लकडाउनमा बढ्दो असन्तोष र सरकारले चाल्न नसकेको १५ कदमहरु
भारतमा कोरोनाको लकडाउन प्रारम्भ भएपछि कोरोना राहत कोषमा उधोगपति रतन टाटाले १५ अर्ब दान दिए । पत्रकारले उनीसँग प्रतिक्रिया लिन खोज्दा मेरो देश र जनतालाई बचाउन आवश्यक परे म मेरो सम्पुर्ण श्री सम्पति सरकारलाई दिन तैयार छु भनेको सुन्दा मेरो मनमा उनीप्रति अपार श्रद्धा जागेको थियो । चाईनाबाट कोरोना संक्रमण शुरु भई विभिन्न देशमा फैलिन थालेपछि बिल गेट्स दम्पतिले विश्व स्वास्थ्य संगठनलाई १० करोड डलर दान गरे । विश्व स्वास्थ्य संगठनले चीनलाई सपोर्ट गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै सबै सहयोग बन्द गर्ने घोषणा गरे । सो लगत्तै उनको यो कदमको आलोचना गर्दै गेट्स दम्पतिले पुनः १५ करोड डलर सहयोग गर्ने घोषणा गरे । गेट्स दम्पतिको यो महानताले मलाई उनीहरु प्रति श्रद्धाले नतमस्तक बनायो । संकटको बेला आफ्नो देश र मानवता प्रतिको ठूलो सहयोगको यी उदाहरण पात्र मात्र हुन् । अरु अरु पनि थुप्रै उदाहरणहरु छन् । नेपालमा पनि कोरोनाको सम्भावित संक्रमण रोक्न चैत्र ११ देखि लकडाउन शुरु भयाे । तर लकडाउन पछि श्रृजना हुने बिकराल समस्यालाई सरकारले समयमा आँकलन गर्न सकेन र लकडाउन थप हुँदै गएपछि श्रृजित समस्यालाई उचित ब्यवस्थापन गर्न नसक्दा देश अहिले कहाली लाग्दो त्राहिमामको अवस्थामा पुगेको छ। सर्बत्र हाहाकार, असंतोष र अव्यवस्थित छ। संकटको बेला सकेको जति सरकारलाई सहयोग गर्ने भावनाभन्दा सबै क्षेत्र र नागरिक पनि सरकारसँग राहत माग गर्नमा लागेका छन् । यसलाई उचित ब्यवस्थापन गरिएन भने आर्थिक रुपमा नांगो भए पछि, समयमा उपचार नपाएपछि र खान नपाएर मर्ने स्थिति आएपछि “मर्ता क्या नहि करता” भने झै लुटपाट र नागरिक बिद्रोहको सम्भावना रहन्छ। यसलाई समय मै बुझी सरकार सचेत हुनु पर्छ । लकडाउन भएको तीन हप्ता नाघि सकेको छ। यसकाे नकारात्मक असर सामाजिक र आर्थिक क्षेत्रमा पर्न थाली सक्यो । बिगतमा दुई तिहाईको दम्भ र विभागीय मन्त्रीहरुको शक्ति प्रदर्शनमा धेरै उधोगी व्यवसायीहरु कोपभाजनमा परे । उधोगी व्यवसायी पनि दुधले नुहाएका पक्कै थिएनन् । तर सरकार र व्यवसायी बिचको यहि तिक्तता र अविस्वासको कारण कोरोनाको यत्रो राष्ट्रिय संकटको बेला कुनै पनि उधोगी व्यवसायी रतन टाटा जस्तो सहयोगि भावनाले आएनन, झारो टार्ने पारा मात्र देखाए । देशमा अहिले राष्ट्रिय संकट छ। नेपाली बाचे र अर्थ ब्यवस्था राम्रो भएमा कमाउने हो । अतः ईगो, दम्भ,राजनैतिक आस्था छोडि राष्ट्रिय सहमति कायम गरि सबैले सकेको सहयोग लिने दिने वातावरण बनाउँ । लकडाउन शुरु भए लगत्तै नागरिकलाई आश्वस्त पार्दै भएको पुँजी लगानी गर्न र राहत संकलनमा सकारले निम्न कदम चाल्न सक्थ्यो । तर सरकार यसमा चुक्यो । ढिलै भए पनि समय पुरै ढल्कीसकेको छैन। बिचार पुर्याई निम्न प्रयास गर्न सक्ने देखिन्छ । १) बजेटमा खर्च नभएका पुँजीगत र अनुत्पादक रकम, पुर्ण सरकारी राष्ट्र बैंक, दुरसञ्चार संस्थान, आयल निगम, संचयकोष, नागरिक लगानी कोष, कल्याणकारी कोष जस्ता सबै निकायको जगेडा कोष र अन्य कोष कोरोना पुनर्उत्थान कोषमा राखौँ र योजनाबद्ध रुपमा लगानी गरौँ । २) राष्ट्रिय संकटको जसअपजस संयुक्त रुपमा लिने सोच बनाउनु पर्ने। जस आफुले मात्र लिने सोच वा जस अरु पार्टिले नलेओस् भन्ने दम्भले स्थिति बिग्रियो भने सिंगो सतारुढ पार्टी सिध्दिन सक्छ। अत: सरकारको नेतृत्वमा विभिन्न पार्टि सम्वृद्ध अनुभवी, दक्ष, ईमान्दार विशेषज्ञ ब्यक्ति सम्मिलित राष्ट्रिय कोरोना उपचार, नियन्त्रण तथा पुनरोत्थान समितिको निर्माण गरि सबैको विस्वास लिने वातावरण बनाउन सकेन । ३) यो समितिलाई अधिकार सम्पन्न बनाई यस्को मातहतमा ३ देखि ५ सदस्यीय प्राबिधिक समिति बनाउँ जसमा डा. भगवान कोईराला, डा.