विकासन्युज

कोरोनाको कारण एयरलाइन्स लगायत पर्यटन श्रमिक कटौती नगर्न यूनिट्राभको चेतावनी

काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोरोनाका कारण दैनिक जीवनयापनमा कठिनाई उत्पन्न भइरहेका बेला एयरलाइन्सलगायत पर्यटन श्रमिकको रोजीरोटी खोस्ने काम कोही कसैले नगर्न संगठनले विज्ञप्तिमार्फत चेतावनी दिएको छ । ‘एयरलाइन्सदेखि अन्य क्षेत्रमा कर्मचारी कटौती, पारिश्रमिक कटौती, सेवा सुविधामा कटौती देखि बेतलबी बिदा दिनेसम्मका विषय विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेका छन्,  हाम्रो यूनियन यूनिट्राभले यस विषयलाई नजिकबाट नियालीरहेको छ’, संगठनले विज्ञप्तिमा लेखेको छ । ‘सतर्कता अपनाउनुभन्दा पनि बढीभन्दा बढी हौवा फिंजाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृति लगायत अन्य क्षेत्रका संघ संस्थाले सामाजिक शुरक्षा र श्रम ऐनले लागु गरेको व्यवस्था विपरित श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुबिधा कटौती गर्ने एकतर्फी भनाई आएको विषय हाम्रो संगठन यूनिट्राभलाई मान्य हुनेछैन ।’ संगठनले कर्मचारी कटौतीदेखि सेवा सुबिधा कटौती गर्नेलाई सचेत गराउँदै लेखेको छ, विश्वव्यापी संकटको बेला नेपाली श्रमिकको दैनिकीलाई अझै संकटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धीत निकायले जिम्मेवारी लिनुपर्नेछ भनी ध्यानाकर्षण गराउँदछौं । श्रमिक संगठनको नम्र निवेदनलाई मध्यनजर गर्दै कानूनी विषयमा धावा नबोल्न पनि हामी सबै कम्पनीमाथि सचेत गराउन चाहन्छौं । साथै सरकारले पनि श्रमिकका विषयलाई उच्च प्राथमिकताका साथ लेओस् भन्ने चाहन्छौं ।’ संगठनले कोरोनाका कारण पर्यटन क्षेत्रमा पुग्न गएको क्षतिप्रति भने दुःख व्यक्त गरेको छ ।

डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोजेपछि…

फाइल फोटो काठमाडौं । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् । कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो । उक्त कार चालक श्रेष्ठलेमादक पदार्थ सेवन गरी सवारी चलाएका थिए । उनले कलंकी चोकमा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बढ्दैछ बीमा क्षेत्रमा महिला सहभागिता

