काेरोनाको आशंकामा रोनाल्डो सेल्फ क्वारेन्टाईनमा
काठमाडौं । कोरोना लागेको आशंकामा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका छन् । जुभेन्टसका कल्बका सहकर्मी खेलाडी डानिली रुगानीलाई कोरोना पोजेटिभ देखिएपछि रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका हुन् । उनीहरुले आईताबार एक गेमपछि ड्रेसिङ रुम सेयर गरेका थिए ।
५० लाखसम्म ऋण लिन कर चुक्ताको प्रमाणपत्र नचाहिने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्म ऋण लिदा कर चुक्ता प्रमाणपत्र बुझाउनु नपर्ने भएको छ । यसअघि कर चुक्ता प्रमाणपत्र पेश गरेपछि मात्रै ऋण लिन पाइने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले यसअघि गरेको व्यवस्थामा परिवर्तन गर्दै ५० लाख रुपैयाँसम्म ऋण लिन कर चुक्ता प्रमाणपत्र नचाहिने व्यवस्था गरेको हो । ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्दा कर चुक्ता प्रमाणपत्र वा अद्यावधिक कर चुक्ता वा दाखिला प्रमाणपत्र नभएपनि हुने व्यवस्था गरिएको छ । यस्तै, ५० लाख रुपैयाँभन्दा बढी र २ करोड रुपैयाँसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला उद्योग/पेश/व्यवसायको लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान वा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि यस्तो कर्जाको लागि कर दाखिला कागजातको साथसाथै कर चुक्ता प्रमाणपत्र वा अध्यावधिक कर चुक्ता/दाखिला प्रमाणपत्र चाहिने व्यवस्था थियो । कृषि, पर्यटन एमब साना तथा मझौला उद्योग/पेशा/व्यवसायकाभन्दा बाहेकमा र २ करोड रुपैयाँभन्दा बढीको कर्जा लिने वा दिएको कुनै पनि फर्म वा कम्पनीलाई कर्जा प्रदान वा नवीकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र लिएर मात्र कर्जा प्रदान वा नवीकरण गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । आफ्नै प्रयोजनको लागि निर्माण तथा खरिद गरिने पहिलो घर कर्जाको लागि भने करयोग्य आयको हकमा कर दाखिला कागजातको आधारमा कर्जा लिन वा नवीकरण गर्न सकिने छ । यसरी कर्जा लिदा वा नवीकरण गर्दा ऋण भुक्तानी आम्दानी अनुपात बढीमा ६० प्रतिशत बनाउन पाइने भएको छ । अर्थात मासिक आम्दानीको ६० प्रतिशतसम्म कर्जाको किस्ता हुने परिमाण बराबरको ऋण लिन पाइने भएको छ । यसअघि यस्तो किस्ता बढीमा ५० प्रतिशत मात्रै बनाउन पाइने व्यवस्था थियो । यस्तै, काठमाडौं उपत्यकामा घर जग्गा व्यवसाय गर्न ऋण लिदा सो घर वा जग्गाको धितो मूल्यांकनको ५० प्रतिशतसम्म ऋण लिन पाइने भएको छ । यसअघि यस्तो कर्जाको सीमा ४० प्रतिशत थियो । काठमाडौं उपत्यकाको हकमा भने धितो मूल्यांकनको ६० प्रतिशतसम्म ऋण लिन पाइने भएको छ । [pdf id=200646]
सिटिजन लाइफ इन्स्योरेन्सले दियो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति सम्बन्धी तालिम सम्पन्न गरेको छ । फागुन महिनामा आयोजित सो तालिम कम्पनीको प्रधान कार्यालय टेकुमा सम्पन्न भएको हो । उक्त तालिम कम्पनीका अनुपालन अधिकृत दिपक कुंवरले प्रस्तुत गरेका थिए । उनले गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिए । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । साथै, यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिने उनले बताए । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दशरथ मनी खड्का, सहायक महाप्रबन्धक दिप बहादुर बि. सि., प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयाल लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कोराेनासँग लड्ने सरकारका यस्ता छन् ५ योजना
