अग्नी फाउन्डेसनको सहयोगमा शिक्षण अस्पतालमा पीआईसीयू र एनआईसीयू
काठमाडाैं । अग्नि फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण/सुधारका लागि पुर्ण आर्थिक तथा अन्य सहयोग गरेको छ । स्वास्थ्य, शिक्षा, खेलकुद, प्राकृतिक प्रकोपको उद्धार व्यवस्थापनलयातका विभिन्न क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गर्दै आएको फाउन्डेसनले शिक्षण अस्पताललाई उक्त सहयोग गरेको हो । त्रिवि शिक्षण अस्पतालस्थित बाल चिकित्सा विभागअन्तर्गत पीआईसीयू र एनआईसीयूको पुनर्निर्माण/सुधारको कार्य सम्पन्न भएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक सुुसन वैद्य श्रेष्ठले १६ माघ २०७६ का दिन पुनर्निर्मित बाल चिकित्सा विभागको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक वैद्य श्रेष्ठले भने, “एनआर्ईसीयूले समय नै नपुगी जन्मिएका तथा जन्मिँदा निकै कम तौल भएका वा विशेष हेरचाह गरिनु पर्ने स्वास्थ्य अवस्था भएका नवजात शिशुका लागि महत्वपूर्ण भूमिका खेल्दछ । पिआईसीयुमा केहि दिन भन्दा बढी रहेका शिसुकै वरिपरि सबै पल सँगै रहनु भनेको शारीरिक तथा मानसिक रूपमा तनाव हुने हुंदा पिआईसीयूको सकारात्मक वातावरणसहितका सुविधाहरू, उचित हेरचाह र औषधोपचारले आमाबुवालाई अझ राम्रोसँग बालबालिकाको हेरचाह गरेर सम्पूर्ण परिवार सँगै घर फर्कने योजनामा सक्षम तुल्याउँदै परिवारको तनाव कम गर्न मद्दत गर्न सक्छ । हामी सदैव बालबालिकाकौ स्वास्थ्य र पारिवारिक मूल्यमान्यताहरूप्रति चिन्तित छौं । त्यसैले यस असल कार्यका लागि शिक्षण अस्पताललाई सहयोग गर्न पाउँदा खुसी छौं । आशा छ, अग्नि फाउन्डेसनको सानो पहलले एनआईसीयू र पिआईसियु बाट तुरुन्त र प्रभावकारी ढंगबाट लाभ प्राप्त गरी आवश्यकता परेका अभिभावक र बालबालिकाहरूलाई सहजीकरण र सुविधा प्रदान गर्नेछ ।” त्रिवि शिक्षण अस्पतालको बाल चिकित्सा विभागका प्रमुख प्रा. डा. लक्ष्मण श्रेष्ठ भन्छन्, “नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) बिमारी तथा समय नपुगी जन्मिएका शिशुहरूको उपचारका लागि स्थापित विशेष इकाई हो भने बाल सघन उपचार कक्ष (पीआईसीयू) गम्भीर रुपमा बिमारी भइ अस्पतालमा भर्ना भएका शिशु, बालबालिका र किशोरकिशोरीको विशेष हेरचाहका लागि स्थापित क्षेत्र हो । शिक्षण अस्पतालको नवस्थापित एनआईसीयू र पीआईसीयूले गहन हेरचाह आवश्यकता पर्ने शिशुहरूलाई उचित किसिमको एनआईसीयू सुविधा उपलब्ध गराउनेछ तथा आमाबुवा (विशेष गरी आमाहरू)लाई अझ बढी सहयोग गर्नेछ । हामीसँग योग्य कर्मचारी तथा उपकरणहरू छन्, जसले बच्चा र अभिभावक दुवैलाई सहयोग गर्छन् र उनिहरुको एनआईसियु र पीआईसीयूको बसाइ अवधिमा आवश्यक पर्ने बच्चाहरूको गहन निगरानी, औषधोपचार तथा नर्सिङ हेरचाहका लागि सुनिश्चितता प्रदान गर्छ ।” शिक्षण अस्पतालको बाल तथा नवजात शिशु सघन उपचार कक्षहरूको पुनर्निर्माण/सुधार गर्ने क्रममा अग्नि फाउन्डेसनले “अग्नि विंग” को नाममा अस्पतालमा भर्ना भएका बालबालिकाको अभिभावक र आगन्तुकहरुका लागी प्रतिक्षा कक्ष निर्माण गरेको छ । फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकाका आमाबुवाहरूको पारिवारिक हेरचाहका लागि, विशेष गरी आमाहरूलाई अनुमति दिने गरी र हेरचाहकर्ताहरू जो बालबालिकासँगै रात बिताउनु पर्छ, उनीहरूका लागि ‘स्तनपान कक्ष’ र ‘आराम कक्ष’ बनाउनमा पनि केन्द्रीत रहेको छ । फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकाहरूलाई आफ्नो उपचार र हेरचाहमा सहभागी हुने अधिकार हुने र उनीहरूका छेउमा आमाबुवा साथै रहनु आवश्यक पर्ने कुरामा विश्वास राख्दछ । अस्पतालमा आमाबुवाको निद्रा पूरा हुँदा र आरामले पूरै परिवारका लागि अस्पतालमा भर्ना हुँदाका सकारात्मक अनुभव प्राप्त गर्न सकिन्छ । नेपालका लागि महिन्द्रा सवारी साधनहरूका आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको गैर मुनाफाकारी संगठन अग्नि फाउन्डेसनले विभिन्न सामाजिक कल्याणकारी गतिविधिहरूद्वारा समाजलाई योगदान पुर्याउँदै आएको छ ।