शेर बहादुर पुन जस्ता सक्षम र गर्न सक्ने प्राविधिक मान्छे राख्न सकिन्थ्यो । ४) कोरोना उपचार कोषमा सक्दो सहयोग गर्न सर्बपक्षिय आह्वान गर्नु पर्थ्यो र आएको सहयोग रकम दैनिक पत्रिकाबाट सार्बजनिक गरि प्राबिधिक समितिको सिफारिसमा खरिदको निर्णयसँगै सोको हिसाब पारदर्शी र विश्वसनीय बनाउन सकिन्थ्यो । ५) उद्योगपति ब्यवसायीले मनग्य आम्दानी गरेतापनि कर बचाउन कम आय देखाउने गरेको राज्यलाई थाहा छ। यी ठुला सबैलाई बोलाई प्रधानमन्त्री स्वयंले राहत कोषमा बढी भन्दा बढी सहयोग गर्न आग्रह गर्नु पर्थ्यो । सहयोगको आधारमा पछि सरकारबाट संरक्षण र सुबिधाको ग्यारेन्टी गर्नु पर्थ्यो । ६) अर्थमन्त्री स्वयंमले बैंक, विकास बैंक, वित्त कम्पनी, बीमा कम्पनी, ठुला सहकारी, ब्रोकर कम्पनी, रेमिटान्स कम्पनी सबैलाई पालो पालो बोलाई बैठक गरि व्यक्तिगत रुपमा, सम्पुर्ण कर्मचारिको तर्फबाट र संस्थाको आर्थिक अवस्थाको अनुसार सहयोग गर्न भन्नुपर्थ्यो । संकटमा गरेको सहयोगको गुनपछि लाउने भरोसा दिनुपर्थ्यो, यसबाट ठुलो फण्ड आउने सम्भावना रहन्थ्यो । ७) सरकारसँग बर्सेनी अनेक सुबिधा माग गर्ने नेपालको टप टेन धनाड्यमा पर्ने गैर आवासीय नेपाली(एनआरएन) र यिनका संसार भर फैलिएका संगठन चुप लागेर बसेका छन्। यिनको बैठक गरि कोषमा दान दिन वा यिनको संगठन मार्फत धेरै देशमा अलपत्र परेका नेपालिको उद्दार गर्न तथा ३ महिनाको बस्ने खाने प्रबन्ध मिलाउन दिन सकिन्थ्यो । ८) करौडाैं करोड कमाउने म्यान पावर कम्पनीहरू छन् । तिनलाई श्रम मन्त्रीले बोलाई सौहार्दपुर्बक कि त कोरोना कोषमा सहयोग गर्नु पर्यो अथवा विदेशमा अलपत्र परेका श्रमिकको छोटो समयको खाने बस्ने ब्यवस्थाको ग्यारेन्टीको लागि आग्रह गर्न सकिन्थ्यो । ९) शिक्षा मन्त्रीले आफ्नो उपस्थितिमा बिदेश पढ्न पठाउने बढी कमाउने कन्सलटेन्सीलाई यी मार्फत गएका विद्यार्थीलाई संकटको बेला १ महिनाको खाने बस्ने व्यवस्थाको लागि आग्रह गर्न सकिन्थ्यो। त्यसैगरी, देशका ठुला, सफल र बर्सेनि राम्रो कमाई हुने निजी स्कुल, कलेज, तालिम संस्थाबाट ठूलो सहयोग रकम कोषमा जम्मा गराउन सकिन्थ्यो । १०) उद्याेग वाणिज्य र आपुर्ति मन्त्रीले ठुला ईम्पोटर्स, एक्स्पोटर्स, पर्यटन ब्यवसायी, डिपार्टमेन्टल स्टोर, पेट्रोल पम्पहरु, ठुला मलका मालिकहरु, जलबिधुत कम्पनी, रियल स्टेट कम्पनी जस्ता सक्षम र बिगतमा राम्रो कमाएकालाई बोलाई विस्वासको वातावरण बनाई कोषमा राम्रो रकम जम्मा गराउन सकिन्थ्यो । ११) यातायात मन्त्रीले यातायात व्यवसायी संघ र व्यवसायी भेला गरि ठाउँ ठाउमा फसेका नागरिकलाई सेनिटाईज गरेको बसमा कोरोनाको प्रारम्भिक परिक्षण गरि ठिक अवस्थाकालाई घर घरमा पुर्याउने व्यवस्था र यातायात बेरोजगार श्रमिकलाई खाने बस्ने व्यवस्थाको लागि अनुरोध गर्न सकिन्थ्यो र पक्कै गर्थे पनि होला । १२) निर्माण तथा भौतिक योजना मन्त्रीले देशका ठुला निर्माण कम्पनीका मालिकलाई बोलाई कोरोना कोषमा सहयोग गर्न वा लकडाउनको कारण बेरोजगार श्रमिकको ३ महिनाको खाने बस्ने प्रबन्धमा सहयोग गर्न आग्रह गरेको भए उनीहरुले गर्न सक्थे होला । १३) कृषि मन्त्रीले प्रमुख जिल्ला अधिकारी र यातायात व्यवसायीसँगको समन्वयमा जिल्लामा उत्पादित कृषि उपज, फलफुल, तरकारी, पशुपंछी जन्य उत्पादन सहज र सुरक्षित तरिकाले शहरी क्षेत्रमा बिक्री वितरणको व्यवस्था गर्दा नि कृषि उत्पादनले प्रोत्साहन पाउने र आर्थिक गतिबिधि पनि हुन्थ्यो । १४) स्वास्थ्य मन्त्री र समाज कल्याण मन्त्रीले देशभरिका एनजीओ आईएनजीओ र प्राईभेट