बिराटनगर उड्नु पर्ने श्री एयरलाइन्सको बिमानमा समस्या आउँदा यात्रु रोकिए
काठमाडौं । मंगलबार ११ बजे बिराटनगरका लागि उड्नु पर्ने श्रीएयरलाइन्सको बिमानमा समस्या देखा परेको छ । बिहान ११ बजे यात्रु काठमाडौंदेखि बिराटनगरसम्मका लागि उड्न लागेकोे बिमानमा एक्कासी प्राविधिक समस्या आउँदा बिमान रोकिएको हो । एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार बिमानमा केही प्राविधिक समस्या आएको कारणले उडान समयमै गर्न नसकिएको हो । उनले केही समयपछि अर्को बिमानबाट यात्रुहरुलाई बिराटनगर लिने तयारी भइरहेको बताए उनले यात्रुको सुरक्षा र सेवालाई ध्यानमा राखी अर्को बिमानबाट जाने व्यवस्था भइरहको बताए । अबको १०/१५ मिनेटमै अर्को बिमानले यात्रुलाई पिकअप गर्ने उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयकाे परीक्षा यथावत
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् । आगामी चैत ७ गतेदेखि शुरु हुने विभिन्न विभिन्न सङ्कायका परीक्षाको तयारी परीक्षा नियन्त्रण कार्यालयले पूरा गरेको छ । “कोरोना भाइरसको अहिल्यैकै अवस्थामा परीक्षा रोकिहाल्नुपर्ने अवस्था छैन”, नियन्त्रक जोशीले भने, “भाइरसका कारणले मुलुकमा नै सङ्कट घोषणा गर्नुपर्ने अवस्था आयो भने सोच्नुपर्ने हुन्छ ।” त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग त्रिविले परीक्षा सञ्चालन गर्नेबारे छलफल गरेका थिए । स्वास्थ्यमन्त्री ढकालले अहिल्यैकै अवस्थामा परीक्षा रोक्नुपर्ने अवस्था नरहेकोले त्रिविलाई यथावत रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए । त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आङ्शिक परीक्षा आगामी चैत ७ गतेबाट, स्नातकोत्तर तह चौथो सेमेष्टरको चैत ८ गतेदेखि, स्नातकोत्तर दोस्रो सेमेष्टरको चैत २२ गतेदेखि, शिक्षा शास्त्रको एकवर्षे विएड चैत ९ गतेदेखि, स्नातक तहको कानून सङ्कायको दोस्रो तहको परीक्षा चैत १४ गतेदेखि शुरु हुँदैछ । परीक्षा नियन्त्रक जोशीका अनुसार त्रिविले परीक्षाका लागि बिहीबारदेखि उपत्यका बाहिर प्रश्नपत्र पठाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसका कारणले विद्यालय तहको परीक्षा आगामी चैत ५ गतेभित्र सक्न नर्देशन दिइसकेको छ । रासस
सरकारले तत्काल सडक विस्तारको नयाँ योजना नबनाउने
काठमाडाैं । काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडक ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत सम्पन्न नभएपछि सरकारले नयाँ सडकमा विस्तारको योजना बनाएको छैन । काठमाडौँ उपत्यकामा सडक विस्तारका लागि चौडाइ उपलब्ध नहुने र सडकमा रहेका संरचना हटाउन पनि कठिन हुने भएकाले तत्काल विस्तारका लागि योजना बन्न नसकेको हो । अहिलेकै अवस्थामा सडक विस्तारको योजना बनाउन नसकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले काठमाडौँ उपत्यकामा १० स्थानका सडक विस्तार शुरु गरेको थियो । तीमध्ये अधिकांश स्थानमा सम्पन्न भइसकेको छैन । शुरु भएका योजना सम्पन्न नभएकै कारण नयाँ योजना बन्न नसकेको आयोजनाका इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । उनले भने, “निर्माणका क्रममा रहेका योजना सम्पन्न गर्नु नै अहिलेको लक्ष्य हो ।” काठमाडौँ उपत्यकामा धेरै स्थानमा अहिले पनि साँघुरा सडकका कारण स्थानीयवासी घण्टौँ सवारी जाममा पर्ने गरेका छन् । हाल निर्माणाधीन सडक नै अलपत्र भएपछि सरकारले सडक विस्तारको नयाँ योजना बनाउन नसकेको हो । सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनमा पनि निर्माणस्थल खाली भएपछि मात्रै ठेक्का सम्झौता गर्नुपर्ने व्यवस्था हुँदा नयाँ सडक निर्माणको योजना तत्काल नबन्ने देखिएको छ । चार वर्ष पहिले शुरु भएका विभिन्न सडक पनि अहिले आयोजनाले चौडाइ नबढाइ कालोपत्र गरिरहेको छ । विस्तारका क्रममा रहेका सडक लामो समयसम्म निर्माण नहुँदा धुलो र हिलोका कारण स्थानीयवासी हैरान भएपछि उलब्ध चौडाइमै निर्माण भइरहेको हो । रासस
बेनेली बाइकको १० दिने एक्सचेन्ज क्याम्प फागुन २८ गतेदेखि
काठमाडौं । नेपाल केटीएम ईन्टरनेशनल ट्रेडिङ,बेनेली बाइकका लागि अधिकृत डिलरले १० दिने एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । उक्त क्याम्प फागुन २८ गतेबाट चैत ७ गतेसम्म हुनेछ । यस एक्सचेन्ज क्याम्प नक्साल र कुपन्डोलको बेनेलीका अधिकृत शोरूमहरुमा आयोजना हुन गइरहेको छ। यस शिविरमा, ग्राहकहरुले आफ्ना कुनै पनि ब्रान्डका दुई पाङ्रे साधन बेनेली बाईकसँग उत्तम मुल्याङ्कनमा साट्न सक्ने छन्। बेनेलीले यी १० दिनमा कुनै पनि मोडलको खरिद गर्दा आकर्षक छुट पनि दिने छ । ग्राहकहरूले लक्की ड्रमार्फत बाइकको सामानहरू, जस्तै ग्लोब्स, हेलमेट र ज्याकेट पनि जित्ने मौका प्राप्त गर्न सक्ने छन् ।
महिला सशक्तिकरणमा कोका–कोला नेपालको सम्माननीय कदम
काठमाडौं । जब तपाईं एक महिलालाई सशक्तिकरण गर्नुहुन्छ तब तपाईंले राष्ट्रलाई सशक्तिकरण गर्नुहुन्छ, यो कोका–कोला कम्पनीको अभिव्यक्ति हो । महिलाहरुले आर्थिक सम्भावित क्षमता राख्नु संसारको साझा सफलतामा बराबरको योगदानकर्ता हो भन्ने कम्पनीको विश्वास छ । कोका–कोला कम्पनी कार्यक्षेत्रमा र यसको सबै दृष्टिकोणबाट महिला सशक्तिकरणमा केन्द्रित रहेको छ । यस कार्यमा लागू गर्दै बोटलर्स नेपाल लिमिटेडले आफ्नो ग्लोबल पहल ५बाइ२० को हिस्साको रुपमा शप्कीपर ट्रेनिगं एण्ड रिसोर्स “स्टार” कार्यक्रम संचालन गर्दै आएको छ ,जसको उद्देश्य सन् २०२० सम्म ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनु हो । यस कार्यक्रमको उद्देश्य नेपाली खुद्रा विक्रेताहरुलाई खुद्रा व्यवसायको ४ मुख्य क्षेत्रमाः पसल व्यवस्थापन, स्टक व्यवस्थापन, ग्राहक व्यवस्थापन र वित्त व्यवस्थापनमा केन्द्रित भएर नेपालको गतिशील खुद्रा परिवेशमा सफल हुन आवश्यक सीप, प्रविधि र उपकरणहरु प्रदान गर्नु हो । बोटलर्स नेपालको सार्वजनिक मामिला संचार र स्थिरता टिम तथा सेल्स टिमबीचको संयुक्त सहकार्यले आजका मितिसम्म १५ शहर र नेपालका धेरै साना शहरहरुमा यो कार्यक्रम मार्फत ५हजार भन्दा बढि महिला खुद्रा विक्रेताहरुलाई प्रशिक्षण दिइसकेको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले नेपालमा अधिकांश खुद्रा