पाँच नम्बर प्रदेशलाई लगानी तथा औद्योगिक गन्तब्य बनाउने
काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन कानूनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघमा उद्योगी तथा लगानीकर्ताहरुसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री पोखरेलले उद्योगका लागि आवश्यक जग्गा तथा ऊर्जा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताएका हुन् । मोतिपुर कोरिडोर, बाँकेको नौवस्ता र दाङमा जग्गा अधिग्रहण भइसकेकाले लगानी परियोजना आए तत्काल जग्गा उपलब्ध गराउन तयार रहेको छ। मुख्यमन्त्री पोखरेलले वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना विकासको चरणमा सहकार्य गर्न पनि परिसंघलाई आग्रह गरे। उनले सिमेण्ट उद्योगको क्षमता विस्तार गर्न, कृषिजन्य उद्योग स्थापना गर्न तथा वनजन्य कच्चापदार्थ उपयोग गर्ने गरी कागज उद्योग स्थापनाको प्रस्ताव ल्याउन पनि लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । साथै, भैरहवा विमानस्थलसँग जोडेर पर्यटन पूर्वाधार लगानी विस्तार तर्फ सहकार्य गर्न पनि मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन् । सो अवसरमा मुख्यमन्त्री पोखरेललाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग तथा लगानीमैत्री वातावरण सिर्जना गर्न मुख्यमन्त्रीले लिएका पहलमा परिसंघले सघन सहकार्य गर्ने बताएका छन् । अध्यक्ष मोरले प्रदेश सरकारले लगानी तथा औद्योगिकीकरणमा लिएको उत्तरदायित्वले लगानीकर्ताका लागि सकारात्मक वातावरण बन्दै गएको बताए । प्रदेश स्तरमा निजी सार्वजनिक साझेदारीका नमुना परियोजना पहिचान तथा विकासमा परिसंघले थप सहकार्य गर्ने पनि अध्यक्ष मोरले उल्लेख गरेका छन्। सो अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवाललले पाँच नम्बर प्रदेशमा खुलेका सिमेण्ट उद्योगहरुलाई आवश्यक विद्युत अपुग रहेका तर्फ मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएका छन् । छलफलमा सहभागी परिसंघको विभिन्न उद्योग लगानी प्रर्वद्धनसँग सम्बन्धित समितिका अध्यक्षहरुले लगानी सम्मेलनमा उद्योगमैत्री कानून निमार्ण तथा नयाँ लगानीकर्ताहरुका लागि आकर्षक प्याकेज प्रस्तुत भए पाँच नम्बर प्रदेश लगानी गन्तव्य हुन सक्ने धारणा राखेका छन् ।
आरबिबि मर्चेन्टको ५औं वार्षिकोत्सव सम्पन्न, राष्ट्रिय वाणिज्य बैंक झै स्थापित हुन प्रोत्साहन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ्गको ५औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । उक्त समारोह नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरजगिरी तथा नेपाल स्टक एक्स्चेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको आथित्यतामा सम्पन्न भएको हो । समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्गलाई यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरुलाई अझै पारदर्शी रुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनको लागि कार्य भइरहेको तथा लगानी मैत्री वातावरण सृजना गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी गराएका छन् । उनले मर्चेन्ट बैंकरहरुलाई इङ्गित गर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरुलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताए । समारोहमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नको