विद्युत् चुहावट घट्दो, ८० लाख युनिटबाट घटेर १५ लाख युनिटमा
लुम्बिनी । विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले लुम्बिनी, भैरहवा क्षेत्रमा गत साउनदेखि मङ्सिर मसान्तसम्मर एक करोड ८० लाख युनिट विद्युत् चुहावट भएको जनाएको छ । उक्त युनिट बराबर रु १७ करोड हुन्छ । प्रतिमहिना सवा तीन करोड मूल्य बराबरको विद्युत् चुहावट हुने गरेको छ । केन्द्रका प्रमुख जितेन्द्रकुमार झाका अनुसार गत साउनमा ७९ लाख युनिट चुहावट भएकोमा मङ्सिरमा १५ लाख युनिट पुगेको छ । चुहावटमा प्राविधिकतर्फ ५० र अप्राविधिकतर्फ ५० प्रतिशत हुने गरेको छ । प्राविधिक भन्नाले तारमा करेन्ट बगेर हुने र अप्राविधिक भन्नाले हुकिङ, मिटर बाइपास, डिमान्ड चुहावट हो । चालू वर्षमा बाइपास मिटर गरेका ४५ र हुकिङमा संलग्न पाँच गरी ५० जनालाई कारबाही गरिएको झाले बताए । उनले भने, “चुहावट गर्ने घटेका छन्, गत मङ्सिरसम्म ५० जनालाई कारबाही गरी रु १२ लाख असुली भएको छ ।” भैरहवा, लुम्बिनी र धकधई क्षेत्रमा मासिक आयात युनिट दुई करोड ५६ लाख १२ हजार छ । बिक्री युनिट दुई करोड ३९ लाख ८९ हजार छ । केन्द्रमार्फत ७२ हजार ग्राहक लाभान्वित छन् । रासस
ह्याम्स अस्पतालले चाडै नै १ सय शैया थप्दैछः अनिल ओड्युभिल
काठमाडौं । हस्पिटल फर एड्भान्सन्ड मेडिसिन एण्ड सर्जरी ( ह्याम्स) सन् १९९७ मा स्थापना भएको हो । २२ वर्षको लामो इतिहास बोकेको सय शैयाको यस अस्पतालले क्रिटिकल केयरको क्षेत्रमा विशेष प्राथमिकता दिएर उपचार प्रदान गर्दै आएको छ । नयाँ स्थानमा साँढे एक वर्षबाट सञ्चालनमा आएको यस अस्पतालले ४ सय ५० भन्दा बढीलाई रोजगार प्रदान गर्दै आएको छ । अस्पतालका प्रमुख कार्यकारी निर्देशक रहेका अनिल ओड्युभिल स्वास्थ्य क्षेत्रमा करिब ३० वर्षदेखि संलग्न छन् । यद्यपि अस्पतालको कुरा गर्नुपर्दा उनले दुबई स्थित डा. बिआर सिटी ग्रुपमा पहिलोपल्ट उपाध्यक्षको रुपमा आबद्ध भएका थिए जुन दुबईको सबैभन्दा ठूलो हस्पिटल चेन हो । यस्तै, उनी नेपालको स्वास्थ्य क्षेत्रमा ४ वर्ष देखि आबद्ध छन् । यसअघि उनी नेपाल मेडिसिटी र ग्रान्डी सिटी अस्पतालसँग आबद्ध थिए र हाल ह्याम्समा १ महिनादेखि कार्यरत छन् । ह्याम्स अस्पतालका सीईओ अनिल ओड्युभिलसँग विकासन्युजका लागि डोमी शेर्पाले अस्पतालको वर्तमान अवस्था, भविष्यका योजनाहरु र यो क्षेत्रका चुनौतिका बारेमा कुराकानी गरेकी छन्ः ह्याम्स अस्पतालको विशेषज्ञता खास गरेर कस्तो प्रकारको उपचारका लागि हो ? ह्याम्स अस्पताल सन् १९९७ बाट संचालनमा आएको हो । यसअघि अस्पताल काठमाडौंकै बुद्धनगरमा थियो । साढे एक वर्षदेखि काठमाडौंको धुम्बाराहीमा छ । यो अस्पातालमा नेपालका प्रख्यात डाक्टरहरु आबद्ध छन् । ह्याम्सको विशेषताको कुरा गर्दा न्युरो साईन्स, न्युरो सर्जरी, न्युरो फिजिसियन, न्युरो ईन्टरभेन्सन जस्ता सेवाहरु यसका विशेष हुन् । यस्तै, हामीसँग निकै राम्रा कार्डियाक सर्जन, ग्यास्ट्रो सर्जन, अर्थाेपेडिसियन, स्पाईनल सर्जनहरु रहेका छन् । डाक्टर भोला रिजालको नेतृत्वमा आमा र शिशु विभाग संचालित छ । ह्याम्सका पूर्वाधार र जनशक्क्ति कस्ता छन् ? हाम्रा पूर्वाधारको कुरा गर्दा हामीसँग भएको आईसीयु अन्तराष्ट्रियस्तरका छन् । हामीसँग ६ वटा मोडुलर अपरेसन थिएटर छन्, जुन