विक्रेताहरु महिला रहेको र विशेष गरी ग्रामीण क्षेत्रका यी महिलाहरुमा आधारभूत खुद्रा विक्रेता र व्यवसायिक सीपको अभाव भएको बताए । साथै, ५बाइ२० कार्यक्रममार्फत हामीले खुद्रा विक्रेताहरुले आफ्नो जीवनमा सामना गरिरहेका अवरोधहरु हटाउन सहयोग र समर्थन गर्ने लक्ष्य राखी कम्पनीले निरन्तर आफ्नो भ्यालु चेनमा महिला प्रगतिलाई प्रत्सोहान गरेको प्रबन्ध निर्देशक पाण्डेले बताएका छन् । यसैगरी, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले ५० लाख महिलाहरुलाई सशक्त बनाउने जसले महिलाहरु र समुदायको जीवन परिवर्तन गर्न विश्वव्यापी मुद्दाहरुमा गहिरो र दिगो प्रभाव पार्न सहयोग पुर्याउने बताए ।
कोरोना त्रासले स्टक मार्केटमा सर्किट ब्रेक, डेढ घण्टामा दुई पटक बजार बन्द
काठमाडौं । कोरोना त्रासका कारण सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नै ४ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लगाउनु परेको थियो । २० मिनेट कारोबार बन्द गरी खुलेको बजारमा १० मिनेटमा नै ५ प्रतिशतको गिरावट आएपछि १२ः३० मा दोस्रो पटकका लागि सर्किट ब्रेक भएको छ । लगातार चार दिन बन्द पछि मंगलबार खुलेको बजारमा पहिलो एक घण्टामा नै नेप्से परिसूचक ५७.३६ अंकले गिरावट आएको छ । १२ः ३० हुँदा नेप्से ७२ अंकले घटेको छ । सबै समूहका परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ६१० अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको परिसूचक ३१२ अंकले घटेको छ । मूल्य घटे पनि मध्यान्न १२ः३० बजे अघि नै ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कोरोना भाइस संक्रमणले महामारीको रुप लिएपछि विश्व बजारमा सेयर बजारमा उच्च गिरावट देखिएको छ । नेपालमा संक्रमणले ठूलो रुप लिएको त छैन, तर लगानीकर्तामा निकै त्रास देखिएको छ ।
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार
काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन् । यही फागुन ४ र १९ गते गरिएको अनुगमनको क्रममा १४ वर्ष मुनिका बालकलाई मजदूर (कामदार) को रुपमा प्रयोग गरिएको पाइएको हो । मकवानपुर, दाङ र प्यूठानका ती बालकलाई उद्धार गरी बाल उद्धार नेपालको स्थानीय साझेदारी संस्था ईस्थर वेन्जामिन स्मृति फाउण्डेसनको अल्पकालीन स्याहार केन्द्रमा पठाइएको छ । बाल उद्धार नेपालका प्रमुख जमुना श्रेष्ठ भट्टराईले ती बालकको परिवारमा सम्पर्क गरी बालकलाई आधिकारिक रुपमा हस्तान्तरण गरिने जानकारी दिएका छन् । बालबालिकाको अधिकार, संरक्षण र शिक्षाको क्षेत्रमा क्रियाशील हुँदै आएको उक्त संस्थाले करिब २० वर्षदेखि नेपालको बालबालिकामाथि हुने श्रम शोषणका समाचार तथा सूचनाका आधारमा उनीहरुको उद्धार गर्दै आएको छ । संस्थाले सरकारी कार्यालयका साथै विभिन्न बाल अधिकार संरक्षणका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी, स्थानीय, सरोकार निकायसँग समन्वय गरी उद्धार, स्याहार तथा जनचेतनाको कार्य गर्दै आएको प्रमुख भट्टराईले जानकारी दिएका छन् । रासस
काेराेना त्रास: नेपालमा उत्पादन नहुने उपभोग्य वस्तुको मौज्दात कति ?
