विकासन्युज

एनआईबीएल र इसेवा फोन पेबीच अनलाईन भुक्तानी सम्झौता

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा फोन पे प्रालि र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड(एनआईबीएल) बीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ । ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनै पनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् भने इसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् । इसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज तथा बसको टिकट, विद्यालय/क्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ । पछिल्लो समयमा इसेवाले क्युआरकोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ । हाल इसेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा इसेवाले आकर्षक क्यास ब्याक तथा छुटको व्यवस्था समेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले इसेवामा पैसा लोड गरी सजिलै क्युआर कोड मार्फत भुक्तानीको सुविधा पनि लिन सक्नेछन् ।

नेपाल चेम्बर र पीएचडी चेम्बरबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धी छलफल

काठमाडौँ । भारत भ्रमणको अवसरमा नयाँदिल्ली स्थित पिएचडी चेम्बर अफकमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संबोधन गरेका छन् । उक्त अवसरमा उनले द्धिपक्षीय व्यापारमा पारवहन ढुवानी लागत घटाउनु पर्ने, सिमावर्ती क्षेत्रका चेम्बरहरु बीच सहकार्य गराउनु पर्ने, व्यापार मेला÷प्रर्दशनीमा सहभागिता जनाउनु पर्ने र चेम्बरले आउदो फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्पोमा भारतीय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गरे । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको सो कार्यक्रमा नेपालका लागि पूर्व राजदूत तथा इन्डिया नेपाल सेन्टर, पीएचडीका अध्यक्ष के.भी. राजनले नेपालसँग भारतको घनिष्ट सम्बन्ध रहेको बताए । यसबाट लगानी र व्यापार एवम् आर्थिक कृयाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पुर्याउने बताए । साथै उनले इन्डिया नेपाल सेन्टरको स्थापनामा चेम्बर सह संयोजक भई कार्य गरिरहेको र यसमा आगामी दिनहरुमा थप तीब्रता आउने आशा एवम् विश्वास व्यक्त गरे । उक्त अवसरमा पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजका अध्यक्ष डा. डिके अग्रवालले भारतको नेपालसँग परापूर्वकालदेखि साँस्कृतिक, आर्थिक एवम् व्यापारिक सम्बन्ध रहेको र दुई चेम्बरबीच सहकार्य गरी यो सम्बन्ध अघि बढी मजबुतगर्न लगानी, पर्यटन व्यापारमा जोड दिन आफू र आफ्नो संस्था इन्डिया नेपाल सेन्टर मार्फत र द्धिपक्षीय रुपमा समेत तयार रहेको बतए । सो अवसरमा नयाँदिल्ली स्थित नेपाली राजदुतावासका मिनिष्टर (इकोनोमिक) नीता पोखरेल अर्याल, नेपाली व्यवासायिक प्रतिनिधि मण्डलका सदस्यहरु उद्यमी, व्यवशायी, रिभर्सबायर सेलर मिटका सहभागी प्रतिनिधिहरुको समेत उपस्थिती थियो ।

एभरेष्ट बैंकले मनायो रजत जयन्ती

काठमाडौँ । एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा शुक्रबार लाजिम्पाटस्थीत प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो । समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो । १ हजारभन्दा बढीको उपस्थीति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिकउत्सव मनाइएको छ ।

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेञ्ज फाइनान्स फेयर’ शुरु, कात्तिक ५ गतेसम्म सञ्चालन हुने