अन्तराष्ट्रियस्तरका छन् । जुन जुन स्थानमा क्रिटिकल केयरको आवश्यक हुन्छ, त्यसमा सेवा दिनको लागि हामीसँग प्रतिभाशाली डाक्टर, नर्सको टिम छ । हाम्रा डाक्टरहरु पछिल्लो समयको प्रविधिबारे अभ्यस्त छन् । उनीहरु प्रमाणमा आधारित औषधीमा विश्वासमा गर्छन् । त्यस्तै, स्पेशल केसहरुमा आवश्यक परेको अवस्थामा हामी टिम बसेर छलफल गर्छाैं र सबैको हितमा हुने र नियम भित्र रहेर उपचार गर्छौं, जसले गर्दा हामी धेरैको विश्वासको पात्र बन्दै आएका छौं । अस्पतालको प्रमोटरको रुपमा को–को छन् ? हाम्रो अस्पतालको अध्यक्षको रुपमा निकै नै प्रतिभाशाली व्यक्ति रामशरण भण्डारी हुनुहुन्छ । बोर्डमा ३ सदस्य रहेका छन् । त्यस्तै डा. भगवान कोइराला हाम्रा निकै महत्वपूर्ण सल्लाहकारका रुपमा रहनुभएको छ । डा. कोइरालाले ह्याम्सलाई यो अवस्थासम्म ल्याउनको लागि निकै नै महत्वपूर्ण भुमिका खेल्नुभएको छ । हाल उहाँ मेडिकल काउन्सिलसँग आबद्ध रहेनुभएकोले यहाँ बिरामी जाँच्नको लागि मात्र आउनुहुन्छ । ह्याम्सको सेवाको गुणस्तरलाई कसरी मापन गर्न सकिएला ? ह्याम्सको गुणस्तरलाई ह्याम्सले लागू गर्न तयारीमा रहेको एनएबीएचलाई हेरेर मापन गर्न सकिन्छ । एनएबीएच अस्पतालहरुलाई नियमन गर्न बोर्ड हो, जसले अस्पतालको लागि नियमहरु बनाएको हुन्छ । उसले बनाएको नियम मातहतमा रहेर काम गर्नुपर्ने हुन्छ । ह्याम्सले यसको प्रकृया सुरु गरिसकेको छ । पूरा कार्यान्वयनको लागि कम्तिमा पनि १६ महिना लाग्न सक्छ । यो प्रकृयामा अस्पतालका हरेक विभागका व्यक्तिहरु सहभागी हुन्छन् । उनीहरुलाई तालिम पछि कस्तो घटना हुँदा के गर्ने भन्ने विषयमा पूर्ण जानकारी हुन्छ । जस्तो कि कोही बिरामी बेहोस् भए के गर्ने, शहरमा भुकम्प जस्तो कुनै ठुलो प्रकोप आउँदा कसरी परिचालन गर्ने वा अस्पतालमा आगलागी भए कसरी सुरक्षित रहने भन्ने जस्ता विभिन्न विषयमा तालिम दिईन्छ । यो पुरा प्रकृया बिरामी, डाक्टर र अस्पतालका स्टाफहरुको सुरक्षासँग सम्बन्धित छ । यसले उनीहरुको सुरक्षाको प्रतिबद्धता गर्दछ । यो लागू भएसँगै ह्याम्स अस्पताल यो प्रकृया लागु गर्न दोस्रो अस्पताल हुनेछ । यसअघि अर्काे कुनै अस्पतालले एनएबीएच लागू गरेको छ । ह्याम्सको भविष्यका योजनाहरु के के छन् ? मलाई लाग्छ कि जुन गतिले हामी अगाडी बढिरहेका छौं, त्यसलाई हर्दा हामीले चाँडै नै आफूलाई विस्तार गर्न आवश्यक छ । हामीसँग अझै १ सय शैयाको लागि स्थान छ, जसले हामीलाई कुल २ सय शैयाको अस्पताल बनाउँछ । यसका साथै एनएबिएच लागू गर्नाले हाम्रो अस्पताललाई मानिसहरुको लागि अझ विश्वासिलो स्थान बनाउनु हो । हालको लागि हाम्रा योजनाहरु यति नै छन् । सरकारी नीति नियमको विषयमा पनि प्रश्न उठ्ने गरेको छ, अस्पताल चलाउनको लागि सरकारी नीति नियम कत्तिको अनुकुल छन् भन्ने लाग्छ ? यो विषयमा हामीले धेरै स्थानहरुमा छलफल गरिरहेका छौं । मलाई लाग्छ कि हाल नेपालको अवस्था अस्पताल उद्योगमैत्री छैन । अस्पताल व्यसायमा लगानी गर्छु भन्दा कर्जा दिने निकायहरु निकै कम छन् । व्यवसायीहरुलाई अस्पतालमा लगानी गर्नुभन्दा होटलमा लगानी गर्नु सजिलो अवस्था छ । अस्पतालहरुलाई सरकारले १० प्रतिशतलाई निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था गरेको छ । तर, होटल व्यवसायमा यस्तो नियम छैन । यस्तै अस्पतालहरुमा आवश्यक पर्ने उपकरणको आयातमा पनि महंगो कर तिर्नुपर्छ । विदेशी कम्पनीले उत्पादन गरेका गुणस्तरीय औषधी सीमा क्षेत्रमा आइसकेपनि नेपालमा बैधानिक रुपमा भित्र्याउन समय लाग्छ । यस्तो समस्या सोही कम्पनीका अन्य उत्पादन नेपालमा आयात भइरहेका कम्पनीको हकमा पनि छ । यस्ता समस्याको कारण पनि अस्पतालहरुले ठूलो परिमाणमा औषधी स्टक राख्नुपर्ने वाध्यता छ । नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अवस्था कस्तो छ ? नेपालमा साँच्चै नै भन्नुपर्दा निकै नै प्रतिभाशाली डाक्टरहरु छन् । कुरै गर्नु पर्दा म ४ वर्ष अगाडि नेपाल आउँदा एनेस्थेसियाको डाक्टरहरु ३ सय ५० जनाभन्दा बढी थिए, जसले मलाई अच्चम पारेको थियो । ६–७ वर्ष अगाडी केरलाको आमुर्दा ईन्ष्टिच्युट अफ मेडिकल साईन्स अस्पतालमा मात्र ८४ जना एनेस्थेसिस्टहरु थिए । खास सुरक्षित ऐनेस्थेसिया गर्नको लागि एउटा अस्पतालमा मात्र यति एनेस्थेसिस्टहरुको आवश्यक हुन्छ । धेरै संख्यामा एनेस्थेसिस्टहरु काठमाडौंमा रहेका छन् । त्यसो भए अन्य ठाउँमा कसले एनेस्थेसिया गराईरहेको छ त भन्ने प्रश्न पनि आउँछ ? यद्यापि सर्जरीहरु भईरहेका छन् । मलाई लाग्छ केही हदसम्म यसमा सुधार आएको छ । तर, अझै पनि संख्या अपुग छ । यस्तै, एकदमै सिमित क्षेत्रमा र संख्यामा डाक्टरहरुले विशेषज्ञता हासिल गरेका छन् । डाक्टरहरुको सर्जरी गर्नसक्छु भन्ने आत्माविश्वास कम भएको पाएको छु । किनभने उनीहरुसँग भरोसा गर्न लायक टिमहरु तयार भइसकेका छैनन् । पारामेडिक्सहरुको पनि संख्या निकै नै कम छ । यस्तै धेरै अस्पतालहरुसँग गुण नियन्त्रण विभाग छैन । यस्ता विभागको अधिनमा रहेर मात्र व्यक्तिहरुले के गर्ने नगर्न विषयमा जानकार हुन्छन । अनि मात्र नेपालमा स्वास्थ्य सेवा क्षेत्रको विकास हुनेछ ।
नेपालगञ्ज विमानस्थलकाे निर्माण कार्य तीव्र, लक्ष्यमा पुग्न साढे १२ अर्ब चाहिने
बाँके । गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको निर्माण कार्य तीव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो । विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा शुरू भएको हो । तराईको पुरानो र व्यवस्थित नेपालगञ्ज विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने भएको छ । त्यसका लागि अहिलेबाटै काम शुरु भइसकेको छ । यतिबेला विमानस्थलको रनवे विस्तारको काम धमाधम भइरहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगञ्ज आएर ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगञ्ज विमानस्थलको विकास र विस्तार गर्न निर्देशन दिइसकेका छन् । नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको २० वर्षे गुरुयोजनामा यसको विकास र विस्तारका लागि सन् २०४० सम्म कुर्नुपर्नेछ । त्यत्ति बेलासम्म अहिलेको विमानस्थलको आकार झण्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन् । ठूला जेट विमान उड्नसक्ने महत्वकाँक्षी योजना छ । गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ । लक्ष्यमा पुग्न जग्गा अधिग्रहणबाहेक रु १२ अर्ब ५० करोडको लागत लाग्ने अनुमान रहेको विमानस्थल प्रमुख ठाकुरले बताए। उनले योजनाअनुसार काम भइरहेको बताउँदै विमानस्थललाई