मेडिकल कलेज, हस्पिटल, औषधि फैक्ट्रि मालिकलाई बोलाई बिरामीको ओसार पसार खाने बस्ने व्यवस्था र उपचारको समन्वयात्मक कार्यक्रम ल्याउन सकिन्थ्यो । १५) गृहमन्त्रीले काठमाडाैंको खुला आकासमा रहने, बेरोजगार र बाँस नभएकालाई राख्ने र खाने उचित प्रबन्धको लागि प्रयास गर्नु पर्थ्यो । यसकाे लागि प्रहरी प्रशासनको समन्वयमा काठमाडाैं र बाहिरका पार्टि प्यालेस र खाली स्कुल कलेजका मालिकलाई विश्वासमा लिई सरकारी खर्चमा वा स्थानीय धार्मिक, जातिय, पेशागत संघ संस्थाको आयोजनमा खाने बस्ने उचित व्यवस्थापन गर्न सकिन्थ्यो । देशमा उत्पन्न बर्तमान राष्ट्रिय संकट सरकार मात्रको प्रयास र श्रोत साधनले भ्याउन सक्दैन । संसारका सबै देश कोरोनाबाट पीडित भएकोले बिदेशी सहायता आउदैन । आफ्नै साधन श्रोत परिचालन गर्नु पर्छ। सबैको सहयोग र सद्भाव चाहिन्छ । आश्चर्य त के छ भने, नेपालका प्रमुख धनाड्यहरु, रेमिटान्स कम्पनी टाईकुनहरु, मनग्य कमाएका उधोगपति व्यवसायी, गैर आवासीय धनाड्यहरु लकडाउन भएको ३ हप्ता बितिसक्दा पनि सहयोगको लागि आएका छैनन् । धन भएर पनि मन नभएर हो कि बिगतमा सरकारले दिएको दुःख सम्झि बिश्वास नभएर हो, बुझ्न सकिएको छैन । यसैबीच सरकार गिराउने र दल तोडने खेल शुरु भएको सुन्दा सबै नेपाली आश्चर्यचकित भएका छन्। कोरोनाको कारण सबै क्षेत्र पिडामा भई ठोस राहत र कार्यक्रमको आशा गरिरहेको र यो संकटबाट पार पाउन राष्ट्रिय सहमति हुने आशा गरिरहेका नेपाली स्वार्थि पदलोलुप नेताको वर्तमान गतिबिधिबाट निराष भएका छन् । आशा गरौं समय छदै सुध्रीयलान् र यो अकल्पनीय संकटबाट पार पाईएला ।
अमेरिकीहरुको जागिर जोगाउन आप्रवासीलाई बन्देज लगाउँदै ट्रम्प, नेपालीलाई असर पर्ला ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रुपमा बसाेवास गर्ने आप्रावासीहरुलाई बन्देज लगाउने बताएका छन् । सोमबार साँझ आफ्नो आधिकारीको ट्वीटर अकाउन्टबाट ट्वीट गर्दै ट्रम्पले अस्थायी आप्रावासीहरुको अध्यागमनलाई बन्देज गर्ने बताएका हुन् । उनी लेखेका छन्, ‘अदृश्य दुश्मनहरुबाट हुने हमलालाई ध्यानमा राख्दै र हाम्रो महान् अमेरिकी नागरिकहरुको जागिर जोगाउन म संयुक्त राज्य अमेरिकाको आप्रावासी अध्यागमनलाई अस्थाई समयको लागि रोक्नलाई हस्ताक्षर गर्दैछु । ’ यद्यपी उनले अध्यागमनलाई निलम्बन गर्न कुन संयन्त्र प्रयोग गर्नेछन्, यो निलम्बन कति लामो समय सम्म रहन सक्छ र यसले अमेरिकी ग्रीन कार्ड भएका व्यक्तिहरूमा कस्तो असर पार्दछ भन्ने उनले स्पष्ट खुलाएका छैनन् । साथै यसले अमेरिकामा ग्रिनकार्ड पाएर बस्दै आएका नेपालीहरु र अध्ययनको लागि गएका नेपाली विद्यार्थीहरुमा कति प्रभाव पार्ला भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । कोरोनाभाईरसको असरले हाल अमेरिकाले ठुलो संख्यामा अध्यागमन कटौती गरेसँगै शरणार्थी पुर्णवासमा रोक लगाईएको छ । भिषा कार्यालहरु पनि बन्द छन् ।
लाल–सलाम …
कति अर्थपूर्ण छ लाल–सलाम लाल–सलाम लाल अभिवादन हो परिवर्तनकारीहरूको विभेद विरूद्ध उभिनेहरुको क्रान्तिकारीहरूको, मजदुरहरूको । ओ पुँजीपतिहरु हो ओ पश्चिमा शक्ति पुजारीहरू हो तिमीले ह्यान्डशेक गरेर जब निर्धोको हात निचोर्यौ गला मिलेर कमजोरको गला रेट्यौ बोल्न सिकाएर आवाज बन्द गर्न कन्चट्मा पेस्तोल तेस्र्यायौ मजबुरीको फाइदा उठाएर मजदुरको पसिना लुट्यौ नाफा सञ्चय खातिर, पृथ्वीकै आयु घटाउन तल्लिन रह्यौ संयोग भनौं या योजना अनुरूप घातक भनौं या कुकार्यको मानक शाषकहरूलाई घुँडा टेकाउनकै लागी मान्छेहरूलाई असली औकात देखाउनकै लागी फैलिएको हो यो माहामारी फैलिरहेछ ‘कोरोना’ । अब ध्वस्त हुनेछ मानवता विहिन विश्व अर्थतन्त्र