विकासन्युज

रुप ज्योतिलाई ५ दिन थुनामा राख्न अदालतको आदेश, पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौँ । उद्योगी तथा पूर्वमन्त्री रुप ज्योति र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले ज्योति बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो । प्रहरीले ज्योतिलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो । यता, उद्योगी ज्योतिलाई पक्राउको विरोधमा आइतबार काठमाडौंमा प्रदर्शन भएको छ । उदाय् समाज असनले प्रदर्शन गरेको हो । आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ज्योतिलाई तत्काल रिहा गर्न माग गरेका थिए । ज्योति ग्रुपका मालिक रुप ज्योति पक्राउ

सातै प्रदेशका प्रमुख शहरमा टेलिकमले सहुलियतमा वितरण गर्यो फोरजी सिम

काठमाडौँ । नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत गत कािित्तक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य उत्साहजनक रुपमा सम्पन्न भएको टेलिकमले जनाएको छ । आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण कार्य गरिएको र कात्तिक २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने कार्यक्रम रहेको छ । यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकहरुलाई २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुनेछ । यो विशेष अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् । यता, गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गरिएको छ । साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् । कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरे पश्चात् ग्राहकहरु माझ फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

चण्डिराज ढकाललाई ३ अर्ब ८५ करोड ऋण मिनाह गरिदै, राजनीतिक संरक्षणमा बैंकलाई नोक्सानी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक भित्र ठूलो आर्थिक बदमाशी हुन लागेको छ । अपारदर्शिक आर्थिक चलखेलका आधारमा बैंकलाई करिब ४ अर्ब रुपैयाँ नोक्सान गराउने गरि भित्रभित्रै गोप्य निर्णय हुन लागेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष चण्डिराज ढकालको कम्पनी मोमेन्टो एपरल्सले लिएको ऋणमा ३ अर्ब ८५ करोड ८ लाख रुपैयाँ मिनाह गर्ने अन्तिम तयारीमा बैंक पुगेको छ । उक्त ऋण मिनाहको निर्णय अपारदर्शी रुपमा हुन लागेको स्रोतले जनाएको छ । ‘आज भोलि नै निर्णय हुनसक्छ । यस निर्णयबाट बैंकले ठूलो नोक्सानी बेहोर्दैछ’ स्रोतले भन्यो । मोमेन्टो एपरल्सले लिएको कर्जाको पुर्नसंरचना गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले स्वीकार गरे । साँवा र साँवाको आधा व्याज लिएर २६ वर्ष पुरानो कर्जाको पुर्नसंरचना गर्न लागिएको उनले बताए । बैंकले २०५० सालमा मोमेन्टो एपरल्सको नाममा ३१ करोड ५६ लाख रुपैयाँ कर्जा दिएको