२० वर्षदेखि गिट्टी कुट्ने एकजोडीलाई आएन दशैं, महिना भरिको कमाइ ८ हजार रुपैयाँ
बझाङ । असोज २१ गते बिहानैदेखि महान पर्व दशैं मनाउन मानिसहरू घरमा अभ्यस्त थिए । कोही महान पर्व दशैंका टिका जमरा लगाउँदै, कोही दशैंको खुसियालीमा पिङ खेल्दै, कोही साथीभाइहरूसँग रमाइलो गर्दै त कोही वर्षौंदेखि भेटघाट नभएका आफन्तजनहरूसँग भोलाकुसारी गर्दै दशैं मनाउन व्यस्त देखिन्थे । बिहानीको समय । सूर्यको किरणले पनि दशैं आएको गज्जवै सञ्चार गरिरहेको थियो । बझाङ चैनपुरका चारै तर्फका पहाडहरूबाट सूर्यको चमत्कारिक किरणहरूको आगवमनले दशैं आएको भान जोकोहीले पनि महशुस गरेको हुनुपर्छ । यहि माहोलमा बिहानै बाउली खोलाको छेउमा गिट्टी कुट्न एकोहोरो सुरमा थिए जलबिर नेपाली र उनकी श्रीमती बिमा नेपाली । दशैंलाई धेरैले मिठो–मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा पनि चिन्ने गरिन्छ । वर्षौंदेखि भेटघाट नभएका आफन्तजनहरूसँग मिलन गर्ने पर्व पनि हो दशैं । तर यहि दशैंको माहोलमा बिहानै सुनशान बाउली खोलाको किनारमा बृद्ध बिमल नेपालीको परिवारले गिट्टी कुटेको दृश्य देख्ने जोकोहीको पनि आँखा रसाएको अवश्य हुनु पर्छ । यहि दृश्यले पंक्तिकारलाई पनि यो विषयमा बुझ्न उनी तर्फ तान्यो । दशैंको दिन पनि गिट्टी कुट्दै ? दशैं मनाउनु भएन ? बिमल नेपालीलाई पंक्तिकारको पहिलो जिज्ञासा थियो यो । पंक्तिकारको पहिलो जिज्ञासा सकिन नपाउँदै बिमा नेपाली बोलिन् – जसको कुनै आफन्त नै छैनन्, जोसँग एक छाक टार्न गाँस छैन, उसलाई के को दशैं ? प्रश्नमा प्रतिप्रश्न गर्दै पंक्तिकारलाई उनले भावविभोर बनाईन् । ‘विगत ३० वर्षदेखि राम्रोसँग चाँडवाड मनाउन पाएका छैनौं’ बिमलले भने, गिट्टी कुट्न शुरु गरेको पनि ३० वर्ष भयो ।’ घर रोल्पा हो, उनले थपे, संकटकालमा धेरै दु.ख पाएर भाग्दै बझाङसम्म पुगियो ३० वर्षदेखि नै गिट्टी कुट्दैछौं ।’ ‘पहिले आफन्त थिए, मिलेर दशैं मनाउन्थ्यौं’, बिमाले भनिन् – अहिले साथमा न छोराछोरी छन्, बुढो भइयो, साहारा दिने कोहि छैनन्, नदीको छेउमा बसेर गिट्टी कुट्नुको विकल्प छैन ।’ जन्मेका सबै बच्चाहरू मरे अन्तिममा एक छोरा र एक छोरी बाँचेका थिए । छोरी बिहे गरेर गई । २० वर्षको छोरा भने कहाँ छ कुन ठाउँ छ अत्तोपत्तो छैन उनले भनिन् । मासिक आठ हजार कमाइ दुवै जनाले दिनभरी गिट्टी कुटेर मासिक आठ हजार रुपैयाँ आम्दानी गर्ने गरेको बिमलले बताए । उमेरले ८६ वर्ष भएको बताउने उनी पेट पाल्नकै लागि भएपनि सकिनसकि काम गर्नु परेकोे सुनाए । उनी र उनकी श्रीमती हाल चैनपुरमै मासिक दुई हजार कोठा भाडा तिरेर बस्दै आएको छ । बिमलका दुवै जना उमेरले बृद्ध भएपनि काम गर्ने जोश भने अझै जिवितै देखिन्छ । पहिले रोल्पा घर भएको बताउने उनीहरु बझाङका विभिन्न ठाउँमा बसेर मजदुरी गरेको बताउँछन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरूको जीवनमा विभिन्न समयमा विभिन्न समस्याहरु आउने गरेको छ । आर्थिक स्थिति नाजुक भएकै कारण दशैंले आफुलाई छुन नसकेको बिमलले भावविभोर हुँदै बताए । दुईजनाले दिनभर गरेर दुई कट्टा गिट्टी कुट्ने उनले बताए । ‘महिनाको दुई ट्राली गिट्टी कुट्छौं’ उनले भने, एक ट्रालीको चार हजार रुपैयाँ मूल्यमा विक्रि हुन्छ, दुई ट्राली मिलाएर मासिक आठ हजार रुपैयाँ कमाइ हुन्छ ।’ कहिले काहीँ त गिट्टी विक्रि नहुँदा छाक टार्न पनि समस्या हुने गरेको बिमाले बताइन् । २० वर्षदेखि बाउली खोलामै गिट्टी कुट्दैछौं बिमाले भनिन्– अब त बाउली खोला नै आफन्त जस्तो भइसकेको छ । यसैको किनारमा बस्न मन पर्छ । हुनपनि यसको किनारमा बस्न वाहेक अन्य विकल्प छैन उनले भनिन् । ‘२० वर्ष यो नदिमै बितायौं’ अलि निराश भावमा बिमा भन्छिन्न् ‘उहाँ ८६ वर्षको भइसक्नु भो, मेरो उमेर ६३ वर्ष भयो, अझै काम गरी रहेका छौं । मरेको दिन यसै नदिले बगाएर लैजान्छ ।’ बिहानै बाउलीखोला गएर दिनभरी गिट्टी कुटेर राती अबेर चैनपुर डेरामा फर्किनु यी दुई दम्पतीकोे दैनिकी बनेको छ । बृद्ध अवस्थामा पुगिसक्दा समेत केही गर्नुपर्छ भनेर रातदिन काममै लागि रहने बिमलका परिवार सबैका लागि उदाहरणका पात्र समेत बनेका छन् ।
इलेक्ट्रिक अवतारमा आयो बजाजको आइकोनिक स्कुटर ‘चेतक’
काठमाडौँ । बजाजले अर्बनाइट ब्राण्डको इलेक्ट्रिक स्कुटर ‘चेतक’ लाई भारतीय बजारमा सार्वजनिक गरेको छ । यस स्कुटरको निर्माणसँगै बजाज १४ वर्ष पश्चात स्कुटर सेग्मेन्टमा पुनः प्रवेश गरेको हो । आधुनिक रेट्रो स्टाइलिङ्गमा बनेको यस स्कुटरको डिजाइन बजाजकै पुरानो ‘चेतक’ स्कुटरबाट लिइएको हो । यस स्कुटरमा एलइडि हेडलाइट, एलइडि टर्न सिग्नल्स र फुल–डिजिटल एलसिडि इन्स्ट्रुमेन्ट क्लष्टर समावेस गरिएको छ । त्यसैगरी अन्य फिचरहरुको रुपमा ब्लूतुथ फोन कनेक्टिभिटी, जीओ-फेन्सिङ्ग, लोकेशन ट्र्याकिङ्ग र त्यसैगरी म्यूजिक तथा टेलिफोन कन्ट्रोल दिइएको छ । बजाज अर्बनाइट चेतकमा प्रख्यात जर्मन ब्राण्ड ‘बश’ को लिथियम-आयन ब्याट्री समावेश गरिएको छ ।कम्पनीका अनुसार यस स्कुटरमा स्पोर्ट र इको गरी दुइओटा राइडिङ्ग मोड दिइएका छन् । ब्याट्री फुल चार्ज भएको अवस्थामा यस स्कुटरले स्पोर्ट मोडमा ८५ किलोमिटर र इको मोडमा ९५ किलोमिटर को माइलेज दिन्छ भनी कम्पनीले जनाएको छ । हाल कम्पनीले यसको सवै स्पेसिफिकेशनहरु भने सार्वजनिक गरेको छैन । अरु पार्टस्को कुरा गर्नु पर्दा यस स्कुटरमा १२ इञ्चको अलोए व्हिल, अगाडिको चक्कामा डिस्क ब्रेक, पछाडिको चक्कामा ड्रम ब्रेक, सिङ्गल-साइडेड टेलिस्कपिक फर्क, मोनोशक, एलुमिनियम स्विङ्गआर्म र एमआरएफ ज्यापरको टायर दिइएको छ । हाल कम्पनीले यस स्कुटरको मूल्य नतोकेको भएतापनि भारतीय बजारमा यस स्कुटरको मूल्य रु. एक लाख हाराहारी पर्नेछ भन्ने अनुमान गरिएको छ ।
ओपोद्वारा नेपालमा रेनो टू एफ सार्वजनिक, मूल्य कति ?