बन्द हुनेछ विभेदको कारखाना विलिन हुनेछन् पैसाको आडमा बनेको उपभोक्तावादी संस्कृति उस्तै अहङ्कार हुनेछैन मान्छेमा सहि सावित हुनेछन् समाजशास्त्रीहरू रहने छैन तिम्रो दादागिरी फेरिनेछ विश्व व्यवस्था । सधैं घरभित्रै थुनिएर बसिरहने छैनन् एकदिन मान्छेहरू सडकमा उत्रनेछन् तर गर्ने छैनन् ह्यान्डशेक मिलाउने छैनन् गला हात र गला मिलाए सरिहाल्नेछ कोरोना फैलिनेछ माहामारी बरू गर्नेछन् लाल अभिवादन मुठ्ठी कसेर लाल सलाम अनि खोजिनेछ मरिसकेको मानवता हुर्काउनु पर्नेछ समानताको संस्कृति भत्काउनु पर्नेछ शोषणको पर्खाल सुधार्नु पर्नेछ मान्छेको बिग्रिसकेको छवि अब यो लडाइँमा पर्दा च्यातिनेछ कैयौं भ्रमको र भण्डाफोर हुनेछ फोहोरी विश्व–राजनीतिको । ©सुजन राई २०७७–०१–०१ इमेलः [email protected] (यो कविता ‘कोरोना र यसको प्रभाव’ बारे माक्र्सवादीय–क्रान्तिकारी–समाजवादी दृष्टिकोणमा आधार बनाएर लेखिएको हो ।)
अमेरिकी तेल बजारमा सुधार, तर बजारमा अस्थिरता जारी
सिंगापुर । ऋणात्मक अवस्थामा पुगेको अमेरिकी तेलको मूल्यमा मंगलबार सुधार आई धनात्मक भएको छ । कोरोनाभाइरस महामारीका कारण तेलको विश्व बजारमा माग घटेपछि तेलको मूल्यमा पनि गिरावट आइरहेको छ । मंगलबार अपराह्न एशियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई) को अर्को महिना मे का लागि प्रतिब्यारेल १.६७ डलर कायम भएको छ । अघिल्लो दिन न्यूयोर्कमा तेलको मूल्य ३७.६३ डलरले ऋणात्मक भएको थियो । तर बजारमा अस्थिरता र भण्डारण सुविधा कम भएपछि खरिदकर्ताहरुमा अन्यौल बढेको छ । व्यापारीहरू अब आगामी जुन महिनाका लागि खरिद सम्झौता गर्नेतर्फ बढी केन्द्रित भएका छन् । यो माग मे महिनाको भन्दा ६० गुणाभन्दा बढी छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको आगामी जुन महिनाका लागि प्रति ब्यारेल २५.४० डलरमा कारोबार भएको छ जुन ०.१६ प्रतिशतले कमी हो । कोरोनाभाइरसँग जुध्न हाल विश्वका अधिकांश मुलुकमा जारी बन्दाबन्दी, यात्रा प्रतिबन्ध र व्यापार बन्दका कारण तेलको मागमा व्यापक कमी आएको छ । यसबीचमा तेलको मागमा मात्र कमी आएको छैन, तेलको खपत नै कम भएपछि बजारमूल्यमा पनि व्यापक गिरावट आइसकेको छ । साउदी अरेबिया र रसियाबीचको मूल्य युद्धले संकट झनै नराम्रो भएको थियो । रियाद र मस्कोबीच मध्यस्थता भएसँगै विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुले प्रतिदिन १ करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति गरेका थिए । तर विश्व बजारमा तेलको मूल्यमा भइरहेको गिरावट रोकिएन । विश्लेषकहरूले तेल उत्पादन कटौती पर्याप्त नभएको र भण्डारण सुविधाहरूको क्षमता कम रहेकाले तेलको मूल्यमा फेरि गिरावट आएको बताएका छन् । अमेरिकी कच्चातेलको मूल्यमा गिरावट आउनुको मुख्य कारण नै ओक्लाहोमास्थित कुसिङ तेल भण्डारमा तेल भरिनु पनि हो । ओन्डाका वरिष्ठ बजार विश्लेषक जेफ्री ह्यालीले एएफपीलाई ब्रेन्ट र डब्लुटिआई दुबैको मूल्यमा तत्कालै सुधार हुने सम्भावना कमै रहेको प्रतिक्रिया दिए । (रासस-एएफपी)
सबै तहका ४८८ को रिपोर्ट नेगेटिभ
काठमाडाैं । भारत र तेस्रो मुलुकबाट चैतको पहिलो सातादेखि जुम्ला जिल्लामा भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यहाँको एक नगरपालिका र सात गाउँपालिकामा ३३९ जनाको पिसिआरबाट परीक्षण र १४९ जनाको रेपिड डाइग्नोष्टिक टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । कोभिड-१९ का सम्भावित सङ्क्रमितका लागि जिल्लाका आठ वटै स्थानीय तहले २६४ शय्याको क्वारेन्टाइन पनि निर्माण गरेका छन् । रासस
आक्रामक बन्दै एनसेलः ‘सरकारलाई सहयोग, ग्राहकलाई अफर’
