विकासन्युज

कास्कीमा दुर्लभ ‘किङ कोब्रा’ भेटिएपछि संरक्षण शुरु

कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन् । काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही स्थानमा संरक्षण गर्न निगरानीका लागि ‘क्यामेरा ट्राप’ राखिएको र वरिपरि तारजाली लगाउने काम भइरहेको एक्यापका संरक्षण अधिकृत ऋषि बरालले बताए । सो सर्प अन्दाजी १० फिट लामो रहेको छ । सबैभन्दा विषालु किङकोब्रा अण्डा पारेर बच्चा निकाल्ने एक मात्र सर्प प्रजाति भएकाले अहिले अण्डा पारेर गुँड बनाएर बसेको बरालले बताए । यसले ६० देखि ९० दिनभित्रमा बच्चा निकाल्ने अनुसन्धानकर्ता बताउँछन् । “अन्नपूर्ण संरक्षण क्षेत्रभित्र देखिएको किङकोब्राको गुँड संरक्षण र यसलाई अवरोध नहोस् भनेर सबैतिर तारजाली लगाउन शुरु गरेका छौं”, संरक्षण अधिकृत बरालले भने, “क्यामेरा ट्रापसहित स्थानीयवासीलाई समेत आवश्यक सचेतना शिविर सञ्चालन गरेका छौं ।” किङकोब्राले अण्डा पारेपछि पतकरको बीचमा सुरक्षित गरेर गुँडको सुरक्षा गर्ने र बच्चा निस्कनु सातदेखि १० दिनअघि यसले गुँड छाडेर जाने गरेको संरक्षणकर्मीको भनाइ छ । यस अवधिमा यो सर्प अन्यत्र टाढा नजाने र गुँडको सुरक्षा गरेर बस्ने गरेको बताइन्छ । किङकोब्राको मुख्य आहारा नै अन्य प्रजातिका सर्प र मुसा रहेको छ । कास्कीमा सन् २०१६ मा पहिलोपटक दाङसिङमा कोब्राको गुँड भेटिएको थियो । त्यसपछि सन् २०१७ मा धम्पुसफेदीमा, सन् २०१७ मा स्याङ्जामा त्यसको एक वर्षपछि पुनः धम्पुसमा भेटिएको थियो । यस वर्ष कास्की र पर्वतमा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । यो समुद्री सतहदेखि २ हजार मिटरदेखि २ हजार ५ सयसम्मको उचाइमा पाइने गरेको बताइन्छ । यसलाई अवरोध नगरेसम्म मानिसलाई केही नगर्ने एक्याप ल्वाङका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक लेखनाथ गौतमले बताए । उनले भने, “किङकोब्रा सर्प लजालु र भद्र स्वभावको हुन्छ, यसलाई अवरोध नहुँदासम्म केही गर्दैन, अण्डा कोरल्ने बेलामा बढी आक्रामक हुन्छ ।” यो सर्प लोपोन्मुख प्रजातिअन्तर्गत ‘साइटिस टु’ मा पर्ने उनले बताए । सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालले दुई साताअघि ठूलो र लामो आकारको सर्प देखिपछि एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समिति, सर्प संरक्षण समाजलगायतका संस्थामा खबर गरिएको जानकारी दिए । हाल विभिन्न संस्थाबाट संरक्षणको प्रयास भइरहेको उनको भनाइ छ ।    रासस

दीपाश्रीलाई माफि दिन राजेश हमालले गरे दर्शकसँग आग्रह

काठमाडौं । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन दर्शकसँग आग्रह गरेका छन् । मंगलबार मध्यरातमा लाइभ भिडियो मार्फत हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् । आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिका बिरुद्ध दर्शकले सामाजिक संजालमा गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् । दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन हमालले अपिल गरेका छन् । उनले करिब ९ मिनेट लामो भिडियोमा दीपाश्रीको नामै नलिई सम्बन्धित व्यक्तिलाई क्षमा गरिदिन भनेका छन् । कोरोनाको महामारीसँगै नेपालको राजनिति तथा सामाजिक एवं कला क्षेत्रमा पनि टिकाटिप्पणी भइरहेको जानकारी दिँदै आफूलाई सहकर्मी साथीले सार्वजनिक मञ्जमा भनेका कुराप्रति दर्शकको प्रतिक्रिया मात्र नभई आक्रोसलाई ध्यानमा राख्दै आफ्ना कुरा राखेका हुन् । दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा महानायक पनि हुनुहुन्छ र ? भनेपछि राजेश हमालका फ्यानले उनलाई गाली गरिरहेका छन् । दीपाश्रीले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि उनलाई गाली गर्ने क्रम रोकिएको छैन । र्हेनुहोस् भिडियो फेसबुक लाइभमा नायक राजेश हमालले राखेका कुराहरू   