सुधारको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । सन् २०२३ सम्म सम्पन्न हुने पहिलो चरणका लागि झण्डै दुई अर्बको बजेट छ । पहिलो र दोस्रो चरणको काम शुरु भइसकेको छ । सन् २०३० सम्म सम्पन्न गर्ने दोस्रोचरणका लागि सबैभन्दा बढी बजेट साढे रु ६ अर्बको बजेट छ । त्यसैगरी सन् २०३५ मा सम्पन्न हुने तेस्रो चरणमा सवा दुई अर्बको बजेट छ । चौथो चरणमा पौने दुई अर्बको लागतमा सम्पन्न गर्ने लक्ष्य छ । दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा झण्डै एक हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्छ । हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुनेछ । यसका लागि डुडुवा नालालाई ३०० मिटर टाढा सार्ने योजना बनाइएको छ । ‘चार चरणमा काम सक्ने योजना छ,’ विमानस्थल प्रमुख ठाकुरले भने, “पहिलो चरण र दोस्रोचरणका काम अहिले धमाधम भइरहेका छन् ।” रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै शुरु हुने उनले बताए । डिपिआरले दोस्रोचरणका लागि सन् २०२५ भित्र थप रू दुई अर्ब ८ करोडको लगानीमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ । अन्तर्राष्ट्रियस्तरको विमानस्थलका लागि डिपिआर अनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडान बन्द गरेर काम गर्नुपर्ने हुनसक्छ । डिपिआर स्वीकृतिपछि सरकारसँग लगानी माग गरिनेछ । त्यसैगरी तेस्रो र चौथो चरणको काम भने झण्डै २० वर्षको लक्ष्यलाई प्रक्षेपण गरिएको छ । प्राधिकरणका अनुसार, तेस्रो चरणको कामले नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनेको देखिने छ । जसमा रु सात अर्ब ४० करोड खर्च हुने अनुमान छ । नयाँ योजना अनुसार, नेपालगञ्ज विमानस्थलको रनवे तीन सी क्याटागाेरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटागाेरीमा दुई हजार ४४५ मिटर लामो रनवे बनाइनेछ । त्यसो गर्दा हाल एटिआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी दुई दशकभित्र एयरबस जस्ता ठूला जेट विमान पनि सहजै उडान गर्नसक्ने विमानस्थल तयार हुनेछ । हाल ६ वटा मात्र विमान अटाउने पार्किङमा नौ वटा ठूला (साना ११) वटा विमान पार्किङ गर्न सकिनेछ । नेपालगञ्जबाट सबैभन्दा धेरै उडान काठमाडौँं हुन्छ । नेपाल एयरलाइन्स, बुद्ध, यतिलगायतका विमानले उडान भरिरहेका छन् । प्राधिकरणका अनुसार अहिले दैैनिक एक हजार ५०० जनाले हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा, रूकुमलगायतका जिल्लामा उडान भर्दै आएका छन् । रासस
उपत्यकाका १८ पेट्रोल पम्पलाई हटाइँदै
काठमाडाैं । सरकारले उपत्यकाका विभिन्न ठाउँमा रहेका १८ वटा पेट्राेल पम्पलाई हटाउने निर्णय गरेकाे छ । सडकको मूल संरचनासँगै जोडेर बनाइएका पेट्रोल पम्पहरू सरकारले हटाउने निर्णय गरेकाे हाे । मन्त्रिपरिषदको पुस १५ गतेको निर्णयअनुसार गृह मन्त्रालयले ती पेट्रोल पम्पहरू हटाउनका लागि प्रक्रिया थालेकाे छ । यसकाे काम अगाडि बढाउन मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको जनाइएकाे छ । पहिलो चरणमा कलंकीदेखि चापागाउँसम्मका १८ वटा पेट्रोल पम्प स्थान्तरण गराउने निर्णय सरकारले गरेको थियाे । मूल सडक नै छेक्ने गरी निर्माण भएका ती पेट्रोल पम्पका कारण सडक जाम बढेको र जोखिम पनि बढेको निष्कर्षसहित सरकारले सो निर्णय