काठमाडौं । ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनो टू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँसंस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ । ‘रेनो सिरिजको रचनात्मक स्पिरिट (भावना)लाई आफूमा समाहित गर्दै यो नयाँ समिकरणले प्रयोगकर्तालाई रचनात्मकतामा थप मार्ग प्रशस्त गर्दै नयाँ दृष्टिकोण प्रस्तुत गर्न प्रोत्साहित गर्नेछ ।’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने–‘यसमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत ल्याण्डस्केपदेखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका समुन्द्री किनारहोस् वा औँशीको अँध्यारो रात, हरेक वातावरण तथा परिस्थितीमायसले उत्कृष्ट प्रदर्शनीदिने क्षमता राख्छ ।’ ओपो रेनोटू एफमाकम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपीपोट्रेट लेन्स रहेका छन् । अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभई अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो । ओपो रेनोटू एफले अदृतियतस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमतापनि रहेको कम्पनीले जनाएको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमाउत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक छ । ओपोले नेपालमा रेनोटू एफलाई “लेक ग्रिन” र “स्काइ ह्वाइट” गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ । रु. ४६,९९०÷(मूल्य निर्धारण गरिएको रेनोटू एफ अक्टोबर १८ मा काठमाडौंको न्यूरोड स्थित आधिकारिक शोरुममा आयोजना गरिने फस्र्ट सेल लगतै देशभरका प्रमुख बिक्रि मार्फत उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । सोहीदिन आधिकारिक शो(रुम मार्फत रेनो टू एफ खरिद गर्ने उपभोक्ताले नायिका स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेटी उनीद्वारा हस्ताक्षर गरिएको फोनका साथै विशेष उपहारपनि प्राप्त गर्न सक्नेछन् ।
महासङ्घको विधान संशोधनमा विवाद, ‘संशोधन प्रक्रियाले अस्थिरता ल्याउँछ’: शेखर गोल्छा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको विधान संशोधनमा विवाद भएको छ । मुलुकको परिवर्तित संरचनाअनुसार प्रादेशिक प्रतिनिधित्वसहित, संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने, कार्यकाल, वस्तुगत क्षेत्रको मतभार सङ्ख्या, नयाँ बनेका जिल्ला नगर सङ्घ, तिनलाई सदस्यता दिन मापदण्ड परिमार्जन गर्नुपर्ने लगायत ३५ बुँदाका मस्यौदामा व्यवसायीले संशोधन माग गरेका छन् । महासङ्घको आगामी कात्तिक २७ गते बस्ने साधारणसभामा यस विषयमा छलफल गरी बहुमत सदस्यको भावनालाई सम्मान गरी विधान संशोधनको प्रक्रिया अगाडि बढाइने महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिए । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका तथा सरकारलाई आवश्यक परेका बेलामा आर्थिक सुझाव दिने निकायका रुपमा महासङ्घले कार्य गर्दै आएको छ । महासङ्घको हालको विधानमा कार्यकारी अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष स्वतः आउने व्यवस्था भएको भए पनि त्यो लोकतान्त्रिक नभएको हुँदा यसको अन्त्य गरी प्रत्यक्ष निर्वाचित उद्यमी आउनुपर्ने व्यवस्थालाई विधान संशोधनको प्रमुख आधार बनाइएको छ । महासङ्घको अध्यक्षको चुनाव धेरै खर्चिलो भयो, अस्थिर भयो भनेर अध्यक्षमा प्रत्यक्ष चुनाव नगर्ने व्यवस्थाका लागि व्यवसायीले तीन वर्ष अगाडि मात्र महासङ्घको विधान संशोधन गरेका थिए । सोही विधानअनुसार तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष बनेकी थिइन् । विधानमा देखिएका केही कमजोरीलाई संशोधन गर्न गएको साधारणसभाले विधान संशोधन समिति बनाएको थियो । पदाधिकारी, जिल्ला नगरका प्रतिनिधि, वस्तुगत सङ्घ तथा पूर्वअध्यक्षलगायतको समिति बनाइएको छ । पहिलो चरणमा सुझाव माग्ने काम उक्त समितिले गरिसकेका छ । एशोसिएट र वस्तुगतले नेतृत्व गर्न पाउने कि नपाउने ? विषय पनि प्रष्ट समेट्न उद्यमीले माग गरेका छन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले संस्थाको हितमा विधान संशोधन जहिले पनि गर्न सकिने भए पनि केही गुटका स्वार्थका लागि गर्न लागिएको अहिलेको संशोधन प्रक्रियाले अस्थिरता ल्याउने विचार व्यक्त गरे । विधान संशोधन नभएमा गोल्छा अब हुने महाधिवेशनले निर्विरोध अध्यक्ष बन्ने बाटो खुल्ला हुन्छ । गोल्छा पक्षधरका व्यवसायी भने विधान संशोधनको विपक्षमा देखिएका छन् । महासङ्घका पूर्वउपाध्यक्ष भाष्कर राजकर्णिकारले स्वतः अध्यक्ष हुन पाउने व्यवस्था प्रजातान्त्रिक नभएकाले विगतमा आफूले त्यसको बिरोध गरेको बताए । उनका आनुसार नेतृत्वलाई गतिशील बनाउन नसक्ने हुँदा महासङ्घले आफ्ना सदस्यको हक, हित अधिकार तथा मुलुकको विकास र समृद्धिमा योगदान गर्न सक्तैन । विधान संशोधनको पक्ष तथा विपक्षमा नरहेका केही मध्यममार्गी व्यवसायीले महासङ्घका निषेधको राजनीति गर्न नहुनेमा जोड दिएका छन् । उनीहरुले सबै व्यवसायीलाई एकताबद्ध बनाउने गरी विधानमा व्यवस्था गर्न सकिएन भने महासङ्घमा उद्योगीका बीच फुट आउने र अर्को व्यावसायिक संस्था स्थापना हुन सक्नेमा चिन्ता गरेका छन् । रासस
सानिमा बैंकको २१ प्रतिशत लाभांश पारित, बैठक भत्ता ५० प्रतिशत बढाएपछि सेयरधनीले गरे चर्को विरोध
काठमाडौं । सानिमा बैंकको प्रस्तावित २१.०५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेबमोजिम सेयरधनीले चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश पाउने छन् । ८ अर्ब रुपैयाँ रहेको बैंकको चुक्तापुँजी बोनस पश्चात बढेर ८ अर्ब ८० करोड रुपैयाँ नाघेको छ । साथै, संचालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । संचालक समितिको उक्त प्रस्तावलाई भने बैंकका सेयरधनीले चर्को विरोध गरेका थिए । बैठकको भत्ता ३० देखि ५० प्रतिशतसम्म बढाएपछि सेयरधनीले कार्यक्रममै विरोध गरेका हुन् । सभाले पारित गरे अनुसार बैंकले अध्यक्षलाई प्रतिबैठक भत्ता १३ हजार रुपैयाँ दिने भएको छ भने संचालकलाई १२ हजार रुपैयाँ दिने भएको छ । जुन रकम अघिल्लो वर्षको बैठकभन्दा अध्यक्षलाई ३० प्रतिशत र संचालकलाई ५० प्रतिशत बढी हो । गत आर्थिक वर्षमा बैंकले अध्यक्षलाई प्रतिबैठक १० हजार र संचालकलाई ८ हजार रुपैयाँ प्रदान गरेको थियो । “बैठक भक्ता १२ हजार हुनु धेरै होइन तर एकैचोटि ५० प्रतिशत बढाउनु धेरै हो ।” सभामा एक सेयरधनीले भने– “एकैचोटि ५० प्रतिशत बढाउनु भन्दा अहिले २० प्रतिशतको दर बढाएको भए हुन्थ्यो ।” हाल बैंकको निक्षेप १२ अर्ब २८ करोड र कर्जा सापट ८३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कुल सम्पत्ती १०९ अर्ब रुपैयाँ नाघेको छ । खुद ब्याज आम्दानी ४२० करोड र खुद नाफा २२५ करोड रुपैयाँ नाघेको छ । साथै, बैंकको सञ्चालन मुनाफा ३२२ करोड रुपैयाँ र निष्कृय कर्जा ०.०८ प्रतिशत रहेको छ ।
