इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने सरकारकाे घोषणा
काठमाडाैं । सरकारले इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषको बैठकले सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी क्षेत्रका सेवा प्रदायकबाट समेत यो छुट लागू हुने व्यवस्था मिलाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले इन्टरनेट तथा मोबाइल डेटाको मूल्यमा लकडाउन अवधिभर २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए।
सरकारकाे राहत प्याकेजः खाद्यान्नमा छुटदेखि टेलिफोन, इन्टरनेट र बिद्युत महसुल कम गर्नेसम्म
काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले विभिन्न प्याेकजहरू घाेषणा गरेकाे हाे । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णयहरू सुनाउँदै सरकारले विभन्न प्याकेजहरू ल्याएकाे बताए । उनले विद्युतमा एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यस्तै, सरकारले सामाजिक सुरक्षा काेषमा सहभागी भएका श्रमिकहरूकाे चैतभरिकाे रकम सरकारले तिर्ने भएकाे छ । यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । सरकारले स्वास्थ्यकर्मीहरूलाइ २५ लाख बीमा गरिदिने बताइएकाे छ । विद्युत खानेपानी र इन्टरनेटको फागुन र चैत महिनाको महशुल २०७७ बैशाख मसान्तमा बुझाएमा विलम्ब र अरु जरिवाना नलिने निर्णय गरेको छ । यस्तै टेलिफोन सेवा कम्पनीले लकडाउन अवधीधिमा डाटा तथा इन्टरनेटमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको डा खतिवडाले जानकारी दिए ।
सामाजिक सुरक्षा कोषमा गएका योगदानकर्ताको चैतको रकम सरकारले तिर्ने
काठमाडौं । सामाजिक सुरक्षा कोषमा गएका श्रमिकको चैतको रकम सरकारले तिर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्काे बैठकले श्रमिककाे चैतको रकम तिर्ने निर्णय गरेको हो । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले अहिले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएका हुन् । सामाजिक सुरक्षा काेषमा सहभागी भएका श्रमिकहरूले चैतकाे रकम काेषमा जम्मा गर्नु नपर्ने उनले बताए । काेषमा राेजगारदाताले जम्मा गर्नु पर्ने रकम पनि सरकारले जम्मा गरिदिने अर्थमन्त्रीले जानकारी दिएका छन् । लकडाउनका कारण रोजगारदाता र योगदानकर्ता दुवैको ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सरकारले उनीहरुको एक महिना बराबरको ३१ प्रतिशत रकम कोषमा जम्मा गरिदिन लागेको उनले जानकारी दिए । कोषमा हाल श्रमिकको पारिश्रमिकको २० प्रतिशत रोजगारदाताको तर्फबाट र कर्मचारीको तर्फबाट ११ गरी ३१ प्रतिशत रकम जम्मा हुँदै आएको छ । हाल सामाजिक सुरक्षा कोषमा १२ हजार ३ सय १५ रोजगारदाता र १ लाख ५३ हजार २ सय ७० योगदानकर्ता आबद्ध छन् । उनीहरूबाट हालसम्म कुल ८६ करोड ९९ लाख रुपैयाँ रकम संकलन भइसकेको सामाजिक सुरक्षा कोषले जनाएको छ । सरकारले याे लगायत धेरै प्याकेजकाे घाेषणा गरेकाे छ । सरकारले इन्टरनेटमा २५ प्रतिशत छुट दिएकाे छ । एक महिनाकाे घर वहाल कर छुट दिन सरकारले घरधनीलाइ अनुराेध गरेकाे छ ।
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो दुईवटा अनलाइन सेवा, कसरी लिने ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘म्याच्युरिटी क्लेम’ र ‘क्लेम इन्टिमेसन’ नामक दुईवटा अनलाइन सेवा संचालनमा ल्याएको छ । कम्पनीले लकडाउनको अवधिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो । जसमध्ये ‘म्याच्युरिटी क्लेम’ सेवा मार्फत आफ्ना बीमितहरुले बीमालेख म्याच्युरिटी हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा म्याच्युरिटीको समय पुगेका बीमितहरुले आफ्नाे बीमा लेखको म्याच्युरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याच्युरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ । त्यसैगरी ‘क्लेम इन्टिमेसन’ सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाडि बढाउनेछन् । नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नाे अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ । जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा ‘भरच्युअल अफिस’को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् । यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । कसरी लिने म्याच्युरिटी क्लेम र क्लेम इन्टिमेसन सेवा ? सेवाग्राहीहरुले म्याच्युरिटी क्लेम र क्लेम इन्टिमेसन सेवा लिनकाे लागि यसमा क्लिक गर्न सक्नेछन् । साथै, उक्त सेवा लिने ट्युटोरियलको लागि यसमा क्लिक गर्न सकिने छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवा, प्रभु पे र नेपाल इन्भेष्टमेन्ट बैंक मार्फत अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ । साथै, यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।
भिसा लागेर पनि विदेश जान पाइएन ? यही व्यवसाय गर्ने हो भने अब ७ दिनमै पाइन्छ सस्तो व्याजमा ऋण
काठमाडौं । विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण अधिकांश देशको अर्थव्यवस्था शिथिल भएको छ । नेपालीको रोजगारीको प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारी पनि कोभिड १९ संक्रमण र सन्त्रासले शिथिल हुने देखिएको छ । नेपालीका प्रमुख वैदेशिक रोजगार गन्तव्य मलेशिया, खाडी राष्ट्र जस्ता देशमा अहिले कामको लागि जानै नपाइने भएको छ । कोभिड १९ संक्रमणको कारण केही नेपालीले वैदेशिक रोजगारीको लागि भिसा पाएर पनि जान पाएका छैनन् । यस्ता नेपालीलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले विशेष कार्यक्रम ल्याउने भएको छ । एकातिर वैदेशिक रोजगारी गुमेको र नेपालमै उद्यमशीलता प्रबद्र्धन गर्नुपर्ने आवश्यकता रहेकोले विशेष कार्यक्रम ल्याउन लागिएको राष्ट्र बैंकको भनाइ छ । वैदेशिक रोजगारीको लागि भिसा लागेर पनि जान रोकिएकाहरुलाई व्याज अनुदान दिएर ७ दिनभित्रमा ऋण उपलब्ध हुने व्यवस्था राष्ट्र बैंकले मिलाउन लागेको छ । ‘वैदेशिक रोजगारमा जाने अनुमति लिइ जान नपाएका व्यक्तिले संक्रमणको जोखिम समाप्त भएपछि सहुलियतपूर्ण कर्जा लिइ उद्योग व्यवसाय संचालन गर्न चाहेमा निवेदन दिएको ७ दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ राष्ट्र बैंकले सर्कुलर जारी गर्दै भनेको छ । राष्ट्र बैंकले अहिले भूकम्प पीडित, वैदेशिक रोजागरीमा गएर फर्केका व्यक्ति, महिला, परम्परागत शीप तथा क्षमता भएका जस्ता समुहलाई लक्षित गरेर ५ प्रतिशत व्याज अनुदानमा ऋण प्रदान हुने व्यवस्था मिलाइरहेको छ । सो व्यवस्था अनुसार बैंक वित्तीय संस्थाले सम्बन्धित व्यक्तिलाई आफ्नो आधार दरमा २ प्रतिशत मात्रै व्याज लिनेगरी कर्जा दिनुपर्ने र सो व्याजको ५ प्रतिशत सरकारले अनुदान दिने व्यवस्था मिलाइएको छ । यसरी कर्जा लिदा कुनै बैंकको आधार दर १० प्रतिशत छ भने सो बैंकले २ प्रतिशत व्याज थप गरेर १२ प्रतिशत व्याज कायम हुन्छ । सो १२ प्रतिशतमा सरकारले ५ प्रतिशत अनुदान दिँदा सम्बन्धित ऋणीले ७ प्रतिशत मात्रै व्याज तिरे हुने कार्यक्रम अहिले पनि संचालनमा छ । राष्ट्र बैंकले अहिले कामका लागि विदेश जाने भिसा लागेर पनि जान नपाएका व्यक्तिहरुका लागि यस्तै कार्यक्रम ल्याउन लागेको हो । सम्बन्धित सामग्री कोरोना संकटपछि राष्ट्र बैंकको यस्तो आयो १९ बुँदे प्याकेज (सर्कुलरसहित)
कोरोना संकटपछि राष्ट्र बैंकको यस्तो आयो १९ बुँदे प्याकेज (सर्कुलरसहित)
काठमाडौं । विश्वभर सन्त्रास र संक्रमण फैलाइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाली अर्थतन्त्रमा परेको असर न्यूनिकरण र सम्बोधनको लागि नेपाल राष्ट्र बैंकले १९ बुँदे प्याकेज ल्याएको छ । राष्ट्र बैंकले आजै सर्कुलर जारी गरेर प्याकेज ल्याएको हो । सो प्याकेजमा बैंकबाट ऋण लिएका व्यक्तिहरुले ऋणको किस्ता आगामी असार मसान्तभित्र तिरे हुने भएको छ । ‘२०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिक/त्रयमासिक किस्ताहरुको (क्रेडिट कार्डसमेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनु पर्नेछ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु पर्ने छैन,’ राष्ट्र बैंकको सर्कुलरमा उल्लेख गरिएको छ । यस्तो छ १९ बुँदे सर्कुलर [pdf id=204225]
भाटभटेनी समूहले प्रत्येक प्रदेशमा २५/२५ लाख सहयोग गर्ने
काठमाडौं । भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोना विरोधी अभियानका लागि २५/२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । ७ वटै प्रदेशमा गरि १ करोड ७५ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्ने भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले गरेका हुन । समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५/२५ लाख रुपैयाँ आर्थिक सहयोग बताएका हुन । भाटभटेनी समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । भाटभटेनी समूहले विपत्तिको अवस्थामा सरकार तथा पीडितलाई निरन्तर सहयोग गर्दै आएको छ ।
विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने
काठमाडाैं । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो । भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । “झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ”, उनले भने, “यसबाट अन्य तथ्याङ्क सङ्कलनमा पनि सहज हुनेछ ।” गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ । गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयम्सेविका रहेका छन् । अबको एक हप्ता उनीहरुलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ । अब स्वास्थ्य स्वयम्सेविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए । रासस