लागि अनलाईन प्रणाली लागू भैसकेको तथा बजारमा सूचीकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डाटा बेस तयार भैरहेको जानकारी दिए । मर्चेन्टका प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गर्न लागेको १ अर्ब ६० करोड रुपैयाँ बराबरको प्रथामिक सेयर सर्वसाधारण समुहलाई निष्काशन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्गसँग सम्झौता भए बमोजिम उक्त निष्काशनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरुसंग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी गराएका छन् । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कम्पनीको ५औं वार्षिकोत्सव समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि राष्ट्रिय वाणिज्य बैंक जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिएका छन् ।
एनआरएनए र पिपुल्स लिगल एसोसियट्सबीच निःशुल्क कानूनी परामर्श सम्झौता
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) र पिपुल्स लिगल एसोसियट्सबीच गैर आवासीय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गैरआवसीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्तकुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार गैरआवसीय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसियट्सले निशुल्क कानूनी परामर्श दिनेछ । कार्यक्रममा उपस्थीत नेपाल बार एसोसियसनका महासचिव लिलामणी पौडेलले अनुभवी व्यक्तिहरुले सञ्चालन गरेको पिपुल लिगल एसोसियट्सले प्रदान गर्ने कानूनी परामर्शले एनआरएनएका सदस्यलाई नेपालको कानूनका विषयमा सहज रुपमा जानकारी तथा परामर्श दिनविश्वास व्यक्त गरे । नेपालीका लागी नेपाली अभियान अन्तर्गत विदेशमा रहेका नेपालीलाई नेपालमा सहयोग गर्ने व्यवस्था मिलाउन निःशुल्क कानूनी परामर्श दिने सम्झौता गरिएको गैरआवासीय नेपाली संघका पदाधिकारी तथा युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले बताए । न्यौपानको अग्रसरताले नै पिपुल्स लिगल एसोसियट्स र एनआरएनएबीच कानूनी परामर्श दिने सम्झौता भएको हो । कार्यक्रममा पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक पौडेलले गैर आवसीय नेपालीको आवश्यकता अनुसार नेपालको कानूनी विषयमा सम्झौता अनुसार निशुल्क परामर्श दिइने प्रतिबद्धता व्यक्त गरे । ‘१५वर्ष देखि ठुलो संख्याका व्यवसायी तथा व्यक्तिहरुलाई कानूनी सेवा प्रदान गर्दै आइरहेका थियौँ ।’- पौडेलले भने, ‘एनआरएनएसँग जोडिँदा अझनै उत्साहित छौँ ।’ गैर आवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत दवाडीले पिपुल्स लिगल एसोसियट्ससँगको सहकार्यले एनआरएनका सदस्यलाई नेपालको कानूनी व्यवस्थाबारे जानकारी तथा परामर्श लिन सजिलाे हुने विश्वास गरेका छन् ।
आशा लघुवित्तले महाेत्तरीको एकडारामा सम्पन्न गर्यो सिपमूलक तालिम
काठमाडौं । आशा लघुवित्तले महोत्तरीको एकडारामा सिपमूलक तालिम सम्पन्न गरेको छ । लघुवित्तले गत माघ १३, १४ र १५ गते गरी ३ दिनमा सो तालिम सम्पन्न गरेको हो । लघुवित्तले महोत्तरीमा आबद्ध सदस्यहरु मध्ये ७६ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ तथा सेनेटरी प्याड बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रबन्धक संजय कुमार सिंहले कार्यक्रमले महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुग्ने तथा यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा वृद्धि हुने बताए । उनले सो क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएकि हुन् । तालिम पश्चात सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा सेनेटरी प्याड बनाउने तरिका, बजारीकरण सम्बन्धमा जानकारी हाँसिल गरेका अवसर पाए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २,४२४ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने बताए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको थियो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब २ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ भने सदस्यहरुबाट ६५ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ ।