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण क्रम बढ्दै गएकाे छ । यसले नेपालकाे समग्र अर्थ व्यवस्थामा पनि प्रभाव विस्तार गर्दैछ । विश्वले नै स्वास्थ्यमा चुनौती भोगिरहेकाे बेला उपभोग्य वस्तुको मौज्दातको पनि कुरा उठन थालेको छ । बजारमा व्यापारीले ग्यासलगायतका उपभोग्य वस्तुको कृतिम अभाव सुरु गरिसकेका छन् । यसले पनि सेवाग्राहीमा चर्काे मूल्य तिर्नु पर्ने बाध्यता बढाइरहेको छ । कोरोनाकाे संक्रमण फैलिएपछि छिमेकी देश चीनले व्यापारिक नाका बन्द गरिसकेकाे छ । अर्काे छिमेकी देश भारतमा पनि कोरोना संक्रमण फैलँदो क्रममा छ । चीनले जस्तै भारतले पनि संक्रमण रोक्नका लागि नाका बन्द गर्यो भने नेपालमा दैनिक उपभोग्य सामग्रीको अभाव हुने क्रम बढ्ने छ । त्यसैले पनि अहिले उपभोक्ताहरु उपभोग्य वस्तुको संकलनमा लागेका छन् । उपभोग्ताहरु एलपी ग्यास, नुन, तेल, चामलजस्ता उपभोग्य वस्तु संकलन गर्न लागिपरेका छन् । सरकारले भने बजारमा प्रशस्त खाद्यान्न र ग्यास मौज्दात रहेकाले उपभोक्ताले अतिरिक्त भण्डारण नगर्न आाग्रह गरिरहेको छ । नेपालसँग मौज्दात उपभाेग्य वस्तु कति छ त ? नुन नेपालमा नुनको आयात तथा विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी १० महिनासम्मलाई पुग्ने नुन मौज्दात रहेको बताएको छ । सरकारको नीति निर्देशन अनुसार कम्पनीले करीब ६ महिनालाई पुग्ने नुनको मौज्दात राख्नु पर्छ । कम्पनीका अनुसार हाल एक लाख ३६ हजार मेट्रिक टन नुन मौज्दात छ । हाल नेपालमा दैनिक साढे ५०० मेट्रिक टन नुन खपत हुँदै आएको छ । यस्तै, नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुनको माग रहेको कर्पोरेशनले बताउ छ । डिजेल र पेट्रोल नेपाल आयल निगमले कोरोनाको संक्रमण बढ्दै गएपछि डिजेल र पेट्रोलको आयातमा समस्या नदेखिएको बताएको छ । अरु समयमा जस्तै सामान्य रूपमै इन्धनको आयात भइरहेको निगमको भनाइ छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भण्डारण क्षमता ६८ हजार ३६४ किलो लिटर रहेकाे बताए । जसले नेपालको ९ दिनसम्मको माग धान्न सक्छ । नेपालमा दैनिक रूपमा १५ सय देखि दुई हजार किलो लिटर पेट्रोल खपत हुँदै आएको छ । डिजेलको दैनिक माग ४ हजार किलो लिटर माग रहेको छ । डिजेल र पेट्रोलको तुलनामा नेपाली बजारमा मट्टितेलको माग खासै छैन । यसका साथै, हवाई इन्धनको माग दैनिक अधिकतम एक हजार किलो लिटरसम्म माग रहेको आयल निगमले जानकारी दिएको छ । चिनी साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार उद्योगहरूमा एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात छ । कर्पोरेशनसँग दुई हजार ५ सय मेट्रिक टन मौज्दात र ७५ हजार मेट्रिक टन चिनी बाटोमा छ । चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार तीन महीनालाई पुग्ने चामल मौज्दात छ । कम्पनीले दुर्गम तथा हिमाली जिल्लामा मात्रै ४ हजार १६ मेट्रिक टन चामल मौज्दात रहेको जानकारी दिएको छ । अहिले नेपालको दैनिक माग २८५ मेट्रिक टन छ । जसअनुसार मासिक ८ हजार ५५० मेट्रिक टन माग हुन आउँछ । एलपी ग्यास नेपाल आयल निगमले एलपी ग्याँस आयातकर्तालाई थप ग्यास ल्याउन अनुमति दिएको छ । सामान्य अवस्थामा नेपालमा मासिक ३८ हजार किलो लिटर एलपी ग्यास खपत हुन्छ । तर, कोरोनाको संक्रमण बढ्दै गएपछि सर्वसाधारणले कम्तीमा पनि चार/पाँच महीनालाई मौज्दात राख्न थालेका छन् । अहिलेकै अवस्थामा आयात ठप्प भएमा नेपाली ग्यास उद्योगी र व्यवसायीहरूसँग एक हप्तालाई पुग्ने ग्याँस भण्डारण छ ।