काठमाडौं । नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स मेला “टिभिएस एक्सचेञ्ज एण्ड फाइनान्स फेयर”को आयोजना गरेको छ । उक्त मेलाको कात्तिक १ गते नेपाली क्रिकेट टिममा भूतपूर्व कप्तान पारस खड्काले उद्घाटन गरेका हुन् । कात्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप रु.१०,०००/- मुल्याङ्कन जस्ता उत्कृष्ट अफरहरु रहने छन् । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् । कुनैपनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भने पुराना टिभिएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन् । योजना सञ्चालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने–“हामीले यतिखेर ग्राहकहरुमाझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं र यो योजना प्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ । यसै सिलसिलामा सोही अफरकै एक हिस्सा स्वरुप यो एक्स्चेञ्ज फेयर आयोजना गरेका छौं–उनले भने । ग्राहकले “टिभिएस दशैंको दौड” योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भने किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ । टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन टिभिएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको कम्पनीले जनाएको छ ।

अमेरिकामा विश्व बैंकलाई अर्थमन्त्री खतिवडाको आग्रह-‘चरम गरिबी हटाउन सहायता बढाउ’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र प्रतिनिधिमण्डलका अन्य सदस्यहरुले संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा सहभागिता जनाएका छन् । विश्व बैंकले नेपालमा सहायता गरेको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका कतिपय रणनीति प्राथमिकताहरुको विषयमा चर्चा गर्दै नेपालको प्राथमिकता अनुसार चरम गरिबी केही वर्ष भित्रमा हटाउने र आम जनताको औषत आयु एसिया प्रशान्त क्षेत्रको औषत आयु बराबर पुर्याई गुणस्तरीय जीवन यापन गर्न सक्ने बनाउन बैंकको सहायता राशीमा उल्लेखनीय बृद्धि गर्न जरुरी रहेको बताए । बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै अर्थमन्त्री खतिवडाले प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाए । विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा उच्च प्रशंशा अझै धेरै साझेदारी गर्न बाँकी रहेको बताए । नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान प्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले नेपालले छोटो सयममा वित्तीय संघियता कार्यान्वयन गर्न सफल भएकोमा प्रशंशा गरे । उक्त कार्यक्रमको अध्यक्षता गर्दै अर्थमन्त्री खतिवडाले वित्तीय संघीयताको कार्यान्वयनका सम्बन्धमा विविध पक्षमा प्रकाश पारे भने भने नेपालमा वित्तीय संघीयताको कार्यान्वयन खास गरी अन्तर सरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँड लगायतको विषयमा नेपाल सरकारका सचिव डा. बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरे । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक वैठकमा सहभागी हुन आएको अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक वैठकको अध्यक्षता गर्दै अर्थमन्त्री खतिवडाले यस क्षेत्रको आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहको बताए । यस क्षेत्रमा अन्तर देशीय सडक लगायत हवाई सञ्जालको पर्याप्त विकास हुन सकेमा यसले आर्थिक बृद्धिमा योगदान पुर्याउने उनले बताए । यस क्षेत्रमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु नै व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तर देशीय सडक सञ्चालनको लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताए । दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने साथै यसबाट आर्थिक वृद्धिमा परिपुरक भूमिका रहने बताए । साथै यस क्षेत्रको व्यापार सहजीकरणका लागि भुक्तानी सहजीकरण पनि अत्यावश्यक रहेको बताए ।