काठमाडौं । बीमा क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा रहेको छ । महिलालाई रोजगारी गर्न सहज र पेशागत सुरक्षा हुने भएकोले बीमा क्षेत्रमा नारी सहभागिता बढेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा क्षेत्रमा महिना उपस्थिति बढ्दै गएको बताउँछन् । सरकारले ल्याएको नीति र बीमा क्षेत्रको विशेषताको कारण यो क्षेत्रमा महिला सहभागिता बढेको पौडेलको भनाइ छ । ‘पछिल्लो समय नेपाल सरकाले महिलामैत्री नीति ल्याएको छ भने बीमा समिति तथा कम्पनीहरुले यसको प्रभावकारी कार्यान्वयनमा कदम चालेका छन्, बीमा कम्पनीहरुले महिलालाई रोजगारी दिनेदेखि महत्वपूर्ण जिम्मेवारी दिने गरको कारण यो क्षेत्रमा महिला सहभागिता बढेको हो,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । तर, बीमा क्षेत्रमा कति महिला कार्यरत छन् भन्ने यकिन तथ्यांक भने छैन । बीमा समिति तथा विभिन्न कम्पनीहरुमा महिलाको उल्लेख्य सहभागिता भएपनि एकीकृत तथ्यांक नभएको कारण यति नै संख्या छ भनेर किटान गर्न नसकिने सरोकारवाला बताउँछन् । छैनन् महिला सिइओ बीमा क्षेत्रमा महिना सहभागिता उल्लेख्य भएपनि व्यवस्थापनको नेतृत्व तहमा महिला छैनन् । अहिले संचालनमा ४० वटा बीमा कम्पनी भएपनि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महिला नभएको समितिको भनाइ छ । तर, बीमा कम्पनीका शाखा प्रमुखको रुपमा भने महिलाको उपस्थिति उल्लेख्य छ । निजी कम्पनीमा उल्लेख्य महिला सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डेले बीमा क्षेत्रमा महिला सहभागिता राम्रो रहेको जानकारी दिए । सो कम्पनीमा कुल कर्मचारीको ३८ प्रशित महिला रहेको प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाइ छ । बीमा क्षेत्रमा बीमा समिति, बीमा कम्पनी, सर्भेयर, अभिकर्ताको रुपमा रोजगारी गर्ने अवसर हुन्छ । हाल उक्त रोजगारीहरुमा आकर्षण बढ्ने क्रममा छ । बीमा कम्पनीहरुले महिलामैत्री वातावरणमा काम गर्दै आएकाले यस क्षेत्रमा काम गर्ने महिला बढेको जानकारहरु बताउँछन् । पछिल्लो समय बीमाको पहुँच बढ्दो क्रममा छ । बीमा समितिका अनुसार उक्त वृद्धी सम्भव भएसँगै बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा समेत वृद्धी हुँदैछ । यस्तो कर्मचारी वृद्धीसँग महिला कर्मचारीहरु जोडिने बीमा समितिले जानकारी दिएको छ ।

ईनर व्हील क्लबद्धारा निशुल्क पाठेघरको मुख परीक्षण सम्पन्न

काठमाडौं । ईनर व्हील क्लब कीर्तिपुरले निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण क्याम्प सम्पन्न गरेको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ईनर व्हील क्लब कीर्तिपुरले सौगात मोन्टेश्वरी स्कुल र बुद्ध माई सर्जरी सेन्टरको संयोजकतामा परीक्षण क्याम्प सम्पन्न गरेको हो । क्याम्पमा पाठेघरको मुखको परिक्षणको साथै स्तन परीक्षण र चिनी रोग परीक्षण निशुल्क गरिएको थियो । कलंकीको सौगात मोन्टेश्वरीको आगनमा गरिएको क्याम्पमा सयभन्दा बढि महिलाहरुले परीक्षण गराएक थिए । महिलामा सबैभन्दा बढि समस्या देखिने स्थान उसको पाठेघरको मुख र स्तन हो । वर्षिनी हजारौं महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका शिकार हुने गरेका छन् । क्लबले समयसमयमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

ललितपुर महानगरपालिकाले पनि माक्स उत्पादन गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले पनि मास्क उत्पादन गर्ने भएको छ । आइतबार महानगरले प्रेस विज्ञप्ती जारी गर्दै मास्क उत्पादन गर्ने बताएकाे हाे । ‘सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मौसमी रूघाखोकी लागेका व्यक्तिले मास्क प्रयोग गर्दा आफू र अरु सुरक्षित हुने भएकाले मास्क उत्पादन गर्न सुरू गरेको छ,  सिलाइ तालिम लिएका महानगरका महिलाले मास्क सिलाउन थाल्नुभएको हो,’ विज्ञप्तीमा लेखिएकाे छ । त्यस्तै नियमित हात धुन, खोक्दा र हाछ्यु गर्दा नाक मुख छोप्न, अभिवादन गर्दा नमस्कार गर्न, जंगली तथा घरेलु पशुपंक्षीहरुको असुरक्षित सम्पर्कबाट टाढा रहन समेत आग्रह गरेको छ। साथै महानगरले कोरोनाभाइरसको जोखिमबाट बच्न ठूला सभा, सम्मेलन , भोज भतेरको आयोजना नगर्न समेत आग्रह गरेको छ।  

