विकासन्युज

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो (मूल्य सुचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। साेमबार निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हाे । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ। घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र मट्टितेलमा २ रुपैयाँ घटेको छ।  अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाइएको छ। नयाँ मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ। मूल्य समायोजनपछि अब बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोबाट १५ किलोमिटर दुरीसम्म ढुवानी हुने पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यस्तै पोखरा र दाङ डिपोबाट १५ किलोमिटर दुरीसम्मको १०५ रुपैयाँ ५० पैसा कायम भएको छ। थानकोट, सुर्खेत र दिपायल डिपोमार्फत ढुवानी हुने पेट्रोलको मूल्य १०६ रुपैयाँ कायम भएको छ। बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोमार्फत १५ किलोमिटर दुरीसम्म डिजेल र मट्टितेलको मूल्य ९३ रुपैयाँ ५० पैसा कायम भएको छ।  सोही दुरीमा पोखरा र दाङ डिपोमार्फत जाने मट्टितेल र डिजेलको खुद्रा मूल्य ९४ रुपैयाँ ५० पैसा तोकिएको छ। थानकोट, सुर्खेत र दिपायलमार्फत ढुवानी हुने डिजेल, मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।

मोटरहेडको नयाँ शोरुम सुनसरीको इटहरीमा

काठमाडाैं । नेपालका लागि मोटरहेड मोटरसाइकल कम्पनीको आधिकारीक बिक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रा. लि. ले सुनसरीको इटहरीमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमकाे उद्घाटनका प्रमूख अतिथि इटहरीका समाजसेवी सोनु ज्यन्ती र मोटरहेड मोटरसाइकल ब्राण्डका मार्केटिङ्ग म्यानेजर साइमन रसाइलीले संयुक्त रूपमा गरेका हुन् । कम्पनीले इटहरीका व्यावसायी इन्द्र पौडेलको स्वामित्वमा रहेको पौडेल ट्रेडर्स डिलरसीपमा मोटरहेड कम्पनीको सम्पूर्ण ६ ओटै मोडेलहरु उपलब्ध गराएको छ । हाल उक्त शोरुममा मोटरहेडका १५० सीसी देखि लिएर २५० सीसी सम्मका मोटरसाइकलहरु उपलब्ध रहेको पौडेल ट्रेडर्सका सञ्चालक इन्द्र पौडेलले जानकारी दिए । मोटरहेडले आफ्ना मोटरसाइकलहरु नेपाली भौगोलिक बनावटप्रति लक्षित गरेको छ भने ग्राहकहरुले पनि न्यूनतम मूल्यमा डर्ट मोटरसाइकल चढ्ने आफ्नो सपनालाई पूरा गर्न सकेका छन् ।

कामना सेवा विकास बैंकको १२३औं शाखा ललितपुरको ग्वार्कोमा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १२३औं शाखा ललितपुरको ग्वार्कोमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । साथै, यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने उनले जानकारी दिए । बैंकले हाल १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंक अफ काठमाण्डूले मनायो २५औं वार्षिकोत्सव

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरुको कार्यबिधी बनाई सञ्चालन गर्दै आईरहेको छ । जस अन्तर्गत बैंकको प्रधान कार्यालय सहित सम्पूर्ण शाखा कार्यालयहरुमा उत्सव स्वरुप सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइएको हो । हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

कुमारी बैंकको ग्राहकलाई हेरिटेज होटेलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंकका ग्राहकले हेरिटेज होटेल प्राइभेट लिमिटेडको सेवा सुविधामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई कम्पनीबीच सोमबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यससँगै कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले होटलका विशेष सेवाहरुमा विशेष छुट पाउने छन् । उनीहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत, खानपानमा र स्पा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट पाउने छन् । बैंकले हाल १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ । साथै, बैंकले आगामी दिनहरुमा अझ सुलभदायी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

बजाजको नयाँ शोरुम प्यूठानमा, थ्रीएस सुविधा दिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले प्यूठानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘न्यू विज्ञान सप्लायर्स’ को उद्घाटन गरेको छ । अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको हो । यस उद्देश्यलाई सार्थक बनाउन न्यू विज्ञान सप्लायर्स, प्यूठानका प्रोपराइटर सुशील कर्माचार्यलाई डिलरसीप प्रदान गरिएको छ । ग्राहकहरुलाई खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न प्रतिबद्धताका साथ बजाजले गुणस्तरीय र छिटो सुविधा सुनिश्चित गर्दछ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भने- ‘हामी प्यूठानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । प्यूठानमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’ शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।