गोदावरी पुष्प मेलामा १६ नयाँ प्रजाती, ५० लाखको फूलको कारोबार हुने अपेक्षा

काठमाडौं । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ नेपालीहरूको दोस्रो महत्वपूर्ण चाड तिहारको पूर्वसन्ध्यामा शुक्रबारदेखि ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपालमा पुष्प व्यवसाय फस्टाउँदो क्रममा रहेको भएपनि अपेक्षाअनुसार गति लिन नसकेको भन्दै उनले पुष्प व्यवसायको प्रवद्र्धनका लागि गर्नुपर्ने नीतिगत र लगानीलगायत विषयसहितको प्रस्ताव लिएर आउन फ्यानसँग आग्रहसमेत गरेका छन् । उनले भने– पुष्प व्यवसायको प्रवद्र्धनका लागि सातवटै प्रदेशमा पुष्प व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गर्दा उपयुक्त हुन्छ वा केन्द्रमार्फत नै काम गर्न सकिन्छ, के गर्दा राम्रो हुन्छ, आवश्यक सुझाव सहित प्रस्ताव लिएर आउनुहोस्, मन्त्रालय तत्काल प्रक्रिया अघि बढाउन तयार छ, बजेटको खासै समस्या हुुने म देख्दिन ।’ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.युवकध्वज जिसीले पुष्प व्यवसायको विकास, विस्तार र निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग जारी रहने बताए । उनले बाँझो रहेको कृषि भूमिमा पुष्पखेती गरी उत्पादन बढाएर निर्यात गर्न सकिने भएकोले त्यसतर्फ पनि सोच्नुपर्ने बताए । फ्यानका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले पुष्प व्यवसायको प्रवद्र्धनका लागि विगतमा फ्यानले अघि सारेका कतिपय परियोजना बजेट अभावका कारण अलपत्र अवस्थामा रहेको भन्दै परियोजनाको निरन्तरताका लागि मन्त्री खनालको ध्यानाकर्षण गराए । उनका अनुुसार खासगरी यसअघि फ्यानले अघि बढाएको लालीगुराँसको व्यवसायीक उत्पादन, रैथानले फूलजन्य उद्योग स्थापनालगायतका कार्य अलपत्र अवस्थामा रहेका छन् । फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले सरकारले पुष्प क्षेत्रलाई वेवास्ता गरेको गुनासो गरे । तथापि कृषि तथा पशुपक्षी विकासमन्त्री खनालको प्रतिवद्धताले आशा जगाएको पनि उनले बताए । सो अवसरमा वनस्पति विभागकी उपमहानिर्देशक ज्योति जोशी भटट्, राष्ट्रिय फलफूल विकास केन्द्रका निर्देशक हरिप्रसाद गुरुङ, पुष्प विकास केन्द्र गोदावरीका प्रमुख सुधिर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष उमेश सिंहलगायतले व्वयसायीक पुष्पखेतीका वारेमा आफ्नो भनाइहरू अघि सारे । जावलाखेलको खेल मैदानमा आयोजित १३ औ पुष्प प्रदर्शनीमा ४४ व्यावसायिक स्टल, ४ सूचनामूलक र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् । मेला संयोजक तथा फ्यानका उपाध्यक्ष शिवबहादुर खड्काले मेला ३५ हजारले अवलोकन गर्ने र करिब ५० लाख रुपैयाँबराबरको कारोबार अपेक्षा रहेको बताए । यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको उनले जानकारी दिए । मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । उत्कृष्ट नर्सरी पुरस्कृत फयानले मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको छ । सम्झना नर्सरीले विभिन्न विधामा ४ वटा पुरस्कार प्राप्त गरेको छ । गोदावरीे प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टिपीआर मितेरी नर्सरी दोस्रो र टीटीआर वंगलामुखी नर्सरीले तेस्रो भएका छन् । त्यस्तै मिनियचरतर्फ अजिमा नर्सरी र कट्फलावरतर्फ सिर्जना कट फ्लावर नर्सरी पुरस्कृत भएका छन् ।

आरविवि मर्चेन्टको सीईओमा बद्रीप्रसाद प्याकुरेल नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मिति बद्रीप्रसाद प्याकुरेललाई नियुक्त गरिएको छ । कात्तिक १ गतेदेखि लागु हुने गरी चार वर्षको लागि प्याकुरेललाई सीईओ नियुक्त गरिएको हो । सीईओ प्याकुरेलले शुक्रबारनै एक समारोहका बीच पदबहाली गरेका छन् । प्याकुरेलकोे अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पूँजीबजारमा १५ वर्ष भन्दा बढीको अनुभव रहेको छ । उनी यसअघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् आरविवि मर्चेन्ट बैंकिङ्गका सञ्चालक केशबप्रसाद लम्सालले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए । सो समारोहमा रावा बैंकका मूख्य प्रबन्धक एवम् सञ्चालक पवन रेग्मी, रावा बैंकका मूख्य प्रबन्धक एवम् आरविवि मर्चेन्ट बैंकिङ्गका निमित्त प्रमुख कार्यकारी अधिकृत रामकुमार थापा लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । समारोहलाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए । हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुंदा दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त सीईओ प्याकुरेलले बताए । आरविवि मर्चेन्ट बैंकिङ्गको हाल २० करोड चुक्तापूंजी रहेको छ ।