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वत । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन् । श्रेष्ठलाई कुस्माबजारकी एक १५ वर्षीया बालिकालाई विवाहको आश्वासन दिएर बलात्कार गरी गर्भवतीसमेत बनाएको आरोपमा यही असार १९ गते पक्राउ गरिएको थियो भने खड्कालाई पनि कुश्मा बजारको एक होटलमा ल्याई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यही असार १७ गते गिरफ्तार गरिएको थियो । श्रेष्ठले फेसबुकबाट चिनजान भएकी बालिकालाई विवाहको प्रलोभनमा पारेर गत पुस २ गते कुश्मा बजारमा रहेको आफ्नो कोठामा बलात्कार गरेको भनीे पीडितले असार १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पिडीत बालिका छ महिनाको गर्भ रहेको पाइएको छ । यस्तै खड्कामाथि कुश्मा बजारस्थित एक होटलमा बलात्कार गरेको आरोप लागेको छ । उनीमाथि पनि विवाह गर्ने आश्वासनसहित होटलमा चार दिनसम्म राखेर बलात्कार गरेको आरोप छ । आरोपित खड्का ट्र्याक्टर चालक हुन् ।    रासस

सार्वजनिक सवारी सञ्चालन नहुँदा नागरिकलाई सास्ती

काठमाडाैं । यहाँका यातायात व्यवसायीहरुले माग पूरा नभएसम्मका लागि सार्वजनिक यातायातका साधन जिल्लामा सञ्चालन गर्न नसक्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मङ्गलबार तुलसीपुरमा भएको छलफलमा अहिलेकै अवस्थामा आफूहरुले यातायात सञ्चालन गर्न नसक्ने व्यवसायीहरुले बताएका हुन् । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको एक साता बितिसक्दासमेत सञ्चालनमा नआउँदा नागरिकलाई समस्या परेको छ । जिल्लामा जारी बन्दाबन्दी खुला भए पनि यातायातका साधन नखुल्दा समस्या भएको स्थानीय लोकमणि गौतमले गुनासो गरे । साउन १ गतेदेखि यातायात सञ्चालन गर्ने विषयमा भएको छलफलमा अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न व्यवसायी सहमत नभएको यातायात व्यवसायी घनश्याम बस्नेतले बताए । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यस क्षेत्रका बैंकहरुसँग छलफल गरी चार महिनाको किस्तापछि दिलाउने तथा समय थपका लागि पहल गर्ने र मजदुरहरुको कोरोना बीमा ५० प्रतिशत उपमहानगरपालिकाले व्यहोर्ने जनाउनुभएको व्यवसायी बस्नेतले बताएका छन् । ‘‘नगरप्रमुखले साउन १ गतेदेखि यातायात सञ्चालन गर्नुपर्यो भनेर छलफल गर्नुभएको थियो, तर तत्काल हामीहरुले यातायात सञ्चालन गर्न सक्दैनाैं भनेका छौं”, उनले भने । व्यवसायीहरुले लकडाउन अवधिको बैंकको कर्जा तिर्ने समय सार्नुपर्ने, ग्यारेजबाट गाडी निकाल्न पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकको कोरोना बीमा गरिदिनुपर्नेलगायतका माग राखेको यातायात व्यवसायी निमकुमार श्रेष्ठले जानकारी दिए । सरकारले असार २५ गते सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय भए पनि सो निर्णयअनुसार सवारीका साधन सञ्चालन नहुँदा समस्या उत्पन्न भएको छ ।   रासस

एमयूको रजिष्ट्रारका लागि १९ जनाको आवेदन

काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले रजिष्ट्रार पदका लागि १९ जनाको दरखास्त परेको जानकारी दिए । उनले अबको एक साताभित्रै विश्वविद्यालयले नयाँ रजिष्ट्रार पाउने बताए । डिनका लागि दरखास्त अवधि बाँकी नै छ । आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व डिनदेखि सह–प्राध्यापक लगायतका छन् । विश्वविद्यालयका अनुसार सेवा आयोगका सदस्य प्रा डा केशरसिंह राना, पूर्व डिन प्रा डा दीपबहादुर रावल, पूर्व डिन एवं सह–प्राध्यापक अनन्तराज घिमिरे, प्रा डा नारायप्रसाद शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख जीतबहादुर शाह, डा. बुद्धि सापकोटालगायतको रजिष्ट्रार पदका लागि आवेदन परेको छ ।  रासस