सेञ्चुरी बैंकका ग्राहकलाई भैरहवाको होटल निर्वाणामा १० प्रतिशत छुट
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले भैरहवाको रुपन्देहीस्थित होटल निर्वाणा लक्जरी ईन्टरनेशनल प्रा.लिले दिने विभिन्न सेवा सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई कम्पनीबीच उक्त छुट दिने सम्बन्धि बिहीबार सम्झौता भएसँगै ग्राहकले उक्त सुविधा पाउने भएका हुन् । ‘नेपाल भ्रमण वर्ष २०२०’लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक सेयरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ्ग पुललगायल सम्पुर्ण सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र होटल र्निवाणा लक्जरीका महाप्रबन्धक सुनील श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
एसबिआई बैंकले ल्यायाे बचत तथा कर्जा सुविधा, ४ वटा जिल्लामा मात्रै पाइने
जनकपुर । नेपाल एसबिआई बैंकले प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक र तिनका परिवारलाई लक्षित गरी बचत तथा कर्जा सुविधा ल्याएको छ । उक्त सुविधा नेपाल एसबिआई बैंकका ४ शाखाः बर्दिबास, जनकपर, लाहान र मिर्चैयामा उपलब्ध हुने बैंकले जानकारी दिएकाे छ । १०० भन्दा बढी वैदेशिक रोजगारीमा जाने संभावित श्रमिकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले ग्राहकहरुलाई कर्जा स्वीकृती पत्र हस्तान्तरण गरेका हुन् । बैंकले प्रदेश २ सरकार र डिएफआइडि/यूकेएड सीपको सहकार्यमा प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक तथा तिनका परिवारलाई विभिन्न बैंकिङ सूविधा प्रदान गरिरहेको छ । बैंकले हाल ८८ शाखा, १९ विस्तारित काउन्टर, ८ कन्ट्रोलिङ अफिस, १ इनटच आउटलेट र १ कर्पोरेट अफिस तथा १२४ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।
जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने
काठमाडौं । जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको छ । विश्वका विकसित शहरहरु क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भएसँगै उक्त अभियान शुरु हुन लागेको हो । उक्त अभियानको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच ‘आइएमई पे’का तर्फबाट सीइओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापछि आइएमई डिजिटल सोलुसनले जनस्तरसम्म वित्तीय पहुंच पुर्याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ । कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए । आइएमईको सीईओ सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहे पनि ठूलो सम्भावना रहेको बताए । पोखरेलले यसकालागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरेका थिए । त्यसैगरी, आइएमई डिजिटल सोलुसनका सीईओ विकास कुमार नाहाटाले मानिसहरुलाई डिजिटल वित्तिय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गर्न सकिने छ । यो वित्तीय समावेशीकरणले मानिसहरुलाई बैंक खातामा परम्परागत फारम बिनानै बैंकिगमा जडान गर्न मद्दत गर्दछ । आइएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अङ्ग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।