरिनेछ । गत आवमा कार्यालयले ४६ फार्मलाई रु एक करोडभन्दा बढी अनुदान वितरण गरेको थियो । कृषकलाई पशुपालनतर्फ प्रोत्साहन गर्ने उद्देश्यसहित तनहुँ र नवलपुरका ४६ फार्मलाई गत वर्ष रु एक करोड ३३ लाख ७३ हजार अनुदान वितरण गरिएको केन्द्रले जनाएको छ । मोडल फार्म परियोजना कार्यक्रमप्रति कृषक आशावादी र उत्साहित देखिएका छन् । यो कार्यक्रमले व्यावसायिक पशुपालनमा उल्लेख्य वृद्धि भएकाले स्वरोजगार सिर्जना भएको छ । कम्तीमा पाँच रोपनी जमिन भएको उन्नत प्रविधियुक्त कृषि फार्म जसको आम्दानीले कम्तीमा पनि परिवारलाई आत्मनिर्भर बनाउने गरी व्यावसायिक रुपमा कृषि तथा पशुपक्षीजन्य उत्पादनको लागि स्थापना गरिएको फार्म हुनुपर्नेछ । केन्द्रले माछापोखरी निर्माणका लागि पाँच हेक्टर क्षेत्रफललाई रु १० लाख, मत्स्य फार्म यान्त्रिकरणका लागि रु दुई लाख ५० हजार र माछा भुरा ढुवानीका लागि रु एक लाख अनुदान दिने भएको छ । पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत मासु पसल सुधारका लागि रु छ लाख, डेरी पसल सुधारका लागि रु छ लाख, दाना बनाउने मेसिन खरिदका लागि रु एक लाख ५० हजार र दुग्ध चिस्यान केन्द्र स्थापनाका लागि रु तीन लाख दिइने भएको छ । केन्द्रका प्रमुख डा. श्रेष्ठका अनुसार पशुपक्षी तथा मस्त्य क्षेत्रको विकासमार्फत समृद्ध प्रदेश निर्माणमा सहयोग गर्ने उद्देश्यसहित ‘एक पालिका, एक पशुपक्षी÷मत्स्य उत्पादन’मा जोड तथा ‘एक जिल्ला, एक घाँसेबाली स्रोतकेन्द्र’ स्थापना गर्ने रणनीति अवलम्बन गरिएको छ । रासस

नेपालगञ्ज-लखनऊ मैत्री बस सञ्चालन हुँदै

राँझा । भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल-भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन निगम र भेरी यातायात प्रालिको एक–एक बस नेपालगञ्जबाट लखनऊ र लखनऊबाट नेपालगञ्जका लागि सञ्चालन हुनेछन् । भेरी यातायातले भारतको लखनऊ, नयाँदिल्ली र हरिद्वारका लागि मैत्री बस सेवा सञ्चालन गर्न सरकारबाट अनुमति प्राप्त गरेको छ । सोही आधारमा पुसदेखि वैधानिकरूपमा नेपालगञ्ज–दिल्ली मैत्री बस सेवा सञ्चालन गर्दै आएकोे भेरी यातायातले अब उत्तर प्रदेशको राजधानी लखनऊका लागि नेपालगञ्जबाट सीधा बस सेवा सञ्चालन गर्न लागेको हो । बिरामी तथा किनमेल गर्न जानेहरुको सुविधालाई ध्यानमा राखी बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष गिरीले बताउनुभयो । अहिले सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ट्याक्सी तथा बस चढेर लखनऊ जानु पर्ने बाध्यता छ । लखनऊबाट फर्किँदा रुपैडिहासम्म यातायातका साधन सहजरूपमा नपाउने र रुपैडिहाबाट फेरि अर्को सवारीसाधन चढेर नेपालगञ्ज आउनुपर्ने बाध्यता छ । “सीधा बस सेवा सञ्चालन भएपछि यो बाध्यता हटछ”, होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले भने । बस सेवाले नेपाल घुम्न आउने भारतीय पर्यटकलाई समेत सहज हुनेछ ।