काठमाडौं । नेपालमा एकैपटक धेरै व्यक्तिमा कोरोना देखिएको अवस्थामा काम गर्नको लागि तयार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । बिहिबार मन्त्रालयले कोरोनाको संत्रलमण देखिए केके काम गर्ने भन्ने योेजना प्रस्तुत गर्दै एकै पटक सय केस देखिएको अवस्थामा पनि काम गर्न तयार भएकाे बताएका हाे । महामारीको रुपमा कोरोना फैलिएमा सरकारले नेपालबाट हुने हवाई उडान महामारीको अवधिभर स्थगन गर्ने, स्थलगत आवगमनको अन्तर्राष्ट्रिय नाकाहरु बन्द गर्ने, अत्यावश्यक सामाग्री बाहेक सबै आयात निर्यात बन्द गर्ने, संक्रमण भएको बासस्थान बन्द गर्ने जस्ता योजना बनाएकाे मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले बताए । सरकारकाे याेजनाहरु यस्ता रहेका छन् १. पकेट एरिया लकडाउन गर्ने– बासस्थान, निश्चित समुदाय, बस्ती गाउँ, टोल, वडा, पालिका प्रदेश समेत । २. कोभिड १९ प्रभावित मुलुकहरुमा नेपालबाट हुने उडानहरु महामारी अवधिभरको लागि स्थगन गर्ने । ३. स्थलगत आवगमनको अन्तराष्ट्रिय नाकाहरु बन्द गर्न । ४. अत्यावश्यक सामाग्री बाहेक अन्य वस्तुहरुको आयात निर्यात महामारी अवधिभर बन्द गर्न । देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा संक्रमितको प्रभावकारी उपचारको लागि जनशक्ति आवश्यक उपकरण र प्रविधिहरुको अधिकतम परिचालन गर्न योजना ५. अत्याआवश्यक परेमा फिल्ड तथा मोबाईल अस्पतालहरुको स्थापना गरी उपचार गरिने योजना बनाईएको ।
ग्राण्डी हस्पिटलमा ज्वरो मापनपछि मात्र प्रवेश
काठमाडौं । ग्राण्डी इन्टरनेशनल हस्पिटलले सम्पूर्ण बिरामीहरु तथा आगन्तुकहरुको ज्वरो मापन गरेर मात्रै हस्पिटल प्रवेश गर्ने व्यवस्था मिलाएको छ । कोरोना भाईरस संक्रमणबाट सचेतना अपनाउंदै हस्पिटलले बुधवारदेखि यस्तो व्यवस्था गरेको हो । ज्वरो मापन गर्दा उच्च तापक्रम भएको पाइएमा छुटृै कक्षमा राखेर उपचार तयारी गर्ने समेत हस्पिटलले शुरु गरेको छ ।
विद्युतमा नयाँ महसुल दर, आयोगले सार्वजनिक गर्दै
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ । प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरी गत माघ १७ गते आयोगसमक्ष नयाँ महसुल दर बुझाएको थियो । सोहीअनुसार आयोगले आगामी चैत १४, १६ र १७ गते सार्वजनिक सुनुवाइ गर्ने भएको छ । आयोगले सार्वजनिक सुनुवाइमा सहभागी हुन सबै सरोकार भएका पक्षलाई आग्रह गरेको छ । सार्वजनिक सुनुवाइ फेसबुक, युट्यूब जस्ता सामाजिक सञ्जालमा समेत प्रत्यक्ष प्रसारण गरिने भएको छ । प्राधिकरणले सबैभन्दा कम अर्थात् २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई रु ३० मा विद्युत् उपलब्ध गराउने प्रस्ताव गरेको छ । पाँच एम्यिरमा विद्युत् लिने ग्राहकले बढीमा रु ३५ महसुल तिरे पुग्नेछ । यस्तै १५ एम्यिरमा विद्युत् लिनेले