नयाँ उद्धार उडान तालिका सार्वजनिक, साउन ६ पछि नयाँ प्रक्रिया लागु गर्ने

काठमाण्डौ ।  झण्डै एक महिना लगातार भएका उद्धार उडानहरु दुई दिन यता रोकिएसँगै सरकारले फेरि आजदेखि उद्धार उडान सूचारू  गरेको छ । यसअघि दुई दिन उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आजदेखि साउन ६ गतेसम्मकाे उद्धार उडान तालिका सार्वजनिक भएको छ । विदेशमा अलपत्र परेका नेपालीहरू स्वदेश फिर्तीका लागि विभिन्न देशबाट याे हप्ता ४२ उडान हुने पर्यटन मन्त्रालयले जनाएको छ । आजै नै कार्गो गरी ६ अन्तर्राष्ट्रिय उडान हुँदैछ । नेपाल एयरलाइन्स कुनमिङ्गबाट, सिल्क एयर सिङ्गापुरबाट र मलेसियन एयरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् । भने यूएईको आबुधाबीबाट हिमालय एयरलाइन्सका दुई जहाज नेपाली लिन जाँदैछन् । हिमालयको अर्को जहाज आजै कुनमिङ्ग जाँदैछ । एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एयरलाइन्सले १६ वटा र नेपाल एयरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एयर अरेबियाले २, फ्लाई दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् । जजिरा एयरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ । नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसिया लगायतका ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ । साउन ६ पछि अवस्था विश्लेषण गरेर नियमित उडान गर्ने या अहिलेझैं चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती गराउने भन्नेबारे छलफल भइरहेको छ । गएको जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानलाई अनुमति दिइरहेको छ । नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायतले उडान भरेका छन् । हालसम्म अलपत्र परेका करिब २७ हजार नेपाली स्वदेश फर्किएका छन् ।

हङकङप्रतिको अमेरिकी विशेष व्यवहार अन्त्य गरिएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन् । उनले चीनविरूद्ध बढ्दो रूपमा कडा नीति अँगाल्ने गर्ने क्रममा पछिल्लो कदम चालेका हुन् । वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्‍याइने बनाए । ‘हङकङलाई अब मुख्यभूमि चीनजसरी नै व्यवहार गरिनेछ,’ ह्वाइटहाउसमा पत्रकारहरूलाई उनले भने । एउटा कानुन पनि ट्रम्पले हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमा समेत हस्ताक्षर गरेको बताए । यसै महिनाको सुरुमा अमेरिकी संसद्‍बाट एकमतले पारित भएको उक्त विधेयक अब कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै ब्याङ्कहरूमाथि प्रतिबन्ध लगाउने अधिकार दिनेछ । पछिल्ला साताहरूमा अमेरिकाले हङकङलाई दिइएको विशेष हैसियतबारे निर्णय रोकिराखेको थियो । मङ्गलवार ट्रम्पले भने, ‘अब कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधिको आपूर्ति हुनेछैन ।’ हङकङको हैसियत पूर्व ब्रिटिश उपनिवेश उक्त भूमिले मुख्यभूमि चीनमा नपाइने मौलिक स्वतन्त्रताहरू पाउँछ । तर त्यहाँका थुप्रै मानिसहरूले बेइजिङले जारी गरेको नयाँ सुरक्षा कानुनले हङकङको विशेष हैसियत अन्त्य गर्ने ठान्छन् । त्यस्तो हैसियतका लागि चीन र संयुक्त अधिराज्यबिच सन् १९८४ मा एउटा सम्झौता भएको थियो । चीन सरकारको आलोचनालाई गैरकानुनी ठान्ने बेइजिङको त्यस्तो कानुन ब्रिटेनले सन् १९९७ मा हङकङलाई चीन फिर्ता दिएपछि त्यहाँको राजनीतिक परिदृश्य फेर्ने कठोर परिवर्तन हो । ट्रम्पले थप के भने ? सोही पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो प्रशासनले असमान व्यापार, अभ्यास र मानव अधिकारजस्ता विषयमा चीनविरूद्ध कडा कदमहरू चालेको बताए । उनले चीनले विश्वमा कोरोनाभाइरस छाडेको आरोप समेत लगाए । ब्रिटेनले आफ्नो फाइभ जी मोबाइल नेटवर्कमा चिनियाँ प्रविधि कम्पनी ह्वावेईका सामग्री प्रतिबन्ध लगाउन गरेको निर्णयको श्रेय ट्रम्पले स्वयं लिएका छन् । उक्त प्रविधिमा रहेका सुरक्षा जोखिम आफूले ब्रिटेनलाई प्रस्ट पारेको उनको भनाइ थियो । ब्रिटिश सरकारले जोखिमको पुनर्समीक्षा गरेपछि यस्तो कदम लिइएको जनाएको छ । तर ह्वावेईले त्यो सबै अमेरिकी नीति रहेको भन्दै त्यसले ब्रिटेनलाई सुस्त डिजिटल बाटोमा धकेल्ने जनाएको छ । एकजना पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग कुरा गर्ने आफ्नो कुनै योजना र रुचि नभएको बताए ।  (स्राेत: बीबीसी)