नागढुङ्गा-कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौं प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि एक करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । नगर प्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिए । “आकाशे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वास नगरपालिकाले लिएको छ”, उनले भने । यसैगरी नगरपालिकाले काठमाडौं भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेशद्वारसमेत निर्माण गर्ने भएको छ । उक्त प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख गिरीले बताए । नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुङ्गा-कलङ्की सडकखण्डमा सिसीटिभीसमेत जडान गर्न लागेको छ । सिसीटिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज पुग्नेछ । नगरपालिकाले सिसीटिभी जडानका लागि चालू आर्थिक वर्षमा रु एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ । उक्त नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर वडा नं ८ मा १५ श्ययाको नगरस्तरीय अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ । भर्खरै सञ्चालनमा आएको अस्पतालमा वर्थिङ सेन्टरसमेत स्थापना गरिएको छ । चन्द्रागिरीका गाउँगाउँका बिरामीलाई अस्पतालसम्म ल्याउनका लागि नगरपालिकाले एम्बुलेन्ससमेत खरिद गर्न लागेको नगरप्रमुख गिरीले बताए । नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । रासस

जोन्टा क्लब अफ काठमाडौंद्वारा प्रेरणादायक महिलाहरु सम्मानित

काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले ८ मार्च, २०२० अर्थात फागुन २५ गते ‘प्रेरणादायक र साहसी महिला’ लाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संस्थाले विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको हो । उक्त अवार्ड समारोह नबिल बैंक, आमन्त्रन स्पा एण्ड सलुन र मल्टी ब्राण्ड इलेक्ट्रोनिक स्टोर स्वीच अनको सहयोगमा र्याडिसन होटलले आयोजित गरेको थियो । येलो रोज डे २०२० मा आठ जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । पुरस्कार विजेताहरुले अपवादको आफ्नो यात्राका बारेमा बताएका थिए । यस्ता सशक्तिकरण महिलाहरुका कथा सुनाउनु प्रसन्नता मात्र नभएर यसले निसन्देह समाजमा निकै परिवर्तन ल्याउछ र यसले देशका सबै महिलाहरुलाई उत्प्रेरित गर्न अथाह स्रोत प्रदान गर्दछ । जोन्टा क्लब अफ काठमाडौंका पुरस्कार कोटि र पुरस्कृतहरु यस प्रकार रहेका छन् ः – प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयर: एआईजी डा. आशा सिंह, नेपाल प्रहरी – अमर राना गेम चेन्जर अवार्ड: आयुषी के.