न्यूनतम शुल्क रु ५०, ३० एम्पियरमा विद्युत् लिनेले रु ७५ र ५० एम्पियरमा रु १२५ न्यूनतम महसुल लिने प्रस्ताव गरिएको छ । तल्ला र साना ग्राहकलाई बढीभन्दा बढी सुविधा दिने लक्ष्यसहित प्राधिकरणले नयाँ महसुल प्रस्ताव गरेको हो । यस्तै २१ युनिटदेखि ३० युनिटसम्म पाँच एम्पियरमा विद्युत् लिनेले न्यूनतम रु ५०, १५ एम्पियरमा रु ७५, ३० एम्यिपरमा रु १०० र ६० एम्पियरमा रु १५० न्यूनतम महसुल तिर्नुपर्नेछ । यसैगरी ३१ देखि ५० सम्म न्यूनतम रु ७५, ५१ देखि १५१ युनिटसम्म रु १००, १५१ युनिटदेखि २५० युनिटसम्म रु १२५, २५१ युनिटदेखि ४०० सम्म न्यूनतम रु १५० महसुल तिरे हुनेछ । कूल ४०० युनिटभन्दामाथि न्यूनतम रु १७५ महसुल तिर्दा हुनेछ । त्यसमा केही सेवा शुल्क भने थप हुन सक्नेछ । प्राधिकरणको प्रस्तावअनुसार ४०० भोल्ट बराबरको विद्युत् लिनेले भने न्यूनतम रु एक हजार १०० देखि रु एक हजार ८०० सम्म तिर्नुपर्नेछ । प्राधिकरणले औद्योगिक ग्राहकमा पनि ग्रामीण तथा घरेलु उद्योग र साना उद्योगको फरकफरक महसुल दर प्रस्ताव गरेको छ । व्यापारिक, गैर व्यापारिक, सिँचाइ, खानेपानी, यातायातका लागि चार्जिङ स्टेशनसमेतको महसुल दर प्रस्ताव गरेको छ । मन्दिर, सडकबत्ती, अस्थायी कनेक्सन, गैर गार्हस्थ्य र मनोरञ्जन व्यवसायको समेत छुट्टाछुट्टै महसुल दर तय गरेको छ । त्यसमा पनि वैशाखदेखि मङ्सिरसम्म र पुसदेखि चैतसम्मको पनि फरकफरक समयको फरकफरक महसुल दर प्रस्ताव गरिएको छ । वर्षाको समयमा बढी विद्युत् खपत गराउन सोही खालको र हिउँदको समयमा फरक खालको महसुल दर प्रस्ताव गरिएको छ । प्राधिकरणको हाल कूल ३९ लाख नौ हजार ४६० ग्राहक रहेका छन् । हाल कूल सात अर्ब ३८ करोड ६५ लाख ५८ हजार किलोवाट घण्टा विद्युत् खपत हुने गरेको छ । प्राधिकरणका सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कम विद्युत् उपभोग गर्ने ग्राहकलाई ध्यानमा राखेर महसुल दर प्रस्ताव गर्ने बताउँदै आउनुभएको थियो । यस्तै विद्युत् खपत बढाउने लक्ष्यका साथ महसुलमा समेत केही छुट दिने प्रस्ताव गरिएको छ । विद्युतीय सवारी चार्जमा नयाँ महसुल सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ रातिको समयमा सवारी साधन चार्ज गर्दा न्यूनतम महसुल लिने प्रस्ताव गरेको छ । त्यसो गर्दा न्यूनतम शुल्कमा नै विद्युतीय सवारी चार्ज गर्न सकिने र विद्युत् खपतसमेत बढ्ने विश्वास लिइएको छ । सार्वजनिक यातायातका लागि राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रतियुनिट चार रुपैयाँ ४५ पैसा महसुल लाग्नेछ । प्राधिकरणले तय गरेको यो महसुल सबैभन्दा सस्तो हो । तोकिएको महसुलमा चार्जिङ स्टेशन सञ्चालन गर्नेले थप २० प्रतिशतसम्म मुनाफा लिन पाउने व्यवस्था गरिएको छ । बढी विद्युत् माग हुने साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रतियुनिट आठ रुपैयाँ ४० पैसा महसुल तिर्नुपर्नेछ । यो सुविधा ३३ केभी भोल्टजका लागि हो । सोही भोल्टेजमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म पाँच रुपैयाँ पाँच पैसा महसुल लाग्ने गरी महसुल प्रस्ताव गरिएको छ । प्राधिकरणले विभिन्न ११ समूहका ग्राहकको वर्गीकरण गरेको छ । त्यसमा घरेलु, गैर