सिटिजन्स बैंकद्वारा आसमानलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आसमान नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सोमबार एक कार्यक्रमकाबीच आसमानलाई उक्त रुपैयाँको चेक हस्तान्तरण हो । संस्थाले उक्त आर्थिक सहयोग पिछडिएका विद्यार्थीहरुको उत्थनमा प्रयोग गर्ने जनाएको छ । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन “आसमान” ले करिव २९ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ । यस प्रकारको सहयोगबाट महिला तथा बालबालिकाको सशक्तिकरण, सबलिकरण तथा चौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याँउदै आएको यस बैंकले निः स्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

होटल व्यवसायीले एक महिनामै गुमाए २ अर्ब, हेलिकोप्टर व्यवसाय पनि ९० प्रतिशतले खस्कियाे

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण नेपाली होटलहरुले ठूलो नोक्सान बेहोर्नु परेको छ । नेपाली होटल तथा रेष्टुरेन्टले एक महिनामै करिब २ अर्ब रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको बताइएकाे हाे । होटल संघ नेपालका अनुसार होटल तथा रेष्टुरेन्टले अहिले मासिक १ अर्ब ८० करोड रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको छ । होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटल व्यवसायीहरुले काेराेनाकाे कोरोना भाइरसको कारण नेपाली होटल तथा रेष्टुरेन्टहरुले धेरै नोक्सान व्यहोर्नु परेको बताइन् । उनले व्यवसायीहरुले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको बताइन् । ‘अहिले बैंक कर्जा करिब एक अर्ब रहेको छ, होटलको अकुपेन्सी रेट १० प्रतिशतमा झरेकाे छ, हामी बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा छाै,’ उनले भनिन् । सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेकाे छ । नेपालमा कोरोना भाइरसको संक्रमण नदखिएपनि पर्यटन क्षेत्रमा समस्या देखा परेको गुनासो पर्यटन व्यवसायीहरुले गरेपछि सरकारले समस्याहरु स्पस्टसँग राख्न आग्रह गरेकाे हाे। उनले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन आग्रह गरेकाे हाे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा‍. धनन्जय रेग्मीले धेरैजसो एयरलाइन्सले उडान रद्ध गरेको र एयर टिकेटहरु समेत रिफण्ड गर्नुपर्ने अवस्था आएको बताए । उनले पर्यटन व्यवसायीहरुले तिर्नुपर्ने करमा ५० प्रतिशत छुट दिन अथवा करमा लाग्ने जरिवाना नलगाइदिन पहल गर्न बोर्डलाई आग्रह गरिरहेको बताए । वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले तीन क्याटागोरीको एयरलाइन्स रहेकोमा सबैभन्दा बढी हेलिकोप्टर व्यवसायको बिजनेस घटेको बताए । उनले हेलिकोप्टर व्यवसायमा ९० प्रतिशत, सर्ट टेकअफ स्टलमा ६० प्रतिशत र ट्रंकरुटमा २० प्रतिशत सम्मको बिजनेस घटेको बताए । नोभल कोरोना भाइरसको संक्रमण विश्वभर फेलिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ । व्यवसायीहरुले छोटो सयमा देखिएको संकटले व्यवसायिक क्षेत्रमा एक दुई वर्षसम्म असर पार्न सक्ने भन्दै सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । हाल विदेशीले बुकिङ गरेका होटलहरुका पनि धमाधम रद्द हुन थालेका छन् । विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिरहँदा विदेशी पर्यटकहरु पनि नेपाल आउन छोडेका छन् । अहिले नेपालको होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । यही अवस्था रहे नेपालको पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको अर्थतन्त्र नै चौपट हुने देखिन्छ ।  होटल व्यवसायी संघका महासचिव साजन शाक्यले बुकिङ भइसकेका होटलहरुको करिब ९९ प्रतिशत बुकिङ रद्द भइसेको बताए । उनले होटलमा विदेशी ग्राहकको आगमन धेरै घटेको बताए । यो वर्षको फेब्रअरी सम्म १ लाख ग्राहक आएको बताँदै उनले सबैभन्दा बढी होटल बुकिङ रद्ध युरोपियन अमेरिकन र भारतीय ग्राहकबाट भएको विकासन्यूजलाई जानकारी दिए । शाक्यका अनुसार चिनियाँमात्र नभएर अन्य युरोपेली मुलुकबाट समेत पर्यटक नेपाल आउन छाडेका छन् । यही अवस्था रहे नेपालको पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको होटल व्यवसाय नै चौपट हुने उनी बताउँछन् । पर्यटन व्यवसाय सुधारका लागि अहिले सार्क राष्ट्रहरुमा केन्द्रित हुने नीति लिइएको छ । अहिलेको हवाई भाडामा समेत सहुलियत दिएर पर्यटक आकर्षित गर्ने रणनीति बनाइदैँ छ । त्यसका लागि अहिले सम्बद्ध निकायहरुबीच छलफल चलिरहेको छ ।