थियो । साँवा र साँवाको आधा व्याज जोडेर ४७ करोड ३४ लाख रुपैयाँ तिर्ने गरी कर्जाको पुर्नसंरचना गर्न लागिएको उनले बताए । बैंकको कर्जा शाखाले दिएको जानकारी अनुसार यसरी कर्जा पुर्नसंरचना गर्दा बैंकलाई ३ अर्ब ८५ करोड ८ लाख रुपैयाँ नोक्सान हुनेछ । ढकालको कम्पनीले २६ वर्षअघि लिएको ऋणको साँवा ब्याजसहित ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने देखिएको छ । कर्जाको साँवा, ब्याज, पेनाल ब्याज र पुँजीकरण ब्याजसहित ढकालले राष्ट्रिय वाणिज्य बैंकलाई भुक्तानी गर्नुपर्ने रकम त्यति पुगेको हो । २०५० सालमा शुरु कर्जा ३१ करोड ५६ लाख रुपैयाँ थियो । त्यसका नियमित ब्याज ८६ करोड ४० लाख रुपैयाँ, पेलान ब्याज ९ करोड २७ लाख रुपैयाँ, व्याज पुँजीकरण ३ अर्ब ५ करोड १८ लाख रुपैयाँ गरी असोज मसान्तसम्ममा कूल ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने हिसाब देखिएको छ । कर्जा मिनाह गर्न लागेको विषयमा आफूलाई जानकारी नभएको बैंकमा अध्यक्ष महेन्द्रमान गुरुङले बताए । तर प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस कर्जाको बारेमा अन्तिम निर्णय हुन लागेको बताए । यति ठूलो ऋण मिनाह गर्ने प्रस्ताव सञ्चालक समितिमा नआएको र तत्काल बैंक सञ्चालक समितिको बैठक बस्ने तालिका पनि नरहेको अध्यक्ष गुरुङले विकासन्युजलाई बताए । बन्द अवस्थामा रहेको मोमेन्टो एपरल्सका मालिक चण्डिराज ढकालले पनि कर्जा पुर्नसंरचना गर्न लागेको जानकारी दिए । ‘रुग्ण उद्योगले पाउने छुट मागेको छु । राष्ट्र बैंकले अहिले पेनाल व्याज, कम्पाउण्ड व्याज लिन नपाउने व्यवस्था गरेको छ’ ढकालले ऋणमा ३ अर्ब ८५ करोड छुट पाउने आधार पेस गर्दै विकासन्युजसँग भने । ढकालले हाल १० करोड रुपैयाँ बैंकलाई बुझाउन लागेका छन् । ‘बैंकको कर्जा तिर्ने प्रक्रियामा छु । केही दिन भित्र यो काम सकिएला । त्यसपछि उद्योग सञ्चालन गर्छु’ ढकालले भने । चण्डिराज ढकाल पनि झापाको भएको, अर्थमन्त्री युवराज खतिवडा पनि झापाको भएको, प्रधानमन्त्री पनि झापाको भएकोले शक्ति केन्द्रहरु मिलेर ढकाललाई ऋणमा भारी मिनाह गर्न लागिएको स्रोतले बतायो । ढकाल र अर्थमन्त्री डा. युवराज खतिवडाबीच पछिल्लो समय निकै राम्रो सम्बन्ध स्थापित भएको छ । ‘यो कर्जामा सबै डिल सीईओले गर्नु भएको छ, माथि कै संरक्षणमा यस्तो भएको होला’ बैंक उच्च व्यवस्थापनमा रहेर काम गरिरहेका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने । ‘सरकारी बैंक हो । राजनीतिक नेतृत्वको संरक्षण पाएपछि सीईओले जे भन्यो त्यहि हुन्छ । हाम्रो केही लाग्दैन’ उनले भने । राष्ट्रिय बाणिज्य बैंक पनि पूर्ण सरकारी स्वामित्वको बैंक भएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कै अगुवाईमा वाणिज्य बैंकको सीईओमा किरण श्रेष्ठ नियुक्त भएकोले यति ठूलो कर्जा मिनाहमा तालमेल मिलेको स्रोतले बतायो ।