संकटबाट गुज्रिरहेको हुवावेको आम्दानीमा २४ प्रतिशतले वृद्धि
शाङ्घाई । चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो नाफामा पनि ८७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । सुरक्षाको कारण देखाउँदै अमेरिकी प्रशासनले हुवावेका टेलिकम उपकरण प्रयोग नगर्न यसवर्ष विश्वव्यापी पहल र प्रचार गरेको थियो । गत मे महिनामा हुवावेलाई अमेरिकी बजारमा कालोसूचीमा राख्नुका साथै अमेरिकी कम्पनीका उच्च प्रविधियुक्त सामान हुवावेलाई बिक्री नगर्न दबाब दिएको थियो । संयुक्त राज्य अमेरिकाले हुवावेका सामान मार्फत चीनले गोप्य सूचनाहरु संकलन गर्न सक्ने भन्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको थियो । अमेरिकाले हुवावेका उत्पादनमा व्यापक कमी कमजोरी रहेका र ती भरोसायोग्य नरहेको बताउँदै आएको छ । तर हुवावेले भने अमेरिकी दाबीको निरन्तर खण्डन गरिरहेको छ । कम्पनीले जारी गरेको पछिल्लो विज्ञप्तिमा भनिएको छ, हुवावेले केबल सूचना प्रविधिको पूर्वाधार र स्मार्ट उपकरण निर्माणमा ध्यानकेन्द्रित गरेको छ, र त्यसलाई अझ गुणस्तरीय एवं परिस्कृत गर्नेतर्फ विशेष जोड दिइरहेको छ । यिनै कारणले कम्पनीले सन् २०१९ को नौ महिनाको अवधिमा निकै उचाई प्राप्त गरेको छ र निरन्तर विश्वको विश्वास जित्दै गएको छ ।
मान्छे बोक्ने मान्छेको कथा: पाथिभरा मन्दिर दर्शन गराएर मासिक १ लाख कमाइ
काठमाडौं । ताप्लेजुङका २६ वर्षीय तेन्जे शेर्पाले ४ वर्ष अघि पाथिभरा मन्दिर दर्शन गर्न गएका थिए । त्यहाँ भक्तजनहरुको विजोक देखेर उनले भरियाको काम गर्ने निधो गरे । त्यसपछि दर्शनार्थीलाई बोकेर तीर्थस्थल पाथिभरा मन्दिरसम्म पुर्याउने काम शुरु गरे । अहिले उनले हिडेर पाथिभरा मन्दिरसम्म पुग्न नसक्ने दर्शनार्थीहरुलाई काफ्लेपाटीदेखि करिब तीन घण्टाको पैदल दूरीमा पर्ने मन्दिरमा पुर्याएर दर्शन गराई पुनः काफ्लेपाटीसम्म ल्याइदिने गरेका छन् । उनले साना बच्चादेखि ९५ केजी तौल भएका दर्शनार्थीलाई बोकेर ओहोर दोहोर गराएका छन् । कहिले काँही ४-५ मिलेर पनि धेरै तौल भएका दर्शनार्थीलाई बोक्ने गरेका छन् । सिजनका बेला एकै दिनमा १५ देखि २० हजारसम्म पनि कमाई हुने गरेको उनले बताए । महिनामा १ लाखसम्म बचत गरेको उनले सुनाए । चैतदेखि जेठ र भदौदेखि मंसिरसम्मको ५ महिना मात्रै मान्छे बोक्ने काम गर्ने र बाँकी समय काठमाडौंमा रङ लगाउने काम गर्छन् उनी । सवारी साधनबाट काफ्लेपाटीमा आएर ओर्लिएपछि हिँड्न नसक्नहरुले पहेँलो पोशाकका भरियाहरुलाई खोजने गरेका छन् । उनले भने–‘हामीले किलोको १८० रुपैयाँमा मान्छे बोकेर मन्दिर दर्शन गरार्इ काफ्लेपाटी ल्याइदिने गरेका छौँँ । हिँड्न नसक्ने वृद्धवृद्धा र बालबालिकाहरुलाई पिठ्युमा बोकेर लाने ल्याउने गर्छौँ ।’ दशैँका बेला दर्शनार्थीको घुइँचो लाग्ने भएकाले पहेँलो पोशाकमा दर्शनार्थी बोक्ने भरियाहरुले मान्छे बोकेरै रोजिरोटी चलाइरहेका छन् । ६ वर्ष अघि स्थानीय होटल व्यवसायी र सुरक्षा निकायले छलफल गरी हिँड्न नसक्ने दर्शनार्थीलाई बोकेर लाने ल्याउने गर्ने व्यवस्था गरेको हो । पाथीभरा मन्दिर पुग्न काफ्लेपाटीदेखि तीन घण्टा बढी समय उकालो बाटो हिँड्नुपर्छ । पाथीभरा मन्दिर ३ हजार ७९४ मिटरको उचाइमा रहेकाले उच्च क्षेत्रको उकालो चढ्न बालबालिका, वृद्धवृद्धा र हिड्ने बानी नभएकाहरुलाई कठिन हुन्छ । यसरी उकालो चढ्न नसक्नेहरुलाई बोकेरै पाथीभरा मन्दिरसम्म लैजाने ल्याउने गरिन्छ । अहिले त्यस क्षेत्रमा दुई सय बढी भरिया छन् । उनीहरु सबैले नम्बरसहितका पहेँलो पोशाक लगाएका छन् । पाथीभरा मन्दिरमा वडा दशैँको नौरथा लागेसँगै दर्शनार्थीको चाप बढ्छ । वर्षका बाह्रै महिनामा दर्शनार्थी पुग्ने पाथीभरामा विशेष गरी दशैँका बेला सबैभन्दा धेरै दर्शनार्थी पुग्ने गरेका छन् । वार्षिक ५ लाख बढी दर्शनार्थी मन्दिरमा आउने गरेका पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले जनाएको छ । छिमेकी देशहरुबाट समेत दर्शनार्थी आउने गरेका छन् । हिँड्न नसक्ने दर्शर्थीलाई प्रतिकिलो १८० रुपैयाँ वा दुवै पक्षको समझदारी अनुरुप भाडा लिई लैजाने ल्याउने गरिएको पाथीभरा क्षेत्र विकास समितिका भरिया व्यवस्थापक डिल्लीराम भट्टराईले बताए । उनका अनुसार यो सेवा भरपर्दो तथा सुरक्षित बनाउन प्रहरी र होटल व्यवसायीले मिलेर निगरानी गर्ने गरेको बताए । भरियाले केही तलमाथि गर्लान भनेर जाँदा–आउँदा फेदीमा रहेको प्रहरी चौकीमा समेत रेकर्ड राखिने गरेको बताए । मन्दिर जाँदा ३ घन्टामा नै हिडेर पाथीभरा पुगेकी काभ्रेकी मञ्जु सापकोटाको खुट्टामा समस्या आएपछि भरिया खोजिन् र माथिलो फेदिसम्म ३ हजार तिरेर भरियालाई बोकाएर आइन् । उनले भनिन्–‘मन्दिर आउँदा बोक्न लगाउनु राम्रो हैन, तर मेरो केहि महिना अघि खुट्टा भाँच्चिएको थियो, त्यहि कारणले मन्दिरबाट माथिल्लोफेदी आउन सकिन र भरियाको प्रयोग गर्ने निदो गरेको बताइन् ।
कात्तिक २ र ३ गते २७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने
काठमाडौं । देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), छ महिनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिएका छन् । मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । ती कार्यक्रमका लागि करिब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ । सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताएका छन् । उनले भने, “भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।” किन आवश्यक पर्छ भिटामिन ए ? बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताए । यसैगरी, सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्वान्डाजोल खानापछि खुवाइने छ । जुकाका कारण रक्त अल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ । यसैगरी, बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । हाल पाँचवर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन् । पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहाराका बारेमा जानकारी दिइने कार्यक्रमअन्तर्गत रहेको छ । बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ । ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । रासस