काठमाडौं । नेपालको कर्पोरेट क्षेत्रमा अग्रणी कम्पनीको रुपमा स्थापित कम्पनी हो एनसेल प्राइभेट लिमिटेड । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार गत पुस मसान्तसम्ममा एनसेलको ग्राहक १ करोड ७१ लाख १८ हजार १६३ छन् । दुरसञ्चार सेवा बजारमा यस कम्पनीको हिस्सा ३९.७५ प्रतिशत रहेको छ । विभिन्न आर्थिक वर्षमा सबैभन्दा बढी कर तिरेर नेपाल सरकारबाट सम्मानित भएको यो कम्पनीको सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरमा ठूलो विवाद भयो । टेलियासोनेराको वर्हिगमन र एक्जियटा ग्रुपको आगमनसँगै उत्पन्न पुँजीगत लाभकर विवाद पनि अहिले टुंगिएको छ । सर्वोच्च अदालतको फैसला अनुसार एनसेलले सरकारलाई बुझाउनु पर्ने सबै कर २०७६ चैत मसान्तमा तिरेपछि यो कम्पनी थप आक्रामक बन्ने संकेत गरिसकेको छ । एनसेलले सरकार र उपभोक्ता दुबै पक्षको विश्वास र सहयोग लिएर अगाडि बढ्ने नीति लिएको छ । सरकारसँग हातेमालो गर्न उसले पहिलो चरणमा सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गरेको छ । कोरोना महामारीबेलामा प्राइभेट कम्पनीको तर्फबाट गरिएको यो सबैभन्दा ठूलो योगदान हो । विदेशी लगानीमा नेपालमा सञ्चालित कम्पनीहरु मध्येबाट अहिलेसम्म कोरोना कोषमा एनसेलले मात्र सहयोग गरेको देखिएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले चैत ११ गते प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका हुन् । ‘एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको र सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको रु. १० करोड सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । स्थापनाकालदेखि एनसेलले शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा योगदान पु¥याउँदै आएको छ । एनसेलले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पु¥याउँदै रु ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ । ग्राहकलाई छुट अफर एनसेलले ग्राहकलाई आकर्षित गर्न सेवा शुल्कमा छुटसहित आकर्षक कार्यक्रमहरु अगाडि सारेको छ । एनसेलले नयाँ वर्ष २०७७ को अवसरमा बैशाख १ गते आफ्ना ग्राहकका लागि दुई नयाँ योजनाहरु ल्याएको छ । न्यु इयर अफर अन्तर्गत ग्राहकले विश्वको १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र रु २.४९ प्रति मिनेट (कर सहित रु ३.१८) मा गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभदरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको कम्पनीले जनाएको छ । मनोरञ्जनका सेवाहरु निःशुल्क नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तै गीत म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि १ महिनाको लागि निःशुल्क गरेको छ । लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको कम्पनीले जनाएको छ । गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक संगीतिक एप सेवा हो जहाँ ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन् । यो एप सुचारु गर्न ग्राहकले पहिला एनसेलको नेटवर्कबाट मात्र सुचारु सक्छन् र त्यस पश्चात कुनै पनि नेटवर्कवाट गीत संगीतको मजा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले यो एपको निःशुल्क प्रयोग गर्न सक्छन् । त्यस्तै अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ । यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क आनन्द लिन सक्नेछन् । यो सेवा अन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशुल्क सुन्न सक्नेछन् । उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ । डाटा शुल्कमा छुट एनसेल चैत्र २० गतेबाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटायो । एनसेलले आफ्नो कर बाहेक रु २ प्रति एमबी रहेको पे एज यु गो शुल्क रु १.