सी., प्रमुख कार्यकारी अधिकृत, खालीसीसी – ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम. क्लाउस्म्यान उमन इन बिजनेश स्कलरशिप: प्राश्ना भट्टराई – ज्योति स्कलरशिप अवार्ड २०२० फर उमन इन टेक्नोलोजी: छिरिङ डिके लामा त्यस्तै, नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरुको शिर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने ४ जना महिलाहरुको असाधारण कार्यको प्रशंसा गर्दै प्रति व्यक्ति २५००० रुपौंया प्रदान गरेको छ । उनीहरुले अपवाद काम गरेर हामीहरुलाई प्रेरणा दिइरहेका छन् । यी महिलाहरुले परम्परागत रुपमा पुरुष प्रधान क्षेत्रहरुमा काम गरिरहेका छन् । यो त्यस्ता ४ महिलाहरुका सम्मान र पहिचानका लागि हो जुन आफ्ना कामको विधामा प्रशंसा नपाएका नायकहरु हुन् । सम्मानित हुने महिलाहरु: – लक्ष्मी नापित – नाई (बारबर) – सरस्वती सुवाल – मेकानिक – हर्मिता श्रेष्ठ- साझा बस चालक – मन्धिरा भण्डारी – इलेक्ट्रिशियन सन्नी रौनियार प्रधानको सुन्दर गीत ‘खुल्ला आकाश’ ले यस दिनको थिमलाई समादर गर्दै कार्यक्रमलाई थप रमाइलो बनायो । सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । यसले त्यस्तो समाजको परिकल्पना गरिरहेका छन् जहाँ महिला अधिकारकालाई मानव अधिकारको मान्यता दिइन्छ र हरेक महिलाहरु आफ्नो पूर्ण-क्षमता हासिल गर्न सक्षम हुनेछन् । त्यस्तो विश्वमा महिलालाई सबै स्रोतहरुको पहुँच छ, पुरुष बराबारको निर्णय लिने स्थानमा उनीहरु छन् र कुनै पनि महिलाहरुले हिंसाको डरमा बाच्नु पर्दैन । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर-नाफा मुलक संस्था हो जुन महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ । नेपाल आधिकारिक रुपमा चार्टर्ड हुने ६४ औं मुलुक हो । जोन्टा क्लब अफ काठमाडौंका कार्यक्रमहरु अन्तर्गत महिलाका लागि युवा साक्षरता, बालविवाह अन्त्यका लागि वकालत तथा महिला अधिकारहरुका बारेमा जागरुकता, केटीहरुका लागि आत्म-रक्षा तालिम, जेलका महिला कैदीहरुका लागि शैक्षिक सामाग्री तथा सीप विकास प्रशिक्षण, १६ दिने महिला हिंसा विरुद्धका गतिविधी, सरसफाई परियोजना-शौचालय निर्माण, केटी र महिलाहरुका लागि शैक्षिक संस्थामा पुग्नका लागि सहज बनाउन साइकल वितरण लगायत रहेका छन् । यो दुई वर्षको अवधी (२०१८-२०२०) जोन्टाका लागि शतवर्षीय अवधी हो । जोन्टाको १०० वर्ष मनाउन, जोन्टा क्लब अफ काठमाडौं चौतफी प्रभावका लागी आफ्ना पहलहरु जारी राख्न र बलियो बनाउन प्रतिबद्ध रहेको छ ।