व्यापारिक, व्यापारिक, औद्योगिक, पानी वितरण, सिँचाइ, सडक बत्ती, अस्थायी, यातायात, मन्दिर, गैर घरेलु, मनोरञ्जन, सामुदायिक वितरण र निर्यातका विभिन्न शुल्क तय गरेको छ । सवारी साधनले प्रयोग गर्ने पेट्रोलियम पदार्थमा मात्रै ठूलो मात्रामा आर्थिक स्रोत विदेशिएकाले त्यसलाई रोक्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढवा दिन लागिएको हो । प्राधिकरण आफैंले काठमाडौँं राजधानी र प्रमुख राजमार्गमा ५० चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र गरिसकेको छ । निजी क्षेत्रबाट पनि हालसम्म ६० वटा चार्जिङ स्टेशन निर्माण भइसकेका छन् । महसुल स्वीकृत नहुँदा निजी क्षेत्रका त्यस्ता स्टेशन व्यावसायिक रूपमा सञ्चालनमा आउन सकेका थिएनन् । प्राधिकरणको प्रस्तावलाई आयोगले स्वीकृत गरेर लागू गरेपछि विद्युतीय सवारी साधनको प्रयोग बढ्ने विश्वास लिइएको छ । रासस
कोरोना सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प, सङ्कटमा होटल व्यवसायी
बनेपा । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी सङ्कटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला पर्यटकको चहलपहल स्वाट्टै घटेको छ । पर्यटकहरुको आगमन घटेपछि व्यवसाय घटेको धुलिखेल नगरपालिका–८ स्थित होटल सारथीका प्रबन्धक अनिल गोर्खालीले बताए । उनका अनुसार अनलाइन र ट्राभल एजेन्सी व्यवसायबाट सञ्चालन भइरहेको होटल धेरै सङ्कटमा परेको छ । “कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको कारण सतर्कता अपनाउन सरकारले सचेत गराएसँगै बुकिङ गरेकाले रद्द गरिरहेका छन्”, उनले भने, “लगभग ८० प्रतिशत बुकिङ रद्द भइसकेको छ ।” त्यससँगै सरकारले ठूलाठूला कार्यक्रम, सभा, गोष्ठी र ठूला जमघटका कार्यक्रम नगर्न आग्रह गरेसँगै सरकारी, गैरसरकारी सङ्घसंस्थाबाट आउने कार्यक्रमसमेत रद्द भइरहेको उनले बताए । पर्यटन प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० चलिरहेकै बेलामा यसरी कोरोनाको सन्त्रास फलिएसँगै होटल व्यवसायमा ठूलो समस्या निम्तेको उनको भनाइ छ । झन पछिल्लो समयमा सरकारले विभिन्न देशका अनअराइभल भिसा बन्द गरेपछि होटल व्यवसाय थप सङ्कटमा परिरहेको उनले बताए । यस्तै अवस्था पछिसम्म रहेको खण्डमा कर्मचारीलाई नै व्यवस्थापन गर्न समस्या आउन नसक्ने उनको भनाइ छ । धुलिखेल नगरपालिका–३ धुलिखेलमा रहेको मिरावेल रिसोर्टका विष्णुगोपाल राजथलाले कोरोना भाइरसको सन्त्रासका कारण होटल पर्यटन व्यवसायमा धेरै असर पारेको बताए । ट्राभल एजेन्सिमार्फत चीन, जापान, जर्मनी, फ्रान्स, इटालीलगायतका देशबाट आउने पाहुना सबैजसो रद्द भइसकेको उनले उल्लेख गरे । “देशभित्रकै विभिन्न सङ्घसंस्थाबाट आउने सेमिनार, दिवा सेमिनारलगायत कार्यक्रमसमेत रद्द भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिलाको तुलनामा ४५ प्रतिशत घटेको छ ।” अहिले पर्यटकका लागि मुख्य समय फेब्रुअरी, मार्च, अप्रिल र मे महिना धेरै उपयुक्त भएको अवस्थामा नै कोरोनाको सन्त्रासले आगमन ठप्प भएपछि समस्यामा पर्दै आएको व्यवसायी बताउँछन् । क्षेत्रीय होटल एशोसिएन नेपालका उपाध्यक्ष तथा मिरावेल होटलका सञ्चालक भोला थापाले द्वन्द्वको