५० प्रति एमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहने कम्पनीले जनाएको छ । कम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ । पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् । जब ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा यो भन्दा थप रु १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जानेछन् । शुरुमा रु १० डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक रु १० मा ग्राहकले २०÷२० एमबी डेटा बोनस पाउने छन् । यदि ग्राहकले रु २ मेन ब्यालेन्स १.०४ एबी डेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको रु १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउनेछन् । कोरोनाभाइरसले निम्त्याएको महामारीको समयमा एनसेलले सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक सहितका सुविधाहरु दिएर ग्राहकलाई आकर्षित गर्दैछ । कोरोनाभाइरस संक्रमितको पहिचान गर्न मद्दत एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउन बैशाख ३ गतेदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ । यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भागलिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स१७१००ह्यास डायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन् । प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ । हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ । “कोरोनाभाइरस विरुद्धको हाम्रो यो सामुहिक लडाईका साथै देशमा रहेका हाम्रा सबै ग्राहकको सेवा सुनिश्चित राख्न हामी प्रतिवद्ध छांै । हाम्रो पुर्वाधार र प्लेटफर्म प्रयोग गर्दै ग्राहक माझ ल्याइएको यो सर्वेक्षणले ग्राहकलाई आफुमा कोरोनाभाइरसको जोखिम भए÷नभएको आफै थाहा पाउन मद्दत गर्ने र सरकारलाई यस डाटाले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं । यस विपद्को घडीमा हामी सबैले आ–आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ गर्नु पर्दछ र हामी आफ्ना १ करोड ७० लाख भन्दा बढि ग्राहकहरु र साझेदारहरुको सुस्वास्थ्यको लागि हामी प्रतिवद्ध छौं”, एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भनेका छन् ।
विकसित र ठूलो अर्थतन्त्र भएका देशले यस्ता ल्याए आर्थिक प्याकेज
काठमाडौं । मानव सभ्यताकै चुनौतिको रुपमा देखापरिरहेको कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । यो भाइरसको संक्रमण हाल विश्वका सबै देशहरुमा फैलिसकेको छ । विश्वका दुई तिहाइ जनसंख्या अहिले आआफ्नो घरमा बन्दी अवस्थामा छन् । यो अवस्थामा अहिले विश्व अर्थतन्त्रको चक्का बन्द भएको छ । अधिकांश देशको होटल, एयरलाइन्स, पर्यटन, ट्राभल एजेन्सी, सेयर बजार उद्योग लगायतका सबै प्रकार व्यवसाय बन्द भएका छन् । विकसित देशमा समेत बेरोजगारीको दर बढ्दै गएको छ । अविकसित, अल्प विकसित र विकासोन्मुख देशका जनताको अवस्था अझ दयनीयत हुने संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय मुद्राकोष जस्ता संघ संस्थाले चेतावनी दिइरहेका छन् । यस्तो अवस्थामा देशको समग्र अर्थतन्त्रको चक्का घुमाइराख्न तथा नागरिकको जिवनयापनमा सहजताका लागि विभिन्न देशले विभिन्न प्रकारका आर्थिक राहत प्याकेज घोषणा गरेका छन् । यस्तो रकम नागरिकको खानपिनका साथै उद्योग, व्यवसायलाई पुनर्ताजगी गर्नका लागि अनुदान तथा सहुलियतपूर्ण ऋण दिनका लागि समेत खर्च गर्ने छन् । यसरी अहिलेसम्म राहतको कार्यक्रम घोषणा गर्ने राष्ट्रमा चीन, अस्ट्रेलिया, अमेरिका, जापान, भारत, क्यानडा, फ्रान्स, जर्मनी लगायत देश छन् । यी देशहरुले घोषणा गरेका राहत प्याकेज कस्ता छन् त ? अमेरिका कोरोना संक्रमणबाट अहिलेसम्म विश्वमै सबैभन्दा धेरै मानवीय तथा आर्थिक क्षति व्यहोरेको अमेरिकाले विभिन्न चरणमा करिब ३.