राष्ट्रपतिकाे सन्देशः ढुक्क रहनुस्, काेराेनासँगकाे लडाईँ जितिनेछ
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले काेराेना भाइरस (काेभिड १९) सँगकाे लडाईँ जितिने बताएकी छन् । शुक्रबार साँझ विश्वव्यापी काेराेना महामारीका सन्दर्भमा देशवासीका नाममा सन्देश जारी गर्दै उनले काेराेनासँगकाे लडाईँ जित्ने बताएकी हुन् । राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको यस लडाइँमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्नेछ भन्नेमा आफू पूर्णरुपमा विश्वस्त रहेको बताइन। त्यसैले सबैलाई ढुक्क भएर बस्न अनुराेध गरेकी छन् । उनले कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् । उनले कोभिड–१९ कोरोना भाइरसको गम्भीरतालाई मनन् गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी छिन्। जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै सरकारले पूरै देशमा लकडाउन गरेको हो भन्दै उनले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरेकी हुन्। संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण नदेखिएको बरु बाहिरबाट संक्रमित भई आएकाहरुलाई पत्ता लगाएर उपचार गरिएको अवस्था भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको स्पष्ट पारिन। लकडाउनले गर्दा हाम्रो दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भए पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घर बाहिर ननिस्कन पनि राष्ट्रपतिले आह्वान गरिन। ‘आआफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ’, सन्देशमा भनिएको छ ।
भाटभटेनीले भन्याेः पित पत्रकारिता नगर्नुस्, भाडामा बसेको संस्थासँग हामीलाई जाेड्न मिल्दैन
काठमाडाैं । भाटभटेनी सुपरस्टोर्सले सञ्चार माध्यमलाई पित पत्रकारिता नगर्न आग्रह गरेको छ । कुनै एक कम्पनीले ल्याएको स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा अहिले मिडियामा समाचार प्रकाशित भएको र यस सन्दर्भमा भाटभटेनी समूहको नाम पनि अनर्गल तवरले जोडिएकोले यस्ताे नगर्न आग्रह गरेको हाे । अहिले विवादमा रहेको कम्पनी ओम्नी समूहको कार्यालय पुल्चोकस्थित भाटभटेनीको माथिल्लो तल्लामा रहेको र उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउँदै आएकाेले भाडामा बस्ने संस्थासँग आफ्नाे नाम नजाेड्न आग्रह गरेकाे छ । आज एक विज्ञप्ती जारी गर्दै उसले संसारभर फैलिएको र हाम्रो देशमा पनि आइपरेको कोभिड-१९को समस्यामा जुध्नका लागि भाटभटेनी समूहले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको समेत बताएकाे छ । संस्थाले देशलाई कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा एक करोड रूपैयाँको आर्थिक सहयोग प्रदान गरिसकेको बताएकाे छ । यस्तै सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रतिप्रदेश २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा पनि गरिसकेको बताएकाे छ ।
अष्ट्रेलियाका प्रधानमन्त्रीले भनेः विदेशी नागरिक स्वदेश फर्कनुहोस्’
काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थी र घुम्न आएका मानिसहरुले स्वदेश फर्कने समय आएको बताएका छन् । कोरोनाले संसारभर तहल्का मच्चाइरहेको बेला अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यस्तो भनेका हुन् । यो महामारीकाे बेला आफ्नाे खर्चहरु धान्न नसक्नेहरुलाई मोरिसले देश फर्कन भनेका हुन् । शुक्रबारको राष्ट्रिय क्याबिनेटसँगको भेटपछि मोरिसनले यस्तो भनेका हुन् । अष्ट्रेलियाले पहिला आफ्नो नागरिकलाई ध्यानमा राखेर उनीहरुलाई सक्दो आर्थिक सहयोगमा केन्द्रित हुने बताएका छन् । यद्यपी, डाक्टर, नर्स मह्त्वपूर्ण सिप भएका अन्तर्राष्ट्रिय नागरिकहरु भने बस्न सक्ने उनकाे भनाइ छ । अष्ट्रेलियामा ५ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन् । उनीहरु धेरै जसोले महामारीको क्रममा आफ्नो जागिर गुमाइसकेका छन्।
कोरोनासँग जुध्न परिसंघको सहयोग जारी, ५ नं प्रदेशलाई राहत वितरण