योजना सञ्चालनका लागि समय थप गर्न माग

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण सङ्घ र प्रदेशले स्वीकृत गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहेको भन्दै योजना सञ्चालनको समय थप गर्न माग गरेको छ । उपमहागरपालिकाको मङ्गलबार सम्पन्न सातौँ नगरसभाले अर्थ मन्त्रालयका कारण लकडाउनको समयमा ठेक्का आह्वान गर्न नसकिएकाले अधिकांश योजना अधुरो अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको हो । “अर्थ मन्त्रालयले पिएमओ (सार्वजनिक बोलपत्र आह्वान) मार्फत ठेक्का आह्वान गर्न दिएन”, नगर प्रमुख डा धवलशम्शेर राणाले भने, “लकडाउन खुकुलो भएपछि आर्थिक वर्षको अन्तिम महिना शुरु भयो, जसका कारण धेरै योजना अलपत्र अवस्थामा छन् ।” नगरसभा समापनका अवसरमा चालु आर्थिक वर्ष ०७६/७७ मा सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने पाँच वडा कार्यालयलाई सम्मान गरिएको छ । चालु आवमा सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने वडा कार्यालयहरु १, २, ४, १० र १८ लाई नगरसभामा सम्मान गरिएको हो । यसैगरी उपमहानगरपालिकाबाट हालै सेवा निवृत्त हुनुभएका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेललगायत एक दर्जनभन्दा बढी कर्मचारीलाई पनि सम्मान गरिएको थियो । यसैबीच नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा राणाको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उपमहानगरपालिका–६ स्थित फुल्टेक्रा ताल र कर्बलाको जग्गामा प्रस्तावित नेपालगञ्ज अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि जग्गा बाँडफाँटमा सहमति जुटेको हो । बैठकमा रङ्गशाला निर्माण, मुस्लिम समुदायको कर्बला निर्माण, वडा नं। ६ को कार्यालय तथा हिन्दूहरुको मुर्चुवा पूजास्थल निर्माण गर्ने प्रस्ताावित नक्सालाई बैठकले समान्य हेरफेर गरी पारित गरेको छ । राजनीतिक दलका नेता, मुस्लिम र हिन्दू समुदायका अगुवा र वडाका जननिर्वाचित जनप्रतिनिधिहरू सहभागी रहेको बैठकले नक्साअनुसार बन्ने भौतिक संरचना निर्माणका लागि उपमहानगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकमा नगर प्रमुख डा राणाले लामो समयको प्रयासपछि रङ्गशाला निर्माणका लागि सहमति जुटेको भन्दै तत्काल निर्माण कार्य शुरु गर्ने बताए । रङ्गशाला निर्माणका लागि यस वर्ष माटो पटान र पर्खाल निर्माणका लागि २ करोड ५० लाख बजेट विनियोजन गरिएको क्रिकेट मैदान स्थान छनौट समितिका संयोजक तथा वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमालले बताए । उक्त स्थानमा रहेको ११ बिघा छ कठ्ठा जग्गा मध्ये रङ्गशालाका लागि तीन बिघा तीन कठ्ठा, पेभिलियनका लागि पाँच कठ्ठा, कर्बलाका लागि तीन बिघा, हिन्दू मुर्चुवाका लागि दुई विघा तीन कठ्ठा र वडा कार्यालयको भवन निर्माणका लागि तीन कठ्ठा जग्गा छुट्याइएको नगर प्रमुख राणाले जानकारी दिए ।   रासस