लिएको हो । सरकारको निर्णयअनुसार स्थानान्तरण गराउन लागिएका पेट्रोल पम्पहरू महाराजगञ्जको सीता, गैरीगाउँको भ्याली रिकेश, कोटेश्वरको कामाख्या, बौद्धका जुबी र बराल, जाउलाखेलको साझा, एचपी इन्टरनेसनल तथा चापागाउँका बज्रबाराही, बालकुमारी पेट्रोल पम्प र टिका भैरव डिजेल स्टोर रहेका छन् । यस्तै, कलंकीको बाबा, श्यामा र त्रिशुल पेट्रोल पम्प, बालाजुको कोतःधुकु, कालीमाटीको कनक, थापाथलीको जयन्ती र मायाराम भोलाराम पेट्रोल पम्पलाई पनि स्थानान्तरण गराउने निर्णय भएको छ ।
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण सम्पन्न
काठमाडाैं । बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत सडकको मुख्य लेनको दुवैतर्फ पुल निर्माणको काम शुरु गरिएकामा एउटा अघिल्लो वर्ष नै सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । अर्काे दिशातर्फको पुल निर्माणको काम सकिएको र त्यससँग जोडिएका थप काम बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पुल निर्माण सकिएपछि सो स्थानमा सडक कालोपत्र गर्न, पुलमा रङरोगन र बत्ती जडान गर्न बाँकी रहेको छ । निर्माण व्यवसायीले केही समयमै रङरोगन र सडक कालोपत्र गर्ने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । उनले भने, “अबको केही समयमै पुल सञ्चालनमा आउनेछ ।” पुल निर्माण सम्पन्न हुँदै गर्दा पुलमा कस्तो बत्ती जडान गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । आकर्षक र बढी लगानीमा निर्मित पुल भएकाले पनि हेर्दा आकर्षक बत्ती जडान गर्न चाहेको आयोजनाले जनाएको छ । ठेक्का सम्झौतामा भने सामान्य बत्ती जडान गर्ने उल्लेख थियो । निर्माण व्यवसायीले सम्झौतामा उल्लेख भएभन्दा फरक बत्ती जडान गर्न थप रकम माग्ने गरेको उनले बताए। सरकारले चार वर्ष पहिले धोबीखोला पुल र वाग्मती पुलमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो । तीनकुनेस्थित वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि धोबीखोला पुलको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । एउटै ठेक्कामा सडकको दायाँबायाँ दुवै पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । वाग्मती पुलको निर्माण लामो समयसम्म अघि बढेको थिएन भने निर्माण हुँदा पनि डिजाइनअनुसार नभएको भनी सरकारले निर्माण रोकेको छ । त्यहाँ रहेका सबै अवरोध हटिसकेकाले अहिले ठेकेदार कम्पनीलाई काम गर्न कुनै बाधा छैन । शुरुका दुई तीन वर्ष विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको थियो । ठेकेदारको ढिलाइका कारण मात्रै नभएर विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ । देशभर निर्माण भइरहेका अरु पुलमा आफैँले डिजाइन गरेर ठेकेदार कम्पनीलाई त्यहीअनुसार काम गर्न ठेक्कामा दिइने गरिएकामा यस पुलमा डिजाइन समेत ठेकेदार कम्पनी आफैँले गरेको इञ्जिनीयर श्रेष्ठले बताएका छन्। आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख भएको उनले जानकारी दिए । “ठेक्का अवधि शुरु भएपछिको पहिलो डेढवर्ष डिजाइनमा नै सकिएको थियो”, उनले भने, “त्यसपछिको डेढवर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरूले सरासर काम गर्न पाएका थिएनन् ।” सडक पुल निर्माण गर्ने स्थानमा खानेपानी, बिजुली, ढललगायत संरचना नहट्नुले ठेकेदारले सरासर काम गर्न नपाएको उनको भनाइ छ । सडकमा रहेका संरचना सम्बन्धित निकायले हटाउनुपर्ने भए पनि पटक/पटक ताकेता गर्दासमेत नहटाएकाले काममा ढिलाइ भएको उनको दाबी छ । आयोजना आफैँले यहाँका संरचना हटाएर काम गर्ने स्थान खाली गरेको थियो । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको इञ्जिनीयर श्रेष्ठले बताए । अरू पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । अरू सामान्य प्रविधि (आरसिसी) भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु हुने उनले बताए । उनले भने, “अरू पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ ।” माइतीघरदेखि भक्तपुर सडक विस्तारको काम केही वर्ष पहिले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सम्पन्न भएको थियो । जाइकाले पूरै सडक ६ लेनको निर्माण गरेपनि धोबीखोला र वाग्मती पुल चार लेनका थिए । सडक चौडाइ कम भएकाले यी पुल र नजिकैका सडकमा दैनिक जाम हुँदा यात्रु र चालक हैरान छन् । के हो नेटवर्क आर्क ब्रिज ? ‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ । यसलाई निर्माण गर्दा शुरुमा खोला र खोल्साको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो । आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच/बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ । र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिन्छ । आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ किनभने खोलाको बीचमा पिल्लर ठड्याउनु पर्दैन, जसका कारण कम खर्चिलो पनि छ । विश्वका विकसित देशको प्रविधि नेपाल भित्र्याउने उद्देश्यले यस पुलको निर्माण शुरु भएको आयोजनाले जनाएको छ । पुलको माथिल्लो भागमा अर्धवृत्ताकार संरचना निर्माण गरिएको छ । बीचमा बलिया तार जडान हुने र तिनका बीचमा दलिन राखिने श्रेष्ठले बताए । उनले भने, “नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउनेछ ।” यो पुल निर्माणका लागि वि.सं ०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी पाएको थियो । पुल तीन वर्षमा सक्नेगरी पहिलो पटक ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले आगामी पुस सम्मका लागि एक वर्ष अवधि थप गरेको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ । रासस
स्वदेशी लघुवित्तद्वारा सेवा आश्रमलाई खाद्यान्न सामाग्री
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले निःसहाय बालबालिका सेवा आश्रममा सरण लिई बसेका अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले स्थापनाको पाँचौ वर्ष पूरा गरी छैंटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ईटहरीको संगित चोकमा रहेको उक्त आश्रमलाइ १५ दिनलाई पुग्ने रु. २० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको हो । आश्रममा ३७ जना अनाथ (सडकमा भेटिएका, फालिएका) बालबालिका र ६ जना वृद्धवृद्धाहरुले आश्रय लिई रहेका छन् । आश्रमको प्राङगणमा आयोजित कार्यक्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी प्रमुख लगायत केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाई र नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले संस्थाको परिचय, उदेश्य र कार्यक्षेत्रको बारेमा जानकारी गराउनुका साथै संस्थाले विभिन्न वित्तीय कारोबारका साथै सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको जानकारी गराएका थिए ।