लामो समय दलदलमा परेको होटल व्यवसाय पछिल्लो समयमा केही राम्रो हुँदै आएकामा अहिले फेरि कोरोना भाइरसको सन्त्रासले थप मारमा परेको बताए । “सरकारले नेपाल भ्रमण वर्ष २०२० को अवधारणा ल्याएपछि अब चाहिँ केही होला कि भनेर उत्साहका साथ होटल व्यवसायलाई थप व्यवस्थित गर्दै लगिरहेका अवस्थामा रहेकै बेला यो सन्त्रासले अर्को सङ्कट नित्याएको छ”, थापाले भने, “धेरै लगानी गरेर व्यवसायलाई आगाडि बढाए तर यो सन्त्रासले गर्दा ठूलो मारमा परेको छ ।” सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलेको भए पनि अहिले कोरोनाको उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले सचेत गराएपछि अब लिएको ऋणको ब्याज कसरी तिर्ने भन्ने चिन्तामा होटल व्यवसायी रहेको उनले बताए । “कर्मचारीलाई तलबसमेत खुवाउन समस्या उब्जिरहेका बेलामा झन् ब्याज कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ”, उनले भने, “यसले अझै लामो समय लिएको खण्डमा होटल व्यवसायीलाई थप समस्या हुनसक्छ त्यसैले सरकारले ऋणको ब्याज तिर्ने अवस्थालाई कम गर्न आवश्यक छ ।” क्षेत्रीय होटल एशोसिएन नेपालका सचिव तथा होटल माउन्ट प्रिन्सेजका सञ्चालक ज्योत्सना सैँजुले ८० देखि ९० प्रतिशत बुकिङ रद्द भइसकेको बताए । कोरोना प्रभावका कारण एकातिर कर्मचारीलाई तबल ख्वाउन समस्या र अर्कोतिर लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले व्यवसायीलाई सताउन थालेको उनको भनाइ छ । उनका अनुसार काभ्रेपलाञ्चोकको धुलिखेलमा मात्रै साना ठूला गरी ७० वटा होटल सञ्चालन भइरहेका छन् । त्यस्तै अर्को पर्यटकीय गन्तव्य नगरकोटमा कोरोना भाइरस सन्त्रासका कारण होटलमा पर्यटकको आगमन घट्दै गएको जनाइएको छ । नगरकोट नालदुम पर्यटन विकास समितिका प्रवक्ता रोहित मोक्तानका अनुसार नगरकोटमा आउने स्वदेशी तथा विदेशी पर्यटकको आगमन स्वाट्टै घटेको छ । “अहिले पछिल्लो समयमा शुक्रबार र शनिबार आन्तरिक पर्यटक आउनेबाहेक विदेशी पर्यटक ठप्प जस्तै भएको छ”, उनले भने, “पहिला नै बुकिङ गरेका जापानी र भारतीय पर्यटकबाहेक अरु ठप्प छन् ।” सन् २०२० का लागि लामो समयदेखि बुकिङमा रहेका होटल अहिले धमाधम रद्द गरिरहेका कारण होटल व्यवसायीले ठूलो समस्या झेलिरहेको होटल व्यवसायी बताउँछन् । सन्त्रासका कारण जिल्लाका सबैजसो पर्यटकीयस्थलमा रहेका होटल, रिसोर्ट तथा रेस्टुराँ सुनसान बन्दै गएका छन् । रासस
भरतपुरमा फेला परे दादुराका २३ बिरामी
भरतपुर । चितवनमा दादुरा–रुबेला रोग देखा पर्न थालेको छ । दुई वर्षअघि दादुराका बिरामी शून्य रहेको जिल्लामा पछिला वर्षमा २३ जनामा दादुराका बिरामी फेला परेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सन् २०१९ मा १९ र २०२० मा चार जनामा दादुरा देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तथा वरिष्ठ स्वास्थ्य अधिकृत दीपकप्रसाद तिवारीका अनुसार सन् २०१७ र २०१८ मा दादुरा–रुबेलाका बिरामी शून्य थिए । २०१९ मा ५२ जनामा परीक्षण गरेकामा १९ र २० मा आठजनामा परीक्षण गरेकामा चारवटा केसमा पोजेटिभ आएको उनले बताए । तराईका विभिन्न जिल्लाबाट आएर काठ, तरकारी र इँटाभट्टामा काम गर्र्दै आएका अभिभावकका बालबालिकालाई