काठमाडाैं । नेपाल उद्योग परिसंघ सरकारसंग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न लागि परेको छ । शुक्रबार एक कार्यक्रममा ‘प्रदेश नं ५ उद्योग परिसंघ’का संयोजक एजाज आलमले पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई राहत सामाग्री उपलब्ध गराएका छन् । त्यस्तै आजै परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा उपाध्यक्ष शुलभ अग्रवालले ललीतपुर महानगर पालिका वडा नं १२ का वडा अध्यक्ष नारायण अवालेलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् । दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको हो । नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको छ ।
कामना सेवाले धनगढी उप-महानगरपालिकालाई दियो १ लाख बराबरको खाद्यान्न सामग्री
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चैत २० गते धनगढी उप-महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले धनगढी उप-महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी १ लाख रुपैयाँ बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो । बैंकका धनगढी शाखा प्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप-महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप-प्रमुख सुशीला मिश्र भट्ट मार्फत हस्तान्तरण गरेका हुन् । प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति उप-महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिँदै उक्त सामग्री उप-महानगरपालिकाको विपत व्यवस्थापन कोष मार्फत वितरण गरिने बताए । हाल नोबेल कोरोना भाइरस (कोभिड-१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।
चेम्बरद्वारा ट्राफिक प्रहरी महाशाखा र टेकु हस्पिटललाई माक्स र पञ्जा हस्तान्तरण
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ट्राफिक प्रहरी महाशाखा र टेकु हस्पिटललाई २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले शुक्राबार उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । यसका साथै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्वारा टेकु हस्पिटल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) का डाक्टर राजेश शाहलाई १ हजार माक्स पनि हस्तान्तरण गरिएको छ ।
देश लकडाउनमा: कुलमानलाई भने भ्याइनभ्याई
काठमाडौं । जब घरमा झ्याप्प बत्ति निभ्छ अनि राजधानीवासीले कुलमान घिसिङ गयो भन्छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारीको जिम्मेवारी सम्हालेपछि राजधानीको लोडसेडिङको अन्त्य गर्ने लोकप्रिय काम गरेर जनमानसको मन जित्न सफल भएको नाम हो कुलमान घिसिङ । उनी देशलाई विद्युतको आत्मनिर्भर बनाउनको लागि अहोरात्र खटिरहेका छन् । लोडसेडिङको मारमा खेपेर दिक्दार महसुस भएका आम नागरिकहरु अहिले घिसिङको जयजयकार गर्छन् । घिसिङको हरेक गतिविधि र कामप्रति सबैको चासो बढ्दै गएको छ । उनी अहिले एक सेलिब्रेटीका नाममा पनि परिचित छन् । देश अहिले लकडाउनमा छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गइरहेको बेला सरकारले यसको जोखिम कम गर्न लकडाउनको घोषणा गरेको छ । सरकारले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्न निर्देशन गरेसँगै सबै कर्मचारी फुर्सदिला बनेका छन् । तर, कुलमान घिसिङलाई भने यो लकडाउनले झन बढी व्यस्त बनाएको छ । फेरिएन दैनिकी लक डाउनको समयमा कुलमानको दैनिकी कसरी बित्छ ? खाने–पिउने तालिका के छ ? कुन बेला उठ्छन्, कुनबेला सुत्छन् ? घरपरिवार र अफिसलाई कसरी समय दिन्छन् ? याे सबैको चासो र जिज्ञासाको विषय हो । किनभने जनताले उनलाई एक आइडलका रुपमा बुझ्छन् । देशमा भइरहेको लकडाउनले कुलमान घिसिङको दैनिकीलाई खासै फरक नपारेको उनी बताउँछन् । किनभने उनी आफ्नो नियमित कार्य पहिले जस्तै गरिरहन्छन् । उनको पहिले जस्तै अफिस जाने र घर आउने काम रोकिएको छैन । अहिले पनि आफु दिनभर कार्यलयमै व्यस्त हुने उनी बताउँछन् । विकासन्यूजसँगको टेलिफोन वार्तामा उनी भन्छन, ‘कामको चापले गर्दा धेरैजसो समय कार्यालयमा बित्छ, लकडाउनको समयमा घरपरिवारसँग घुम्ने भन्ने कूरा पनि भएन, तर पहिलेकोभन्दा परिवारलाई अलि बढी समय दिने गरेको छु ।’ कुलमानको एकदिन कुलमान बिहानै पाँच बजे उठ्छन् । एक लिटर मनतातो पानी पिउँछन्, बाथरुम जान्छन्, फ्रेस हुन्छन् । शरीर हल्का भएपछि व्यायाम गर्छन् । केही आसनको योगाभ्यास गर्छन् । लकडाउन हुनुभन्दा पहिले योगाभ्यास अलि कम गर्थे । अहिले अलि बढी गर्ने गरेको उनी बताउँछन् । त्यसपछि नुहाउँछन् । कालो चिया पिउँदै आज दिउसो के गर्ने भनेर बिहानै टाइमटेवल बनाउँछन् । देशमा लकडाउन भएको बेला कोही पुस्तक पढ्ने, कोही घर परिवारसँग टाइमपास गरेका भिडियोहरु पछिल्लो समय सामाजिक सञ्जालमा आइरहेका छन् । तर, उनी भने पहिले जसरी नै काम गरिरहेको बताउँछन् । बिहान दश नबज्दै अफिस पुग्छन् । बेलुका पाँच बज्दा पनि उनी कार्यालयकै काममा व्यस्त हुन्छन् । जबसम्म उनी आफुले गर्न लागेको काम सकाउँदैनन् त्यतिसम्म आफ्नो सिटबाट हलचल गर्दैनन् । बरु उनलाई आजभोली भेट्न आउने मान्छेको कमि भएको छ । त्यो समयमा अफिसमा बसेर नीति नियमका काम बनाउने तथा टुङ्ग्याउने गरेको उनी बताउँछन् । दिनभरको कामको धपेडी र थकानसँगै उनी १० बजे नै सुति हाल्छन् । लकडाउनले आफ्नो दैनिकीमा असर नपारेको उनी बताउँछन् । कर्मचारी अनलाइनबाटै काम गर्दै कुलमान घिसिङ एक असल व्यवस्थापक भनेर पनि चिनिन्छन् । अहिले कोरोनाको त्रास र सरकारले लकडाउन घोषणा गरेसँगै प्राधिकरणका कर्मचारीहरुले घरमा बसी अनलाइनबाटै काम गरिरहेको उनी बताउँछन् । ‘अफिसमा आवश्यक काम पर्यो भने जो आवश्य छ उसैलाई बोलाइन्छ, नभए उनीहरु अहिले घरबाटै काम गरिरहेका छन्, कुनै ठाउँ लाइन गयो वा तार काटियो भने नो लाइटका साथीहरु हुनुहुन्छ,’ उनले भने । सबै कर्मचारीहरु मिलेर देशभरको विद्युत आपुर्ति सहज बनाउने काममा जुटिरहेकाे उनको भनाइ छ । सबैलाई अफिस आउन बाध्यात्मक नभएको उनले बताए । प्राधिकरणले यस अघि गर्ने काम कुनै पनि नरोकिएको उनले बताए । पहिले जुन–जुन ठाउँमा काम भइरहेको थियो त्यो नियमित नै भइरहेको उनको भनाइ छ । आफुले पनि सबै कर्मचारीहरुसँग समन्वय गरेर आफुले पहिले गर्न नभ्याएका कामहरु गरिरहेको उनले बताए । बिहान बेलुका पढ्नेदेखि परिवारलाई समय दिने र अफिसको काम नरोकिने तरिकारले सेडुअल मिलाएर निरन्तर काम गरिरको उनको भनाइ छ ।
सनराइज बैंकले गण्डकी प्रदेश सरकारलाई दियो ५० थान पीपीई
काठमाडौं । सनराइज बैंकले गण्डकी प्रदेश सरकारलाई ५० थान पीपीई( व्यक्तिगत सुरक्षात्मक उपकरण ) हस्तान्तरण गरेको छ । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पुर्याउन गण्डकी प्रादेशिक कार्यालय मार्फत उक्त उपकरण हस्तान्तरण गरेको हो । ५० थान पीपीई मध्ये ५ थान पुनः प्रयोग गर्न मिल्ने बैंकले जनाएको छ । सनराईज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले सामाग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशमा समेत कोरोना भाइरस रोगको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवामा खटीने सबैको सुरक्षाको लागि सनराईज बैंककाे गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त उपकरण गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेशको पर्वत जिल्ला निवासी सनराईज बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पौडेलका अनुुसार यो समयमा पीपीईको सबैभन्दा ठुलो महत्व भएकाले २ हप्ता सम्म पीपीईको खोजी गरी कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई हौषला बढाउन यो सहयोग गरेको बताए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सनराईज बैंक लि.बाट प्राप्त भएको यी सामाग्री नेपाली सेनालाइ ५ थान, नेपाल प्रहरीलाई ५, सशस्त्र प्रहरी बललाई ५ थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरी यो समयमा पिपिई अत्यन्तै उपयोगी सामाग्री भएको बताउँदै सनराईज बैंकलाई धन्यवाद दिएका छन् ।