कोरोनाको कहरः सरकारको चासोमा प्रवासी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीका रुपमा फैलिरहँदा नेपालमा पनि त्यसको असर र त्रास व्याप्त छ । हालसम्म नेपालमा यो भाइरस कूनै पनि व्यक्तिमा नदेखिएको भएपनि यसको त्रास भने फैलँदो क्रममा छ । नेपाल सरकारले देशभित्रका नागरिकसँगै विदेशमा रहेका नेपालीहरुलाई पनि चासोको रुपमा हेरिरहेको छ । चीनबाट सुरु भएको भनिएको यो भाइरसले चीनमा उग्र रुपलिएसँगै त्यहाँ अध्ययनका लागि गएका १ सय ७५ जना नेपाली विद्यार्थीलाई नेपाल सरकारलाई सकुसल उद्दार गर्यो । उद्दार गरेका १ सय ७५ जना मात्र होइन सबै नेपालीबाट सरकारले जस लियोे, र राष्ट्रबादी सरकारको संज्ञा पनि पायो । उद्दार गरिएका सबैको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ देखिएपछि अहिले सबै आ–आफ्नो घर फर्किसकेका छन् । त्यो सँगै अब नेपाल सरिकारको कामदारका लागि विदेशी भूमिमा पुगेगा प्रवासी नेपालीहरुमा गएको छ । हालसम्म नेपाली कामदारहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सतर्कता भाइरसको संक्रमण हुने सक्ने शंका भने गरिएको छ । करिब ४५ हजार नेपाली कामदार रहेको कोरिया अहिले कोरोना भाइरसको उच्च जोखिमममा छ । भलै कुनै पनि नागरिकमा यसको संक्रमण देखिएको छैन । विकासन्यूजले कोरियामा रहेका नेपाली कामदारहरुसँग जानकारी लिँदा उनीहरु आफु सुरक्षित रहेका बताउँछन् । नेपाल पनि कोरोना भाइरसको उच्च जोखिमको राष्ट्रको रुपमा विश्व स्वास्थ्य संगठनले राखेसँगै उनीहरु नेपालमा आउने भने त्यति इच्छुक देखिँदैनन् । कोरिया सरकार र नेपाल सरकारले पनि उनीहरुलाई सुरक्षित रहन आग्रह गरिसहेको छ । कोरियास्थित नेपाली राजदुतावासले नेपाली कामदारहरुलाई कम्पनीको नीति नियमलाई पालना गरी सुरक्षित रहन आग्रह गरिसकेको छ । नेपालीहरु विदेशमा राजगारीका लागि ४० लाखभन्दा बढी र अध्ययनका लागि ३ लाखभन्दा बढी छन् । आफ्नो नागरिक गएको देशमा कोरोनाको संक्तमण देखिएसँगै नेपाल सरकारको पनि चिन्ता चासो र ध्यान बढेको छ । हाल विश्वका ८० राष्ट्रमा फैलिएसकेको यो अवस्थामा नेपाल सरकार पनि गम्भीर देखिएको हो । नेपालीको प्रमुख रोजगारीको गन्तव्यमा कोरोनाको संक्रमण फैलिएसँगै सरकारले निरन्तर रुपमा त्यहाँ रहेका नेपालीको अवस्था र सम्बन्धित दुतावाससँग बुझ्दै आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत राज पौड्यालले जानकारी दिए । त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुमन घिमिरेले कोरोना भाइरस संक्रमित देशको अवस्थालाई ध्यानमा राख्दै वैदेशिक रोजगारमा जानेलाई अनुमति दिने तर हतारिएर कुनै पनि निर्णय नगर्ने बताए । ‘कुन–कुन देशमा भाइरसको संक्रमण बढ्दै गएको छ भन्ने कुरा उक्त देशका रोजगारदाता र सम्बन्धित निकायसँग समन्वय भइरहेको, श्रम मन्त्रालयले सम्बन्धित मन्त्रालयको सहकार्यमा जोखिमको विश्लेषण गरी उक्त देशहरुमा समन्वय निरन्तर भइरहेको छ,’ उनले भने । वैदेशिक रोजगारीको क्षेत्रमा कोरोना भाइरसको प्रभाव बढेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । पछिल्लो समय दक्षिण कोरिया र कुवेत जानेलाई रोक लगाएको छ । ‘व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृतिको माध्यम भएर जानेलाई अन्य १२ देशमा श्रम स्वीकृति बन्द गरको छैन, त्यहाँको अवस्था हेरेर कुनै पनि समयमा बन्द हुन सक्छ,’ उनले भने । कोरोना भाइरसले त्रास फैलाएपछि सम्बन्धित निकायको चासो बढेको र आगामी दिनमा वैदेशिक रोजगारीमा रहेका युवालाई केन्द्रित गर्दै सरकारले निर्णय उनको भनाइ छ । पछिल्लो समय वैदेशिक रोजगार विभागमा दैनिक ५/७ सम्म उजुरी आउने गरेको विभागले जनाएको छ । पछिल्लो समय विदेश घुम्न जानेको संख्या पनि क्रमिक घट्दै गएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा नेपालीहरु विदेश घुम्न जानका लागि करिब ७३ अर्ब ६० करोड रुपैयाँ खर्च गरेका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ३६ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्याकंले देखाउँछ । गत आर्थिक वर्षमा विदेश अध्ययन गर्नका लागि नेपाल राष्ट्र बैंकबाट ४६ अर्ब ३० करोड रुपैयाँ लिएका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १४ अर्ब ८० करोड रुपैयाँ लिएका छन् । यसको अर्थ नेपालीहरु भ्रमण तथा अध्ययनका लागि ठूलो संख्या बाहिरिने गरेका छन् । यस्तै, नेपालको छिमेकी राष्ट्र भारतमा पनि हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसले पनि नेपालमा झन त्रास फैलिएको छ ।