दादुरा देखिएको उनले जानकारी दिए । दादुरा–रुबेला खोप लगाउन ढिला भएका कारण पनि पछिल्लो समयमा यसका बिरामी देखा पर्न लागेको तिवारीको भनाइ छ । अन्तिम पटक चितवनमा आर्थिक वर्ष २०७१/७२ सालमा खोप अभियान सञ्चालन गरिएको थियो । भूकम्प र कर्मचारी समायोजनका कारण नेपाल सरकारले खोप अभियान सञ्चालन गर्न ढिला भएको उनले बताए । प्रत्येक चार वर्षमा दादुरा रोगको खोप लगाउनुपर्ने हुन्छ । यो रोग पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई लाग्ने गर्दछ । यसैबीच चितवनमा दादुरा–रुबेला विरुद्धको खोप अभियान दुई चरणमा हुने भएको छ । स्वास्थ्य कार्यालय चितवनले चैत २ गतेदेखि जिल्लाका पाँच स्थानीय तह र १० देखि दुई स्थानीय तहमा खोप अभियान शुरु गर्न लागेको हो । चार वर्षपछि शुरु गर्न लागिएको खोप अभियान जिल्लामा दुई चरणमा सञ्चालन गरिने छ । पहिलो चरणअन्तर्गत चैत २ देखि ७ गतेसम्म भरतपुर महानगरपालिका, रत्ननगर, माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए । त्यस्तै दोस्रो चरणमा चैत १० देखि १८ गतेसम्म राप्ती र खैरहनी नगरपालिकामा खोप सञ्चालन गरिनेछ । यस अभियानमा नौ महिनादेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्धको खोप लगाइने भएकाले आफ्ना बालबालिकालाई नजीकको खोप केन्द्रमा लगेर खोप लागाउन अभिभावकलाई स्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ । यसपटक चितवनका ५८ हजार ९८३ जना बालबालिकालाई खोप लगाउने कार्यालयको लक्ष्य छ । खोप अभियान सम्पन्न गर्न ५६८ केन्द्रमा एक हजार १३६ स्वयम्सेवक र १३२ खोप कार्यकर्ता खटिनेछन् । खोप अभियानमा खोप तथा कोल्डचेन, शैक्षिक सामग्री आपूर्ति तथा वितरण गरिनेछ । चितवनका सात स्थानीय तहमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा खोपकर्ता र स्वयम्सेवक खटिनेछन् । भरतपुर महानगरपालिकाका २५९ खोप केन्द्रमा ४० खोपकर्ता र ५१८ स्वयम्सेवक खटाइने कार्यालयले जनाएको छ । रत्ननगर नगरपालिकाका ६३ खोप केन्द्रमा १६ खोपकर्ता र १२६ स्वयम्सेवक, कालिका नगरपालिकाका ४२ केन्द्रमा आठ खोपकर्ता र ८४ स्वयम्सेवक, खैरहनीका ५२ केन्द्रमा १३ खोपकर्ता र १०४ स्वयम्सेवक, राप्तीका ६७ केन्द्रमा १५ खोपकर्ता र १३४ स्वयम्सेवक, माडीका ४४ केन्द्रमा २८ खोपकर्ता र ८८ स्वयम्सेवक तथा इच्छाकामना गाउँपालिकामा ४१ केन्द्रमा १२ खोपकर्ता ८२ स्वयम्सेवक खटिनेछन् । दाजुराको खोप ७५ प्रतिशतसम्म प्रभावकारी भएको कार्यालय प्रमुख तिवारीले बताए । नेपाल सरकारले नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क खोप दिने गर्दछ । खोप लगाएमा ७५ प्रतिशतसम्म प्रभावकारी हुने बताइएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेको छ । हाल विश्वमा दादुराबाट हुने मृत्युदर भने ६६ प्रतिशतले घटेको भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ चिकित्सक युवानिधि बसौलाले जानकारी दिए । नेपालमा सन् २००३ देखि दादुरा–रुबेलाको देशव्यापी सर्भिलेन्स शुरु भएको हो । नेपालमा खोप अभियान भएको दुईदेखि पाँच वर्षपछि दादुरा रोगीहरु बढ्ने गरेको उनले बताए । नेपालमा सन् २०१९ मा ३६६ जनामा दादुरा रोग देखापरेको उनको भनाइ थियो । रासस