आठ करोडको लागतमा बन्यो राष्ट्रिय आविष्कार केन्द्र, सातवटा प्रडक्ट बिक्रीका लागि तयार

काठमाडाैं । ‘नेपालमा सियो पनि बन्दैन’ यो वाक्यले आम नेपालीहरुलाई पनि गिज्याउँछ । केही सामाग्री विदेश जान्छन् र त्यहि सामानले केहि आकार लिएर नेपाल भित्रिन्छन् । यो प्रक्रियाले नेपाल र नेपाली अर्थतन्त्रमा ठूलो घाटा गरेको छ । यहि घाटा र सास्तीलाई मध्यनजर गर्दै डा. महाबिर पुनले राष्ट्रिय आविस्कार केन्द्रको स्थापना गरे । अनुसन्धानमा नविनता र प्रबिधि मार्फत नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउने र प्रतिभावान नेपालीको सीप उपयोग गरी नयाँ कुरा आविस्कार गर्ने उद्देश्यका साथ उनले सन् २०१७ देखि आविस्कार केन्द्रको भौतिक काम सुरु गरे । केहि समय आर्थिक अभावले आविस्कार केन्द्र बनाउन नसकिने भन्दै आफुले प्राप्त गरेका अमूल्य पदक लिलामीमा समेत राखे । नेपाली युवालाई नयाँनयाँ आविस्कार, खोज र अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यकाले आर्थिक जोडतोडका लागि कठोर संघर्ष पनि गरे । यहि संघर्ष र विभिन्न दाताहरुको आर्थिक तथा सामाजिक सहयोगले शुक्रबार त्रिभुवन विश्वबिद्यालयको परिसर भित्र उनले राष्ट्रिय आविस्कार केन्द्र भवनको उद्घाटन गराउन सफल भए । करिब ६ हजार स्क्वायर फिटमा एक ठूलो भवन बनेको छ । जहाँ नविनतम आविस्कारसँग रम्ने र केहि आइडिया भएका युवाहरु जानेछन् र नयाँ प्रबिधिसँग खेलेर आफु र देश आर्थिक समृद्धिका लागि केहि योगदान गर्नेछन् । हाल आविस्कार केन्द्रमा ४८ जनाले विभिन्न क्षेत्र र प्रविधिसँग सम्बन्धित कामहरु गरिरहेका छन् । अाठ करोडको लागतमा आविस्कार केन्द्र राष्ट्रिय आविस्कार केन्द्रको शुक्रबार उद्घाटन गरिएको हो । त्रिभुवन विश्वबिद्यालयका उपकुलपति सुधा त्रिपाठी, पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाह, डेनमार्कका प्रोफेसर फ्लेमिङ टोप्से लगायतको उपस्थितीमा भवनको औपचारिक उद्घाटन भएको हो । सामाजिक अभियान्ता डा. पुनले आविष्कार केन्द्र निर्माण र सामानहरुको खरिदमा करिब अाठ करोड रुपैयाँ खर्च भएको बताए । शुरुमा आर्थिक जोहो गर्न धेरै गाह्रो भएपनि विस्तार सहयोगी हातहरु पनि बढ्दै गएको उनले बताए । केन्द्रको स्थापनाकै लागि विदेशी नागरिकहरुले पनि सहयोग गरेका छन् । डेनमार्कका प्रोफेसर फ्लेमिङ टोप्से, डेविड कोवासले पनि केन्द्रलाई आर्थिक सहयोग गरेको उनले बताए । आविस्कार केन्द्रका लागि आम विदेशी नेपाली संघ (म्यान्गो)ले पनि ६ लाख ६३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । डा. पुनले एनआइसी नेपाल गैर नाफामुलक कम्पनी भएकोले आविस्कारसँग सरोकार राख्ने र केहि सीप तथा आइडिया भएकाहरुले आएर काम गर्न सक्ने बताए । उनले अनुसन्धान र नविनताको संस्कृति विकास गर्नु, प्रतिभाशाली र रचनात्मक व्यक्तिलाई विदेश जानबाट रोक्नु र उनीहरुको प्रतिभालाई आर्थिक विकासको लागि प्रयोग गर्नु केन्द्रको मुख्य उद्देश्य भएको बताए । भवन उद्घाटन कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयकी उपकुलपति त्रिपाठीले आविस्कार केन्द्रको स्थापनाले नेपाली विद्यार्थीहरुलाई धेरै सहयोग पुग्ने बताइन् । उनीहरुको प्रतिभालाई उत्प्रेरित गरेर विदेश जानबाट रोक्न केन्द्रले भूमिका खेल्ने उनले बताइन् । पुर्व विज्ञान,प्रविधि तथा वातावरण मन्त्री गणेश शाहले पनि बालबच्चाहरुको र प्रविधीसँग रम्न खोज्नेहरुको साथसाथै देशका आर्थिक विकासका लागि पनि टेवा पुग्ने बताए । गुन्द्रुक पकाउनेदेखि गाडी बनाउने काम गरिँदै हाल आविष्कार केन्द्रमा विभिन्न प्रविधिहरुको सहायताले विविध मेसिनहरु निर्माण भइरहेका छन् । ती विभिन्न कामका लागि ४८ जना विद्यार्थी खटिएको पुनले बताए । केहि आइडिया भएकाहरुले केन्द्रमा आएर काम सिक्न सक्ने उनले बताए । उनीहरुको सपोर्टका लागि सम्पूर्ण सामाग्रीहरु उपलब्धता गराउने, उनीहरुको पकेट खर्च पनि केन्द्रले दिने उनले बताए । ‘पढेकाहरुसँग मात्र केहि आइडिया हुन्छ भन्ने आम मानिसहरुको मानसिकता हुन्छ’ उनले भने-‘नपढेकाहरुसँग पनि केहि आइडिया छ भने हामी उनीहरुलाई सहयोग गर्न तयार छौं, त्यो काम सफल होस् वा नहोस् ।’ काम सफल भएपछि व्यवसायिक रुपमा लागेर स्वयम् व्यक्ति र देशका लागि टेवा पुग्नु पर्ने उनले बताए । हाल केन्द्रमा २० प्रोडक्टका कामहरु भइरहेका छन् । सुर्यको तापबाट पानी तताउने मेशिन, तरकारी नकुहिने मेसिन, बेबी वारमर, इलेक्ट्रीक मेडिकल सिस्टम, मेडिकल ड्रोन, होमस्टे बुकिङ सिस्टम, मोटर एण्ड ब्याट्री डेभलप मेसनहरु बनिरहेको पुनले बताए । यस्तै बाँदर तर्साउने मेसिन, अगरबत्ती बनाउने मेसिन, सेलरोटी, गुन्द्रुक बनाउने मेसिन र अनलाइन टिकट बुकिङ सिस्टम पनि भयरहेको उनले बताए । केन्द्रमा आविस्कारका लागि लागेका विद्यार्थीहरुले प्लास्टिक बोतल रिसाक्लिङ सिस्टम, क्लोथ वासिङ मेसिन पनि बनिरहेका बताए । हाल केन्द्रमा सातवटा प्रडक्टहरु विक्रि वितरणका लागि तयार भएको उनले बताए ।