सबै विद्यालय कोषमा सहभागी हुने एन प्याब्सनका अध्यक्ष सापकोटाको प्रतिवद्धता

काठमाडौं । सबै निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुने एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन)का पदाधिकारी बीच मन्त्रालय भएकाे छलफलमा सो कुराकाे जानकारी दिएका हुन् । उक्त छलफलमा बाेल्दै मन्त्री विष्टले भने ‘सामाजिक सुरक्षा कोष ऐच्छिक विषय होइन । यो अनिवार्य हो । सरकारले थप गरेको समय भित्रै सबै विद्यालय र शिक्षक कर्मचारी सुचिकरण अनिवार्य रहेकाे छ ।’ संविधानले गरेको व्यवस्था र संसदबाट पारित कार्यक्रममा सबै निजि विद्यालयहरु समयसिमा भित्रै सहज सहभागी हुने अपेक्षा राखेको निजी क्ष्ूोत्रका समस्या समाधानका गर्न सरकार सधै तत्पर रहेको जनाए । समस्या बुझ्न, सहजीकरण गर्न र आवश्यक निर्णय गर्न सरकार सधै सकारात्मक तथा शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको योगदान महत्वपुर्ण रहँदै आएको भन्दै कोषका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्दै कार्यक्रमलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउदै लगिने मन्त्री विष्टले बताए । एन प्याब्सनका अध्यक्ष सापकोटाले भने ‘समग्र श्रमिकको हितमा आएको राष्ट्रिय अभियानलाई पुर्ण समर्थन र सहयोग, विद्यालयमा कार्यरत शिक्षक,कर्मचारीको सामाजिक सुरक्षाका विषयमा हामी संवेदनशिल छौं । कोषमा सहभागी हुने विषयमा गम्भिर छौं ।’ प्याब्सनमा आवद्ध कतिपय विद्यालयहरु कोषमा सुचिकृत भैसकेको र बाँकी पनि समयमै भैसक्ने प्रतिवद्धता जनाउँदै आगामी दिनमा निजी विद्यालयहरुले भोग्नुपरेका अन्य समस्यामा सरकारले पहल गरिदिने अपेक्षा अध्यक्ष सापकोटाले बताए । सम्बन्धित समाचारहरू : प्याब्सनमा आबद्ध १ लाख २५ हजार शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा काेषमा जाँदै सामाजिक सुरक्षा कोषले मुख्य तीन शीर्षकमा कर्जा दिने तयारी  

राज्यमन्त्री रावलद्वारा राजीनामा

अत्तरिया । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। राज्यमन्त्री रावलले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । उनले भने- “म माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् । छानबिनमा मेरो पूर्ण सहयोग रहने छ, न्याय स्थापित होस् भन्ने मान्यताले राजीनामा दिएको हुँ” राज्यमन्त्री रावलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य रावल २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए । रासस

महालक्ष्मी बैंकद्वारा बुढानिलकण्ठ मन्दिरलाई डस्टबिन वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बुढानिलकण्ठ मन्दिरलाई डस्टबिन वितरण गरेको छ । हरिबोधनी एकादशीको अवसर पारेर बुढानिलकण्ठ मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी र जुसका साथै सो मन्दिरलाई डस्टबिन वितरण गरेको हो । उक्त कार्यक्रममा बैंकले बिहान ७ बजे देखि अपराह्न ५ बजेसम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण गरेको थियो । साथै, बुढानिलकण्ठ मन्दिरका मठाधिस स्वामी १००८ निगामानन्द महाराजलाई डस्टविन हस्तान्तरण गरेको हो ।

काठमाडौंको पुतलीसडकमा एनआईबिएलको शाखा स्थानान्तरण

काठमाडौं एनआईबिएल एस क्यापिटल लिमिटेडले काठमाडौंको पुतलीसडकमा शाखा स्तान्तरण गरेको छ । काठमाडौंको लालदरवारस्थित उक्त शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरिएको हो । बैंकले उक्त मितिबाट लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु यस नयाँ शाखाबाट पूर्ण रुपमा सञ्चालनमा आएकाले सो सम्बन्धी सबैमा जानकारी गराएको छ । यसरी, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको यस सहायक कम्पनीले अहिलेको बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका सम्पूर्ण सेवाहरु तथा सामूहिक लगानी कोष सेवाहरु विभिन्न संस्थाहरु लगायत सर्वसाधारणहरुलाई प्रदान गर्दै आइरहेको छ ।

सिटिजन्स बैंकको ८५औं शाखा काठमाडैंको कमलादीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको कमलादीमा ८५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिंग कारोवारपछि २०७३ सालमा नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट बैंकिंग सेवा दिंदै आएको छ । यस बैंकले ८५ वटा शाखा, ८२ वटा एटिएम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, यसले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।