२ ट्रिलियन डलरभन्दा बढीको सहायता प्याकेज ल्याइसकेको छ । पहिलो चरणमा ७ सय ५० अर्ब डलरको आर्थिक राहतको प्याकेज ल्याइसकेको अमेरिकाले हाल तेस्रो चरणमा २.२ ट्रिलियन डलरको प्याकेज ल्याएको छ । यो राहत प्याकेज नागरिकको खानपिनका साथै उद्योग व्यवसायलाई सहयोग गर्न, स्वास्थ्य सामग्री उत्पादन लगायतका कार्यमा खर्च हुने अमेरिकाले बताएको छ । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोना संक्रमणले अर्थतन्त्रमा ठूलो असर पारेको छ । आफ्नो अर्थतन्त्रलाइ जोगाउन चीनले अहिलेसम्म पटक पटक गरि ४ सय ७३ अर्ब डलरको राहत प्याकेज ल्याइसकेको छ । व्यवसायका बिभिन्न क्षेत्रहरुलाई समेट्दै अरु थप राहात तथा सहुलियतपूर्ण ऋण दिने तयारी चीनले गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख छन् । सर्वप्रथम कोरोना भाइरस देखिएको चीनले संक्रमण सुरु भए लगत्तै ३ सय ९४ अर्ब डलरको राहत प्याकेज ल्याएको थियो । पिपुल्स बैंक अफ चाइनाले संकटको मारमा परेका कम्पनीहरुलाई राहत दिनका लागि ७९ अर्ब डलर छुट्याएको छ । साथै उसले ऋण लिएका कम्पनीहरुको व्याज दरमा समेत व्यापक कटौती गरेको छ । चिनियाँ बैंकहरुले किस्ताको साँवा व्याज स्थगित गरी किस्ता पछि तिर्ने व्यवस्था गरेका छन् । भारत भारत सरकारले गरिब तथा कमजोर आर्थिक अवस्था भएकाहरुका लागि १ लाख ७० हजार करोड भारु (२२.५ बिलियन अमेरिकी डलर) को राहत प्याकेजको घोषणा गरेको छ । भारतले उक्त रकम दैनिक ज्याला मजदूरी गर्ने र लकडाउनको प्रत्यक्ष प्रभाव पारेका गरिबहरूलाई सहयोग गर्न सो रकम खर्च गर्ने बताएको छ । भारतले उक्त रकमले ८० करोड जनताका लागि आगामी ३ महिनासम्म निःशुल्क खाद्यान्न वितरण गर्ने जनाएको छ । साथै स्वास्थ्यकर्मीको बीमा, स्वास्थ्य सामग्री उत्पादन, विभिन्न व्यावसायिक कर छूट लगायतमा खर्च गर्ने बताएको छ । इटाली कोरोना संक्रमणबाट ठूलो मात्रामा आर्थिक तथा मानवीय क्षति व्यहोरेको इटालीले ४९ अर्ब डलरको राहत प्याकेज ल्याएको छ । उसले कम्पनी तथा कामदारहरुलाई सहयोग गर्न यो राहत प्याकेज ल्याएको जनाएको छ । त्यस्तै इटालीले स्वास्थ्य, रोजगारी, कर तथा कर्जा भुक्तानीलाई लक्षित गरेर थप वित्तीय क्षेत्रमा ३४० अर्ब यूरो खर्च गर्ने घोषणासमेत गरेको छ । स्पेन कोरोनाको संक्रमणबाट धेरै आर्थिक तथा मानवीय क्षति व्यहोरेको मध्यको देश स्पेनले २ सय १९ अर्ब डलरको राहतको तयारी गरेको छ । यस्तै, १ सय अर्ब डलरको कम्पनी लोनको ग्यारेन्टी तथा १७ अर्ब डलरको प्रत्यक्ष सहायता उपलब्ध गराउने भएको छ । निजी लगानीलाई सहयोग गर्नका लागि थप ८३ अर्ब यूरो सहयोग गर्ने समेत स्पेनका प्रधानमन्त्री पेद्रो सान्जले घोषण गरेका छन् । जापान जापान सरकारले ४ अर्ब डलरको प्याकेज घोषणा गरेको छ । यो प्याकेज साना र मध्यमस्तरका कम्पनीहरुका लागि लक्षित छ । सरकारले कोरोना भाइरस संक्रमणका कारण प्रभावित साना उद्योग तथा फर्महरुलाई बिनाव्याज नै ऋण उपलब्ध गराउने भएको छ । अष्ट्रेलिया अष्ट्रेलियाको स्कट मोरिसन सरकारले पनि विभिन्न चरणमा गरी ७२ अर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याइसकेको छ । अष्ट्रेलियाको केन्द्रीय बैंकले पनि बजारमा प्रत्यक्ष हस्तक्षेप गर्दै संकटकालिन अवस्थामा ब्याजदर कटौती तथा केही सहज बनाउने औजारहरु प्रयोग गर्ने घोषणा गरिसकेको छ । अष्ट्रेलियाको केन्द्रीय सरकारले सरकारले १७.६ अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएको छ । त्यसमध्ये २.४ अर्ब डलरको हेल्थ प्याकेज रहेको छ । यसैगरी भिक्टोरिया र क्यापिटल टेरिटोरी बाहेक अन्य सबै राज्यहरुले पनि ४ अर्ब डलरको स्वास्थ्य र आर्थिक सहायताका आफ्ना आफ्ना छुट्टा छुट्टै प्याकेज समेत ल्याएका छन् । बेलायत प्रजातन्त्रको जननी मानिने बेलायतले कामदार वर्गका लागि सबैभन्दा ठूलो राहत प्याकेज ल्याएको छ । उसले रोजगारी गुमाएकाहरुलाई मासिक २५ सय पाउण्डसम्म तलब दिने, कामदारको ८० प्रतिशतसम्म तलब सरकारले अनुदान स्वरुप उपलब्ध गराउने सो रकममा कर नलाग्ने तथा उक्त रकम राज्य र कामदार सुरक्षा कोष मिलेर व्यवस्था गर्ने तयारी गरेको छ । आगामी जुन महिनासम्म कुनै पनि व्यापार व्यवसायले तिर्नुपर्ने करिब ३० अर्ब पाउण्ड बराबरको भ्याट मिनाहा गरिदिएको घोषणा समेत गरेको छ । यस्तै, बेलायत सरकारले ४ सय अर्ब डलर बराबरको बेलआउट फण्ड ल्याएको छ, जुन कुल गार्हस्थ उत्पादनको १५ प्रतिशत हुन आउँछ । सरकारले व्यापारलाई सघाउने, साना ब्यवसायी तथा हस्पिटालिटी सेक्टरलाई २५ हजार पाउण्ड बराबरको नगद अनुदान उपलब्ध गराउने बताएको छ । फ्रान्स कोरोना भाइरस संक्रमणका कारण देशमा आएको विषम आर्थिक परिस्थितिको सामना गर्नको लागि फ्रान्स सरकारले साना व्यापार तथा कामदारहरुलाई राहतका लागि ४५ अर्ब युरो सहायता प्याकेज घोषणा गरेको छ । यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा गरिएको करिब १ प्रतिशतको कमीको पूर्वानुमानका लागि र कर्मचारीलाई तलव स्वरुप सो रकम खर्च गरिने फ्रान्स सरकारले बताएको छ । न्यूजिल्याण्ड न्यूजिल्याण्ड सरकारले पनि १२.१ अर्ब डलरको कोरोना रेस्क्यू प्याकेज ल्याएको छ । सरकारले यसबाट प्रभावित सबै क्षेत्रहरु र व्यापार व्यवसायका लागि समेत अनुदान दिनका लागि ५.१ अर्ब डलरको राहत ल्याएको छ । यस्तै, व्यवसायमा कर कटौती तथा क्यास फ्लोलाई ध्यानमा राखी थप २.८ अर्ब डलरको प्याकेज ल्याएको छ । जर्मनी जर्मनीको सरकारले पनि ६ सय ८ अर्ब डलरको प्रारम्भिक राहत प्याकेज सार्वजनिक गरेको छ । यसैगरी, जर्मनीले व्यापार व्यवसायलाई असिमित कर्जा उपलब्ध गराउने जनाएको छ । आवश्यकताको आधारमा सामाजिकस्तरमा थप राहात प्याकेज ल्याउने समेत जर्मनीको सरारले घोषणा गरेको छ । (अन्तराष्ट्रिय विभिन्न संचार माध्यमको सहयोगमा)
माैसममा गडबढी, सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागकाे अनुरोध
काठमाडौं /रस्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय हुँदै गएकाले सतर्कता सर्बसाधारणामा अपनाउन अनुरोध गरेको छ । हाल काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा विकसित मेघगर्जन, चट्याङसहित वर्षा गराउने बादलका कारण मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भइरहेको हो । उक्त प्रणाली उत्तर–पूर्वतिर सर्दै गएकाले अझै केही दिन हावाहुरी, मेघगर्जन, चट्याङ, असिनाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा रहेको जनाएको छ । भोलि देशभर आंशिकदेखि सामान्य बदली रही अपराह्नपश्चात् पहाडी भू–भागका केही स्थानमा र पश्चिमी तराईका एक–दुई स्थानमा हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको छ । बिहीबार पश्चिमका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू–भागका केही एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा एक दशमलव छ मिलिमिटर वर्षा भएको छ । यस्तै पोखरामा दुई दशमलव दुई, धरानमा दुई दशमलव तीन, जोमसोममा एक दशमलव पाँच र जिरीमा दुई मिलिमिटर वर्षा भएको छ । रासस