प्रहरीद्वारा एकै वडामा २८ छाउगोठ भत्काइयाे
डाेटी । विमलबहादुर विष्ट छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत बडीकेदार गाउँपालिकाको एकै वडामा २८ गोठ भत्काइएको छ । वडा नं ३ घागलको सिदुरेपानीका गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । सो वडाको २८ गोठ प्रहरी तथा स्थानीयवासीको सहयोगमा भत्काइको हो । एकहप्तामा जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने अभियान चलेको छ भने प्रहरीले गोठ भए नभएको अनुगमन गरिरहेको छ । मुलुकी अपराध संहितामा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशमा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै छ । गृहमन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन खटाइएको छ । प्रहरी उपरीक्षक देउवाले भने, “प्रहरीले गोठ खोजीरहेको छ र देख्ने बित्तिकै भत्काउन भनिएको छ, कतिपय ठाउँमा स्थानीयले भत्काउन थालेका छन् ।” अभियानमा स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाको सहभागिता छ । जिल्लाका त्यस्ता गोठ भत्काउने अभियान सफल पार्न स्थानीय निकायसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “छाउगोठ कहाँ कति छन् सूचना लिएर भत्काउन प्रहरी खटाएका छौँ, अब छाउगोठ बनाउनेलाई कारबाही हुन्छ ।” डोटीलाई आगामी फागुनभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी गोठ भत्काउने अभियान तीव्र पारिएको प्रजिअ पौडेलले बताए । जिल्ला प्रशासनले हालै गरेको छाउपडी प्रथा उन्मूलन संयन्त्र बैठकमा सहभागी जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । गोठ भत्काउने विषयलाई बेवास्ता गरे स्थानीय तहबाट दिइने सेवा सुविधाबाट वञ्चित गर्नेसहित कानूनअनुसार कारबाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताएका छन् । त्यस्तै आफ्नो गाउँपालिकामा छाउपडी अन्त गर्न तथा छाउगोठ भत्काउन प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, “प्रत्येक वडाका सबै टोल, गाउँमा प्रहरीसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ, छाउगोठ भत्काउन सबैले सहमति जनाएका छन् ।” जिल्लामा छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउछ भन्ने अन्ध विश्वासका साथ महिनावारीअर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले छाउपडीका नाममा गरिँदै आएको विकृति तत्काल अन्त गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन यहाँका स्थानीयतहलाई पत्राचार गरेको छ । जिल्लामा कम्तीमा १०० को हाराहारीमा छाउगोठ हुनसक्ने सो क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको अनुमान छ । रासस
सुनको मूल्य घट्यो, प्रतितोला ७४ हजारमा कारोबार
काठमाडौं । मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सो मूल्य घटेर ७४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ७३ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार प्रतितोला ८ सय ९० रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।